‘सिसाल त्यो रुखको नाउँ हो, जसको आफ्नो धडको रेसाहरु धेरै कडा हुन्छन् र सिसाल त्यो स्वास्नीमान्छेको नाउँ हो, जसको आफ्नो शरीरका रेसाहरु सायद त्यति कडा छैनन् । सिसालको रुख आफूभित्र पनि एउटा कडा काठ नै हो तर सिसाल… … आफूभित्र धेरै नरम अभिव्यक्तिहरुको एउटा सङ्लो थुँगा । उसभित्र एउटी कोमल स्वास्नीमान्छे छ । … … मलाई विश्वास छ, मानिस सृष्टिको सर्वोत्तम सिर्जना हो नत्र सिसाल कुकुरको समाजमा जन्मन्थी… … ।’
‘के यो संसारमा फूल फुल्नु मात्र एउटा उद्देश्य हो ? सिसाल के… … यहाँ हुरीलाई बग्ने अधिकार छैन ? हुरीमा पनि विश्वास गर, हेर सिसाल बरु, बरु हुरीलाई स्वीकार गरिदेऊ । पशुको समाजमा हुर्केर तिमी पनि कति पशु भइसकिछौ । एकपल्ट… … एकपल्ट संहारलाई मानिदेऊ सिसाल, सायद तिमी अब रुँदिनौ… … ।’
‘तिमीलाई मेरो माया लाग्छ ?’
‘कति निरर्थक प्रश्न… … मेरो माया प्रशस्त भए जस्तो छैन, हो ?’
‘उसो भए… … बिहे त तिमी मसँग गर्छ्यौ, होइन ?’
‘सुन्नुस्, म आफूले कहिल्यै नदेखेको लोग्नेमान्छेसँग बिहे गर्छु । … … … र बिहेको पहिलो रातमा नै ऊ मेरो अघि कठोर र बर्बर पेश आउन सक्नुपर्छ । मेरो मानसिकताको पछि लाग्न थाल्यो भने उसको पनि हार हुनेछ, सधैंको हार । कुरा बुझ्नुभएन ? मलाई प्रेममा विश्वास छैन ।’
‘सिसाल !’
‘मानेको छु विवाहको आवश्यकतालाई तर मलाई आत्मसमर्पणमा विश्वास छैन ।’
‘सिसाल, के यही तिम्रो… …’
‘हो, मेरो अहिलेसम्मको एउटै निष्कर्ष !’ १
र पारिजातको पनि अहिलेसम्मको निष्कर्ष यही हो ।
‘विवाहको विरोध त छैन, पारस्परिक प्रेम र समझदारी हुनुपर्ने हो । तर, म आफूलाई सुम्पन सक्दिनँ । मानसिकताको हत्या मबाट हुन सक्दैन, न कसैबाट हत्या गराउन नै सक्छु । पूर्ण व्यक्तिगत रुपमा भन्ने हो भने शरीर समर्पण गर्नुपर्ने कुरालाई मैले हीनता मानेकी छु । सायद यो Superiority Complex (उच्चताभास) ले गर्दा नै होला ।’
हुन सक्छ यो उच्चताभासले गर्दा नै होला । तर, विवाह गर्दै नगर्ने विचार पनि पारिजातको हैन । आफूले चाहेको सबै गुण भएको व्यक्ति पाए विवाह पनि गर्ने विचार छ । त्यस्तो व्यक्ति पनि ‘यो हो’ भनेर थाहा पाइसकिएको छ, तर विवाहको कुरा ? विवाहको कुरा त्यसै बीचमा परिरहेको छ । हुन त भूपी शेरचन, मदन रेग्मी र अरु कोही पारिजातको नामसँग नमुछिएका पनि होइनन्, तर विवाहको मामलामा यी सब अलग छन्, यी मित्र मात्र ! र पारिजातले कल्पना गरेको पुरुषको ‘चरित्र’ पनि यिनमा सायद नपाइन सक्छ !
