जे भयो ठीकै भयो, जे हुँदैछ ठीकै हुँदैछ र जे हुनेछ त्यो पनि ठीकै हुनेछ । यो सार हो गीताको । जसरी पढ्यो त्यसरी बुझ्न सकिने । जसले जति अनुभूति गर्नसक्यो त्यति नै धेरै थाहा पाउने । इनारजस्तो जति खन्यो त्यति गहिरो हुने ।

चित्त बुझाउनु मान्छेको विशिष्ट गुण हो । जानेर आफ्नो आँखामा कसैले मोतिबिन्दु रोपाइँ गर्दैन । मान्छे सकुन्जेल आँखामा नै फुल्न खोज्छन् । आँखामा पौडिन कोही चाहँदैनन् । क्षितिज देखिनासाथ यात्रामा पूर्णबिराम लगाउँदैनन्, कसैले पनि । तर उज्यालोसँग हिँड्दा पनि लडिन्छ कतिपटक । परीक्षा दिएकै भरमा सबै सफल हुँदैनन् । गन्तव्य निश्चित भएरै पनि बिथोलिन्छन् बटुवाहरु । हतियार बोकेकै भरमा शक्तिशाली कोही हुँदैनन् । वैद्य र डाक्टरसँग रोगको साक्षात्कार हुन नहुने कुनै लिखत छैन । निश्चित भएर हिँंड्नसक्ने मान्छेको कुनै जात छैन । । तर पनि प्राप्ति, खुसी र सुखका लागि अनवरत सङ्घर्षरत छन् मान्छेहरु ।

मानव नियतिहरु रहरले र निम्तो बाँडेर आउँदैनन् । वाध्यताको ताल्चा बन्द भएपछि साँचो नपाउन्जेल कोठामा थुनिनै पर्छ । सहनु र स्वीकार गर्नु पराजयको धर्म नै त हो । घाउ नहुनु बेस तर घाउ लागिसकेपछि पुरिन धेरै थोरै समय लाग्छ नै । यो समयको क्षणलाई धैर्य गर्न सक्नुपर्छ । यही शालीनताको पाठलाई गहिरिएर भनेकोजस्तो लाग्छ गीताले ।

सानो घाउमा नचिच्याऊ ।

सानो हुरीसँग नबहकिऊ ।

अलिकति काँडासँग नडराऊ ।

अप्ठेरोहरुसँग नआत्तिऊ ।

यी सब परीक्षा हुन् जीवनयात्राका । त्यसैले नै भनिएका होलान् – हिजो गरेको गल्तीको पश्चाताप गरेर समयलाई नदी बनाउनु हुँदैन । अप्रिय कुनै घटना घटेको भए पनि त्यसको दुःखमा आहाल बसेर आँसुको मूल सुकाउनु हुँदैन । व्यतीत दिनहरुभन्दा बिताउनुपर्ने दिनहरु आकाशजस्तो ठूलो र सफा हुन्छ । समयमाथि असिना पार्नुभन्दा अझ धारिलो पार्नका लागि भनेको होला– गीताले नै जे भयो ठीकै भयो ।

भोलिका लागि पछाडि फर्कनु दुर्घटनालाई काखमा राख्नुजस्तै हो । आजको थकाइले भोलि अगाडि बढ्छ भन्ने कुनै नजिर छैन । भोलि हिँंड्नका लागि आजै खन्नुपर्छ बाटो । हीनता र दुःखमा भिजिरहने हो भने घामको आशा गर्नुको औचित्य रहँदैन । त्यसैले उत्साहको स्रोत बनेको छ गीता –आज जे हुँदैछ ठीकै हुँदैछ, भोलि जे हुनेछ राम्रै हुनेछ ।

