मिखाइल नाइमीको जन्म सन् १८८९ मा भएको थियो । उनी मध्यपूर्वी देश लेबनानको समुद्री तट नजिकैको एउटा गरिब किसान परिवारमा जन्मिएका थिए । परिवार ईसाई धर्म मान्थ्यो । स्कूलको उत्कृष्ट विद्यार्थी भएको फलस्वरूप उनले छात्रवृत्ति पाए । त्यसको सहयोगमा १९०६ देखि १९११ सम्म, पाँच वर्ष रुसमा उच्च शिक्षा अध्ययन गरे । त्यसपछि फेरि लेबनान फर्किए । केही महिना त्यहाँ बिताएपछि संयोगवश उनलाई अमेरिका जाने अवसर मिल्यो । थप अध्ययनको लागि उनी अमेरिका गए । त्यहाँ उनको परिचय आफ्नै देशका प्रख्यात लेखक खलिल जिब्रानसँग भयो । जससँग उनले आफ्नो मातृभाषा र अरबी साहित्यलाई नयाँ जीवन दिन गतिशील आन्दोलनको सुरुवात र नेतृत्व गरे । नाइमी १९३२ मा आफ्नो देश फर्के । त्यसपछि आफ्नो बाँकी जीवन त्यहीं बिताए । सन् १९८८ मा उनको मृत्यु भयो ।
नाइमीले १९४६-४७ मा ‘द बुक अफ मिर्दाद’ लेखे । त्यसपछि यसलाई अरबीमा अनुवाद गरे । मूल अंग्रेजी भाषामा पहिलो पटक सन् १९४८ मा लेबनानको राजधानी बेरुतमा प्रकाशित भएको थियो । यसको अरबी अनुवाद सन् १९५२ मा त्यहीं प्रकाशित भएको थियो ।
मिखाइल नाइमीका दुई दर्जनभन्दा बढी पुस्तकहरूमध्ये, पश्चिमी पाठकहरूमाझ यो सबैभन्दा धेरै रुचाइएको पुस्तक हो । नाइमी आफैं पनि यसलाई आफ्नो उत्कृष्ट कृति मान्थे ।
अध्याय दुई
‘म’ सबै वस्तुको स्रोत र केन्द्र हो
मिर्दाद: जब तिम्रो मुखबाट ‘म’ निस्कन्छ, हृदयदेखि नै भन्नु, ईश्वर ! ‘म’को दुःखमा मेरो शरणस्थान बन्नुहोस् । ‘म’को परम आनन्दतर्फ हिँड्न मलाई मार्गदर्शन दिनुहोस् । यो शब्दभित्र धेरै सरलता छ । तैपनि यसले प्रत्येक शब्दको आत्मा कब्जा गरेको छ । एकपटक मात्रै यसलाई त्यागेपछि तिम्रो ओठमा सुगन्ध फैलिनेछ । जिब्रो गुलियो रसले भिज्नेछ । तिम्रो प्रत्येक शब्दले आनन्द नै आनन्दको रस टिप्नेछ । यसलाई कैद गरी राख्यौ भने, ओठमा दुर्गन्ध फैलनेछ । जिब्रो तीतो हुनेछ । अनि प्रत्येक शब्दले मृत्युको गीत गाउन थाल्नेछन् ।
साथीहरू हो ! ‘म’ सृष्टिकर्ता शब्द हो । जबसम्म तिमीले यसको रहस्यमय शक्ति प्राप्त गर्दैनौ, तबसम्म तिम्रो हालत यति नाजुक हुनेछ कि, गाउन मन लाग्दा रुनुपर्नेछ । शान्तिको कामना गर्दा अशान्तिले घेर्नेछ । उज्यालोमा उड्न चाहँदा अँध्यारो जेलमा कैद हुनुपर्नेछ ।
तिम्रो ‘म’ अस्तित्वको चेतना हो । एउटा मौन अस्तित्वको । अर्को अव्यवस्थित अस्तित्वको । जसलाई भाषा दिएको छ । शरीर दिइएको छ । तिमीभित्र सुन्न नसकिने वस्तु छ । जसलाई सुन्न सकिने बनाइएको छ । अदृश्यलाई दृश्य बनाइएको छ । जब तिमी हेर्न चाहन्छौ, तब अदृश्यलाई देख्न सक्छौ । जब सुन्न चाहन्छौ, तब सुन्न नसकिने शब्द सुन्छौ । तिमी अहिले आँखा र कानको बन्धनमा छौ । यी आँखा र कानद्वारा बच्न चाह्यौ भने, तिमीले अरू केही पनि देख्न वा सुन्न सक्दैनौ ।
