माधव पोखरेल गोज्याङ्ग्रे

कोशी प्रदेश संयोजक: माधव पोखरेल गोज्याङ्ग्रे

आमा

उद्धव घिमिरे

छन्द: शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

उद्धव घिमिरे

आमा स्वर्ग समान जन्म धरणी आमा उनै आरती
आमा पण दिने अनन्त जननी आमा उनै भारती
आमा फूल चढाउने भगवती गौरी उनै पार्वती
आमा स्वच्छ हिमाल खोंच पहरा देख्दा झनै उर्वशी ।

आमा मूल रसाउने वदनकी गङ्गा अझै सागर
आमा कै रसमा पियूष भरिने बाँच्ने कला जाँगर
आमा फूल गुराँसकी वनभरी राता पहाडी वन
आमा स्वेत धरा सुगन्ध लहरा अल्झाउने यो मन ।

आमा उच्च हिमालको लहरमा सीमा कुरेरै बसी
सेताम्मे चुचुरा छ भेष उनको जम्मै खरानी घसी
आमा दीप्त बिहान खुल्छ जगमा राजी हुँदा चाँदनी
आमा सेतु बनेर शान्ति गरिमा माधुर्यकी आँगनी ।

आमा प्रेम बिहार पुञ्ज मनकी आमा तिमी माधुरी
मीठा धून सितार गीत लयकी खानी तिमी बाँसुरी
बग्ने छङ्छङ हौ मुहार हँसिलो मेची र काली बनी
आमा नै सवथोक देश धरती कादम्बरी माधवी ।

शिल्प

जीवन हरि शर्मा

छन्द- स्रग्विणी
गण :र र र र
विश्राम: तीन र छ अक्षरमा

जीवन हरि शर्मा

चेतना ज्ञानको बुद्धिको ध्यानको
सभ्यता आजको सोच सत्भावको
अर्थ हो व्यर्थको स्वार्थ यो सर्तको
शिल्प सौभाग्य हो जिन्दगी तर्कको ।

मोह हो दुःखको मार्ग लामो छ यो
मर्ममा कर्मको भेल बाढी चल्यो
सत्यका दीपले ज्योति बाली दियो
शिल्प संसारको भाग्यशाली भयो ।

साँच सद्भावना व्यक्तिले पासमा
त्याग दारिद्र्यता के बसौँ आसमा
देशको माझमा छैन के साथमा
शिल्प आफ्नू भए योग्यता माथमा ।

विश्वमा के भयो सोच नै बेसरी
व्योममा बेगले उड्छ झन् त्यो चरी
कामको मूल्य हो मान सम्मान त्यो
शिल्प सम्भावना स्वर्गको द्वार हो ।

बस्छ आचारमा आयुरारोग्य होस्
जिन्दगी फूलझैँ फुल्न योग्य होस्
जीवमा सभ्य यो अग्रणी आजको
शिल्प सौदामिनी दीप होस् साँझको ।

भोलि भाका कुनै हुन्छ गल्ती ठुलो
योग्यताले सधैँ बाल्छ नित्य चुलो
दान दातव्यमा देवको अंश छ
शिल्प साथी भए जीवनी सञ्च छ ।

छन् यहाँ

विन्दु दहाल मूकदर्शक

छन्द: शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

विन्दु दहाल मूकदर्शक

आमाको पसिना तथा खुन पिई बाँच्नेहरू छन् यहाँ
मर्दा यी जनता मुसुक्क मनले हाँस्नेहरू छन् यहाँ
माटोसम्म भुली विदेशतिर पो जानेहरू छन् यहाँ
बेची ताल धरा हिरा र सरिता खानेहरू छन् यहाँ ।

भ्रष्टाचार गरी सधैँ रकममा सुत्नेहरू छन् यहाँ
दैलो वा सिकुवा र आँगनतिरै चुठ्नेहरू छन् यहाँ
काट्टो खान खुसुक्क राति जहिले उठ्नेहरू छन् यहाँ
हत्यारा जति छन् निकाल्न बलले जुट्नेहरू छन् यहाँ ।

