लाग्थ्यो मानिस जित्नका लागि जन्मेको हो । जन्मनु नै एउटा जित हो । मानिसको जीवन पाउनु आफैमा विजय हो । जन्मेपछि मानिसका जीवनमा गरिने सबै काम जितका लागि हुन् । सङ्घर्ष गर्नु, पढ्नु, परिवार सम्हाल्नु, व्यवसाय गर्नु, साथी बनाउनु, खेल्नु, खेलाउनु जे गरिन्छन् सबै जित्नका लागि हुन् । सबै प्राप्ति जिताइका परिणाम । जित्नु अन्तर्निहित झुकाव हो, अनन्त अभीप्सा हो । हार्न पनि कोही जन्मन्छ ?

जिज्ञासु मनले अकस्मात् हजुरबुबालाई सोधिहाल्यो, ‘जित्नु भनेको के हो हजुरबुबा ?‘

‘लाटा ! तिमीलाई थाहा छैन, जित्नु भनेको सफल हुनु हो । लक्ष्य भेट्टाउनु हो ।’ हजुरबुबाले आँगनको पर्खालबाट हरियो महाभारत पर्वत र त्यसल छोएको क्षितिज देखाउनुहुन्थ्यो । दुःशासनले द्रौपदीको चीरहरण गर्दा भगवान् कृष्णले अदृश्य स्थानबाट उनको लाज बचाउन हरियो सारी छाडिदिएकाले त्यो पर्वत हरियो देखिएको रे । हजुरबुबा भगवान् श्रीकृष्ण र अर्जुनलाई विजेता मान्नु हुन्थ्यो । महाभारतको युद्धमा उनीहरूको चातुर्य र पराक्रमको कुरा गर्नु हुन्थ्यो । उहाँले धेरै पटक महाभारत र गीताका कुरा गर्नु भएको थियो । धेरै पटक नवदुर्गा कालिकाको प्रसङ्गमा नारी शक्तिको कुरा गर्नु भएको थियो ।

कृष्ण विजेता कि काली विजेता ? कौरवको पराजय ठूलो कि महिषासुर वध ठूलो ? त्यतिखेर बालमनले ठम्याउन सकेन तर जित भन्ने बित्तिकै मभित्र एउटा विम्बले आकृति लिन थाल्यो । मनमा एउटा अवधारणाले स्थान लियो, जित्नु भनेको साहस र पराक्रम देखाउने कुरा रहेछ । त्यो साहस र पराक्रम कहाँ देखाउने होला ? अबोध बालमन फेरि आफैमाथि प्रश्न गरेर हुस्सियो । बिहान पाठशाला जाने, बाटोमा अरूलाई जित्ने गरी दौडिने, गृहकार्य गर्ने, गुरुलाई पाठ बुझाउने पनि मेरा अर्थमा जित नै थिए । ती सबैमा मेरो साहस र पराक्रम थियो ।

गोठालो जाँदा बस्तुलाई अघाउने बनाउने पनि जीत थियो, गाईबाख्रा अघाएकोमा आमा स्याबासी दिनुहुन्थ्यो । साथीलाई ड्याम कि ड्याम हिर्काउन सक्नु पनि जित, रोशीखोलमा हेलिएर जँघार तर्नु पनि जित । एउटा निष्कर्ष निकाल्दै गएँ, जित्नका लागि केही गर्नुपर्ने रहेछ । आफूले जित्न सक्ने कामतिर मन लहसियो, हार खाएर ङिस्रिक्क पर्दा आज मात्र हारिने होइन, भोलि–भविष्यपर्यन्त जित्ने शक्ति गुम्ला भन्ने मनोविज्ञान विकास भएछ । जितका कुरा मनमा खेल्दा हरियो महाभारत पर्वत र त्यसलाई ओतिएर बसेको निलो क्षितिज पृष्ठभूमिमा सधैँ रह्यो । त्यो बाल मन शायद कहिल्यै नभेटिने क्षितिज छुन चाहन्थ्यो, सबैभन्दा ठूलो जित त्यही हुने थियो ।