‘जीवन निस्सार छ, तैपनि हेप्न यसलाई सकिन्न । जीवन मलाई कस्तो लाग्छ भने यो सुखी प्रणाली चाहिँ जरुर हैन, मानिस दुःख पाउन नै जन्मन्छ । जुनसुकै अवस्थामा पनि यसले दुःख भोगिरहेकै छ । बाँच्नको लागि बहाना जे पनि बनाउन सकिन्छ, तर जे बहाना बनाए पनि जीवन ज्यादै दुःखमय छ, जीवन लक्ष्यहीन छ । यो थाहा पाएर पनि म बाँच्नको लागि विभिन्न बहाना गर्छु र गर्न सक्छु पनि, त्यसैले मैले गुनासो गर्ने ठाउँ पनि छैन, अनि जे हुन्छ त्यसैलाई चुपचाप भोगेर जान्छु ।’ पारिजातको यस भनाइलाई म र सुकन्या सुनिरहेका हुन्छौं ।
भनाइ टुङ्गिसकेको हुँदैन- ‘मान्छे मलाई कुनै राम्रो हो जस्तो लाग्दैन । मान्छेको अनुपातमा म कुकुरको पनि त्यत्तिकै सम्मान र माया गर्न सक्छु, किनभने मान्छेप्रति मेरो एक डिस् यिल्युजनमेन्छ छ ।’
‘किन… …’ म सोध्न चाहन्छु यसको पूरा कारण तर बीचमै पारिजात, मेरो मनसाय बुझेर होला, भन्न थाल्छिन्- ‘आफ्नै दृष्टिकोणमा मान्छेलाई धेरै चिनेर हो यो विवेक र बुद्धि भएर मान्छे धेरै जान्ने हुन्छ, त्यस कारण उसको बेइमानीपना, अहङ्कारीपना जस्ता दुर्गुण धेरै थाहा पाएर ममा डिस् यिल्युजनमेन्ट आएको हुन सक्छ ।’
यो पारिजातको भनाइ हो, सिसालको मनोभाव पनि यही हो, सकम्बरी र सुयोगवीरको विचार पनि यस्तै छ ।
अनि म सोधिरहेको हुन्छु- ‘किन पारिजातज्यू, तपाईं आफ्ना पात्रहरुसँग यसरी मिसिनुभएको, सबलाई आफ्नो माउथपिस बनाउनुभएको ? शिरीषको फूललाई एक कठिन निष्कर्षलाई, अनि आफ्ना कवितालाई किन आफ्नो जीवनगाथा बनाउनुभएको ?’ यो मेरो गुनासो हैन, सिकायत हैन, खाली मनमा आएका भावना हुन्, जुन त्यसै व्यक्त हुन पुग्छन् । सुकन्या रुमालमा बुट्टा भरिरहेकै हुन्छिन् । म झ्यालमा बसेको हुन्छु र हामी दुईबीचको रिक्त स्थानमा रहेको एक चकटीमाथि पारिजात बसेकी हुन्छिन् ।
‘मैले कुनैलाई आफ्नो जीवनथा बनाएको हैन, तर सिसाल, सकम्बरी र सुयोगवीरको मुखबाट आफ्ना कुरा भन्न लगाएकी हुँ । आधारभूत रुपमा भन्ने हो भने तिनीहरुको र मेरो जीवनको सैद्धान्तिक पक्षमा त्यस्तो विधि भिन्नता केही पाउन्नँ ।’
पारिजात यति भनेर चुप लाग्छिन् । अनि म चुप लागेर मनमनै भनिरहेको हुन्छु- ‘व्यावहारिक जीवनमा पनि त्यस्तो विधि फरक छैन ।’
र मलाई एभ्जेनी यभतुसेङ्कोको याद आउँछ, जो भन्छन्- ‘यदि कविले आफूलाई मानिस र कविको रुपमा दुई फ्याक पारी भाग लगाउन थाल्छ भने उसले अवश्यम्भावी रुपमा आफ्नो कलाकार जीवनको आत्महत्या गरेको हुन्छ ।’ सायद पारिजातले अहिलेसम्म आत्महत्या नगरेको कारण यही हुन सक्छ । र ‘सायद’ अहिले मात्र हैन, पछिसम्म पारिजातवाद आत्महत्या हुने पनि छैन, किनभने म पारिजातकै मुखबाट सुनिरहेको हुन्छु- ‘मानिसको सीमा नै यत्ति हो, उसले जानेकै यत्ति हो जस्तो लाग्छ मलाई, अनि म जीवन ‘उही हो’ र ‘यस्तैको’ रुपमा स्वीकार गरी ‘मान्छे के हो र ?’ म यसलाई किन टेरुँ !’ जस्तो भावनामा मुछिएर ममा कुनै विपरीत प्रतिक्रिया आउन्न अनि त्यसैले म त्यसै मर्न चाहन्नँ ।’
