भनिन्छ, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् । जहाँ अदालत र अनुशासनको कुनै काम हुँदैन । त्यसैले प्रेमको खिसिट्युरी गरेर आडम्बरको नाङ्गो ढोलक बजाउनेहरुलाई आकाश बनाएर चिथोर्न मन लाग्छ मलाई ।

प्रेम मनले मनलाई गर्ने कुरा हो । खोज्दा नभेटिनसक्ने तर अनुभूति गर्दा जहिल्यै भेटिने । प्रेम विश्व व्रह्माण्ड प्रसिद्ध छ । यसको मान्यता सर्वव्यापी छ । जगत् र जगत्भन्दा माथि पनि यदि केही छ भने प्रिय नै हुन्छ प्रेम । दु:खको पनि कारक र सुखको पनि कारक हो प्रेम ।

आदम र इभसँगै उद्भव भएको प्रेम अपरिवर्तनशील छ । प्राग्इतिहासदेखि वर्तमानसम्म यसरी नै चिनिएको छ । लगाव, आकर्षण, चाहना, माया, मन जे भने पनि प्रेम हृदयको अन्तरकुन्तरमा आइरहने मीठो भूकम्प हो । यसमा जति हार्दिकता, सौहार्दता, कोमलता र शीतल स्नेह अन्यत्र कतै पाइँदैन । बलको हिसाबले पनि त्यत्तिकै शक्तिशाली प्रमाणित भएको छ । कतै, कुनै युद्धमा विजयश्रीका लागि अचुक अस्त्रको बारुद पनि यसैभित्र समाहित भएको थियो । त्यसैले प्रेमलाई ठ्याक्कै परिभाषा गर्न मिल्दैन भन्छु । प्रेमले अलिकति पखेटा फिजाउनासाथ आकाशलाई पछाडि पारिदिन सक्छ । गहिरिने सोचाइमा मात्र पनि सागरलाई कम पारिदिन सक्छ । प्रेमको विशालता भनेको यही होला सायद ।

विद्वान् प्युुुुटसले घोषणा गरेका छन्, ‘प्रत्येक मानिसले सर्वप्रथम आफैलाई प्रेम गर्छ ।’ यस दृष्टिले प्रेम गर्ने मानिसजत्तिको स्वार्थी अरु कोही हुँदैनन् । आफूले आफैलाई पूर्ण गराइसकेपछि अरुको झोली भर्न कसले पो सक्तैन र ? त्यसैले भन्न मन लाग्छ प्रेमीहरुले सुखको घुम कहिल्यै ओढ्न पाउँदैनन् । महाकवि देवकोटाले त्यसै भनेका छैनन्, “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाइ अरुलाई दिनू जहाँ छ ।”

मलाई प्रेम गर्नेहरु भोका लाग्न थालेका छन् । त्याग गर्न नसक्ने स्वार्थी लाग्न थालेका छन् । आत्मतुष्टि र परपीडाका लागि शिकारजस्ता लाग्न थालेका छन् । फर्केर हेर्छु अनुहारहरु । जोडीका जोडीहरु लाम लागेर आइपुग्छन् । मुनामदन होस् वा मालतीमङ्गले । शाहजहाँ मुमताज होस् वा लैलामजनु । शिरी फराह होस् वा सोहनी महिवाल, रोमियो जुलियटका अनेकअनेक जोडीहरु ।

सम्भवत: म पृथक् भएको हुनसक्छु । मलाई चिन्नेहरु पनि त्यसै भन्न सक्छन् । आफूबाहेक अरुसँग हुनुपर्दा नमीठो लाग्छ मलाई । परिचय र मित्रता बढाउँदा खतराको महसुस हुन्छ मलाई त्यसबेला । जीवनमा कहिल्यै प्रेम गर्न र गराउन जानिनँं मैले । यो मेरो फैसला हो आफ्नो आफैमाथिकोे । भन्नेहरु त भन्छन् प्रत्येकले गर्ने प्रेम पनि एउटा इतिहास नै हो । उदाहरण पनि हो । खोइ के हो, के हैन ?

