वस्त्र छैन आङमा, हिमाल आज निर्लज्ज उदाङ्गिएको छ
मानवीय क्रूरताको पराकाष्ठाले ऐश्वर्यता पसाङ्गिएको छ
मागेको थिएन हिमालले अधिकार, राखेको थिएन कुनै माग
खोजेको थिएन भोगविलासीता, रोजेको थिएन कुनै भूभाग

हुन छाड्यो उसलाई आत्मसम्मान र स्वअस्तित्वको आभास
ठिङ्गिएको छ बिना लालित्य र सौन्दर्य, बनेर जिउँदो लास
ए हिमाली देवी ! कहाँ गए ती तिम्रा लाज ढाक्ने वस्त्रहरू
राक्षसवृत्ति संहारकको निर्मम प्रहार छेक्ने अस्त्रशस्त्रहरू

मरुभूमि बन्यो सिमसार, खडेरीले चिरा पर्न थाले जलाधार
जैविक विविधतामा गम्भीर आघात पुग्यो, भयो सबै निराधार
जलवायु परिवर्तनको दुश्चक्रले सर्वत्र दूरगामी असर परेको छ
अतिवृष्टि, अनावृष्टिले कृषकको आँखामा अश्रुधारा झरेको छ

हेर त आज, बन्जर भयो जमिन, शोकमा छन् वनपाखाहरू
लोप भए कोइली न्याउली चरी, गाउन छाडे विरही भाकाहरू
नीरस छन् आज लालीगुराँस, चाँप, धुपीसल्लोका बोटहरू
सहन विवश छन् अतिक्रमण, विनाश र प्रलयका चोटहरू

लामखुट्टे पुग्न थाले हिमालय तिर, हिउँचितुवा झरे मधेस
शोकाकुल छन् नदी, ताल र झरना, हेरिरहन्छन् निर्निमेष
प्रदूषण, विषादी र विनाशले प्रकृतिको परेली भिजेको छ
मुटुभित्र दुःखकष्ट र वेदनाका अनगन्ती काँडा बिझेको छ

देखिन छाडे काँडेभ्याकुर र सुगाको गीतमा मयूरको कल्की नृत्य
आउन छाडे साइबेरियन चरी पनि, उदाङ्गियो मानवीय कुकृत्य
जल छैन तिर्खाएका ओठमा, न त छ कुनै भोक मेट्ने आहारा !
मानव नै प्रधानशत्रु भएपछि कसले दिन्छ पशुपक्षीलाई सहारा ?

भूउपग्रह छ अन्तरिक्षमा, पोल तथा टावरले डाँडा भरेका छन्
विकिरण र बिजुलीको झड्काले निर्दोष पशुपक्षी मरेका छन्
लाग्छ यी संरचनाहरू प्राकृतिकता विरुद्धका अवशेष हुन्
पर्यावरण तथा पशुपक्षी सर्वनाश गर्ने यमराजका भेष हुन्

वन मासेर केबलकार, रिसोर्टका संरचनाहरू चम्कन थाले
वन्यजन्तुको पदचाप मानव वासस्थान तर्फ लम्कन थाले
मानवद्वारा निर्दोष पशुपक्षी विरुद्ध बारम्बार विप्रलम्भ भयो
थातथलो नै उजाडिए पछि प्राणीहरू बिच द्वन्द्व आरम्भ भयो

प्राकृतिक दोहन र विनाशको सूत्रधार नै मानवीय आवृत्ति हो
आफैंलाई सर्वेसर्वा ठान्ने अहङ्कारपूर्ण, आडम्बरी प्रवृत्ति हो
हे पापिष्ठ मानव ! किन गर्दैछौ तिमी पर्यावरणको सर्वनाश ?
याद राख, विनाशले तिम्रो पनि गुम्छ है गाँस, बास, कपास !

अब हामीले पर्यावरण संरक्षणको चेतना प्रत्ययित गर्नुपर्छ
पारस्परिक अन्योन्याश्रित सम्बन्धलाई विस्फारित गर्नुपर्छ
अभिशाप होइन हिमाल ! सृष्टि जगतकै उत्कृष्ट वरदान हो
मानवीय सभ्यता, विकास र संस्कृतिकै मनमोहक उद्यान हो ।

तेह्रथुम (हालः जापान)