जीतका अर्थ र परिभाषा समयसँगै थाहै नपाई फेरिँदै गए । समय सबैलाई हराउने बलवान शक्ति बन्यो । समय आउला र सफल भै हालिन्छ नि । सबैको मुखबाट समय आएको सुनेँ । त्यो समयलाई चाहिँ कसरी जित्ने, कसरी आफ्नो बनाउने ? फेरि मन अर्कोतिर बरालियो समय हराउने शक्ति होइन, जिताउने ऊर्जा हो । समयलाई ठम्याएर, सदुपयोग गरेर नै मानिसहरू सफल भएको इतिहास बने । समयको संवेदनशील मोडलाई उपयोग गरेर नै मानिसले इतिहास बनाएका हुन्, जितेर नै इतिहासमा अङ्कित भएका हुन् ।

हारेका मानिसहरूको इतिहास कहाँ छ र ? समयका अवसरहरू उठाउन नसके मानिस लतारिन्छ, खँगारिन्छ र आफू मात्र होइन, आफ्नाहरूलाई पनि धरापमा खँगार्छ । विस्मार्क, नेपोलिएन, ओवामा, हेनरी किसिन्जर, पृथ्वीनारायण, जङ्गबहादुर समयको गतिलाई ठम्याउन सकेकाले नै इतिहासका पात्र बने, इतिहास निर्माता बने । अवसर त धेरैले लिए होलान्, मनमोहन सिंहले जति अवसर कसैले पाएनन् । अवसरले मनमोहनसिंहलाई लखेट्दै लग्यो । हेनरी किसिन्जर पनि अवसरबाट लखेटिए । दुवैले अवसरलाई उपयोग गरे ।

अवसरलाई उपयोग गर्न तम्सेका कैयनहरू अवसरवादी मात्र भए, अवसरले उनीहरूलाई स्विकारेन, त्यसैले वर्तमानमा मानिसका मन र भविष्यमा इतिहासले उनीहरूलाई ठाउँ दिएन । कतिलाई जत्ति गर्दा पनि अवसर नै आएन । समयलाई जबरजस्त धकेल्ने विद्वान विचारक सबै इतिहासमा कैद बने, कालजयी बनेनन् । समयको संवेदनशीलतालाई कसरी ठम्याउने ? कसरी चिन्ने र उपयोग गर्ने ?

समय सिकाउँदैन, अवसर मात्र दिन्छ । नबताईकन बुझ्नु पर्ने गुरु हो समय । अवसर ट्याक्क त्यही समय टिप्न नसके त्यो क्रूर गुरु हो । समयले छाडेपछि केही गरे पनि त्यो पाउन सकिँदैन । गुरुले शिष्यलाई आफूभन्दा साहसी, सक्षम, बलवान र अनन्त ऊर्जा उत्सर्जक सम्झनु पर्छ । गुरुले होइन, शिष्यले जित्यो भने समाज जित्छ, सक्षम बन्छ, सिर्जना फक्रन्छ, आविष्कार उब्जन्छ र संसार स्वर्ग बन्छ । कमजोर शिक्षक समय हराउने कुपात्र हुन्, आफ्नै शिष्यसँग जितहारको स्पर्धा गरी आफै पनि हराउने र शिष्यलाई बर्बाद पार्ने गर्दछन्, दृष्टि चेतको दियो नबाली अक्षरको भारी बोकाउँछन् ।

तर आफैमाथि प्रश्न तेर्स्याउन शिक्षकहरू तयार छैनन् । त्यसैले उनीहरू हारेका छन् । निष्ठा निमोठिने र इमान हार्ने शिक्षा दिएकै कारण उनीहरू हारेका हुन्, समयलाई हराएका हुन् । जित्नका लागि आफैमाथि प्रश्न ठड्याउन सक्ने साहस चाहिन्छ । संसार साहसले निर्माण गरेको हो । डरपोरक हार्ने गर्छन्, साहसीहरूले गरेको सिर्जनाको उपभोक्ता बन्दछन् ।

