
परदेसिएका लाखौँ नेपाली युवाहरूलाई लक्षित गरेर कविताहरू लेखिए, गीतहरू गाइए, कथा तथा उपन्यास आदि लेखिए भने थुप्रै फिल्महरू पनि बने । नेपाली साहित्य जगतका लागि यो एउटा यस्तो विषय बन्दै गइरहेको छ कि, जसको बारेमा जति लेखे पनि लेखेर सकिने वाला छैन । भोलिका दिनमा यो विषयमा अझै व्यापक रूपमा लेखिनेछ भन्ने कुरामा कुनै शंकै छैन ।
यसै सन्दर्भमा यस साहित्यपोस्टका युएई संयोजक समेत रहनु भएका गजलकार तथा गीतकार राज यात्री लम्सालले प्रवासकै विषयमाथि लेखिएको “नरोई बस बाबु तिमी डर लाग्दा राती” बोलको गीत केही समय अघि सार्वजनिक गर्नुभएको छ । जसमा बालक छोरोलाई छोडेर परिदेसिएका बाबुको कथा-व्यथालाई गीतमार्फत उहाँले प्रस्तुत गर्न खोज्नु भएको छ ।

राज यात्री लम्साल
गायक राज सिग्देलको आवाज र उहाँकै सङ्गीत रहेको गीतको भिडियोमा गौरव पहारी, सञ्चिता लुइँटेल, युवराज खतिवडा र स्वयम् गीतकार लम्सालको अभिनय रहेको छ । त्यसै गरी गीतमा बाल कलाकारको रूपमा उत्कर्ष हुमागाईं र उमङ्ग हुमागाईंले अभिनय गर्नुभएको छ । गीतलाई गीतकार लम्सालकै युट्युब च्यानल “Raj Yatri” मा गएर हेर्न सकिनेछ ।
यसअघि पनि गीतकार लम्सालले “कति माया गर्छु तिमीलाई” बोलको गीत सार्वजनिक गर्नुभएको थियो । त्यस गीतमा चाहिँ उहाँले स्वदेशमै केही गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न खोज्नुभएको छ । गायक सिडि विजय अधिकारी र गायिका सिम्रन परियारको आवाज रहेको सो गीतमा सङ्गीतकार राजकुमार बगरले सङ्गीत भर्नु भएको छ । यो गीत पनि उहाँले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको थियो ।
यसका अलावा पनि उहाँका थुप्रै गीतहरू अन्य गायक गायिकाको आवजमा रेकर्ड भएर बजारमा आइसकेका छन् । गीतकार लम्साल गायक पनि हुनुहुन्छ । उहाँको आवाजमा पनि केही गीतहरू सार्वजनिक भएका छन् । त्यसै गरी उहाँले केही गीतमा सङ्गीत पनि भर्नुभएको छ । २०७२ सालमा उहाँको गीति एल्बम “मेरो यात्रा” सार्वजनिक भएको थियो । त्यो उहाँको पहिलो गीति
एल्बम पनि हो । जसमा सङ्गीतकार स्व. भोला राईको एकल सङ्गीत रहेको छ भने गायक लम्साल र गायिका सुनिता लिम्बूको स्वर रहेको छ ।
झापाको महारानीझोडा – ३ मा जन्मनुभएका गीतकार लम्सालको हालको स्थायी बसोबास मोरङको सुन्दरहरैँचा नगरपालिका ८, सलकपुरमा रहेको छ । पिता स्व. रमनाथ लम्साल र माता जीवकुमारी लम्सालको कोखबाट २०३६ साल असार २६ गते उहाँको जन्म भएको हो । रोजगारीको सिलसिलामा गीतकार लम्साल सन् २००८ अर्थात् पछिल्लो १६ वर्षदेखि युएईमा हुनुहुन्छ । त्यसअघि उहाँ रोजगारीकै लागि सन् २००२ मा मलेसिया पुग्नुभएको थियो ।
