म यतिखेर
समयको कठघरामा
देशको सामु उभिएको छुँ
अभियुक्त कैदी बनेर
हरेक प्रहारलाई सजिलै झेल्दै
बिफल तुल्याएको त्यो विशाल छातीमा
खोपिएछन् असङ्ख्य घाउहरू
साथै घाउमाथि सलबलाई रहेछन्
असङ्ख्य किरा
ती किराहरू माझमा
म आफ्नो स्थान हेर्न बाध्य हुन्छु
मलाई लाग्न थालेको छ
म पनि त्यही माझको
एउटा किरा हुँ
गह्रौं पावरदार चस्माबाट
अलिकति स्थान बनाउँदै
हेर्छु प्रवाहविहीन कोशी र महाकाली
आँखाबाट झर्ने आँसु बनी
भावशून्य भएर ढल्किरहेका दक्षिणपट्टि
भीमकाय सगरमाथामा बल्ल एउटा झण्डा
फहराउँदै
म हेर्छुँ मेरो प्यारो भूस्वर्गमा
स्वयम्भूका एक जोडी आँखाहरु
चोरिएछन्
पशुपतिनाथको अस्तित्व लुटिएछ
“वसुधैव कुटुम्ब”को आदर्श
हिमालयको अग्लाइझैँ भासिएछ
निसासिने वातावरणमा
समयको कठघरामभित्र
एउटा ठूलो सत्यबोध भएझैं
महसुस गर्छु
गौतम र अरनिकोको पालादेखिको
मस्तिष्कहरू विदेशिने परम्परा
आजसम्म फल्दै फूल्दै छ
परचक्रीका लागि रगत बगाउन
बाध्य हुने बलभद्रहरू
अझै यत्रतत्र ढल्दै छन्
म उभिएको छुँ
समयको कठघरामा
देशको सामु
यस्तै यस्तै असङ्ख्य
अनुत्तरित प्रश्नहरू
मेरा दुई कानहरूमा
बारुदझैँ ड्याम ड्याम
पट्किरहन्छ..पट्किरहन्छ…

कर्जन्हा न.पा.३ बन्दीपुर, सिराहा