‘म’ले मनमा विचारको सागर फैलाउन थाल्छ । सागर तिम्रो ‘म’को सृष्टि हो । जो विचारक र विचार दुवै हो । यदि तिम्रा विचारहरूले चड्काउँछन्, टोक्छन् वा तर्साउँछन् भने बुझ्नू, तिमी भित्रको ‘म’ले तिनीहरूलाई नङ्ग्रा, दाँत र अनेकौं डर दिएको छ ।
मिर्दादले पनि जान्न चाहेका छन् । जे दिन सकिन्छ, त्यो खोस्न पनि सकिन्छ ।
केवल ‘म’को साहायताले तिमी आफ्नो हृदयमा भावनाको इनार खन्छौ । यो इनार तिम्रो ‘म’को सृष्टि हो । जुन अनुभवकर्ता र अनुभवी दुवैको साथमा हुन्छ । यदि तिम्रो मनमा काँडाका झाडीहरू छन् भने, त्यो आफैंभित्रको ‘म’ले रोपेको हो भन्ने बुझ्नू ।
मिर्दाद तिमीलाई बताउन चाहन्छन् । जे रोप्न सकिन्छ, त्यो सजिलै उखेल्न सकिन्छ ।
केवल ‘म’ उच्चारण गरेर तिमीले शब्दहरूको विशाल समूहलाई जन्म दिन्छौ । हरेक शब्दले एउटा वस्तुको प्रतीक बनाउँछ । हरेक वस्तु संसारको प्रतीक हो । हरेक संसार एउटै ब्रह्माण्डको घटक हो । ब्रह्माण्ड तिम्रो ‘म’को सृष्टि हो । जो सृष्टिकर्ता र सृष्टि दुवै हो । तिम्रो सृष्टिमा केही प्राणी छन् भने जान्नु कि, तिमी भित्रको ‘म’ले उनीहरूलाई अस्तित्व दिएको छ ।
मिर्दादले यो पनि भन्न चाहन्छन्, ‘जसले सृष्टि गर्न सक्छ, उसले विनाश पनि गर्न सक्छ ।’
जो सृष्टिकर्ता हो । ऊ सृष्टि पनि हो । आफूलाई आफू भन्दा धेरै अरू कसैले सृष्टि गर्न सक्छ ? वा आफूभन्दा थोरै ? सृष्टिकर्ताले मात्र आफैँलाई सृष्टि गर्छन् । न धेरै, न त थोरै !
यहाँ एक मौलिक स्रोत ‘म’ छ । जहाँबाट सबै चीजहरू निक्कन्छन् र त्यसैमा फर्किन्छन् । जसरी मूल स्रोत छ, त्यसैगरी यसको निस्कने विन्दु पनि छ ।
‘म’ जादुको लठ्ठी हो । तैपनि यो लठ्ठीले जादूगरसँग नभएको कुनै चीज उत्पादन गर्न सक्दैन । जसरी जादुगर छ, त्यसरी नै उसको लठ्ठीबाट उत्पादित चीजहरू छन् ।
जसरी तिम्रो चेतना छ, त्यसरी नै तिम्रो ‘म’ छ । जस्तो तिम्रो ‘म’ छ, त्यस्तै तिम्रो संसार छ । ‘म’को अर्थ स्पष्ट र निश्चित भए संसारको अर्थ पनि स्पष्ट र निश्चित छ । त्यसपछि तिम्रा शब्दहरू कहिल्यै घुमाउरो हुने छैनन् । न त तिम्रो कर्म कहिल्यै दुःखको गुँड बन्नेछ । यदि यो अस्पष्ट र अनिश्चित छ भने, तिम्रो संसार पनि अस्पष्ट र अनिश्चित छ । अन्ततः तिम्रो बोली मात्र भ्रम बन्नेछ । कर्म पीडाको कारखाना बन्नेछ ।
