मिखाइल नाइमीको जन्म सन् १८८९ मा भएको थियो । उनी मध्यपूर्वी देश लेबनानको समुद्री तट नजिकैको एउटा गरिब किसान परिवारमा जन्मिएका थिए । परिवार ईसाई धर्म मान्थ्यो । स्कूलको उत्कृष्ट विद्यार्थी भएको फलस्वरूप उनले छात्रवृत्ति पाए । त्यसको सहयोगमा १९०६ देखि १९११ सम्म, पाँच वर्ष रुसमा उच्च शिक्षा अध्ययन गरे । त्यसपछि फेरि लेबनान फर्किए । केही महिना त्यहाँ बिताएपछि संयोगवश उनलाई अमेरिका जाने अवसर मिल्यो । थप अध्ययनको लागि उनी अमेरिका गए । त्यहाँ उनको परिचय आफ्नै देशका प्रख्यात लेखक खलिल जिब्रानसँग भयो । जससँग उनले आफ्नो मातृभाषा र अरबी साहित्यलाई नयाँ जीवन दिन गतिशील आन्दोलनको सुरुवात र नेतृत्व गरे । नाइमी १९३२ मा आफ्नो देश फर्के । त्यसपछि आफ्नो बाँकी जीवन त्यहीं बिताए । सन् १९८८ मा उनको मृत्यु भयो ।
नाइमीले १९४६-४७ मा ‘द बुक अफ मिर्दाद’ लेखे । त्यसपछि यसलाई अरबीमा अनुवाद गरे । मूल अंग्रेजी भाषामा पहिलो पटक सन् १९४८ मा लेबनानको राजधानी बेरुतमा प्रकाशित भएको थियो । यसको अरबी अनुवाद सन् १९५२ मा त्यहीं प्रकाशित भएको थियो ।
मिखाइल नाइमीका दुई दर्जनभन्दा बढी पुस्तकहरूमध्ये, पश्चिमी पाठकहरूमाझ यो सबैभन्दा धेरै रुचाइएको पुस्तक हो । नाइमी आफैं पनि यसलाई आफ्नो उत्कृष्ट कृति मान्थे ।
पुस्तकको रक्षक
“ओ भाग्यमानी, उठ ! तिमी आफ्नो गन्तव्यमा आइपुग्यौ ।”
तिर्खाले घाँटी बेस्सरी सुकेको थियो । त्यो माथि चर्को घामको किरण । सकिनसकी बिस्तारै आँखा खोलें ।
अन्ततः मेरो अनुहार जमीनमा जोतिएको थियो । छेउमा म झैं लडेर बसेको मान्छेको कालो आकृति देखेँ । उसले नै मेरो सुकेको ओठलाई पानीले भिजाएको थियो । मेरो धेरै घाउका जमेको रगत धोइरहेको थियो ।
उसको शरीर ठूलो थियो । अनि अनुहार कुरुप । दाह्री र अखिभौं बाक्लो थियो । आँखा गम्भीर र तिखो थियो । उमेर अनुमान गर्न धेरै गाह्रो थियो । तर स्पर्श कोमल थियो । अन्ततः उसको सहयोगले म उठेर बस्न सक्षम भएँ । सकिनसकी बिस्तारै उसको कानमा भनेँ,
“म कहाँ छु ?”
“अल्टर शिखरमा ।”
“र गुफा !”
“तिम्रो पछाडी ।”
“अनि कालो खाडल ?”
“तिम्रो अगाडी ।”
निस्सन्देह ! गुफा वास्तवमै मेरो पछाडि थियो । कालो खाडल मेरो अगाडि बायाँ पट्टी थियो । त्यो देख्दा म जिल्ल परें । म खोलाको छेउमा थिएँ । मैले त्यो मानिसलाई गुफामा मलाई साथ दिन आग्रह गरें । उसले खुसीसाथ मलाई साथ दियो ।
“मलाई यो खाडलबाट कसले निकाल्यो ?”
“जसले तिमीलाई माथितिर डोऱ्यायो उसैले तिमीलाई खाडलबाट निकालेको हुनुपर्छ ।”
“त्यो को हो ?”
“जसले मेरो जिब्रो बाँधेर यो शिखरमा एक सय पचास वर्षसम्म राख्यो ।”
“त्यसोभए तिमी बन्दी फिरन्ते हौ ?”
“हो, त्यो म नै हुँ ।”
“तर तिमी बोल्छौ । ऊ त मूर्ख छ ।”
“तिमीले मेरो जिब्रो फुकाइदियौ ।”
“उनी त मानवसँगको संगत त्याग्छन् । तर तिमीलाई मसँग डर लाग्दैन ?”
“तिमी बाहेक, अरू सबैलाई त्याग्छु ।”
“तिमीले मेरो अनुहार पहिले कहिल्यै देखेका छैनौ । तैपनि अरूलाई किन त्याग्छौ ?”
