राहुल सांकृत्यायन
(जन्म: ९ अप्रिल १८९३ – १४ अप्रिल १९६३ ।

राहुल साङ्कृत्यायन

राहुल सांकृत्यायन आजमगढका एक ब्राह्मण परिवारका गोवर्धन पाण्डे र कुलवन्तिका जेष्ट पुत्रहुन । उनलाई विभिन्न नामले जानिन्छ – केदारनाथ पाण्डे, दामोदर स्वामी, त्रिपिटकाचार्य । हिन्दी साहित्यका महापण्डित राहुल सांकृत्यायन बहुभाषी थिए । यहाँ उनको बहुचर्चित जर्मनी भ्रमणको संस्मरण प्रस्तुत गरिएको छ ।)

म जुलाई २७, १९३२ मा लन्डन पुगें । त्यसबेलादेखि १४ नोभेम्बरसम्म इङ्ल्यान्डमै बसेँ । त्यहाँको बसोबासको बारेमा फेरि लेख्छु । १४ नोभेम्बर म पेरिस सहर गएँ र २६ नोभेम्बरसम्म बसें । दुई व्याख्यान अतिरिक्त म्युजियममा मैले तिब्बतबाट ल्याएको चित्रहरूको प्रदर्शनी पनि थियो । नोभेम्बर २६ मा, मैले रेलवे पार्सलद्वारा तस्बिरहरू पठाएँ र फ्रान्कफर्ट (जर्मनी) तर्फ लागें ।

हाम्रो रेल परी स्टेशनबाट राति ९.१५ बजे (आधा राति, करिब पाँच घण्टा पछि) छुट्यो । बाटोमा गाडी फ्रान्सेली सिमाना पार गरेर जर्मनी प्रवेश गर्दा भन्सार अधिकृत आएर सोधपुछ गरे । चुरोटका लागि विशेष सोधे ! त्यसपछि राहदानी जाँचकर्ता आए । फ्रान्स र जर्मनीमा अंग्रेजी नागरिकहरूका लागि भिसा आवश्यक छैन । हामी दुबै दुई बेन्चमा एक्लाएक्लै थियौं, त्यसैले सुत्न सहज थियो । रेल बिहान १० बजे फ्रान्कफर्ट पुग्नु थियो । आठ बजे बिहान पोहर फाट्न थाल्यो र त्यसपछि द्वाश-लान्ट (जर्मनी) को सुन्दर भूमि देखिन थाल्यो । ठाउँ अग्ला होचा पहाडले घेरिएको थियो । जोतेका खेतहरू र पातविहीन नाङ्गा रूखहरू यथेष्टै देख्दा जर्मनी फ्याक्ट्रीहरूको मात्र देश होइन भनेर बुझ्न सकिन्थ्यो । धेरै ठाउँमा, सहरहरूमा पनि ठूला चिम्नीहरू भएका कारखानाहरू थिए । हामीले रेलमा भेटेका अग्ला, बलिया अफिसरहरू हामीले फ्रान्समा देखेका पातला, शिक्षित मानिसहरू भन्दा फरक देखिदैँ गइरहेका थिए ।

परीबाटै मेरा साथीहरूले बिहानको खाजाको लागि दुई वटा आपेल र दुई-तीन टुक्रा स्यान्डविच राखि दिएका थिए । स्यान्डविचलाई सातु जस्तै बहुगुणी खानाको रूपमा बुझ्न सकिन्छ । एउटा पातलो पाउरोटीको बीचमा मखान लगाइएको हुन्छ र भित्र बेकनको पातलो तह राखिन्छ । योनै स्यान्डविच हो । यसको नामको पछाडिको कारण यस्तो रहेछ- “इङ्गल्याण्डमा लर्ड स्यान्डविच नामको एक सामन्ती शासक सधैं जुवा र पासा खेलमा व्यस्त रहन्थ्यो । उसलाई खेल छोडेर खानामा समेत धेरै समय लगाउन मन लाग्दैनथ्यो, त्यसैले खेल्दाखेल्दै नोकरहरूले उसलाई त्यही प्रकारको खाना खुवाउँथे । ऊ खेल्दाखेल्दै त्यो खाना खाइ सक्थ्यो । लर्ड स्यान्डविचले खाने खाना हुनाले यसको नाम स्यान्डविच भएको रहेछ ।”