अप्ठेराहरुलाई मिलाउँदै सडक बनाएर हिँंड्न मन पराउने मान्छे भएकोले कहिले पनि फुर्सदिलो बनिनँ म । फुर्सदले मैले कुनै पनि काम गरेको छैन । हतारमा काम गर्नुजत्तिको मज्जा फुर्सदमा लाग्दै लाग्दैन मलाई । म जन्मँदा पनि फुर्सदले जन्मेको थिइनँ रे । आमा भन्ने गर्नुहुन्थ्यो, लक्ष्मीपूजाको दिन लिपपोत गरी सफा गरेर सबैतिर दियो बालेर घर उज्यालिएपछि जन्मेको थिएँ रे म । किन त्यत्रो चाडमा पनि हतारिएर जन्मिएको हुँला ? सोध्नु कसलाई । नहुने उत्तरको प्रश्न ।

त्यसैले पो हो कि प्रस्ट हुनुभन्दा धमिलोधमिलो बन्ने स्वभाव बनेको छ मेरो । सङ्लो भएर पारदर्शी हुन मन पटक्कै मान्दैन । मन्दिर गएजस्तो छ्याङ्गै आस्तिकको साइनबोर्ड झुन्ड्याएर निश्चित सिमानामा सीमित हुनुभन्दा सर्वत्र अटाउने चौतारी बन्न मन लाग्छ ।

प्रेमलाई जुनै कोणबाट हेरे पनि प्रेमको परिभाषा प्रेम नै हो, चट्टानजस्तो । तर पनि बजारमा मेला लगाएको प्रेमलाई सगरमाथाको श्रीपेच लगाएर भिक्टोरिया क्रस झुन्ड्याइएको छ । इतिहास बेइमान बनेको एउटा उदाहरणजस्तो लाग्छ । मानेको छैन मनले आजसम्म । पत्रपत्र पल्टाएर हेर्ने हो भने कसैले पनि मान्दैमान्दैनन् । अन्तरआत्माले गन्धसमेत नरुचाएकोलाई चन्दन मानेर निधारमा कसरी लेपन गरुँ म ?

कुरो अहिलेको हैन । तर अहिलेसम्म अमर प्रेमको प्रतीक बनेर विश्वप्रसिद्ध बनेको छ ताजमहल । सिङ्गो भारतको गर्व । विश्वका सात आश्चर्यमध्ये एक आश्चर्य । यो आश्चर्य र प्रसिद्धि प्रेमका कारण होइन । विशिष्टता र सुन्दरताका कारण हुन् ।

श्वेत सिङ्गमरमरद्वारा निर्मित वास्तुकलाको नमूना बनेको ताजमहललाई मानवीय भावनाको प्रतिबिम्ब पनि मानिन्छ । तर त्यसभित्रको अलिकति पर्दा उघारेर हेर्ने हो भने डरलाग्दा सत्यहरुको भण्डार पनि प्रमाणित हुनसक्छन् । हुन त पछाडिको सबै लुकाएर अगाडिको मात्र देखाउने काम नै पर्दाको हो । प्रमाणित गर्ने तथ्यहरु पनि हुनसक्छन् । हुनसक्छ यसैलाई प्रतीकात्मक रुपमा प्रस्टयाउनका लागि भारतको सबैभन्दा ठूलो कसाइघर ताजमहलको चार किलोमिटरको दूरीमा बनाइएको थियोे ।

प्रेमजस्तो आत्मीय भावनाको रोगन लगाउन ताजमहल धेरैको प्रेममा ज्वालामुखी बनेको थियो । विश्वकै दर्शनीयस्थल बनेको यो महल हेर्न प्रत्येक वर्ष करोडौँँ पर्यटकहरु पुग्छन् । अर्थात् बीस करोडभन्दा बढी आँखाहरु । यहाँ फरवरीदेखि मार्च महिनासम्म ताज महोत्सवको आयोजना गरेर इतिहासलाई जीवित तुल्याउने गरिन्छ । यसरी असङ्ख्य आँखाहरुको भीडलाग्ने ठाउँलाई पवित्र भन्ने कसरी ? भनेजत्तिको शुल्क तिरेपछि मन लागुन्जेल भोग गर्न पाउने ठाउँ पवित्र हुनसक्छ र ? पर्यटन क्षेत्र पर्यटकहरुका लागि मनोरञ्जल स्थल पो हो ।