“एक सय पचास वर्षदेखि मैले तिम्रो आगमनको प्रतिक्षा गरेको थिएँ । एक सय पचास वर्ष सम्ममा एक दिन पनि नबिराई, प्रत्येक पल, प्रत्येक मौसममा मेरा पापी आँखाहरूले यस दर्शन ढुङ्गाका ढालुवा हेरेका छन् ।
आजसम्म धेरैले यस शिखरको उकालो चढ्ने कोसिस गरे, तर कोही पनि यहाँ आइपुग्न सकेनन् । अरु बाटो भएर धेरै आइपुगे । तर कोही पनि भेटिन सकेनन् । भेटिएका पनि जीवित हुँदैनथे । तिनको साथमा न लठ्ठी थियो, न लुगा, न खानेकुरा नै । मैले हिजो दिनभर तिम्रो प्रगति हेरेको थिएँ । राति गुफामा सुत्न दिएँ । बिहानै यहाँ आएर हेरेँ । तिम्रो सास चलिरहेको देखें । तिमी उठ्छौ भन्ने मलाई पूरा विश्वास थियो । हेर तिमी म भन्दा धेरै जिउँने छौ । तिमी बाँच्नको लागि मर्यौ, म मर्नको लागि बाँचेको छु । उहाँको महिमा होस्, सबै कुरा उस्तै छ । उहाँको प्रतिज्ञा जस्तै छ । जस्तो हुनुपर्ने हो त्यस्तै छ । जसरी हुनुपर्ने हो त्यसरी नै छ । मेरो मनमा कुनै शङ्का छैन कि तिमी नै चुनिएका व्यक्ति हौ ।”
“को ?”
“भाग्यशाली मानिस । जसको हातमा मैले संसारको पवित्र पुस्तक सुम्पनु पर्छ ।”
“कुन पुस्तक ?”
“उनको पुस्तक – मिर्दादको पुस्तक ।”
“मिर्दाद ! मिर्दाद को हो ?”
“तिमीले मिर्दाको नाम सुनेका छैनौ ? कस्तो अचम्म । म पक्का थिएँ कि उनको नाम अहिले मेरो खुट्टा मुनिको जमिन, मेरो वरिपरिको हावा, माथिको यो आकाश हुँदै यो सिङ्गो पृथ्वीमा फैलिएको छ । यो पुण्य भूमि हो । जहाँ उहाँको खुट्टाले हिँड्न पाएको छ । धन्य हो यो हावा, उनको फोक्सोले यसलाई सास बनाएको छ । यो आकाश पवित्र छ । जो उनको आँखामा अटाएको छ । यति भनिसकेपछि उनी आदरपूर्वक झुके । तीन पटक धरतीलाई चुम्बन गरे । त्यसपछि मौन बसे ।
केही समयपछि मैले भनें, “तिमीले मिर्दाद भनेर बोलाउने व्यक्तिको बारेमा थप बताउन सक्छौ ? मेरो जिज्ञासा बढ्न थाल्यो ।”
“मेरो कुरा ध्यान दिएर सुन । म तिमीलाई बताउन अनुमति दिएको सबै कुरा बताउनेछु । मेरो नाम शामदम हो । नौ जना साथीहरूमध्ये एकको मृत्यु हुँदा म डुङ्गाको कप्तान थिएँ । उहाँको आत्मा भर्खरै यस संसारबाट गएको थियो । ढोकामा उभिएको एक अपरिचित व्यक्तिले मलाई बोलाएको सुनें । मलाई तुरुन्तै थाहा भयो कि दूतले उसलाई मेरो दिवंगत साथीको ठाउँ लिन पठाएको थियो । म खुसी हुनुपर्थ्यो कि ईश्वरले अझै पनि डुङ्गामा आफ्नो अनुयायी राखिरहनुभएको छ । जसरी त्यहाँ राखिएको छ । हाम्रा पुर्खा सामको समयदेखि ।”
तलका मानिसहरूले मलाई सोधिरहेका छन् कि यो डुङ्गा नोआको जेठा छोराले बनाएका थिए, के त्यो सत्य हो ? भनेर सोधेँ ।
उनले तुरुन्तै जवाफ दिए । “हो, त्यो तिमीलाई भनिएको छ ।”
त्यसपछि आफ्नो बाँकी कथा जारी राख्दै उसले भन्यो,
“हो, म खुसी हुनुपर्थ्यो । तर मेरो बुझाइभन्दा बाहिरका कारणहरूले गर्दा मभित्र विद्रोह बढेको महसुस गरें । जब मेरो सम्पूर्ण अस्तित्व उसको विरुद्धमा लडिरहेको थियो, तब मैले त्यो अपरिचित व्यक्तिलाई हेरेको पनि थिइनँ । मैले उसलाई पूर्ण रूपमा अस्वीकार गर्ने निर्णय गरें । सलाई अस्वीकार गर्नु परम्पराको उल्लङ्घन गर्नु जस्तै थियो ।
“जब ढोका खोले, तब उसलाई देखेँ । ऊ पच्चीस वर्षे जवान थियो । उसलाई देख्ने बित्तिकै मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । मेरो मुटु नै उसलाई दिन मन लाग्यो । ऊ नाङ्गो थियो । भोकले पीडित थियो । आफ्नै सुरक्षा गुमाएको थियो । सबै सुविधाबाट वञ्चित थियो । उसको साथमा टेक्ने लठ्ठी पनि थिएन । ऊ पूर्ण रूपमा असहाय देखिन्थ्यो । तर उसको अनुहारमा एउटा अनौठो चमक थियो । ऊ कवचले सुसज्जित योद्धा भन्दा धेरै सुरक्षित र आफ्नो उमेर भन्दा धेरै कलिलो देखिन्थ्यो ।
