आफ्ना हातैले छोइने दूरीमा सिङ्गो र नाङ्गो हिमाल नदेखुञ्जेल म पनि के ठान्थेँ भने, ‘हिमाल’ भनेको एक किसिमको अग्लो पहाड नै होला जसका थाप्लामा बाह्रै महिना हिउँ अडिएको हुन्छ । आफ्नै पैतालाले हिमप्रदेशको लामो दूरी ननापुञ्जेलसम्म पनि म के ठान्थेँ भने, ‘हिमनदी’ भनेको त्यही हिउँको आधा पग्लेको र आधा नपग्लेको रूप होला जो क्रमशः नदी बन्ने धूनमा ओरालिइरहेको हुन्छ ।

प्रतीक ढकाल

उपल्लो डोल्पाको २६ दिनको कठिन पदयात्रापछि लेखेको पुस्तक “हिमालपारि पुगेपछि” र त्यसैको अंग्रेजी संस्करण Beyond the Himalayas मा मैले “यसरी जन्मिने रहेछन् शिशु नदीहरू” र Infant rivers taking their motion भन्ने शीर्षकमा एउटा दुर्लभ फोटो पनि छपाएँ । ‘दुर्लभ’ यस अर्थमा कि त्यस्तो फोटो खिच्ने अवसर त्यस्तै दुर्लभ भूगोलमा पुग्दा मात्र दुर्लभ किसिमले नै प्राप्त हुने गर्छ । त्यत्तिको अनुभव हासिल गरेको मान्छे भएर पनि म शतप्रतिशत इमान्दारिताका साथ भन्छु— त्योबेलासम्म पनि मैले ‘हिमनदी’ भनेको के हो भन्ने कुरो बुझेकै रहेनछु । छापिएको तस्बिर सही हो, त्यसको दृश्य त झन् दुर्लभ हो नै हो । तैपनि मेरो धारणामा परिपक्वताको अभाव नै रहेछ— त्यो बेलासम्म पनि ।

हिमाललाई मैले अलिकति बुझेँ भन्ने स्थिति तब मात्र आयो जब २०६३ सालको शरदयाममा मैले सगरमाथाको आधारशिविरसम्मको यात्रा गर्ने प्रथम अवसर प्राप्त गरेँ । मेरा अघिल्ला यात्राहरू ‘पास’ मार्फत् हिमाललाई ‘पार’ गरेर पारिपट्टिको भूगोललाई कुल्चने ध्याउन्नमा मात्र सीमित भएका रहेछन् । मेरा अघिल्ला यात्राहरूले ‘हिमाल’लाई बुझ्नमा असाध्यै कम र सकेसम्म धेरै बाटो हिँडेको मान्छे हुनमा बढी ‘ऊर्जा’ खर्च भएको पनि ठीक साँचो हो रहेछ । लिगामेन्ट लगायत मेरा ज्यानका ‘पूर्जा’मा ह्रासकट्टी हुँदै गएको पनि ठीक साँचो हो रहेछ । र, यी दुबै खपत भएर पनि हिमालसम्बन्धी मेरो ज्ञानको ‘बुर्जा’ चाँहि उँचो हुन नसकेको पनि ठीक साँचै हो रहेछ ।