शाहजहाँले आफ्नी रानी मुमताजको प्रेममा पागल भएर विश्वमा कहीँ कतै नभएको महल बनाएको मानिन्छ । तर प्रेम हृदयात्मक हुन्छ, प्रदर्शनात्मक हुँदैन भन्ने कसलाई थाहा छैन र ? प्रेममा कसले आफ्नी प्रेयसीलाई सर्वत्र दिन खोज्दैन र ? माया गरेकी प्रियाका लागि पहाड धकेलिदिने र तारा टिपेर ल्याउने हिम्मत त गर्छन्, भलै असम्भव भए पनि । प्रेम भनेको महलदेखि झुप्रासम्मका सम्पूर्ण मनहरुमा असमान हुँदैनन् । यसैले बेगमलाई शाहजहाँले गरेको मायाको जोखाइ हो ताज । जब कि प्रेम, आदर्श, भावनालाई कुनै पनि कुराले तौलिन सकिँदैन । जोखिन तौलिन थालेपछि प्रेमको वास्तविक अस्तित्व समाप्त हुन्छ, हुन्छ ।

एउटी स्वास्नीलाई तृप्त गर्न असक्षम राजाले महल बनाएर फकाउने प्रपञ्च किन गरेका होलान् ? एउटी स्वास्नीको लागि हजाराैँहजार जनताका आँसु किन खोसेका होलान् । गरीब कृषकहरुले आफ्नो पसिना बगाएर उब्जाएका अनाजमा कर लिएर लालावालाहरुको पेट किन खोसिएका होलान् ? केको रहर होला यस्तो प्रतीक बनाउने ? किन अमरप्रेमको प्रतीक मानेका होलान् ? यी भए इतिहासदेखि वर्तमानसम्मका कुरा ।

ताजमहज प्रेममहल हैन । गरीब जनताका लागि पीडाको महल हो । त्यसो त ताजमहल चिहानघर हो र चिहानघर सधैंँ सबैका लागि भय र पीडादायी नै हुन्छ । ताजमहललाई पर्यावरणबाट बचाउने नाममा अदालतले ताजमहल वरपरका दुईसय पच्चीस उद्योगहरुलाई बन्द गरेको थियो कुनै समय । यही कारण सत्तरी हजार कामदारहरु बेरोजगार भएका थिए । गाँस, बास, कपासमा अनिकाल लागेको थियो । प्रदूषणका नाममा भएको यो अन्याय अदालतको न्याय भए पनि मानवीय र प्रेमको अदालतले कहिल्यै पनि न्यायसङ्गत मान्ने छैन । तर के गर्ने मूर्खको नाम बुद्धिबहादुर हुने यस लोकमा ताजमहल प्रेमको रामायण बनेर मुस्कुराइरहेको छ ।

ताजमहल भएको ठाउँ आगराको नाम अग्रवाण हो । अग्रवाणको अर्थ ब्रजमण्डलको बार्‍हौंँमध्येको एक हो । यसै स्थानमा भगवान् श्रीकृष्ण आफ्ना साथीहरुका साथ विश्राम गरिरहेको समयमा एक बालकले उनीमाथि तीर चलाइएकोले यस ठाउँको नाम ‘अगर’ भएको इतिहास छ । यही अगरलाई आगरा भन्ने गरेको मानिन्छ । आगरा दिल्ली सुल्तानहरुको अधीनमा हुँदा आगराको कुनै महत्त्व थिएन । १६ औंँ शताब्दीको प्रारम्भमा सिकन्दर लोधीले सैनिक मुख्यालय बनाएपछि यस सहरको महत्त्व बढेको थियो । सैनिकालय भएर परिचित आगरा अहिले प्रेमप्रतीकालयको रुपमा प्रसिद्ध बनेको छ । इतिहास जतिसुकै प्राचीन भए पनि मैले ताजमहललाई अमर प्रेमको विम्ब हो भनेर उदाहरण दिन कतै सकेको छैन आजसम्म ।

