कवितामाथिको पहिलो रियालिटी शो द पोइट आइडलमा अहिले भोटिङ राउन्ड चलिरहेको छ  । योसँगै हरेक हप्ता एक जना कविले आइडलको मञ्च छोडिरहनु भएको छ ।

यसै क्रममा तनहुँका विनायक पन्त आइडलको दोस्रो सिजनबाट बाहिरिने कविको सूचीमा दोस्रो नम्बरमा पर्नुभएको छ । सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा कवि पन्तसँगै कालिम्पोङ, भारतका कवि विशाल नाल्बो रेडजोनमा पर्नुभएको थियो ।

विनायक पन्त

विनायक पन्त

“अशु कवि राउन्ड” मा ३.५ अङ्क बेसी प्राप्त गरेर कवि नाल्बो आइडलको अर्को चरणमा प्रवेश गर्नु भयो भने कवि पन्तको आइडलको यात्रा टुङ्गियो । रेडजोनमा परेपछि दुवै जनालाई “सिरानी र सपना” शीर्षकमा कविता लेख्न आधा घण्टाको समय उपलब्ध गराइएको थियो । निर्णायकहरूले दिने २ सय पूर्णाङ्कमा कवि नाल्बोले १ सय ४७ र कवि पन्तले १ सय ४३.५ अङ्क प्राप्त गर्नुभएको थियो ।

पोइट आइडल हरेक हप्ता सोमबार र मङ्गलबार राती ९ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आको छ । पछि यसलाई “OSR Reality” युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । गामवेसीका कवि क्षेत्र प्रताप अधिकारीप्रति समर्पित आइडललाई डन डिरेक्टर अमन प्रताप अधिकारीले निर्देशन गरिरहनु भएको छ । पोइट आइडलमा कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका केकी अधिकारी निर्णायकको  भूमिकामा हुनुहुन्छ । त्यसैगरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ ।

२०५७ साल वैशाख १ गते तनहुँको भानु नगरपालिका १० मा जन्मनुभएका कवि विनायक पन्त पेशाले सिभिल इन्जिनियर हुनुहुन्छ । माता इन्दिरा पन्त र पिता शंकर राज पन्तका उहाँ कान्छो सन्तान हुनुहुन्छ । सिभिल इन्जिनियरिङमा स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका कवि पन्त नेपाली साहित्य र मानवशास्त्रको स्नातक तेस्रो वर्षको विद्यार्थी समेत हुनुहुन्छ ।

९/१० वर्षकै उमेरबाट नाटकमार्फत लेखन प्रारम्भ गर्नुभएका कवि पन्तको रचना पहिलो पटक विद्यालयकै स्मारिकामा प्रकाशित भएको सम्झना सुनाउनु हुन्छ । कवितासँगै उहाँ कथा, संस्मरण, नाटक र कहिलेकाहीँ  पेशागत आर्टिकलहरू लेख्ने गर्नुहुन्छ । केही समय पहिले साहित्यपोस्टमा प्रकाशित उहाँको “सो कल्ड राइटर” स्तम्भ निक्कै रुचाइएको स्तम्भ हो ।

पोइट आइडलबाट बाहिरिने क्रममा कवि पन्तले छोटो समयमा भए पनि आइडलको मञ्चबाट आफूलाई केही नयाँ ढङ्गले प्रस्तुत गर्ने मौका पाएको बताउनु भयो  । त्यो नै आफ्नो लागि सबैभन्दा ठुलो खुसीको कुरा भएको उहाँ बताउनु हुन्छ । सोचेभन्दा धेरै माया र साथ सहयोग पाएकोमा कृतज्ञ हुँदै उहाँ सम्पूर्ण दर्शक स्रोताप्रति आभार पनि प्रकट गर्नुहुन्छ ।

अब प्रस्तुत छ हाल ललितपुर बस्दै आउनु भएका यिनै कवि विनायक पन्तसँग पोइट आइडलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

 

पोइट आइडलको दोस्रो सिजनमा भोटिङ राउन्डबाट आउट भइसकेपछि के कस्ता प्रतिक्रिया पाउनुभयो/पाइरहनु भएको छ ?

