गएको फेब्रुअरी महिनामा कोरोना कहरको ठीकअघि भारतको राजधानी दिल्लीमा एउटा दंगा भएको थियो । सोही दंगाको भित्री कथाबारे लेखिएको पुस्तक ‘देल्ही रायट्स २०२०: द अनटोल्ड स्टोरी’ बजारमा पठाउन ठिक्क पारिएको थियो । सबै कुरा ठीक समयमा भएको भए आउँदो सेप्टेम्बर महिनामा सर्वत्र उपलब्ध भइसक्थ्यो । तर एउटा घटनाले प्रकाशकले शनिबार किताबको प्रकाशन नै रद्द गरिदिएको छ । उसले अब आफूले सो पुस्तक बजारमा नल्याउने लेखकहरूलाई जानकारी मात्र दिएको छैन, एउटा जिम्मेवार प्रकाशक हुनुको नाताले दिल्ली दंगासँग जोडिएका मान्छेहरूसँगको लेखकहरूको सामीप्यलाई लिएर असन्तोष व्यक्त गरेको छ ।
पुस्तक प्रकाशक ब्लुम्सबरी इन्डियाले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले सो पुस्तक प्रकाशन नगर्ने र बजारमा नपठाउने बताएको छ ।
के भएको थियो ?
पुस्तकका लेखकहरूले प्रकाशकलाई कुनै पनि जानकारी नदिई अनलाइन विमोचन कार्यक्रम आयोजना गरेको आरोप प्रकाशक ब्लुम्सबरीको थियो । कार्यक्रममा भाजपा दिल्लीका एक नेता कपिल मिश्रालाई मुख्य अतिथि बनाइएको थियो । मिश्रा तिनै व्यक्ति थिए, जसले दंगा भड्काउने भाषण गरेका थिए ।
सो दंगामा उनको भूमिका के थियो भन्नेबारे प्रहरीले अझै सोधखोज गरिरहेको छ र मुख्य आरोपीमध्येका एक पनि मानिएको छ ।
हुन त किताबलाई भाजपाका राष्ट्रिय महासचिव तथा सांसद भूपेन्द्र यादवले विमोचन गरेका भए पनि कपिलको उपस्थितिलाई लिएर प्रकाशक असन्तुष्ट थियो ।
प्रकाशकको भनाइ छ- कोही आरोपीले घटनामा के भएको थियो भन्ने जानकारी दिन पाउँछ, त्यो उसको अभिव्यक्ति स्वतन्त्रताको कुरा हो तर हामी एउटा जिम्मेवार प्रकाशक भएका कारण विवादित व्यक्तिलाई सफाईको मौका दिने गरी कार्यक्रममा ससम्मान ठाउँ दिने कुरा अलि पाच्य भएन ।
लेखकहरूको यस्तो कृत्यमा प्रकाशकले असन्तोष मात्र जनाएन, आफूले छापिइसकेको पुस्तकलाई बजारमा नलैजानेसमेत निर्णय गरेको सुनायो ।
नयाँ दिल्लीमा गएको २३ देखि २७ फेब्रुअरीका बीच दंगा हुँदा आधिकारिक रूपमा ५३ जना मारिएका थिए । मर्नेहरूमा ४० मुस्लिम थिए भने १३ हिन्दु । घटनामा संलग्न ७५१ जनामाथि प्रहरीले किटानी जाहेरी दर्ता गराएको थियो ।
ब्लुम्सबरीले पुस्तकलाई नै ननिकाल्ने घोषणा गरेपछि भने केही तरंग उठेको छ ।
बलिउडका फिल्म निर्देशक अनुराग कश्यपले भने छापिइसकेको पुस्तकलाई नै बजारमा नल्याउनु अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘कसैको सिर्जनालाई प्रतिबन्ध लगाउनुको पीडा म बुझ्छु किनभने मैले बनाएका कतिपय फिल्मलाई वर्षौंसम्म रिलिज हुन दिइएको थिएन ।’
