सुत्नुअघि रातो सारी काँधमा हालेर उजेलीले ऐेना हेरी । मैले उसको सारीको एक छेउ समातेर टाउकोमा घुम्टी ओडाइदिएँ । ऊ केही लजाई । मैले उसको काँधमा दाहिने हात अड्याएँ । ऊ ऐेना हेर्न मै व्यस्त थिई । मैले उसलाई आफूतिर खिच्दै उसको चिउँडो उठाएँ । हाम्रा आँखा जुधे । ऊ फेरि लजाएर भुतुक्कै भई । उसको अनुहार पनि रातो भयो । उसको यही लजालु स्वभावले त मलाई उसैतिर खिची रहन्छ ।

‘उजेली !’ मैले धिमा स्वरले बोलाएँ ।

‘हँ !’ उसले पनि उसरी नै जवाफ दिई ।

‘म अर्को तीजमा यो भन्दा पनि राम्रो रातो सारी किनी दिन्छु है !’

ऊ केही बोलिन । टाउको हल्लाएर ‘हुन्छ’ भन्ने संकेत गरी । मैले उसलाई तानेर छातीमा चपक्क टाँसेँ ।

आधा रातमा एक्कासी खैलामैला मच्चियो । मस्त निन्द्रालाई चिर्दै आवाज मेरो कानसम्म आइपुग्यो । एउटै ओछ्यानमा सुतेकी उजेलीलाई कुममा समाएर हल्लाउँदै ब्युझाएँ । आँखा खोलेर एकछिन अलमल्ल परेर मलाई हेरी अनि मेरै छेऊमा दुईटा घुँडा जोडेर घुँडामाथि नै टाउको राखेर बसी । तुरुन्तै तर्सेजस्तो गरेर उसले मेरो हात च्याप्प समाती । ‘तँ मुला दमाई , तेरो यत्रो हिम्मत ?’, भन्दै आँगनमा को को हुन् तथानाम गाली गरिरहेका थिए । मेरा बा चिच्याउनु भयो ‘ नाई , नाई ! ऐया ! बाको मार्मिक आवाज मेरो अन्तस्करणमा गएर ठोक्कियो । मेरो मुटु जोडजोडले ढुकढुक गर्न थाल्यो । म आवाजसँगै जुरुक्कै उठेँ । मेरा हात समाइरहेकी उजेलीले मलाई दुख्ने गरी च्यापी । म उसलाई तान्दै अघि बढेँ । ऊ लडी । उसलाई उठाउन निरुरिएँ । उसका दुबै हातले मेरो एउटा खुट्टो समाउन भेट्टाई । म ढोकातिर उसलाई तान्दै अघि बढेँ । ऊ श्वासले मात्र मलाई भन्दै थिई ‘नाई नजाऊ, म तिमीलाई जान दिन्न ।’, ऊ मेरो विपरीत मलाई खिचिरहेकी थिई । उसको जोडले जित्यो । मलाई तान्दै ऊ खाटमुनि छिरी । म ओछ्यानमा बसेँ ।

मेरो दाइले तल मूल ढोका खोल्यो । ऊ पनि चिच्याउन थाल्यो । आँगनमा ‘ठोक् ठोक् ! डुम्रोलाई मार् मार् ! छोडनु हुँदैन है ! ऐेया !’, जस्ता आवाजले आँगनमा कोलाहल मच्चिएको थियो । म फेरि जुरुक्क उठेँ । ढोकातिर हान्निएँ । उजेलीले दुबै हातले मेरो खुट्टो झन् जोडले समाएकी रहिछे । म ढोकामा नपुगी लडेँ । म लडेको देखेर ऊ खाटमुनिबाट बाहिर आई । मलाई समातेर उठाई । रिसले तात्तिएको म उठेर उसका गालामा न्वारानदेखिको बल झिकेर चट्काएँ । मलाई समाउन खोज्दै थिई । म ढोका खोलेर बाहिर निस्किएँ । त्यहाँ कोही थिएन । एकछिन अघिको होहल्ला अब चकमन्न थियो । बा आँगनमा दाँया कोल्टो फर्किएर सुतेका थिए । बाको दाँया हात दायाँतिरै जमिनमा फैलिएको थियो । बाँया हात भने असामान्य रुपमा खुम्चिएको थियो । खुट्टा पनि भाँचिएकोजस्तो बाङ्गोटिङ्गो देखिन्थ्यो । म दौडदै बातिर हान्निएँ । उनलाई चलाएँ, घच्घच्याएँ, बोलाएँ तर बा बोलेनन् । मैले बालाई उत्तानो पारेर पल्टाएँ । उनको अनुहारमा डरलाग्दो विस्मय थियो । उनको आँखा खुल्लै थियो । मुख पनि आँ गरी राखेको थियो । मैले उनको कमिज तानेर शरीरलाई छोपी दिन खोजेँ तर कमिज जताततै फाटेको थियो । फाटेकै कमिज मिलाउँदै ‘बा !’, भनेर बोलाएँ । उनको शरीरमा अनगिन्ती चोट लागेको प्रष्टै बुझिन्थ्यो तर काँहा काँहा चोट थियो भन्ने मैले थाहै पाइन । साँच्चै भन्ने हो भने बाका शरीरका चोट हेर्ने र गन्ने मलाई होसै भएन ।