नेता समाजको शिक्षक हो । शिक्षकले झैँ नेताले चेलालाई नीति र निष्ठा सिकाउँछ । नीति र नैतिकताबाट पर रहने व्यक्ति श्रेष्ठ बन्नै सक्तैन, श्रेष्ठताको द्योतन नगर्ने कसरी नेता बन्न सक्छ र ? नेता नबनेका नेता हारेका शिक्षक हुन् । दैनिकी धान्ने नेता, भित्र र बाहिर एउटै व्यवहार नगर्ने नेता, अनुयायीलाई नेतृत्वको बाटो नदेखाउने नेताले समाज, शासन र आफैलाई हराउँछन्, इतिहासमा बिलाउँछन् ।

समयले लगातार हराएपछि जित्ने ठाउँमा हार्नुपर्ने मानिसको बाध्यता हुँदो रहेछ । जित्ने यात्रामा नियतिले भने मलाई हराउँदै लग्यो । सानाहरू ठूलालाई घुर्की लगाएर, रोएर, जिद्दी गरेर हराउने रणनीति लिन पुगे । हो त सानोसँग हार्दा के बिग्रियो, उनीहरू त यसै साना, उसै साना । उनीहरूसँग हार्नुपर्छ । त्यो हार रमाइलो पनि हुन्छ । भाइ, बहिनी, श्रीमती, सन्तानसँग पटक पटक हारेँ र जितेको महसुस गरेँ । उनीहरूसँग हार्नु पनि मेरो जिताइ हो, कमसे कम उनीहरूको मनलाई त मर्न दिइनँ । मलाई जित्न पाएकोमा उनीहरू मख्ख भए, उत्साही भए र त्यो ऊर्जाले उनीहरू भोलि साँच्चै विजेता बन्नेछन् भन्नेमा रहेँ । उनीहरू खुसी हुनु मेरो जित हो, उनीहरूलाई खुसी बनाउन म हार्नु भनेका जिते बराबर हो भन्ने सम्झिएँ ।

कमजोरसँग हारजितको प्रतिस्पर्धा गरेर जित्नु हार हो । कमजोरले हारेर उसलाई हौस्याउनु पनि जित सम्झेँ । नियतिले खेल खेलाइहाले उनीहरूलाई खुसी बनाउन हारिदिएँ । गलतमा सही लगाइदिएँ, बुझेर पनि नबुझे जस्तो गरिदिएँ, नहुने पनि मानिदिएँ । जित्न नसक्नेको रणनीति कमजोर हुने नै भयो, उनीहरूमा साहस, सौर्य, शक्ति र सामर्थ्य बढोस् भनेर पटक पटक हारेँ । मनभित्र राख्दै गएँ उनीहरूले सधैँ मलाई हराए जसरी होइन, भोलि अरूसँग भने साँच्चै जित्नुपर्छ । एक पटक मेरा सानाले जितेपछि जित्नुको उत्साहले अर्को जीत बन्लान्, अरू शक्ति कमाउलान्, साहस बटुल्लान् भन्ने सोचेर पटक पटक हारेर हाँसिरहेँ । तर उनीहरू साँच्चै मैले हारेको सम्झेर सधैँभरि हारिरहे । त्यतिखेर भने म साँच्चै हारेँ, रोएँ, गुम्सिएँ । तर उनीहरूलाई चाहिँ कहिल्यै बताइन ।

ठूला त यसै पनि माननीय, आदरणीय । दाजु, भाउजू, बुबा, दिदी, काका, काकी, आफन्त ठूलाबडा सबै आदरणीय । ठूलालाई मान–मर्यादा र आदर गरेँ । शिक्षा, माया, आश्रय, अभिभावकत्व दिएकाले उनीहरू जीतका स्वाभाविक हकदार हुन् । ठूलाको गाली पनि अर्ति, पिटाइ पनि माया, उपेक्षा पनि उत्साह र ऊर्जा सम्झेँ ।

