आज रङ्गमञ्चमा एउटा नयाँ नाटक मञ्चन भैरहेको छ
पात्रहरू दुई समूहमा विभाजित छन्:
नाङ्गिएकाहरू र नङ्ग्याउनेहरू

नाङ्गिएकाहरु मञ्चको एक कुनामा
भर्खरै ट्रोजन युद्ध जितेर आएका योद्धाझैं
ठाडो शिर लगाएर उभिएका छन् –
निर्भय, निर्लज्ज, अविचलित, अक्षुण्ण

उनीहरूको अनुहारमा कतै लज्जापन झल्कदैन
आफ्नो धोती खुस्किएकोमा उनीहरूलाई
कुनै आत्मग्लानि छैन, पर्वाह छैन, हीनताबोध छैन मानौं
उनीहरूको शब्दकोशमा शरम भन्ने शब्दले कहिलै प्रवेश पाएकै छैन
मानौं सामाजिक रुपमा नाङ्गिनु उनीहरूको लागि
आफ्नै श्रीमतीसँगको सहवास बराबर हो
उनीहरू त उल्टै भन्किरहेका देखिन्छन्
ठुङ्न मुन्टो उठाएको गोमन सर्पजस्तो

उनीहरूका अनुहारमा दन्किएको अभिमानी
आगोको रापले मञ्च रापिलो भएको छ
त्यो रापमा सेकिन दर्शकहरू विवश छन् किनकि
किनकि त्यो रङ्गमञ्चमा एउटा मात्र बहिर्गमन द्वार छ
र जसको शिरमा लेखिएको छ – मृत्यु

एकै क्षणमा नांगाहरूको परिचय सुरु हुन्छ
एक एक गर्दै उनीहरू मञ्चको अग्र भागमा आएर
आफ्नो परिचय दिन थाल्छन्
ती नाङ्गिएकाहरू दर्शकका लागि देखिरहेका
जानिरहेका, चिनिरहेका अनुहार जस्तो लाग्छ –
कोही मन्त्रीजस्ता, कोही सांसदजस्ता
कोही नेताजस्ता, कोही प्राध्यापकजस्ता
कोही कर्मचारीजस्ता, कोही साहित्यकारजस्ता
कोही कलाकारजस्ता आदि आदि

मञ्चको अर्कोतर्फ नङ्ग्याउनेहरूको ताँती छ-
चरित्र नखुलेका फरक अनुहारहरू
नङ्ग्याउनेहरू हराएका छन् – आत्माभिमानमा
मानौं, नङ्ग्याउन सक्नु भनेको
सफलताको सगरमाथा चढ्नु हो
मानौं, त्यो दिन उनीहरूले समुद्रको पिंधबाट
मोती टिपेर ल्याएको दिन हो
उनीहरू पुलकित छन् –
नङ्ग्याउन पाएकोमा , नङ्ग्याउन सकेकोमा
नङ्ग्याउन सफल भएको आत्मरतिमा
मख्ख उनीहरूका हँसिला अनुहारमा
बलिरहेको मुस्कानको ज्योतिले
अहंकारी नाङ्गा पात्रहरूमा
रिस र प्रतिशोधको डढेलो सल्काइरहेको छ
नङ्ग्याउनेहरू अट्टहाससँग हाँसिरहेका छन्
रोमाञ्चित भएका छन्

हाँस्दाहास्दै उनीहरूको धोती कहिले खुस्किन्छ
उनीहरूलाई नै होस् हुँदैन
दर्शकदीर्घामा आवज गुन्जन्छ –
“तपाईंको पनि कन्दनी खुस्कियो, सम्हाल्नुस्”
त्यो आग्रह केवल खोलाको गीत बन्छ
उनीहरूलाई आफ्नो लाज ढाक्नमा भन्दा
अरु नाङ्गिएको रमिता हेर्न, हेरिरहन
अनि अनवरत हाँसिरहन हतार देखिन्छ

नङ्ग्याउनेलाई आफूले पाएको मौकामा चौका हान्नु छ-
देखिनु छ, देखाउनु छ, भाइरल हुनु छ
एकै क्षणमा नाटक शुरु हुन्छ
नाङ्गिने र नङ्ग्याउनेहरूबीच भीषण युद्ध चल्छ
कोही सामाजिक सञ्जालको भित्ताले प्रहार गर्छन्
कोही संसद्को कुर्सीले प्रहार गर्छन्
कोही गर्छन् पद र प्रतिष्ठा नपचेर बनेको
अहंकारी विषाक्त वमनले प्रहार
दोषारोपण, छेडछाड, घोचपेच चलिरहन्छ –
तिमीले लेखेको भएन, तिमीले बोलेको भएन
तिमी मुर्ख हौ, तिमी टट्टू हौ, आदि आदि
न कसैले माफी माग्छ, न कसैले क्षमा दिन्छ
न नाङ्गिएकाहरू हच्किन्छन् न नङ्ग्याउनेहरू तर्सिन्छन्

केवल विचलित हुन्छन् त दर्शक
तर उनीहरू केवल लाचार भएर पर्खिन बाध्य छन्
नाङ्गिएकाहरू र नङ्ग्याउनेहरूको भद्दा नाटकको अन्त्य ।