कसैले भनेको सुनेजस्तो लाग्दछ “ए, कथा भन्ने ! तिमीले अलि बिरायौ कि क्या ? त्यहाँ चाँदी सस्तो थियो र तिनीहरू यस्ता किसिमले व्यापार गर्दथे भने सधैँ समुद्रपारि रेसम र कुचिनको व्यापार गर्न जाने हाम्रा महाजनहरूले चाँदीकै सिक्का लिएर आफ्ना माल किन बेच्ने नगरेका त ? त्यसो गर्दा तिनले सय दोब्बर फाइदा गर्दा हुन् ।”
पाठक, त्यसले होइन, तपाईँले बुझ्नुभएन । त्यस ठाउँका मानिस आफ्ना मालैसित रेसम कुचिन साट्ने गर्दथे । मालका सट्टा मालै लिँदा मात्र हाम्रा व्यापारीहरूलाई पनि फाइदा हुन्थ्यो । किनभने तिनले सिक्कै लिएर माल बेच्तछु भन्दा किल्लाःका मानिस बिजुली नाग र फोएनिक्स अथवा मानिस छाप सिक्काको व्यवहार मात्र गर्दथे । तसर्थ मोल राम्रै पाइए तापनि चाँदी भने बढ्ता हुन्नथ्यो । तसर्थ, यस प्रकारको लेनदेनमा फाइदा हुन्नथ्यो । वेनले आफ्ना टैन्जरिन वेच्ता तिनले ठग्नै भनेर कम्ती मोलका सिक्का दिएका हुन् । तर वजनमा ती बढी मोलकै सिक्काजति भएका हुनाले त्यसले बेसरी कमायो ।”
तपाईँ भन्नुहोला, “होइन, कथा भन्ने। यो पनि भएन । उसो भए सबै व्यापारीले पानी स्याउला छाप सिक्कै मात्र लिएर फलैको व्यापार गरी बढी नाफा किन कमाउने नगरेका त ? तिनले अरू मालमत्ताका खरिद बिक्रीमा त्यतिका पुँजी किन लगाइरहनुपरेको ?”
पाठक हो ! घटनामा यस्ता दृष्टिले विचार गर्नु उचित होइन । वेनको सफलता त एकदमै दैवसंयोगको कुरो हुन गयो । त्यसले दोस्रो पटक पनि फलफूल लगेको भए र भाग्यले त्यसरी साथ नदिएको भए तीनचार दिनमै त्यसका जम्मै टैन्जरिन-सेन्जरिन कुहीवरी सखाप भइसक्ने थिए । फलभन्दा त पखै नबिग्रने हुन् नि । तैपनि भाग्यको परिवर्तन हुनुअघि त्यसका पङ्खा बिग्रेर किन सखापै भएका त ? यस किसिमले तर्क गरेर काम चल्दैन । लौ, यी कुरा अब यत्तिकैमा छोडौँ ।
मालमत्ता बेच्न दलाल र गाहकीहरू खोजखाज गरी व्यापारीहरू नाउमा फर्केर आइपुगे । वेनले भएका जम्मै कुरा तिनीहरूलाई सुनायो ।
आश्चर्य मानी खुसी हुँदै तिनीहरूले भने, “वाह, कस्तो भाग्य ! पुँजी नै नहुने चाहिँ सबैभन्दा पहिलो नाफा कमाउने भएछ !”