पारिजातको कोठामा एकजना केटो फूल लिएर छिर्छ । उसलाई थाहा छ, पारिजातलाई फूल मन पर्छ, उसलाई यो पनि थाहा छ, फूल मन परेर नै पारिजातले आफ्नो नाम एक फूलको नाममा राखेकी हुन् (त्यस्तो फूलको नाममा जुन झरेपछि मात्र टिप्न सकिन्छ, यौवनावस्थामा छुनै पाइन्न, महादेवको पूजा गर्न कुन्तीको लागि अर्जुनले टिपी ल्याएको स्वर्गीय फूल-त्यस्तै पारिजात !) ‘शिरीषको फूल’ लेख्ने पारिजातको कोठामा कमल र सर्वदा फूल टेबलमा सजाइएको हुन्छ मात्र, त्यहाँ पारिजातको फूल छैन, न कुनै होटल पार्टी क्लब आदिमा पारिजातको फूल सजाइन्छ, न त्यहाँ पारिजातकै उपस्थिति हुन्छ । म थाहा पाउँछु, पारिजातलाई त्यस्तै ठाउँमा बस्न मन पर्दैन, जान मन पर्दैन । यी बानी तीन वर्ष यता मात्र विकास भएका हैनन्, तीन वर्षअघि पनि यस्तै थिए ।
तीन वर्ष !
एक पल ! एक क्षण ! एक युग !
यी समस्त समय बिते एक सानो कोठामा पारिजातको, एक कैदीको रुपमा, कैदी-बाथको कैदी ! कोठा अगाडिको लामो सडकको किनारामा रहेको अग्लो पर्खाल- यही नै पारिजातको आँखाले भेट्टाउने सीमा हो । सिंहदरबारको यो अग्लो पर्खालको किनारामा रहेका अग्ला रुखमा आउने वसन्त र यी वसन्तमा रमाएका चराहरुको चरचराहट ! जताजतै खुसी, यी खुसीले मदमत्त भएर उड्ने चराहरु अकासिन्छन् र यसरी नै पारिजातको कल्पना अकासिन्छ, अकासिन्छ र अकासिरहन्छ नै- कविताको रुपमा, कथाको रुपमा, उपन्यासको रुपमा र अब एकाङ्कीको रुपमा पनि !
पारिजातलाई बाँच्न बराबर डाक्टर आएका हुन्छन्, डाक्टरलाई जचाउँन बराबर पारिजात शान्त भवन पुगेकी हुन्छिन्, यो आवतजावतको क्रम जारी रहन्छ र पारिजातको बाथको रोग पनि यसरी नै जारी रहेको हुन्छ । परस्परको यो जारी …समय बढ्दै जान्छ एक, दुई, तीन-दिन, महिना वर्ष अनि तीन वर्ष !
पारिजातको नाममा आँसु बग्छ !
पारिजातको नाममा ‘बिचरी’ को धुइरो चल्छ !
पारिजातको नाममा बिन्तीपत्र दर्ता हुन्छ !
पारिजातको नाममा प्रतिनिधि मण्डल घुम्छ !
यी सब भई नै रहन्छन्, पारिजात हेरिरहन्छन्, सुनिरहन्छिन् यी सब कुरा, तटस्थ हुन सक्दिनन्, उनको मनमा रोष पैदा हुन्छ, खिन्नता बढ्छ र भुटभुटिन्छिन्, आफैंप्रति, आफ्ना यी हमदर्दीप्रति, किनभने थाहा छ पारिजातलाई मानिसको आँसु कति सस्तो छ ‘बिचरी’ कति सस्तो छ र यसरी ती सब कुरा कति धेरै सस्ता छन् !