झण्डाको महिमा महत्त्व गरिमा भुल्नेहरू छन् यहाँ
पानीभित्र चिनी तुरुन्त जसरी घुल्नेहरू छन् यहाँ
नेपाली युवती युवा मुलुकका बेच्नेहरू छन् यहाँ
आफ्नै बन्धु भनी ठगी पर लगी रेट्नेहरू छन् यहाँ ।

आफू मात्र ठुलो भनी गफ चुटी ठग्नेहरू छन् यहाँ
खोलाको जल झैँ सधैँ जिरहमा बग्नेहरू छन् यहाँ
नातावाद चलाउँदै भुवनमा नाच्नेहरू छन् यहाँ
फोस्रा धाक रवाफका गिरिहरू साँच्नेहरू छन् यहाँ ।

झुट्टा भाषणका पुराण जहिले बाच्नेहरू छन् यहाँ
सोझाको जिउडाल गर्दन सधैँ भाँच्नेहरू छन् यहाँ
आफ्नो बर्कतको हिसाब नगरी बोल्नेहरू छन् यहाँ
सिस्नोझैँ मुटु च्वास्स च्वास्स जहिले पोल्नेहरू छन् यहाँ ।

दमक- ८,झापा

काव्यको फाँट भर्न

हरिशरण खतिवडा

छन्द:मन्दाक्रान्ता
गण:: म भ न त त गु गु
विश्राम: चौथो र दसौंमा

हरिशरण खतिवडा

आऊ प्यारा कविमन यहाँ काव्यको फाँट भर्न
आफ्नै नौलो सृजन सरिता छालमा पार तर्न
छट्पट्टिन्छौ उपर नभमा सिर्जना तिर्सनामा
प्यारो साथी कलम छ तिखो काव्यको सिर्जनामा।

सिर्जी पोखी मधुमय कला कल्पनाको बहार
नेपालीको मन मुटु छुने शैलको नव्य धार
झुल्छौ भित्रै प्रकृति सुषमा भव्य संसार तिम्रो
को भन्देला विरहपलको दर्द खोलेर हाम्रो।

रुन्छे तिम्रो विरहपलमा किन्नरी पौडिएर
खोस्छे प्यारो कलम रसिलो मालती दौडिएर
झेल्दै होला व्यथित मनको मङ्गले तिर्सनामा
काली गङ्गा छलल वहने काव्यको सिर्जनामा।

देशै डुब्ने भय अति भयो राजराजेश्वरीमा
च्याई हेर्छिन् कविकुल गुरो लुप्त छौ यो धरामा
चिन्ता गाढा सरल मनले मङ्गले पोख्न देला !
ए!लेकाली भनन कहिले ज्ञान झुल्किन्छ होला!।

काली गङ्गा बगरपथमा लोक भाका सुसेली
गुर्सेनीले कुसुम कलिलो केशमा जेल्दि होली
बुन्दै खिप्तै अनवरत यो देशको दिव्य हार
आऊ हाम्रा कवि मन उँचो काव्यका शिल्पकार।

वासन्तीको वास्ना

ज्वालाप्रसाद भट्टराई

छन्द: शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

ज्वालाप्रसाद भट्टराई

वासन्ती जगमा जगाउँछ भने वास्ना उसै गम्किने
नाना फूल रमाउँदै सुरसिलो कावा हुँदै हम्किने
नौला ती मुजुरा रँगी हरितमा रङ्गी वसन्तै बनी
धाँजा मेट्न धरा पखाल्न कचडा वर्षात आशा गरी ।

पाखाकी झरनी बनी रुपमती मन्दारमा मन्द छिन्
सुस्तै सुस्त गरी होला पवनमा वर्षात बोलाउँछिन्
स्वीकारी यसरी युवा वय हुँदै वर्षात टिठ्याउँछ
आहा! क्या भनि हेर्छ लिन्छ मनमा आल्हाद मिठ्याउँछ ।