– कविता मैले पहिलेदेखि नै लेखिआएको विधा हो । मलाई पढ्ने र मैले लेख्छ भन्ने थाहा हुनेहरू पोइट आइडलमा मेरै आवाजमा सुन्न खोजिरहनु भएको थियो । यी सबै आग्रह र आफ्नै मनभित्रको चाहनालाई पूरा गर्न पनि म त्यो स्टेजसम्म पुगेको थिएँ ।  त्यहाँ जति पनि प्रस्तुतिहरू दिएँ, त्यसबाट सबै जना खुसी हुनुभएको थियो, म पनि बेहद खुस छु ।

सबैले राम्रो प्रतिक्रियाहरू दिनुभएको थियो, दिइरहनुभएको छ । माया पाइरहेको थिएँ, अहिले झनै पाइरहेको छु । थप नयाँ मान्छेहरू पनि जोडिनुभयो, यो क्रम अझै जारी नै छ । कतिपयले त मलाई लिएर नयाँ योजना पनि बनाइसक्नु भएको छ । मलाई त एकदमै खुसी लागेको छ, पुलकित छु ।

पोइट आइडलबाट आउट भइसकेपछि सामाजिक सञ्जाल फेसबुकबाट झन्डै दुई दिन जति तपाईं गायब हुनुभयो । साथीहरूले अनावश्यक टीकाटिप्पणी गर्छन् कि भनेर हो ? कि अरू नै कारण थियो ?

– यो कस्तो नमीठो संजोग रह्यो । तपाईंले पनि ख्याल गर्नु भएको रहेछ । हो नि, उता आउट हुनु र यता मेटाको सफ्टवेयरमा समस्या देखिनु एकै समयमा पर्‍यो । मेरो त फेसबुक पनि झन्डै झन्डै गइसकेको, त्यसलाई फिर्ता ल्याउन झण्डै ७२ घण्टाको लामो कसरत गरेँ । फिर्ता आउँदा त मेसेन्जरमा झन्डै दुई तीन सयको मेसेजको लर्को थियो । म त नतमस्तक नै भएँ नि त्यति बेला ।

म हराएको हैन, मलाई हराउनु आवश्यक पनि छैन । यत्ति धेरै माया गर्ने मान्छेहरू हुनुहुन्छ, यहाँहरूबाट टाढा रहेर मैले मेरो अस्तित्व भेटाउन नै कहाँ सक्छु र ?

सयौँ कविहरूलाई पछि पारेर उत्कृष्ट १४ मा पुगिसकेपछि थुप्रै सपनाहरू देख्न थालिसक्नु भएको थियो होला । यत्ति चाँडै आउट हुँदा कस्तो महसुस गर्नुभयो ?

– म सपना देख्दिनँ, आफूले के गर्छु त्यसमा विश्वास गर्छु । एउटा कार्यक्रमको प्रक्रियालाई स्विकारेर त्यहाँ गएको थिएँ । मलाई राम्रोसँग थाहा थियो, प्रक्रिया अनुरूप हरेक हप्ता एकजना आउट हुनै पर्थ्यो, म नभए अरू कोही एक त पक्कै पनि । मलाई बरु सजिलो भयो, मलाई आफू आउट भए के गर्ने होला ? भन्ने भन्दा पनि अरू एकजना आउट हुँदा के गरुँला ? भन्ने सोचले हिर्काइरहेको थियो ।