यदि यो परिवर्तनहीन र शाश्वत छ भने, तिम्रो संसार पनि परिवर्तनहीन र शाश्वत छ । त्यसपछि तिमी समय र स्थानभन्दा ठूलो हुनेछौ । यदि यो अस्थायी र परिवर्तनशील छ भने, तिम्रो संसार पनि अस्थायी र परिवर्तनशील छ । यसर्थ तिमी धुवाँको तह हौ । जसमा सूर्यले आफ्नो कोमल सास छोडिरहेको छ ।
यदि यो एक हो भने, तिम्रो संसार पनि एक हो । त्यसपछि तिमी, स्वर्ग र पृथ्वीका सबै बासिन्दाहरू बीच अनन्त शान्ति छाउनेछ । यदि यो धेरै छ भने, तिम्रो संसार पनि धेरै छ । त्यसपछि तिम्रो र ईश्वरको असीम साम्राज्यमा हरेक प्राणीसँग अनन्त युद्ध हुनेछ ।
‘म’ तिम्रो जीवनको केन्द्र हो । जहाँबाट तिम्रो सम्पूर्ण संसार बनाउने चीजहरू उत्पन्न हुन्छन् । जसमा तिनीहरू सबै फर्किन्छन् र विलय हुन्छन् ।
त्यो स्थिर छ भने तिम्रो संसार पनि स्थिर छ । माथि वा तलको कुनै ऊर्जाले तिमीलाई दायाँ वा बायाँ सार्न सक्दैन । त्यो चलिरहेको छ भने तिम्रो संसार पनि चलिरहेको छ । अन्ततः तिमी, रिसले जलिरहेको आँधीमा परेको सहाराविहीन पात बन्नेछौ ।
तिम्रो संसार स्थिर छ तर केवल अस्थिरतामा । तिम्रो संसार निश्चित छ तर अनिश्चिततामा मात्र । तिम्रो संसार अनन्त छ तर केवल अस्थायीपनमा । तिम्रो संसार एउटै छ तर केवल ‘म’ मा ।
तिम्रो संसार परिवर्तन भइरहेको चिहान हो । चिहानहरू आफ्नै लयमा परिवर्तन भइरहेका छन् । रात निल्ने दिन हो भने, दिन निल्ने रात हो । शान्तिको घोषणा गर्नु युद्धको बिगुल फुक्नु हो । युद्धको बिगुल शान्तिको घोषणा हो । आँसुमा तैरिरहेको मुस्कान, मुस्कानले चम्किरहेको आँसु हो ।
तिम्रो संसार सदैव प्रशव पीडामा तड्पिरहेको छ । जसको उपचार मृत्यु हो ।
तिम्रो संसार छल र ईर्ष्याको संसार हो । जसमा कुनै पनि छल वा ईर्ष्या समान छैनन् । तिमी निरन्तर छान्न नसकिने चीजहरू छानेर खाँदैछौ । तिम्रो संसार आफैँविरुद्ध विभाजित छ । तिमी भित्रको ‘म’ पनि त्यस्तै विभाजित छ ।
तिम्रो संसार बाधा र पर्खालहरूको संसार हो । तिमी भित्रको ‘म’ बाधा र पर्खालहरूको ‘म’ हो । यसले केही वस्तुलाई विदेशीको रूपमा चित्रण गरी बहिष्कार गर्न चाहन्छौ । तीमध्ये केहीलाई स्वीकार गरी पर्खालभित्र लैजान चाहन्छौ तर पर्खालबाहिर रहेको चीज जबर्जस्ती भित्र पस्छ । भित्र रहेको चीज जबर्जस्ती बाहिर निस्कन्छ । उनीहरू छुट्टिन चाहँदैनन् । तिम्रो ‘म’ एउटै आमाको सन्तान हो ।
तिमी उनीहरूको शुभ मिलनमा खुसी हुनुको सट्टा, अलग गर्न नसकिनेलाई अलग गर्ने व्यर्थको प्रयासमा लाग्छौ । ‘म’ भित्रका दरारहरू भर्नुको सट्टा, आफ्नो जीवन नष्ट गरिरहेका छौ । तिमी यस तरिकाले एउटा मार्ग बनाउँछौ, जुन तिम्रो आफ्नो ‘म’ हो । तिमीले कल्पना गरेको कुरा तिम्रो ‘म’ भन्दा फरक छ भने, यस अवस्थामा अरू र ‘म’बीच के फरक भेट्न सक्छौ ?
