चिन्तनका चिचिला

‘हैन यो नानी त रोई बस्छ’ राईनी माइली यसो भन्थिन् ।

गुराँसे कान्छाले  भनेको ‘खर काट्न’ ‘घर गाट्न’ सुनिन्थ्यो ।

सहवीर बराइलीका घरमा राती कहिलेकाँही बाझाबाझ गरेको आवाज हाम्रा घरसम्म आउँथ्यो; भोलिपल्ट बिहान सहवीर दाइ हाम्रामा आइपुग्थे: ‘चिया खाऊँ न !’ भन्दै ।

बा सोध्नुहुन्थ्यो, ‘हैन आज राति के थियो हौ तिमेर्कामा ? बूढी खडाङ्ग कि रुद्री ? खुब कच्चरी चक्कड थ्यो त !’

हाम्रा एक जना दाजु ‘ओभरसियर’ हुनु हुँदो रहेछ तर गाउँका सबैले उहाँको घरलाई ‘उपरसेट’को घर भनेर चिन्थे उस बेला इलाममा । काठमाडौँ आएपछिको कुरा हो, कुरै कुरामा, सात सालतिरका घटना सम्झँदै बालुवाटारका घरबेटी बाले सुनाए ‘मोहन समसेर सरकारको बगैँचामा भैमान सर्प छ’ यी घटनावलीसँगै मेरा भाषा चिन्तनका चिउला छिप्पिन थाले चिचिला लाग्न थाले, सचेत मनले थाहा पाउँदा नपाउँदै म भाषाजिज्ञासामा लहसिएछु । मेरो जिब्रो फुटेको ‘इलामे नेपाली’ हो । काठमाडौँमा इलामेली साथीभाइसँग बात मार्न थालियो भने उतैको छाँटको भाषा आइहाल्छ । म पनि भन्न बेर लाउन्न अँअँ हाम्रा नेता त हामीलाई ढाँटी बस्छन् नि हौ !

भाषाका बारेमा पढियो जे गुरुहरूले पढाए । नेपाली भाषाको व्याकरण व्यवस्था पनि जे पढाइ भयो त्यही पढियो । राईनी माइलीको ‘रोई बस्छ’ अव्याकरणिक हो ‘रोइ रहन्छ’ हुनुपर्छ – पढाइले यो सिकायो ।

गुराँसे कान्छाले ‘खर’लाई ‘घर’ भनेको सुनिएको त लिम्बू भाषाको वर्ण/ध्वनि व्यवस्थाले पो रहेछ भन्ने थाहा भयो ।

बाले भनेका ‘बूढी खडाङ्ग, रुद्री, कच्चरी चक्कड’ कताबाट केकसरी आएका रहेछन् भन्ने खोजीनिधी गरियो ।

बालुवाटारका बाले ‘सात सालमा यस्तो छ नानि !’ भनेर कथा सुनाउँदा क्रियामा भूत काल प्रयोग नहुनुमा नेवा: भाषाको कालको व्यवस्थाले असर पारेको होला भन्ने लख लगाएँ ।

यिनै कुराले मलाई नेपाली भाषामा अरू भाषाको प्रभावबारे कुतकुती र हुटहुटी बढाए । यो लेख त्यही हुटहुटीको उपज हो ।

० ० ० ०

नेपालेली भाषा

नेपालको संविधानको प्रस्तावनाले नेपाललाई ‘बहुभाषिक’ मुलुक भनेर चिनाउँछ । मातृभाषाका रूपमा नेपालमा चार-पाँच परिवारका भाषाहरू बोलिन्छन् र यहाँ भारोपेली परिवारका (८२.१०) प्रतिशत, भोटबर्मेली परिवारका (१७.३१ प्रतिशत), आग्नेली परिवारका (0०.१९ प्रतिशत), द्राबिडियाली परिवारका (0०.१३ प्रतिशत), र अन्य भाषापरिवारका (0०.२७ प्रतिशत) वक्ता-प्रयोक्ता रहेका छन् ।

जनगणना २०७८ अनुसार नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ, बज्‍जिका, अबधी, नेवारी, मगर, डोट्याली र उर्दू नेपालमा बोलिने ११ प्रमुख मातृभाषा हुन् । सिँजाली (खस), पर्वते र गोर्खा हुँदै ‘नेपाली’ नाम रूढ भएको र “नेपालमा बोलिने भाषाहरूमध्ये अभिलिखित रूपमा सबै भन्दा जेठो” भाषा ‘नेपाली’ नै हो । नेपालेली भाषामध्ये “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा” हो ।

