साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

धरावासीको पहिलो कथाः गुनासो

Chovar Blues Mobile Size

बिहानी प्रभातको पहिलो झुल्कोले नै हिमश्रृङ्खलामा एक अनुपमता दर्शाइरहेको थियो । डाँफे पनि त्यो अलौकिक दृश्यमा अनुपम आनन्दको अनुभव गर्दै नाचिरहेको थियो । साथै आजको यो महान दिनको सूचना लोकलाई दिइरहेको थियो । ऊजस्तै अलिक तलतल हरिया वनभरी कोइली र मयुरहरू पनि आफ्नै तालमा मस्त थिए ।

चारैतर्फको त्यो खुसी र उत्साहका आवाजहरूले नेपाली त्यो शान्त, पवित्र र निलिमय आकाश पनि गुञ्जायमान भएको थियो । तमाम नेपालीहरू पनि हातमा सूर्यचन्द्राङ्कित झण्ठा बोकेर ‘जिन्दावाद’ का नारा लगाइरहेका थिए ।

अलिक तलबाट दौरा सुरुवाल, चोलो र पटुकाहरू आँसु पुछ्दै उकालो गइरहेका थिए । यस्तो खुसी र उल्लासले सारा देश जगमगाएको दिन, नेपाली क्षितिज पनि कान्तिपूर्ण सौन्दर्य फ्यााँकेर हाँसिरहेको दिन, तर कस्तो अचम्म….! नेपाली राष्ट्रिय पोसाकहरू भने आँखाभरी आँसु बोकेर शोक विह्वल हुँदै उकालो गएरहेका थिए ।

डाँफे चरी नाच्दा नाच्दै रोकिन्छ औ आफ्नो मुन्टो पछाडि फर्काइ सुरिलो कण्ठ खोल्छ –‘अहो ! कहिल्यै यसरी नआउने तिमीहरू आज एकाबिहानै पो यता आयौ त हँ ! आज तमाम देशका सन्ततीहरू खुसी र उल्लासमा डुबेका छन् अनि आनन्दमग्न भएर

कृष्ण धराबासी
sagarmani mobile size

विशाल जुलुस बोकी पाखा र पखेरा डुलिरहेछन् । तिमीहरू भने किन यता आयौ ? आज यस्तो खुसीको दिनमा तिमीहरूले ठूलाठूला सम्मेलनहरूमा भाग लिएर राष्ट्रनायकको सुस्वास्थ्य र चिरायूको कामना गर्ने दिन तिमीहरू किन यता आयौ ? हरे कस्तो अनर्थ भयो ! उनीहरूले के भन्लान् ? सायद तिमीहरू भागेर आयौ होला । लौ ! जाऊ, जाई हाल । बरू केही भन्नु भए अर्कै दिन आउनू । ’
सबै पोशाकहरू एउटै स्वरमा बोल्छन्–‘ हौ–हैन हामी बिदा मागेर नै आएका ।’
डाँफे बोल्ट–‘ अरू कुनै दिन बिदा माग्दा पनि त हुने थियो ।’

 

मसिनो स्वरमा दौरा बोल्छ– ‘के गर्ने दाजु ! जमाना बदलियो रे । अचेल जमाना अर्कै र युवक छ रे । हामी बुढा र पुराना भयौँ अरे । हामीलाई अघि लगाएर हिँड्दा उनीहरूलाई लाज लाग्छ रे, उहाँहरू पुरानै ढाँचाको बन्नु हुन्छ रे । त्यसैले आजकल–उहाँहरूले हाम्रो सट्टामा अरू नै पाश्चात्य मुलुकका अनौठा पोशाकहरू ल्याउनु भएको छ । ती नयाँ पोशाकहरू हाम्रा यी तुना, नेफा र इजारहरू देखेर हाँस्छन्, जिस्क्याउँछन् अनि हाम्रा मालिकहरू पनि तिनै पाश्चात्य पोशाकहरू नै लगाएर हिँड्नु हुन्छ । यसो गर्दागर्दा अब त हाम्रो त्यहाँ कुनै महत्त्व नै रहन छोड्यो । बारै महिना हामीलाई बाकसमा हालेर बाहिरबाट ताल्चा मारिन्छ , मानौं हामी त्यहाँका कुनै खतरनाक अपराधि हाँै, जसलाई बाहिरी वातावरणसँग सम्बन्ध राख्न दिइन्न । मानौं हामी त्यहाँका कुनै अनावश्यक बस्तु हौं, जसलाई रछ्यानमा मिल्काइन्छ । मानौं हामी त्यहाँका कुनै त्यस्ता चीज हौं जसको त्यहाँ कुनै महत्त्व नै छैन । तब हाम्रो त्यहाँ आवश्यकता नै किन ?

‘भाइ बहिनी हो ! तिमीहरू किन यसरी दुःख मान्छौ ! आजका आधुनिक युवकहरूले तिमीहरूलाई नलगाए पनि पुरानाहरूले तिमीहरूलाई कदापि फ्याँक्ने छैनन् ।’

 

दाजु ! के हाम्रो इज्जत छैन ? के हाम्रो कुनै महत्त्व छैन ? के हाम्रो पछाडि कुनै बस्तु लुकेको छैन ? किन हामीलाई यसरी तिरस्कारिन्छ ? किन हामीमाथि यस्तो अन्याय हुन्छ ? आज हामी तपाईँसँग यही गुनासो पोख्न आएका । के जमाना र युग बदलियो भन्दैमा पुरानालाई फ्याँक्ने ? के कुनै छोरो ठूलो भयो भन्दैमा बूढो बाबुलाई लात मार्ने ? के पाश्चात्य मुलुकहरू विकसित भए भन्दैमा आफूले केही नगरी अर्काकै कला, सँस्कृति र सभ्यता अङ्गाल्ने ? के आफ्नोपनलाई फ्याँक्दा इज्जतदार होइँन्छ ? के नेपालीत्वलाई फ्याँक्दा सुख पाइएला ?

