‘अँ ! आलु खाएर पनि झाडाबान्ता लाग्छ ! कुरा सुन्दा पनि उदेक लागेर आउँछ !’ झर्केर रमला भन्दै थिइन्, उनले पकाएको आलुको तरकारीलाई मैले ‘नमिठो, खान्नँ’ भने रे भनेर ।
हुन पनि किन–किन सानैदेखि मलाई आलु भनेपछि पटक्कै मन पर्दैन । आलुले स्वास्थ्यलाई खुब फाइदा गर्छ रे ! डाक्टरले पनि मलाई कैयूँपटक ‘आलु खानू’ भनेका थिए । जाँच दिने बेलामा मलाई कसैले त्यसो भनिदिएको भए म साँच्चै आगो भएर रिसाउने थिएँ । किनभने, कसैले पनि मलाई ‘आलु खा’ भन्नासाथ मभित्र अनेकौँ अनिष्ठ शंकाहरू उम्रन र बढ्न लाग्दछन् । परीक्षाफल प्रकाशित भएको बेलामा आलु कैयौँले खाएको देखेको छु, सुनेको छु । यति मात्र कहाँ हो र ‘फलानो त मरेछन्’ भन्दा पनि ‘फलानोले आलु खाएछन्’ नै भन्ने गर्दछन् । त्यस्तो अनिष्टबोधक आलुको तरकारी कसरी मन परोस् त ! त्यसैले आलु फलेको मात्र मन पर्दछ मलाई, खाएको होइन ।
आलुको शब्दार्थ जतिसुकै अनिष्टसूचक भए तापनि आलुकै स्वाद लिएर आलु खान पाएको भए त सायद आलु त्यति नमिठो हुँदैनथ्यो होला । तर, आजको आधुनिक जमानाले आलुको समेत रङ, रूप र धर्ममा परिवर्तन गरी आधुनिकीकरण गरिसकेको छ । घिउमा तारेपछि, सुरुवा बनाएपछि, खुर्सानीको धुलो र मसलामा रंगाएपछि आलुको स्वाद कसरी आलुकै जस्तो होला ? नुन–मसलाले आत्मासम्म रंगाएर रमलाले पकाएको त्योे आलुको तरकारी अत्याधुनिक देखिए तापनि वाक्कै आउने थियो ।
कुनै पनि वस्तु होओस् अथवा बुद्धि, त्यो जति काँचो भयो, उति त्यसको महत्त्व बढी हुन्छ । त्यसैले त काँचो आलुको जति खपत हुन्छ, उति पकाएको आलुको हुँदैन । काँचो आलुलाई जहिले जे बनाऊँ भने पनि हुन्छ, पाकेको आलुचाहिँ चाँडै नै गह्नाउँछ । त्यसैले जसले आफूलाई काँचो राखेको छ, तिनको ठूलो माग छ, इज्जत छ, मान छ, शान छ, मर्यादा छ । तर, जसले आफूलाई पकाएका छन्, तीचाहिँ कि त सड्दै छन् कि भने सडिसके ।
परिस्थितिले खाएको जात–बिजातको आलु खाँदा–खाँदा मलाई आलुअजीर्ण भइसकेको छ । मलाई आलु मन पर्दैन, तर पनि खानैपर्छ भने पनि काँचो आलु नै मनपर्दछ । किनभने, काँचोलाई आफ्नो इच्छानुकूल मौलिक परिकार बनाएर खान सकिन्छ । आफूले चिताएजस्तो बनाउन नसकिने कुनै पनि चिज मलाई मन पर्दैन । काँचोलाई पकाएर धेरै थोक बनाउन सकिन्छ । तर, पाकिसकेकोलाई फेरि कसरी पकाउने र के बनाउने ? फेरि, पाकेपछि आलु असाध्यै चाँडै सड्छ र गह्नाउन लाग्दछ ।
