म अल्मलिएको छु
हल्ला छ चुनाउ आउँदैछ रे
कसलाई चुन्ने हो !
अहिले महजस्तै मीठो मीठो बोली बोल्छन्
भोलि चुनाउपछि अमिलो डकार डकार्छन्
अहिले नानाथरी कसम खान्छन्
चुनाउपछि सबै पचाउँछन्
अहिले कसैको काका, कसैको मामा हुन्छन्
कसैको दाजु हुन्छन् त कसैको भाइ हुन्छन्
चुनाउपछि कुनै आफन्तहरूलाई चिन्दैनन्

म अल्मलिएको छु
हल्ला छ, चुनाउ आउँदैछ रे
कसलाई चुन्ने हो !
बालाई चुन्यो भने
आफ्नै सन्तानलाई पद दिन्छन्
सेतो लुगा लगाउनेलाई चुन्यो भने
छेपारो जस्तो नानाथरी रङ फेर्छन्
गान्धी टोपी लगाउनेलाई चुन्यो भने
हामीलाई नै टोपी लगाइदिन्छन्
इमानदारीलाई चुन्यो भने
चुनाउपछि इमान बजारमा बेच्छन्

म अल्मलिएको छु
हल्ला छ चुनाउ आउँदैछ रे
कसलाई चुन्ने हो !
अहिले रोजगार दिन्छु भन्छन्
चुनाउपछि मेहनत गर्ने हात काटिदिन्छन् र
सित्तैमा भिख दिन्छन्
अहिले महँगाई घटाएजस्तो गर्छन्
चुनाउपछि दाम बढाएर हैरान पार्छन्
अहिले स्मार्ट सिटी आउँछ
अहिले बुलेट ट्रेन आउँछ
अहिले घर-घरमा पानी आउँछ
चुनाउपछि सबै उसैको गोजीमा जान्छ
हल्ला छ चुनाउ आउँदैछ रे
कसलाई चुन्ने हो !
म अल्मलिएको छु।

 

डुवर्स