यद्यपि अघिल्लो हप्ता कृतिका कोइराला बहिनी आउट हुँदा कस्तो अप्ठेरो भएको थियो । आफ्नो भोट आउटको त्यो दिनभर मैले साथीहरूसँग यही कुरा गरेको पनि थिएँ, आफू आउट हुन पाए सजिलो हुन्थ्यो भनेर । आफू नै आउट हुँदा त खुसी पो लाग्यो । अरूको असफलतालाई मैले बोध नै गर्न परेन । आउट भएर बाहिर निस्किँदा साथीहरू प्राय: रोइरहेका थिए । सबै जना दुखी मुद्रामा हुनुहुन्थ्यो । बरु म हाँस्दै निस्केको थिएँ,  सम्झाउँदै थिएँ । अनि बल्ल पो थाह भयो, साथी छुटिँदाको दुख सबैलाई उस्तै गरी मलाई जस्तै दुख्दो रहेछ भन्ने ।

पोइट आइडलमा जानुभन्दा पहिलेदेखि नै तपाईंलाई पढ्दै आएको हिसाबले पनि र आइडलको मञ्चमा तपाईंको प्रस्तुतिका हिसाबले पनि तपाईं अलिक परैसम्म पुग्नुहोला भन्ने स्वयम् मलाई पनि लागेको थियो । हिसाब कहाँनेर मिलेन ?

– भोटमा । यद्यपि  आशु कवि चरणमा उस्तो उम्दा कविता लेख्न सकिनँ पनि होला ।

तपाईंले पोइट आइडलको मञ्च छोड्दै गर्दा अन्य प्रतिस्पर्धी साथीहरू निक्कै भावुक भइरहनु भएको थियो भने केही त रोइरहनु भएको थियो । प्रतिस्पर्धामा पनि यो किसिमको आत्मीयता सम्भव हुँदो रैछ ?

– खासमा यो एउटा प्रतिस्पर्धाको मञ्च मात्रै पनि होइन । अमन सर, देव सर, आलोक दाइ, सन्जिता दिदी, मेरो प्यारो हिमाल दाइ, अयूष दाइ, पल्लविब मामा, मिल्सन मेरो प्रिय साथी (अरूको नाम छुटेमा क्षमा दिनुस् है) उहाँहरू सबै मिलेर यस्तो राम्रो वातावरण बनाइदिनु भएको छ नि, त्यो एउटा परिवार नै हो । त्यहाँ जो जो पुग्नुहुन्छ सबै जना एउटै परिवारको बन्नुहुन्छ । अब आफ्नै परिवारको मान्छे छुट्दा त कसलाई पो दुख नलाग्ला र ?

रेडजोनमा परिसकेपछि “सिरानी र सपना” शीर्षकमा कविता लेख्न आधा घण्टाको समय दिइएको थियो । त्यो समय कतिको सकसपूर्ण रह्यो ?

– अँ, नढाँटी भन्नुपर्दा मेरा लागि चाहिँ खासै सकसपूर्ण रहेन । हामी धेरै वर्ष अघिबाट नै यो जस्तै अन्य थुप्रै अभ्यास गरिरहेका थियौँ । जुन अभ्यास मैले पोइट आइडलको क्लोज क्याम्पमै रहँदा नयाँ शीर्षक र छोटो समयावधि तोकेर केही साथीहरूलाई गराएको पनि थिएँ ।

“पोइट आइडलमा भाग लिनुको एउटै मात्र उद्देश्य कवितामा प्रयोग गर्न चाहन्छु । विनिर्माणको सन्दर्भमा आफूलाई परीक्षण गर्न चाहन्छु ।” भन्ने आशयको यहाँको भनाइ थियो । आफ्नो उद्देश्यमा कति सफल भएँ भन्ने लाग्छ ?