दाइ खोई ? उसलाई नदेखेर म आत्तिएँ । मैले बोलाएँ ‘ दाइ ! ए दाइ !’, मेरो आवाज काँपेको थियो । दाइलाई अपहरण गर्न आएका हुन् कि भनेर मन छटपटियो । म हृदयददेखि नै डराएँ । मेरा खुट्टाका रौँ पनि ठाडाठाडा भए । मेरो पाइतालामुनिको जमिन भासिए जस्तो लाग्यो । दुवै अभिभावक एकैपल्ट गुमाउँदाको पीडाले आहत भएँ । मेरो गह भरियो । मैले फेरि ‘दाइ !’, बोलाएँ । मेरो आवाज गर्भमा नै भासियो । म ह्वाँ ह्वाँ रुन थालेँ ।

बेलुका सुत्नुभन्दा एकछिन अगाडि पनि बाले ल्याइदिएको रातो सारी काँधमा हाल्दै ऐना हेर्दै थिई । बिचरी ! अब कहिल्यै रमाइलो मानेर तीज मनाउली त ?

 

‘ऐया ! ऐया ! ’, मन्द आवाज मेरो कानमा ठोक्कियो । मैले यताउति हेरेँ । दाइको आवाज डिलमुनिबाट आएको थियो । म एकैपल्ट कान्लामुनि हाम्फालेँ । दाइ भित्तामा लेपासिएर बसेको रहेछ । मैले समातेर बिस्तारै उठाएँ । बल गरेर तङ्ग्राएँ अनि डडेल्नामा बोकेर डिल उक्लिएँ । उसलाई पिँढीमा पुर्याएँ । ऊ पिँढीमा लम्पसार पर्यो । म फेरि बातिर दगुरेँ । बाको अनुहार छामेँ । बिस्तारै नाकका पोरामा औँला राखेँ । बाको सास बाँकी छ कि भनेर छातीमा टाउको राखेर सुनेँ । अँहँ बाको चाल निको थिएन । कृतिम स्वास दिने प्रकृया मैले स्वयं सेवकको तालिम लिँदा सिकेको थिएँ । सोही अनुसार बाको मुखमा आफ्नो मुख जोडेर स्वास दिने प्रयास गरेँ । बाको छातीमा दुई हात खप्टिएर थिच्दै छोड्दै ढुकढुकी सुचारु गर्ने प्रयत्न गरेँ । बाको छाती चलेझैँ लाग्यो । मेरो कण्ठ अवरुद्ध भयो । छातीमा केको हो डल्लो आएर अड्कियो । म घुँडा टेकेर बा कै छातीमा टाउको राखेर फुस्फाएँ, ‘बा !’

