परिवारमा धेरै गनगन भै रहेको थियो । उनलाई परिवारबाट बहिस्कार गर्ने कुरो त थिएन किनभने उनीहरू यस अघि नै फ्लोरेन्सको सफलताबाट लज्जित भइसकेका थिए । सारा बेलायती जनताले उनको प्रशंसा गरिरहेका थिए। र उनको आमा र दिदीले पनि उनको प्रसिद्धिको प्रशंसा गरिरहेका थिए । उनी छिट्टै सार्वजनिक हुने छिन् र अन्तरवार्ताहरू दिने छिन् भन्ने कुरा सोचेर उनीहरूले फ्लोरेन्सलाई आराम गरेर स्वास्थ्यको सुधार गर्ने र उत्सवको लागि राम्री बन्ने सल्लाह दिए ।

र पक्कै पनि उनीहरू आफैले पनि सबै सार्वजनिक समारोहहरूमा भाग लिनेछन् । यी योजनाको लागि विशेष खालको लुगाको बारेमा के छ त ? फ्यानी र पार्थेनोपले सोच्दै थिए। उनीहरूले यो कल्पना गरे कि पानम्युरका परिवारहरू ती लालटिन बालेर सेवा गर्ने महिलासित प्ल्याटफर्ममा हुने छन् जहाँ उनीहरूको पनि मानिसहरूद्वारा प्रशंसा भइरहेको हुनेछ । प्रत्येक दिन ड्युकहरु, अर्लहरु र व्यारोनहरु (ब्रिटिस उच्च पदका नामहरू) बाट फ्लोरेन्सको स्वास्थ्य ठिक नहुँदासम्म उनीहरूको घरमा बस्ने निम्तो आइरहेको थियो ।

चित्रकारहरूले उनको एउटा ठुलो आकृतिको चित्र बनाउन चाहन्थे । गरगहनाहरूको उपहारहरू आइपुग्यो । धेरै धेरै चिठ्ठीहरुः प्रशंसाका चिठ्ठीहरू, धन्यवादका चिठ्ठीहरू, माग्ने चिठ्ठीहरू र विवाह प्रस्तावका चिठ्ठीहरू आइरहेका थिए ।

फ्लोरेन्सको तर्फबाट यी सबै चिठ्ठीहरूको उत्तर दिन पार्थेनोप सहयोग सिद्ध भएकी थिइन्, तर उनी आफै के गर्ने के नगर्ने भन्ने कुराको सामना गरिरहेकी थिइन् । उनको हृदयमा उनले यो चाहन्थिन् कि फ्लोरेन्स नर्स भएर परिवारलाई लाजमा पर्न नपरोस् । अर्कोतिर उनले आफ्नो बैनीले यस्तो ख्याति प्राप्त गरेकोमा भित्रभित्रै डाह गरिरहेकी थिइन् । उनले यो पनि सोची रहेकी थिइन्, कि उनले सबै समय फ्लोरेन्सको लागि खर्च गर्ने छिन् ।

फ्लोरेन्सले यति धेरै कामहरू गर्नु पर्ने थियो कि उनको दिमागमा मौरी भुनभुनाए जस्तो आवाज आउन थाल्यो । रातैपिच्छे उनले आफ्नो योजनाहरू मिलाउने कोसिस गर्थिन् । अरू कुरा भन्दा बढी उनी नर्सिङलाई नै अगाडि बढाउन चाहन्थिन् । गत तीन वर्ष भित्रमा हाली गल्ली र स्फुटारीमा के भयो त? त्यहाँ उनी नर्सिङ भन्दा पनि बढी प्रशासनिक काममा लागिन् । र अब उनी नर्सिङमा फर्किनु पर्छ भन्ने उनलाई लागि रहेको थियो । उनले देखेका सबै दुःख कष्टहरू उनको दिमागमा आइरहेका थिए ।

उनले फौजलाई लेखिन्, “तिमीहरूलाई त्रिमियाको चिहानहरूमा छाडेर हिँड्ने म एउटी खराब आमा हुँ।”

“म कहिल्यै बिर्सन सक्तिन” भन्ने वाक्य उनको दिमागमा आइ रहन्थ्यो । यो वाक्य उनको डायरीमा जहिले पनि देखिन्थ्यो ।

