दृष्टिविहीनले भन्यो, “तिम्रो भाग्य त ताजुबकै रहेछ । कुनै चानचुने धन मात्र भेट्टाउने होइनौ कि, पुर्पुरै सप्रिने सम्पत्ति आउने भएको छ ।”
वेनले विचार गर्यो, “यस यात्रामा म दिन काट्न र मन बहलाउनकै लागि जान लागेको हुँ। बिराना मुलुकमा मैले के व्यापार गर्न सकुँला र ? तिनीहरूले मेरा लागि केही पैसा उठाइहाले भने पनि त्यति साह्रो त किमार्थ हुन सक्तैन । अनि मैले कसरी पुर्पुरै सपार्ने सम्पत्ति भेट्टाउन सकुँला ? यस दृष्टिविहीनले पक्का पनि झुटो कुरा भनेको हो।”
त्यत्तिकैमा चाड जाग्दै आइपुग्यो ।
त्यसले भन्यो, “पैसाका कुरा गर, दोस्ती खतम। ती व्यापारीहरू विचित्रैका रहेछन् । मैले तिमी पनि जाने कुरा भन्दा त ती खुबै खुसी भए, तर केही सहायता पनि गर न त भन्दा सब मुखै लुकाउने ! मैले र मेरा दुई जना साथीले मिलेर एक टेल चाँदी जम्मा गरेका छौँ । यतिले कुनै माल त किन्न के सकिन्थ्यो, तैपनि नौकामा बसेर खान केही फलफूलसम्म किने । बाटामा तिम्रो खाने पिउने बन्दोबस्त हामी नै मिलाइदिनेछौँ ।”
वेनले चाँदी लिएर त्यसलाई धन्यवाद दियो ।
चाडले हतारसाथ जाँदै भन्यो, “छिटो गर, पोका-पुन्तरा ठिकठाक पारिराख । हामीहरू तुरुन्तै हिँडिहाल्ने भएका छौँ।”
बेनले भन्यो, “के छ र, केको पोका-पुन्तरा पार्नुपर्यो ? म तुरुन्तै हाजिर भएँ।”
चाँदीको त्यस टुक्रोलाई हातले तौलँदै त्यसलाई हेरेर ऊ मुसुक्क हाँस्यो । मनमनै छक्क परेर त्यसले विचार गर्यो, “यतिले खोइ के पो पाइएला र ?”
ज्योतिजस्ता लाल धपधप;
उदित भर्खर तरिकाझैँ;
हिउँ परेपछि मात्र हुन्छन्
शिशिरका हुन् पुत्र नै ।
छैन बोक्रो झुरिएको
थोर अमिलो भावकै छन् ।
‘सु’ बिचरोका अलिक कम,
कृषक ‘ली’ का ती असल छन् ।
सुखद् न्यानो फुचाउका
मधुर नामी फलहरूका
पुग्न लागे कक्षमा सम
अब त फल पनि स्वेटाउका ।
फुकिएन र क्वाडटुङमा घाम पनि खुबै लाग्ने र माटो पनि साहै मलिलो भएको हुनाले त्यहाँ स्वेटाउ र फुचाउका विश्वविख्यात टैन्जरिन हुन्छन्। ताइहु फिलका दुइटा टुडटिङ टापुमा पनि त्यत्तिकै घाम लाग्छ र माटो पनि त्यत्तिकै मलिलो छ । त्यसैले त्यहाँ पनि उस्तै रङ र बास्ना हुने टैन्जरित हुन्छन् । पाक्ता पहिले केही अमिलो भावका भए तापनि पछि छिटै ती गुलिया हुन जान्छन् । फुचाउका फलको भन्दा तिनको मोल दश दोब्बर कम हुन्छ । ती टैन्जरिन ‘टुडटिङका लाल दाना’ भनिन्छन् ।
बेनले विचार गर्यो, “एक टेल चाँदीले म सय कैटी यी टैन्जरिन किन्न सकुँला । नाउमा प्यास लाग्दा यिनले आफ्नो मुख पनि रसिलो पार्न सकुँला र साथै आफ्ना साथीहरूलाई बाँडेर तिनका मायाप्रेमप्रति केही कृतज्ञता पनि प्रकट गर्न सकुँला ।”
त्यसले टैन्जरिन किनेर बाँसको बाकसमा राख्न लगायो र आफ्ना भएका केही मालमत्तासाथ त्यसलाई नाउसम्म पुऱ्याइदिन एउटा कुल्लीको बन्दोबस्त गर्यो । त्यसले किनेर ल्याएको चिज देखेर व्यापारीहरू थपडी मारी मारी हाँस्न लागे ।
तिनले ठुलो स्वरले भने, “लौ श्रीमान् बेनको बहुमूल्य माल पनि आइपुग्यो !”