चाडले थपडी मार्दै भन्यो, “सबै जना यिनलाई ‘अभागी वेन’ भन्दथे । अब त प्रत्यक्षै यिनका भाग्यले पल्टा खाएछ ।”
त्यसपछि उसले वेनलाई सम्झाउँदै भन्यो, “यी सिक्काले तिमी यहाँ बढ्ता केही किन्न सक्तैनौ । तसर्थ, बरु आफ्ना साथीहरूबाटै दुईचार सयका चिनियाँ माल किन । अनि त्यसका सट्टा यहाँबाट उता नपाइने केही चिजबिज साटेर लाग्यो भने घर पुगेर निकै नाफा कमाउनेछौ। यो चाँदी खर्चे नगरी त्यसै राखिछोड्नुभन्दा त्यसै गर्नु बढिया होला ।”
वेनले भन्यो, “मेरो भाग्य अघि कहिल्यै सप्रेको होइन । कुनै व्यापारमा हात हाल्यो कि पुँजी नै स्वाहा ! यहाँ आएर पुँजी नै नलगाई नाफा कमाउने मौका दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु । यसरी भाग्य सप्रेको त आफ्ना जिन्दगीभर नै थाहा पाएको थिइन । बढी धनको लोभ गरी अब फेरि परमात्माका करुणासित जिस्किन जाने आँट पुग्दैन । अधिजस्तै फेरि फेल खाएँ भने टुङ्टिङका यी लाल दाना दिएर पछि फेरि पनि उठ्न सकिएला भन्ने आसै छैन ।
व्यापारीहरूले भने, “अरू केही चाँदी खर्च गरेर हामी तिमीलाई उठाइदिन सकिहालौँला नि । हामीसित यहीँ पनि प्रशस्त चिजबिज छदै छन् । दुवैतिरको फाइदा हुने केही गर्न सकिन्न र ?”
तर, वेनले अड्डी नै लियो । त्यसले जवाफ दियो, एक फेर सर्पले टोकिसकेको मान्छे तीन वर्षपछि पनि पराले डोरो देखेर तर्सिन्छ । मालमत्ताका कुरा सुन्यो कि मेरा चिसा पसिना आउन थाल्दछन् । म त चाँदी नै लिएर घर फर्कने हुँ ।”
अरूहरूले छक्क परेर हात बाँधे । तिनले भने, “हात लागिसकेको दोब्बर तेब्बर नाफा यसरी गुमाउनु कस्तो दुःखलाग्दो कुरो हो !”
त्यसपछि तिनीहरू फेरि घाटमा ओर्लेर त्यहाँ पाइने मालतालसित आफ्ना चिजबिजको सटही गर्न विक्री भण्डारतिर लागे ।
त्यसपछिका पन्ध्र दिनसम्म वेन मजासित रमाइला रमाइला ठाउँहरूमा डुल्यो । अरू कुराको इच्छै नभएकोले त्यो साहै सन्तुष्ट थियो । त्यसपछि व्यापारीहरूको काम पनि सकिएकोले सबै जना नाउमा फर्केर आए । देवताहरूको पूजाआजा गरेर तिनले मङ्गलमय यात्राका लागि मधुपान गरे । अब नाउ फर्क्यो ।
केही दिनमै मौसम बदलियो-
काला बादलका पछाडि रविको सम्पूर्ण तेजै लुक्यो;
सेता छाल उठे पखाल्न नभएको मानौँ सबै नीलिमा;
माछा सागरका अनन्त तलमा घुस्ने बडा त्रासले;
उफ्री छटपट नाग-सिंहहरू’ त गर्छन् असाध्यै गरी ।
झञ्झाबिच परेर काग जसरी साहै लछारिन्छ त्यो
नौकाको गति भो, र ढलपल गरी हा-हो बढ्यो हुत्तिँदै ।
टापु नै सब अड्न मुस्किल भए त्यस्ता कडा मारमा;
माझी भुस समान साफ चुटिई भागे नअड्नै सकी।
जादुमा उपयोग गर्न जसरी काँडा उमाल्छन्, त्यसै
सारा सागर नै तरङ्गित भयो आकाश पुग्ने गरी ।
गर्जे वायु महापराक्रम झिकी तर्साउँदै लोक नै;
माझी त्रस्त भए, पर्यो थरहरी, निला र काला भए ।
त्यस्तो तुफान उठेको देख्ता माझीहरूले सारा पालहरू खोट्याइदिए, र नौकालाई निश्चित दिशामा नलगी तिनीहरूले त्यसलाई हावाका वेगमा जता जान्छ उतै जान दिए । त्यसै गरी जाँदा जाँदा तिनका दृष्टिमा एउटा टापु पर्न गयो । तिनीहरू पाललाई अझै बेरेर खुम्च्याई उभिएर जमिनमा पुग्ने बाटो हेर्न लागे । तर, नजिकै पुग्दा त त्यहाँ कुनै बस्ती नभएको देखियो-
तरु अनेक त्यहाँ गिरि-शृङ्गमा
गगनसम्म प्रलंबित छन् खडा ।
अति मनोहर कान्ति फिँजाउने
तृण धरातलमा ढकमक्क छन् ।
शशक-स्यालसिवाय अरू कुनै
न त्यसमा पदमार्ग बनाउने
वन सबै अरू जीवन शून्य छ
(नियतिको दयनीय विडम्बना !)