यसरी जन्मिने रहेछन् शिशु नदीहरू

तर वि.सं.२०६३ को कार्तिकले मभित्र ठूलो परिवर्तन ल्यायो । मभित्र हलचल नै मच्चायो र मैले बल्ल हिमाललाई अलिकति भए पनि चिनेको अनुभूति जगायो । म त संसारकै गौरव ‘सगरमाथा’ लाई खोज्दै उसैको आधारशिविरमै पुगेथेँ । कालापत्थरमा चढेथेँ । खुम्बु क्षेत्रका चोला, रेञ्जोला र खोङमाला आदि सबै ‘पास’हरूका थाप्लाहरूबाट उसैलाई खोज्दै तन्काउँथेँ आँखाहरू । अनि, आधारशिविरमै रात बिताउन थालेपछि बल्ल थाहा पाएँ— म त ‘लोबुचे’देखि नै हिमप्रदेशको यात्री पो भइसकेको रहेछु ।
‘गोरक्षेप’बाट उँभो लागेपछि नै चढ्न थालेको रहेछु मैले सगरमाथा । तर भूलवश म त्यसलाई ‘बाटो’ ठानिरहेको थिएँ । म जुन जुन ठाउँमा पाइला टेक्दै अघि बढिरहेथेँ त्यो सबैलाई ‘माटो’ ठानिरहेको थिएँ । आधारशिविरमा पुगेर हेर्दा पो थाहा भयो, म आफ्ना पाइतालामुनि पृथ्वी जत्रै ‘हिमाल’ भएको ठाउँमा उभिएर सिर्फ त्यसको बाहिर निस्केको टुप्पोलाई मात्रै हेरिरहेको रहेछु । ‘नुप्चे’ अजङ्गले फैलिएको छ मेरा आँखासामु र म त्योभन्दा ठूलो हिमशिलामाथि उभिएर ‘नुप्चे’लाई हेरिरहेछु । वास्तवमै जब हामी ५००० मिटरमाथिको हिमरेखालाई नाघ्छौँ तब त हामीले टेकेको ढुंगा, माटो र बाटो अनि हामीले देखेको हिमाल सबै सबै नै ‘हिमाल’ मात्र हुनेरहेछन् । त्यो ढुङ्गो पनि हिमाल हो, बाटो पनि हिमाल हो र हामीले टेकेको माटो पनि हिमाल नै हुँदो रहेछ । धर्तीमुनि हुने झन् ठूला ठूला अनि नदेखिने र ‘भूमिगत’ हिमालहरूले बाहिरका देखिने हिमालहरूलाई अड्याएका हुँदा रहेछन् । समुद्रमा देखिने ‘आइसवर्ग’ जस्तै पो रहेछ हिमाल त ! ‘आइसवर्ग’ अर्थात् जसको पूरै जिउ चाँहि पानीमुनि नै लुकेको हुन्छ र टुप्पो मात्रै देखिन्छ बाहिरबाट हेर्दा ।

हो, यस्तै अचम्मको चिज रहेछ हिमाल जसलाई म अपलक हेरिरहेँछु ।

आमादब्लाम बेसक्याम्प

दुईतले घर जत्रा ठूला ठूला ढुङ्गाहरू आउँछन् बाटोमा । कुनै माथि चढ्दै र कुनैसँग तर्कदै बाटो पार गर्नुपर्ने हुन्छ । चर्को घाम लागेका बेला यी ढुङ्गाहरू चल्छन् र हिँडाइ खतरापूर्ण हुनसक्छ । गाइडहरू भन्दै हुन्छन्, “याद गर्नोस् है, दिउँसो त ग्लेसियर चल्छ ।” अर्थात् यहाँ त जमीन भन्नु नै हिउँ हो र त्यो पग्लिएपछि ढुङ्गाहरू चल्न सक्छन् र नसोचेकै ठाउँमा पनि दुर्घटना हुन सक्छ । लड्न सकिन्छ, पुरिन सकिन्छ र मर्न पनि सकिन्छ ।

मैदानमै हिँडिरहेका हुन्छौँ । तर अलि पर पुग्दा जमिन नै पूरै भत्किएको भेटिन्छ ठाउँ ठाउँमा । अनि, त्यो भत्किएको ठाउँमा देखिन्छ त्यहाँको जमीनको— ‘क्रस सेक्सन’ स्केच । बीसौँ/तीसौँ फिट गहिरा यी पहिराहरूमा तल तल त झन् नीलो हिउँ पो देखिन थाल्छ । हज्जारौँ वर्षदेखि नपग्लेको नीलो हिउँ । चट्टानभन्दा कठोर भइसकेको यस्तो नीलो हिउँले ‘नट बोल्ट’ पनि लिन्छ । यस्तैमा ‘बल्टु’ कसेर र डोरी बाँधेर त हो नि हिमाल उक्लने बाटो बनाउने पनि । के तपाईंले बीसौँ/तीसौँ फिट गहिरो इनारमा हिमाल भेट्टाउने कल्पना गर्नु भएको छ र कहिल्यै ? खुम्बु क्षेत्रको पदयात्राका प्रत्येक पाइलामा यस्तै अनौठा सत्य र अद्भूत दृश्यहरूसँग साक्षात्कार गर्ने मौका पाइन्छ ।