सामान्य कामदारको रूपमा युएई आउनु भएका लम्साल पछिल्लो ४/५ वर्षदेखि भने निजी व्यवसाय सञ्चालन गरेर सफल व्यवसायीको रूपमा स्थापित हुनुहुन्छ । दुई दशकदेखि साहित्य लेखन र झन्डै त्यति नै समयदेखि सङ्गीतमा सक्रिय रहँदै आउनुभएका लम्सालका रचनाहरू केही संयुक्त कृतिहरूमा प्रकाशित छन् । साथै फुटकर रूपमा विभिन्न पत्र-पत्रिकाहरूमा उहाँका रचना प्रकाशित पनि हुँदै आएका छन् ।
गीत र गजलका अलावा उहाँ कहिलेकाहीँ कवितामा पनि आफ्नो कलम चलाउने गर्नु हुन्छ । कहिलेकाहीँ उहाँ गायन र लेखनसँग सम्बन्धित प्रतियोगिताहरू भाग लिने गर्नुहुन्छ । २०७४ सालमा सुनसरीको इटहरीमा आयोजित “ग्लोरी भ्वाइस आइकन” मा उहाँले तृतीय स्थान हासिल गर्नुभएको थियो । जसमा विश्वभरिबाट अनलाइनमार्फत २ सय ५० जनाभन्दा धेरैले सहभागिता जनाएको उहाँ सम्झिनु हुन्छ । त्यसै गरी उहाँ पाँचथर गजल मञ्चले २०७५ सालमा आयोजना गरेको राष्ट्रव्यापी गजल प्रतियोगितामा प्रथम र माउन्ट मिडिया विश्व सेवा, बोधी एच.डी. तथा नेपाल म्युजिक फाउन्डेसनले २०७५ सालमै आयोजना गरेको विश्वव्यापी गजल प्रतियोगितामा तृतीय हुनु भएको थियो ।
उहाँ युएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य र मोरङमा रहेको सलकपुर सङ्गीत साधना सामुदायिक कला केन्द्रको आजीवन सदस्य हुनुहुन्छ ।
कला, संस्कृति, साहित्य र सङ्गीत बिनाको राष्ट्र अपाङ्ग सरह हुन्छ भन्ने उहाँ मान्यता राख्नु हुन्छ । हाम्रो कला, संस्कृति, साहित्य र सङ्गीतको सधैँ संरक्षण र संवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो भन्ने उहाँ विचार व्यक्त गर्नुहुन्छ । त्यसैले पनि होला आफ्नो बर्कतले भ्याएसम्म यसको सेवामा लागिरहने उहाँ आफ्नो इच्छा जाहेर गर्नुहुन्छ ।
युएईको नेपाली साहित्यिक गतिविधिमा सहभागी हुँदै गर्दा लामो समयदेखि उहाँसँग चिनजान र भेटघाट हुँदै आएको भए पनि अन्तर्वार्ता गर्ने मेलोमेसो भने मिलिरहेको थिएन । हरेक कुराको समय आउनु पर्छ भनेको पनि सायद त्यही भएर होला । अहिले भने मैले उहाँको लेखन र सङ्गीतसँग जोडिएका केही पाटोलाई कोट्याउने कोसिस गरेको छु । अब प्रस्तुत छ गीतकार/गजलकार तथा गायक राज यात्री लम्सालसँग साहित्यपोस्टका लागि गरिएको कुराकानीको सम्पादित अंश !
“नरोई बस बाबु तिमी डर लाग्दा राती” बोलको गीत भर्खरै सार्वजनिक गर्नुभएको छ । जसमा बालक छोरोलाई छोडेर परिदेसिएको एउटा बाबुको कथा व्यथालाई प्रस्तुत गर्न खोज्नु भएको छ । आफ्नै जीवनसँग चाहिँ कतिको नजिक छ त्यो गीत ?
– मेरो आफ्नो जीवनसँग पनि धेरै नजिक छ यो गीत । नौ वर्ष अगाडि नै यसको स्थायी लेखिएको थियो,
“नरोई बस बाबु तिमी डर लाग्दा राती
रुँदा तिमी चर्किदिन्छ तिमी बस्ने छाती”….
