आरम्भ
‘एक युगमा एक दिन एकपटक आउँछ’, कवि गोपालप्रसाद रिमालप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै ‘एक युगमा एउटा नायक एकपटक जन्मिन्छ’ पनि भन्न सकिन्छ । राम त्रेता युगमा जन्मिए भने द्वापर युगमा कृष्ण नायक भए । एक युगमा एउटा उद्देश्यले एक नायकको जन्म हुन्छ । सामान्यतः युगले (समयले, आवश्यकताले) नायकलाई जन्माउँछ र उद्देश्य पूरा गरेपछि युगको पनि अन्त्य हुन्छ । राम र कृष्णको उद्देश्य पूरा भएपछि क्रमशः त्रेता र द्वापर युगको पनि अन्त्य भयो ।

जीवन जीवन्त
साहित्यमा चाहिँ व्यक्तिले युग जन्माउँछ र युग जन्माउने व्यक्ति नायक हुन्छ । साहित्यको युग एकल वा सामूहिक प्रयासमा जन्मन्छ । तिनको प्रयास सफल भएपछि ती नायक हुन्छन् । नेपाली उपन्यासमा आदर्शोन्मुख यथार्थवादी युगका नायक रुद्रराज पाण्डे, सामाजिक यथार्थवादी युगका नायक लैनसिंह वाङ्देल, समाजवादी यथार्थवादी युगका नायक हृदयचन्द्रसिंह प्रधान, मनोवैज्ञानिक युगका नायक गोविन्दबहादुर मल्ल गोठाले, अस्तित्ववादी–विसङ्गतिवादी युगका नायक इन्द्रबहादुर राई आदि रहेका छन् । तत्तत् युगलाई नयाँ उचाइ दिने अन्य व्यक्तिहरु पनि रहेका छन् । ती पनि सम्बन्धित युगका नायक नै हुन् । युग जन्माउने र हुर्काउने दुवै नायक हुन्छन् ।
सामान्यतः एउटा नायकको भूमिका (रोल) एउटा युगका निम्ति हुन्छ । एउटा खास प्रवृत्तिलाई स्थापित गराउने वा नयाँ उचाइ प्रदान गर्ने कार्यमा एउटा नायकको भूमिका रहेको हुन्छ । तर केही त्यस्ता दुर्लभ नायकहरू पनि हुन्छन् जसको भूमिका युगौँयुग (एकभन्दा बढी) उत्तिकै महत्त्वपूर्ण हुन्छ, जसले नयाँ नयाँ युगको जन्म गराउन सक्छन् । त्यसरी बारम्बार नयाँ युग जन्माइरहने अत्यन्त दुर्लभ नायकमध्येका एक उपन्यासकार ध्रुवचन्द्र गौतम पनि हुन् । उनी नेपाली आख्यान र नाटक साहित्यका अटल ध्रुव–चन्द्र हुन् ।
नयाँ युगका निर्माता
उपन्यासकार ध्रुवचन्द्र गौतम नेपाली साहित्यमा नयाँ नयाँ युग जन्माइरहने एक मात्र उर्वर सर्जक हुन् । उनी आफू जन्मिएको युगलाई नयाँ उचाइ प्रदान गर्दै अन्य नयाँ नयाँ युग जन्माइरहने नेपालीका एक्ला नायक हुन् । नेपाली उपन्यासमा उनको जन्म अस्तित्ववादी–विसङ्गतिवादी युगमा भयो, अत्यन्त युगान्तकारी ढङ्गले, अन्त्यपछि (२०२४) बाट । ‘अन्त्यपछि’ एउटा उपन्यासको फगत शीर्षक मात्र होइन, यो नेपाली उपन्यास र उपन्यासकार गौतमको लेखनीको अग्रभूमिकरण (foreshadowing) पनि हो, यो अन्त्यपछि हुन सक्ने नयाँ जन्मको उद्घोष हो । यो एउटा युगको अन्त्यपछि जन्म हुने अर्को नयाँ युगको सङ्केत हो । पहिलो उपन्यासको उद्घोष अनुरूप उपन्यासकार गौतमले एउटा युगको अन्त्यपछि अर्को युगको अनि फेरि अर्को युगको सुरुवात् गरेका छन् । यसरी नेपाली उपन्यासमा नयाँ नयाँ युग जन्माइरहने एक्ला नायक हुन्, उपन्यासकार गौतम ।