हो, यहाँ त इनारभित्र पनि हिमाल नै ‘फलेको’ हुन्छ ।

चेप्टा चेप्टा ढुङ्गाका टोपी लगाएका हिउँका खम्बाहरू पनि प्रशस्तै देखिन्छन् यहाँ । ढुङ्गाले घाम छेकेका ठाउँको हिउँ मात्र पग्लन पाउदैन र बँच्छ तर अरू ठाउँको सिङ्गै सतह नै पग्लेर तल जान्छ र देखा पर्छन् सैनिक मञ्चका सैनिककै मूर्तिहरू झैँ ढुङ्गाका टोप लगाएका हिम सैनिकका मूर्तिहरू । चर्को घाम लागेको छ भने २ दिनपछि आफ्नै पालभित्र पस्नसमेत सकिँदैन । पालभित्र त पहिले कल्पनै नगरिएको हिउँको ‘खाट’ले जन्म लिइसकेको हुन्छ । चीन, जापान, अमेरिका वा युरोपतिर देखिने जस्ता रेल छिर्ने ठूला ठूला सुरुङहरू पनि देख्न पाइन्छन् यो ठाउँमा । हिउँ आफैँले बनाउँदो रहेछ यस्ता सुरुङहरू यो विचित्रको देवभूमिमा । त्यति मात्र होइन, सगरमाथाको आधारशिविरमा त तल तल स-साना हिमालका विरुवा जस्ता थुम्काहरूसमेत देख्न पाइन्छन्— नुप्चेको काखमा । साँच्चैका मनमोहक हिमालका विरुवाहरू । कतै लगेर सार्न पाए पनि हुन्थ्यो जस्तो लोभै लाग्ने खालका हुन्छन् हिमालका यी कलिला र स–साना बिरुवाहरू ।

आहा, हिउँका बिरुवाहरू भएको ब्याड ! कहिल्यै सोच्नुभा’थ्यो यस्तो ?

आश्चर्य लाग्छ, कसले गर्दो हो यस्तो कलाकारिता ? हेर्दाहेर्दै छक्क परिन्छ— प्रकृति आफैँले किन चाल्दो हो यसरी रोडा, ढुङ्गा, गिट्टी र बालुवा ? भनिन्छ हिमनदी, तर त्यो प्रकृतिको कस्तो अद्भूत र उपध्रोकारी शक्ति हो भन्ने कुरो त्यहीँ पुगेपछि मात्र महसुस गर्न सकिन्छ । ‘हिमनदी’ रे, तर कतै देखिँदैन नदी । उही ढुङ्गा, गिट्टी, र बालुवाका ठूला ठूला पहाडहरूका बीचमा स–साना डोबिल्काहरू देखिन्छन्— नीला नीला । बस, त्यही नै हो हिमनदी । ती ढुङ्गा, गिट्टी र बालुवाका विशाल विशाल थुप्राहरू त्यही हिमनदीले थुपारेको हो । देखेकै छु, यति ठूला ठूला थुप्राहरू त नेपालका सबैभन्दा बढी चलेका क्रसर उद्योगहरूले पनि बनाउन सकेका छैनन् । वास्तवमा हिउँले खियाउँदै खियाउँदै लगेर त्यतातिरको जमिनलाई पूरै छ्यान्द्रो पारिसकेको छ । हिमनदीले बढी खेलाएका ठाउँको जमिन धमिराको देवल जस्तो हुँदो हो— म अनुमान मात्र गर्न सक्छु । त्यही भएर त होला नि सगरमाथा चढ्न थाल्दा पनि खुम्बु आइसफल एरियाभरि धेरै जना आरोहीहरू एकै ठाउँमा जम्मा हुन, ठूलो भारी बोकेर हिँड्न, चर्को स्वरले बोल्न र घाम लागेका बेला हिँड्न एक किसिमले भन्नु पर्दा अघोषित प्रतिबन्ध नै लगाइएको छ ।