स्याउ र स्यान्डविच खाएपछि म तयार बसेँ जब हाम्रो रेल १० बजे फ्रान्कफर्ट पुग्यो । मैले श्रीयुत इन्दरबहादुर सिंहलाई मेरो आगमनको बारेमा पहिल्यै जानकारी गरिसकेको थिएँ – र मेरो पहेँलो रंगको लुगाको बारेमा पनि ! साँच्चै, म प्लेटफर्ममा ओर्लने बित्तिकै, मैले चश्मा र भेडाको छालाको सेतो गान्धी टोपी लगाएका एक जवान मान्छे अगाडि उभिरहेको देखें । उहाँसँग अर्का एक सज्जन पनि थिए, जसलाई इन्द्रजीले जापान निवासी प्रोफेसर डा. कितायामा भनेर चिनाए । हामीले शूमान स्ट्राचेसम्म ट्याक्सी चढ्यौं । डा. कितायामा जापानका दुई सम्प्रदायका बौद्ध भिक्षु हुन् । दश वर्षअघि उनलाई उनको मठले संस्कृत र आधुनिक अन्वेषणको ज्ञान लिन जर्मनी पठाएको थियो । डाक्टर (पीएचडी) भइसकेपछि उनी केही वर्ष देखि मारबर्ग र फ्रान्कफर्टका विश्वविद्यालयहरूमा बौद्ध धर्म र चिनियाँ भाषाका शिक्षक छन् । डा रुडोल्फ ओतोले मलाई मारबर्ग ल्याउन विशेष गरी उनलाई पठाएका थिए ।

श्री इन्द्रबहादुरका अतिरिक्त श्री ए वसु, डा. देवीलाल र अन्य दुई भारतीयहरू पनि यहाँ बस्छन् । उनिहरू तीनै जना एकदमै देशभक्त सज्जन हुन् । वसु महाशयकी जर्मन पत्नी पीएच.डी. र उनी धेरै ठूला कम्पनीको निर्देशक, एक धनाढ्य बुबाकी एक्ली छोरीहुन् । विदेशमा बिहे गर्ने भारतीयहरूमध्ये प्रायः यो देख्न पाइन्छ कि उनीहरू संस्कारी, शिक्षित परिवारमा विवाह गर्दैनन् । श्रीयुत वसुको विवाह यसको अपवाद थियो । इन्द्रजस्तै वसुले पनि छालाको गान्धी टोपी लगाएका थिए । यसका लागि उनले प्रत्येक टोपीमा ३० मार्क (रुपैयाँ) खर्च गर्नु परेको छ । छोटो कुराकानी पछि फ्रान्कफर्ट पनि घर बन्यो । इन्द्रजीबाट नै थाहा भयो कि सत्यनारायण हिजो स्कन्धनाभिय देश गएका रहेछन् । उनी गजबका घुमक्कड । निबन्ध सकिएलगत्तै उनी घुम्न निस्किएका रहेछन् ।

सन् १९२७-२८ मा लंकामा आचार्य ओतोसँग मेरो परिचय भएको थियो । यद्यपि त्यसबेला हाम्रो कुराकानी दुई घण्टा मात्र चलेको थियो । तर त्यसबेला देखि हामी निकै नजिकिएका थियौं । हामीमा पत्राचार मात्र चलि रहेको होइन, एक पटक (म ल्हासामा हुँदा) उनले आफ्नो पत्र जर्मन भाषामा लेखेका थिए । साथमा ह्युगोको ‘जर्मन सेल्फ-टिचर’ र ‘जर्मन अंग्रेजी शब्दकोश’- पठाएका थिए । र पत्रमा लेखेका थिए “अब वाचा गरिरहनु पर्दैन, मेरो पत्र पढनका लागि पनि जर्मन सिक्नै पर्छ ।” प्रेमको यो बलात्कार मैले स्वीकारे तर त्यसमा लामो समयसम्म लागिरहिन । वास्तवमा, फ्रान्सेलीहरू जस्तै यदि कसैलाई आफ्नो कामको लागि जर्मन पुस्तकहरू पढ्न बाध्य पारिन्छ भने यो पनि काम विशेष नै हुन्छ । आचार्य ओतोको उमेर ७० वर्ष नाघेको थियो । उहाँ संस्कृतका प्रख्यात विद्वानहरू मध्यबाट भएता पनि उहाँका धेरैजसो पुस्तक र लेखहरू संस्कृत साहित्यको बाह्य विषयभन्दा आन्तरिक विषयमा छन् । त्यसैले उनलाई प्राच्य विज्ञको रूपमा धेरै कम भारतीयहरूले चिन्ने गर्छन् । मारबर्ग विश्वविद्यालय (जर्मनीमा) धर्मशास्त्रका लागि सबैभन्दा प्रसिद्ध विश्वविद्यालय हो । उहाँ वर्षौं देखि त्यसको कुलपति हुनुहुन्छ । आफ्नो विचारमा, उहाँ श्रीयुत र जाकी जस्तै एक उदार इसाई हुनुहुन्छ । योगाका पनि प्रेमी र अभ्यासी हुनुहुन्छ ।