नेपाली नै मातृभाषा र सम्पर्कभाषा हुने मानिस भारत, भुटान र बर्मातिर पनि बसोबास गर्दै आएका हुनाले त्यहाँ पनि नेपाली भाषा जीवन्त छ । नेपालमा बस्ने धेरैको त यो मातृभाषा र पहिलो सम्पर्क भाषा हुँदै हो । नेपालमा यो भाषाले ‘मातृभाषा’, ‘सम्पर्क भाषा’, ‘राष्ट्रभाषा’ र ‘सरकारी कामकाजको भाषा’को हैसियत राख्दछ ।

नेपाली आफ्नै वर्णव्यवस्था, पौल शब्दभण्डार, शब्द र वाङ्मय र व्याकरण व्यवस्था भएको प्रौद्पादकता वा प्रजननशील जिउँदो भाषा हो । यसो भए पनि यस भाषाको विशेषत: आधुनिक काल अरू भाषाका शब्दभण्डार, व्याकरणिक प्रणालीबाट तीव्र प्रभावित हुँदै आएको छ । यसको भाषिक बनोट, व्याकरण र शब्दभण्डारमै अरू भाषाबाट प्रतिकूल असर बढ्दै गएको छ, जुन यसको जीवन्तताको प्रश्न हो र अस्तित्वविरुद्धको हाँक हो । यसैले अन्य भाषाबाट नेपाली भाषामा भएका आगमनप्रवृत्तिको बारेमा अध्ययन गरिनु र यथासम्भव गलत प्रभावहरूलाई हटाउनु आवश्यक भएको छ ।

० ० ० ०

भाषामा परिवर्तन र आगमन प्रभाव

कुनै पनि प्राकृतिक भाषा आफ्नो उद्विकास स्वरूप समयक्रमसँगै बदलिँदै अगाडि बढ्छ । यसैले परिवर्तनशीलतालाई भाषाको विशिष्टता नै मानिन्छ । भाषाका ‘वर्ण, व्याकरण र अर्थ’का तहमा यस्तो परिवर्तन भइरहेको हुन्छ । भाषिक परिवर्तन आन्तरिक र बाह्य कारणबाट हुन्छ । वर्णपरिवर्तन र सादृश्यकरण प्रमुख आन्तरिक कारण हुन्  । आगमन बाह्य कारकतत्त्व वा कारण हो ।

वर्णका तहमा ध्वनिविच्छेद, ध्वनिविलय, समीभवन, क्षतिपूर्ति दीर्घीभवन, विषमीभवन, मूर्धन्यीभवन, दन्तीभवन, स्वरागम, व्यञ्जनागम, नासिक्यीभवन र लोपजस्ता भाषावैज्ञानिक परिवर्तन हुन्छन् र यी प्राय: आन्तरिक परिवर्तन वा उद्विकास प्रक्रियाका नियम हुन् । भाषाका रूप, शब्द, पदावली, वाक्यांश, वाक्यका बनोटमा पनि परिवर्तन हुन्छ । व्याकरणिक व्यवस्थाअन्तर्गत लिङ्ग, वचन, कारक, पदसङ्गतिका ढाँचा वा बान्की पनि बदलिन्छन् ।

“बहुभाषिक समाजमा व्याकरणिक व्यवस्थामा परिवर्तन छिटो” हुन्छ । कुनै पनि भाषिक समाजले प्राप्त गर्ने कानुनी, प्रशासनिक, साञ्चारिक, शैक्षणिक, राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध र पहिचानी हैसियतका कारण बाहिरका भाषाका अनेक भाषिक तत्त्व वा प्रवृत्तिबाट प्रभावित हुन्छ । प्रभावित हुँदा विभाषा (पराइ भाषा) दाता र स्वभाषा ग्राहक भाषा बन्न पुग्छ । अन्यत्रको भाषाबाट आफ्ना भाषामा हुने भाषिक विप्रेषण वा पैठारीलाई ‘आगन्तुक’ तत्त्व मानिन्छ । यस्ता आगन्तुक भाषिक तत्त्व (वर्ण, शब्द र व्याकरणिक नियम) लाई ‘आगमन’ भनिन्छ । आगमन भाषामा विभाषाको टेकोपिँडो र घुसपेठ दुवै हो ।