आफैँ जमिनमुनि खस्न सक्ने हुनाले, हिमखाल्डाहरू (खरपस) मा पर्न सक्ने हुनाले, देख्दा देख्दै जमिन फाट्न सक्ने हुनाले, पहिरो झर्न सक्ने हुनाले सबै आरोहीहरू श्वास दबाएर सटाकसुटुक हिँड्छन् यो बाटोमा— घाम झुल्किनुभन्दा धेरै अघि नै । यहीँ भेटिन्छन्— सगरमाथा आरोहीहरूलाई खरपस छलेर पहाड उक्लन सघाउन हिउँमै भर्याङ लगाइदिने आइसफल डाक्टरहरू । यी डाक्टरहरू पुराना औजार र उपकरणका भरोसामा आफ्नो जीवन जोखिममा झुण्डाएर भए पनि अरूको लागि बाटो बनाइरहेका देखिन्छन् । यी आफू विपन्न रहेर पनि त्यो बाटो ‘पार’ गर्ने कसैलाई ‘नाम’ले र कसैलाई ‘दाम’ले सम्पन्न बनाइदिन्छन् । यी घाटका माझीहरू हुन् । यिनीहरूले नै सबैलाई तारिदिन्छन् र सङ्कट पनि टारिदिन्छन् । तर आफू भने ‘सिजन’भरि नै जस्ताको तस्तै यहीँ नै रहिरहन्छन् । देखिरहेछु, अहिले पनि चार जना आइसफल डाक्टरहरू काममै व्यस्त छन् ।

शिखर चढाउने भर्याङहरू

संसारकै सबैभन्दा खतरनाक बाटो मानिन्छ यसलाई । यहाँको चप्पा चप्पासँग परिचित हुनाले नै उनीहरूलाई ‘आइसफल डाक्टर’ भनिएको हो । आइसफल डाक्टरहरू नहुने हो र उनीहरूले नै दशौँ ठाउँमा ठाडा र तेर्सा भर्याङहरू हालेर हिमखाल्डाहरूबाट नतारिदिने हो भने कसैले पनि सगरमाथाको आरोहण गर्न सक्तैन । पर्दा पछाडिका यी नायकहरू वास्तवमै सधैँका लागि पर्दापछाडि नै रहे; यो चाँहि बडो दुःखको कुरो भइरहेछ ।

हिमालको अर्को विचित्रको विशेषता हो— सूर्यको रङमा पूरै नुहाउनु । बिहानीपख जब सम्पूर्ण हिमाली श्रृंखला नै ‘सुन’को बन्न पुग्छ, त्योबेलाको जस्तो भव्यतम् दृश्य सायदै संसारमा अरू कुनै हुन्छ होला । बिहान सुनको हुनु, दिउँसो चाँदीको हुनु र सूर्यास्तका बेलामा तामाको हुनु हाम्रा हिमालहरूको विशेषता हो । हिमाली क्षेत्रको बिहान पूरै सुनको हुन्छ । तर यो अद्भूतपनालाई हेर्न तपाईं पनि चराभन्दा पहिले नै उठेर हिमाललाई हेर्न तम्तयार रहेको हुनुपर्छ । यस्ता दृश्यहरू दुर्लभ हुन्छन् र ढिलो उठ्नेहरूले कहिल्यै देख्न पाउँदैनन् । “टाइम एण्ड टाइड वेट्स् फर नन् ।” कुरो बुझियो होला केरे !

बेस क्याम्पतिर पाल टाँगेर सुतेका बेला मध्यराततिर पनि तोप पड्काएको वा गोलाबारीको जस्तो ठूलो आवाज सुन्न पाइन्छ । तर यो विष्फोट र गोलाबारीको आवाज कुनै विद्रोहीले निकालेको आवाज होइन, बरु हिउँको पहिरो गएको हो । हिउँको पहिरो जाँदा हिमालको माथिल्लो भागबाट हिउँको ठूलो ढिस्को खस्छ र एकदमै ठूलो आवाज र धुँवाको मुस्लो निकाल्दै त्यो तल झर्छ । नयाँ मानिसहरूका लागि यो आश्चर्यको कुरो पनि हुन सक्छ । तर बेला बेलामा यस्तो विष्फोट हुनु, हिउँ थुप्रिएर आफैँ सुतेको पालसमेत लच्किनु र ओछ्यानमुनिको ‘हिमनदी’ चलेर भूकम्प आएजस्तो भइरहनु ‘हिमालीफेद’का लागि अति सामान्य र दैनिकजसो भइरहने कुराहरू हुन् । यसमा बानी नलगाए त सुत्नै सकिँदैन । बस्तै जाँदा बानी पनि पर्छ नै ।