ठूला आदेश शिरोपर गरेर हारेँ, अभिभावकत्वसाथ आएका अधिनायकत्वबाट हारेँ । आदरका कारण हारेँ, श्रद्धा र सम्मानका कारण हारेँ । विश्वासमा हारेँ । नतमस्तक भएर हारेँ । लज्जामा हारेँ, प्रतिष्ठामा हारेँ । हार्दाहार्दै कहिले त आदर्श र इमानमा पनि हारेँ । ठूलाबाट हार्न संस्कारले सिकाएको हो भनेर हारेँ । सम्झेँ ठूलाले मलाई सानो देखेर जित्न सिकाएका छन्, हराएर जित्न सिकाएका छन् । तर सानो पनि एकदिन ठूलो होला, बुुझ्ने होला भनेर हराएका थिए भने ठूलाबाट हार्नु पनि जिताई हुने थियो । त्यो सधैँ नपाउँदा पनि हारेँ । तर आमा भने महान् थिइन, न कहिल्यै आमाले हराउन चाहिन, न म आमालाई हराउन चाहेँ । दुवैजना एकअर्काको मन नदुखाएर जीतजीत चाहँदा फेरि दुवै हार्यौं । आमाहरू सन्तानलाई कहिल्यै हराउँदैनन्, भाइबहिनी, सन्तान, श्रीमतीसँग म हारेजस्तै ।

साथी त आफ्ना भए । मन मिल्ने साथी, खोलमा खेल्ने साथी, टालाटुली खेल्ने साथी, मेलापात जाने साथी, सँगै पढ्ने साथी, सँगै जागिर वृत्ति गर्ने साथी । साथीहरूसँग मिठो नमिठो बाँडेर खाएँ, दुखसुख बाडेँ । कति गर्न हुने नहुने काम साथीसँग गरियो । सच्चा साथी जति नजिक अर्को को हुन्छ र ? उनीसँग जित्नु के जित्नु ? आफू हारेर पनि साथीलाई खुसी राख्नुपर्छ मात्र सम्झेँ । सजिला असजिला परिवेशमा साथ दिने साथीसँग प्रतिस्पर्धा गरेर, उसको अवसर लिएर, उसको मन दुखाएर जित्नु के जित्नु ? सके अवसर तिमीले लिनु नसके म लिउँला मात्र भनेँ ।

सबै साथी यस्तै सोच्ने कहाँ पाउनु ? प्रतिस्पर्धा र खुट्टातानमा हत्याउने साथी देखेपछि फेरि झल्याँस्स भएँ, आँखा खुले र बेस्सरी तिलमिलाए । आफू बसेको संसार नै घुमेजसो भयो । तर तेस्रो विवेकले भनिरह्यो–साथीको खुसीका लागि साथीलाई जित्न दिनुपर्छ । अवसर त फेरि पनि आइहाल्छ नि, साथीको चित्त दुख्यो भने…. ? अवसर नआए पनि जीत हार साथीसँग गरेर के को साथीत्व ? यति ठूलो संसारमा अरू कोही नपाएर साथीसँग प्रतिस्पर्धा गर्ने हो र ? सच्चा साथी राम थापाले एकबार प्रष्ट भनिदियो–तँ यति उदार बनिस्, तेरो भविष्य प्रगतिमय बन्ने छैन, पीडामय बन्नेछ ।

उसको कुरा मन परेन, किन प्राप्ति र पीडाको कुरा गरेको ? साथीको प्राप्ति त मेरो खुसीको अनुभूति हो । उसले यसपटक जङ्गिएर गाली गर्यो– यस्ता आदर्शका कुराले कलियुगमा कुनै अर्थ राख्दैन । खाइनखा जोहो गरेको पैसा खाने साथीलाई अर्को साथी हरि पिट्न जाइलाग्यो, म आफैले रोकिदिएँ । अनि त हरि रिसाएर भन्न पुग्यो– तिमी मुलाको पैसा त मैले खानुपर्थ्यो । मेरो अव्यवहारिकताप्रति हरिको ठूलै असहमति थियो । उनीहरू सही कि म सही ? मैले आफैलाई सही सम्झेँ र साथीको मन दुखाउन हुँदैन भनेर बसेँ ।

पत्रकार साथी आएर प्रश्न गर्यो– यहाँले आफ्नो जीवनमा कतिजना साथीलाई खुसी बनाउनु भयो ? कुनै नाम र घटना भन्न सक्नुहुन्छ ?