यसैले आगमनबाट भाषामा अनुकूल र प्रतिकूल दुवै किसिमको असर वा प्रभाव पर्छ । शब्दका तहमा यसले भँडारलाई बढाउने वा घटाउने दुवै काम गर्न सक्छ । व्याकरणका तहमा हुने आगमनले भाषालाई मौलिक नियमलाई नै पराइकरण गर्नेसम्मको काम गर्दछ; भाषाको मौलिकता मास्ने र भाषाको मौलिक तत्त्वलाई सङ्कटापन्न बनाउँछ । व्याकरणिक आगमनका कारण वर्तमान नेपाली भाषा हिन्दी जस्तै पिजिनकरण/क्रेओलकरण सिकार भइसकेको छ ।”यो विकइन्ड होलिडेमा पिकनिक गएर बबाल डान्स हानिन्छ” जस्ता वाक्य अहिले धेरैलाई स्वाभाविक लाग्न थालेका छन् । अङ्रेजी भाषाको आगमनद्वारा नेपाली भाषा पिजिनकरण हुँदै गएको यसबाट बुझ्न सकिन्छ ।

० ० ० ०

नेपाली भाषा: उद्भवसँगै आगमन

नेपाली भाषामा आगमन प्रभाव यसको उद्भवकालदेखि नै रहँदै आएको पाइन्छ । नेपालीको प्राचीन नमुना मानिएको दैलेखको दुल्लुको राजा दामुपालको शिलालेखको ‘ॐ मणिपद्मे हुँ” को समानान्तर किरात/भोटबर्मेली रूप ‘ओम् माने पेमे हुँ’ लोकभाषामा चलिआएको छ । गोरखा लार्के हिमाल ताजगाइँ गुम्बाको शाके १२५६ को पुण्यमल्लको ताम्रपत्रमा नै संस्कृत/पालिइतर गैरभारोपेलीमूलका घाल्ये, अड, कटक, लामा, ताजगाइँ चदू भदू, थर्पु, थारो, लामृनि, जुम्लाजस्ता शब्दहरू प्रयोग भएका पाइएका छन् । यसले त्यस कालदेखि नेपाली भाषामा भोटबर्मेली भाषिक ध्वनि र रूपतात्विक प्रभाव रहँदै आएको दर्साउँछ ।

किरात तथा लिच्छविकालमा किरात-पालि (वा संस्कृत) भाषिक मिश्रणबाट बनेका तलस्वामी (तलसिङ), कर्पासी (खोपासी), शङ्गा (साँगा), चङ्गु (चाँगु), सीनगु (सिम्भू/स्वयम्भू), तेङ्खु/तेषु (टेकु), तेस्तुङ (टिस्टुङ), थेञ्चो/धक्वा: (थानकोट), माखोप्रिङ/खोपृङ् (ख्वप/खोप/खप्व), वागायुमी (बुङ्मती), कुथेर/कुथेरवती, लिङ्ग्वल/लिङ्खल (लिङ+ग्वल), शोल्ल (शूली), मापचोक (माप+च्व:), भट्टाधिकरण, च्व:बहा/चोभार (च्व:+विहार), चा:बहा/चाबहिल/चाबेल (चारु:+विहार) आदि रूढ भई नेपाल उपत्यकामा लोकप्रचलनमा आइसकेका थिए ।

यसै गरी मछिन्द्रबहाल (जम बहा:), भेँडासिङ (भ्याचाद्यः), टुडिँखेल (तेख्यं), कमलाक्षी (क: मिलाछि:), टेबहाल (तेय्वहा/तेबहाः), गुच्चा टोल (गुचाः त्वा:), पुखू (पोखरी), क्षेत्रपाटी (इखालाछि:), जैसिदेबल (न्यूघ:), चित्लाङ (चिलं), नक्साल (नंसा), सिनामङ्गल (सिनांमुग), दगुर्ने पानी (लखुपात), खोकना (खोना), फर्पिङ (फम्पि), गोलढुङ्गा (ल्वँहँलं), नुवाकोट (नःक्वा:), साँखु (सक्व), बनेपा (भ्वँत), पनौती (पन्ति), नमोबुद्ध (नमुरा), धुलिखेल (धौख्य:), डल्लु (दल्लुद्ध), कुपन्डोल/कोपुण्डोल (क्वपुंद्धे) जस्ता नेवा भाषाका शब्द प्राकृत नेपाली भाषामै मिश्रण भई नेपाली नाम शब्दहरू बनेका पाइन्छन् ।

