कवि रमा पौडेलको “बलात्कार” शीर्षकको कविता यतिबेला सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा छ । अहिलेको भाषामा भन्नुपर्दा सर्वाधिक भाइरल भइरहेको छ ।
गत फागुन १९ गते शनिबार उहाँले यो कविता आफ्नो फेसबुक वालमा राख्नुभएको थियो । उहाँको वालबाट मात्रै यो सामाग्री तयार पार्दासम्म ८६ हजार भन्दा बेसी लाइक, ४ हजारभन्दा बढी कमेन्ट र १६ सयभन्दा धेरैले सेयर गरिसकेका छन् ।
उहाँको फेसबुकबाट मात्रै ६३ लाखभन्दा धेरैको वालमा यो कविता पुगिसकेको देखिन्छ । यसदेखिबाहेक पनि विभिन्न व्यक्तिले आ-आफ्नो फेसबुकमा राखेर यसलाई सेयर गरिरहेका छन् । कतिपयले भने यस कवितालाई वाचन गरेर पनि राखेका छन् । त्यसैगरी विभिन्न अनलाइन मिडियाहरुले पनि यो कवितालाई प्रकाशित गरिरहेका छन् ।
देशमा विभिन्न समयमा बलात्कारका घटनाहरू भइरहने भएकोले पनि यो कविता बेसी रुचाइएको हुन सक्ने उहाँ बताउनु हुन्छ । साहित्यपोस्टसँग कुराकानी गर्दै कवि पौडेल चितवनकी १४ वर्षीया बालिका शालिन पोखरेको मृत्युको घटना सार्वजनिक भएपछि यो कविता लेखिएको सुनाउनु हुन्छ । त्यस घटनाले आफूलाई बहुत दुःखी बनाएको र त्यसपछि यो कविताको जन्म हुन पुगेको भन्दै उहाँ कविताको रचना गर्भ सुनाउनु हुन्छ ।
कविता भइरल भइसकेपछि विभिन्न किसिमका प्रतिक्रियाहरू पाइरहेको उहाँ बताउनु हुन्छ । कतिपयले चाहिँ सबै पुरुषलाई बलात्कारीको रुपमा व्याख्या गरिएको भन्दै आपत्ति जाएर प्रतिक्रिया दिएको पनि उहाँ बताउनु हुन्छ ।
सकेसम्म यस किसिमका कविता लेख्नै नपरोस् भन्ने चाहना भए पनि कहिलेकाहीँ समय परिस्थितिले यस्तो बनाउने उहाँ उल्लेख गर्नुहुन्छ । दाङको लमही स्थायी घर भएकी कवि पौडेल कामको सिलसिलामा यतिबेला सुर्खेतमा हुनुहुन्छ । मेनेजमेन्टमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएकी कवि पौडेल एक गैर-सरकारी संस्थामा कार्यरत रहनु भएको साहित्यपोस्टका प्रतिनिधि डिजी शर्मालाई बताउनुभयो ।
अब प्रस्तुत छ सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको कवि रमा पौडेलको यो कविता ।
कविता : बलात्कार
सानी थिएँ
आँगनमा खेल्दै थिएँ
छिमेकीले चकलेट देखाएर
बलात्कार गर्यो
स्कुल गएँ
साथीसँग मैदानमा खेल्थेँ
शिक्षकले ज्ञान देखाएर
बलात्कार गर्यो
ठुली भएँ
साथी बनाएँ
साथीले प्रेमको बहानामा
बलात्कार गर्यो
बिहे गरेँ
श्रीमती भएँ
श्रीमानले श्रीमतीको नाममा
बलात्कार गर्यो
म छोरी हुँ
मैले उनीहरूसँग
चकलेट देखेँ
ज्ञान देखेँ
प्रेम देखेँ
श्रीमान् देखेँ
तर उनीहरूले
मेरो योनीबाहेक केही देखेनन्
त्यसैले म
बारम्बार बलात्कारमा परिरहेँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ जेष्ठ २०८३, शुक्रबार 