अन्ततः मेरो सम्पूर्ण व्यक्तित्व उसको विरुद्धमा बोल्न थाल्यो । मेरो नसामा बगिरहेको रगतको प्रत्येक थोपा उसलाई पिट्न आतुर थियो । मलाई यसको कारण नसोध । सायद उसको उज्यालो मुहारले मेरो आत्मा खोसेको थियो । मेरो आत्मा अरूकसैको हातमा सुम्पेको थिएँ । उसलाई मेरो सामु नग्न देखेर डर लाग्यो । सायद उसको शुद्वताले मेरो धमिलो पर्दा हटाएको थियो । म भने आफ्नो फोहोर ढाक्नको लागि यति लामो समयदेखि लगाइइराखेको पर्दाबाट वञ्चित हुँदा दुःखी थिएँ । किनकि मलाई फोहोरले प्रेम गरेको थियो । सायद ऊ र मेरो बीचमा केही पुरानो दुश्मनी थियो । कसलाई थाहा छ र ? यो कुरा उसले मात्र बताउन सक्छ ।
मैले उसलाई कठोर र क्रूर स्वरमा भने, “उसलाई हाम्रो समाजमा भर्ना गर्न सकिदैन । उसले तुरुन्तै यो ठाउँ छोड्नुपर्छ ।”
तर ऊ आफ्नो कुरामा अडिग थियो । शान्त स्वरमा मलाई फेरि सोच्न सल्लाह दियो । मैले उसको सल्लाहलाई अपमानको रूपमा लिए । उसको अनुहारमा थुकें । बिना उत्तेजना, ऊ भने आफ्नो वचनमा अडिग रह्यो । थुक पुछ्दै उसले फेरि निर्णय बदल्न सल्लाह दियो ।
जब उसले थुक पुछ्दै थियो, तब मलाई उसले मलाई नै थुकेको जस्तो लाग्यो । मैले हारेको महसुस गरें । अन्ततः हार स्वीकार गरें । उसँग प्रतिस्पर्धाको अर्थ थिएन । ऊ बलियो प्रतिद्वन्द्वी थियो ।
“मेरो अहंकार उक्त अपरिचितलाई धुलोमा नपुरेसम्म संघर्षको मैदान छोड्न तयार थिएन । तैपनि म उसको अनुरोध मान्न लगभग तयार थिएँ । तर पहिले उसको अपमान गर्न चाहन्थेँ ।
तर ऊ अपमानित हुन सकेन ।
“अचानक उसले खाना र कपडा माग्याे । मेरो आशा पुनर्जीवित भयो । उसको भोक मेरो पक्षमा थियो भने मेरो अहंकार उसको विरुद्धमा थियो । मलाई विश्वास भयो कि मैले युद्ध जितेको छु । तैपनि उसलाई रोटी दिइनँ । भनें, “तिमीलाई रोटी दिनु मन्दिरको मान मर्यादा घटाउनु हो । हाम्रो मन्दिरले चन्दा दिएर मान मर्यादा बेच्ने काम गर्दैन ।” मैले यसो भनेर सरासर झुट बोलेको थिएँ । तर मन्दिर यति धनी थियो कि खाँचोमा परेकालाई खाना र कपडा दिन अस्वीकार गर्दैनथ्यो । अपरिचित व्यक्तिले मतिर हात फैलाउन खोज्यो तर फैलाएन । उसले यो क्रम केही समय लम्ब्यायो ।
उसले यो क्रम लामो समयसम्म जारी राख्यो । उसको मनोवृत्तिमा कुनै परिवर्तन आएन । ऊ सुरुदेखि नै एकोहोरो थियो । मेरो हार भयो । अन्ततः उसलाई डुङ्गामा सेवकको रूपमा आउन प्रस्ताव गरें ।
अन्ततः मैले महसुस गरें कि, भिखारी त म हुँ । ऊ होइन । उसले मेरो प्रस्ताव स्वीकार गरेपछि सोचें कि, उसलाई सेवक बनाएर म आफैंले आफैंलाई मन्दिरबाट बाहिर निकाल्दै छु । मैले यो कल्पनासम्म गर्न सकिनँ । अन्ततः अन्तिम दिनसम्म डुङ्गाको मालिक म नै हुँ भन्ने भ्रम पालेर बसेँ ।
“ओ, मिर्दाद! मिर्दाद !! तपाईंले शमदामलाई के गर्नुभयो ! शमदाम ! तिमीले आफ्नो लागि के हाल बनायौ !”
फिरन्तेको दाह्रीबाट दुई ठूला आँसुका ढिक्का खसे । उनको ठूलो शरीर काँप्यो । उनको दुःखद् अवस्थाले मेरो मन छोयो ।
मैले भने, “जसको सम्झनाले तिम्रो आँखाबाट आँसु बगिरहेको छ, त्यसको बारेमा अब नबोल्नु ।”
“हे भाग्यशाली दूत, बेचैन नहोऊ । यो कप्तानको विगतको अहंकार हो । उसले अझै तीतो आँसु बगाउनेछ । कानुनले मलाई अझै सजाय दिनेछ । जसले आत्माको अधिकार विरुद्ध दाह्रा किटिरहेको छ । यो अहंकार रोओस् । यो अन्तिम रुवाइ हो । अन्तिम पटक दाह्रा किट्दैछु । पहिलो पटक उहाँको दिव्य रूप देख्दा, मेरो आँखा सांसारिक कुहिरोले नढाकेको भए ! उहाँको दिव्य ज्ञानले चुनौती दिँदा, सांसारिक ज्ञानले नभरिएको भए ! आध्यात्मिक रसले भिजेको बोलीसामु, मेरो जिब्रोमा इंद्रिय आसक्तिको मिठास नलेपिएको भए !”