भोलिपल्ट डाक्टर कितायामा आएर भने, “आचार्य ओतो फोक्सोको रोगले छिट्टै इटालीको समुद्रतट जादैँ छन् । त्यसैले तपाईं चाँडै जानुपर्छ । यसरी डिसेम्बर १ मा डा. किता र म दिउँसोको रेलमा मारबर्गको लागि प्रस्थान गर्यौं । आज दिनको यात्रा थियो । त्यसैले खेत, गाउँ, पहाड सबै सुन्दर देखिन्थे । आज एक ठाउँमा गोरुले खेत जोतिरहेको देखें ! फ्रान्स र इङ्गल्याण्डमा घोडाहरूले मात्र जोतेको देखेको थिएँ । यसरी दुई घण्टाको यात्रापछि हामी मारबर्ग पुग्यौं ।

मारबर्ग 40-50 हजार मान्छे बसेको सानो सहर हो । सहरको पुरानो सामन्ती दरबार, गिर्जाघरहरू र घरहरू पहाडको भिरालोमा उभिएका छन् । पहाड र त्यसको मुनि जताततै रुख र वनस्पति देखिन्छ । हिउँदमा देवदारु बाहेक अरु सबै रुखमा पात हुदैन । सहरको सरसफाई र स्वच्छता बारे त के भन्नु र ! जब हामी सहर तिर लाग्यौं, महिलाहरू लामो सुनौलो कपालमा देखिए । हिजोआज इङ्गल्याण्ड, फ्रान्स र जर्मनीका धेरै ठाउँहरूमा महिलाहरूले आफ्नो कपाल काट्छन् र छोट्याउ छन् । कुनै पनि महिलाको कपाल देख्दा चकित पर्छु !

सोधिखोजी गरे पछि थाहा भयो कि मारबर्ग वरपरका गाउँहरूमा अझै पनि सनातनी महिलाहरू छन् ! चम्पारणका गाउँका वृद्ध महिलाहरूको जस्तै यहाँ पनि चन्द्राहारकै आकारमा कपालको चुल्ठो ! म आश्चर्यका साथ हेर्दै थिएँ, त्यहाँ पच्चीस जना जति थिए र उनिहरू पनि उभिएर मैले पहिरेको मेरो पहेँलो पहिरन हेरिरहेका थिए ।