यी पुराण मान्यतालाई पश्चिमी विज्ञानले कहिले पछाडि पार्नसकेका छैनन् । दूरदृष्टि र ज्ञानले लफ्रक्कै भिजेका छन् पूर्वीय शब्द–शब्दहरु । यत्ति हो कि हामी हलुको स्वीकार गर्दछाैँ गहुङ्गो छ कि भनेर जाँच्दैनाैँ । पढेका कुराको जोड, घटाउ, गुणन गर्दैनाैँ । त्यसैले दुर्लभ बनेका छन् हाम्रा महान् शास्त्रहरु ।

जे भयो ठीकै भयो भन्ने प्रचलन जिउँदैछ । यो गीताको प्रभावबाहेक सान्त्वना र औपचारिक भएर पनि हुनसक्छ ।

घटना बाइस वर्षअघि पुसको अन्त्यतिरको हो । म कुमारी सिनेपत्रिकाको लागि नायिका गौरी मल्लसँग अन्तर्वार्ता लिन बाँसबारी गएको थिएँ । फर्कँदा कलाकार वीरेन्द्रप्रतापको निर्माणाधीन घर हेर्न गएको थिएँ । त्यहीबेलामा म घरमाथिबाट सडकमा नराम्रोसँग पछारिएँ । शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरेर घर फर्किएँ । सद्धे निस्केको मान्छे दुर्घटनाग्रस्त भएर फर्किएको थिएँ ।

के गर्नु ? दैलो नाघेपछि ढुक्क हुने कुनै ठाउँ छैन अहिले । जतासुकै अदृश्य डरलाग्दा सम्भावनाहरु मडारिरहेका छन् । जस्तोसुकै सम्भावनालाई पनि हत्केलामा राखेर हिँंड्नुपर्छ । त्यसो त मान्छे संसारको जस्तोसुकै ओढारभित्र लुकेर बसे पनि सुरक्षा र असम्भवको गोरेटोमा हिँंडिरहन कहिल्यै सकिँदैन ।

दुर्घटनाले मेरो दाहिने हातलाई पूरापूर डेढ महिना घाइते बनायो । कलमलाई हलो बनाएर खेती गर्नुपर्ने दाहिने हात प्रयोगहीन भएको पीडा कसलाई भन्न सक्थेँ म ! डेढ महिना डेढ वर्ष नै बने मेरा लागि । फरकफरक मित्रहरुका समान प्रश्न हुन्थे, कहाँ ? कहिले ? कसरी ? अरु बढी त केही भएन ? धन्य ठीकै भएछ । यस्ता औपचारिकताले म थाक्नसम्म थाकेको थिएँ । मैले खप्नुपरेको पीडालाई सामान्यीकरण गर्थे र बढी भयावह नभएकोमा खुसी प्रकट गर्थे मेरा मित्र र शुभचिन्तकहरु ।

मलाई लाग्यो, यदि मेरो हात ठनक्कै भाँचिएको भए भित्री अङ्गमा केही नभएकोमा ठीकैे भएको आशय प्रकट गर्थे निकटस्थहरु । यदि थिलोथिलो भएर अस्पतालमा इन्तु न चिन्तु अवस्थामा भएको भए पनि शीघ्र स्वास्थ्य लाभका कामना गर्न आउनेहरुले सहानुभूतिपूर्वक अवश्य भन्थेंँ – आत्तिनु पर्दैन, जे भयो ठीकै भयो, धन्य भगवान्ले हात थापिदिएछन् । संयोगले त्यही दुर्घटनामा मेरो मृत्यु नै भएको भए पनि परिवारलाई सान्त्वना दिन अवश्य भन्ने नै थिए – हुने कुरा भइसक्यो । पीर गरेर केही हुँदैन । राम्रो मान्छेलाई भगवान्ले पनि छिट्टै मन पराउँछन् । र, तिथि पला राम्रो जुरेको देखाउँदै मृत्यु राम्रो दिन भएकोमा जोड दिन्थे । कोहीले त धेरै बाँचेर केही गर्न नसक्नुभन्दा यो उमेरमा उसले धेरै गरेर गएको छ । उसको जीवन सार्थक भएको छ भनेर मरेको नै ठीक भएको वकालत गर्न पनि पछि पर्दैन थिए । सन्दर्भ मेरा भए पनि सबैका सत्य हुन् ।