मरेका सिपाहीहरूको नाममा उनी सुधारको निम्ति लड्नु पर्छ भन्ने सोचिन् । यदि सबै कुरा व्यवस्थित भई दिएको भए हजारौँको ज्यान बच्ने थियो। लडाईको बेला नराम्ररी घाइते हुनु, घाउचोट लाग्नु, मृत्यु हुनु स्वभावीकै हो । तर जतिजना रोग बिमारबाट मरे त्यो त रोक्न सकिन्थ्यो नि ।

उनी दृढ भइन् कि सिपाहीहरूको जीवन हर प्रकारबाट सुधारिनु पर्छ । विशेष गरी ब्यारेकहरूमा र औषधी उपचारमा । अब समय खेर फाल्ने बेला छैन। लडाई सकिए पछि मानिसहरू बिर्सिँदै जान्छन् । जुन कुरो गर्नुछ त्यो गरिहाल्नु पर्छ। तर अब यो ब्रिटिस आर्मीको ठुलो मसिन एउटी महिलाले मात्र चलाउन सक्छिन् त ?

तब सेप्टेम्बरमा जब सबै कुरा लथालिङ्ग भइरहेको थियो, सर जेम्स क्लार्क एकजना पारिवारिक डाक्टरले निमन्त्रणा गरे। उनले स्कटल्यान्डमा उनको छुट्टी बिताउने घरमा आएर स्वास्थ्य लाभ नहुँदासम्म एकजना सहयोगीसित उनी त्यहाँ बस्न सक्ने निम्तो दिए।

रानी त्यतिवेला स्कटल्यान्डमै हुनुहुन्थ्यो । त्यहाँ उहाँले फ्लोरेन्सलाई भेट्न चाहनु हुन्थ्यो । स्वास्थ्यको हिसाबले फ्लोरेन्स त्यो ६०० माइल लामो रेल यात्रा गर्न तयार थिइनन् । तर जे भएता पनि यो उनले स्विकारिन् । उनीसित बेन गए र उनीहरू एडिन्बरामा रोकिए। त्यहाँ हुँदा फ्लोरेन्सले अस्पतालहरू र अनाथालयहरूको भ्रमण गरिन् ।

रानीसितको उनको पहिलो भेट धेरै औपचारिक रूपमा भएको थियो । राजकुमार अल्बर्टको पनि त्यहाँ उपस्थिति थियो । त्यस्तै युद्धको लागि राज्य सचिव पान्म्पुर जो नयाँ थिए, उनको पनि उपस्थिति थियो। उनले फ्लोरेन्सलाई धन्यवाद दिँदै एउटा चिठ्ठी पढेर सुनाए । यो चिठ्ठी उनको र उनका सहकर्मीहरूको तर्फबाट थियो ।

पछि रानीबाट एक्लै दर्शन भेट बक्सियो । किनभने उहाँले स्कूटारिको पूरा कथा सुन्न चाहनु हुन्थ्यो। फ्लोरेन्सलाई थाहा थियो कि ब्यारेक अस्पतालहरूको अवस्थाको बारेमा उनलाई लागेको झुटो आरोपको करा निकालेर यो मौकाको फाइदा लिनु पर्छ भन्ने । उनले त्यो इन्क्वाएरी रिपोर्ट रानीलाई देखाइन् र आर्मीको अवस्थामा सुधार ल्याउनु पर्छ भन्ने उनको आफ्नै योजनाको बारेमा पनि बताइन् ।

यो मिटिङ दुई घण्टासम्म रह्यो । रानी भिक्टोरिया र राजकुमार अल्बर्ट दुबैजना फ्लोरेन्सबाट अति प्रभावित भए । पछि साँझ रानीले आफ्नो कमान्डर-इन-चिफ क्याम्ब्रिजका ड्युक जसले नाइटिङ्गेल फन्ड स्थापना गर्न सहयोग गरेका थिए, उनलाई एउटा चिठ्ठी लेख्नु भयो । चिठ्ठीमा उहाँले फ्लोरेन्सलाई युद्ध कार्यालयमा राख्ने इच्छा व्यक्त गर्नु भएको थियो । अर्को हप्तादेखि रानीले फ्लोरेन्सलाई दरबारमा दिन दिनै बोलाउन थाल्नु भयो । रानी आफै अचानक बिर्क हल जहाँ फ्लोरेन्स बस्थिन् त्यहाँ पुग्नु हुन्थ्यो र चिया पिउनु हुन्थ्यो । उहाँहरू बनको बाटो हुँदै सँगै हिँडडुल गर्नु हुन्थ्यो । त्यतिबेला फ्लोरेन्सको योजनाको बारेमा कुरा हुन्थ्यो ।

