लुइगी पिरान्डेल्लो

लुइगी पिरान्डेल्लो इटलीका कवि, कथाकार, उपन्यासकार र नाटककार हुन् । उनको जन्म सन् १८६७ सालको २८ जूनमा सिसिलीको पुरानो शहर एग्रिजेन्टोमा भएको थियो । १९ वर्षको उमेरमा विश्वविद्यालयमा शिक्षार्जन गर्नका निम्ति उनी रोम पुगे । सन् १८९१ मा जर्मनी गए । उनले बोन विश्वविद्यालयबाट दर्शनशास्त्र र भाषाशास्त्रमा डिग्री प्राप्त गरे । त्यहीँबाट दर्शनशास्त्रमा डक्टरेटको उपाधि पनि प्राप्त गरे । सन् १९३४ सालमा साहित्यका निम्त उनलाई नोबेल पुरस्कार प्रदान गरियो ।

सन् १८९९ मा तेस्रो सन्तानको जन्मपछि उनकी पत्नीको विक्षिप्तताले उनको जीवन नर्कतुल्य भयो । सन् १९१८ मा उनकी पत्नीको निधन भयो । आर्थिक सङ्कट र पत्नीको शारीरिक रूग्णताले गर्दा पिरान्डेल्लो धेरै तनावग्रस्त भए ।

कवि पिरान्डेल्लो सफल उपन्यासकार मात्र भएनन्, विश्वविख्यात नाटककार पनि बने । उनले कविता, कथा, उपन्यास आदि तीस वर्ष जति लेखे । त्यसपछि नाटक लेख्न शुरू गरे। उनका सर्वश्रेष्ठ मानिएको उपन्यास हो “द लेट माटसिया पास्कल” (The late Mattia Paskal) जुन सन् १९०४ मा प्रकाशमा आएको मानिन्छ । मृत्युलाई छल्न खोजेर विविध परिवेशमा अर्को नाम ग्रहण गरेर नयाँ गरी जीवन जिउने व्यर्थ प्रयास गर्ने एक व्यक्तिको कथायुक्त यो उपन्यास बहुचर्चित हुन पुग्यो ।

इटलीमा मात्र नभएर विश्व साहित्यमा नै चर्चित व्यक्तित्व हुन् पिरान्डेल्लो। उनका ३६५ वटा लघुकथाहरू एउटा खण्डमा सङ्कलित गरिएको छ Novelle Per Un Anno… शीर्षकमा । उनका प्रथम प्रकाशित कृति ‘मल जियोकोन्दो’ (Mal giocondo) (१८८९) कविता सङ्ग्रहलाई मानिन्छ । उनले आफ्ना लघुकथाहरूलाई एकाङ्कीमा परिवर्तित गरेर नाट्यलेखन शुरू गरेका थाहा लाग्छ । प्रथम विश्वयुद्ध र त्यसपछिका वर्षहरूमा उनले नाटकलाई नै आफ्ना सशक्त विधा बनाए ।

राइट यू आर! , इफ यू थिङ्क सो-१९१६, Six Characters in Search of an Author -१९२१ जस्ता नाटकहरूले पिरान्डेल्लोलाई प्रसिद्धिको शिखरतर्फ लम्काए । Six Characters in Search of an Author ले त विश्व नाट्य जगतमा खैलाबैला नै मच्चायो। परम्परागत मञ्चको सीमा र मानव व्यक्तित्वको रहस्यमाथि स्वैरकल्पनाद्वारा अभिव्यक्ति दिइएको यस नाटकले नाट्य लेखन शैली र विषयवस्तुमा नवीनता भित्र्यायो ।