“तैपनि मैले रोपेको भ्रमको घाँस धेरै काटिसकेको छु । अझै काट्नु छ ।”
सात वर्षसम्म उहाँ हामी बीच एक नम्र सेवकको रूपमा बस्नुभयो । उहाँ निकै विनम्र र सचेत हुनुहुन्थ्यो । जुनै साथीको सानो आदेश पनि मान्न तयार । उहाँ हावामा सवार भएझैं हिँड्ने गर्नुहुन्थ्यो । उहाँको मुखबाट कुनै शब्द आजसम्म निस्केको छैन । हामीले सोच्यौं कि उहाँले मौन व्रत लिएका छन् । सुरुमा, हामी मध्ये कोहीमा उहाँलाई अनेकौं दोष दिने प्रवृत्ति थियो । जिस्काउने उद्देश्य थियो । तर उहाँको अलौकिक मौनतासँग हाम्रो मौखिक आक्रमण हार खायो ।
निकै समयपछि उहाँले आफ्नो मौनताले जवाफ दिनुभयो । हामी सबैलाई आफ्नो मौनताको सम्मान गर्न बाध्य पार्नुभयो । अन्ततः अन्य सात जना साथीहरू भने निकै खुसी भए । उहाँको मौनतामा शान्ति पाए । त्यो मौनताले मलाई विचलित बनायो । उनको मौनता तोड्ने धेरै प्रयास गरें । तर सबै बेकार साबित भयो ।
“उहाँले हामीलाई आफ्नो नाम मिर्दाद भएको बताए । यो नामले मात्रै उसले प्रतिक्रिया दियो । हामीले उहाँको बारेमा सबै थाहा पाएका थियौं । तैपनि उहाँको उपस्थिति हामी सबैले तीव्रताका साथ महसुस गर्यो । यति तीव्रताका साथ कि जबसम्म उहाँ आफ्नो कोठामा गएनन्, तबसम्म हामी महत्त्वपूर्ण विषयमा विरलै बोल्थ्यौं ।
“मिर्दादको पहिलो सात वर्ष समृद्धिका दिनहरू थिए । त्यो सात वर्षमा मन्दिरको सम्पति अझ सात गुणा धेरै बढ्यो । सृष्टिकर्ताले हामीलाई अरू कसैलाई नपठाएको देखेर मेरो हृदय उहाँप्रति नरम भयो । हो, मैले गम्भीरतापूर्वक परामर्श गरें । उहाँलाई कप्तानको रूपमा स्वीकार गर्ने बारे अन्य साथीहरूसँग बहस गरेँ ।
“तर त्यसै क्षणमा यस्तो घटना घट्यो, जुन कसैले सोचेका थिएनन् । जो कसैले भविष्यवाणी गर्न सक्दैन । यो गरीब शमदामले मिर्दादको मौनताको ताला तोड्यो । एकै समयमा आँधीको ढोका खुल्यो । यति लामो समयसम्मको मौनताले अब अद्भुत विचारहरू प्रस्तुत गरे । अन्ततः तिनीहरू यति मनमोहक धारामा बग्न थाले कि, सबै साथीहरू त्यसको तीव्र लयमा लठ्ठिए । यो दुःखी शमदाम बाहेक बाँकी सबै उहाँका प्रिय भए । मैले भने उनको वास्ता छोडेर आफ्नो प्रभावलाई कायमै राख्न खोजे । नेताको हैसियत देखाएर उनको प्रभावको दिशा बदल्ने प्रयास गरेँ । तर मेरा साथीहरू मिर्दाद बाहेक कसैलाई सुन्न तयार भएनन् । अन्ततः एउटा उपाय लगाएँ ।
मिर्दादलाई डुङ्गाबाट निकाल्नको लागि साथीहरूलाई प्रसस्त सुन चाँदीका लोभमा पारें । प्रसस्त जग्गा दिने वाचा गरेँ । यस मामलामा म लगभग सफल भएँ । जब रहस्यमय तरिकाले मिर्दादले मेरो प्रयासको बारेमा थाहा पाए, तब उनले मेरो उपायको हत्या गरे ।
पछि उनले जुन सिद्दान्त प्रस्तुत गरेका थिए । सबै कुरा किताबमा बताइएको छ । मलाई यसको बारेमा बोल्न अनुमति छैन । तर मिर्दादको वक्तृत्व शक्तिका कारण सेतो हिउँ पनि कालो भएजस्तो देखिन्थ्यो । निलो सागर दूध जस्तो देखिन्थ्यो । उहाँको शब्दहरू यति तीखो र शक्तिशाली थिए कि, कुनै हतियारले त्यसको सामना गर्न सकिनँ । मन्दिरमा भएको सम्पतिले पनि केही गर्न सकेन । अन्ततः त्यो बेकामे भयो ।
मिर्दादको उत्तेजक प्रवचनले गति लिँदै गयो । साथीहरूले मलाई उक्त प्रवचन कागजमा लेख्न बाध्य तुल्याए ।