रानी आफैसित कुनै पनि निर्णय गर्ने अधिकार थिएन । तर उहाँको प्रभाव भने धेरै थियो । फ्लोरेन्सको स्कटल्यान्ड बसाइँको अन्तमा रानीले रोयल कमिसन बनाएर स्कुटारीको दयनीय अवस्थाको इन्क्वाएरी गर्ने र त्यसमा फ्लोरेन्सको सिफारिस पठाउने आस्वासन् दिनु भयो । यसमा यी कुराहरू पर्थे: आर्मीको सरसफाइमा सुधार ल्याउने, आर्मी नर्सहरूलाई तालिम दिने, खानेकुरा र औषधी पानीको वितरणमा सुधार र विशेष गरी बिरामी र घाइते सिपाहीहरूको लागि यातायात । सबभन्दा महत्त्वाकाङ्क्षी प्रस्ताव थियो इंग्ल्याण्ड मै मिलिटरी अस्पताल बनाउने ।

शाही आयोग सिड्नी हरबर्टको नेतृत्वमा अर्को वर्ष सन् १८५७ मा गठन हुनेवाला थियो । सिड्नी हरबर्टले पाम्युरलाई सुझाव दिए कि मिलिटरी अस्पताल बनाउन सुरु गर्नुपर्छ । यसबाट समुदायलाई सरकार सुधारको पक्षमा रहेछ भन्ने थाहा हुनेछ ।

पान्म्युरले यो कुरामा मन्जुरी गरे । एउटा सुहाउँदो ठाउँ भेटियो र नेट्ली आर्मी अस्पताल भनेर खोल्ने भन्ने मस्यौदा गरियो । त्यसपछि स्वीकृतिको लागि फ्लोरेन्स कहाँ पठाइयो । तर फ्लोरेन्सले त्यसको स्वीकृति दिइनन् । ।

त्यो मस्यौदामा भएका सबै कुरा पुराना थिए । उनले त्यसलाई केरथप गरिन् र पानम्युर कहाँ पठाइन् । पान्म्युरले त्यसलाई फेरबदल गर्ने बचन दिए । तर धेरै ढिलो भै सकेको थियो । भवन बनाउने काम सुरु भै सकेको थियो । र अब त्यसलाई परिवर्तन गर्न सक्ने कुनै उपाय थिएन ।

फ्लोरेन्सले यस्तो सोचिन् “बेकारमा मलाइ ठुली बनाउन र जान्ने छे भन्ने पार्न (Partronize) मेरो बिचार खोजेका यिनीहरूले” भनेर प्रधानमन्त्री पामलाई भनिन् । त्यसपछि प्रधानमन्त्रीले काम रोक्न भने । उनले भने यो अस्पताल त आर्मीहरूको कल्याणको लागि हो। ठुलो भव्य भवन ठडाएर कसैलाई देखाउनलाई हैन। लर्ड पाम्युर र प्रधानमन्त्री बिच बाध विवाद चल्यो । तर प्रधानमन्त्रीले हारे। थोरै मात्र थपघट गरेर नेट्ली अस्पताल खडा भयो । यो थपघट अगाडि भै सकेको कामलाई असर नहुने गरी भएको थियो ।

जब रोयल कमिसन गठन गर्ने काम नजिकिँदै थियो फ्लोरेन्सलाई यस्तो लाग्न थाल्यो कि यो काम कहिल्यै पूरा हुने छैन। उनले चिनेका पार्लियामेन्टका सदस्यहरूले स-साना नचाहिँदो कुरामा वादविवाद गरेर समय खेर फाली रहेका थिए। उनीहरूले अनेक बहाना बनाई रहेका थिए। र त्यसलाई क्यान्सिल गर्न चाहन्थे ।