उजेली बल्ल ढोकामा देखिई । उसले दुबै हात दैलाको चौकोसमा अड्याएकी थिई । मलाई उसँग कहिल्यै नउठेको रिस उठ्यो । समयमै आउन पाएको भए बालाई घायल हुनबाट रोक्न सक्थेँ कि ? नभए आक्रमण गर्ने को थियो त्यो त थाहा पाउँथेँ । यही उजेलीको कारणले म समयमा आउन सकिनँ । एक मनले त लाग्यो उठेर उसलाई पनि चिर्पटले नै बजाऔँ । मैले सोच्दा सोच्दै दाइ करायो ‘ ओई घर भाँडुवी ! तँ यहाँबाट भाग्छेस् की तँलाई पनि यहीँ ?’, दाइको गर्जन यति भयङ्कर थियो कि मेरो मुटु नै हल्लियो । उजेली खुर्रर दौडेर मेरो पछाडि आई र मेरो ढाडमा लपक्कै टाँसिई । दुई हातले मेरो पेटमा दह्रो गरी समाती । ऊ थर्ररर काँपेको मेरो शरीरले प्रष्टै अनुभव गर्यो ।

‘ तँ ज्यानमारा होस् ज्यानमारा ! तैँले मेरो बाको त्यो हविगत बनाइस् । मलाई अपाङ्ग बनाउने प्रयास गरिस् । अब यही एउटा भाइ छ यसको पनि ज्यान लिने त होला । तँलाई बाहुनकी छोरी भएर दमाईको छोरोसँग माया गर्नु पर्ने ? तेरो जातमा कुनै तिघ्रे भेटिनस् ? मेरो भाइको ज्यान लिएर मात्र छोड्छेस् यो घर ? तँलाई त !’, दाई एक्कासी उजेलीतिर बढ्यो । मैले केही बुझ्न सकिनँ । मेरो मन अमिलो भयो । उजेलीले मलाई अझ जोडले च्यापी । म उसलाई थाम्दै उठेँ ।
‘दाई ! उजेलीलाई किन ?’

भूधरा उपाध्याय

भूधरा उपाध्याय

‘सोध्, यसैलाई ! किन ससुरा र जेठाजुलाई पिट्न लगाइस् भनेर ? माइती खाललाई बोलाएर हाम्रो बिचल्ली बनाउने ?’ असक्त दाइलाई काहाँबाट बल आयो कुन्नी ? ऊ उजेलीलाई झम्टिनै आइपुग्यो । मैले दाईलाई छेकेँ । मैले छेकेपछि दाइ फेरि कराउँदै कराउँदै पिँढी मै गएर बस्यो । उजेली मेरो पछाडि बच्चाजस्तै टाउको र घुँडा एकै ठाउँमा जोडेर दुवै पाखुराले टाउको छेकेर बसी ।

बल्ल मेरो दिमाग चल्यो । उजेलीले आफ्नो दाइ र काकाहरूको आवाज चिनेर मलाई तल आउन नदिएकी रहिछे । आफ्नो माइतीलाई भन्दा मलाई धेरै माया गर्दीरहिछ । मैले उजेलीतिर हेरेँ । उसको साह्रै माया लाग्यो । उसलाई हेर्यो कि मेरो छातीमा गह्रौँ केही आएर बस्छ । त्यसै त्यसै आँखा रसाउन थाल्छ । अहिले पनि त्यस्तै भयो । उसलाई थपक्कै उठाएर चपक्क आफ्नो छातीमा टाँसु झैँ लाग्यो । उसका गालाभरि माया गरुँ झैँ लाग्यो तर त्यसो गर्न मेरो विवेकले दिएन ।

मैले आँगनको डिलमा गएर कराएँ ‘ ए बलवीर दाइ ! ए…केशव दाइ छिटो आउनुन । बालाई अस्पताल लैजाऔँ ।’, छिमेकी दुई तीनजना दाइहरू आइपुगे । बलवीर दाइले दलानको भित्तामा भएको बिजुलीको स्वीच थिचे । आँगन झलमल्ल उज्यालो भयो । यतिञ्जेलसम्म हामी कसैलाई बत्ती बाल्ने होसै भएन छ । जूनको उज्यालोमा पो बालाई हेरिरहेका रहेछौँ । उज्यालोमा बालाई हेर्न सक्ने अवस्था थिएन । बाको शरीर ओल्टाई पल्टाई हेर्ने होस् पनि आएनछ । च्यातिएको लुगाबाट रगतको भल बगेको प्रष्टै देखियो ।

