हिन्दी साहित्यका महाकवि गोस्वामी तुलसीदासको जन्म बाबु आत्माराम दुबे र आमा हुलसीका कोखबाट सन् १५११ मा भारतको राजापुरमा भएको थियो । उनको जन्म आमाका गर्भमा बाह्र महिना बसेर विक्रम संवत् १५५४ को श्रावण महिना, शुक्लपक्षको सप्तमी तिथिका दिन भएको मानिन्छ । जन्मँदा उनका ३२
वटा दाँत थिए भनिन्छ । बालक जन्मँदा रुने गर्दछ, तर उनले जन्मने बित्तिकै राम भनेका थिए भनिन्छ । त्यसकारण उनको नाउँ रामबोला राखिएको थियो । अलच्छिनी बालक भनी उनलाई बाबु आमाले परित्याग गरेका थिए, तर चुनिया नाउँकी एक दासीले उनलाई साढे पाँच वर्षसम्म पालेकी थिइन् । ती दासीको मृत्यु भएपछि उनलाई एकजना वैष्णव सन्तले आफ्नो कुटीमा लगी स्याहारे र उनको नाउँ तुलसीदास राखे । यसरी उनको बाल्यकाल कष्टप्रद बित्यो । अनेकौँ कठिनाइको सामना गर्दै उनले आफूलाई अध्ययन, भक्ति र चिन्तनको बाटोमा लगाए । उनी जगद्गुरु रामानन्दाचार्यका चेला थिए। उनी रामानन्दी वैष्णव सम्प्रदायका गुरु र रामभक्त सन्त थिए ।
आफ्नी पत्नी रत्नाका प्रेरणाले तुलसीदास रामभक्त भए । वनारसमा उनले संस्कृत व्याकरण, चार वेद, ज्योतिष शास्त्र र हिन्दु दर्शनको अध्ययन गरे । नेपाली भाषी जगतमा भानुभक्तीय रामायण जति श्रद्धापूर्वक पढिन्छ, हिन्दी भाषी जगतमा रामचरितमानस त्यति नै लोकप्रिय छ । तुलसीकृत रामचरितमानस (रामायण) भारतका गाउँ-गाउँमा भक्तिपूर्वक पढिन्छ । यस कृतिमा उनले रामका अनुपम आदर्शको बयान गरी युवक अथवा वृद्ध, गृहस्थी अथवा सन्यासी हरेकलाई उच्च आदर्श अँगालेर बाँच्ने प्रेरणा दिएका छन् ।
अवधिमा लेखिएका उनका कृतिहरू : रामचरितमानस, रामलला नहाछु, बर्वई रामायण, पार्वती मङ्गल, जानकी मङ्गल र रामाज्ञा प्रसन्न । ब्रज भाषामा लेखिएका उनका कृति : कृष्ण गीतावली, गीतावली, साहित्य रत्न, दोहावली, वैराग्य सन्दिपनी र विनय पत्रिका । उपरोक्त कृतिका अतिरिक्त हनुमान चालिसा, हनुमान अश्तक, हनुमान बहुक र तुलसी सत्साई जस्ता कृति पनि उनले रचना गरेको विश्वास गरिन्छ ।
उनको जन्म र मृत्यु बारे विभिन्न अन्वेषक र इतिहासविद्ले भिन्नभिन्न मिति उल्लेख गरेको भेटिन्छ । एक अनुमान अनुसार भारतीय संस्कृतिका प्रतिनिधि तथा हिन्दी भाषी जनताका श्रद्धेय कवि तुलसीदासको मृत्यु सन् १६२३ मा अस्सीघाट, वाराणसीमा भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