आफूले पाएको केही शक्तिको कसरत गर्न फ्लोरेन्सले सरकार र युद्ध कार्यालयलाई एउटा धम्की दिइन् । उनले यस्तो लेखिन्, “यदि तीन मैना भित्रमा इन्क्वाएरी सुरु गरिएन भने म ब्रिटिस जनताको माझमा जाने छु र स्कुटारीमा भएका सबै ब्युरोक्रेसी र असक्षमता लगायतका गल्ती कुराहरूको भण्डाफोर गर्नेछु ।”

उनको यो चेतावनीले काम गयो र सन् १८५७ को मे मैनामा रोयल कमिसन् पहिलो चोटि बन्यो ।

फ्लोरेन्स लन्डन सरिन् । बर्लिङटन होटेलमा केही कोठाहरू भाडामा लिइन् । त्यो ठाउँ धेरै राजनीतिक गतिविधि हुने ठाउँ थियो । लामो गर्मी मैनाहरू भरि उनी त्यही बसिन् । विशेषज्ञहरूको ग्रुप, व्यवस्थाबाट पीडितहरू, युद्ध पीडितहरू र जो कोही जसले धेरै महत्त्वपूर्ण सूचना दिन सक्थे उनीहरू फ्लोरेन्सको सिटिङ रुमको बाटो भएर जान्थे । प्रत्येकले बहुमूल्य सुझाव दिन्थे, फ्लोरेन्सलाई । फ्लोरेन्स आफै त्यो आयोगमा गएर प्रमाण दिन्थिन् ।

बिहानैदेखि लिएर अर्को दिनको बिहानीपखसम्म अरू थप सूचनाको लागि काम गर्थिन् र ती सूचनाहरूलाई एक ठाउँमा जम्मा गरेर एउटा किताब जस्तो बनाएर पठाउँथिन् ।

तर उनी कहिल्यै पनि पूर्णरुपमा स्वस्थ देखिएकी थिइनन् । टर्कीमा हुने बेलामा उनको स्वास्थ्य नराम्ररी बिग्रेको थियो । उनको स्वास्थ्य दिनमा धेरै घण्टा काम गरेको र काम पनि त्यस्तै खालको भएको हुँदा बिग्रेको थियो । मौसमले पनि साथ दिएको थिएन । समयमा खाने पिउने तौर तरिका पनि मिलेको थिएन । धनी परिवारको काखमा हुर्केकी र सुखी जीवन बिताएकी हुँदा कसैले पनि उनलाई यस्तो कठिनाइ भोग्नु पर्ला भन्ने सोचेका थिएनन् । उनको कामको थकान र उनको अस्वस्थ स्वास्थ्यमा बोझ भएर थपिनको लागि फ्लोरेन्सकी आमा र दिदी पार्थेनोप पनि त्यही होटेलमा आए । यो भर्खर गर्मी मौसम सुरु हुन लागेको समय थियो । तर तिनीहरू यो खुसीको मूल्य चुकाएर फ्लोरेन्सको “हेर विचारको लागि तयार छौ” भन्थे । उनीहरू दिनभरि आरामदायी कुर्सिमा बस्थे ।

उता फ्लोरेन्सले अर्को कोठामा आफ्नो त्यो कमजोर शरीरलाई धकेली धकेली काम गरिरहेकी हुन्थिन् । उनले तिनीहरूको उपस्थितिलाई एकदम असजिलो मानी रहेकी थिइन् । उनीहरूले फ्लोरेन्सले काम गरिरहेको बेला बाधा पुऱ्याइ रहेका हुन्थे । उनको आमा र दिदी त्यहाँ किन आएका छन्, उनलाई थाहा थियो र उनीहरू फ्लोरेन्सको हेरविचार गर्न आएका थिएनन् । फ्लोरेन्सले उनीहरूको त्यस्ता नचाहिने गफहरूमा पीठ फर्काउँथिन् । उनीहरूले फ्लोरेन्सको समय बर्बाद गरिरहेका थिए ।

उनीहरू लन्डन आउँदा आफ्नै घोडे बग्गी । अहिले प्राइभेट कार जस्तै) बाट आएका थिए, जब कि फ्लोरेन्स सार्वजनिक यातायातबाट र रेलबाट आएकी थिइन् ।

अरू मान्छेहरू सूचना बटुल्नको लागि घुम्थे भने फ्लोरेन्स आर्मीको ब्यारेकहरू र अस्पतालहरूमा जान्थिन् । एकदिन दिनभरि काम गरेर थाकेर राती होटेलमा फर्केको बेला फ्लोरेन्सकी आमाले यसो भनेकी थिइन्, “तिम्रो जिन्दगी त कस्तो मज्जाको छ है।”