यस उजाड धरातलमा कुन
अधिप भैकन शासन गर्दछ ?
उरग-सिंह-गुहा अघि यो थियो ?
मनुजले पनि वास कि गर्दथे ?
माझीहरूले नाउका पछिल्ला भागबाट फलामे लङ्गर खसाले । त्यसपछि तिनीहरू नाउलाई बलियो गरी अड्याउन किलाहरू लिएर जमिनमा ओर्ले ।
माझीहरूले व्यापारीहरूलाई भने, ‘तुफान नअडेसम्म तपाईँहरूले यहीँ विश्राम गरे हुन्छ ।”
पखेटा भएको नाउमा जानुका सट्टा वेन आफ्ना चाँदी लिएर उहिने नै भुर्र उडी घर पुगिसक्ने थियो। झन् तुफान चलुन्जेल सबैले त्यहीँ अड्नुपरेकोले त्यसलाई दोब्बर छटपटी लाग्न थाल्यो ।
त्यसले आफ्ना साथीहरूसित भन्यो, “द्वीपलाई हेर्न म किनारतिर जाँदै छु ।”
तिनीहरूले भने, “यस जनशून्य टापुमा हेर्नलायक त्यस्तो कुरै के छ र ?”
त्यसले जबाफ दियो, “नाउमै बसेर पो के गरिरहनु ?”
तुफानले बेसरी हल्लाएको हुनाले सबै साथी त्यसै लरबरिइरहेका थिए, सबै जनालाई हाइ हाइ आइरहेको थियो। तसर्थ, त्यसका साथ कोही गएन । आफ्ना कुरा टुङ्ग्याएर त्यो उफ्रेर किनारमा पुग्यो । अनि त लौ हेर-
थियो हाड यौटा, सबै भाग्य फेर्यो-
भयो निर्धनी भाग्यशाली र ठुलो ।
पाठक ! केही गरी म पनि त्यस मौकामा त्यहाँ हुँदो हुँ, र भविष्यमा हुने कुरा पहिल्यैदेखि जान्दो हुँ त केही जाने लङ्गडै भएको भए पनि बरु लाठै टेकेर त्यसका पछि लड्दै-पड्दै जाँदो हुँ। त्यसो गर्नु बेफाइदाको कुरो हुने थिएन । तर, त्यहाँ भएका कसैको त्यस्तो भाग्य भए पो। तिनीहरू त ज्यादै अल्छी थिए । साथमा कोही नगएकोले तिनीहरूलाई फुर्ती देखाउन वेनले लहरापात समातेर घिस्रँदै आफूलाई टापुका सबभन्दा अग्ला भागमा पुऱ्यायो । त्यो थुम्को उति अग्लो थिएन । त्यसैले जङ्गली घाँस बेसरी उम्रेको भए तापनि र तिनका बिच उक्लने बाटै नभए तापनि माथि पुग्न त्यसलाई उति साह्रो परिश्रम परेन । शिखरमा पुगेर त्यसले चारैतिर हेर्यो। जताततै विशाल सागर फैलिएको थियो । त्यसले आफूलाई त्यसैमा बगिरहेको एउटा पातझैँ ठान्यो र बसेर आँसु चुहाउन थाल्यो ।