मध्यकालीन नेपाली भाषाको विकासक्रममा हिमवतखण्डको दक्षिणतर्फको ठूलो भूखण्डमा सन् १८५७ सम्म अरबी-फारसी भाषाप्रयोक्ता मुसलमान र मुगलहरूले शासन चलाएका थिए । मुगल शासनको भूभाग ‘मुगलान’/’मुङ्लान’ आजपर्यन्त नेपाली भाषामा ‘विदेश’ भन्ने अर्थमा प्रयुक्त छँदैछ । देवानी, फौजदारी, अदालत, मुफ्ती, मिर, अदिल, काजी, सुबाह (सुब्बा), सरकार, कचहरी/कचरी, पेसकर, दारोगा, तहसिल र तहबिलजस्ता मध्यकालीन नेपाली शब्दभण्डारलाई बढाउँदा आगमनहरू हुन् । यिनले नेपाली भाषाको शब्दभण्डार बढाउनमा अनुकूल भूमिका खेलेको देखिन्छ ।

अङ्रेजी भाषाको प्रभावका रूपमा नेपालीमा आगमनको प्रारम्भ मध्यकालीन नेपाली भाषामै हुन थाल्यो । भारतमा अङ्रेजको शासन सुरु भएपछि उसको भाषिक प्रभाव नेपालसम्म विस्तार भयो । नेपाल एकीकरणको समयमै अङ्रेज पादरीहरू नेपाल आइसकेका र नेपाल-अङ्रेज युद्धका समयमै नेपालीमा अङ्रेज सेनाका पदवीका समानान्तर नेपाली सेनाको पदवी बनाउँदै जर्नेल (जेनेरल), कर्नेल (कोलोनेल), कप्तान (क्याप्टन), लप्टन (लेफ्टिनेन्ट) जस्ता शब्दहरूले नेपाली भाषाको शब्दभण्डार बढाएको पाइन्छ ।जङ्गबहादुर राणाले आफूलाई काजी/बडाकाजीले सुशोभित नगराई श्री ३ महाराजले समेत नपुगेर अङ्रेजीको ‘प्राइम मिनिस्टर’ भन्ने पदावलीबाट सुशोभित गराए । यसले नेपालको शासकीय तहबाटै नेपाली भाषामा अङ्रेजी भाषाको आगमनप्रभाव रहेको देखाउँछ ।

मध्यकालीन नेपालीमा छिमेकी मुगलानी(मुङ्लानी) शासनको कामकाजी भाषा (अरबी-फारसी) बाट शब्द र पदावलीको तहका आगमन भएका भए पनि तिनले व्याकरण व्यवस्थामा खासै असर पारेको देखिन्न, तथापि यो पनि अध्ययनका लागि बाँकी फाँटकै रूपमा रहेको छ ।

सरकार/सर्खार, सर्जमिन/सर्जिमिन, अख्तियार/अक्तियार/अक्त्यारजस्ता केही ध्वनितात्त्विक परिवर्तनहरूका हिसाबले वर्णको तहमा पनि केही परिवर्तन भने ल्याएका देखिन्छन् । शब्दनिर्माणका रूपायन र व्युत्पादनमा पनि  सो आगमनको असर रहेको देखिन्छ ।

उदाहरणका लागि, ‘जङ्ग’ बाट जङ्गिनु, ‘पेस’ बाट पेस्नु/पेस्ने/पेसिएका/पेसुवा जस्ता शब्द कथ्य र लेख्यमा प्रयोग हुने गरेकै छन् तर यो कुराले भाषाको व्याकरणका नियमलाई प्रतिस्थापन नगरेकाले यसलाई अनुकूल प्रभाव मान्न सकिन्छ । सोही कालमा अङ्रेजीबाट भएको आगमन पनि शब्दकै तहमा सीमित रहँदै आएको र व्याकरण व्यवस्थामा त्यसले त्यस्तो ठूलो असर पारेको पाइँदैन ।