यसरी हामी सबै अरुका लागि मात्र औपचारिक जीवन बाँचिरहेका छाैँ ।

मान्छे भएको नै सहन र सान्त्वना दिन त हैन ? सहनशीलताका सगरमाथाभन्दा अग्ला शिखर उक्लन सकेकाले नै मान्छे मान्छेजस्ता बन्न सकेका होलान् । जतिसुकै ठूला र डरलाग्दा घटनाले पुरिँंदा पनि खोस्रोखोस्री निस्किरहेका छन् मान्छेहरु । बाँच्ने लालसाले मान्छे आफै बाँधिरहेका छन् । त्यसैले मान्छे पैतालादेखि तालुसम्मको पीडामा पोतिए पनि सहनसक्छन् । जस्तै दुर्दिनमा पनि मन बुझाउन सक्छन् । बाँच्ने मोहले नै होला जे हुने गरेको छ, भएको छ, ठीकै भएको छ ।
बाँच्नुजस्तो ठूलो मोह अरु केही हुन्नरैछ । मान्छेहरु आफूजस्तै अर्को मान्छेको रगत, मिर्गाैलाहरु किनेर बाँचिरहेका छन् । जीवन किनेर जीवन बाँच्छन् मान्छेहरु । जे जसरी भए पनि आफै बाँच्नुपर्ने मान्यता कति मीठो स्वादका होलान् ? यस्तो अनौठो मातको काउकुती छ मभित्र । आफू जसरी पनि बाँच्नुपर्ने, अरुकाचाहिंँ जे भए पनि ठीकै हुने । यो न्याय हो कि अन्याय ? कहिले बुझौंँला र मैले ?

वास्तवमा जीवनको आफ्नो लय हुन्छ । निश्चित गति हुन्छ । निश्चित गन्तव्य हुन्छ । हतारिएर छिटो हुने, नहतारिए ढिलो हुने हुँदै होइन । जीवनको आफ्नो समय हुन्छ । जसरी सानो विरुवालाई छिटै ठूलो बनाउन धेरै मलजल गरेर सम्भव हुँदैन । त्यसरी नै जीवन अगाडि वा पछाडि धकेलेर घटबढ गर्न सकिँंदैन ।
सबैलाई थाहा भएकै कुरा हो ।

आगोले जतिसुकै ठूलो फुर्ती गरे पनि पानी बन्न सक्दैन ।

पानीले जति नै ठूलो समुद्र बने पनि एक झिल्का आगो निकाल्न सक्दैन ।

खोलालाई कसैले बाटो खनिदिनु पर्दैन ।

मान्छेलाई मान्छेको शिलान्यास गर्न कुनै जमात चाहिँदैन ।

ओठ सिएर र आँखा चलाएर रुन कसैलाई सिकाउन पर्दैन ।

सबैभन्दा ठूलो धैर्य हो । दुःख पचाउन सक्नेका निम्ति असम्भव के नै पो हुन्छ र ?

औपचारिक जागिर मैले ०३८ सालतिर खाएको थिएँ । काम लेखापरीक्षकको सहायक । काठमाडाँ र पाल्पाका विद्यालयहरुमा लेखापरीक्षण गर्नुपर्ने । जागिर र घर छाडेर एक्लो यात्रा पहिलोपटक गरेको थिएँ । एकैपटक दसैँको लागि घर फर्किन लागेको थिएँ घटस्थापनाको दिन । त्यो दिन बिहानदेखि मुसलधारे पानी परिरहेको थियो । आकास नै फुटेर वर्षेकोजस्तो पानी । पानीसँग रुझेरै बस अगाडि बढ्दै थियो सुस्तरी । आधाघन्टा पनि नहुँदै बस रोकियो । सडक पहिरोले थुनिएर पहाड बनेको रहेछ । अगाडिका बाटाहरुमा कतै पुल भाँचिएका रे । कतै कलभर्ट खसेका रे । मौखिक सञ्चार हुनथाल्यो ।