यस्तो प्रश्नको उत्तर कसरी दिनु ? मैले राम्रै गरेका साथीहरूले पनि उनीहरूको प्रगति, उपलब्धि र खुसीको कारण म हुँ भनेर सोचेका होलान् र ? फेरि निष्कर्ष निकालेँ साथी भनेको साथी हो, बालपनको साथी होसकी, वृत्तिव्यवसायको साथी होस कि छरछिमेकको साथी, यात्राको साथी, उनीहरूलाई सहयोग गर्नु, खुसी पार्नु मेरो जीत हो । जीतको माने अङ्कमा आउने उपलब्धि भन्दा धेरै फराकिलो हुन्छ । यान्त्रिक र उपभोगवादी बन्दै गएको समाजमा साथीहरू मलाई जितिरहे । म हारेरै भए पनि उनीहरूको खुसीमा आफ्नो जितको अंश देखिरहेँ ।

वृत्ति व्यवसायमा समूह भावना, सद्भावना र सहभावना कायम गरी जीतजीतको अवस्था ल्याउन नसक्दा हारेर उदारता देखाएँ । धेरैको अर्थमा यो फोस्रो आदर्श हो । आदर्श सधैँ आफ्नो प्राप्तिमा हुँदैन, हुनुहुँदैन भनेर हार्नुको विकल्प रोजेँ । अवसरको समर्पण गरेँ, कर्तव्य वरण गरेँ । मैले पाउने पुरस्कार अर्कोले पाउँदा सान्त्वना दिने मित्रलाई भनेको थिएँ –पुरस्कार लिन होइन दिन पो आनन्द आउँछ । संस्थाहरू समूह भावनामा रहँदा सौर्य र सान देख्ने आशा गरेँ । यतिसम्म हार जितै थियो, जब संस्थाहरू सुनसान देखेँ, सुपरिवेक्षकहरू स्वार्थमा देखेँ, विरक्ति र वैराग्यको सीमा रहेन । मन बुझाउनै पर्यो, सिद्धार्थ र यशोधराको सम्वाद सम्झेँ । चित्त बुझाउनु विजय हो, चित्त दुखाउनु पराजय हो भनेर फेरि जीतको महसुस गरेँ । कार्यालयहरू शक्तिको अभ्यास गर्ने ठाउँ कसैले सम्झौता नगरे, समर्पण नगरे, स्वार्थको टकराबमा छिन्नभिन्न हुन्छ, त्यसपछि सबै हार्नुको विकल्प रहँदैन । सबै हार्नुभन्दा त म मात्र हार्दा संस्थाको जीत हुन्छ आफूचाहिँ हारेँ ।

भाग्यलाई हेर्ने क्रममा यात्राका मार्गहरूमा पछिल्तिर फर्केर हेरेँ । कति लामो, अत्यासलाग्दो र जर्जरयात्रा पार गरिसकेछु । पछिल्तिर लमतन्न बाटो जिगज्याग, संस्मरणहरू निकै सङ्कटपूर्ण । पार गरिसकेको यात्रा हेर्दा म जस्तै सबै यात्रीहरू विजयको दाबी गर्लान् । थकित मन मस्तिष्क त झन् विगतलाई विजय मान्ने नै भयो । तर विजेताहरू अगाडी मात्र हेर्छन्, पराजितहरू यात्राको डोबहरूको संस्मरणमा आत्मरति पिएर रमाउँछन् । तर मनले निष्कर्ष बदलिहाल्यो – तय गरेका यात्राहरू साहसपूर्ण थिए, पाइतालाहरू रक्तिम थिए । परिश्रम र साहसका ती पाइलाहरू अनजान गन्तव्यतर्फ निरन्तर थिए । त्यहाँ कर्तव्य थियो, सङ्कल्प थियो, पसिना थियो, यसैको मलजलमा यात्रा शीतल थियो ।