त्यो विचार गर्न लाग्यो, “जतिसुकै बाठो किन नहोऊँ, जिन्दगीभरि नै दुर्भाग्यले मलाई कुकुरले झैँ लखेट्न छोडेन । मेरा सारा सम्पत्ति त्यसै बिलाएर गए । त्यसैले मैले यस यात्रामा पनि खाली हात आउनुपर्यो । सौभाग्यको एउटा किरण पर्न गएको हुँदा मैले चाँदीका एक हजार जति सिक्का तुल्याउन सकेँ। तिनको समेत भोग गर्न पाउने हुँ कि होइन ? भगवान् नै जानुन् । निर्जन टापुमा छु अचल भूमिमा छैन । अहिले पनि सागरवासी नाग-सिंहका राजाले रक्षा गरे मात्र रक्षा हुने हो ।”
ऊ यस्तै किसिमका मन अमिल्याउने चिन्ता गर्दै थियो, त्यत्तिकैमा त्यसले टाढा जङ्गली घाँसका बिच एउटा अनौठो चिजलाई केही अगाडि हुत्तिएर त्यसै पौडिरहेको देख्यो। नजिकै गएर हेर्दा त्यो कछुवाको हाडको एउटा खोक्रो खबटो पो रहेछ । आकारमा त्यो सिङ्गै एउटा खाट जत्रै थियो ।
त्यसले छक्क परेर विचार गर्यो, “यत्रा ठुला कछुवा पनि हुँदा रहेछन् । मलाई त थाहै थिएन । कसैले पनि यस्तो कुरो अघि कहिल्यै देखेको नहोला । कसैलाई भने पनि विश्वासै नगर्ला, यसमा त किरियै हाल्न सक्तछु । परदेश लागेर मैले कुनै कुरो किनेर ल्याएको छैन । नौलो कुरोका रूपमा यसैलाई आफ्ना साथ घर लगेँ भने र मानिसहरूले यसलाई देखे भने तिनले सुचाउका सबै मानिस गफी नै हुन्छन् भन्न नपाउलान् । यसबाहेक चिरेर यसको माथिल्लो र तल्लो भाग छुट्याइदिएँ र ती दुवैमा चार-चारवटा खुट्टा पनि हालिदिएँ भने दुइटा पलङ मजासित बनिहाल्लान् ।”
आङका लुगा र खुट्टामा लगाएका पट्टीसट्टी सबै फुकालेर त्यसले कछुवाका हाडको त्यस खबटोलाई घिसार्दै लैजान चारैतिरबाट बेसरी जेल्यो। किनारमा पुग्दा त्यसका साथीहरूले त्यसलाई कुनै चिज घिच्च्याउँदै ल्याएको देखे । तिनीहरूले हाँसेर त्यसको स्वागत गर्दै भने, “कसो वेन, त्यहाँ अर्को नाउ भेट्टाएर ल्यायौ कि क्या हो ?”
जवाफमा वेनले भन्यो, “विदेशबाट ल्याएको यो मेरो नौलो माल हो, राम्ररी बुझिराख्नुहोस् !”
हेर्दा त्यो दुई पत्र भएको, त खुट्टा भने नभएको खाटजस्तो वस्तु रहेछ । तिनीहरू छक्कै परे ।
तिनीहरूले आश्चर्यसाथ भने, “कत्रो ठुलो कछुवाको खबटो रहेछ । तर, यसलाई किन घिसार्दै ल्याएका ?”
वेनले भन्यो, “अनौठो लाग्यो, त्यसैले लिएर जानु नै उचित ठानें ।” तिनीहरूले हाँसो गर्दै भने, “कुनै काम लाग्ने कुरो भने किन्ने होइनौ, यसलाई लगेर के गर्ने विचार छ ?”
