इटालेली कवि र उपन्यासकार अलेज्जान्द्रो मन्जोनी ७ मार्च १७८५ मा इटालीको राजधानी मिलनमा जन्मेका थिए। उनकी आमा जिउलिआ (Giulia) साहित्यमा रुची भएकी महिला थिइन् भने मावलीपट्टिका हजूरबा प्रसिद्ध लेखक तथा दार्शनिक थिए।
मन्जोनी ७ वर्षका हुँदा उनका बाबु पेत्रोले आमा जिउलिआसँग सम्बन्ध विच्छेद गरे। त्यसपछि जिउलिआले कार्लो इम्बोनती नाउँको एक बौद्धिक व्यक्तिसँग वैवाहिक सम्बन्ध स्थापित गरिन् । वालक मन्जोनीलाई उनको संरक्षण र अध्ययनको निम्ति एक धार्मिक संस्थामा भर्ना गरिएको थियो। कार्लो र जिउलिआ भने बेलायत घुम्दै प्यारिसतिर लागे। मन्जोनी विभिन्न धार्मिक संस्थाहरूमा शिक्षा प्राप्त गर्दै हुर्के। पछि उनले विभिन्न कलेजहरूमा अध्ययन गर्दा उनी बोधो दिमागका विद्यार्थीको रूपमा चिनिन्थे।
१५ वर्षको उमेरदेखि मन्जोनीको चाख कवितातर्फ बढ्यो र उनले दुइटा सुन्दर चार हरफे कविता (Sonnets) लेखे । सन् १८०७ मा बाबुको मृत्युपछि उनी फ्रान्सको अत्युल भन्ने ठाउँमा झड्केलो बाबु र आफ्नी आमासँग बस्न लागे । त्यसैबेलादेखि कविको रूपमा समाजमा मानिसहरूले उनलई चिन्न थाले । झड्केलो बाबु कार्लो इम्बोनतीको मृत्यु भएपछि उसको सम्पत्तिको हकदार मन्जोनीकी आमा जिउलिआ भइन् ।
उसको घर र सम्पत्ति आफ्नी आमा मार्फत् प्राप्त भएपछि उनको जीवन यापन सहज भयो । कार्लोको मृत्युपछि उनी रोम फर्के । सन् १८०८ मा मन्जोनीले जेनेभाका एक बैड्ङ्करकी छोरी हेनरिएटसँग विवाह गरे । उनी सुन्दर वाणी भएकी युवती र कुशल गृहिणी थिइन् । यस विवाहपछि मन्जोनीको दाम्पत्य जीवन सुखमय रह्यो । सन् १८१८ मा उनले आफ्नो पैत्रिक सम्पत्ति बेचे। त्यो सम्पत्तिको बिक्रीबाट प्राप्त रकम पनि धेरैजसो दलालले खाइदियो । जग्गा कमाउने किसानले लिएको ऋण मिनाहा गरी तमसुक च्याते । उनी निम्नवर्गीय किसानप्रति सहानुभूति राख्ने एक उदारवादी तथा मानवतावादी लेखक थिए ।
सन् १८१९ मा उनको दुखान्त नाटक II Conte di Carmagnola प्रकाशित भयो । यस कृतिले इटालीको परम्परागत शास्त्रीय मान्यता भत्काएको भनी ठुलो विवाद ल्यायो । Quarterly Review मा यसको आलोचना प्रकाशित भएको थियो । यसको पक्ष र विपक्षमा निकै चर्चा भए र गोएटले समेत यस कृतिको पक्षमा लेखे । सन् १८२२ मा उनको अर्को दुखान्त नाटक अदेल्ची (Adelchi) प्रकाशित भयो ।
सन् १८२५-२७ मा उनको प्रसिद्ध उपन्यास बाग्दान (The Betrothed) प्रत्येक वर्ष क्रमसः तीन भागमा प्रकाशित भयो । यो उपन्यास सन् १६२८ मा इटालीमाथि स्पेनको प्रत्यक्ष शासन भएका बेला उत्तरी इटालीको पृष्ठभूमिमा लेखिएको ऐतिहासिक उपन्यास हो । यसमा सन् १६३० तिर मिलनमा भएको हैजाको महामारीको असाधारण वर्णन छ । यस पुस्तकले मन्जोनीलाई सफलताको उचाइमा पुऱ्यायो। यो कृति आधुनिक इटालेली भाषाको आधारस्तम्भ नै मानियो । यस उपन्यासलाई आधुनिक इटालेली भाषा र इटालीमा भाषिक एकता स्थापित गर्ने पुस्तक पनि मानिन्छ । यो उपन्यास विश्व साहित्यको एक उत्कृष्ट कृति हो।
सन् १८३३ मा उनकी पत्नी हेनरिएटको मृत्यु भयो । उनले सन् १८३७ मा टेरेसा नाउँकी विधवासँग अर्को विवाह गरे । मन्जोनीका नौजना छोराछोरी थिए, ती मध्ये पहिले नै दुई जनाको मृत्यु भइसकेको थियो । टेरेसा पनि बाँकी सातओटा केटाकेटी छोडेर मन्जोनी भन्दा पहिले नै बितिन् । सन् १८६० मा उनी इटालीको संसदमा विधायक मनोनित भए । २८ अप्रिल १८७३ मा उनका जेठा छोराको मृत्यु भयो । यस दुखद घटनाबाट उनी शोकाकुल भए । त्यसभन्दा पहिले नै चर्चको सिढीबाट लडेर उनी गम्भीर घाइते भएका थिए। त्यसको पाँच महिनापछि मानसिक तनावबाट मेनिनजाइटिस रोग लागी २२ मे १८७३ मा इटालीको राजधानी मिलनमा प्रसिद्ध लेखक अलेज्जान्द्रो मन्जोनीको मृत्यु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।