जब परदेशबाट घर जाँदा बल्ल-बल्ल बाबा भनेर झ्याम्मिन थालेको थियो छोरो । खेल्न थालेको थियो । एक छिन नदेख्दा बाबा-बाबा भनेर घरभित्र बाहिर सबैतिर खोज्ने गर्थ्यो । जब घर छोड्ने दिन थियो, छोरो सुतिरहेको थियो । मैले ऊ बिउँझिने डरले बोलाउन पनि सकिन र उसलाई हेर्न पनि सकिन ।
साँच्चै भन्दा त्यो बेला गाउँमा हजुरआमाहरूले भन्नु भएको कुरा सम्झन्छु, “हाम्रो पालामा घर गरी खान धेरै गाह्रो थियो । तीजमा बल्ल-बल्ल माइत जान पाउँदा खुसीको सीमा रहन्न थियो । अनि घर फर्कने दिन रुँदै-रुँदै बाध्यताले निस्कनु पर्थ्यो । घर फर्कनै मन लाग्दैनथ्यो ।”
हो, हरेक पटकको एक महिनाको बिदामा घर फर्कँदा र घर छोड्दा हजुरआमाहरूलाई माइतबाट घर फर्कनु जस्तै हुन्थ्यो घरबाट परदेश फर्कनु पर्दा । यही कुराले मन भक्कानिन्थ्यो । यो गीतको स्थायी लेखिसकेको धेरै पछि अन्तरा लेखिएको थियो ।
“हिँड्ने बेला निदाएथ्यौ हेर्नै सकिन
अन्तिम पल्ट अङ्गालोमा बेर्नै सकिन
लुक्यौ होला उठेपछि दैलो मुनितिर
थाकेपछि खोज्यौ होला घरको चारैतिर”…..
पहिलो अन्तरा लेखेको झन्डै पाँच वर्षपछि दोस्रो अन्तरा परिमार्जनसहित पूरा गरेको थिएँ।
“तिम्रो लागि अक्षरहरू किन्न खोज्दै छु
ठुलो मान्छे बनाउने सपना बुन्दै छु
तिमी हिँड्यौ परदेश म फर्किएँ घर
सँगै बस्ने अधुरै भो हाम्रो रहर”…
नेपालीको प्रत्येक जसो घरमा यही जीवनचक्र चलिरहेको छ । छोराछोरी सानो हुन्जेल उनीहरूको भविष्य बनाउनका लागि बाबा परदेसिनु पर्ने बाध्यता छ भने अर्कोतर्फ, छोराछोरी ठुला भएपछि उनीहरू पनि उच्च शिक्षाका निम्ति परदेसिनु पर्ने विडम्बना छ । आखिर परिवार भनेको त माया-ममता, हाँसो-खुसी साटी सँगै बस्नलाई होइन र ?
समग्रमा हरेक घरको जीवनचक्र पाँच मिनेटको यो गीतमा लेख्ने कोसिस गरेको छु मैले ।
गीत सार्वजनिक भइसकेपछि के कस्ता प्रतिक्रियाहरू पाउनु भयो ?
– गीतको भाव अत्यन्तै मर्म स्पर्शी छ । सबैभन्दा बढी छोराले बिहान उठेर बाबालाई खोजेको र नभेटेपछि बाबा भन्दै रोएको दृश्यले धेरैलाई छोएको प्रतिक्रियाहरू बढी आएका छन् ।
यसअघि पनि तपाईंले “कति माया गर्छु तिमीलाई” बोलको गीत सार्वजनिक गर्नुभएको थियो । त्यसमा चाहिँ तपाईंले स्वदेशमै केही गरेर खानु पर्छ भन्ने सन्देश दिन खोज्नुभएको छ । प्रवासमा हुने सर्जकहरूलाई विशेष गरी यस्तै विषयहरूले बेसी दुखाउँछ है ? त्यो गीतका बारेमा पनि केही बताइदिनुस् न ।
– पक्कै पनि माया भन्दा ठुलो अरू कुनै चिज नै छैन । आमा बुबाले आफ्ना सन्तानलाई गर्ने माया, श्रीमतीले श्रीमानलाई गर्ने माया, श्रीमानले श्रीमतीलाई गर्ने माया । यही प्रेमले त यो सृष्टिको जीवनचक्र चलिरहेको छ ।
“कति माया गर्छु तिमीलाई भन्नै सक्दिन
यति जान अब टाढा बन्नै सक्दिन”
मायालाई सबै भन्दा माथि राखेर लेख्ने कोशिस गरेको हुँ । धन सम्पत्ति भन्दा धेरै माथि हुन्छ माया । धन सम्पत्तिले भौतिक सुख मात्र दिने हो । मनको खुसी मात्र मायाले दिन्छ भन्ने मुख्य विषय बस्तुमा आधारित गीत हो “कति माया” ।
प्रवासमा हुनु, सिर्जना कर्ममा लाग्नु अनि त्यसलाई बजारमा ल्याउनु, कत्तिको सहज छन् यी कुराहरू ?