ताजमहल त्यसै पनि विवादस्पद छ । सन् १९९३ मा पुरुषोत्तम नागेश ओकले लेखेको ‘ताजमहल स् तेजोमहालय शिव मन्दिर है’ पुस्तक पढे पुग्छ । भारतीय इतिहास पुनर्लेखन संंस्थान, पुणेबाट सो पुस्तक प्रकाशित हुनासाथ प्रतिबन्ध लगाइएको र लेखकको हत्या भएको हल्ला थियो । लेखक नागेशले १२१ बुँदामा ताजमहल शिब मन्दिर भएको ऐतिहासिक तथ्यहरु उल्लेख गरेका छन् । उनको यो पुस्तकको फोटोकपी मलाई गीतकार डाक्टर राममान तृषितले उपलव्ध गराउनुभएको थियो ।

हो पनि, इतिहास जतिसुकै पुरानो भए पनि त्यसको अभिलेख हुन्छ । तर ताजमहल बनेको कुनै अभिलेख छैन । नक्सा कतै भेटिँदैन । निर्माण लागतमा आनकातान फरक पाइन्छ । यसैले होला ढाँटेको कुरा काटे पनि मिल्दैन भनेको ।

शाहजहाँलाई स्त्रीलम्पट र कन्जुुुस मानिन्थ्यो । यदि मुमताजसँंग त्यस्तो प्रेम थियो भने किन लैलामजनु, रोमियोजुलियटजस्ता एक पनि प्रेमका कथा लेखिएनन् ? उनी जीवित हुन्जेलसम्म किन उनको नाममा वा उनका लागि एउटा पनि भवन वा स्तम्भ बनाइएन ? नागेशका यस्ता तर्कहरु पढेपछि ताजमहलप्रति हेर्ने दृष्टिकोण फरक हुन्छ र दोहोर्याएर सोच्न बाध्य हुन्छन् जो कोही पनि ।

यस्ता महलहरु पैसाले पुगेकाहरुले थुप्रैथुप्रै बनाएर गएका छन् । पाल्पाको रानीमहलदेखि राजधानीको रानीपोखरीसम्म । छन् संसारभरि नै कति कति ? प्रेमको गहिराइ कुनै समुद्रले पनि तौलिन सक्तैन भने नाथे ताजको के औचित्य ? त्यस्ता ताजमहलहरु संसारमा माया गर्ने प्रत्येक जोडीका मनमा बनेकै हुन्छन् । मनमा बनेको ताज सिङ्गमरमरको ताजभन्दा धेरै महत्त्वपूर्ण र मूल्यवान् हुन्छ । तुलना हुनैसक्दैन भन्दा पनि हुन्छ ।

त्यसै पनि आदर्श प्रेम गर्नेहरु भीडबाट कहिल्यै प्रमाणित बन्न खोज्दैनन् । अर्काका स–साना छाप्राहरु भत्काएर आफ्ना महल बनाउन खोज्दैनन् । सबैलाई थाहा भएकै कुरा हो । प्रत्येक मानिस प्रेमको नसामा डुबेका हुन्छन् । यस्तो नसा मानव मात्रलाई होइन सबै पशुपंछी सबैमा हुन्छ नै ।

प्रत्येक मानिस प्रेमको बादशाह स्वयम् हो । आआप्mना साम्राज्य पनि सबैका हुन्छन् । यसलाई कसैले नकारेको छँदै छैन । भूगोलमा राज्य गर्नेभन्दा मनमा राज्य गर्ने कति छन् कति । मनमा आदर्श राज्य गर्नेहरुले नै त धेरै ख्याति पाएका छन् नि । कतै राज्य गर्न नपाउने मनबहादुर र मनमानहरुले मनमा राज्य नगरे कहाँ गरुन् ?