कठिन पाइलाहरू परिवार, साथी, संस्था र समाजलाई खुसी दिन लालायित थिए । अरूलाई खुसी बनाउने यात्रा दुखपूर्ण भए पनि खुसीका थिए । त्यसैले यात्रा कठिन भएर पनि रमाइलो थियो । यात्रामा अरूको साथ थिएन, साहस थियो, शुभकामना थिएन, आत्मिक सौर्य थियो । त्यसैले त्यो हार होइन, जीत थियो । सङ्घर्षका यात्राहरू सधैँ जीतका अनुभूतिमा हुन्छन् । त्यसैले पछारिंदा, लतारिँदा पनि सिसिफस भइन, त्यो आरोहण थियो । वर्तमानमा त्यस्तै यात्रामा छु तर नियतिले लछार्यो, पछार्यो, खङ्गार्यो पनि । कतिपय अवस्थामा त यो ज्याद्रो पो रहेछ भनी नियति नै दिक्कियो होला, समयले थाक्यो होला । जसले जे सोचोस् अभियानलाई नै जीत सम्झेपछि हार कहाँ बाँकी रहन्छ र ?

रहरसँग जित्न मन लाग्यो । मन न हो, उसलाई रहरको सीमा छैन । साना–ठूला रहरको थाक बुनेथ्यो । पढ्ने रहर, लेख्ने रहर, बुझ्ने रहर, गाउने रहर, लाउने रहर, घुम्ने रहर, रम्ने रहर, आकाशमा तैरिने, सागरमा पौडिने रहर, रहरै रहरको लहर । रहरका पौलले निद्रालाई पनि छाडेन, सपना बनेर पछ्याइरह्यो । एक पटक सपनामा त यति धेरै रहर पूरा भएछन् कि चौबिसौं शताब्दी नभै ती पूरा हुने सामर्थ्यमा थिएनन् । संसार जितेको, मृत्यु जितेको, आकाश गङ्गामा शहर बसाएर आफन्तजनसँग रमाएको, सबैलाई खुसी बनाएको, अरूहरू सबै खुसी भएपछि आफै असीम खुसी भएको । रहरलाई जित्न पाए रहर जित्ने मनहरू सिर्जनामा सलल्ल्ल बग्ने थिए !

सबै प्राणी जित्नकै लागि जन्मेका हुन् । वनस्पति पनि अव्यक्त चेतनामा आकाशतिर अगि बढ्छ । उसलाई लाग्दो हो म सूर्य भेट्न बढिरहेको छु । तर ऊ हजारौं हजार वर्ष बाँचे पनि पाउने उचाइ त्यति धेरै कहाँ हुन्छ र ? फेरि सोचेँ, कति धेरै कुराहरू त जितिसकेको छु । मनका कुराहरू, अनुभूतिहरू शब्दमा उठाउन थालेँ । यो त गज्जबको क्षेत्र हो, मेरा मनभित्रका चाहनाहरू, उद्वेगहरू, आशाहरू, सन्देह र सन्त्रासहरू गज्जबले आफैसँग जितेछु । आफूसँग जित्ने मानिस पो साँचो विजेता । विजेताले छलाङ् हान्छ, घिस्रिँदैन, पिल्सिँदैन । मनका विम्बहरू उतार्न पहिला त मनले मस्तिष्कले मानेन । मन र मस्तिष्कबिच के को शर्त र स्पर्धा, बल्ल सम्झौता गराएँ, अक्षरले विम्ब टिपेन । अनुभूतिका आकृति नटिप्ने अक्षरले हराउन खोज्यो । बल्ल अक्षरलाई अस्पष्ट भए पनि आकृति टिप भनेर फकाएको थिएँ, अक्षरले जीवन पाएन । जीवन बोक्ने अक्षर नभएपछि मेरो सिर्जना बेस्सरी हार्न पुग्यो । जसोतसो सिर्जना गर्दै गएँँ सन्तुष्टि मिलेन, मनल हराइदियो । सन्तुष्टि नमिल्नु हार्नु हो । यस पटक नराम्री पछारिएँ । अक्षरसँग जति म अरू कसैसँग हारिन ।

