बिहान उठ्दा सन्जुको लगातार ४ मिसकल रहेछ । देखेपछि उसले सम्झिछे भनेर खुसी हुनुको साटो रिस उठ्यो । यो केटी जहिल्यै एउटै गल्ति कति दोहोर्याउँछे  हँ ?

ओछ्यानबाटै कल ब्याक गरेँ ।
“मैले तिम्रो बर्थडेमा गिफ्ट दिएको घडी हेरम् त खै !” प्रश्नबाटै सुरु गरेँ ।
“हाहा ! यसको मतलव आज पनि मैले गलत समयमा कल गरेँ ?”
प्रश्न गरे पनि उसले हाँसेर स्विकारी !
“अनि के त ? कस्तो मीठो सपना देखिरा बेला ।”
बिहानैको अस्पष्ट स्वर मिसाएँ मैले ।
“ला, हो र ! कसैले नदेखेको सपना, हामी नि देख्छम् के ।” पेली उसले ।
“उसो भए भन न त तिम्ले सपनामा कहिल्यै सुरेनलाई देख्यौ ?” म अतीततिर फर्केर जिस्किन खोजेँ ।
“को सुरेन ? काँबाट आयो फेरि तिम्रो ओठमा एक्कासि यो नाम ?”
“त्यो पनि यहीँ अमेरिकामै रहेछ नि त । अझै बिहे गरेको रहेनछ । यो थाहा पाएपछि त कस्तो माया लागेर आयो, बिचरो !”
“गरे भैगो नि त आफैँ । के सुनाइरा मलाई ?”
“कत्ति पछि लाग्थ्यो तिम्रो । जो पनि पछि लाग्ने भनेको राम्रीकै त रैछ नि !”
“छ्या ! यो उमेरमा नि के साह्रो तन्नेरी भैबसेको होला । अझ फोटो पठाएर फेसबुकमा एड गर रे । क्रेजी ! तिमीले जे सुकै भने नि मैले सम्झे पो !”

सन्जु अलि झर्के झैं गरी ।
उसले सुरेनलाई कति मन पराउँथी भन्ने कुराको साक्षी म मात्र थिएँ । सुरेनले पनि उस्तै मन पराउँथ्यो । उसको पनि साक्षी

नीरा शर्मा

मै मात्र थिएँ । दुबैले मलाई भन्थे तर मलाई उनीहरूको मन मिसाइदिने आँट कहिल्यै आएन । जिस्केर नसोधेको पनि हैन तर दुबैले अनुमति दिएनन् । त्यो जमाना सुरेन चौधरी, सम्झना बाहुनी । प्रेम सुनाउन सानो साहसले कहाँ भ्याउँथ्यो र ! तर पनि मन समर्पण गरिरहे एकले अर्कालाई । कसैले चाल नपाउने गरी । मन पराउँदा पराउँदै समयको त्यही कित्ताबाट छुटे उनीहरू ।

मेरो दिमागमा हुर्हुरी बतासिँदै ती दिनहरू भरिए ।

“भैगो नि त ! सम्झनै पर्छ भनेको छु र ! कत्ति न के, सोध्न पनि नहुने !” म पनि एकछिन ठुस्के झैँ गरेँ ।

अतितको सुरुङमा छोडेर आएका सबै दृश्य सबैले सम्झिँदैनन् । न त सबैले बिर्सिन्छन् नै । मैले सम्झिरहेको मान्छेले मलाई बिर्सिएको हुनसक्छ । मैले बिर्सिएको मान्छेले मलाई सम्झिरहेको हुनसक्छ ।

“उसले तिमीलाई अहिले पनि सम्झिरहेछ भनेको पो त । साँचो मायाले कहिल्यै झेली गर्दैन बुझ्यौ ? बिर्सिने त तिमीजस्ताले हो ।”
मैले उसलाई घोच्न छोडिन ।

“ह्या कति गनगन गरिरा भन्या ! अरु कुरा छैन ?”
साँच्चै रिसाई ऊ ।
“ल ल सरी !
गर्दिन अब उसको कुरा । सुन न तिम्रो हिजोको स्टाटस खुब मनपर्यो । तिमी फेसबुकमा कति चल्न सक्छ्यौ हगि ? सँधै नयाँ नयाँ स्ट्याटस कुन कुनाबाट आउने हो आउन नि ।”