– स्टेजमा गरेर देखाउने कुरामा चाहिँ त्यस्तो धेरै गर्न पाइनँ भन्ने लाग्छ । यद्यपि म विनिर्माणको प्रक्रियामा हुँदै गर्दा त्यहाँ पुगेको थिएँ । त्यो क्रम अझै जारी नै छ । नढाँटी भनेँ है, त्यहाँ अझै कविताहरू लेख्ने र प्रस्तुति दिने धोको चाहिँ पूरा नै भएन भन्ने थकथक छ । धेरै नै देखाउन सक्थेँ भन्ने आत्मविश्वास अझै पनि छ ।

सामान्यतया कविता “लेख्छु” भनेर लेखिने विषय होइन भन्नुहुन्छ अधिकांश कविहरूले । तर पोइट आइडलमा एउटा विषय दिइन्छ र त्यसमा कविता लेख्न लगाइन्छ । प्रतिस्पर्धी कविहरूले दिइएको विषयमा कविता लेख्दै पनि आउनु भएको छ । तपाईंको लागि कविता “लेखिने” विषय हो, कि “फुर्ने” विषय हो ?

– खासमा कविता महसुस गरिने चिज हो, अनुभूत हुनुपर्छ प्रथमतः । वास्तवमा दुख, सुख, सङ्घर्ष, अभाव, उत्पीडनको अनुभूति नै त लेखिने हो कवितामा पनि । अनुभूति त सबैले गर्छ, तर अनुभूति गर्ने सबैले कविता लेख्दैन, लेख्नै पर्छ भन्ने पनि छैन । खासमा कविता लेख्नेले नै ती अनुभूति  र भोगाइलाई कविताको स्वरूपमा कुँद्ने हो । अब तपाईंको प्रश्नमा जाऊँ, कविता लेख्न खोज्छु भनेर मात्रै पनि लेखिन सक्ने चिज हैन । फुरेर मात्रै कविता बन्ने पनि हैन । खासमा आफ्नो मनभित्रको अनुभूतिलाई यी दुईको संयोजनमा शिल्पमा बुन्ने चिज हो ।

पोइट आइडलमा सहभागिता जनाइसकेपछि तपाईंको लेखन र व्यक्तिगत जीवनमा विशेष केही फरक पर्यो ?

– लेखनमा फरक चाहिँ परेन नै भन्छु । म आफ्नो लेखाइमा अवगत नै छु । अरूहरूले पनि यही नै भन्नु हुन्छ । लेखाइको अनुभव धेरै वर्ष भएकाले पनि होला केही हदसम्म निखारिएको लेखाइ नै छ जस्तो लाग्छ । म गलत हुन पनि सक्छु । वैयक्तिक जीवनमा भने केही फरक आएको छ । मान्छेहरूलाई चिन्न थाले । सबैजना आफू जस्तै नहुने रहेछन् भन्ने बोध भएको छ ।

पोइट आइडल भनेको कविता लेखनसँगै वाचन र प्रस्तुतीकरणको पनि प्रतिस्पर्धा हो । तपाईंको फोकस बेसी के मा थियो ?

– सबै कुराको तालमेल मिलाऊँ भन्नेमै थियो । धार र लेखन शिल्पलाई अन्य तत्त्वसँग जोड्दा नबिग्रोस् भन्ने चाहन्थेँ । त्यहाँ जे जति नयाँ प्रयोग भएपनि, स्टेजसम्मलाई मात्र सीमित चाहन्थेँ । किनकि बाहिर आएर पुनः पुरानै शिल्पको कविता लेख्नु थियो मलाई । यही कुराहरूमा केन्द्रित थिएँ म ।

समग्रमा पोइट आइडलको आफ्नो यात्रालाई कसरी हेर्नुहुन्छ ? अथवा कसरी सम्झिनु हुन्छ त्यो यात्रालाई ?

– सुखद, जीवनको सुन्दर एउटा कालखण्डका रूपमा ।

डिजिटल अडिसनमार्फत पोइट आइडलमा सहभागिता जनाउने  बेला तोकिएको समयको अन्तिम दिनको पनि अन्तिम समय राती १२ बजे मात्र तपाईंले आफ्नो भिडियो पठाउनु भएको रहेछ । सहभागी हुने/नहुने भन्ने विषयमा के कुराले दोधार पारेको थियो तपाईंलाई त्यो बेला ?

-कार्य व्यस्तता हो, अरू त केही थिएन ।

पोइट आइडलले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?