यसरी गिल्ला गरिए तापनि वेन लागेको खेदलाई मनका मनै घुटुक्क निलेर नाउमा उक्ल्यो । त्यसपछि त्यसले कसैका मुखेन्जी टैन्जरिनका कुरै झिकेन । नाउ शीघ्र नै हिँडिहाल्यो र खुला समुद्रमा पुग्यो । गुड्दै आइरहेका चाँदीका मै लहर र तिनले हुत्याएका हिउँजस्ता फिँज, पानीमाथि उत्रिरहेका जस्ता सूर्य र चन्द्रमाका प्रतिबिम्बका अतिरिक्त त्यहाँ देख्नु सुन्नु अरू थोक केही छुँदै थिएन ।
हावामा पाल फिँजाई तिनको नौका कति टाढा पुगिसकेको थियो ? – तिनलाई यकिन हुन सकेन । अन्त्यमा तिनले जमिन देखे । अग्ला अग्ला पर्खाल भएको एउटा ठुलो सहर पनि नावैबाट देखियो। तिनले त्यो कुनै देशको राजधानी नै होला भन्ठाने । आँधी तुफानबाट बचावट हुने एउटा बन्दरगाहमा तिनले नाउ किनारमा लगाउन लगाए। माझीहरूले किल्ला गाडेर त्यसमा डोरी बाँधे । अनि लङ्गर खसालेर पालसाल लपेटीवरी बाँधिदिए। त्यसपछि धेरैजसो माझी र यात्रीहरू किनारमा उत्रे । त्यस देशको नाम किल्ला: रहेछ । तीमध्ये केही त्यहाँ अघि पनि आइसकेका रहेछन् ।
चीनबाट आउने माल यहाँ परलभन्दा तीन दोब्बर मोलमा बिक्तथे, र यहाँबाट चीन जाने मालको पनि त्यत्तिकै मोल पाइन्थ्यो। यसरी एक खेप गर्दा लागत पुँजीको आठ नौ दोब्बर लाभ हुन्थ्यो । यसै कारण व्यापारीहरू ज्यानको समेत आशा मारेर यहाँ आउँदा रहेछन् । वेनका सबै साथीहरूले यहाँ व्यापार गरिसकेका थिए । त्यसैले तिनीहरूलाई यहाँका एजेन्ट, वास र दोभासेहरूको पूरा पूरा पत्ता थियो। तसर्थ, बेनलाई नाउ कुर्न लगाएर तिनीहरू आफ्ना मालमत्ताको विक्रीको बन्दोबस्त मिलाउन सरासर किनारतिर लागे । काम न काज नाउमा त्यसै बसिरहनुपर्दा त्यसलाई झट्ट आफ्ना टैन्जरिनको सम्झना हुन गयो ।
त्यसले विचार गर्यो, “बाकस खोलेरै नहेरेको यतिका दिन भइसक्यो । फल बिग्रन पनि लागिसकेका होलान् । बाधा पार्ने अहिले कोही छैन । एक पटक हेरिहाल्नुपर्यो ।”
त्यसले एक जना माझीलाई त्यो बाकस गोदाम खण्डबाट बोकेर ल्याइदिन अह्रायो । बाकस खोलेर हेर्दा माथि माथिका फल राम्रै देखिए । निश्चय गर्न त्यसले सबै टैन्जरिन झिकेर नाउका छतमा फिँजायो । त्यसका भाग्यले उहीँबाट पल्टा खान थाल्यो ।
नाउका छतभरि टैन्जरिन आगाका पोलाझैँ टल्कन थाले । टाढाबाट हेर्दा ती तारा उदाएका रातका आकाशमा आगाका सहस्रौं फिलिङ्गाझै देखिन्थे । त्यस देशका बासिन्दा तिनलाई देखेर के रहेछ ? – भनी हेर्न वर आउन थाले ।
तिनीहरूले सोधे, “यति राम्रो यो के रहेछ ?”
वेनले केही भनेन । त्यसले एउटा दुइटा टैन्जरिनमा केही सेता दाग परेको देखेर तिनलाई छोडाएर खायो । यसबिच किनारमा अरू मानिस पनि जम्मा भइसकेका थिए ।
तिनीहरूले दङ्ग पर्दै भने, “ओहो, यो त खानेकुरा पो रहेछ, होइन ?”
तीमध्ये एउटा अलि आँटिलो थियो । त्यसले अघि सरेर सोध्यो, “एउटाको कति मोल पर्छ ?”