‘बलवीर दाइ अब के गर्ने ?’, बालाई अस्पताल लैजाऔँ । मैले भनेँ । गाउँका केशव दाइ मेरो दाइसँग कुरो गर्न थाले । बलवीर दाइ बालाई हेर्दै थिए । म भने बाको स्मृतिमा हराएँ । हाम्रा बा बजारमा एउटा सटर भाडामा लिएर लुगा सिलाउने काम गर्थे । बा आज छिट्टै घर आए । उनको हातमा एउटा झोला थियो । आउँदै उनले भने ‘ उजेली ! यो झोलामा के के खानेकुरा छ यसलाई मीठो मसिनो बनाएर पका । आज दर खाने दिन रे । के गर्छेस् बाबै ? बाहुन कै छोरोसँग बिहे गरेकी भए तेरा दाइ भाइ तँलाई लिन आउँथे होलान् । तँ खुसी हुँदै माइत जान्थिस् होला । आमाले पकाएको मीठो दर खान्थिस् होला । माइत भनेपछि स्वास्नी मान्छेहरू बुटो पनि नाघ्दै हिँड्छन् भनेको सुनेको हुँ । उनी चुप लागे ।

आज कान्छी बाहुनी बज्जैको घरमा गएँ । बज्जैले किन आइस् ठूले भनेर सोधिन् । मैले भनेँ ‘कान्छी बाहुनी बज्जैलाई एउटा कुरो सोधुँ भनेर नि ! घरमा चार महिना अगाडि छोरोले बाहुनी बुहारी ल्याएको छ । आज दर खाने दिन रहेछ । बुहारीलाई खल्लो नहोस् भनेर सोध्न आएको नि ! साँच्चै बाहुनको घरमा दर भनेर केके खान्छन् बज्यै ? आफू त दमाइ परियो । यसको बारेमा म के जान्नुँ ?’
बज्जैले हाँस्दै भनिन् ‘ ए ! बुहारीको मायाले पो मसम्म डोर्याएछ त । एकछिन पख है , म आईहालेँ ।’ उनी घरभित्र पसिन् । हातमा सानोसानो प्लास्टिकको झोला लिएर बाहिर आइन् । ‘ तिम्री बुहारीको यो पहिलो तीज हो । उसले पनि के जानेकी होली र ?’, उनले झोलाबाट एउटा पोको झिकेर बेलिबिस्तार लगाउँदै भनिन् । यो मसिनो अन्तीको चामल हो । एउटा मग अघि सार्दै यो दूध उमालेर यसैमा यो चामल हालेर खीर पका भन्नू । यो मिस्रीको एउटा डल्लो दुई गिलास पानी हालेर उमाल्न लगाउनू । त्यसमा अलिकति मरिचको धूलो पनि हाल्नु । पानी उम्लिएर एक गिलास जति भएपछि कागती निचोरेर खा भन्नू । भरे सुत्ने बेला एक गिलास र भोलि बेलुका एक गिलास । अनि बज्जैले यो भोलि नुहाएर लगाउनु भनेर रातो सारी पनि पठाएकी छन् । ’

बेलुका सुत्नुभन्दा एकछिन अगाडि पनि बाले ल्याइदिएको रातो सारी काँधमा हाल्दै ऐना हेर्दै थिई । बिचरी ! अब कहिल्यै रमाइलो मानेर तीज मनाउली त ?

 

उजेलीले पुलुक्क सारी हेरी अनि मुसुक्क हाँसी । उसको अनुहार खुसीले धपक्क बल्यो । उसले फुर्तिलो भएर खाना पकाई । तरकारीको जोहो पनि राम्रै गरेकी रहिछ । काक्राको अचार पनि बनाइछ । भातसँगै बटुकोमा हामीलाई पनि खिर पस्किदिई । मलाई खिर भनेपछि असाध्यै मन पर्ने , मैले त भात खानुभन्दा पहिली नै खिर सक्काएँ । उजेलीले मेरो खाली बटुकोतिर एक डाडु खीर अघि बढाई । बाले हातले छेक्दै भने ‘ ए ए के गरेको त्यो ? भाँडोमा खीर छ कि छैन ? बुहारीको पर्व हो उसलाई छ कि छैन हेर्नु पर्दैन ? स्वाँठ !’, बा एकछिन अडिएर फेरि बोले ’ के गर्छेस् बुहारी ? तेरी सासु भएकी भए पनि त तेरो ख्याल गर्थी होली । यसलाई त केही पनि थाह छैन । कसरी पो व्यवहार गरौला ?’ उनको अनुहार मलिन देखियो । मलाई पनि आफ्नो नादानी प्रति दुःख लाग्यो । मैले मेरी स्वास्नीको बारेमा केही सोचिनँ । मेरा बालाई भने बुहारीको कत्रो चिन्ता ? मेरा आँखा भरिए । मैले बालाई पुलुक्क हेरेँ ।