एउटा युगलाई जन्माउनु एउटा मात्र काम हो, त्यसलाई हुर्काउनु, बढाउनु अरू महत्त्वपूर्ण कामहरू हुन् । उपन्यासकार धु्रवचन्द्र गौतमले युगको जन्म मात्र गराएर बेवारिसे बनाएका छैनन्, त्यसको लालनपालन र हुर्काउने बढाउने काम पनि गरेका छन् । उनले आफूले जन्माएका युगको मात्र पालनपोषण गरेका छैनन्, अरूले जन्माएको युगको पनि भरणपोषण गरेका छन् । इन्द्रबहादुर राईले जन्माएको अस्तित्ववादी–विसङ्गतिवादी युगलाई हुर्काउने बढाउने काम ध्रुवचन्द्र गौतमले गरेका छन् । उनले यसलाई आफ्नै किसिमले ग्रहण गरेका छन्, व्याख्या गरेका छन्, परिभाषित गरेका छन् । उनले अस्तित्ववादलाई त्यसकै सिद्धान्तअनुसार पछ्याएर पनि प्रयोग गर्ने नौलो आयामको खोजी, परिवश र आधारमा मौलिक संरचनात्मक सीप तथा अर्थ प्रदान गर्ने औपन्यासिक संयोजनमा आफ्नोपन छ (प्रधान, २०६१, पृ. १९२) । यसलाई हुर्काउन उनले आफ्नो मौलिक शैलीमा बालुवामाथि, डापीलगायत अन्य पछिल्ला उपन्यासहरूमा पनि नेपाली समाज, राजनीति, प्रशासनका साथै नेपाली जीवनका विविध विसङ्गतिहरूलाई विषय बनाएका छन् ।

ध्रुवचन्द्र गौतम
नेपाली उपन्यास परम्परामा अस्तित्ववादी–विसङ्गतिवादी युगपछि अर्को नयाँ युगको जन्म गराउने व्यक्तित्व पनि उपन्यासकार ध्रुवचन्द्र गौतम नै हुन् । २०३६ सालपछि नेपाली उपन्यासमा देखा परेको नवीन प्रवृत्तिलाई समसामयिक प्रवृत्तिका नामले चर्चा गरिएको छ । त्यसैले यस युगलाई समसामयिक युग मान्न सकिन्छ । २०३७ सालमा प्रकाशित कट्टेल सरको चोटपटक उपन्यासबाट प्रचलित परम्पराभन्दा भिन्न प्रवृत्तिबाट नयाँ मोड देखा परेको छ (लुइटेल, २०६९, पृ. २३२) । यसलाई विकसित तुल्याउने काममा ध्रुवचन्द्र गौतमको निरन्तर प्रयास महत्त्वपूर्ण छ । यसै उपन्यासबाट नेपाली समाजका अर्थ र नैतिकताका बिचमा जन्मेका विसङ्गतिलाई बहिर्मुखी रुपमा प्रदर्शन गर्ने काम आरम्भ भएको हो (सुवेदी, २०६४, पृ. ३२२) । उनले यस युगलाई उचाइमा पुर्याउन अलिखित, देहमुक्त, निमित्त नायक, स्व. हीरादेवीको खोज, एक सहरमा एक कोठा, उपसंहार अर्थात् चोथो अन्त्यलगायतका औपन्यासिक भूमिका निर्वाह गरेका छन् । उनी यस युगका संस्थापक नायक मात्र नभएर यसलाई समृद्ध तुल्याउन निरन्तर क्रियाशील पात्र पनि हुन् ।
नेपाली उपन्यासलाई आधुनिकतावादी युगबाट उत्तरआधुनिकतावादी युगमा प्रवेश गराउने नायक पनि उपन्यासकार गौतम नै हुन् । आधुनिकताले स्थापना गरेका व्यवस्था र पद्धतिले बदलिँदो जीवन यथार्थलाई साहित्यमा चित्रण गर्न सक्दैन भन्दै विविध नवीन विषय र शिल्पको खोजी मार्फत् जीवनको नवीन यथार्थको खोजी गर्ने उत्तरआधुनिकतावादी उपन्यास लेखनको युगलाई आमन्त्रण गर्ने नायक उपन्यासकार गौतम नै हुन् । उनले यस युगको अन्वेषण अघिल्ला युगमा नै गरेको भए पनि त्यसको सम्पूर्ण प्रकटन पचासको दशकपछिका उपन्यासहरुमा गरेका छन् । उनको र ध्रुव सापकोटाको संयुक्त