– प्रवासमा बढी एक्लो महसुस गरेको छु मैले । जब एक्लो हुन्छु, मनभित्र अनेक कुराहरूको आँधीबेरी चल्न थाल्छ, अनि सिर्जनाहरूको अङ्कुर पलाउन थाल्छ । जब सिर्जनाले पूर्ण रूप पाइसकेपछि, आफ्नो गाँस काटेर किन नहोस्, त्यसमा प्राण भर्न मन लाग्दो रहेछ । विषम परिस्थितिका बाबजुद पनि चाहानाका अगाडि सबै सहज हुने रहेछन् ।
यसअघि पनि आफ्ना केही गीतहरूलाई आफ्नै तथा अरूकै आवाज र सङ्गीतमा बजारमा ल्याइसक्नु भएको छ । थुप्रै प्रक्रिया र झन्झटहरू पार गर्दै एउटा गीत बजारमा आइपुग्छ । त्यसमा यो खर्चिलो पनि छ । अनुत्पादक क्षेत्रमा लगानी गरिएछ जस्तो चाहिँ लाग्दैन कहिलेकाहीँ ?
– हो, अहिलेसम्ममा आफूले र अरू गायक गायिकाहरूले गरी मेरा १४/१५ वटा गीत बजारमा आइसकेका छन् । तर मलाई कहिल्यै लागेन कि साहित्य सिर्जनामा गरिएको लगानी खेर जान्छ । बरु जीवन्त रहने छन् । दुई छाक खान, एक सरो लाउन त सबैले गरेकै छौँ, होइन र ? आफूले चाहे जति गर्न नसके पनि, यो जीवन केही पृथक् गर्नका लागि हो भन्ने हुटहुटी चाहिँ सधैँ भइरहन्छ । त्यसकारण आफ्नो बर्कतले भ्याएसम्म गरिरहने छु ।
एउटा दुखको कुरा के छ भन्दा, जुन गीतमा सर्जक आफैँको लगानी रहेको हुन्छ, त्यो गीत बजारमा आइसकेपछि त्यस गीतसँग जोडिएका गायक/गायिका, सङ्गीतकार, कलाकार लगायतले त्यसलाई उति साह्रो महत्त्व दिएको पाइँदैन । चाहे त्यो सामाजिक सञ्जालमा सेयर गर्ने सवालमा होस्, अथवा अरू नै केही । कस्तो लाग्छ यो प्रवृत्ति ? यसमा तपाईंको अनुभव के छ ?
– त्यो सबै गायक गायिका कलाकार सङ्गीतकारहरूमा लागु हुने होइन । एकाधमा लागु हुन सक्छ । सर्जकले गर्दा नै कति गायक गायिका कलाकार सङ्गीतकारहरूले काम पाइराख्नु भएको हुन्छ । उहाँहरूको रोजीरोटी चलिरहेको हुन्छ । जुन कामलाई अपनाइराख्नु भएको छ, त्यो कामप्रतिको सम्मान पनि हो । जसले कामको सम्मान गर्न जान्दछ वास्तवमा उही सच्चा कलाकार हो भन्ने मेरो व्यक्तिगत बुझाइ हो।
तपाईं साहित्य लेखन (गजल र गीत) मा हुनुहुन्छ र सङ्गीत (गायन र सङ्गीत) क्षेत्रमा पनि हुनुहुन्छ । तपाईं आफैँले चाहिँ आफूलाई के भन्न बेसी मन पराउनु हुन्छ ? गायक कि साहित्य सर्जक ?
– नेपाली कला साहित्य सङ्गीतलाई धेरै नजिकबाट माया गर्ने एक साधारण मान्छे हुँ । गीत गाएपछि गायक, सङ्गीत गरेपछि सङ्गीतकार, गीत रचना गरेपछि गीतकारको ट्याग त लाग्छ नै । म आफूलाई चाहिँ गीतकार/गजलकार भनेर परिचित हुन सकेँ भने त्यही नै जीवनको ठुलो उपलब्धि र सफलता मान्नेछु ।
तपाईंको साहित्य लेखन र सङ्गीत यात्रा मध्ये कुन चाहिँ पहिले सुरु भएको हो ? यी दुवैलाई एकसाथ अगाडी बढाएर लैजान कत्तिको सजिलो/गाह्रो छ ? यहाँको अनुभवले के भन्छ ?
