पर्वतहरू, कविताका पर्वतहरू !
असल कविता पनि मन्त्र नै हो ।
कविता – प्रेम, मानवता, कल्याण र न्यायका लागि गाइएको मङ्गल गीत हो । पवित्र प्रार्थना हो । यसबाट उत्पन्न हुने ऊर्जाले रूपान्तरण र उत्प्रेरणाको बाटो देखाउँछ ।
कविता योजक हो – व्यक्तिलाई अर्को व्यक्तिसँग, समाज र संसारसँग जोड्छ कविताले । प्रकृति, जीवन र अनेक अज्ञात रहस्यहरूसँग गाँसिएका प्रश्नहरूसँग साक्षात्कार गराउँछ कविताले ।
कविता – यो संसारलाई अझ सुन्दर देख्न चाहने सुनौलो सपना हो । स्वप्नदर्शीहरूको हृदयको आवाज हो – कविता ।
ध्वनि, लय, भाव-संवेदना, अन्तरदृष्टि र भाषाको चमत्कारले कविता – कविता हुने हो । परिभाषा जेसुकै दिइए पनि पाठकको हृदयलाई छुने र उसलाई सोचमग्न बनाउने सामर्थ्य कविताले राखोस् !
आधुनिक प्रविधि र सञ्चारको आजको युगमा बढ्दै गएको छ, मेशिनमाथिको निर्भरता । यस्तो बेला कवितालाई मानिससँग अझ नजिक हुनु छ । एक्लोपन, निराशा, अन्याय, असमानता, गरीबी, बेथिति र विसङ्गतिको अँध्यारो हुँदा मानिसहरूका लागि ननिभ्ने उज्यालो बन्नु छ कविताले । बोल्न नसक्नेहरूको आवाज बन्नु छ – आजको कविता । बन्नु छ यसलाई – जागरणको ब्रह्ममुहूर्त ।
अनि मानिस हुनुको आत्मबोध र गौरवको लय दिनु छ कविताले मानिसलाई ।
जीवनलाई उत्सवमय बनाउन अन्तरङ्ग साथी बनोस् कविता । मानिसलाई आफ्नै जिन्दगीको नयाँ आविष्कार गर्न सघाओस् कविताले – म सोचिरहेको हुन्छु ।
***
धेरै वर्षअघिको कुरा हो, परदेशमा श्रम गरेर लामो प्रवासपछि गाउँ फर्किएका छिमेकी दाइसँग भेट भयो । उहाँले फरक लवजमा मलाई भन्नुभयो, ‘तपाईं त कविता गर्नुहुँदो रहेछ । थाहा पाएर खुशी लाग्यो ।’
मैले अलिक आश्चर्यले हेरें – उहाँको निर्दोष अनुहारतिर । आफूले काम गरेको ठाउँको भाषाको प्रभाव हुन सक्छ वा उहाँको आफ्नै बुझाइ होला, “तपाईं त कविता गर्नुहुँदो रहेछ !”
कविता त लेख्ने पो ! कसरी कविता गर्नु, कुनै कामजस्तो । के यो हिंड्नु, घुम्नु वा नृत्य गर्नुजस्तै हो र ?
तर, जब आज सम्झिन्छु – अन्यथा लाग्दैन त्यो भनाइ र व्याकरण । खासमा कविता गर्दो रहेछ कविले । यथार्थमा कविता – कर्म नै रहेछ । लेख्नु त एक प्रकारको समापन मात्रै हो । भरिएको कुनै कुरालाई पोख्नु वा उतार्नुजस्तो । त्यसअघि कविले बाँचेको जीवन, हिंडेको बाटो, पाएको दीक्षा अनि उसको सोच र चिन्तनले बनेको चरण चरणको लामो निर्माणयात्रा पूरा गर्नुपर्छ कविताले – कविता बन्न ।
माहुरीले फूल/फूल र जङ्गल / जङ्गल घुमेर रस बटुल्दै मह बनाएजस्तो – कविले अनेक अनुभव र अनुभूति निचोरेर/खन्याएर अनि बनेको हुन्छ कविता ।
‘पर्वत पर्वतमा बटुवा घाममा एक दशकभित्र लेखिएका कविताहरू सङ्गृहीत छन् ।
मौलिक सामाजिक संरचना, विविधतायुक्त संस्कृति, जीवन्त रीतिरिवाज, जात्रा पर्व, जीवन-दर्शन र लामो इतिहासले गर्दा हामी आफ्नो कथा पर्ने
भएका मानिस हौं । अध्यात्मिक र प्राकृतिक सम्पन्नता भएका हामीले भन्नु कुरा धेरै छन् । युद्ध र शान्तिको पृथक् अनुभव पनि छ हामीसँग । हामीसँग पर्वतहरू छन् । र, पर्वतहरू अध्यात्म, दर्शन र सौन्दर्यका विम्ब हुन् ।
यसै पनि तपोभूमि / ज्ञानभूमि हो – हामी जन्मे हुर्केको ठाउँ । सूर्यको पहिलो किरण पर्ने भूमिबाट लेखिएका कविताले आफ्नो परिचय/आफ्नो अनुहार बोलोस् ! बोल्नुपर्छ ।
***
स्त्री
ऐना हेरेर बस्दाबस्दै
हो ऐनामा/मुस्कुराउँदा मुस्कुराउँदै
अचानक एक दिन
फुत्त बाहिर निस्किन्छ तिम्रो आफ्नै प्रतिविम्ब
र विद्रोहको स्वरमा भन्छ-
यसरी सधैं सधैं कैदी भएर कहाँ सकिन्छ बस्न !