० ० ० ०

नेपाली भाषाको आधुनिक कालमा आगमनको प्रभाव

नेपाली भाषाको आधुनिक कालमा भने अङ्रेजी र हिन्दी (अङ्रेजी र संस्कृतनिस्सृत अपभ्रंश प्राकृतको क्रेओलकृत रूप) को वर्ण, रूप र व्याकरणिक नियमकै तहमै आगमन प्रभाव बढ्दै आएको देखिन्छ । वनारस/वृन्दावन संस्कृत विद्याका केन्द्र हुनाले राणा कालमै नेपालबाट मानिसहरू संस्कृत अध्ययनका लागि त्यता गए ।संस्कृत लोकभाषा नभएकाले त्यहाँ हिन्दी र ब्रजजस्ता संस्कृतनिस्सृत अपभ्रंश प्राकृत/लौकिक भाषा संस्कृत सिकाउने अर्को भाषाको रूपमा रहेकाले नेपाली मातृभाषी विद्यार्थीमा पनि त्यो माध्यम भाषाले प्रभाव जमायो । नेपाली र हिन्दी दुवै भाषाका पुर्खा भाषा संस्कृत/पालि भएकाले तिनका नेपालीमा तिनले पत्तै नपाई हिन्दीबाट थुप्रै कुरा आगमन भए ।

ती संस्कृत पढेका मानिसहरू नेपालमा फर्केर नेपालीमा सामाजिक व्यवहार गर्दा हिन्दी र संस्कृतका व्याकरणिक पाटा नेपालीमा आगमन भए ।हिन्दी र उर्दू भाषामा कथ्यमा साम्यता रहे पनि लेख्यमा ती फरकफरक लिपिका भए पनि हिन्दीमा फारसी-अरबी मूलका शब्द र पदावलीको लिप्यान्तर गर्दा देवनागरी लिपिमा संस्कृत लेखन परम्पराको सिकोमा वर्णविन्यास गर्ने अभ्यास थियो ।त्यही अभ्यास नेपालीहरूले लेख्य नेपालीमा पनि अवलम्बन गरे ।शहीद कि सहिद, कानून कि कानुन, गरीव कि गरिब? जस्ता प्रश्नहरू त्यही हिन्दीबाट नेपालीमा भएको लेख्य आगमनले सिर्जना गरेका जिज्ञासा अद्यापि वर्णविन्यासका नियमका बारेमा विवादका विषय छन् ।

पछिल्लो समयमा भारतमा क्रेओल हिन्दीमा चलचित्र/गीतसङ्गीतको विकास भयो भने पछिल्लो समयमा भारतीय विद्युतीय सञ्चारमाध्यमले क्रेओल हिन्दीमै सञ्चारसामग्री (सूचना/समाचार/मनोरञ्जन/विज्ञापन) प्रचारप्रसार गरे । नेपालकै नेपाली मातृभाषीको ठूलो जनसङ्ख्या यसको उपभोक्ता बन्यो र तिनले थाहा नपाउँदै हिन्दीका अनेक आगमन नेपाली मातृभाषीको कथ्य अभ्यासमा बेजोड भयो । त्यस सिकोबाट बोलाइ र लेखाइ दुवैमा आगमको प्रभाव तीब्र बन्यो ।

राणाशासनको अन्त्यसँगै नेपालको विश्वव्यापी अन्तरराष्ट्रिय परराष्ट्रसम्बन्ध विकास हुन थाल्यो । २००७ सालको सेरोफेरोमा नेपालको राजनीतिक तथा कानुनी शासनप्रणालीका लागि अङ्रेजशासित भारतका राजनीतिक तथा कानुनी विज्ञहरू स्रोतव्यक्ति बने । कतिपय मानिस अङ्रेजीमा भारतमै पढेलेखेकाहरूको वर्चश्व नेपालको कानुन-न्याय क्षेत्रमा रह्यो । नेपाल अन्तरिम शासन विधान, प्रधान न्यायालय ऐन, कानुन व्याख्यासम्बन्धी ऐन र सर्वोच्च अदालत ऐनजस्ता महत्त्वपूर्ण सङ्कथनहरू प्रारम्भमा अङ्रेजी भाषामा गरिएको मसौदाबाट नेपालीमा उल्था गरेर जारी भए ।अनुवाद वा उल्थाले स्रोत (प्रेषक) भाषाका व्याकरणिक नियमहरूको लक्ष्यित (ग्राहक/प्रापक) भाषामा तीब्र प्रभाव रहन्छ ।