– सन् २००२ मा जब म मलेसिया गएँ, त्यहाँ अग्रज मित्रहरूले साहित्यिक कार्यक्रम गर्नु हुन्थ्यो र म पनि आफ्नो सिर्जना बोकेर पुग्थेँ । सबैले आ-आफ्ना रचना वाचन गर्थ्यौं । कमी-कमजोरीहरू अग्रजहरूले औंल्याइदिनु हुन्थ्यो । अझ पनि सम्झन्छु म, इन्द्र नारथुङ्गे, देवेन्द्र खापुङ, मणी राई गोठाले, दिलिप राई “सगर”, दिल दुखी जन्तरे, जीवन देवान गाउँले, जनक ढकाल, विजय चिन्तित, गणेश खड्का उहाँहरूको सक्रियतामा बिम्ब भाग १(कविता, गीत गजलहरूको सङ्ग्रह ) र बिम्ब भाग २ (गजल सङ्ग्रह) प्रकाशन भएको थियो । र मेरा गीत गजलहरू पहिलो पटक त्यहाँ प्रकाशित भएका थिए। अझ देवेन्द्र खापुङ जीले त मलेसियाको साहित्यिक गतिविधिहरूको दस्ताबेज स्वरूप पुस्तक नै प्रकाशन गर्नु भएको छ।
सङ्गीतको कुरा गर्नु पर्दा मलेसियाबाट फर्किसकेपछि मोरङको सकलपुरमा साथीहरूको सहकार्यमा “सलकपुर सङ्गीत साधना सामुदायिक कला केन्द्र” खोलिएको थियो । त्यहाँ शास्त्रीय सङ्गीतका गुरु भोला राईज्यूबाट भोकल, बाध्य वादन, ताल सम्बन्धी आंशिक ज्ञान लिने अवसर जुरेको थियो र भोला राईज्यु कै एकल सङ्गीतमा ६ वटा गीत गजलहरूको एल्बम “मेरो यात्रा” बजारमा ल्याएको थिएँ । जसमा मेरो र गायिका सुनिता लिम्बूज्यूको स्वर रहेको थियो । स्वभावैले साहित्य नै गीत सङ्गीतको परिपूरक हो । कहिले लेख्दै गर्दा गुनगुनाउँदै लेख्ने गर्छु र त्यो मेलोडीलाई सुरमा लगाउँछु । यसको उदाहरण “भोलि बिहानै जाउँला रेलैमा छुक छुक सरर”…भन्ने गीत हो ।
तपाईंको लागि साहित्य सिर्जना भनेको के हो ? र के का लागि सिर्जना गरिरहनु भएको छ ?
– सबैले भन्ने गरेजस्तै मेरो पनि उत्तर यही हो, साहित्य समाजको ऐना हो । कलात्मक ढङ्गले सबैले लेख्न र देख्न नसकिएका समाजका कुरीति, विसङ्गतिहरूलाई शिल्प प्रयोग गरी आम-पाठक श्रोताहरूसम्म पुर्याउन सक्नु साहित्य हो । गाउँ समाजमा, सहर बजारमा देश विदेशमा जे भइरहेको हुन्छ, जुन दृश्यले छोइरहेको हुन्छ त्यही दृश्यलाई शब्दमा उतार्ने र समाज रूपान्तरणमा केही हदसम्म भए पनि टेवा पुग्नेछ भनेर लेखिरहेको छु ।
लामो समयदेखि रोजगारीको सिलसिलामा युएई बस्दै आउनु भएको छ । कामको व्यस्तताका बाबजुद आफ्नो लेखन र सङ्गीत कर्मलाई कसरी निरन्तरता दिइरहनु भएको छ ?
– पक्कै पनि निक्कै गाह्रो चाहिँ हुने रहेछ । सिर्जना भनेको कहाँ कति बेला फुर्छ पत्तै हुन्न । जति बेला फुर्छ त्यति बेलै लेखेर बस्न समय मिल्दैन । हतार हतार मोबाइलमा रेकर्ड गर्छु र पछि शब्दमा उतार्छु । कहिलेकाहीँ रेकर्ड गरेर राख्न पनि सम्भव हुँदैन र त्यही कुरा फेरि सम्झन खोज्दा पटक्कै आउँदैन । कत्ति सिर्जनाहरू त्यसरी पनि मरेर जाँदा रहेछन् ।
युएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठानमा आबद्ध हुनुहुन्छ । साथै साहित्यपोस्टको युएई संयोजक पनि हुनुहुन्छ । त्यसरी आबद्ध भएर काम गरिरहँदा आफ्नो व्यक्तिगत जीवन र लेखनमा त्यसले केही फरक प्रभाव पारेको छ ?