फ्लोरेन्स जतिखेर पनि तथ्याङ्क जम्मा गर्ने काम गरिरहेकी देखिन्थिन । यसमा सरसफाईको स्तर, सन्तुलित भोजन, रोग बिमारका प्रकारहरू, पृष्ठभूमि, वातावरण, मान्छेको उमेर, मृत्यु हुने र सन्चो हुनेहरूको सङ्ख्या, उपचार आदि हुन्थे । उनको लक्ष्य रोग लागे पछि त्यसलाई निको पार्ने भन्ने त्यति धेरै थिएन । उनको मुख्य लक्ष्य भनेको रोग नै लाग्न नदिने भन्ने थियो । उनलाई मन पर्ने एउटा भनाई यस्तो थियो । “परमेश्वरको बिचार बुझ्नको लागि हामीले तथ्याङ्कहरूको अध्ययन गर्नुपर्छ । किनभने यो उहाँको उद्देश्य नाप्ने एउटा साधन हो ।”

सिपाहीहरू लडाईमा भन्दा सरसफाईको कमी र रोगहरूबाट धेरै मरेका छन् भन्ने कुरा पाएकी थिइन् । उनले पाइचार्टको आविष्कार गरिन् । यो चार्टले हैजा, टाइफस वा ग्यांग्रिनबाट मर्नेहरूको प्रतिशत, घाउचोटबाट मर्नेहरूको प्रतिशत, अप्रेसन (Surgery) गर्दा मर्नेहरूको प्रतिशत देखाउँथ्यो र जहिले पनि सबभन्दा ठुलो भाग चाहिँ रोगबाट मर्नेहरूको हुन्थ्यो ।

फ्लोरेन्सले यो प्रण गरिन् कि कुनै पनि हालतमा ब्रिटिस फौजको स्थितिमा सुधार ल्याएरै छोड्छु । यो सुधार युद्धको बेलाको लागि मात्र नभएर शान्तिको बेलाको लागि पनि ल्याएरै छोड्छु भन्ने प्रण उनले गरिन् । बेलायतमा यताउता घुम्दा उनले ब्यारेकहरू न्यूनतम आवश्यकताहरू भन्दा पनि धेरै तल झरेको कुरा पत्ता लगाएकी थिइन्। यिनीहरू अँध्यारो, हावा नछिर्ने, दुःखदायी र फोहोर थिए ।

उनले १,००० पेज लामो एउटा लेख (डकुमेन्ट) लेखिन् । जसमा उनले ब्यारेकहरूमा सम्पूर्ण कुराहरू अत्यन्त सफा हुनुपर्ने, खानेकुरा पोषणयुक्त हुनुपर्ने आदि कुरा समावेश गरेकी थिइन् ।

केही राजनीतिज्ञहरू समेतले एउटी महिलाले यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भनेर सिकाउने भन्दै उनको आलोचना गर्न थाले । तर उनको स्वर मधुर, व्यवहार नम्र भएता पनि फ्लोरेन्स धेरै शक्तिशाली र सबैले मान्नु पर्ने व्यक्ति भई सकेकी थिइन् र रानी आफैले यसमा चासो देखाएको हुँदा उनीहरू फ्लोरेन्सले गरेका सबै सिफारिसहरूलाई हेर्न बाध्य थिए ।

जब अगस्टमा आयोगको रिपोर्ट आयो, पत्ता लागेको कुराहरूले फ्लेरेन्सले दाबी गरेका कुराहरूको पुष्टि गयो । त्यहाँ कुनै आर्थिक समस्या थिएन । मेडिकल लगायत अरू आपूर्तिहरूको अभाव पनि थिएन । त्रिमियाको युद्धमा सिपाहीहरूले खप्नु परेको समस्या चाहिँ सबैले देख्दादेख्दै र जान्दाजान्दै भएको ब्यूरोक्रेसि नै थियो। तर ती पत्ता लागेका कुराहरूलाई स्विकार्नुको सट्टा पाल्मर्सटनको नेतृत्वमा भएको सरकारले सबै खालको बहाना बनाएर आर्मी अफिसरहरू र अरू सरकारी अधिकारीहरूलाई निर्दोष साबित गर्न खोज्यो ।