अटाउँदिनँ यो साँघुरो फ्रेममा म,
अहो ! एक युगदेखि उकुसमुकुस भएर
मुक्ति खोजिरहेकी – के त्यो तिमी थियौ ?
***
जुत्तामा ढुङ्गा
बाटोमा – के निस्केको थिएँ भर्खरै बिझाउन शुरू भएको थियो पाइताला
दुख्न थालेको थियो कुर्कुच्चा
बिस्तारै-बिस्तारै बनेको थियो आलो घाउ,
तर सहज थिएन कदापि / हिंड्दाहिड्दै बीच बाटोमै रोकिनु
र त –
जसरी पनि अनवरत जारी थियो यात्रा,
पछि/अलिक पछि – सुस्ताएर बिसौनीमा
खोलेर हेरें जुत्ता
भित्र पसेको रहेछ – मसिनो ढुङ्गा,
अहो ! एउटा सानो वस्तु पनि
काफी छ पूरै यात्रा बिथोलिदिन !
बेलाबेलामा सम्भव छ
यसरी ढुङ्गा पस्नु/सम्भव छ फेरि पनि
तर जरूरी छ/एकदम जरूरी छ
जुत्तालाई टकटक्याएर
सफा गर्नु – र यात्रामा निरन्तर हिंडिरहनु ।
***
शुभ प्रभात
पूर्वी क्षितिजको प्रसूतिगृहमा
भर्खरै जन्मेर “च्याहा” करायो-
राता किरणको रगतमा लत्पत् नवजात शिशु सूर्य
जग्मगायो मानिसको खुशीजस्तो उज्यालो
घर/घरका ढोकाहरू खुले
र गतिशील भएर हिंड्यो – परदेशीजस्तो समय,
ब्रह्ममुहूर्तमा-
कुममा दर्ज्यानी चिह्नजस्ता चम्किला ताराहरू
छातीमा झलमल्ल चन्द्रमाको तक्मा टल्काइरहेको
बहादुर सैनिक आकाशले
सन्यास ग्रहण गरेर यस बेला
ओढिसक्यो ऋषि रामदेवजस्तो भएर – घामको पहेलो बर्को,
गायो बतासले – पशुपक्षी र रूखपातसँगै मिलेर
संसारका सबै मानिसका लागि कल्याणका शीतल प्रार्थनाहरू
सूर्योदयको बेला-
दिगन्त फैलियो नयाँ रङ/नयाँ ऊर्जा !
आरोही घामका कलिला पाइतालाहरू क्रमशः चढ्न थाले
– जङ्गलै/जङ्गलका आधारशिविर
– पर्वत/पर्वतका शिखरहरूतिर,
आ-आफ्ना भारी कसेर हिंड्न थाले भरियाहरू
– उकालै/उकालो
– खोलाको किनारै/किनार
– पहाडको टुप्पो र भञ्ज्याङतिर,
टाढा मन्दिरमा बज्न थाले घण्टीहरू
र साँढेजस्तो पहाड जुर्मुराएर उठ्यो – सूर्योदयमा
उकालो हुँदै आउने सन्तानजस्ता बटुवालाई
आमाजस्तो भएर फैलाए वृक्षहरूले छायाको ममतामयी काख,
पात/पातमा सूर्य किरणले
चित्रकार भएर पोखे अनेक रङ्गहरू
दौडिए सङ्लो /सङ्लो भएर घोडाजस्ता नदीहरू
गुँडबाट निस्केर
उड्दै सुदूर आकाशमा पुगे – तीर्थयात्रीजस्ता चराहरू,
सफा पानीले धोएर तर पुछ्न बाँकी छ
– किशोरी फूलले मुख
टल्किरहेको छ टल्पलटल्पल शीत !
पश्चिमतिरबाट केही घडी/क्यामरा र मेसिन
अत्याधुनिक कम्प्युटरका पार्टपुर्जाहरू
र पूर्वीतरबाट – केही ध्यान/योग र दर्शनका
प्राचीन ग्रन्थहरूको भारी बोकेर हिंडेका पानीजहाजहरू
वर्षौंपछि भेट भएका प्रेमीजस्तै – भेटिए बन्दरगाहमा,
यस्तो बेला
ब्युँझनू – उठ्नू र हिंड्नू, टाढा पुग्नु छ टाढा
ब्युँझनू – उठ्नू र हिंड्नू – टा… ढा पुग्नु छ टा..ढा
यो गतिमय उज्यालो हो – संसारमा एक कला
जीवन हो – एक अपूर्व सूर्योदय
(रमेश क्षितिजको कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।