नेपाली व्याकरणको अध्ययन हुन थालेको मध्यकालमै भए पनि वर्तमान नेपाली व्याकरण स्थिर आधुनिक कालमा भयो । नेपालीको व्याकरणिक व्यवस्था र नियमलाई हेर्ने आधारका रूपमा अङ्रेजीको  ग्रामरलाई आधार बनाइयो । आधुनिक शिक्षा प्रणालीअन्तर्गत अङ्रेजी भाषालाई नै शिक्षण माध्यम बनाइयो भने नेपाली भाषिक माध्यम अपनाउँदा पनि अङ्रेजी भाषामा भएका सामग्रीलाई नेपालीमा अनुवाद गरी पढाउने काम भयो । अनुवादका क्रममा अङ्रेजीबाट शब्दगत, व्याकरणिक र वाक्पदीयगत आगमन भएको पाइन्छ । वर्तमानमा नेपाली भाषामा हिन्दी र र अङ्रेजी आगमनको प्रतिकूल प्रभावलाई हामी निम्नानुसार औँल्याउन सक्छौँ:

हिन्दी आगमन

पद/पदावलीका तहमा प्रतिस्थापन: हिजोआज/आजभोलि/अचेल (आजकल), आरोपित (आरोपी), एकाइ (इकाई), मिठाइ (मिठ्ठाई), बधाइ(बधाई), किनभने/भनेपछि (किनकि), के होइन भने (नकि) ।

वाक्यका तहमा प्रतिस्थापन: क्रिकेट खेल्न नेपाली खेलाडी दिल्ली पुगे (क्रिकेट खेल्नका लागि नेपाली खेलाडी दिल्ली पुगे/ ‘खेल्ने के लिए’ ढाँचा आगमन) ।

म भारतीय सञ्चारमाध्यमका कुरा सुन्दिनँ किनभने तिनले नेपाललाई हियाएर बोल्छन् (… सुन्दिनँ किनकि … बोल्छन्/ क्यूँ कि को आगमन) ।

म भारतीय अभिनेताको कुरा गर्दैछु, नेताको होइन (म … अभिनेता कुरा गर्दैछु न कि नेताको/’न कि’ संयोजक आगमन) ।

अङ्रेजी आगमन

पद/पदावलीका तहमा प्रतिस्थापन: जन्मदिन/जन्मसो (बर्थ डे), सखी/सखा (गर्ल फ्रेन्ड/ब्वाइ फ्रेन्ड),  कागज (पेपर), कलम (पेन) लगायत नेपाली भाषाका स्थापित शब्दहरूको प्रतिस्थापन ।

वाक्यका तहमा प्रतिस्थापन: क्रिकेट खेल्न नेपाली खेलाडी दिल्ली पुगे (क्रिकेट खेल्नका लागि नेपाली खेलाडी दिल्ली पुगे/’खेल्ने के लिए’ ढाँचा आगमन) ।

म भारतीय सञ्चारमाध्यमका कुरा सुन्दिनँ किनभने तिनले नेपाललाई हियाएर बोल्छन् (… सुन्दिनँ किनकि … बोल्छन्/ क्यूँ कि को आगमन) । “यस संविधानको नाम ‘नेपालको संविधान’ हो ।

यो संविधान… देखि लागु/प्रारम्भ हुन्छ” भनेर लेखिनुपर्ने र लेख्न सकिने ठाउँमा “यस संविधानलाई ‘नेपालको संविधान’ भनिनेछ ।

यो संविधान … देखि प्रारम्भ हुनेछ” जस्ता अग्रेजीको भविष्यत कालको पूरक क्रिया स्याल बीको अन्धानुकरण गरेर बनाइएका वाक्यहरू हामी बग्रेल्ती प्रयोग भएका पाउँछौँ ।

म यहाँहरूलाई ‘धन्यवाद दिन्छु’ होइन, ‘धन्यवाद दिन चाहन्छु’ जस्ता अङ्रेजीको ‘वुड लाइक टु’ को उल्थाबाट रूपात्मक आगमनको नेपालीमा अहिले बिगबिगी छ ।

”अब म मूल विषयमा प्रवेश गर्न गइरहेको छु” (अङ्रेजीको ‘गोइङ टु’ को उल्थाद्वारा रूपतात्त्विक आगमन) लाई त नेपालीकै गुरुहरू अब्बल नेपाली वाक्य भन्दिनु हुन्छ ।