शिखर चढाउने भर्याङहरू

सगरमाथाको आधारशिविर (बेसक्याम्प) को रूप पनि स्थायी प्रकृतिको छैन । यो पनि हरेकपल्ट फेरिएको देख्न पाइन्छ । सिङ्गै सतह नै १०/२० मिटर माथि उठ्नु वा तल बस्नु यहाँका लागि सामान्य कुरो हो । माथि उल्लेख भएका ‘हिउँका खम्बा’ को उत्पति र टेण्ट सारिरहनु पर्ने कारणबाट पनि यसको पुष्टि हुने गर्छ । त्यही भएर त बेसक्याम्पको उचाइबारे भन्नु पर्दा पनि ५३०० मिटरदेखि ५४०० मिटरसम्म भन्ने गरिन्छ । ठ्याक्कै यति मिटर भन्ने नपाइ त्यहाँ त्यहीक्षणका लागि मात्र लागू हुन्छ । अर्को दिनको नाप अर्कै भइसकेको हुन्छ । र, अर्को कुरो, यो ठाउँमा यति चर्को घाम लाग्छ कि, मानौँ घामले छोएको ठाउँमा फोकै पो उठ्ने हो कि जस्तो स्थितिसमेत आउँछ । हिउँले पनि डढाउने र घामले पनि डढाउने हुनाले हिमालतिर डुल्न गएर आएका मानिसहरू ‘काला’ भएर फर्केका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने हिमालमा पनि तराई छ । हिमालले पनि मधेशको गर्मीमय विशेषता बोकेको हुने रहेछ ।

चैत्र/वैशाखतिर त सगरमाथाको आधारशिविरमा एक किसिमको ठूलो मेला नै लाग्दछ । दर्जनौँ पर्वतारोहण दलका सदस्यहरूका सयौँ किसिमका रङ्गीचङ्गी पालहरू, दर्जनौँ किचनहरू, स्टाफहरूका लागि बनाइने अरू अनेकौँ ठूला ठूला पालहरू, शौचालयका लागि बनाइएका अनेकौँ स–साना पालहरू, फेदीसम्म मात्र यात्रा गर्न आएका अरू पदयात्रीहरूका दर्जनौँ झुण्डहरू, हेलिकोप्टरहरूको बाक्लो ओहोर–दोहोर, अक्सिजनलगायतका अनेकौँ आरोहण गियरहरू बेच्न राखिएका दर्जनौँ पसलहरू, गाइड, भरिया, सम्पर्क अधिकृत, सरदार, पर्वतारोही, कुक र अरू पूजाआजामा संलग्न स्थानीयहरूको बाक्लो उपस्थितिले यो मेलाको रूपलाई नै कल्पनातीत बनाएको हुन्छ । कसले कल्पना गरेको हुन्छ र, यो ठाउँमा पनि यस्तो भीड लाग्ला भनेर ? कसले अनुमान गरेको हुन्छ र, पाल टाँग्ने ठाउँसमेत पाउन मुस्किल पर्छ भनेर ? कसले पूर्वानुमान गर्न सक्छ र, रङ्गीचङ्गी लु्ङ्दर (लु्ङ्ता) ले पूरै फेदीलाई नै बेहुलीलाई झैँ सिङ्गारेको हुन्छ भनेर ?

शिखर चढाउने भर्याङहरू

हो, हिमाल एउटा रहस्य नै हो रहेछ । यो धर्तीको उत्पति र मानव सभ्यताको विकाससँग जोडिएको एउटा नखुलेको पाटो नै हो रहेछ । हिमालको अद्भूत छटाको वर्णन हाम्रा वैदिक साहित्यदेखि पुराणहरूसम्म, संस्कृत साहित्यदेखि वर्तमान नेपाली साहित्यसम्म, पौरस्त्य साहित्यदेखि पाश्चात्य साहित्यसम्म र भूगोलदेखि जीवन–दर्शनसम्मका सबै विषयहरूमा गरिएको पाइन्छ । हिमाललाई युगौँ अगाडिदेखि नै संसारका सबैतिरका वाङ्मयहरूमा साहस, सौर्य, सुन्दरता, स्थिरता, विचित्रता, अगम्यता, सु्रम्यता, रहस्यमयता, रौद्ररम्यता, धैर्य, रोमाञ्च, उच्चता, दुर्लङ्घ्यता, शीतलता र अटलताको बिम्ब, प्रतीक, चिन्ह, उपमा, मिथ आदिका रूपमा चित्रण गर्दै आइएको पाइन्छ । सबैभन्दा धेरै हिमाल नेपालमै छन्, तर यीमाथि केन्द्रित भएर सबैभन्दा बढी लेखेका छन्— पश्चिमा विद्वानहरूले । हिमालको सौन्दर्यको केस्रा केस्रा केलाउने काम पश्चिमका कवि/लेखकहरूले मात्र होइन, फिल्म निर्माता, सामाजिक अनुसन्धाता, आरोही, वैज्ञानिक, विद्यार्थी र विश्वविद्यालयहरू धेरैले गरेका छन् । तर हामीले भने, आफ्नै हिमालका बारेमा समेत थाहै नपाई बसेका छौँ । सात समुन्द्रपारिका मान्छेहरू आएर यी देवताहरूको निवासस्थलमा चारचौरास डुलिसकेका छन् । तर हामी नेपालीहरू भने अझै पनि त्यतातिर चासै नराखेरै बस्न सकेका छौँ ।