दसैँको मुखमा सबैलाई घर पुग्न हतारो थियो । बाटो नबनुन्जेल कुर्ने हो भने दसैँमा घर पुग्नुसक्ने सम्भावना नै थिएन । त्यसैले हिंँड्नुभन्दा अर्को विकल्प थिएन । म एक्लै फर्किँदै थिएँ । कोही कसैसँग परिचय थिएन मेरो । तर आपद परेपछि सबै एकापसमा परिचितझैँ बन्यौंँ र पाँचजना मिलेर अगाडि बढ्याैँ । हामीले हिँंडेको चौथो दिनमा चरौदी आइपुगेपछि बल्ल ट्रक चढेर काठमाडौंँ पुगेको थिएँ म । त्यो समय बाढी, पैह्रो र मृत्युको समाचारले कोलाहल बनेको थियो । म भने सूचनाहीन भएकोले परिवारलाई पिराउनु र आफू पिरिनुको विकल्प थिएन कुनै ।

पाल्पाबाट हिँडेको पाँचौँ दिन काठमाडौंँ (घर) आइपुग्दा युद्धबाट सकुशल फर्केको योद्धाजस्तो बनेको थिएँ म । इष्टमित्रहरु सहानुभूतिका लागि भेट्न आएका थिए । तर पुष्प दाइले चाहिँं जे भयो ठीकै भयो राम्रो भयो । यस्तो अनुभव पछि रहर गरेर वा पैसाले पाउन सकिँदैन भन्नुभएको थियो । उहाँको कुरा सबैका भन्दा पृथक थियो । अलि खस्रै लागेको थियो त्यतिबेला । तर पछि बुझेँ दाइको गहिरो कुरा । अहिले सोच्छु दाइको भनाइ गीताको सारभन्दा पटक्कै फरक रहेनछ । मेरो लागि मन्त्र बनेको छ दाइ र गीतासार । आजका हरेक घटनाहरु भोलिका लागि अनुभव र उदाहरण नै त हुन् नि ।

सहनु र स्वीकार्नु हाम्रो भाग्य बनिसकेको छ । सपनाको समुद्रमा पौडेर भएका श्रीसम्पत्ति लिलाम गर्छौं हामी । आँखा चिम्लेर पराया देशमा होमिन्छौँं र सपना च्यातिएपछि मोहभङ्ग भएर फर्कन्छौँं । त्यसपछि बल्ल भाग्यलाई दोष लगाउँछौंँ । हत्केलामा ज्यान राखेर परायासँग परायाका लागि लड्ने र बाँचे पेन्सनमा बाँच्ने संस्कृति बनेको छ हाम्रो । यस्तै छौँँ हरेक ठाउँमा हामी ।

अनुभव, उदाहरण, सान्त्वनाभन्दा बढी गीतासार र गीतासारभन्दा बढी मानवीय प्रवृत्ति र परम्परा बनेका छन् । विकासे टुसाजस्ता । भाते युद्धजस्ता । ओइलाएको गुराँसजस्ता । ढाक्रेको बच्चाले आमाको लाम्टा चुस्ताचुस्तै दाम्लो बाँध्न निधारमा तेल ठोक्न मानेजस्ता बनेका छौँ हामी र हाम्रो समाज ।

जे भयो ठीकै भयो, जे हुँदैछ ठीक हुँदैछ र जे हुनेछ त्यो पनि ठीकै हुनेछ । कतै यो मात्र सहने र स्वीकार्ने मनस्थितिहरुको सुरक्षाकवच त हैन ?

(रोदनको पहिलो निबन्धसङ्ग्रह ‘अर्थहीन अर्थहरू’बाट)