“के गरि बस्नु त ? लालाबाला हुर्के । तिम्रो जस्तो डलर टिप्ने रुख यहाँ छैन ।”
उसले एउटा कार्टुन् पठाई । र, लेखी “यो कार्टुन् हेरेर म नि घोत्लिएँ अलिबेर । तिमी पनि हेर त ।”

कार्टुन ब्ल्याक एन्ड ह्वाइट स्केचमा थियो ।

जहाँ जीवन र मरणको दोसाँधमा छट्पटाइरहेको मान्छे थियो र उसलाई मर्नु अघिको अन्तिम इच्छा सोधिएको थियो । उसको जवाफ थियो “फेसबुकमा स्ट्याटस् अपडेट् गर्ने ।”
कम्तीमा हामी त मर्नेबेला भा’छैनम् नि हाहा…..
हाँसी ऊ । मैले पनि मिसाइदिएँ एक फाँको हाँसो ।

सन्जुसँग बोल्दा यस्तै रमाइलो हुन्छ सँधै । तर छोरी उठेर रोइन् र हामी छुट्टियौँ ।

“हेलो रबि ! गुड मर्निंग !”
टुंग मेसेज आयो । कस्तो संयोग ! नाम लियो सैतान हाजिर ! भरखरै सन्जुसँग उसकै कुरा गरेको । मेसेजमा उसैको आयो । बुझ्नु भएन हो ? हो हो मेसेज गर्ने सुरेन नै थियो ।
“यसरी नबिर्सिदिए हुन्थ्यो । कति भो हामी नबोलेको ?”
मैले जवाफ नदिँदै फेरि उसैको मेसेज आयो ।

“लभ इज कलर अफ लाइफ”

 

“कहाँ बिर्सिनु ? कामको चेपाचेप । बालबच्चा । परिवार । यहाँको लाइफ थाहै छ त तिमीलाई । काम पाउन भन्दा गाह्रो छ साथी, काम जोगाउन । कम्तीमा तिमीले बोलाइदिन्छौ र जिउँदै छु लाग्छ ।”
छोरीलाई थुमथुम्याउँदै मैले जवाफ फर्काएँ ।
“ल ल छाप छाप । डलर छाप्नै भनेर त आएका हौँ नि हामी ।
सुरेनले डायलग पेल्यो ।

“होइन यार, समय निकाल्नै नसकिने । बच्चा सानै छन् । बूढाबूढी नै काममा निस्किनुपर्छ । एउटाको कमाइले पुग्दैन । गाह्रो छ जिन्दगी । डिभी भरेर गल्ती गरिएछ कि पनि लाग्छ यार । हुँदाखाँदाको सरकारी जागिर छोडेर यता हाम्फालियो । सोचे जस्तो सुख त जिन्दगीको कुनै भुगोलमा नि टिप्न नपाइँदो रहेछ ।”
सायद पोखियो मेरो मनको थकान् ।

“ अँ साँच्चि आजको फेसबुक मेमोरी चेक गर त । यो फोटोले के के के के सम्झायो । ७ बर्ष अघि आजकै दिन तिमीले पोस्ट गरेको रैछौ नि ! हामी सँगै चियाबारी घुमेको फोटो ।”

“ल म पनि हेरिहाल्छु । तिमीलाई भोलि कल गर्छु है । भोलि मेरो अफ पनि छ । खुब हाँस्नुपर्छ ।”

सुरेनसँग बिदा भएर उसले भनेको फोटो हेर्न फेसबुक मेमोरिमा गएँ । एक लाइनको आफ्नै स्टाटसमा आँखा पर्यो । ७ बर्ष पहिले पोस्ट गरेको रहेछु ।
“लभ इज कलर अफ लाइफ”
उफ …. !
यो स्टाटस देखेपछि आफ्नै अतित सिनेमाको रिल झैँ आँखामा घुम्न थाल्यो ।

अमेरिका आएको ४ र ५ दिन मात्र भाथ्यो । एक्लो थिएँ तर फेसबुक थियो समय काट्ने साथी । म साथीको फोटोमा कमेन्ट हेर्दै थिएँ । एउटा कमेन्टमा गएर रोकिए मेरा आँखाहरू । प्रोफाइल हेरेँ, राम्री पनि लाग्यो । एकैछिन पनि नसोची मैले ‘एड फ्रेन्ड’मा गएर आफ्नो चोर औँला थिचेँ ।