मलाई कहिल्यै आलु खान नपरोस् भन्ने चाहना छ । तर, के गर्नु ? चाहेको कुरा नपुग्ने रहेछ । मेरा पिता–माता तथा घरका ६–७ जना महत्त्वपूर्ण सबै सदस्यहरूले हामी दुई भाइलाई बालककालमै छाडेर जीवनका अन्तिम आलु खाइदिए । तत्पश्चात् मेरो जीवन आलुजस्तै काटिन, ताछिन, छोडाइन र वैर्याइन लाग्यो । मेरो प्रत्येक उँभो लाग्ने प्रयास र परिश्रमको प्रतिफलमा आलु–आलु प्राप्त हुन लाग्यो । आफ्ना दौँतरी सबैका हातमा बनारसी लड्डु देख्दथेँ आफ्नो हातमा भने सधैँ चाउरिएको आलु मात्र ।
हुन त आफ्नो सम्पूर्ण विद्यार्थी जीवनमा मलाई कहिल्यै आलु खानु परेन तर पनि आफ्नो जागिरको लामो अवधिभरि आलु नै आलु खान परिरहेको हुँदा अब त आलुअजीर्ण यति बढिसक्यो कि यही अजीर्णले नै जीवनको अन्तिम आलु खाइदिने हो कि भन्ने डर लाग्न थालिसक्यो । बिचरी ! भान्छाअजीर्णले ग्रस्त मेरी श्रीमती रमलालाई यो कुरा के थाहा ? आलुलाई म कति घृणा गर्छु भन्ने कुरा उनले कसरी बुझून ?
कन्दमूलहरूमा आलुले आदिम कालदेखि नै सर्वाधिक प्रशंसा, प्रियता र मान्यता पाउँदै आएको छ । पाश्चात्य संसारमा केही देशले त वर्षैभरि हामीले भात खाएझैँ आलु खाने गर्दछन् र त्यहाँका मानिस आलुलाई हिउँले पुरेको जमिनमुनि भकारीका भकारी बनाएर हामीले धान राखे झैँ राख्दछन् ।
तर, के अन्तर्राष्ट्रिय मान्यता पाएका सबै खानेकुरा मलाई पनि मिठो लाग्नैपर्छ भन्ने छ र ? आलु भन्नासाथ मेरो जिउ नै ढक्क भएर फुल्दछ । अस्ति म बाहिर निस्कनै आँटेको बेलामा मेरो छोरो रविनले ‘ठूल्दाइ हेमले त आलु खाएछ’ भनेको थियो । दिनभर त्यो कुसमाचार मभित्र मडारिइरह्यो । यस्तो लायकको नवयुवक च्व ! अस्ति बिरामी छन् भन्ने सुन्दा मभित्र विधिको राजनीतिप्रति विद्रोहका भावना जाग्रत हुन लाग्यो । तर, बेलुका घर फर्केपछि कुरा खुल्यो, उसले त परीक्षाफलमा पो आलु खाएको रहेछ । मलाई पनि मेरो पिताजी ‘जाँचमा आलु खालास्’ भन्दै चेतावनी दिनुहुन्थ्यो र म पनि आफ्नो छोरालाई ‘जाँचमा आलु खानुपर्ला होस गर’ भन्ने गर्दछु ।
जाँचले आलु खानु, जागिरले आलु खानु, स्वास्थ्यले आलु खानु, जीवनले नै आलु खानु यी सबै आलुको खवाइलाई मैले सानैदेखि विष–भाङको रूपमा घृणा गर्दै आएको छु । म सारसउँदो जिउँदो मान्छेले मन नै परे पनि किन त्यस्तो अलच्छिनी आलु खानु जानी जानीकन ? त्यसैले म श्रीमतीसँग हात जोडेर निवेदन गर्दथेँ, ‘मलाई आलु नख्वाऊ’ भनेर ।