घनश्याम मुखियाले उजेलीलाई बोलाए ‘ उजेली ! तेरा माइतीका मान्छे आएका थिए रे ? उनीहरुले नै तेरो ससुरा र जेठाजुलाई मरणान्त हुन्जेल कुटेछन् । तैँले त चिनिस् होला , को को थिए हँ ?’, उजेली अक्कनबक परेर बसी । उसको मुखबाट एक शब्द निस्किएन । मैले उसलाई हेरेँ । ऊ अझै थरथर काँपिरहेकी थिई । आँसु र सिङ्गान सराबरी बनाउँदै रोइरहेकी थिई । मेरो मन फेरि उसको मायामा पग्लियो । मेरो छातीमा भक्कानो छुट्यो । मैले ऊतिर हात लम्काएँ तर उसलाई नछोइ आफ्ना हात फिर्ता ल्याएँ । ऊ मेरै छेउमा त थिई तर मैले उसलाई छातीमा च्यापेर माया देखाउन सकिनँ । बेलुका सुत्नुभन्दा एकछिन अगाडि पनि बाले ल्याइदिएको रातो सारी काँधमा हाल्दै ऐना हेर्दै थिई । बिचरी ! अब कहिल्यै रमाइलो मानेर तीज मनाउली त ? बाहुनकी छोरी बिहे गरेर पापै गरेकी के हो ? मैले त भनेकै थिएँ ‘ समाजले अछुत बनाएको हामीलाई तैँले सधैँभरि सम्मान दिन सक्लिस् उजेली ?’, भो छोड्दे हामी बिहे नगरौँ । तँ आफ्नै जातमा बिहे गर् । तेरो खुसी हेरेर नै म खुसी हौँला । ’ उसले मलाई हेर्दै भनेकी थिई ‘ ठीक छ म आफ्नै जातमा बिहे गरौँला । बाहिर हाँसेर पनि बाँचौँला तर मेरो बारेमा सोचेका छौ तिमीले ? म त्यो आफ्नो जातको भनौदोसँग कहिल्यै आफ्नो तन मन साट्न सकौँला ? उसले मलाई गिजोली रहदाँ म भने तिम्रो यादमा आवाज नलिकाली आँखाबाट सहस्रधारा आँसु बगाउदै कति रात जीवित रहुँला र प्रत्येक रात मरेर कसका लागि बाचौँला ? हो म उसकी छोरा छोरीकी आमा त बनुँला उनीहरू कै लागि बाँचुला तर पनि के साँच्चिकै म बाँचे कै छु भनेर तिमी पनि मान्न सकौला ?’

गड्याम ! गड्याम ! गड्याम ! बुट बजेको आवाज आयो । मैले आवाज आएतिर नजर फर्काएँ । पाँच सातजना प्रहरी आएका रहेछन् । आँगनमा उभिएका छिमेकीले बाटो छोडिदिए । घनश्याम मुखियाले असइलाई घटनाको बारेमा जानकारी गराए । अरु प्रहरीहरू बाको वरिपरि अवलोकन गर्न थाले ।

‘ उजेली को हो ?’, असइले निकै ठूलो गर्जनमा सोधे । उजेलीले फेरि मेरो पाखुरो समाई ।

‘यो हो साप मेरी पत्नी उजेली ।’, मैले उजेलीतिर देखाउँदै भनेँ ।

‘राति को को आएका थिए ?’, असईले उसरी नै सोधे ।

(’…………..’ उजेली चुपचाप बसी ।

असइले लठ्ठीको सहायताले उजेलीको चिउँडोलाई माथि उठाए अनि जोडसँग कड्किए ‘बोल्ने मुख छैन ?’