मैले पठाएको अनुरोध तुरुन्त स्वीकार भएन । आर्थिक बर्षको अन्त्यतिर कर कार्यलयमा पालो कुरेको फाइलजस्तै उसको फेसबुकमा गएर लाइनमा उभियो सायद । तर यता मेरो मन अन्तिम समयमा टिकट खोज्दा नभेटेको यात्रुजस्तै बेस्सरी छट्पटिन थाल्यो ।

“उसले मलाई किन नस्वीकारेकी होली ?”
म भित्र यति बेचैनी र छटपटी किन ? आफूलाई के ठान्छन् हँ यी केटीहरू ? रिक्वेस्ट क्यान्सिल गर्दिम् कि क्याहो ?
सायद ‘पुरुष इगो हर्ट’ भएर यस्तो सोच्दै थिएँ ।

मुसुक्क हाँस्दा पनि देखिने अलिकति उछिट्टिएको दाँत र निलो कुर्ता लाएको उसको त्यो प्रोफाइल पिक्चर मेरो आँखामै टाँसिएको थियो ।

“डियर अपरिचित मित्र, स्टाटस सार्है मन पर्यो ।”यस, लभ इज कलर अफ लाइफ ।

उताबाट जवाफ केही आएन तर साथी हुने मेरो अनुरोध स्वीकारेको नोटिफिकेसन भने आयो ।

मध्यरातमा उसको यस्तो मेसेज आयो, “डियर अपरिचित मित्र”, चिठ्ठीको यो ब्यहोराले पत्रमित्रताको त्यो सिँगो युग सम्झनामा भरिएर आयो । साथीहरूलाई लेखेका चिठीहरू याद आए । चिठीमा सम्बोधन गरिएका नामहरू याद आए । अमृता, शिशिला, बिनीता, कन्चन ! उनीहरूको ठेगाना पनि याद आए । खोटाङ, धरान, झापा, मकवानपुर !

“मन पराएको भए साथी किन नबनेको त ?
ठाडो रुखो थियो मेरो जवाफ । उताबाट जवाफ केही आएन तर साथी हुने मेरो अनुरोध स्वीकारेको नोटिफिकेसन भने आयो ।

अब मेरो दैनिकी बदलिएको थियो । अमेरिकामा काम खोज्नको सट्टा उसको च्याट रुमको अनलाइन सिग्नल ढुक्ने मात्रै थियो मेरो काम । कतै आइ पो हाल्छे कि ! बोली पो हाल्छे कि !

एकदिन बिहानै उसले ‘हाइ’ लेखी । म तिनै दुई अक्षर हेरेर टोलाइरहेँ । फेरि उसैले “नमस्कार” गरी । म झन् हेरिरहेँ । मैले नमस्कार पनि नफर्काउँदै उसैले लेखी,
“अब हामी साथी भयौँ हैन त ?”
मैले संकोच मान्दै लेखेँ
“ नमस्कार ”
उसले दोस्रो प्रश्न लेख्दासम्म म पहिलो उत्तरमै काँपिरहेको थिएँ, परीक्षा हलभित्रको कमजोर विद्यार्थी कामेजस्तै । अब के बोल्ने ?
अघिसम्म यती धेरै ब्यग्र भएको म किन चुप ?
उसले आफ्नो परिचय लेखी । पेशा लेखी । ऊ कहाँ बस्छे लेखी र अरु के के, के के लेखिरही तर मैले लेख्ने कुरै पाइनँ ।
“हजुर धन्यवाद साथी बन्ने मौका दिनुभएकोमा ।”
बडो कष्टकासाथ यति लेखेँ ।
“हजुरले बनौँ भन्नुभा हैन त ?”