त्यसैले त मानिसको बोलीमा विष भरिएको छ । दिन दुःखले भरिएको छ, रात पीडाले भरिएको छ ।
हे भिक्षुहरू हो ! मिर्दाद तिम्रो ‘म’ भित्रका दरारहरू भर्न चाहन्छन् ताकि तिमी आफू र सम्पूर्ण ब्रह्माण्डसँग आनन्दपूर्वक बाँच्न सक्नेछौ ।
मिर्दाद तिम्रो ‘म’ भित्रको विष समात्न चाहन्छन् ताकि तिमीले ज्ञानको मिठास चाख्न सक ।
मिर्दादले तिम्रो ‘म’लाई कसरी तौलने भनेर सिकाउन चाहन्छन् ताकि तिमी पूर्ण सन्तुलनको आनन्द लिन सक।
नरोन्डा: भिक्षुहरू फेरि रोकिए । हामी सबैमा फेरि गहिरो मौनता छायो । फेरि एकपटक मिकायनले मौनता तोडे र भने,
मिकायन: तपाईंका शब्दहरूले हाम्रो जिज्ञासा झन् जगाउँछन् मिर्दाद ! तिनीहरूले धेरै ढोका खोल्छन् । तर हामीलाई अलमलमा छोड्छन् । हामीलाई यो भन्दा पर लैजानुहोस् । हामीलाई अझै भित्र लैजानुहोस् ।
अध्याय तीन
पवित्र त्रिमूर्ति र सही सन्तुलन
मिर्दाद: तिमीहरू आ-आफ्नो ‘म’मा केन्द्रित छौ तर पनि तिमीहरू सबै एउटै ‘म’मा केन्द्रित छौ । मात्र ईश्वरको ‘म’ ।
मेरा साथीहरू हो ! ‘म’ अनन्त ईश्वरको शब्द हो । यसमा ईश्वर प्रकट हुन्छन् । जो परम चेतना हुन् । यो नभए उनी पूर्ण रूपमा मौन बस्ने थिए । यसबाट सृष्टिकर्ता सृष्टि भएका छन् । यो सधैँ निराकार छ । जसबाट जीवहरू फेरि निराकारमा पुग्छन् ।
उनलाई अनुभव गर्न, उनको बारेमा सोच्न, उनलाई उच्चारण गर्न, ईश्वरलाई ‘म’ भन्दा बढी केही भन्न आवश्यक छैन । त्यसैले ‘म’ उनको एउटै शब्द हो । यो सृष्टिको केन्द्र हो ।
जब ईश्वरले ‘म’ भन्छन्, तब कोही पनि केही नभनी रहँदैन । देखिने र नदेखिने संसार, पहिले नै जन्मेका र जन्मनका लागि पर्खिएकाहरू, समयसँगै बग्दै गएका छन् र समयसँगै आउन बाँकी छन् । सम्पूर्ण वस्तु लगायत बालुवाको सानो कण पनि यो शब्दद्वारा उत्पन्न हुन्छ । ब्रह्माण्डको हरेक वस्तु यो शब्दमा समावेश छ । सबै चीज यसैबाट सृष्टि भएका हुन् । यसमार्फत नै सबै वस्तु जोगिन्छन् र नष्ट हुन्छन् ।
कुनै शब्दको केही अर्थ छैन भने, त्यो शून्यको प्रतिध्वनि हो । जसको अर्थ सधैँ एउटै हुँदैन भने, यो घाँटीको क्यान्सर वा जिब्रोको अल्सरबाहेक अरू केही होइन ।
ईश्वरको वचन शून्यमा प्रतिध्वनित हुँदैन । घाँटीको क्यान्सर भएर रहँदैन । यो जिब्रोको अल्सर हैन । ईश्वरीय ज्ञानबाट वञ्चित भएका मात्र यस्ता हुन्छन् । ईश्वरीय ज्ञान पवित्र शक्ति हो । जसले शब्दलाई सजीव बनाएर चेतनासँग जोड्छ । यो शाश्वत सन्तुलनको अनन्त किरण हो । जसको दुई तराजू छन्, चेतना र शब्द ।
साथीहरू हो ! आदिम चेतना, वचन र दिव्य ज्ञान अस्तित्वको त्रिमूर्ति हुन् । तीन जो एक हुन् । एक जो तीन हुन् । परस्पर समानता, समान व्यापकता, समान शाश्वतता, आत्मसन्तुलित, आत्मजागरूक र आत्मपूरक छन् । यिनीहरू न कहिल्यै घट्छन्, न त बढ्छन् नै । बरू सधैँ शान्त रहन्छन् । सधैँ उस्तै रहन्छन् । साथीहरू हो ! यो उत्कृष्ट सन्तुलन हो ।
मानिसले यसको नाम ईश्वर राखेको छ । यो यति अद्वितीय छ कि, यसलाई कुनै नाम दिन सकिँदैन । तैपनि यो नाम पवित्र छ । यसलाई शुद्ध राख्ने जिब्रो झनै पवित्र छ ।
मानिस यी ईश्वरको सन्तान होइन भने अरू के हो र ? के ऊ ईश्वरभन्दा फरक हुन सक्छ ? के सुन्तलाको बीउभित्र सुन्तलाको रुख छैन ? के मानिसभित्र ईश्वर छैनन् ?
त्यसैले, मानिस चेतना, शब्द र दिव्य ज्ञानको पवित्र त्रिमूर्ति हो । मानिस पनि ईश्वरजस्तै एक सृष्टिकर्ता हो । ‘म’ उसको रचना हो । त्यसो भए ऊ किन आफ्नो ईश्वरझैं सन्तुलित छैन त ?
तिमी यस प्रश्नको जवाफ जान्न चाहन्छौ भने, मिर्दादले तिमीलाई के भन्न गइरहेका छन्, ध्यानपूर्वक सुन्नू ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।