फ्लोरेन्सको लागि यो कुरा विश्वासै गर्न नसकिने खालको भयो । “के तिनीहरूले केही पनि सिकेनन् ?” उनले सिड्नी हरबर्टलाई सोधिन् ।

रिपोर्ट पर्खी रहेको बेला उनको आत्मबल गिरे जस्तो भएको थियो । अहिले आएको परिणामले ल्याएको निराशाले उनलाई धेरै पीडा भयो । उनले गरेको सबै खोज, अनुसन्धान, रिपोर्टको के काम यदि त्यसलाई लागू गरिँदैन भने र बेवास्ता गरिन्छ भने ।

केही पनि परिवर्तन भएको थिएन । नेट्ली मिलिटरी अस्पताल जुन ठुलो असफलतामा परिणत भएको थियो, त्यस बाहेक उनले गरेका सुझावहरू सब बेकार भएका थिए । र यदि फेरि युद्ध भइहाल्यो भने उनले स्फुटारीमा जे देखेकी-भोगेकी थिइन् त्यही स्थिति हुनेछ ।

ठुलो उदासीनताले गर्दा उनी दिनभरि सुत्न थालिन् । एक त उनी यसै पनि बिरामी थिइन् । तर मुख्य गरी फ्यानी र पार्थेनोपलाई त्यहाँबाट जाने गराउन बिरामी भए जस्तो गरिन्। किनभने उनीहरूलाई बिरामी मान्छे, मन पर्दैनथ्यो ।

उनीहरूले फ्लोरेन्सको रेखदेख गर्ने” भने पनि उनीहरूलाई बिरामी मान्छे भएको कोठामा जाने कुनै इच्छा नै थिएन र फ्लोरेन्सको दिमागमा यति धेरै कुरा खेलिरहेको बेला उनीहरूसित मिल्न पनि सक्तैन थिन् ।

फ्लोरेन्ससित खाना खाने, आराम गर्ने कुनै समय थिएन । उनी यति कमजोर हुँदै गइन् कि अगस्टमा उनी ढलिन् । उनी आफै लगायत सबैले उनी अब बाच्दिनन् भन्ने सोच्न थाले ।

एकदुई दिन पछि उनले अलिकति आराम गरिन् । तर उनले गर्न सक्ने भन्दा बढी काम गरेको भन्ने कुरा स्वीकार गरिनन् । उनलाई एक्लै हुने केही समय चाहिएको थियो । यसैले उनी मालवर्न स्पा (Spa) मा गइन् । जुन बर्सेस्टरशायरमा पर्छ । त्यहाँ उनी मिनेरल पानीको लागि गएकी थिइन् । उनकी आमा र दिदी लन्डन छोडेर डर्बिशायरतिर लागे । वेन लियाहर्सटबाट फ्लोरेन्सलाई भेट्न यात्रा गरे । घरमा फ्लोरेन्सको मृत्यु हुँदैछ भनेर चिठ्ठी लेखे । तर फ्यानी र पार्थेनोपले भने कि उनीहरू फर्केर फ्लोरेन्सलाई भेट्न जान सक्तैनन् ।

फ्लोरेन्सले थोरै मात्र सास फेरि रहेकी थिइन् र बल गरेर बोल्थिन् । रातले उनलाई जागा देख्थ्यो । घण्टै पिच्छे सोचिरहने र योजनाहरू बनाई रहने । उनलाई कलम समात्न पनि मुस्किल हुन थाल्यो। तर रात सकिएर दिन आउँदा उनी लेखिरहेकी हुन्थिन् र उनले आफ्ना “सहयोगीहरू” लाई परामर्सको लागि लन्डनबाट मालवर्न आउन भनी रहेकी हुन्थिन् ।

एक प्रकारले उनी परिवारको पिरलो भएता पनि फेरि एकचोटी माइजू माई फ्लोरेन्सलाई भेट्न मालबर्न गइन् र फ्लोरेन्स सन्चो भएर लन्डन फर्किन सक्षम नहुँदासम्म उनी त्यही बसिन् । फ्यानी र पार्थेनोप फर्केपछि फ्लोरेन्सले एउटा ठुलो स्वतन्त्रताको अनुभव गरिन् र यो दाबी गरिन् कि अब उनी आफ्नो काम फेरि सुरु गर्न सक्षम भै सकेकी छिन् ।