मेरै कारण, मेरै लागि मात्र साथी भैदिए जस्तो गरी । खुब घमण्डी झैं लाग्यो । रिस पनि उठ्यो । तर फेरि बिच्केली भनेर ‘हो हो’ मात्र भनेँ ।

“ए हजुर त नर्स पो हुनुहुँदो रहेछ । म पनि बिरामी बनेर आउँ कि के हो ?” धेरै बेरको छट्पटी बिसाएर टाइप गरेँ । तर ‘सेन्ड’ थिच्नु अघि नै ‘डिलिट’ मा गयो औँलो ।
“सरि, म पछि कुरा गर्छु है, अहिले म अल्लि बिजि भएँ ।”
काम नपाएको लफङ्गो रहेछ भन्ली भन्ने डरले बडो ब्यस्त भएको नाटक गरेँ ।
“भरे मजाले कुरा गरौंला है ।”
यत्ति लेखेँ र उसकै बारेमा सोच्न थालेँ ।
“चिन्नु न जान्नु के हो यो ? बहुलाइस् ?”
आफ्नै मनले गिज्याएर सोध्यो ।

समय उस्तै गतिमा बगिरह्यो । म उसँगको च्याटमा लट्टु भएको थिएँ तर फोनवार्ता या भेटघाट थिएन । च्याटमा नै खुसी थियौँ हामी । बिहान ‘गुड मर्निंग’ नगरी सुरु हुँदैनथ्यो हाम्रो दिन । र,‘गुड नाइट’ नगरी आउँदैनथ्यो हामीलाई निद । मानौ त्यो गुड मर्निङबिना हाम्रो दिन सबैभन्दा ब्याड हुन्छ । र, गुड नाइटले नाइट मात्र नभएर पुरै जिन्दगी नै गुड बनाइदिन्छ ।

एकदिन उसले भनी,
“मलाई हजुरसँग बोल्न मन लाग्यो । हजुरलाई सुन्न मन लाग्यो ।”
मेरो खुसीले सगरमाथा नाघ्यो । मैले एक पल नसोची कल गरेँ । उसले बोल्न मन लाग्यो भनेझैँ मैले हेर्न मन लाग्यो भनेँ । उसले नाइँ भनिन । उही प्रोफाइल पिक्चरको मुस्कान, भर्खर नुहाएको चिसो कपालले अलिकति ढाकिएको मायालु मुहार ….म निशब्द भएँ । केहीबेर मौनता हाबी भो ।

“के भो ? कता हराउनुभो ? टोलाउनुभयो त !”
उसको बोलीले म ‘हँ’ भन्न पुगेँ ।
“तिम्रो सौन्दर्यमा”
फ्याट्ट निस्क्यो ।
त्यसपछि हामी लगातार २ घण्टा २२ मिनट भिडियो कलमा कुरा गर्यौं । बोल्दा बोल्दै कुनबेला तपाईँबाट तिमी भयौं थाहै पाएनौँ । कुरैकुरामा मैले सोधेथेँ,
“तिम्रो जन्मदिन कहिले रे कान्छी ?”

तपाईँ हजुरबाट तिमीमा पुगे जस्तै मैले उसलाई कान्छी भन्दा कान्छी किन भन्यौ भनेर आपत्ती पनि जनाइन् ।
“चैत सत्र ।”
“ओहो ! आइ पो सकेछ त । अस्तिनै भन्नुपर्ने नि । ल भन के गिफ्ट किन्दिम ?”
“केही पर्दैन कालु । तिम्रो माया पाइरहुँ ।”
‘कालु ?’
उसको समर्पण भावले थिचिएर ढलूँलाजस्तो भएँ । तर पनि सम्हालेर भनेँ,
‘त्यसो नभन न कान्छी ! म तिमीलाई केही दिन चाहन्छु।’
ऊ फोटोकै मुस्कान मुस्कुराई ।
गिफ्ट किनेर ठिक्क पारेँ र उसलाई कल गरेँ,
“तिम्रो बर्थडे गिफ्ट रेडी पारेँ । तिमीलाई भेट्न पनि मन लागेको छ। ल भन म आउँ कि तिमी आउँछ्यौ ?”
“उम्, तर भेट्न किन हतार गरेको ? बोलिरहेकै छौँ । अझ भिडियो कलमा । भेटेर पो के हुन्छ र ?”
उसको यस्तो ठाडो जवाफ आउला सोचेको थिइनँ । सुनेको थिएँ नसोचेको हुनु र सोचे जस्तो नहुनु जीवनको मूल पाटो हो । चित्त बुझाएँ । तर जवाफ दिन सकिनँ ।

गुनासाहरू जति भएपनि उसले आफूलाई स्वीकारेकोमा नै ठूलो उत्सव थियो मेरो मनमा ।

 