– निस्वार्थ भावले मान्छेसँग जोडिने माध्यम नै साहित्य रहेछ । साहित्यका माध्यमबाट जोडिएका मनहरूले मसँग कहिल्यै नाफा घाटाको सौदा गरेनन् । सायद त्यही भएर यो मनले आफ्नै जस्ता मन भएकाहरूको परिवेशमा रमाउन खोजिरह्यो ।
त्यसकै उपज सगरमाथा साहित्य प्रतिष्ठान, सिर्जना वाचन डबली युएईमा आबद्ध प्रिय मनहरूसँग हातेमालो गर्दै गर्दा तपाईं (डिजी शर्मा ) र साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाज्यूसँग परिचित हुने मौका मिल्यो र साहित्यपोस्टको युएई संयोजकका रूपमा कार्यभार सम्हाल्ने जिम्मा आयो । खुसी छु तपाईंहरूसँग सहकार्य गर्दै साहित्यको सेवा गर्ने अवसर मिलेको छ । जीवनमा राम्रा मान्छेहरूसँग सधैँ जोडिराख्न पाइयोस् । सुन्दर मान्छेहरूको सङ्गतले जीवन सधैँ सुन्दर बन्छ भन्ने मान्यता राख्छु र यो दायरालाई अझ फराकिलो बनाउँदै लैजान सकूँ भन्ने चाहाना पनि छ।
युएईको नेपाली साहित्यलाई लामो समयदेखि नियाल्दै आउनु भएको छ । कस्तो छ अवस्था ?
– जहाँ-जहाँ नेपाली साहित्यिक मनहरू पुगे, त्यहाँ-त्यहाँ साहित्यिक संस्था पनि खुले । ती मध्ये युएई पनि नेपाली साहित्यको श्रीवृद्धिमा उर्वर भूमिका रूपमा सबै सामु परिचित छँदै छ। म सन् २००८ को अन्त्यदेखि युएईमा छु। त्योभन्दा अगाडिदेखि नै युएईमा नेपाली साहित्यको बीजारोपण गर्ने व्यक्तित्वहरू धेरै हुनुहुन्छ भन्ने बुझेको छु । युएईमा सिर्जना वाचन डबली, सगरमाथा साहित्य प्रतिष्ठान र पछिल्लो समय साहित्यवार्ता : स्रष्टा र सिर्जना निक्कै सक्रिय संस्थाका रूपमा देख्दै आएको छु ।
नेपाल बाहिर रहे पनि हाम्रो लेखनको विषय अधिकांश रूपमा नेपाल केन्द्रित नै रहने गर्छ । तपाईंले चाहिँ आफू बसिरहेको ठाउँ र आफ्नो परिवेशका कुरालाई लेखनमा कत्तिको उठाउने कोसिस गर्नुभएको छ ?
– मुख्य कुरा हामी नेपाली हौँ, जहाँ पुगे पनि नेपाली मनसँगै पुग्ने नै भइयो । देश दुख्दा भूगोलको जुन कुनामा बसे पनि मन दुख्नु र देश केन्द्रित हुनु स्वाभाविक हो । कुरा आयो आफ्नो ठाउँ र परिवेशलाई आफ्नो लेखनमा कत्तिको उठाउनु हुन्छ? पक्कै पनि ती कुराहरू लेखनमा आउँछ नै । यहाँको बुर्जा-खलिफा भन्दा कयौँ गुणा अग्लो सगरमाथा छ हामीसँग । यहाँको बलौटे माटोभन्दा कयौँ गुणा उर्वर भूमि छ हामीसँग । यहाँको नुनिलो पानीभन्दा कयौँ गुणा शुद्ध पानी छ हामीसँग । कयौँ गुणा हरियाली छ हामीसँग । तुलनात्मक हिसाबले लेखाइमा यी कुराहरू आउने गर्छन् नै ।
जाँदाजाँदै अन्त्यमा केही ?
– मनका केही संवेगहरू यहाँ राख्ने अवसर दिनु भयो, त्यसका लागि हार्दिकताका साथ धन्यवाद । भूगोलको कुनै कुनामा रहे पनि आफ्नो धर्म संस्कृति कला साहित्य सङ्गीतलाई नबिर्सौं । हामीले नै बिर्स्यौं भने भावी पुस्ताले कसरी जगेर्ना गर्न सक्छन् ? देशको समृद्धि र पहिचान भनेको भौतिक विकास मात्र होइन । त्यो देशको भाषा धर्म संस्कृति कला साहित्य सङ्गीत सबै पर्दछन् । यसको जगेर्ना गर्नु हामी सबैको कर्तव्य पनि हो ।
धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