– नेपाली कविता र सिङ्गो नेपाली साहित्यको इतिहासमा यो नयाँ क्रान्ति हो । अब चाहिँ कविता र कवि व्यावसायिक हुन बिस्तारै बाटो पहिल्याउने छन् । जसको मार्ग निर्देशन पोइट आइडलले गर्ने छ ।

भोलिका दिनमा आफूलाई कविता लेखन अथवा भनौँ साहित्य लेखनमा कसरी अगाडि बढाएर लैजाने सोच छ ?

– पहिला जसरी बढेको थिएँ ।  हुन त बढेको थिएँ, थिइन भनेर यहाँहरूले भन्ने कुरा हो । खैर हाम्रो बजार अझै बिस्तार भएको छैन । बल्ल एउटा पसल खुलेको छ । हाटबजार भरिन समय लाग्छ । अहिलेको बजार त अझै पनि उस्तै त हो पुरानो जस्तै, हैन र ? तथापि आफूलाई छिट्टै नयाँ स्वरूपमा ल्याउने छु भन्ने चाहिँ लागेको छ । हेरौँ कत्तिको सफल/असफल भइन्छ ।

तपाईंकै भनाइ सापटी लिन मन लाग्यो, “राम्रा कविता लेख्न सकूँ भन्ने लाग्छ तर कवि बन्नु छैन । लेखक बन्नु छैन ।” उसो भए किन कविता लेखिरहनु भएको छ ? केही त उद्देश्य होला नि लेख्नुको पनि ?

– कविता लेख्दैमा कवि बन्नु पर्छ भन्ने कतै लेखेको छैन । लेख लेख्दैमा लेखक बन्न पर्छ भन्ने छैन । मलाई त बस् लेखिरहनु छ । समाजमा धेरै कुराहरू देखेको छु, जो अझै लेखिन बाँकी नै छ । कति समस्याहरू छन् जसलाई लेखिनु पर्ने छ । हो यस्तै चिजहरूलाई म एउटा सचेत नागरिक भएर लेख्न चाहन्छु, न कि कुनै कवि र लेखक भएर । कवि लेखकहरू निष्पक्ष नहुँदा रैछन् । यिनीहरूलाई कुनै न कुनै वादले छुँदो रहेछ । जुन नहुनुपर्ने थियो, नछुनु पर्ने थियो । त्यही कुराबाट आफूलाई पर राख्न र स्वतन्त्र भएर लेख्न मलाई म लेखक/कवि बन्नु छैन भनिरहेको हुन्छु ।

तपाईंले आफूले आफूलाई “सो कल्ड राइटर” भन्ने गर्नुहुन्छ । यसै सन्दर्भका केही सामग्री साहित्यपोस्टमा प्रकाशित पनि छन् । आफूलाई लेखक भन्न किन यति गाह्रो लागेको ? कि “सो कल्ड राइटर” भनेर अरू कवि लेखकहरूलाई व्यङ्ग्य प्रहार गर्नुभएको हो ?

– तपाईँले बुझेको दुवै कुरा उत्तिकै सही छन् । मेरो सो कल्ड राइटर  मेरो नाम  नभएर अरू माथिको व्यङ्ग्य नै हो, जो आफूलाई होनहार लेखक सम्झिन्छन्, सिनियर सम्झिन्छन् । उनीहरूलाई यो नाम सुन्ने बित्तिकै आफूभित्रको अहमताले पोलोस् भन्छु म त ।

जाँदाजाँदै अन्त्यमा केही ?

– जानु त पक्कै छ । अन्त्य त भएकै छैन । टुङ्ग्याउन नै चाहिनँ । हामी त बाटोमा हिँड्दा ठोकिइरहने ढुङ्गाहरू हौँ, ठेस लागिरहन्छ, लागिरहोस् पनि भन्छु । साहित्यपोस्टमा छिट्टै केही नयाँ लिएर आउने छु । त्यतै भन्ने छु ।