मैले जवाफ नदिएपछि अर्को प्रश्न तेर्स्याई,
“ल भन न त भेटिहाल्नु किन पर्यो ?”
“तिम्रा प्रश्नहरूको जवाफ छैन कान्छी मसँग । बस् मन लाग्यो, मनको कुरा भनिदिएँ ।”
“आज भेट्न मन लागे जस्तै, भोली के के मन लाग्ला ।यो रबर जस्तो तन्किने तिम्रो मन कति परसम्म तन्किने हो तिमीलाई थाहा छ ? नभेटे पनि साथी त भएकै छौ नि, हतार नगर न भेटिहालिन्छ नि ?”
म मौन सुनिरहेँ उसलाई । नभेट्ने कुरा नमीठो लागे पनि मनमा आशा बाँकी थियो ।
म सानो स्वरमा फेरि बोलेँ, “नढाँटी भन त किन भेट्न चाहन्नौ मसँग ?”
“भेट्नै चाहन्न भनेको हैन नि ! हाम्रो सम्बन्धको यो मीठासलाई बिथोल्न चाहन्न पो भनेको त । ठीक छ बरु हामी फोनमा चैँ दिनदिनै बोलिराखम्ला ।”

हजुरहरूलाई के लाग्छ ? मेरो नियत खराबै हो त ?
केहीबेर सोचमग्न भएँ ।
“यो प्रेम हो कि, अरु केही ?”
‘बर्थडेगिफ्ट’, लिएर आउँछु भन्दा आइज किन भन्दिन ? म उसकोमा जाँदा उसलाई पर्ने अप्ठेरो किन सेयर गर्दिन ?”
मनमा यस्तै प्रश्न आइरह्यो । गुनासाहरू जति भएपनि उसले आफूलाई स्वीकारेकोमा नै ठूलो उत्सव थियो मेरो मनमा ।

भोलिपल्टै उसकोमा पुग्नेगरि ‘ओभरनाइट’ मेल गरेर गिफ्ट पठाइदिएँ ।
“कालु गिफ्ट पाएँ नि ! तर खोलेको छैन । भरे राति १२ बजे खोल्ने है ! बरु सुटुक्क भन न के छ त्यसमा ?”
उसको ‘कालू’ सम्बोधन आमाले बोलाएको ‘कान्छा’ भन्दा प्रिय लाग्थ्यो मलाई ।
‘कालु’ यो शब्दभित्रको तरंगले ढुकढुकीको गति एक्कासि तीव्र हुन्थ्यो ।
राति ठीक १२ बजे पहिलो शुभकामना दिनका लागि कुरेर बसिरहेँ । पहिले नै लेखेर राखेको लामो शुभकामना म्यासेन्जरमा पठाएँ र भिडियो कल गरेँ ।

‘आइफोन’ बोक्ने रहर भएको कुरा एकदिन कुरैकुरामा भनेकी थिई । मैले भर्खरै बजारमा आएको ‘लेटेस्ट’ आइफोन किनेर पठाएको थिएँ । मेरै अघि गिफ्ट खोली र फोटोकै मुस्कान मुस्कुराई । मानौं, त्यो गिफ्ट उसको जिन्दगीकै पहिलो हो र म गिफ्ट दिने पहिलो आफ्नो मान्छे । मेरो गिफ्टलाई निकै पटक ‘किस’ गरिरही । मैले एकहोरो ताली बजाउँदै भनिरहेँ,
“ह्याप्पी बर्थडे माई एन्जल् ।”
“ह्याप्पी बर्थदे माई लक्की चाम् ।”
“ह्याप्पी बर्थडे माई लभ् ।”
“ह्याप्पी बर्थडे माई लाइफ् !”

बुझ्दैहुनुहुन्छ नि ? हामी एक अर्कामा बेस्सरी समर्पित भएर निदायौँ । दूरीले सँगै नभए पनि अनुभूतिमा सँगै भएजस्तो । आखिर प्रेम पनि प्राप्ति भन्दा अनुभूति नै त रहेछ कि कसो ?