कठै, कति नबुझेका हौँ हामीले ?

यदि हिमाल संसारकै रहस्यको पोको हुँदैनथ्यो भने हिँडेरै पोखरीलाई पार गर्न सम्भव हुन्थ्यो होला र ? सिङ्गै सगरमाथालाई खोज्न जाँदा पाँचपोखरीलाई त हिँडेरै तर्यौँ नि हामीले पनि ! पानीको लौरो त तेङ्बोचे गुम्बामै टेकिसकेका छौँ सबैले । सफलता र असफलता, संयोग र वियोग, हार र जीत अनि आँसु र हाँसो दुबैको बिम्ब एउटै हिमाल कसरी बन्न सक्थ्यो होला र ? संसारलाई पानी खुवाउने हिमाल, के हामीले महत्व नदिए जस्तै सानो कुरो होला र ? जहाँ एक ‘पाइला’ पनि महङ्गो हुन्छ अनि जहाँ प्रत्येक पाइलाले कीर्तिमान रच्छ । इतिहास बनाउँछ । के त्यस्तो ठाउँ पनि चासो नराखीकन बस्न मिल्ने खालको होला र ?

“स्रष्टाका आँखामा नेपाली पर्वतीय साहित्य” नामक कृतिको आवरणमै त्यसका लेखक ट्रिपल पिएचडीधारी डा. खेम कोइराला बन्धुले उल्लेख गर्नुभएको छ— “पश्चिमाहरूले समुद्रमै केन्द्रित भएर साहित्य लेखे, नोबेल पुरस्कारबाट सम्मानित भए र सारा विश्वको ध्यान आफैँतिर खिच्न सफल भए । अरबीहरूले मरुभूमिलाई नै साहित्यमा उतारे र विश्वव्यापी सम्मान प्राप्त गरे । टापु हुनेहरूले टापुकै कुरो गरे र प्रख्यात भए । तर हामीले चाँहि आफ्नो अमूल्य सम्पतिको रूपमा रहेको पर्वत र हिमालमा केन्द्रित भएर लेख्न सकेनौँ, चाहेनौँ, लागेनौँ, जानेनौँ । ….. सारा संसारले गौरवको रूपमा हेर्ने गरेका हिमालयहरू हामीसँगै छन् तर हामी आफ्नै यी विशाल अनि गौरवशाली सम्पदाका बारेमा किन लेख्तैनौँ ?”

डा. बन्धुले उल्लेख गर्नुभएको यो सत्य व्यहोराबाट अब हामीले पनि केही सिक्नै पर्छ । हिमालले हामीलाई पहिचान दियो, अब हामीले पनि हिमाललाई सम्मान दिनै पर्छ ।

प्रिय पाठक मित्रहरू ! मलाई त अब तपाईंहरूको मात्रै भरोसा छ । तपाईंहरूले नै अब यी ‘सुन’का थुम्काहरूलाई देख्नुपर्छ, तिनका आङमा टेक्नुपर्छ र फर्की आएर अब तिनैका बारेमा लेख्नुपर्छ । हो, अब हामीले हाम्रै हिमालका शिरमा खादा चढाउनुपर्छ र त्यसको साहस–कथा सारा विश्वलाई पढाउनुपर्छ । हामीलाई यति ठूलो हिमाली श्रृंखलाको उपहार दिने प्रकृतिप्रति निरन्तर अनुगृहित रहँदै अब हामी सबैले मुकुन्दशरण उपाध्यायको यो भक्तिभावलाई सधैँ पछ्याउँनै पर्छ—

धन्य तिम्रो कृपा यत्रो सकेछौ पर्वतै दिन
हे विधाता ! म चाहन्न यहाँभन्दा धनी हुन ।