पारी शान्ति मिठो अहा! विपिनमा बाँसुरीको धून छ
वर्षाकै जरुरी धरा वदनमा संसार नै स्वर्ग छ
वासन्ती झरना शुडोल तरुणी नुहाउँदै पिङ्गला
श्वैता चर्म कला अहा! कुहिनुरा आश्चर्यका मृङ्दुला ।

खुल्ला आँङ भरी सजिन्छ सुकिलो थोपा अहो ! चम्कियो
टल्टल्टल्कनुमा बन्यो नजरमा मोति झरे झैँ झरो
श्वैता विन्दु खसाल्छ झार्छ र पनि सौन्दर्य माधुर्य छ
हीरा विन्दु जडाउँछ नजरले यो जिन्दगी सार छ ।

गाईघाट, उदयपुर

आमा

मुक्तिनाथ पोखरेल

मुक्तिनाथ पोखरेल

छन्द:शालिनी
गण:म त त गु गु
विश्राम:चार अक्षरमा

गर्भावस्था भित्र लुक्तै म बस्ता
कुर्कुच्चाका जोडले लात कस्ता
तिम्रो छाला चर्र चर्केर फुट्ता
खप्तै हाँस्यौ कष्ट बिर्सेर छुट्ता ।

पारेँ कस्तो वेदना वा धपेडी
राख्यौ न्यानो काख भित्रै लपेटी
तोते बोली बोल्न थालेँ रमाई
तान्थ्यौ मेरा हात दोटै समाई ।

माता तिम्रो गोद भर्थेँ रमाई
चुस्थेँ लाम्टो प्रेमले गद्गदाई
रम्दै हेथ्र्यौ टाउको सुम्सम्याई
पोख्थ्यौ माया जे भएको खन्याई ।

छोराछोरी हुर्कँदै बढ्न थाल्यौँ
आमा त्यागी आज अन्यत्र लाग्यौँ
स्वार्थी हामी स्वार्थ भित्रै रमायौँ
छोड्दै हिँड्दै मार्ग आफ्नो ततायौँ ।

तिम्रो माया बुझ्न मैले नसक्ता
सानो सम्झेँ पाउमा माथ राख्ता
कस्तो प्रज्ञा व्यक्तिवादी भएँ छु
खाल्डो भित्रै भासिएरै रहेँ छु ।

आमा देवी शक्तिकी पुञ्ज रूप
साक्षात् लक्ष्मी शैलपुत्री स्वरूप
त्यस्ती आमा चिन्न छाडेर आज
गर्छौँ सेखी मान्न छाडेर लाज ।

हामीलाई गाँस काटी खुवाई
हाँसी हाँसी भोक खप्ने रमाई
यस्ती आमा देख्न पाइन्न फेरि
यौटा फोटो सम्झनाको चिनारी ।

छैनन् आमा नेत्र छन् अश्रुधारा
चोटा कोठा लाग्न थाले अँध्यारा
राखेँ तिम्रो पाउमा एक फाँकी
छैनौ आमा सम्झना मात्र बाँकी ।

क्षुद्रको मालिक

माधव पोखरेल गोज्याङ्ग्रे

छन्द: शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

माधव पोखरेल गोज्याङ्ग्रे

खायो धेर भतेर मस्तसितले छाडेर फाल्छ भरे
खोजी गर्दछ जो भतेर दिनहूँ निःशुल्क खायो अरे
घाँटीसम्म थिचेर खान्छ उसले हाँस्छन् सबै मस्तले
छेर्दै भाग्दछ आखिरी बगरमा हेर्दैन है दुष्टले ।

माग्ने होइन त्यो समाज बिचमा पुग्दैन आफ्नो घर
खाने काम र गर्छ भाँड भइलो गर्दै नगर्नू भर
बोली छैन मिठास कर्कस हुने हो क्षुद्रको मालिक
आफ्नै राग सहन्न आज किन हो?सामन्तको शालिक ।