‘साप हामी कोठैमा थियौँ । को को आए हामी दुबैले देखेनौँ ।’, मैले अगाडि सरेर जवाफ दिएँ ।

‘आँगनमा बा र दाइले कुटाइ खाइरहँदा तिमीहरू चाहिँ कोठैमा ? के के गर्दै थियौ हँ ? हद हुन्छ नि !’, फिस्स हाँस्दै असइले कर्के आँखाले उजेलीलाई माथिदेखि तलसम्म हेरे ।

फेरि असई दाइतिर फर्किए । ‘ तिमीमाथि कसले प्रहार गर्यो ? कसैलाई चिन्छौ?’

‘ ल अब पोष्टमार्टमको लागि लास उठाओ केटा हो ! ’, असइले प्रहरीहरूलाई आदेश दिए ।

 

‘बाको आत्तिएको आवाज सुनेर म बाहिर निस्किएँ । बा भुइँमा लडी सकेका थिए । तर पनि उनलाई दुईजनाले प्रहार गर्दै थिए । म बातिर दौडिएँ । मलाई देख्नासाथ एउटाले भन्यो यही होला । यो दमाईलाई जिउँदो छोड्नु हुदैन । अर्कोले थप्यो बाहुनकी छोरी बिगार्ने डुम्रोलाई मार ! मैले केही बोल्नै नपाई ममाथि दुई तीनजना आई लागे ।’, दाईले बिस्तारमा सुनाए ।

‘जम्मा कतिजना थिए ?’

‘एकिन त छैन । सायद छ सात जना थिए । दुई जना पिढीमा यहाँनिर उभिएका थिए । दुई तीनजना आँगनमा र दुईजना ऊ त्यहाँ बाटोमा उभिएका थिए । दाइले इशारा गर्दै हातले देखायो ।

‘ कसैले कसैलाई नामले बोलाएको थियो कि ?’

दाइले एकछिन सम्झियो ‘अहँ नामले बोलाएनन् ।’

‘कसमाथि शंका छ ?’

‘कुराको छाँटले त उजेली कै माइतीका मान्छे हुनुपर्छ ।’

‘ कसैको हुलिया याद छ ?’

‘आत्तिएको बेला प्रष्ट हुलिया, याद छैन साप ।’

फेरि असई मुखिया बासँगै कुरा गर्न थाले । कोही प्रहरीहरू बा कै वरिपरि उभिएका छिमेकीहरूसँग सोधपुछ गर्न थाले भने कोही बाको फोटो खिच्न थाले । मैले पुलुक्क पूर्व क्षितिजमा आँखा पुयाएँ । मिर्मिरे उज्यालोलाई चिर्दै बाल सूर्य चञ्चल बनेर धरतीतिर चिहाउँदै थिए । सूर्यका कलिला गुलाबी आभाले डाँडालाई स्पर्श गरी सकेका थिए । बिहानीको सिर्सिर हावा चलिरहेको थियो । आँगनको डिलमा भएको बकैनाको हाँगामा पन्छीहरू रमाउँदै चिरबिर चिरबिर गर्दै पखेटा फट्फटाउँदै थिए ।

‘ ल अब पोष्टमार्टमको लागि लास उठाओ केटा हो ! ’, असइले प्रहरीहरूलाई आदेश दिए ।

‘हँ …! ला…स !’, म झसङ्ग भएँ । मैले बालाई हेरेँ । उनको अनुहार डम्डम्ती सुन्निएको थियो । उनको च्यातिएको कमिजबाट बगेको रगतले धरतीलाई सिँचित गरिसकेको थियो । उनको शरीर रगतको आहालमा पौडी खेलिरहेको थियो । बिहानीको सूर्यको किरणले रगतलाई अझ गाढा र चम्किलो बनाएको थियो । बाको विभत्स रुप र डरलाग्दो मृत्यु देखेर म डाको छोडेर रुन थालेँ । मसँगसँगै उजेली र दाइ पनि उसरी नै डाको छोडे तर मेरा बालाई हाम्रो रुवाइले कुनै असर गरेन । उनी धरतीमा रगतको रातो तन्ना ओछ्याएर अछुतको खोल ओढेर चीर निद्रामा आरामले निदाइरहे ।