प्रेम हुन्छ गरिँदैन । प्रेममा दिन खोजिन्छ लिन खोजिँंदैन । प्रेममा कुनै नियम हुँदैन । प्रेममा कुनै अदालत बन्दैन । त्यसैले प्रेमीहरु आफ्नो प्रेमको बाँसुरी नबजे पनि मीठो धुनमा रमाउँछन् । दृष्टिबन्धक नहुने प्रेम चट्टानजस्तो हुन्छ । चिहानजस्तो शान्त र मृत्युजस्तो निश्चिन्त हुन्छ । जतिसुकै सपनाहरुको भार बढे पनि प्रेम कहिल्यै थिचिँंदैन । सपनालाई नाकाबन्दी गर्न आजसम्म कसैले सकेका पनि छैनन् ।

प्रीति गाँस्ने, माया लाउने कुराले कसैमाथि अलिकति पनि भेदभाव गरेको छैन । यसमा जतिको समानता बिरलै अन्यमा पाइएला ।

यसले ठूलो–सानो भन्दैन । धनी–गरीब ठान्दैन । जात–पात मान्दैन । रुप–रङ हेर्दैन ।

यसले कुनै कुरालाई पनि मान्यता दिँदैन ।

बरु ठूला–बडा र राजा–महाराजाका प्रेममा आत्मीयता कम र आडम्बर बढी भएको तथ्य इतिहास र वर्तमानले प्रस्ट पारिरहेका छन् । यिनीहरुका प्रेम कृत्रिम र बढी प्रदर्शनात्मक हुन्छन् । उदाहरणका लागि भारतमा मुगलसम्राट्का असङ्ख्य कीर्तिस्तम्भदेखि शाहजहाँको ताजमहललाई लिन सकिन्छ ।
हाम्रा पनि कतिपय मल्ल राजादेखि राणा प्रधानमन्त्रीहरुले प्रेमका नाममा छोडेर गएका चिनाहरु राजधानीसँग हाँसिरहेका छन् । यी सब ढाेंग र प्रदर्शनी हुन् । मनमा माया नहुने तर शक्ति र सम्पत्ति हुनेहरुले लोकलाई देखाउन गर्ने काम हुन् यी । सोखिन र आर्थिक प्रेमभन्दा निर्मल र कञ्चन प्रेम गाउँघरका साइँंली र माइलीहरुका हुन्छन् । यिनीहरुका प्रेममा पैसा, प्रदर्शन र प्रशंसाको कुनै महत्त्व हुँदैन ।

प्रेममा अनौठो शक्ति हुन्छ । कहिल्यै मुस्काउन नजान्ने हिटलर पनि प्रेममा परेपछि निकै हृदयी र मृदु बनेका थिए रे । प्रेमको रुपरङ हेर्ने आँखा हुँदैन तर अथाह र अद्भूत शक्ति हुन्छ भन्ने नजिकबाटै अनुभूति गरेकोे छु । मेैले पहिले काम गर्ने कार्यालयमा एकजना निकटस्थ मित्र थिए । हामीबिच कुनै विषयमा पर्दा थिएन । खुल्ला किताबजस्ता थियाँैं हामी । एकदिन हाम्रो शाखामा एउटी युवती नियुक्त भएर आइन् । उनको कुनै कुरामा पनि आकर्षण भन्ने केही थिएन । अनौठो स्वरुपकी थिइन् । उनलाई हामी कहिले चोरेर पनि हेर्दैनथ्याैँ ।

मित्रले कार्यालयमा हाजिर गरेपछि मलाई भन्ने गथ्र्याे – ‘आउनासाथ त्यो केटीलाई देख्यो भने दिन बिग्रन्छ मेरो त । कसले बिहे गर्ला यस्तो रुप न रङकी केटीलाई । भगवान्को लीला पनि अचम्मकै छ ।’