हामी दुई प्रेमको सागरमा डुब्दै गयौँ । यस्तो लाग्थ्यो उसको मायाको अघि मरियाना ट्रेन्चको गहिराई कम्ती हुन्थ्यो । म बेलाबेला रिसाएजस्तो गर्थें । उसले फकाएको औधी मन पर्थ्यो । उसो त फकाएको मन नपर्ने को होला र ? हामी एक अर्कामा यति पोखियौँ कि, जसको हिसाब राखेको भए एक समुन्द्र बन्थ्यो । जसलाई लेखेको भए ‘प्रेम–ग्रन्थ’ बन्थ्यो ।

मैले ती दिनहरूमा कामलाई भन्दा उसलाई बढी समय दिन थालेँ । आमालाई हप्तामा तीन फेर सम्झिने म उसलाई दिनमै तीन सय फेर सम्झिन थालेँ । किन कोही अन्जान यति छोटो समयमै यति प्रिय हुनसक्छ ? आफैँलाई प्रश्न गर्थ्यो मनले ।
मनका प्रश्नहरू प्राय मनमा नै हराउँछन् हैन त ?

प्रेममा हिसाब हुने कुरा पनि त भएन नि ! मैले जेजे दिएँ त्यो बेहिसाब दिएँ ।

 

एकदिन उसलाई मैले अर्को सरप्राइज गिफ्ट कुर्ता पठाइदिएँ । उसको कुर्ता लगाएको प्रोफाइल पिक्चर मलाई असाध्यै मन परेको थियो । उसले मलाई मन पर्ने नीलो कलरको टिसर्ट पठाइदिई । मैले घुर्की लाए झैँ गर्दै भनेँ,
‘मलाई यो सट्टा पट्टा पटक्कै जाती लाग्दैन है । पैंचो तिरेको हो र ? मैले तिमीलाई पठाउने हो, तिमीले मलाई पर्दैन।’
ऊ भन्थी, “छि ! एकहोरो नि के माया लाई भो त नि ? माया त दोहोरो हुनुपर्छ । तिम्रो जस्तो महँगो दिन नसके पनि गिफ्ट दिने मन त मलाई पनि छ नि !”

त्यसपछि मैले केके पठाएँ हिसाब छैन । प्रेममा हिसाब हुने कुरा पनि त भएन नि ! मैले जेजे दिएँ त्यो बेहिसाब दिएँ । नारायणगोपालको गीतजस्तै बेहिसाब मन पराएको थिएँ ।

हामी बोल्न थालेको ठीक एक बर्ष पुगेको दिन थियो त्यो । त्यही दिन मैले उसलाई भेटौं र सेलिब्रेट गरौँ भनेँ । उसले डबल ड्युटीमा छु निस्किन मिल्दैन भनी । मैले निकै नै कर गरिरहेँ । तर उसले मिल्दैन मात्रै भनिरही ।
एकदिन अचानक सोधी,
“सुन न कालु, आमाले बिहे गर्ने केटी खोज्छु भन्नुभाछ भनेको हैन ? मैले यतै खोजिसकेँ भनेनौ ?”
म केही बोल्नैसकिन । बिहेको कुराले ऊ लजाउनुपर्नेमा म पो लजाइरहेको थिएँ ।

“गाउँको माया अलि धेर लजालु हुन्छ ।”
मैले अप्सरी काकीलाई सम्झेँ ।
“गाउँको मायाले माया छ भन्न धेरै पसिना बगाउनु पर्छ । उर्मिला भाउजूलाई सम्झेँ ।
‘आ भाउजू ! हामी त लजाइन्न । फ्याट्ट भन्दिने हो । येस भने नि ठीक, नो भने अर्कै खोजिन्छ ।’
सम्झनाको सुरुङमा छिरेर आफ्नै सोह्रबर्षे उमेरको एक मेलो सप्पै चहारेर भ्याएँ ।
“त्यस्तो कुरा पनि तिमीले सिकाउनु पर्छ ? गाउँमा आमाले खोजेका बुहारी सबै क्यान्सिल गर्दिनु भनिसकेको छु ।”
“स्मार्ट छौ हगि ?”
“यसमा स्मार्टको के कुरा भो र कान्छी ! हाम्रो बिहे हुन्छ कि हुन्न भनेर डर भए पो !”