समय यस्तो पनि आयो । मिर्दादले, शताब्दीयौंदेखि भक्तहरूको स्वामित्वमा रहेका सबै जग्गाहरू मन्दिरलाई दान दिए । त्यसपछि ती सबै सम्पति वरपर गाउँमा रहेका गरिबलाई बाँड्नका लागि पठाए । त्यसपछि अन्तिम डुङ्गा दिवसमा आयो । दुई वार्षिक महोत्सवहरूमध्ये एउटामा मन्दिरको सबै सम्पति बाहिर निकालेर जम्मा गर्न आदेश दिए ।
“यो सब मेरो पापी आँखाले टुलु टुलु हेरिरहेको थियो । मेरो हृदयमा गहिरो चोट परिरहेको थियो । जुन मिर्दादप्रतिको घृणाले फुट्न लागेको थियो । यदि घृणाले मात्र कसैलाई मार्न सक्छ भने, त्यो घृणा मेरो छातीमा सलबलाइरहेको थियो । सलबलाइरहेको घृणाले हजार पटक मिर्दादको हत्या गर्यो । तर मेरो घृणा भन्दा उहाँको प्रेम निकै बलियो थियो । मेरो घृणा उहाँको प्रेम सामु निरीह बन्यो । अन्ततः मेरो अहंकारले फेरि पराजय भोग्नु पर्यो ।
मिर्दादले बिना लडाइँ मलाई जिते । म उहाँसँग खुब मिहिनेतले लडेँ । तर मैले आफैलाई कुल्चिएँ । कति पटक त आफ्नो असीम प्रेमले मेरो आँखाबाट अन्धकारको तह हटाउन प्रयास पनि गर्नुभयो ! कति पटक त उहाँको प्रेमबाट बच्न मैले अनेकौं बाहाना बनाएँ । मलाई जति कोमल व्यवहार गरे, मैले त्यति नै घृणा गरें ।
मैदानमा हामी दुई योद्धा थियौं । मिर्दाद र म । उहाँ आफैंमा सेना थिए । म एक्लै लडिरहेको थिएँ । यदि अरू साथीहरूको साथ पाएको भए अन्तमा जित मेरै हुन्थ्यो । त्यसपछि मैले उहाँको छाती च्यात्ने थिएँ । मुटु बाहिर निकाल्ने थिएँ । तर मेरा साथीहरूले उहाँको पक्ष लिए । उहाँसँग मिलेर मसँग लडे ।
“हे मिर्दाद ! मिर्दाद !! तिमीले आफ्नो बदला लिएरै छाड्यौ हैन ।”
आँसु झर्दै उनी फेरि रोए । आँसु रित्तिएपछि केही क्षण मौन बसे । फेरि एक पटक झुके । धरतीलाई तीन पटक चुम्बन गरे । र भने,
“मिर्दाद ! मेरो विजयी ! मेरो मालिक ! मेरो भरोसा ! मेरो न्याय ! मेरो इनाम ! यो अभागी शमदामको गल्तीलाई माफ गर्नुहोस् । शरीरबाट अलग भएपछि पनि सर्पको फणाले आफ्नो विष छोड्दैन । तर तपाईंलाई टोक्न सक्दैन । हे मिर्दाद ! अब उसको न दाँत छ, न त विष नै । अब उसलाई आफ्नो प्रेमले बाँध्नुस् । ताकि शमदामले त्यो दिन देख्न सकोस्, जुन दिन तपाईंको मुखबाट मह बग्न थाल्छ । तपाईंले उसलाई वाचा गर्नुभएको छ । आज तपाईंले उसलाई पहिलो जेलबाट रिहा गर्नुभएको छ । अब अर्को जेलबाट पनि रिहा गर्नुहोस् । मलाई यहाँ धेरै बेर बस्न नदिनुहोस् ।”
उनी कुन जेलको कुरा गरिरहेका छन् भन्ने प्रश्न मेरो मनमा उठ्यो । उनले केही पढेको जस्तो लाग्यो । गहिरो सास फेरेर व्याख्या गर्न थाले । अब उसको स्वर यति सुमधुर भइसकेको थियो कि, यो उनैको आवाज हो भनेर पत्याउन मुश्किल थियो ।
उसले भन्यो,
“त्यस दिन मिर्दादले हामी सबैलाई यो गुफामा बोलाए । जहाँ उनले सामान्यतया सात जना साथीहरूलाई प्रवचन दिन्थे । सूर्य अस्ताउनै लागेको थियो । पश्चिम पहाड कुहिरो ढाकिएको थियो । जसले गर्दा उपत्यकाले रहस्यमय कम्बल ओढेको जस्तो देखिन्थ्यो । यसले गर्दा सारा पहाड समुन्द्रमा मिसिएको भान हुन्थ्यो । कुहिरो पहाडको कम्मरभन्दा माथि पुगेको थिएन । पश्चिमी क्षितिजमा बाक्लो कुहिरो जम्मा भएको थियो । जसमा सूर्य लुकेको थियो । मिर्दाद यो मनोरम दृश्यको प्रेममा डुबे । आफ्ना भावनालाई नियन्त्रणमा राखे । र ती सात जनालाई एक एक गरी अँगालो हाले । र भने,