तर केही महिनापछि नै तिनीहरु दुईजनामा यस्तो प्रेम भयो कि दुबैले आ–आफ्नो घर त्यागेर विवाह गरे ।

मानिसहरु नाम कमाउन मरिरहत्ते गरी लाग्छन् । यो चलन अहिलेदेखिको होइन । चर्चा पाउनका लागि मानिसहरु सके राम्रा र नसके नराम्रा पनि काम गर्छन् अहिले । वैदिककालतिर भने राम्रै मात्र काम गर्दा हुन् । तर अहिलेको त काल नै अर्कै छ । ओलम्पिकजस्तो विश्वप्रसिद्ध खेलमा पराजित खेलाडी नाङ्गै कुदेर चर्चा खोज्छन् । केके गर्छन् केके अहिले त ।

–राम हुन नसक्नेहरु रावण बन्छन् ।

–युधिष्ठिर बन्न नसक्नेहरु दुस्शासन बन्छन् ।

– महात्मा गान्धी बन्न नसक्नेहरु नाथुराम गोड्से बन्छन् ।

अर्थहीन अर्थहरू

अर्थहीन अर्थहरू

यही क्रम त होइन कतै ? शाहजहाँले मुमताजको शरीरलाई मात्र माया गर्ने भएकाले मायाको बिम्ब नै स्थापना गरेका । शाहजहाँले ताजमहलको नाममा चिहानघर बनाएकोमा रिस गर्नुपर्ने कुनै कारण छैन मसंँग । तर प्रेमजस्तो पवित्र विषयमा आफ्नो प्रचार खोजेकोमा मात्र आपत्ति हो मेरो ।

मेरो चित्र दुखाइ ताजमहलसँग हैन । ताजमहलमाथि लगाउने गरिएको पगरीमाथि मात्र हो । नीलकाँडालाई रातो गुलाफजस्तो भन्नेहरूसंँग हो । चिहानलाई चिहान नभनी प्रेमको प्रतीक भन्नेहरूसँग हो ।

– ताजमहल बनाउँदा शाहजहाँका सैनिकहरुले बिहान सबैले सुन्ने गरी बिगुल फुक्थे रे ।

– बिगुलको आवाज सुनेपछि प्रत्येक घरबाट एकएकजना श्रमदानका लागि जानुपथ्र्यो रे ।

–बिरामी परेर वा कुनै कारणले उपस्थिति हुन नसक्नेले भोलिपल्ट कोर्रा खानुपथ्र्यो रे ।

–त्यसैले बिगुलको आवाज सबैका लागि पीडाको आवाज बन्थ्यो रे ।

– गाँस टिप्न लागेकाहरु बिचमै छोडेर दौडिन्थे रे ।

– लाम्टा चुसाइरहेकाहरु लालाबालालाई कोक्रामा फ्याँकेर निस्कन्थे रे ।

– प्रेममा लिप्त भइरहेकाहरु एकअर्काबाट छुटिएर जान्थे रे ।

– आआफ्ना प्रेम छोडेर, दु:ख पीडा बिर्सेर मरेकी रानीको स्मृतिका लागि महल बनाउन हातपाखुरा खियाउन जानुपथ्र्यो रे ।

राजा हुनुको अर्थ निर्जीव भूमिमा मात्र राज्य गर्नु हैन । जनताका मनमनमा पनि राज्य गर्न सक्नुपथ्र्यो । तर शाहजहाँले जनताको हृदयमा राज गर्न सकेनन् ।
यसैले पनि ताजमहल त्रासको प्रतीक, अन्यायको प्रतीक र घृणाको प्रतीक पो बनेको थियो कि ?

यति भनौंँ, ताजमहल प्रेममहल हुँदै हैन, प्रेममहज ताजमहल हुनै सक्तैन ।

– रोदनको पहिलो निबन्धकृति ‘अर्थहीन अर्थहरू’बाट

– गरिमा, साझा प्रकाशन (२०५३)