‘गरिबी निवारण गर्ने गरी देशविकास होस्’ का सट्टामा ‘देशको यस्तो विकास होस् ता कि गरिबी निवारण होस्’ (अङ्रेजीको ‘सो द्याट’को रूपतात्त्विक आगमन) जस्ता वाक्य उल्था गरिएका सामग्रीमा छ्यासछ्यास्ती भेटिन्छन् ।

० ० ० ०

निष्कर्ष

नेपाली भाषाको व्याकरण व्यवस्था संस्कृत/पालिका सन्ततिका रूपमा उद्विकास भएका नेपालीसँग भगिनी सम्बन्ध रहेका भोजपुरी, बज्जिका, अबधी, मैथिलीजस्ता घनिष्ठ पारिवारिक निकटताका भाषाका व्याकरणका तुल्यतामा निर्धारित हुन सक्छ र गरिनुपर्ने हो । यसो भए पनि नेपाली भाषाको व्याकरण विकास गर्नेहरूले अङ्रेजी भाषाको व्याकरणलाई गुरु माने र त्यसैका आधारमा व्याकरणका कतिपय व्यवस्था निर्धारित गरे । नेपालीका व्याकरणिक कोटी काल, पक्ष र भावसम्बन्धी नियममै अङ्रेजीको नियम आगम भएको देखिन्छ ।परम्परित नेपाली व्याकरण मध्यचन्द्रिकाले नै नेपालीमा वर्तमान, भूत र भविष्यत् कालको अलग्गै व्यवस्था देखाएको छ ।नेपाली व्याकरणले ‘भविष्यत काल’लाई ठाउँ दिन्छ कि दिँदैन ? खँदिलो अध्ययन आवश्यक छ ।

भाषामा त्रिकालको यस्तो विभाजन सबै भाषाको अनिवार्य तत्त्व होइन र नेपालीमा पनि अनिवार्य छ कि छैन भन्ने विषय भाषाका अध्येताका लागि खुला क्षेत्र हो । नेपालीमा काल भूत र अभूत गरी दुई प्रकारमा रूपायन हुने गरेको स्पष्ट अनुभव गर्न सकिन्छ तर अभूतमा वर्तमान र भविष्यत् अभिव्यक्त गर्ने अर्थतात्त्विक रूपायन भेद स्पष्ट हुँदैन ।

उदाहरणका लागि, ‘म भोलि पोखरा जान्छु’ र ‘भोलि पोखरा गइन्छ’ भन्दा जुन स्वाभाविकता प्रकट हुन्छ ‘म भोलि पोखरा जानेछ’ र ‘म भोलि पोखरा गएको हुनेछु’ भन्दा हुँदैन । यसले हाम्रो व्याकरणमा अभूतलाई वर्तमान र भविष्यत् गरी दुई फ्याक व्यवस्था मौलिक हो भन्ने देखाउँदैन ।

अझ सम्भावनार्थक प्रयोगमा त हामी ‘म भोलि पोखरा जान्छु होला’ भनेर जसरी स्वाभाविक रूपले व्यक्त गर्छौं त्यसरी नै ‘म भोलि पोखरा जानेछु होला’ भन्ने गर्दैनौँ नै । यसले भविष्यत् त अङ्रेजीको व्याकरणिक आगम नै हो भन्ने देखाउँछ किनभने नेपालीको अभूत कालमा अलग्गै भविष्यत्  रूपायन देखिँदैन ।

अत: के भन्न सकिन्छ भने नेपाली भाषामा उर्दू (अरबी फारसी), अङ्रेजी र हिन्दी भाषाको ध्वनि, रूप, शब्द र व्याकरणिक नियमको प्रभाव पर्दै आएको छ । केही प्रभाव अनुकूल र उचित छन् पनि जसले नेपालीको भाषिक समृद्धिलाई योगदान गरेका छन् भने केही आगमनको प्रभाव प्रतिकूल र अनुचित छ किनभने तिनले नेपाली भाषालाई तिनका ढल्कामा लगेर यसको मौलिकतालाई हाँक दिँदो खतरा खडा गर्दै लगेका छन् ।

नेपाली भाषालाई हिन्दीजस्तै अङ्रेजीको पिजिनकरण/क्रेओलकरणबाट जोगाउने हो भने आगमन प्रयोग गर्नमा हामीले होसियारी राख्नैपर्छ । यसका लागि लेखन, प्रकाशन र सञ्चारका क्षेत्रमा काम गर्ने भाषाकर्मीको विशेष ध्यान जान आवश्यक छ ।