लेखन रहेको ज्यागा उपन्यासमा गरिएको रचनाप्रक्रियाको अनुकरणले पूर्णतः आधुनिकतावादी युगलाई अस्वीकार गरी उत्तरआधुनिकतावादी युगको प्रतिस्थापन गरेको छ । यो उनले डापी, कट्टे लसरको चोटपटक आदिमा पाठभित्र पाठकको सहभागिता, अलिखित उपन्यासमा प्रयोग गरेको बहुनायकत्व, उपसंहार अर्थात् चौथो अन्त्यमा प्रयुक्त अन्त्यमा अनिश्चितताजस्ता रिहर्सलहरुबाट मञ्चित प्रदर्शन हो । यसले नेपाली उपन्यासमा नयाँ युगको जन्म गराएको छ ।
उत्तरआधुनिकतावादी युगले बहुलता र विविधताका प्रवृत्तिलाई आव्हान गर्ने भएकाले उपन्यासकार गौतमले यसको विकासका निम्ति विभिन्न किसिमले गोडमेल गरेका छन् । यसका निम्ति उनले अग्निदत्तमा विनिर्माण र पुनर्लेखनको खोजी गरेका छन्, फूलको आतङ्कलगायतका चारवटा कृतिमा सूत्रउपन्यासका रुपमा नवीन विधाको विजाधान गरी परम्परागत लेखनको विनिर्माण गरेका छन्, एक असफल आख्यानको आरम्भ, अप्रिय आदि उपन्यासहरुमा स्वैरकल्पना र भ्रमको प्रयोग गरेका छन्, बाढी, बाल्यकाललगायतका कृतिमा अनुभवन्यासको निर्माण गरेका छन्, सातौं ऋतु जस्ता उपन्यासमा पर्यावरणलाई विषय बनाएका छन् । उनकै लेखनीमा उत्तरआधुनिकतावादी युग नवीन ढङ्गले विकसित भइरहेको छ ।
नयाँ उपविधाका निर्माता
ध्रुवचन्द्र गौतम नेपाली उपन्यासका युग निर्माता मात्र होइनन्, उनले नवीन औपन्यासिक उपविधाहरु पनि निर्माण गरेका छन् । उपन्यासको परम्परागत संरचनालाई भत्काएर नवीन संरचनाको खोजी गर्ने क्रममा उनले एउटा उपविधाका रुपमा ‘सूत्रउपन्यास’ जन्माएका छन् । त्यसै गरी उनले जन्म गराएको अर्को विधा हो, अनुभवन्यास । यो लेखकीय जीवनका वास्तविकता र अनुभवका संस्मरणलाई आख्यानका स्वरुपमा जन्म गराइएको विधा हो ।
सूत्रउपन्यास वर्तमान प्रविधिको युगलाई प्रतिनिधित्व गर्ने साहित्यिक विधा हो । जसरी लाखौं गिगाबाइट विषय–दृश्यलाई एउटा सानो चिप्समा राखेर मान्छेले दृष्टिगत गर्न सक्छ त्यसरी नै यस युगमा उपन्यासको विराट स्वरुपलाई औपन्यासिक चिप्सका समाहित गर्न सूत्रउपन्यासको जन्म भएको छ (नीरव, २०७३, प्रकाशकीय) । यस विधाको जन्म उपन्यासकार गौतमको फूलको आतङ्कबाट भएको हो । यसको लालनपालनका लागि उनले मौन, भीमसेन–४ को खोजी, विगतजस्तो केही जस्ता कृतिहरु पनि जन्माएका छन् ।
त्यसै गरी उपन्यासकार गौतमले अनुभवन्यासको निर्माण बाल्यकालबाट गरेका हुन् । आत्मसंस्मरणको परम्परागत संरचनालाई भञ्जन गरी उपन्यासका स्वरुपमा व्यक्ति जीवनको विगत, उनका भोगाइ, अनुभव र अनुभूति प्रस्तुत गरी अनुभवन्यास उपविधाको जन्म गराइएको छ । यो आख्यान र संस्मरणको सम्मिश्रित विधापरक कृति हो (उप्रेती, २०७१, पृष्ठालेख) । यसको विकासका निम्ति बाढी, घुर्मी, वञ्चक जस्ता कृतिहरुको पनि जन्म गराएका छन् । यसरी उनी नेपाली साहित्यमा अनुभवन्यासलाई एउटा उपविधाका रुपमा स्थापित गराउन सफल छन् ।