वेन तिनको भाषा बुझ्दैनथ्यो । तर एउटा माझीले हाँसो गर्नेलाई एउटा औँलो देखाएर भन्यो, “एउटाको एक सिक्का ।”
मोल सोध्ने मानिसले लबेदाको तुना फुकालेर भित्रपट्टि लाएको रातो सुती कम्मर पेटीबाट चाँदीको एउटा सिक्का झिक्यो ।
त्यसले भन्यो, “एउटा चाख्न देऊ त ।”
वेनले सिक्का हातमा लिएर तौली हेर्यो, र एक टेल जतिको होला भन्ने अङ्कल गर्यो ।
त्यसले विचार गर्यो, “यसले यो सिक्का दिएर कति वटा लिन खोजेको होला ? यहाँ जोख्ने काँटा छैन । विचार गर्नेका लागि पनि यसलाई अहिले एउटा मात्र दिई हेर्नुपर्यो ।”
त्यसले एउटा खुब रातो ठुलो चाहिँ टैन्जरिन टिपेर त्यसका हातमा राखिदियो । त्यस मानिसले लिएर त्यसलाई खुबै कौतूहलका साथ औँलाले छाम्यो ।
त्यसले भन्यो, “कस्तो राम्रो रहेछ !”
फललाई चिर्नासाथ त्यसका बास्नाले त्यो साहै खुसी भयो । नजिकै उभिएका अरूहरू पनि त्यसको मिठो बास्नाको प्रशंसा गर्न लागे । त्यस विदेशीले टैन्जरिन खाने काइदा के जान्ने ? तर, वेनले बोक्रा छोडाएको त्यसले पनि देखेकै थियो । तसर्थ, त्यसले पनि त्यसै गरी छोडायो । हुन त फलका केसा छुट्टाउनुपर्ने थियो, तर त्यसले सिङ्गै फल मुखभित्र राखेर त्यसको गुलियो रस घोक्रोभित्र हुल्यो । अनि विर्येसुद्धा जम्मै फल कुप्लुक्कै निल्यो ।
खुसीले चिच्याउँदै त्यसले भन्यो, “वाह !”
त्यो मन फुकाएर हाँस्यो, अनि कम्मर पेटीबाट चाँदीका दश वटा सिक्का झिकेर त्यसले भन्यो, “हाकिम साहेबलाई चढाउन म दश वटा किन्दछु ।”
यसरी एक्कासि आइपरेका भाग्यमा दङ्ग पर्दै वेनले त्यसलाई दिन दश वटा टैन्जरिन टिप्यो । तमासा हेरिरहेका मानिस पनि किन्न अघि सरे । कसैले एउटा र कसैले दुईतीन वटा टैन्जरिन किने । तर, मोल चाहिँ सबैले चाँदीका उस्तै सिक्कामा दिए । ती सबै खुसी हुँदै फर्केर गए ।
त्यस देशका मानिस भिन्न भिन्न किसिमका टक मारिएका चाँदीका सिक्का व्यवहार गर्दा रहेछन् । तीमध्ये बिजुली नाग र फोएनिक्स’ छाप भएका चाहिँ सबैभन्दा बढी मोलका रहेछन् । मान्छे भएको चाहिँ त्यसपछिको रहेछ, अनि जन्तु भएका, रुख भएका र अन्त्यमा पानीमा उम्रन स्याउलाका छाप भएका चाहिँ रहेछन् । तर, सबै सिक्का शुद्ध चाँदीका र उत्ति उत्ति नै वजनका हुँदा रहेछन् । यस देशका मानिस पनि चिनियाँहरूजस्तै साह्रै मोलतोल गर्ने खालका भएका हुनाले टैन्जरिन किन्ने पहिलो मानिसले चुप लागेर स्याउला छाप सिक्का दिएको थियो । यस्तो असल चिज यति सस्तो मोलमा फुत्काएँ भनी ऊ दङ्ग पर्दै गएको थियो ।
तीन खण्डमा दुई खण्ड टैन्जरिन तुरुन्ता तुरुन्तै बिकिहाले । भिडमा जम्मा भएकाहरू पैसा लिई आउने विचार पुग्न नसकेकोमा साह्रै अफसोस मानी पैसा लिएर आउन हस्याङफस्याङ गर्दै घरतिर दौडे । फल अब थोरै मात्र बाँकी रहेको देखेर वेनले त्यसको मोल बढायो ।
त्यसले सुनायो, “बाँकी रहेका यति त म अब आफैलाई खान राख्तछु, अब यी विक्रीका लागि होइनन् ।”
त्यसका कुरा सुनेर केही मानिस दोब्बर मोल तिर्न पनि तयार भए । दुइटा टैन्जरिनका लागि चारवटा सिक्का तिर्दै एउटाले गुनासो गयो, “कर्मले कस्तो ठगिएछु, यति ढिलो आइपुगेँ ।”
त्यसले किनेको देखेर अरूहरू कचकच गर्न लागे, “हामी अरू किन्न खोज्दै थियौँ । तिमीले यसलाई मोल बढाउन किन दियौ ?”