साँच्चि भन्दा उसले यसरी बिहेको कुरा गर्छे लागेकै थिएन । अचम्म त के भने भेट्न चाहन्न तर बिहेको कुरा आफैँ निकाल्छे । उसले निकाले पनि रहरको चुचुरो भने मेरै अग्लो थियो ।

उता आमाले सँधै गाली गर्नुहुन्थ्यो, “परदेशकी केटी खोजेछस् बाबू ! जाली हुन्छन् भन्छन् । पछि दुःख पाउलास् ।”
“त्यस्तो हुन्न नि आमा, हजुरको छोरोले छानेको मान्छे छोरो जस्तै ज्ञानी हुन्छे ।” म सम्झाउँथेँ आमालाई । आमा खिस्स हाँस्नुहुन्थ्यो ।

आमालाई जे भने पनि मनमा एउटा प्रश्नले सताइरहन्थ्यो । ऊ आफैँ बिहे गरौँ भन्छे तर म उसकोमा आउँछु भन्दा किन नआऊ भन्छे ? मैले बोलाउँदा पनि किन आउँदिन ?”
मनमा शंकाकोे चिसो सिरेटो भने दौडिनै रहन्थ्यो ।

 

कसैमाथिको अन्धो विश्वासले आफैँलाई खाडलमा हाल्दोरहेछ यति बुझ्दै थिएँ ।

एकदिन सँधै कुरा गर्ने समयमा कल गरेँ । उसले पहिलोपटक मेरो फोन काटी । मैले रिडायल गरिरहेँ । उसले उठाइन । मलाई भाउन्न भयो । के भो होला ? मनले काटीकुटी शंकाको पहाड ठड्यायो । तीन दिन सम्पर्कविहीन भई ऊ ।

अरु कतै खोज्ने बाटो थिएन । न नातागोता न साथीसँगी । मैले हाम्रो प्रेम कहानी कसैलाई पनि सेयर गरेको थिइन । उसलाई चिन्ने मेरा कोही साथी थिएनन् । ऊसँग प्रेमको गहिराइमा हुँदा आफैँले कसैसँग चिनाउन चाहिन । आफ्नो प्रेम चोरिएला भन्ने डर थियो मलाई ।

कसैमाथिको अन्धो विश्वासले आफैँलाई खाडलमा हाल्दोरहेछ यति बुझ्दै थिएँ ।

झट्ट गिफ्ट पठाउँदा दिएको उसको एड्रेस याद आयो । घरमै जाउँ लाग्यो र जिपियसमा एड्रेस हालेँ । ७ घन्टा ड्राइभ देखायो । जान भनेर म गाडीमा मात्र बसेको थिएँ उसले भनेको सम्झेँ , “यो मेरो साथीको कामको एड्रेस हो । मेरो घरमा आयो भने अरुले पनि खोल्न सक्छन् । यसैमा पठाऊ ।”
घरमा को को छन् सम्म नसोध्ने आफ्नै मुर्खतालाई धिक्कारेँ ।

उसको घर जाने त्यो बाटो पनि बन्द भयो । फेसबुक सुनसान थियो । मेसेन्जरमा म एक्लै रोइलो गरिरहन्थेँ ।
चौथो दिन फेसबुकमा स्ट्याटस हाली, “प्रेममा कोही किन यति धेरै क्रेजी हुन्छ ? कोही कसैलाई किन यतिधेरै विश्वास गर्छ ? कोहीसँग भेटै नभै बिहे गर्छु भन्ने त कसरी हुन्छ र ?”

कहिल्यै केही नलेख्ने उसको यस्तो स्ट्याटसले मलाई चक्कर आयो । मैले म्यासेन्जरमा लेखेँ, ‘कान्छी ! यो के भनेकी तिम्ले ? प्लिज एकपटक मेरो फोन उठाऊ र केही बोल अनि जे मन लाग्छ गर ।’

तर, उसको जवाफ केही आएन । जिन्दगीका धेरै सपनाले मैसँग पारपाचुके गरे झैँ भयो । मैले फेरि गाउँ सम्झेँ । आमालाई सबैभन्दा बढी सम्झेँ । सहर छिरेपछि मान्छेहरू स्वार्थी हुन्छन् भन्ने छिमेकी बालाई सम्झेँ । केटाहरू टाइमपासको लागि सम्बन्ध गाँस्छन् भन्ने इन्द्रावती दिदी सम्झेँ ।

“केटीहरू त साँचो प्रेम गर्छन् । प्रेममा मुटु नै झिकेरै दिन्छन् हैन त दिदी ?”
मैले इन्द्रावती दिदीलाई तात्तातै दिएको जवाफ सम्झेँ ।