चतुष्क लेखन (Tetralogy) का निर्माता
उपन्यासकार गौतम नेपाली साहित्यमा चतुष्क लेखनका निर्माता पनि हुन् । चतुष्क लेखन एउटै साहित्यिक विधाको चार शृङ्खला हो । यसको आदिस्रोत ग्रिसेली साहित्यमा पाइन्छ । प्राचीन ग्रिसमा एउटै लेखकका एक प्रहसनसहित तीन वटा दुःखान्त नाटकको एक मुस्ट प्रदर्शनलाई ‘टेट्रालोजी’ भन्ने गरिन्थ्यो । त्यसै ग्रिसेली नाटकको ‘टेट्रालोजी’ कालान्तरमा अन्य विधाका चार शृङ्खलालाई बुझाउन प्रयोग हुन थालेको पाइन्छ ।
उपन्यासकार गौतमले आफैँले निर्माण गरेको त्रयीलेखन (Trilogy) लाई भत्काएर चतुष्क लेखन निर्माण गरेका छन् । उनले फूलको आतङ्क, मौन र भीमसेन–४ को खोजीमार्फत नेपाली सूत्रउपन्यासमा त्रयीलेखनको स्थापना गरेका थिए । उनले आफैँ स्थापना गरेको त्रयी लेखनलाई भत्काएर उनको विगतजस्तो केही चतुष्क लेखनको ढङ्गमा आएको छ (नीरव, २०७३, प्रकाशकीय) । त्यसै गरी अनुभवन्यासका रुपमा उनले बाल्यकाल, बाढी र घुर्मीबाट त्रयीलेखनको निर्माण गरेका थिए भने यसलाई उनले वञ्चकका माध्यमबाट भत्काएर चतुष्क लेखन निर्माण गरेका छन् ।
अन्त्यमा,
उपन्यासकार गौतम नयाँ प्रयोगका खानी हुन् । उनको सिर्जना–खानीबाट निस्किएका विविध नवीन प्रवृत्तिले नेपाली उपन्यासमा नयाँ नयाँ युगहरुको जन्म गराएको छ । उनले नेपाली उपन्यासमा अस्तित्ववादी–विसङ्गतिवादी युगलाई नयाँ ढङ्गले उचाइ प्रदान गरेका छन् । उनी समसामयिक युगका निर्माता मात्र होइनन् त्यसको विकासकर्ता पनि हुन् । त्यसै गरी उनी नेपाली उपन्यासमा उत्तरआधुनिक युगलाई आमन्त्रण गर्ने र त्यसको विकासमा क्रियाशील सर्जक पनि हुन् । उनले नयाँ युगको निर्माण मात्र गरेका छैनन्, सूत्रउपन्यास र अनुभवन्यास जस्ता नवीन उपविधामा चतुष्क लेखनको पनि नवनिर्माण गरेका छन् ।
उपन्यासकार गौतमका सिर्जना–खानी नेपाली समालोचक–अन्वेषकहरु लागि एक अथाह महासागर हो । उनका सिर्जनाहरुले विश्लेषणका लागि नवीन सिद्धान्तहरुको अपेक्षा गर्दछ । उनका सिर्जनाहरुको विश्लेषणका लागि पूर्वीय र पश्चिमी साहित्यमा विकसित सिद्धान्तहरुको समुद्र पार गरेर मात्र पुग्दैन, कतिपय नवीन सिद्धान्तहरुको निर्माण गर्न पनि आवश्यक देखिन्छ ।
उपन्यासकार गौतमको एउटा जीवनले प्रदान गरेको नेपाली उपन्यासका विविध युग र उनको एउटा सर्जक–मस्तिष्कबाट सिर्जित सिर्जनाहरु नेपाली उपन्यासका पाठक र समीक्षकहरुका लागि युगौंयुगको खुराक बनेको छ । यसलाई पार गर्न नेपाली साहित्यले थुप्रै समयको युग पार गर्दा पनि अपूर्ण नै हुने देखिन्छ ।
सर्जक ध्रुवचन्द्र गौतमको लेखनीबाट नेपाली उपन्यासले अझै अर्को नयाँ युग प्राप्त गर्ने सम्भावना छँदैछ ।
==========================================================
सन्दर्भ सामग्री
उप्रेती, सञ्जीव (२०७१), पृष्ठालेख, वञ्चक, धुव्रचन्द्र गौतम, काठमाडौँः उपलब्धि साहित्य विकास उपसमिति ।