“तिमीहरू लामो समयदेखि उचाइमा छौ । आज गहिराइमा झर्नु पर्नेछ । जबसम्म तिमीहरू ओर्लँदै माथि चढ्दैनौ, जबसम्म उपत्यकालाई चुचुरोसँग जोड्दैनौ, तबसम्म तिम्रो शिरलाई उचाइमा सधैं चक्कर लागिरहन्छ । तिम्रो आँखाको गहिराइले आफ्नो प्रकाश गुमाउनेछ ।”
त्यसपछि मतिर फर्केर उसले धेरै बेर मेरो आँखामा कोमल नजरले हेर्यो । र भन्यो,
“जहाँसम्म तिम्रो कुरा छ, शमदाम, तिम्रो समय अझै आएको छैन । तिमीले मेरो यो शिखरमा फर्किनको लागि प्रतिक्षा गर्नुपर्नेछ । यो पर्खाइमा तिमी मेरो पुस्तकको संरक्षक हुनेछौ । जुन मन्दिरमुनि फलामको बक्समा ताला लगाएर राखिएको छ । सावधान रहनु कि कसैको हातले यसलाई नछोओस् । तिमीले पनि नछुनु । जब समय आउँछ, म मेरो दूत पठाउनेछु । तिमीबाट उसले यो पुस्तक लियोस् । यसलाई संसारमा फैलाओस् । तिमीले केही संकेतहरूद्वारा उसलाई चिन्न सक्नेछौ । दर्शन ढुङ्गाले ढाकिएको ढलानबाट उसले यो शिखर चढ्नेछ । उसले पूरै लुगा लगाएको हुनेछ । हातमा लठ्ठी बोकेको हुनेछ ।
ऊ सातवटा रोटी लिएर यो यात्रामा निस्कने छ । तर जब ऊ यस गुफाको अगाडि पुग्छ, तब उसको न त लट्ठी हुनेछ, न खाना, न त कपडा नै । र उसको सास पनि मन्द हुनेछ । ऊ नआएसम्म तिम्रो जिब्रो र ओठ बन्द रहनेछन् । तिमी हरेक मानिसको सम्पर्कबाट टाढा रहनेछौ । केवल उसको दर्शनले तिम्रो मौनता जेलबाट मुक्त हुनेछ । यो किताब उसलाई दिएपछि, तिमी चट्टान बन्नेछौ । जसले म नआउन्जेल यस गुफाको ढोकाको रक्षा गर्नेछ । म मात्र तिमीलाई त्यो जेलबाट मुक्त गर्नेछु । पर्खाइ लामो लाग्छ भने अझ लामो बनाइन्छ । छोटो लाग्छ भने झनै छोटो बनाइन्छ । विश्वास गर । धैर्य गर ।
त्यसपछि उहाँले मलाई अँगालो हल्नुभो ।
त्यसपछि फेरि सात साथीहरूतिर फर्केर हात हल्लाउनुभो र भन्नुभो, ‘साथीहरू हो ! मेरो पछि लाग ।’
“अनि उहाँ अगाडिको ढलानबाट ओर्लन थाले । उहाँको महिमापूर्ण शिर बिस्तारै उठ्यो । स्थिर नजरले टाढा केही खोज्दै थियो । पवित्र पैतालाले बिस्तारै पृथ्वीलाई छुँदै थियो । जब तिनीहरू कुहिरोको कम्बलको छेउमा पुगे, तब सूर्यको किरणले कालो कुहिरोको तल्लो छेउबाट समुद्रलाई ढाक्यो । तर आकाश चम्किलो भयो । जसको प्रकाश यति अद्भुत थियो कि, मानव शब्दले यसको वर्णन गर्न सकिँदैन । बिस्तारै उनीसँगैका सातै जना पहाडबाट अलग भए । अन्ततः कुहिरोको बाटो हुँदै सिधै घाममा प्रवेश गरेजस्तो लाग्यो । यो देखेर मलाई दुःख लाग्यो । धेरै दुःख !”
दिनभरको मिहिनेतले थाकेको मानिसजस्तै शमदाम थाकेर चुपचाप भए । उनको टाउको झुकेको थियो । आँखा बन्द थिए । छाती तल माथि गरिरहेको थियो । यस राज्यमा उनी लामो समय बसे । म उसको लागि सान्त्वनाका शब्दहरू खोज्दै थिएँ । उसले टाउको उठाएर भन्यो,
“तिमी भाग्यमानी हौ । म अभागीलाई माफ गरिदेऊ । मैले धेरै बोलेको छु । सायद सीमाभन्दा धेरै । अरू त के गर्न सक्छु र ? एक सय पचास वर्ष उपवास बसेको जिब्रोले एउटै मात्र बोल्न सक्छ । के शमदाम मिर्दाद हुन सक्छ ?
“शमदाम ! मेरो प्रिय दाजु ! म एउटा प्रश्न सोध्न सक्छु ?”
“मलाई दाजु भनेर सम्बोधन गर्ने कस्तो दयालु ! मेरो एक मात्र भाइको मृत्यु भएको धेरै वर्ष भइसक्यो । मलाई आजसम्म कसैले दाजु भनेका छैनन् । तिम्रो प्रश्न के छ ?”
“मिर्दाद एक महान शिक्षक हुनुहुन्छ । त्यसैले म छक्क पर्छु कि, संसारले आजसम्म उहाँ वा उहाँका सात साथीहरू मध्ये कसैलाई पनि सुनेको छैन । यो कसरी भयो ?”