एउटाले भन्यो, “यिनले यसको के गर्छन्, म भनिदिऊँ ? मलाई थाहा छ, कोही मानिस कुनै साँच्चिकै ठुलो फसादमा पर्न गयो भने यिनी यसै खबटोमा भविष्य ज्ञानको साधना गर्लान् । तर, यसलाई तताउन त्यत्रा त्यत्रा जडीबुटी फेला पार्ने पो एउटा समस्या पर्यो !”
अर्कोले सुझाव दियो, “मलम तयार पार्न वैद्यहरूलाई कछुवाको खबटो चाहिएका वेला तिनीहरूले यसैबाट फोरेर लिने गर्लान् । सयकडौँ सानातिना खबडाजत्रो त यो एउटै छ ।”
वेनले भन्यो, “काम लाग्ने नलाग्ने कुराको चिन्ता नगर्नुहोस् । जे भए पनि यो एउटा नपाइसक्नु कुरो त अवश्यै छ । यसलाई कुनै मोल पनि परेन । त्यस कारण लैजानुमा के हर्जा ?”
त्यसले एउटा माझीलाई सहायताका लागि डाकेर खबटोलाई उचाली नाउमा राख्यो । बाहिर खुलामा छँदै त त्यत्रो ठुलो देखिन्थ्यो, झन् नाउका छतमा ल्याई राख्ता त त्यो अजङकै देखियो । समुद्रमा चल्ने त्यत्रो ठुलो नाउ नभएको भए, बडेमाको त्यस वस्तुलाई राख्ने ठावें हुने थिएन । व्यापारीहरू त्यसका कुरा सम्झेर धेरै बेरसम्म खित्का छोडी छोडी हाँसिरहे ।
एउटाले भन्यो, “घर पुगेपछि मानिसले के के ल्यायो ? – भनी सोधे भने हामी वेनले ठुल्ठुला व्यापार गरे भन्नेछौँ ।”
वेनले भन्यो, “यसरी हँस्सी नगर्नुहोस् न । यसबाट कुनै न कुनै काम लिइ नै हाल्नेछु । यो कुनै कामै नलाग्ने त नहोला नि ।”
तिनका हाँसोको वास्तै नगरी पानी ल्याएर वेनले त्यस खबटोको बाहिर भित्र सफा पार्यो, र त्यसलाई पुछेर सुकायो । त्यसपछि त्यसले आफ्ना झिटीमिटी र पैसासैसा त्यसैमा लगी राखेर खबटाका दुवै छेउ डोरीले बाँधेकोले त्यो एउटा ठुलो बाकसजस्तो देखियो ।
दङ्ग पर्दै तिनीहरूले भने, “क्या बात क्या बात ! हामीले वेन चतुर मानिस हुन् भनेकै छौँ नि ।”
भोलिपल्ट बिहानैदेखि तुफान शान्त हुन लाग्यो । तिनीहरूले नाउ फेरि छोडिदिए । केही दिनमै तिनीहरू फुकिएन प्रान्तका तटमा पुगिहाले । घाटमा नाउ लाग्ने बित्तिकै विदेश गई व्यापार गर्ने व्यापारीहरूको बाटो पर्खी बस्ने एजेन्ट र दलालहरूको एउटा हुलै आइपुग्यो । तिनीहरू व्यापारीहरूको पिछा लागेर ‘छाङसित कारबार गर्नुहोस् ‘, ‘लीकहाँ आउनुहोस् ‘ भनी कराउन लागे । व्यापारीहरू आफ्ना पुराना महाजनहरूलाई भेट्न गइसकेपछि मात्र ती एजेन्टहरू आफ्ना आफ्ना बाटा लागे ।
वेन र त्यसका साथीहरू सरासर एउटा पारसी महाजनको ठुलो कोठीमा गए । तिनीहरू मालिकको बाटो हेरी त्यहीँ बसे । समुद्रपारबाट व्यापारीहरू आइपुगेको खबर पाउनासाथ महाजनले पनि झटपट भान्सेलाई खर्चबर्च दिई तिस चालिस जनाका लागि भोजन बन्दोबस्त मिलाइराख्न अह्राइहाल्यो । तिनलाई खटनपटन गरिसकेर ऊ कोठीमा आइपुग्यो ।