आज सुन्नु होस् दाजु ! सारा नेपाल खिचडी बनेको छ । भाषामा शुद्धता छैन । बोलीमा मिठास छैन । एक वाक्यमा पाँच भाषा मिसिन्छन् । जन्मैदेखि सिकेर आएको भाषा –‘आमा र बाबु’ लाई डेडी र मम्मी भन्न लगाइन्छ । सर्ट र पेन्टमा दौरा र सुरुवालसँग मिल्ने टोपी लगाइन्छ । यसरी आज हामीलाई छुट्याइएको छ ।

दाजु ! हाम्रै निम्ति, आजका यी आधुनिक नेपाली युवकहरूका पूर्खाले खुकुरीमा धार लगाएका थिए । हामै्र रक्षा सुरक्षाका निम्ति तिनै सर्ट पेन्ट र टोपकै बिरुद्धमा, तिनै चर्च र गिर्जाका बिरुद्धमा, तिनै डेडी र मम्मीका बिरोधमा । दाजु ! के हाम्रो पछाडि हाम्रो जिउँदो इतिहास लुकेको छैन ?

गम्भीर मुद्रामा डाँफे बोल्छ–‘भाइ बहिनी हो ! तिमीहरू किन यसरी दुःख मान्छौ ! आजका आधुनिक युवकहरूले तिमीहरूलाई नलगाए पनि पुरानाहरूले तिमीहरूलाई कदापि फ्याँक्ने छैनन् ।’

पोशाकहरू–‘ दाजु ! आज नेपालमा युवक र बुढाहरू दुई भागमा विभाजित भएका छन् । बृद्धहरू भन्छन्–‘ हेर दौरा सुरुवाल, गुन्यु चोली भनेको राष्ट्रियताको प्रतिबिम्ब हो । यसले सँधै राष्ट्रियताको प्रवर्धन गर्छ । यो आफ्नो सभ्यता हो । नेपालीत्वको प्रमाण हो । कुनै पनि देशको व्यक्तिलाई पोशाकबाट नै छुट्याउन सकिन्छ । आज तिनीहरूले दौरा सुरुवाललाई भुल्नु आफ्नोपनलाई भुल्नु हो । तर युवकहरू यसको खण्डन गर्दै भन्छन् दौरा सुरुवालले मात्र राष्ट्र प्रेमी बन्न सकिन्न । आज हामी यसरी दुईतर्फको विचारको बीचमा परेर यता न उता भएका छौं ।

आधुनिक युवकहरूले तिमीहरूलाई नलगाए पनि तिमीहरू त राष्ट्रिय पोशाक हौ । तिमीहरूलाई राजाद्वारा कहिल्यै तिरस्कारिन्न । तिमीहरूको कदर अवश्य हुने छ ।

डाँफे लामो सास तानेर बोल्छ–‘भाइ ओ ! समयको गतिको साथसाथै संसारमा विभिन्न परिवर्तन भइरहन्छन् । एक समय यस्तो पनि थियो, जुन समयमा तिमीहरूको त जन्म नै भएको थिएन । त्यसबेलाका मानिसहरू रुखका बोक्राहरू लगाउँथे । बिस्तार बिस्तार समयको बढ्दो गतिले मानिसमा विकास र परिर्वतन ल्यायो । जुन म यही चुचुरोमा बसेर हेरिरहेछु । यही क्रममा तिमीहरूको पनि जन्म भयो । अनि तिमीहरूको महत्त्व र कदर गरियो । आज फेरि उनीहरूमा परिवर्तन आयो । तर तिमीहरू त्यसै विलिन भएर जाने छैनौ । आधुनिक युवकहरूले तिमीहरूलाई नलगाए पनि तिमीहरू त राष्ट्रिय पोशाक हौ । तिमीहरूलाई राजाद्वारा कहिल्यै तिरस्कारिन्न । तिमीहरूको कदर अवश्य हुने छ ।

भाइ हो ! एकदिन तिमीहरूको पनि पूजा हुनेछ, जसरी ऐतिहासिक बस्तुहरूको पूजा गरिन्छ । एकदिन तिमीहरूलाई कुनै ठुलो ‘म्युजियम’ मा लगेर सजाइनेछ । अनि त्यसबेला तिनै आधुनिकतामा डुबेका युवकहरूले नै तिमीहरूलाई बस्तुको रूपमा श्रद्धा र भक्तिका साथ पूजा गर्ने छन् । तिमीहरूलाई देखेर हाँस्ने ती पाश्चात्य मुलुकका अनौठा र घिन लाग्दा पोशाकहरूले पनि तिनीहरूलाई पुज्ने छन् । तिमीहरूप्रति निहुरिने छन् । दुःख नमान ! तिमीहरूको अस्तित्व कुनै हालतमा गुम्ने छैन । तिमीहरूको पूजा अवश्य हुन्छ, हुन्छ ।

ती पोशाकहरू सन्तुष्ट भई डाँफेसँग विदा मागेर ओह्रालो लाग्छन् । डाँफे चरी फेरि आफ्नै धुनमा ती सेता हिमगिरीका टाकुरासँग लुकामारी खेल्न थाल्छ ।

प्रतिक्रिया
Loading...