मेरो प्रेमसँगै सपनाहरू पनि शिशा झैं झर्यामझुरुम फुटे । तर त्यही फुटेका प्रत्येक टुक्राबाट मैले जिन्दगीका छुट्टाछुट्टै अर्थ बोध गरेँ । फुट्नु भनेको सकिनु होइन । फेरि नयाँ ढंगले जिन्दगी बाँच्नु हो । मनलाई अलिकति दह्रो पारेँ । आफ्नो मन आफ्नै ढाडस् ।

त्यो रात छटपटीमै कट्यो ।
फोन, म्यासेज कति गरेँ । उसले केही जबाफ दिइन । कसैको मौनता जति धारिलो हतियार अरु के हुँदोरहेछ र ! म उसको मौनताको खुकुरीले सेरिइरहेँ । चिच्याइरहेँ, कराइरहेँ ।

नसुती बिहान भैसकेछ । रातभर कति धेरै म्यासेज लेखेँ । मेसेज सिन भो तर जवाफ आएन । म्यासेज सिन भएर जवाफ नआउँदा जत्तिको सकस त आफ्नै मुटुको एक चोक्टो काट्दा नि नहुँदो हो ।

आक्रोस उम्लेपछि म्यासेजको टोन बदलेर लेखेँ,
“हेर कान्छी, कि मलाई मार । कि जवाफ देऊ । नत्र म तिम्रो नाममा सुसाइड नोट लेखेर सुसाइड गर्छु ।”

सबथोक उसलाई सुम्पिएर रित्तो भैसकेपछि मलाई मरुँ नलागेको पनि हैन तर तुरुन्त आमा आइन् आँखामा । उनको एकमात्र सहारा थिएँ म । छोरोले अम्रिका लैजान्छ भन्ने आसमा मुस्कुराएकी आमाको निर्दोष मुस्कान सम्झेँ र मर्ने कुरा त्यागेँ ।

त्यसपछि म प्रेमको आगोले खाग बनेको छाती बोकेर उसको जवाफ कुरिरहेँ ।

“प्रेमका हाँगाबिँगाहरू !”

 

म्यासेन्जर ढुकिरहेँ । आफ्ना गुनासाहरू एकहोरो लेखिरहेँ । भोलिपल्ट मेसेन्जरमा केही लेखिरहेको थोप्ला थोप्ला चलेको देखेँ ।
फेरि मुटु नियन्त्रणबाहिर कुद्न थाल्यो । “अब के लेख्ने हो ? कतै उही दृश्य दोहोरिने पो हो कि ?”
म सोचमा डुबिरहँदा फुत्त उसको मेसेज आयो,
“प्रिय साथी ! तिमीले प्रेम के हो बुझेको छौ लागेको थियो तर गलत रहेछु म । प्रेम हुन कत्ति पनि समय लाग्दैन सत्य हो तर बुझ्न कठिन रहेछ । अझ धेरै कठिन लाग्छ यो भर्चुअल प्रेम बुझ्न । मैले जिस्केर बिहेको कुरा गरेँ तर तिमीले बुझेनौ र सिरियस्ली लियौ । देख भेट नै नभै कसरी देख्यौ बिहेको सपना भन त ? एकपटक सोध न आफैलाई । बरु तिमीले अपरिचित भएरै पनि मेरो एक्लो पनमा यतिधेरै साथ दियौ,आभारी छु । बिहे जस्तो कुरामा जिस्किन हुन्नथ्यो सायद तर म जिस्केँ । मलाई क्षमा देऊ प्लिज !”

यता मेसेज पढेर नसक्दै उता नोटिफिकेसनमा “सन्जु चेन्ज्ड हर प्रोफाइल पिक्चर” भनेर आयो । पिक्चरमा एक छोरा,एक छोरी र ऊ थिए । र, क्याप्सन थियो । “प्रेमका हाँगाबिँगाहरू !” मैले आफूलाई त्यही हाँगाबाट झरेको पात सम्झेँ । जसलाई प्रेमको हावाले उडाएर कहाँ हो कहाँ पुर्याएको थियो ।

म रन्थनिएँ । फननन्न घुम्यो आकाश । भासिए झैँ लाग्यो जमिन । मानौ यो परदेशमा कसैले पछाडिबाट मेरो टाउकोमा घनले हानेको थियो । तर त्यसको पीडा रोइरहेकी थिइन् घरदेशमा मेरी आमा ।