जीवनको उर्वर माटोमा
रोप्दै गर्दा सम्बन्धका बीजहरू
सुटुक्क रोपेँ एउटा अर्को बीज
मनको बगैंचामा

टुसायो
मनको जमिनबाट
राम्रैसँग झ्याङ्गियो
दङ्गै परेँ, छक्कै परेँ
देखेर डाँठ
सप्रियो खुबै
सर्लक्क
भनेँ, आहा कति मजबुत
सम्बन्ध !

के नै पो चाहिन्थ्यो र ?
खुबै गरेँ विश्वासको मलजल
वयस्क बोट
मजबुत काण्ड
के थाहा ?
अविश्वासको सानो हुरीले गर्ल्याम्म ढाल्छ भनेर ?
आखिर कसरी यस्तो भयो ?
प्रश्न गरेँ खुब आफूलाई
सायद जरै कमजोर रहेछ !

काण्ड जति नै बलियो भए नि
जरा कमजोर भएपछि
चल्नासाथ अविश्वासको हावा
ढल्दोरहेछ सम्बन्ध

त्यसैले त
अँधेरिएको छ जून
पोत्दैन घामले लाली
उसै कन्जुस्याइँ गर्छ ओठ
मुस्कान छर्न

अति विश्वासले पनि अविश्वास निम्त्याउँदो रहेछ
टाढिन खोज्ने र नजिकिरहन चाहने सम्बन्धहरूबीच
कसले पहिल्याइदेला
कमजोरी कहाँ भयो भनेर ?

सच्याउन नसक्नु कमजोरी हो कि
सच्चिन नचाहनु ?
बुझ्न नसक्नु कमजोरी हो कि
बुझ्न नचाहनु ?

शून्य मन लिएर
बोझिलो ओजन बोकी हिँडेका छन्
सम्बन्धहरू

त्यसैले त
पर्खाइमा छु
कहिले मेटिने हो यो शून्यता ?
कहिले पुरिने हो यो अविश्वासको खाडल ?
बस्,
पर्खाइमा ।