आजको शून्य सडक म हेरिरहेको हुन्छु, पारिजातको त्यही झ्यालबाट !
सुकन्याको रुमाल सिद्धिसकेको हुँदैन । पारिजातको मुखबाट निस्किरहेको हुन्छ- ‘यो फाल्गुणमा पूरा तीन वर्ष हुन्छ कोठामा थुनिएको ! दया र सहानुभूति पाएर म बाँच्न सक्दिनँ, त्यसैले म विज्ञापन दिन चाहन्नँ आफ्नो बाध्यताको ! म अरुलाई पनि आफ्नो दया र सहानुभूति दिन सक्दिनँ । साहित्यिक संसारले मप्रति देखाएको दया र सहानुभूतिलाई म दिलैदेखि घृणा गर्छु, अस्वीकार गर्छु । मैले मेरो रोगलाई आफ्नो जीवन सरह स्वीकार गरेकी छु ।’
यसरी समय बितिरहेको हुन्छ ।
My younger sister Sukanya is mad after literarute and nationalis and she takes my existense better than of her own. She loves me like anything. I, whwo hate parasitism in love and maintenance, am a real paratise of her… … … २
म पढिरहेको हुन्छु, फेरि यसलाई दोहोर्याएर पढ्छु, अहिले चाहिँ स्पष्ट स्वरमा सुन्नेले बुझ्ने गरेर ! अनि पारिजातको अनुहारमा हेर्छु, कृतज्ञताको भाव पाउँछु, मेरो आँखा घुम्छ, सुकन्याको अनुहारमा अड्किन्छ- उनको अनुहार रातो हुन्छ- स्वीकार र लाजको मिश्रित आभा त्यहीँ पाउँछु ।
सोध्छु पारिजातलाई- ‘यत्ति मात्रै ?’
‘हैन सुकन्यापछि म आफ्नो जीवन लम्ब्याउन दिएको आधारको निमित्त सुश्री दयासिंहको पनि आभारी छु ।’
‘अझ, अरु पनि कि ?’
‘छु, आफ्नै जीवनप्रति र जीवनप्रति रहेको आफ्नो अनास्थाप्रति !’
‘अनास्था… … … !’
‘आस्था एक अस्तित्वहीन अनुभूति हो । यो काथर र आत्मविश्वास नभएका व्यक्तिको निमित्त मात्र कामको साबित हुन सक्छ । त्यसैले ईश्वर भन्ने चिजमा मेरो आस्था छैन । जीवन भन्ने चिजमा पनि मेरो आस्था छैन र अरुको हुनुपर्छ भन्ने कुरामा पनि मेरो विश्वास छैन ।’
‘पारिजातलाई दर्शन बढी मन पर्छ साहित्यको तुलनामा ? हैन,’ पारिजातको भनाइ छ- ‘म बढी साहित्यकार नै हुँ, दर्शन मेरो चाखको विषय मात्र हो, तर साहित्य- मेरो जीवन !’
‘कसरी भयो ?’
‘आफूमा परेको पीर हटाउन लेख्न थाल्दा ?’
‘कसरी छपाउन थालेको नि ?’
आईए पढ्दा चित्तरञ्जनजी सुकन्यालाई पढाउन आउनुभयो । त्यस बखत मैले दुई-तीन कविता लेखेकी थिएँ । चित्तरञ्जनजीले देख्नुभएपछि राम्रो लाग्यो छपाइदिन्छु भनेर लिएर जानुभयो अनि ‘दुई कविता’ १३/१४ सालतिर ‘धरती’ मा छापिए ।
‘ए !’ रुपमा मेरो उद्गार निस्कन्छ । अनि बोल्न थाल्छु, ‘पारिजातज्यू आजकाल साहित्यलाई तपाईंले कुन रुपमा लिनुभएको छ ?’ र यसरी जवाफ पाउँछु म- ‘साहित्यलाई सभ्यताको प्रमुख अङ्ग मान्छु । साहित्यको विकास नभई राष्ट्रको विकास हुन सक्दैन । यसैले साहित्य राष्ट्रको अभिन्न अङ्ग हो ।’
‘साहित्यको विकास गर्न आफूप्रति कत्ति भरोसा राख्नुभएको छ ?’