त्यस पारसीको पारिवारिक नाम ‘मा’ र व्यक्तिगत नाम ‘पाओ-हा” थियो। त्यो समुद्र यात्रा गर्ने व्यापारीहरूसित मात्र व्यवसाय गर्ने गर्दथ्यो । तिनले ल्याएका मालहरूमध्ये सितिमिति नपाइने मालसित चिनियाँ मालको सट्टापट्टा गर्नु नै त्यसको मुख्य व्यवसाय थियो। त्यसको पुँजी लाखौँ टेल चाँदीको थियो । समुद्र यात्रा गर्ने सबै व्यापारी त्यसलाई राम्रै गरी चिन्दथे । वेनका दलमा अघि त्यससित भेट नहुने उही मात्र एक जना थियो। त्यो पारसी अघि धेरै वर्ष चीनमा बसेर आएको हुनाले पहिरन पोसाक र व्यवहारमा त्यो चिनियाँहरूभन्दा उति साह्रो भिन्न थिएन । तर, आँखीभौँ खौरनु र दाह्री छँटाउनु भने कायमै राखेको हुनाले खोबिल्टे आँखा र ठाडो नाक भएको त्यस पारसीको अनुहार विलक्षणकै देखिन्थ्यो । त्यसले भित्रबाट निस्केर व्यापारीहरूको स्वागत सत्कार गरिसकेपछि सबै जना बसे । दुई पटक चिया आइसकेपछि त्यसले उभिएर सबैलाई ठुलो बैठकमा पाल्नुहुन आग्रह गर्यो। त्यहाँ एउटा भव्य भोजको आयोजन भइसकेको रहेछ ।
बाहिरबाट आएका व्यापारीहरूलाई भोजसोज खुवाइसकेपछि मात्र तिनीहरूसित सम्बन्ध गर्ने महाजनले व्यापारका कुरा गर्ने र खरिद बिक्रीको काम थाल्ने अघिदेखि नै चलिआएको प्रथा थियो। सयपत्री जातका फूलहरू लेखिएको चिटिक्क परेको एउटा किस्ती हातमा लिएर नम्रतापूर्वक नुहेर सबैको अभिवादन गर्दै घरपट्टीले भन्यो, “महाशय ! तपाईँहरूले ल्याउनुभएका मालको विवरण पत्रहरू हेर्न पाउँछु कि ? त्यसपछि बस्ने क्रम मिलाउन सजिलो हुने थियो ।”
यसको कारण बुझ्नुभयो कि, पाठक ? कुरा के हो भने त्यो पारसी पैसालाई नै सबैभन्दा ठुलो ठान्दथ्यो। दसौँ हजार टेल मोलका मालको विवरण पत्रवाला गहकिलो व्यापारीलाई नै ऊ मुख्य पाहुनाका सम्मानित आसनमा लगी बसाल्ने गर्दथ्यो र अरूहरूलाई भने, तिनका उमेर र कुल वा वशको वास्तै नगरी, तिनको मालका मोलकै क्रममानुसार तल तलका आसनमा बसाल्दथ्यो । नाउबाट आएका व्यापारीहरूलाई आफ्ना साथीसित भएका सबै मालको दर र परिमाण थाहै भएको हुनाले ती धमाधम पानपात्र टिप्तै आफ्ना आफ्ना ठाउँमा बस्तै गए। वेन चाहिँ उभिएको उभियै भयो ।
पारसी महाजनले भन्यो, “यहासित अघि कहिल्यै भेट भएको थिएन । हालसालै व्यापारमा लाग्नुभएको होला । त्यसैले बढी केही ल्याउनुभएको छैन कि भन्ठान्दछु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।