मुठ्ठीभित्र कसेर राख्छ उसले खाएर आफू सबै
मान्छे बाहिर पार्छ जाल रमिता हान्दैछ डाका अझैँ
सेतो थ्यो र बनाउने रङ फरकै घोकेर सारा कुरा
रैतीको भरमा कमाउन सके बढ्दै गए माकुरा ।

सारा देश डुबाउँदै कहरमा आफैँ सफाई दिने
खोलामा सब राजनीति धमिलो सङ्लो सधैँ तर्सिने
कालो दाग लगाउँदै नजरमा घुम्दै छ चारैतिर
हाम्रो आश मरी गयो प्रगतिको नेपालमा आखिर ।

नेता बन्न सकेन आज घरको बोली र झोलीसँगै
जोगीको घरमा छ बास सबको सत्ता बिरानो सधैँ
भोकाको घरमा बलेन कहिले आगो चुलोमा किन ?
रोगीको उपचार छैन सहजै रैती लिदो भो ऋृण ।

गाडीभित्र बसेर गर्छ जहिले आदर्शवादी कुरा
आफू मात्र बनेर भोक अरुको मेटिन्छ राम्रो कुरा
राम्रो काम गरेर गाउँ घरमा बेमान बन्नेहरू
कालो छाप लगाउँदै नजरमा सैपाल चढ्नेहरू ।

हेक्का छैन बुझौँ जनावरसरी साँढे भएका अति
भालेले कुखुरी लघार्छ जसरी त्यस्तै भएका कति
रैतीमा न खुसी छ रोस बहुतै टुप्पो पुगेको छ नि
फेदीमा छ विषालु सर्प गतिलो बाटो छ चिप्लो अनि ।

विचार

सृजना सरोवर

छन्द : उपेन्द्रवज्रा
गण:ज त ज गु गु
विश्राम:पाँचौं अक्षरमा

सृजना सरोवर

उषा हुँदा झट्पट जाग्नुपर्छ
प्रभातमा छन् गुण सिक्नुपर्छ
जसै डुबे भाष्कर साँझ पर्छ
चरासँगै बास म फिर्नुपर्छ ।

हँसाइ सारा जग हाँस्नुपर्छ
स्वतन्त्र मान्छे भइ बाँच्नुपर्छ
बितेर जाने चिज जिन्दगी हो
युगीन माया पनि साँच्नुपर्छ ।

मभित्र जागोस् सुविचार सच्चा
झुटो कुराले मन हुन्छ कच्चा
लिएर मोटो किन बुद्धि बाँच्ने
खराब तृष्णा मनमा नसाँच्ने ।

लडाइँ अर्को कहिल्यै नहाँसुँ
चुमेर गन्तव्य सँगै म हाँसुँ
विचार यस्तो मनमा पलाओस्
दया र माया करुणा पलाओस् ।

क्षमा दिने भाव म भित्र जागोस्
अनीति मेरो मनबाट भागोस्
मबाट कोही यदि गर्छ चाह
दिने मिलोस् शक्ति न होस् प्रवाह ।

झिनामसिना गफमा भूलेर
न खेर जाओस् बल बैँस खेर
जहाँ म जाऊँ नित काम नेक
गरेर आऊँ म नयाँ प्रयोग ।

हलो कुटाको कविता बनेर
स्वयं म पोख्यूँ सरिता बनेर
किसानको पौरखमा म हाँसु
बनेर ढाकी ढक औ तराजु ।

पुजेर सच्चा श्रम शक्तिलाई
इनाममा जीवन यो चढाई
मरेर जाँदा पनि गीत बन्छु
म एक नौलो इतिहास रच्छु ।

म जन्मिएको धरती सिँगारी
जन्माउनेको दिल धप्प पारी
सकूँ धराको ऋण गर्न चुक्ता
खुला बनून् मार्ग सदा प्रसस्त ।

नदी बनी बग्दछ जिन्दगी यो
छ खेद सस्ता जड भावनाको
विचार आई सयलाख बार
मभित्र खेल्छन् सपना हजार ।
१०

उदयपुर, हाल: काठमाडौ

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू
१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail.com