‘आफूमा यी कुराको सिलसिलामा केही भरोसा लाग्दैन । मैले गरेर विकास हुन्छ नगरेर हुँदैन भन्ने कुरामा नै मलाई विश्वास छैन । म लेख्छु, पाठक पढ्छन्, बस् यतिमै आफ्ना सिर्जनालाई सीमित राखेकी छु । यसभन्दा बढी सोचेकी पनि छैन ।’
‘यौनबारे कत्तिको सोच्नुभएको छ ?’
‘साहित्यमा यौन अभिव्यक्तिको स्वतन्त्रता सीमित हुनुपर्ला कि नपर्ला विचार के छ तपाईंको ?’ म पारिजातको आन्द्राभुँडी खोतल्न खोज्छु ।
‘साहित्यको सिर्जना गर्दा यौनसम्बन्धी इमान्दारी राखिएको हुनुपर्छ । यौन अभिव्यक्ति गर्दा भल्गारिटी र अवशिन हुनुहुँदैन ।’
‘कत्तिसम्म… … ? वास्तवमा भल्गारिटी र अवशिन नै हो के ?’
‘शब्द र भाषा निर्भर गर्दछ । उत्तेजना र मनोरञ्जनको निमित्त मात्र यौनको अभिव्यक्ति गरिएको छ भने त्यो भल्गारिटी हो, अवशिन हो । त्यसैले साहित्य यस्तो हुनुहुँदैन । इमान्दारीपूर्णको अभिव्यक्ति व्यक्त गरेर कलमलाई ज्यादै सचेत राखी यौन साहित्यको पनि सिर्जना हुनुपर्दछ । यो जीवनको एक अर्को आवश्यकता हो, एक साहित्य अभाव हो, एक समस्या हो ।’
‘यी सब त भए तर इमान्दारीपूर्ण … ! कस्तो इमान्दारीपूर्ण ? कसप्रति इमान्दार हुने ? आफूप्रति ? समाजप्रति या सीमित केही पाठकप्रति ?’
‘इमान्दारीपूर्ण याने सचेत भए समाज या पाठकप्रति हैन आफैंप्रति !’
सरदार धनमानसिंह वाइवाको तेस्रो पत्नीबाट पैदा भएको तेस्रो पुत्र डा. के.एस. वाइवाको दोस्रो पत्नीबाट जन्मिएकी दोस्री पुत्री पारिजात ! केटाकेटी अवस्थामा आमाको देहान्त हुन्छ, तर समृद्ध परिवार भएकोले आमाको स्नेह खट्किन पाउन्न । तैपनि पारिजात बालककालदेखि नै एक्लिँदै जान्छिन् । यही अवस्थामा घरमा धमाधम मानिस मर्दै जान्छन्, बाको पीर बढ्दै जान्छ । जीवनप्रति अनास्था बढ्दै जान्छ । एक सफल डाक्टरको प्राक्टिस छुट्दै जान्छ । यी सब कुराको पृष्ठभूमिमा पारिजातको एकलकाटेपनाको झन् वृद्धि हुँदै जान्छ घरको धन घट्दै जान्छ ।
बाजे चैनपुरबाट दार्जिलिङ गएकोमा नातिनी दार्जिलिङबाट काठमाडौं आउँथिन् । साथमा सबै कुरादेखि एक्लिएको बा र बहिनी सुकन्या हुन्छिन् । दुवैको अध्ययन चल्छ । सुकन्या नेशनल कलेजमा पढ्छिन् । पारिजात पद्मकन्यामा दुवै जना स्नातक हुन्छन् । जीवन निर्वाह गर्नका खातिर आफ्नै घुँडा धस्न दुवै तम्सन्छन् ।
पारिजातको धर्मग्रन्थको अध्ययन बढ्दै जान्छ । गीता, बाइबल, कुरानको अध्ययनमा वृद्धि हुन्छ । अध्ययनको वृद्धिको साथै पारिजातको अनास्था पनि बढ्दै जान्छ र एकदिन पारिजात भनिरहेको हुन्छिन्- ‘आस्था एक अस्तित्वहीन अनुभूति… … ।’
पारिजातको खाटको छेउमा राखिएको टेबलमाथिको फूलदानीमा रहेका फूलहरु ओइलाइसकेका हुन्छन् । बिहान केटोले ल्याएको फूललाई सुकन्या मिलाउँदै फूलदानमा राख्न लागेकी हुन्छिन् । यो फूल ताजा छ, यसमा आभा झल्कन्छ र पारिजातको जीवनमा केही माने राख्ने प्रयासमा यो ‘भएको’ देखिन्छ, ‘शिरीषको फूल’ को प्रयास झैं !
