
‘घोस्ट राइटिङ लघुकथा प्रतियोगिता’ अन्तर्गत सर्वोत्कृष्ट तीन लघुकथाको घोषणा गरिएको छ । चालीस शृङ्खलासम्म साहित्यपोस्टमा सञ्चालित लघुकथा प्रतियोगितामा विजयी बनेको १ सय १८ लघुकथाबाट विभिन्न चरणको मूल्यांकनपश्चात् ‘सर्वोत्कृष्ट तीन’ लघुकथा घोषित भएका हुन् ।
गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. कपिल लामिछाने सम्मिलित तीन सदस्यीय छनौट समितिले ‘सर्वोत्कृष्ट तीन लघुकथा’को छनौट गरेको हो ।
घोषणाअनुसार दीप मङ्ग्राती निरीहको लघुकथा ‘पूजा’ प्रथम, शुभ शर्माको लघुकथा ‘प्रतिप्रश्न’ द्वितीय तथा दिव्य गिरीको लघुकथा ‘नवदुर्गा’ तृतीय बन्दै ‘घोस्ट राइटिङ लघुकथा प्रतियोगी’मा ‘सर्वोत्कृष्ट तीन’का रूपमा छनौट भएका छन् ।
त्यस्तै, रचना शर्माको लघुकथा ‘मेरो बैँस’ र किशन पौडेलको लघुकथा ‘खुशी’ सान्त्वनाका रूपमा उत्कृष्ट पाँचभित्र रहन सफल भएका छन् ।
‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का प्रथम, द्वितीय र तृतीय स्रष्टाहरूले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पुरस्कारका साथमा १०–१० थान चर्चित आख्यानका कृतिहरू उपहारस्वरूप प्राप्त गर्नेछन् ।
यसअघि, ‘घोस्ट राइटिङ लघुकथा प्रतियोगिता’ अन्तर्गत ‘वर्षका उत्कृष्ट १० लघुकथा’ छनौट गरिएको थियो । वर्षका उत्कृष्ट १० लघुकथामा धवन्तरी मिश्र ‘कात्यायन’को ‘यायावर’, दिव्य गिरीकाे ‘नवदुर्गा’, रचना शर्माकाे ‘मेरो बैँस’, किशन पौडेलकाे ‘खुशी’, अङ्कुर चन्दकाे ‘सपथ’, शोभा पोखरेलकाे ‘अनुमति’, शुभ शर्माकाे ‘प्रतिप्रश्न’, दीप मङ्ग्राती निरीहको ‘पूजा’, राम्जी रानाभाटकाे ‘बाआमाकाे बिहे’ र विष्णु एस. राईकाे ‘स्वतन्त्रता’ छनौट भएका थिए । उक्त ‘उत्कृष्ट १० लघुकथा’को सूचीबाट ‘सर्वोत्कृष्ट’ तीन लघुकथा तथा लघुकथाकारको छनौट गरिएको हो ।
कथावस्तु, रूपविधान, संरचना, विषयवस्तुको नवीनता, भाषिक प्रवाह, विषयको सर्वकालिकता, कथावस्तुले उत्पन्न गराउने कुतूहलता, विचार तथा सामाजिक पक्षका आधारमा उत्कृष्ट ठहरिएका लघुकथाहरूलाई ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का रूपमा छनौट गरिएको निर्णायकहरूले बताएका छन् ।
४० सातासम्म चलेको प्रतियोगितामा हरेक साता छानिएका उत्कृष्ट कथाहरूलाई सङ्ग्रहको रूप दिएर सर्वोत्कृष्ट तीनको घोषणासँगै ‘वर्षका उत्कृष्ट लघुकथा’ प्रकाशन गरिने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालले जनाएका छन् । प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ ।
निकट समयमा एक विशेष समारोहको आयोजना गरी ‘वर्षका उत्कृष्ट लघुकथा’ नामक पुस्तकको लोकार्पणसहित गरिने साहित्यपोस्ट, व्यवस्थापन विभागले जनाएको छ । सोही समारोहले ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का कथाकारहरूलाई पुरस्कार राशिसहित सम्मान गर्नेछ ।
घोस्ट राइटिङ नेपालसँगको सहकार्यमा चालीस शृङ्खलासम्म साहित्यपोस्टमा साप्ताहिक रूपमा सञ्चालित लघुकथा प्रतियोगिताबाट १ सय १८ लघुकथाहरू छानिएका थिए । यसअघि पहिलो चरणमा सोही १ सय १८ लघुकथाबाट उत्कृष्ट ५० तथा दोस्रो चरणमा ५० बाट ‘उत्कृष्ट २५’ लघुकथाको छनौट गरिएको थियो । त्यस्तै, तेस्रो चरणमा उत्कृष्ट २५ बाट ‘वर्षका उत्कृष्ट १० लघुकथा’ छानिएको थियो ।
साहित्यपोस्टमा सञ्चालन भएको लघुकथा प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यावसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म दुई सय बढी पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरूका लागि सिर्जनात्मक कक्षाहरू पनि सञ्चालन गरिरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सुरू भयो लघुकथा प्रतियोगिताकाे अट्ठाइसौँ चरण; आमन्त्रित निर्णायकमा गाेपाल अश्क