“हुनसक्छ, उहाँ उपयुक्त क्षणको पर्खाइमा हुनुहुन्छ । सायद उहाँले अर्को नाममा पढाइरहनुभएको छ । तर एउटा कुरामा म पक्का छु । डुङ्गा परिवर्तन गरेझैं, मिर्दादले संसार परिवर्तन गर्नेछन् ।”
“उहाँको मृत्यु भएको धेरै समय बितेको हुनुपर्छ ।”
“होइन, मिर्दाद मर्न सक्दैनन् । मिर्दाद मृत्यु भन्दा शक्तिशाली छन् ।”
“त्यसोभए, डुङ्गा ध्वस्त गरेझैं उहाँले नै संसारको नाश गर्ने हुन् ?”
“होइन । बरू उहाँले डुङ्गाको बोझ हटाउनुहुनेछ । संसारको बोझ हटाउनुहुनेछ । र म जस्ता मानिसले असंख्य भ्रमको थुप्रोमा लुकाइराखेको त्यो अमर ज्वालालाई पुन: जगाउनुनेछ ।”
हाम्रो वरिपरि किन अन्धकार छ ? मानिसले आफूभित्र जे जति नष्ट गरेको छ, त्यसलाई उहाँले पुनर्निर्माण गर्नेछन् । किताब छिट्टै तिम्रो हातमा हुनेछ । त्यो पढ । उज्यालो पाउनेछौ । त्यसमा चमतकार देखिनेछ । अब मैले ढिलो गर्नु हुदैन । त्यसको लागि केही समय पर्ख । तर मसँग नआउनु ।”
ऊ उठ्यो र तुरुन्तै बाहिर निस्कियो । मलाई स्तब्ध र जिज्ञासामा छोडेर । म पनि बाहिर निस्केँ, तर ऊ त्यहाँ थिएन ।
आँखा अगाडि देखा परेका जादुमय रेखा र रंगहरूले मेरो आत्मालाई यति मोहित तुल्यायो कि, एक क्षणको लागि आफ्नो अस्तित्व तरल बनेको महसुस गरें । अदृश्य सुगन्ध चारैतिर फैलिएको महसुस गरें । कुहिरोले ढाकिएको शान्त समुद्र, कहिले घुम्दै, त कहिले सुतेर, समुद्री तटबाट एकपछि अर्को गर्दै निरन्तर माथि उक्लँदै हिमालको चुचुरोमा पुग्दै थिए । धरतीको हरियालीले घेरिएका पहाडमा अवस्थित शान्त बस्तीहरू, काखमा लुकेर बसेका हरियाली उपत्यकाहरू, पहाडको मुटुबाट निस्कने तरल झरनाहाहरू, मनोरम जंगलमा रमाइरहेका पसुपन्छिहरू लगायत अन्य धेरै वस्तुहरू आफ्नै दुनियाँमा रमाइरहेका थिए ।
यता उता भौतारिएपछि मेरा आँखा दर्शन ढुङ्गाको ढलुवामा पुग्यो । अन्ततः मलाई कप्तानले म र मिर्दादको पुस्तकबारे सुनाएको कथा सम्झेँ । त्यसपछि म त्यो अदृश्य शक्तिप्रति छक्क परें । जसले मलाई एउटा चीजको खोजीमा पठाएको थियो । मनमनै मैले त्यो अज्ञात शक्तिलाई निकै धन्यवाद दिएँ ।
उनी चाँडै फर्किए । बूढो भएर पहेंलिएको कपडामा बेरिएको सानो पोको दिए । अनि भने,
“यो सम्पदा अहिलेसम्म मसँग थियो । अबदेखि तिमीसँगै रहनेछ ।”
यो सम्पदा प्रति वफादार हुनु । अब मेरो समय आइसकेको छ । मलाई स्वागत गर्न मेरो जेलका ढोकाहरू खुल्दैछन् । चाँडै तिनीहरूले मलाई कैद गर्नेछन् । तिनीहरू कहिलेसम्म बन्द रहनेछन् ? केवल मिर्दादले भन्न सक्छन् । छिट्टै हर वस्तुबाट शमदामको नाम मेटिनेछ । कति पीडादायी ! अहो ! यो विनास कति पीडादायी छ । तर म यो किन भन्दैछु ? मिर्दादको सम्झनाबाट केही पनि छुट्दैन । जो मिर्दादको सम्झनामा बाँच्छ, ऊ सधैंभरि बाँच्दछ ।”
उनी धेरैबेर मौन बसे । त्यसपछि आफ्नो टाउको उठाए । आँसुले भरिएको आँखाले हेर्दै मलाई भन्न थाले, जुन सुन्न धेरै कठिन छ ।
“तिमी चाँडै संसारमा फर्किनेछौ । तर तिमी नाङ्गै छौ । संसारले नग्नतालाई घृणा गर्छ । यसले आफ्नो आत्मालाई पनि चट्टानले झैं बेर्छ । अब मेरो लुगाको कुनै काम छैन । म यसलाई फुकाल्न तयार छु । म गुफामा जान्छु, ताकि तिमी आफ्नो नग्नतालाई यिनीहरूले ढाक्न सक्छौ, यद्यपि शमदामको लुगा शमदाम बाहेक अरू कसैलाई मिल्दैन । म चाहन्छु कि तिनीहरू तिम्रो लागि सहज बनोस् ।”