म सोध्छु- ‘शिरीषको फूललाई कुन रुपमा लिनुभएको छ ?’
सुकन्याको हातबाट सलाईको काँटी कोरिन्छ, पारिजातको मुखबाट धूवाँ निस्कन्छ, धूवाँले कोठा रङ्मङिन्छ ।
पारिजातको मुखबाट अर्को धूवाँ फुस्स निस्कन्छ र वाक् पुट्छ- शिरीषको फूलको दर्शन र विचार जनसाधारणमा आउनुपर्ने बाध्यता छैन, नभए पनि आइदियो । अहिले यही नै बाध्यता भयो । परम्परालाई यसले हुत्याइदियो, यसमा गर्व छ मलाई । भाषा, शैली, प्लट, चरित्र प्रस्तुतीकरण आदिमा नवीनता ल्याएर उपन्यास यसरी पनि लेख्न सकिन्छ भनी शिरीषको फूल दिएकोमा पनि गर्व छ मलाई । उपन्यासमा क्रान्ति ल्याउनुपर्छ भन्ने कुरासँग म पहिलेदेखि नै परिचित थिएँ । किनभने नेपालीमा उपन्यास नै लेखिएको छैन, लेख्ने कसैको आँट छैन, सुयोगवीरको स्वीकारोक्ति जत्ति पनि आँट छैन ।’
यसरी पारिजात आफ्नो आँट देखाइरहेकी हुन्छिन्, म र सुकन्या सुनिरहेका हुन्छौं ।
म सुनि मात्र रहेको हुन्नँ, बीच-बीचमा बोल्छु पनि- शिरीषको फूलमा शङ्कर लामिछानेको भूमिका विवादास्पद भयो बाहिर, तपाईं भूमिकासँग सहमत हुनुहुन्छ ?’
‘छु ! लामिछानेज्यूबाट आफ्नो कुनै उपन्यासको भूमिका लेखाउने धोको थियो, उत्तमज्यू, पूरा भयो । शङ्कर लामिछाने जस्ता लब्धप्रतिष्ठित लेखकले मेरो बारेमा जानेर, बुझेर, सोचेर लेखिदिनु मेरो निमित्त धेरै बेस कुरो हो । दार्शनिक पक्षबारे उहाँका तर्कसँग पनि म सहमत छु ।’
‘कविता, कथा, उपन्यास आदिनमा धेरै के लेख्न मन लाग्छ ?’
‘कविता ।’
‘कसका कृति मन पर्छन् ?’