एउटा थिएटर कम्पनीको नाटकको पूर्वाभ्यास भइरहेको बेला छ जना मानिसहरू आइपुग्छन् । उनीहरू साधारण मानिस होइनन्, अपितु अलिखित नाटकका चरित्रहरू हुन् । लेखकद्वारा सृजित तर नाटकमा ठाउँ नपाएका यी चरित्रहरू लेखककै खोजीमा हुन्छन्, जसले उनीहरूलाई नाटकमा ठाउँ दिएर बचाउन सक्छन्, उनीहरूका अधूरा कथालाई पूरा गरेर पार लगाउन सक्छन् । हामी कहाँबाट आयौँ ? हामी कहाँ जाँदैछौँ ? हामी जे बन्न चाहन्छौँ, त्यो कसरी बन्न सक्छौँ ? प्रभृति अनिश्चितता व्याप्त प्रश्नहरू तेर्सिएका देखिन्छन् यी चरित्रहरूभित्र । यी चरित्रहरूले उनीहरूका जीवनमा घटित प्रमुख घटनाहरू वर्णन गर्छन्, तर्क गर्छन् । यी कुरा पिरान्डेल्लोका सर्वश्रेष्ठ मानिने तथा सम्भवतः “anti-theatre”-को प्रथम उदाहरण ठानिने नाटक Six Characters in Search of an Author मा उल्लिखित पाइन्छ । परम्परागत नाट्यलेखन र मञ्चनपद्धतिलाई तोड़ेर नवीनता पस्किने तथा बीसौँ सदीका रहस्यात्मक नाटकहरूमध्ये एउटा सशक्त नाटक मानिने यस नाटकले विश्वरङ्गमञ्चमा ठूलो क्रान्ति ल्याएको देखिन्छ ।

पिरान्डेल्लोका अन्य नाटकहरूमा हेनरी चौथो, इच इन हिज ओन वे, एज यू डिजायर मी, टुनाइट वी इम्प्रोभाइज, लाइओला, रूल्स अफ द गेम, ग्राफ्टेड, द अदर सन, अल फर द बेस्ट, क्लोद द नेकेड, द म्यान विद् द फ्लावर इन हिज माउथ, लाजारूस, द माउन्टेन जाइन्ट्स प्रभृति उल्लेखनीय मानिन्छन् । द माउन्टेन जाइन्ट्सलाई पिरान्डेल्लोका अन्तिम अपूर्ण नाटक मानिन्छ । यस नाटकले पनि इटलीमा निकै खैलाबैला मच्चाएको थियो। मार्टा अब्बाद्वारा रूपान्तरित अनि सन् १९५८ सालमा क्राउन प्रकाशन, न्यूवर्कद्वारा प्रकाशित द माउन्टेन जाइन्ट्स र अन्य नाटकहरूका भूमिकामा द पिरान्डेल्लो सोसाइटीका अध्यक्ष जर्ज फ्रिडले लेख्छन्- “द माउण्टेन जाइन्ट्स(आइ गिगान्टी डेल्ला मोन्टाग्ना)पिरान्डेल्लो को अन्तिम नाटक हो। यस ब्रह्माण्डसम्बन्धी नाटकले उनको दर्शनको सार बोक्दछ तर उनले कहिल्यै पूरा लेख्न सकेनन्……तर आफ्नो अपूर्ण अवस्थामा पनि उक्त नाटक इटलीमा मञ्चित भयो ,जहाँ यसले धेरै समालोचकीय सह्रनी कमायो अनि प्रेक्षकवर्गले पनि धेरै मन पराए।”यस भनाइबाट अपूर्णतामा पनि सफल पूर्णता दर्शाउन सक्ने दक्षता र प्रतिभा निहित महान् नाटककार थिए लुईगी पिरान्डेल्लो भन्ने तथ्य स्पष्ट हुन्छ।

उक्त नाटक सङ्कलित सङ्ग्रहमा परेका अन्य नाटकहरू हुन् -द न्यू कलोनी (The New Colony) र समवान इज समबडी (Someone is Somebody)। द न्यू कलोनीलाई फासिज्मको विरुद्धमा राजनैतिक प्रतिवाद मानिन्छ तर यो नाटक प्रतिबन्धित भएन, न त कुनै राजनैतिक दबाब नै दिइयो ।