लोकतन्त्रमा विपक्षी विचारलाई ठाउँ दिइनुपर्ने भन्दै उनले सो कार्यको ट्वीटरमार्फत विरोध गरेका हुन् ।
तर प्रकाशनको चर्को प्रतिस्पर्धाको जमानामा ब्लुम्सबरीले किताब बजारमा नलैजाने निर्णय गरेसँगै अर्को एक प्रकाशकले पुस्तकलाई १५ दिनभित्र बजारमा लैजाने घोषणा गरेको छ ।
गरूड प्रकाशनका प्रमुख कार्यकारी शंक्रान्त सानुले यस्तो ऐतिहासिक घटनामाथि लेखिएको पुस्तकलाई एउटा सानो घटनाका कारण प्रतिबन्ध लगाउनु खेदजनक छ । यस्ता पुस्तकहरू आफ्नो प्राथमिकतामा पर्ने भएकाले आफूहरूले १५ दिनभित्रै बजारमा ल्याउने सानुले बताएका छन् ।
शनिबारको अनलाइन विमोचनलगत्तै ब्लुम्सबरीको प्रतिक्रियापछि गरूड प्रकाशनले आइतबार सो पुस्तक आफूले बजारमा ल्याउने घोषणा गरेको हो ।
लेखक तीन जनामध्ये मोनिका अरोडा भाजपाप्रति झुकाव भएकी अधिवक्ता हुन् भने सोनाली चितलकर र प्रेरणा मल्होत्रा दिल्ली विश्वविद्यालयका प्राध्यापक हुन् । लेखकहरूले गरूड प्रकाशनलाई यत्तिको चासोका लागि धन्यवाद दिएका छन् ।
ब्लुम्सबरी बेलायत मुख्यालय भएको एक अन्तर्राष्ट्रिय प्रकाशन संस्था हो । ब्लुम्सबरीलाई पहिलेदेखि नै केही अन्तर्राष्ट्रिय लेखक तथा अभियन्ताहरूले दबाब दिएपछि पुस्तक वितरण फिर्ता लिएको हो ।
‘किताबै नपढीकन केही लेखक र अभियन्ताले यसविरूद्ध विषवमन गरे,’ लेखकहरूको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यहाँ त के लेखिएको छ भन्दा पनि को व्यक्ति संलग्न छ वा कसैको दबाब हुनेबित्तिकै सामाजिक दायित्वको नाममा स्वतन्त्र अभिव्यक्तिलाई नै कुण्ठित पार्ने काम भइरहेको छ । लेखकको अधिकार निमोठ्ने मात्र होइन यहाँ त ब्ल्याक लाइभ्स म्याटरको दुहाई दिनेहरूले ब्राउन लाइभ्स म्याटरको चाहिँ ख्याल नगरेको पाइयो ।’
यसअघि गरूड प्रकाशनले विवेक अग्निहोत्रिको ‘अर्बन नक्सल’, मयंक पटेलको ‘इन्डिया फ्याक्ट्सः हिन्दु ह्युमन राइट्स रिपोर्ट २०१७’ र शंक्रान्त साहुको ‘द इंग्लिस मिडियम मिथ’ जस्ता पुस्तक प्रकाशन गरेर चर्चामा आएको थियो ।
ब्लुम्बसरीले पुस्तक प्रतिबन्ध लगाएपछि अतिवादी धारका प्रकाशक, लेखक र राजनीति गर्न रूचाउनेहरूका लागि ठूलो मसला भएको भन्दै केहीले दुःख व्यक्त गरेका छन् ।
लेखक रमा लक्ष्मीले अतिवादीले झैँ जब उदारवादीहरूले पनि पुस्तक प्रकाशन नै प्रतिबन्ध लगाउँछन्, त्यो बेला फाइदा पुग्ने भनेको अतिवादीलाई नै पुग्ने टिप्पणी गरेकी छन् । उनले द प्रिन्टमा लेखेकी छन्, ‘हिन्दु अतिवादीहरूले वेन्डी डायरको पुस्तक हिन्दुः अल्टरनेटिभ हिस्ट्रीलाई जसरी अतिवादीहरूले भारतमा प्रतिबन्ध लगाएका थिए, ठीक त्यही काम दिल्ली दंगा पुस्तकका मामिलामा भएको छ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