‘मदन रेग्मी र मोहन कोइरालाको कविता मन पर्छन् । साहित्यमा सक्रिया हुन्जेलसम्म भूपीको कविता पनि औधी मन पर्थ्यो । बालकृष्ण पोखरेल, शङ्कर लामिछाने र रमेश विकलका गद्य मन पर्छन् । आधुनिक धारा ल्याउन खास गरी लेख्नेमा ध्रुवचन्द्र गौतम, मदन रेग्मी र प्रेमा शाह मन पर्छन् । प्रेमा शाहको कथाको प्रस्तुतीकरण त कुनै विदेशी श्रेष्ठ कथाकारको भन्दा कम छैन ।’
फेरि चुरोट सल्कन्छ, पारिजातको मुखबाट धूवाँ फेरि निस्कन थाल्छ । म पढिरहेको हुन्छु- I knew afterward that she was a very beautiful woman who preferred to live behind the curtain with her family members and children, always fascinating the household affairs. ३
यो पारिजातको आमाको बयान हो । पारिजातको पनि बयान यस्तै हुन्छ । फूलबारी गोड्ने, मानिस बोलाई ख्वाउने, पकाउने र फूलबुट्टा भर्ने, यी नै पारिजातका सौख हुन्, जिउले भ्याए अनुसार सौख अझ कार्यान्वित हुन्छन् तर कहिलेकाहीँ मात्र ! आमाको पनि यस्तै बानी, छोरीको पनि यस्तै बानी ! … … आमा सरह छोरी पनि राम्री, सुलुत्त परेकी… … । फेरि धुवाँ निस्कन्छ- पारिजातको हालको मनोरञ्जनको साधन यही नै हुन्छ, वास्तवमा साधन यो मात्र हैन- गफ चुट्नु जङ्गलको पिकनिक स्पटमा घुम्न जानु, संगीत सुन्नु आदि पनि पारिजातका मनोरञ्जनका साधन हुन् ।
पुतलीसडकमा घाम चर्किँदै जान्छ । बस र मोटर परस्परमा होड गर्दै दगुरिरहेका छन्, चराको आवाज कम सुनिन् थाल्छ । मेरो आवाज भने प्रष्ट हुन्छ- ‘तपाईंलाई कुन कृतिमा आफू सफल भए जस्तो लाग्छ ?’
मेरोभन्दा बढी पारिजातको स्वर प्रष्ट हुन्छ- ‘वास्तवमा म कुनैमा पनि सफल भएको छैन । तर, तुलनात्मक सफलतामा मलाई आफ्ना मन पर्ने कृतिमा ‘तिउरीको फूल- पाइरियाको गन्ध’ कथा मन पर्छ र कवितामा ‘लाहुरेलाई रोगी प्रेमिकाको पत्र’, ‘मृत्युको अँगालोमा’ र ‘नसोध ए घाउ’ मन पर्छ । यति पढ्दा भने म साँच्चिकै लेखिका हुन लागेछु क्यार जस्तो लाग्छ ।’
‘अब के लेख्ने विचार छ ?’
‘बाँचिएछ भने अर्को एउटा उपन्यास लेख्ने विचार छ । आजकाल चाहिँ रेडियोलाई रुपक लेख्दै छु- यसबाट कमसे कम चुरोट खर्च त चल्छ ।’
यही नै हो पारिजातको जीवनी ! हैन, हैन यसलाई जीवनी नभनौं, भनौं टिप्पणी मात्र ! किनभने येथतुसेंकोले भनेकै छन्- ‘एक कविको आत्मकहानी उसको कविता हो । यस बाहेकका अरु सब कुरा खाली टिप्पणी मात्र हुन् ।’
- फुटनोट:
१. ‘रुप-रेखा’ मा प्रकाशित पारिजातको ‘एक कठिन निष्कर्ष’ का केही अंश ।
२. मेरी बहिनी सुकन्या साहित्य र राष्ट्रियताको लागि मर्नै तयार हुन्छिन्, आफ्नोभन्दा बढी रुपले मेरो हेरचाह गर्छिन् । मलाई असाध्यै माया गर्छिन् । प्रेम र गुजारामा पराश्रयी हुनेलाई असाध्यै घृणा गर्ने म आफैं उनीप्रति आश्रित हुन परेको छ । – पारिजातको आत्मपरिचयबाट ।
३. मैले पछि कुरा थाहा पाएँ भने तिनी अति राम्री महिला थिइन्, जो आफ्ना परिवार र बालबच्चासहित घरेलु काममा मख्ख परेर आफ्नो जट्ठवन शान्त रुपमा बिताउन चाहन्थिन् – पारिजातको आत्मपरिचयबाट ।
(स्रष्टा र साहित्य, ०२३ बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।