सबभन्दा पछिबाट किन्ने गाहकीले भन्यो, “त्यसले भन्या सुनेनौ, अव बेच्तिन भन्न लागिसक्यो ।”
तिनीहरू परस्परमा यस्तै कचकच गर्दै थिए, त्यत्तिकैमा दश वटा टैन्जरिन किनेर लैजाने अघिको गाहकी फेरि आइपुग्यो । त्यो खैरो रडको घोडा कुदाउँदै आइपुगेको थियो । घोडाबाट ओर्लेर भिड छिचोल्दै त्यो बेनका अगाडि उपस्थित भयो ।
त्यसले चिच्याउँदै भन्यो, “एउटा एउटा गरी नवेच। म जम्मै किन्छु । हाकिम साहेबले खान साहेबलाई कोसेली पठाउने रे ।”
त्यसका कुरा सुनेर अरूहरू पछि सरेर टाढैबाट हेर्न लागे । वेनले पनि होस सम्हाल्यो । त्यसले बेस गाहकी फेला पर्यो भन्ठान्यो । बाकसबाट सबै टैन्जरिन झिकेर गन्दा अब पचासभन्दा थोरैमाथि बढी रहेछन् ।
त्यसले सबैलाई सुनाएर भन्यो, अहिले भर्खरै मैले – अब यति त म आफ्नै लागि राख्तछु, वेच्तिन – भनिसकेकै छु । तर, मोल कोही थपिदिनुहुन्छ भने लौ हुन्छ, दशआठ बटा अझै बेचुला । अब एउटाको दुई सिक्काका दरले लिएको थाहा पाइसक्नुभएकै छ क्यारे ।”
त्यस मानिसले घोडाका पिठ्यूँबाट काठीमा हालेर हिँड्ने एउटा ठुलो थैलो झिकेर ल्यायो । त्यसबाट केही रुख छाप सिक्का झिकेर त्यसले भन्यो, “यसले किन्दा एउटाको एक सिक्का लिन मान्दछौ ?”
बेनले भन्यो, “हुन्न, म त अधिकै सिक्का लिने हो ।”
त्यस मानिसले मुसुक्क हाँस्तै बिजुली नाग र फोएनिक्स भएको अर्को चाहिँ सिक्का झिकेर देखायो ।
“यस्तो नि ?”
तर, बेनले फेरि भन्यो, ‘भनिहालेँ, अधिकै जस्तो चाहिन्छ ।”
त्यो मानिस बेसरी हाँस्यो ।
त्यसले भन्यो, “लाटा, यसको त अघिका जस्ता सय वटा आउँछन् । यस्ता सिक्का किमार्थ दिने थिइन। म त खालि जिस्क्याइ पो रहेको थिएँ । यो पाउँदापाउँदै पानी-स्याउला-छाप सिक्का रोज्ने तिमी पक्कै मूर्ख हौ। तर, जम्मै फल मैलाई बेच्तछौ भने मोलमा केही थपिदिन म खुसीसाथ राजी छु।”
वेनले गनेर हेर्दा जम्मा बाउन्न वटा टैन्जरिन बाँकी रहेछन् । त्यसको मोल त्यसले पानी-स्याउला-छाप एक सय पचास साठी सिक्का पायो। गाहकीले बाँसको बाकस पनि मागेर त्यसका निमित्त एउटा सिक्का अझै फालिदियो । त्यसपछि बाकस घोडाका पिठ्यूँमा बाँधेर चाबुक पड्काउँदै त्यो साहै खुसी मनले घोडामा बसी फर्क्यो। विक्रीका लागि अब एउटा पनि टैन्जरिन बाँकी नभएको देख्ता जम्मा भएका अरू मानिस छरिएर आफ्ना आफ्ना बाटा लागे ।
सबै जना गइसकेपछि वेनले नाउका कोठाभित्र पसेर एउटा सिक्का जोखेर हेर्यो । त्यो टेलका दश भागको नौ भागको वजनको रहेछ । अरू पनि त्यत्तिकै वजनका रहेछन् । त्यससित एक हजार सिक्का भइसकेका रहेछन् । माझीलाई दुइटा सिक्का बकस दिएर त्यसले अरू चाहिँ पोको पायो ।
त्यसले खुसी हुँदै विचार गयो, “दृष्टिविहीन ज्योतिषीले ठिकै भनेको रहेछ ।”
यो रमाइलो कुरा सुनाउन ऊ अव व्यापारीहरू फर्केर आउने बाटो पर्खेर बस्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।