“इटलीका महान नाटककार विरुद्ध कुनै दोषग्राही राजनैतिक कार्यबाही गरिएन।आधुनिक नाट्य जगतमा रहेका केहीमध्ये यो एउटा सार्वजनीय सरोकारयुक्त राजनैतिक नाटक हो।पृथ्वीमा एउटा व्यवस्थित समाज निर्माण हेतु सही प्रकारले सृजित पार्ने विषय-वस्तुलाई पिरान्डेल्लोले राम्ररी सम्बोधन गरेका छन्।सायद यही कारणले गर्दा मुसोलिनीले उनको अधिनायकवादी आत्मालाई अपमानित गरेको भए तापनि नाटकको स्वरूपलाई अनदेखा गरेका थिए,”(जर्ज फ्रीडलेले उनका बारेमा टिप्पणी गरेका छन् ।

विद्वत्वर्ग मान्छन् पिरान्डेल्लो भनेकै सार्वभौम र विश्वजनीन सत्ता, सीमित र बद्ध संसारमा असीम र मुक्त सत्ता उनी। पत्नीको रुग्णता र विक्षिप्ततामा धेरै दुखेका र रोएका उनी सत्यका पक्षधर। अत्याचार र दमनलाई प्रतिवाद गरेर नयाँ समाजको गठन हेतु आवश्यक परिकल्पना र दर्शनका समदर्शी सर्जक उनी। लण्डन, पेरिस, स्वीट्जरल्याण्ड, बर्लिन र अन्य जर्मन नगरहरूमा अपार सफलता, प्रख्याति र आदर-सम्मान प्राप्त गर्न सक्षम भएका थिएटरका मास्टर उनी । तर त्यस्तो प्रख्यात र सम्माननीय थिएटर पनि बन्द भएको थाहा लाग्छ।

“द माउण्टेन जाइन्ट”को प्राक्कथनमा उल्लिखित मार्टा अब्बाको कथनअनुसार “सरकारले क्षतिपूर्ति गर्ने वाचा गरिसकेको भए तापनि ओडेस्काल्ची थिएटरको पुनर्निर्माण हेतु अनुबन्धित ऋणको तिराइमा ढिलाइ भएकोले गर्दा त्यो थिएटर बन्द गर्नुपरेको थियो।यो अगस्त १९२६को कुरो हो।हामी हाम्रो आफ्नै थिएटरविहीन भएका थियौँ,जुन.चाहिँ सर्वोत्तम र अति कुलीन एउटा उपक्रम थियो अनि त्यसलाई आफ्ना युवा जोस ,उदारता र आफ्नै व्यक्तिगत हस्तक्षेपद्वारा लुइगी पिरान्डेल्लोले देश र कलाकारहरूलाई सपर्पित गरेका थिए तर त्यो विफलताको सँघारमा थियो।”

इब्सन र चेखोवले झैँ पिरान्डेल्लोले पनि जीवनका त्रासदि, विसङ्गति र यथार्थलाई नै प्रमुखता दिएको देखिन्छ । उनले सत्यता, पहिचान, अभिप्राय, संयमका प्रश्नहरूलाई खोजे। मानव व्यक्तित्व भ्रष्ट हुन सक्दैन । नष्ट पारिनु पनि उचित छैन भनी उनी सोच्थे। पिरान्डेल्लोका निम्ति जीवन अगणित पाटाहरू भएका विश्वव्यापी सत्ता थियो। इटाली भाषामा उनका भाषिक सुन्दरता र उनका शब्दहरूका आवाज अति श्रुतिमधुर भएका विद्वान्हरू ठान्छन्। विश्व साहित्यका बलियो स्तम्भ मानिने नोबल प्राइज प्रापक लुइगी पिरान्डेल्लोको १० दिसम्बर १९३६ मा देहान्त भयो। यति प्रभावशाली लेखकका बारेमा भने तेस्रो विश्व अझै लगभग जानकारीविहीन नै छ । जानकार भए पनि जति उनका बारेमा, उनको शैलीका बारेमा चर्चा हुनुपर्ने हो, हुन सकिरहेको छैन ।

डाउहिल, खरसाङ, भारत