उनी धेरै घरपालुवा जनावरहरूले घेरिएकी हुन्थिन् । त्यसमा विशेष गरी सेतो रङका पर्सिएन बिरालाहरू हुन्थे । उनले स्थायी रूप मै ती बिरालाहरूलाई आफ्नो बेडमा लग्थिन् । पहिले नै समय नमागेकाहरू कसैलाई पनि भेट्दैन थिन् । उनका पाँचजना तलबमा बसेका सहयोगीहरूलाई कडा निर्देशन दिएकी थिइन् कि समय नमागेका मान्छेहरूलाई बाहिरैबाट फर्काइ दिनु ।

भेट्न आउनेहरू पहिले नै समय मागेर मात्र भेट्न पाउँथे र ३० मिनेट भन्दा बढी समय लिन पाउँदैनथे ।

पत्रकारहरूलाई अन्तरवार्ता दिन अस्वीकार गरिएको थियो र उनी सार्वजनिक रूपमा देखा पर्न पुरै इन्कार गरेकी थिइन् । फेरि उनले लेख्न, लेख्न, लेख्न थालिन् । दिनभरि र राती अबेरसम्म लेखि रहन्थिन् ।

उनले आफ्ना नजिकका साथीहरू र केही नातेदारहरूलाई चिठ्ठी लेख्न भने छाडेकी थिइनन् । यसमा उनको बाबा पनि पर्थे र उनले प्रायः आफ्नो बाबालाई चिठ्ठी लेख्थिन् । आमा र दिदीलाई भने केही मतलब राख्दैन थिन् ।

उनीहरूको चिठ्ठी पाउँदा फ्लोरेन्स अति पीडित हुन्थिन् । उनको मुटु नै हल्लन्थ्यो । कहिलेकाहीँ त उनी बेहोस हुन्थिन् । विशेष गरी उनीहरूलाई लेख्थिन्, जसले उनको यो सङ्घर्षमा साथ दिन सक्छ ।

फ्लोरेन्सलाई अहिले थाहा भयो कि सिपाहीहरूको कल्याण हुने कुरो सांसदबाट मात्र सुधार गर्न सकिन्छ । उनले पहिलेदेखि नै सांसदका रिपोर्टहरू पढ्थिन् र उनलाई कुन अफिसमा गएर कोसित कुरा गर्नुपर्छ भन्ने राम्रो थाहा थियो । यसैले उनी दुवै हाउस अफ कमन र हाउस अफ लर्डस् (नेपालमा माथिल्लो र तल्लो सदन भने जस्तै) मा गएर कसैले उनको बिचारप्रति सहानुभूति राख्छन् कि भनेर कुरा गर्थिन् । उनीहरूसित शक्ति थियो र उनले त्यो शक्तिलाई प्रयोग गरेर कानुन बनाउन चाहन्थिन् । आर्मीकै कल्याणको लागि ।

सिड्नी हरबर्ट नै स्पष्ट रूपमा उनको पहिलो छनोटमा थिए । अरूहरूलाई उनले बहादुरीसाथ भनी रहिन् कि उनीहरू यसको लागि उनको पक्षमा लड्नु पर्छ । अर्थात् कानुन बनाउनु पर्छ । यो समूहलाई पछि गएर फ्लोरेन्सको क्याबिनेट भन्न थालियो । रानीको राजगद्दी वरिपरि राजनीतिज्ञहरू ‘भए जस्तै उनको बेडको वरिपरि मान्छेहरू हुन्थे ।

त्यहाँ पत्रकारहरूको उपस्थिति नभएता पनि उनी पत्रकारहरूलाई आफ्ना विचारहरू लेखेर पठाई रहिन् । केही दिन मै उनका ती बिचारहरू पत्रिकाहरूमा छापिन थाले। पत्रकारहरूलाई यो पनि थाहा थिएन कि यी लेखहरू छापे पछि फ्लोरेन्सको यो अभियानलाई सहयोग पुग्छ भन्ने कुरा । प्रभावशाली व्यक्ति जो कोहीलाई पनि उनले पम्प्लेटहरु र मस्यौदाका कागजपत्रहरू पठाउँथिन् । त्यसमा उनले “गोप्य” भनेर लेख्थिन् । यो कहिल्यै पनि असफल भएन । मानिसहरू उनीहरूको बिचारको लागि फ्लोरेन्सले छानेको लागि खुसी थिए । यी कुराहरू यति सामान्य ज्ञान भएकी एक जना मन्त्री जसको नाम सर हेन्री भर्ती थियो, उनलाई उनका साथीहरूले “फ्लोरेन्स नाइटिङ्गेलको लागि सभासद्” भनेर बोलाउन थाले ।