होटलमा केही बेर आराम गरेपछि म कितायामासँगै आचार्य ओतोको घरमा गएँ । पहाड जस्तै अग्लो घर । छ बजेको थियो । रातको दुई घण्टा बितिसकेको थियो । जाडो पनि राम्रै थियो, यद्यपि युरोपमा घरहरू तातोनै राखिन्छ । जसका कारण बाहिर ठिर्याउने चिसो भए तापनि घर भित्र चाहिँ कोट, टोपी फुकाल्नु पर्छ । कलिङ घण्टी बजाउने बित्तिकै नोकर आयो । डाक्टर किताले मेरो आगमनको खबर पठाउनु भयो । केही बेरमै सेतो कपाल र अग्लो शरीर भएका आर्य प्रिन्सिपल ओतो अगाडि आएर सिँढीमा उभिए । हेरेँ, उनको शरीर अलि कमजोर थियो । स्वास्थ्य राम्रो नभएको थाहा लाग्यो । सत्तरी नाघेका भए पनि कम्मर झुकेको थिएन ! स्वागत पछि उनको बैठक कोठामा गयौं । सुरु भएको गफ पाँच घण्टासम्म चल्यो! समय बित्दै गयो तर हाम्रो गफ टुंगिएन । मैले मेरा केही कृतिहरू बारे सुनाएँ ।आचार्यले यमुनाचार्यको सिद्धित्रयको जर्मन अनुवादको चर्चा गरे । सोधे– हाम्रो देशलाई कसरी हेर्नुहुन्छ ? मैले जवाफ दिएँ– जाडो र शरदको कारणले देशको सम्पूर्ण सौन्दर्य मेरा आँखामा गायब भयो । तर म हिमालयजस्ता ठाउँहरूसँग परिचित छु, त्यसैले यो देश, विशेष गरी मारबर्ग गर्मीमा रमाइलो हुन्छ भन्ने बुझ्न मलाई कुनै समस्या छैन । प्रिन्सिपल ओतोले भने–”कवि रवीन्द्र गर्मीमा यहाँ आएका थिए । कवि रवीन्द्रले पनि मारबर्गको सौन्दर्यको प्रशंसा गरेका थिए ।”

त्यहाँका ग्रामीण महिलाहरूले चन्द्राकारको चुल्ठो बाँधेको र मान्छेहरूले खेतमा गोरुले हलो जोतेको सन्दर्भमा मैले भनेँ- ” मैले यसमा ऋग्वेदकालका आर्यहरूको उष्णीय विचार र समानता पाएको छु ।”

उनले भने- “बाल्यकालमा मैले देखेको जर्मनीमा गोरुलाई हलो तनाउँथिए । घोडाले हलो जोत्नेहरू त केही धनी मानिस थिए जो शौकको मात्र थियो । गाउँले जनताहरू पुरातनका असल भक्त हुन्, त्यसैले उनिहरूको चाल-चलन र परम्परामा कुनै प्रकारको आश्चर्य मान्नु छैन । यहि कारण युरोपेली र भारतीय आर्यहरूका पुर्खाहरूको केही चाल-चलन प्रचलनमा देखिनु ठूलो कुराहोइन ।”

यो प्रेमालाप, जस्तै की हामी दुबैजना हजारौं वर्षदेखि छुट्टिएका दाजुभाइको भेट भएको छ, सम्बन्ध चलिरहेको छ जस्तो लाग्यो ! ऋग्वेदका दधिक्र र नासत्य शब्दहरूको बारेमा कुरा गर्दै उहाँले भन्नुभयो – “दधिक्र घोडाको नाम हो, तर ‘दधत् क्रामतीति’ को व्युत्पत्तिबाट होइन । आर्यहरूले सुरुमा घोडा पालथिए । सवारीका लागि घोडा पाल्थिए । घोडा संदिग्ध पनि हो । मलाई यस्तो लाग्छ- ‘दक्षिणी रूसका बासिन्दाहरू जसले विशेष गरी कुमिस (दहीबाट बनेको पेय) को लागि घोडा पाल्थिए, उनीहरूले पनि दहीको लागि घोडाहरू पाल्छन् । र ‘दधिक्रा’ मा दधि शब्द दहीको लागि नै हो ।”

मलाई साँझ पछि खानु थिएन । त्यसैले खाना खाने बेलामा पनि बसेर गफ नै चलिरह्यो । उनले वृद्ध भैसकेकी उनकी भगिनीसँग परिचय गराए । दोस्रो दिन मध्याह्नको खानपिन भयो । मध्यरातमा म आफु बसेको स्थानमा पुगें ।

३ डिसेम्बरमा आचार्य ओतो आफ्ना शिष्यहरूसँग बिदाई लिएर समुद्र किनार जान निस्किए । त्यो दिन उनले महात्मा गान्धीको बारेमा बोले । मलाई पनि निम्तो थियो । ठूलो सभाहलमा चार-पाँच सय विद्यार्थी बसिरहेका थिए । आचार्यले महात्मा गान्धीका बारेमा गहकिलो भाषण दिए । मेरा बारेमा पनि केही भने । मेरो पनि भाषणको आश राखेका थिए ।