गौतम, ध्रुवचन्द्र (२०२४), अन्त्यपछि, काठमाडौँः अभिव्यक्ति प्रकाशन ।
— (२०२८), बालुवामाथि, काठमाडौँः साझा प्रकाशन ।
— (२०३३), डापी, काठमाडौँः साझा प्रकाशन ।
— (२०३५), आकाश विभाजित छ, काठमाडौँः रत्नपुस्तक भण्डार ।
— (२०३७), कट्टेल सरको चोटपटक, काठमाडौँः साझा प्रकाशन ।
— (२०४०), अलिखित, काठमाडौँः साझा प्रकाशन ।
— (२०४२), निमित्त नायक, काठमाडौँः केदार सुवेदी ।
— (२०४५), स्व. हीरादेवीको खोज, काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
— (२०४६), एक सहरमा एक कोठा, काठमाडौँः अभिव्यक्ति प्रशासन ।
— (२०४८), उपसंहार अर्थात् चौथो अन्त्य, ललितपुरः साझा प्रकाशन ।
— (२०५२), दुविधा, ललितपुर, साझा प्रकाशन ।
— (२०५३), अग्निदत्त+अग्निदत्त, ललितपुरः साझा प्रकाशन ।
— (२०५५), फूलको आतङ्क, ललितपुरः साझा प्रकाशन ।
— (२०५६), बाढी, काठमाडौँः नेपाली लेखक सङ्घ ।
— (२०५७), सहस्राब्दीको अन्तिम प्रेमकथा, काठमाडौँः प्रतिभा प्रकाशन ।
— (२०५८), मौन, काठमाडौँः प्रतिभा प्रकाशन ।
— (२०५९), तथाकथित, ललितपुरः साझा प्रकाशन ।
— (२०६१), भीमसेन ४ को खोजी, नेपालगञ्जः मध्यपश्चिमाञ्चल साहित्य–संस्कृति कला प्रतिष्ठान ।
— (२०६२), घुर्मी, काठमाडौँः प्रतिभा प्रकाशन ।
— (२०६२), जेलिएको, बल्खुः नेपाल मुद्रण उद्योग सङ्घ ।
— (२०६५), एक असफल आख्यानको आरम्भ, काठमाडौँः अर्किड बुक्स ।
— (२०६७), अप्रिय, काठमाडौँः ओरिएन्टल पब्लिकेसन ।
— (२०६८), सातौं ऋतु, ललितपुरः साझा प्रकाशन ।
— (२०७१), वञ्चक, काठमाडौँः उपलब्धि साहित्य विकास उपसमिति ।
— (२०७३), विगतजस्तो केही, काठमाडौँः उपलब्धि साहित्य विकास उपसमिति ।
नीरव, रोशन थापा (२०७३), ‘प्रकाशकीय’, विगतजस्तो केही, धु्रवचन्द्र गौतम, काठमाडौँः उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि. ।
प्रधान, कृष्णचन्द्रसिंह (२०६१)। नेपाली उपन्यास र उपन्यासकार। (चौथो संस्क.)। ललितपुरः साझा प्रकाशन ।
भट्टराई, गोविन्दराज (२०५५)। “उत्तरआधुनिक पृष्ठभूमि र फूलको आतङ्क”। फूलको आतङ्क। (लेखक धु्रवचन्द्र गौतम)। ललितपुरः साझा प्रकाशन, पृ. ८८–१०० ।
— (२०६०)। ‘नेपाली उपन्यासमा उत्तरआधुनिकताको चेतना’। नेपाली उपन्यास शतवार्षिकी स्मारिका (प्र. सम्पा. सनत रेग्मी)। काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लुइटेल, खगेन्द्रप्रसाद (२०६९)। नेपाली उपन्यासको इतिहास। काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठान ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०६३)। नेपाली साहित्यको सङ्क्षिप्त इतिहास। (आठौँ संस्क.)। ललितपुरः साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र (२०६४)। नेपाली उपन्यासः परम्परा र प्रवृत्ति। ललितपुरः साझा प्रकाशन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