सर हेन्री चारजना बच्चाको बाबा थिए । उनी विदुर थिए । अर्थात् उनको श्रीमतीको मृत्यु भैसकेको थियो । उनी अत्यन्त धनी थिए । उनी अत्यन्त दानी पनि थिए । उनले बकिङघम शायरमा आफ्नो जमिन भाडामा लिनेहरूको लागि एउटा नमुना गाउँ नै बनाएका थिए र उनले स्कुलहरू पनि खोलेका थिए । आयलस्बरी (Aylesbury) मा हैजा फैलेको बेला उनले बिरामीहरूको रेखदेखमा सहयोग गरेका थिए । उनी हेर्दा पनि एकदम सुन्दर देखिन्थे । र फ्लोरेन्सले उनीसित सङ्गत गर्न मन पराउँथिन् । तर एकदिन अचम्म भयो । उनले फ्लोरेन्सलाई “म तिमीलाई माया गर्छु र तिम्रो हेर विचार गर्नेछु” भने ।

यो कुरा सुनेर फ्लोरेन्स मुर्छित भएर झन्डै ढलिन् ।

उनी त्यतिवेला सैँतीस वर्षकी थिइन् । रिचार्ड मोक्टन मात्र एकजना मान्छे थिए जसलाई उनले प्रेम गरेकी थिइन् र परमेश्वरको बोलावटको उत्तर पर्खन्छु भनेर उसित विवाह गर्न मानेकी थिइनन् । अहिले आएर त्यो बोलावट झन् अर्जेन्ट भयो । जब फ्लोरेन्सले हेन्रीको यो प्रस्ताव अस्वीकार गरिन् । उनी धेरै दुःखित भए । फ्यानीले यो कुरा सुनिन् र धेरै रिसाइन् । उनले हेन्रीलाई बोलाइन् र उनको निराशाको अन्त्य नहुँदासम्म एम्बली पार्कको उनको घरमा बस्ने निम्तो दिइन् ।

फ्लोरेन्सले काम गरी रहिन् । उनले प्रस्तावना गरेका सुधारहरू जति सक्यो धेरै कार्यान्वयन गराउनको लागि उनले कोसिस गरी रहिन् । उनलाई यो विश्वास लाग्न थाल्यो कि अब उनीसित धेरै समय छैन। किनभने उनको विश्वासमा उनको अब छिटै मृत्यु हुँदै थियो ।

उनकी माइजूले त्यसो नगर्न अनुरोध गरेता पनि कहिलेकाहीँ फ्लोरेन्स थकाइले नढल्दासम्म काम गरी रहन्थिन् । यो उनी आफैले संसारबाट टाढिन गरेको निर्णय अत्यन्त कठिन निर्णय थियो । किनभने उनलाई मान्छेहरूको समर्थन त चाहिन्थ्यो नै । उनले पहिले भने जस्तै शान्तिपूर्ण वातावरणमा दिमागबाट त्रिमियाको सम्झना बिस्तारै मेटिँदै थियो र ती “लालटिन बालेर सेवा गर्ने महिला” को दर्शन पनि बिर्सन लागिएको थियो । किनभने त्यो भन्दा अरू महत्त्वपूर्ण कुराहरूले ठाउँ लिइरहेका थिए ।

लन्डनको वेस्टमिन्स्टर भन्ने ठाउँमा रहेको घण्टाघरमा भएको साढे सोह्र टनको समय बताउने घडी बेसरी चर्केको थियो । टाढाबाट समाचार आयो कि डाक्टर लिपिडस्टोनले अफ्रिकामा पैदल यात्रा पूरा गरेका छन् । र भारतमा सरकारको अवज्ञा गर्ने धम्की आइरहेको कुरा सुनिन्थ्यो । यदि त्यसो भै हाल्यो भने ब्रिटिस आर्मी फेरि युद्धमा होमिनु पर्नेछ ।