त्यहाँबाट हामी मारबर्गको धार्मिक संग्रहालयमा गयौं । बौद्ध, सनातन, यहुदी, क्रिस्चियन, इस्लाम जस्ता सबै धर्मका ग्रन्थ, मूर्ति, पूजाका भाँडा, चित्रकला आदिको सुन्दर संग्रह रहेछ । र ती धर्मका अनुयायीहरूको भक्तिभावलाई ध्यानमा राखी यी सङ्ग्रहलाई सजाइएको रहेछ । हतारका कारण म भोलिपल्टै त्यहाँबाट निस्किएँ र समयको अभावले फेरि मारबर्ग फर्किन सकिनँ ।

डिसेम्बर ३ मारबर्ग विश्वविद्यालयका संस्कृतका प्राध्यापक डा. नोबललाई भेट्न गएको थिएँ । ऊ पाठ-भेदका भिन्नतासहित ‘सुवर्णप्रभाससुना’ (बौद्ध ग्रन्थ) को संस्करण छाप्दै रहेछन् ।

मलाई फ्रान्कफर्टबाट टेलिफोन आएको थियो र म फ्र्याङ्कफर्ट फर्किनु पर्ने भएको थियो । आजै वसु महाशयको ‘भारतमित्रसभा’मा भाषण थियो र मलाई पनि केही शब्द बोल्न भनियो ।

महाबोधीका ट्रस्टीहरूको पत्र भेटें । उनले चाँडै फर्कने मेरो मनसायमा दुख व्यक्त गरेका रहेछन् । र लेखिएको थियो कि तपाई जाडोसम्म युरोपमा बस्नुहोस् र त्यसपछि अमेरिका हुँदै फर्कनुहोला । मैले अस्वीकार गर्दै जवाफ पत्र लेखें ।

फ्रान्कफर्ट विश्वविद्यालय जर्मनीका प्रसिद्ध विश्वविद्यालयहरू मध्ये एक हो । अर्थशास्त्र र समाजशास्त्रमा यहाँ विशेष ख्याति छ । यहाँ चार हजारभन्दा बढी विद्यार्थी पढ्छन् ! जर्मनीमा, सबै केटा वा केटीलाई आठ वर्षको शिक्षा अनिवार्य छ । तिनीहरू चार वर्ष प्राथमिक श्रेणीमा अध्ययन गर्छन् र त्यसपछि माध्यमिक श्रेणीमा, माथिको पाँच वर्षको अध्ययन वैकल्पिक हुन्छ । यसरी तेह्र वर्ष मा माध्यमिक शिक्षा वा म्याट्रिक परीक्षा समाप्त हुन्छ । जुन छ वर्षदेखि सोह्र वर्षको उमेरसम्मको हुन्छ । त्यसपछि तीन वर्ष विश्वविद्यालयमा पढ्नु पर्छ । यसपछि दुई वर्ष पीएच.डी.का लागि । हाम्रोमा जस्तो त्यहाँ बी.ए, एम.ए. डिग्री छैन । भारतको कुनै विश्वविद्यालयको डिग्री त्यहाँ अनिवार्य छैन । विद्यार्थीलाई एउटा निबन्ध लेख्न भनिन्छ, जसमा उनको त्यो विषयको सामान्य ज्ञानको परिचय पाइन्छ । त्यसपछि तीन वा चार सेमेस्टर वा डेढ देखि दुई वर्षमा पीएचडीको निबन्ध दिन सक्छन् । प्रोफेसरले थप परिमार्जन गर्न निबन्ध एक-दुई पटक फिर्ता गर्छन्, र स्वीकार गरे पनि निबन्ध छापिएर विश्वविद्यालयलाई दुई सय पचास प्रति नदिएसम्म डिग्री प्रदान गर्न सकिँदैन । फ्रान्समा पनि निबन्ध प्रकाशित गर्नका लागि यस्तै कडा नियमहरू छन् । योग्य व्यक्तिका लागि प्रोफेसरले यदि चाहे भने निबन्धको समय घटाउन सक्छन् ।

हिन्दीबाट नेपाली अनुवाद-योगप्रसाद उपाध्याय चापागाईं