आमा र जन्मभूमिको आशा पूरा गर्न नपाउँदा गहिरो पीडाबोध गरेँ । आमा र जन्मभूमि छाडेर जागिरमा जानु जागिरका अर्थमा जित होला तर आमा र जन्मभूमिको अपेक्षा पूरा गर्न नसक्नु हार थियो । श्रमको धरातलमा उभिएर रोशीतिरै व्यवसाय गरेको भए दोहोरो जित हुने थियो, आमाको स्याहार र जन्मभूमिको कर्तव्य । दुवै जननीको दायित्व पूरा गर्न नसकेर आफैबाट पराजित म बाँच्नुको अर्थ खोज्न कसरी सक्छु ? बानेश्वर, काठमाडौंका सडकमा लामा पाइला गरेर हिँड्दा आफ्नै छायाले पनि गिज्याउन थाल्छ ।

निजी जीवनमा खुला रहेर हारेँ, सार्वजनिक जीवनमा सार्वजनिक हुन नपाएर हारेँ । निष्ठा र नैतिकतामा बाँचौं भनेँ । साथीहरूले स्पष्ट भाषामा भनिदिए–त्यसो गर्दा त तिम्रै हालत भैहाल्छ नि । त्यसो भन्न, सत्य भन्न हामीलाई सङ्कोच छैन । तिमी बाँच्यौ अभाव र आवश्यकतामा । त्यसरी पनि के बाँच्नु ? जीवन त रामरमौसमा, रजगजमा बाँच्नुपर्छ । जीवनमा आदर्श नपाल, व्यावहारिक बन । तिम्रो आदर्श पढ्न, भन्न, उपदेशका लागि मात्र हो । मन जितेर आग्रह गरेका साथीहरूका यी शब्दहरूसँग फेरि हारेँ, उपबल्ड्याङ नै परेँ । मनले फेरि साहस दिँदै भन्यो– विवेक, निष्ठा र नैतिकतामा बाँच्नेहरू सधैँ जितेर जिउँछन् । नैतिक बलभन्दा शक्तिमान अर्को बल छैन । खुला हात लिएर आउने र खुल्लै हात लिएर  जाने जति विजेता अरू हुन सक्दैन । सानो भए पनि जिते, ठूलो भएर सहेर जिते, ठूलो भएर त्यागले जिते, साथी, समाज र समय सबैलाई जितेँ । जित्नुको स्वाद लिन सकेपछि हार नै हुँदैन, संसार नै जीत हो ।

बरु गर्नै पर्ने, गर्न थालेका कुरा गर्न, पूरा गर्न नपाउँदा चाहिँ साँच्चै हारेँ । युवदाजुले झल्याँस्स पार्नु भो, हेर न आजसम्म आइपुग्दा धेरै लेखिसक्नु पर्ने थियो । हो त, दाजुले भन्नु भएजस्तै कत्ति काम गर्न बाँकी छ । परिवारलाई, साथीलाई, समाजलाई, राष्ट्रलाई र आउने पुस्तालाई गरिसक्नुपर्ने काम धेरै थियो । ती नगरिएका, गर्न नभ्याइएका काम, त्यत्तिकै बितेको समयमा भने म ठूलो हारमा छु । पश्चात्ताप छ, तर फुत्किएको समयप्रति पश्चात्ताप गरेर के गर्ने ?

अनायास मृत्यु आएर हामी सबैलाई हराउँछ रे । यात्रा अनिश्चित भएजस्तै मृत्युचाहिँ निश्चित छ । मृत्युले यात्रा पूरा गर्न दिँदैन, सबैभन्दा सत्य भएर पनि अनिश्चित छ । त्यसैले मृत्यु सबैलाई डर बनाउने  विजेता हो, सबैले उसैलाई अन्तिम विजेता मान्दै आएका छन् । उसदेखि सबै सन्त्रासमा छन् । मलाई लाग्छ, सबैलाई हराए दङ्ग पर्ने मृत्यु सबैभन्दा पराजित हो । सबैलाई हराएर उसले के पाएको छ र उसलाई विजेता भन्ने ? बरु निमेषमा मृत्युसँग मुकाबिला गरेर म उसैलाई हराउँछु । आखिर पराजय भनेको डर न हो, भयमुक्त भएपछि पाइने विजय मात्रै हो । सन्तुष्टि विजय हो, मुक्ति र समर्पण विजय हो । सबै विजेता बन्ने यो नै एक मात्र सूत्र हो । त्यसैले म सधैँ हारे भने पनि सधैँ जितिरहेँ ।