मैले त आजसम्म फुक्ने खटिरो फुलेजस्तो चिल्लो भोटे आलु, रातो आलु, सेतो आलु, किरकौँले आलु, बूढाको गाला झैँ चाउरिएको आलु आदि–आदि आलुका भौतिक रूपहरूलाई मात्रै आलु भन्ठानेको थिएँ । तर, आफ्नो लामो जागिरे जिन्दगीभरि जब मैले थुप्रा अमूर्त आलुका परिकार खानुपर्यो अनि त मलाई पक्का भयो, आलुको आन्तर रूप पनि हुँदोरहेछ । आलुको बाह्य रूप जति सलसलाउँदो चिल्लो चाप्लो देखिन्छ, त्यसको भित्री रूप त्यति नै धोकेबाज, घातक, अविश्वासिलो र उल्टो परिणामदायी हुनेरहेछ । कर्म खोज्छु, ऊ अकर्म दिन्छ । म फल खोज्दछु, ऊ विफलता दिन्छ । म अगाडि बढ्छु, ऊ पछाडि धकेल्छ । म शिक्षोपार्जन गरेर ज्योतिर्मय बन्न खोज्दछु, ऊ अशिक्षित तुल्याउँछ । त्यसको बाह्य रूप अमृतालु र मायालु देखिए तापनि आन्तर रूपचाहिँ साहै्र विषालु हुँदोरहेछ । यतिसम्म कि जीवनभरि आलुलाई नै प्राणपोषक बनाउने पश्चिमी देशका आलुभक्तहरूलाई समेत यो आलुले धोका दिन छाडेको छैन । त्यहाँका विद्वान भनिएका जनता भने आफ्ना सबै दुर्भाग्यका कारण कुराजनीति र कुपरिस्थिति भन्ने गर्दछन् । तर, त्यो सबै ईश्वरले बमगोलाको रूपमा रचना गरेको अमूर्त आलुको कुकरामतले गर्दा हो भन्ने कुरा ती बिचराहरूले आजसम्म बुझ्न सकेका छैनन् । प्राचीनकालदेखि आधुनिक समयसम्ममै अकालमा आलु खाने महानुभावहरूको संख्या ज्यामितिको क्रममा बढ्दै गइरहेको छ । अस्ति मात्र इन्दिरा गान्धीले पनि आलु खाइन् रे ! गोलीको रूपमा । संसारका कत्रा–कत्रा देशले नै आलु खाइसके । कति देशमा राजनीति, अर्थनीति, शिक्षानीति, धर्मनीति, नैतिकता, मानवता आदि–आदि सभ्य संसारका सभ्यनीतिले त आलु खाइसके भने मजस्तो भारेभुरेले बाँच्नेक्रममा खानुपरेको खिर्याउने आलुको के महत्त्व ?
हुन त ‘फलानोको तालुमा आलु फलेछ’ भनेर आलुलाई भाग्यको प्रतीक नै मानेको पनि देखिन्छ तर पनि यसको गुह्य अर्थ भने फेरि आलुजस्तै विषालु नै छ । एउटा कुरा त आलु मलिलो ठाउँमा मात्र मौलाउँछ । जसको तालुमा मल हुन्छ, त्यसैको तालुमा मात्रै आलु फल्दछ । परिष्कृत मगज भएको तालुमा कहिल्यै आलु फल्दैन । फेरि, त्यसरी फलेको आलुले त कर्मबिनाको फलप्राप्ति भन्ने बुझाउँदछ । टाउकाको आकार नै हुबहु आलुको जस्तै हुन्छ, त्यसमाथि तालुको रुपरङ त झन् काटीकुटी आलुसँगै मिल्दछ । तालुको तुलना धेरैजसो आलुसँगै गर्ने गरिएको छ ।
यी सबै कारणले गर्दा मेरो अन्तर्व्यवस्थालाई राम्रैसँग बुझेकी मेरी श्रीमती र ईश्वरसँग म सधैँ हात जोडेर प्रार्थना गर्दछु रमला ! मलाई आलु नख्वाऊ, ‘हे ईश्वर ! मेरो तालुमा कहिल्यै आलु नफलाऊ ।’
(‘अन्तर–तरंग’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