मैले यो सुझावमा कुनै प्रतिक्रिया दिइनँ । सन्तोषजनक मौनता स्वीकार गरें । जब उनी लुगा खोल्न गुफामा गए, तब मैले किताबको वरिपरि बेरेको कपडा हटाएँ । डराउँदै पहेँलो छालाका पानाहरू पल्टाउन थालें । पहिलो पृष्ठ पढ्न खोजेँ । चाँडै त्यसमा डुब्न थालेको महसुस गरें । पढ्दै गएँ । पढ्दै जाँदा झन् तल्लीन भएँ ।
म उनको लुगा कुरिरहेको थिएँ । मैले सोचेको थिएँ कि उनले मलाई बोलाउने छन् । तर समय निकै बित्यो । उनले मलाई बोलाएनन् ।
किताबको पानाबाट आँखा उठाएर गुफा भित्र हेरेँ । गुफाको बीचमा उनको लुगाको थुप्रो देखेँ । तर उनी कतै देखिएनन् । उनलाई धेरै पटक बोलाएँ । प्रत्येक पटक पहिले भन्दा ठूलो स्वरमा बोलाइरहें । तर कुनै जवाफ प्राप्त भएन । म असाध्यै डराएँ । विचलित भएँ । म उभिएको साँघुरो ढोका बाहेक गुफाबाट बाहिर निस्कने अर्को बाटो थिएन । उनी ढोका बाहिर गएनन् । मलाई यो पक्का थाहा थियो । मलाई यसमा अलिकति पनि शङ्का थिएन । के उनी भूत मात्रै थिए ? तर आफ्नै मासु र रगतले उनको मासु छोएको थिएँ । अनि उनको किताब मेरो हातमा थियो । उनको लुगा गुफामा थियो । के यो लुगा जमीनमुनि लुकेको थियो ? म अगाडि बढें र तिनीहरूलाई एक-एक गरेर उठाएँ । म आफैंसँग हाँसेँ । यस्ता लुगाले त उहाँको ठूलो शरीर ढाक्न सकेन । के उनी रहस्यमय ढंगले गुफाबाट बाहिर निस्केर गहिरो र कालो खाडलमा हाम फालेका हुन् ?
यो अन्तिम विचार मेरो दिमागमा पर्ने बित्तिकै बाहिर दौडें । ढोका बाहिर केही पाइला अघि अचानक भुइँमा लडेँ । जब मैले देखेँ कि मेरो अगाडि एउटा नदी छ । त्यहाँ धेरै ठूलो ढुङ्गा छ । त्यो डुङ्गा पहिले थिएन । त्यो झुकेको जनावर जस्तै देखिन्थ्यो । तर जनावरको टाउको मानिसको जस्तै थियो । अनुहार बाटुलो र आकारहीन थियो । अखिभौ फराकिलो र माथि उठेको थियो । दाँत चकनाचुर भएको थियो । ओठ बन्द थिए । आँखाहरू उत्तरतिर हेरिरहेका थिए ।
***
अध्याय एक
आफ्नो पर्दा हटाएपछि मिर्दाद घुम्टो र सीलको बारेमा कुरा गर्छन्
नरोन्डा: त्यो साँझ आठ जना साथीहरू खाना खाने टेबुलको वरिपरि भेला भए । मिर्दाद चाहिँ चुपचाप साथीहरूको आदेशको पर्खाइमा थिए ।
सहकर्मीहरूका लागि एउटा पुरातन् नियम थियो । सम्भव भएसम्म कुराकानीमा ‘म’ शब्द प्रयोग गर्न पाइँदैनथ्यो । शमदाम टोली प्रमुख थिए । उनी डुङ्गाको सम्पत्ति र आफ्नो प्रतिष्ठा कति बढेको छ भनी देखाउन विभिन्न तथ्याङ्कहरू प्रस्तुत गरिरहेका थिए । यसमा उनलाई ठूलो घमण्ड थियो । यस क्रममा उनले धेरै निषेधित शब्दहरू प्रयोग गरे । यसका लागि साथी मिकायनले उनलाई हल्का हप्काएका थिए ।
पछि, यो नियमको उद्देश्य के थियो ? नियम कसले बनाएको थियो ? भन्नेमा चर्को विवाद भयो । यो नियम नोआ वा उनका मुख्य साथी सामले बनाएका हुन् भन्नेमा पनि निकै बहस चल्यो । विवादले जानाजानी एकअर्कालाई अनेकौं आरोप लगायो । परिणाम स्वरूप यो मामलाले नियम मिच्न पुग्यो । हदसम्म धेरै नचाहिँदा कुराहरू भनिए । विवादबारे कसैले केही बुझेनन् । विवादलाई हाँसोको माहोलमा परिणत गर्ने चाहनका साथ शमदामले मिर्दादतिर फर्केर भने,
“हेर, ईश्वर भन्दा ठूलो व्यक्तित्व यहाँ उपस्थित छन् । मिर्दाद ! हामीलाई शब्दहरूको यो भूलभुलैयाबाट बाहिर निस्कने बाटो देखाउनुहोस् ।”
सबैका आँखा मिर्दादतिर फर्किए । ठूलो आश्चर्य त यो रह्यो कि, हाम्रो लागि सात वर्षपछि मिर्दादले आफ्नो मुख खोले । हामीलाई सम्बोधन गरे ।
मिर्दाद: जहाजमा रहेका मेरा साथीहरू हो ! शमदामको इच्छालाई उपहासमा व्यक्त गर्न सकिन्छ । तर अनजानै यसले मिर्दादको गम्भीर निर्णयलाई भविष्यबाणी गर्दछ । किनभने, मिर्दादले यस जहाजमा प्रवेश गरेको दिन आफ्नो पर्दा तोड्ने निर्णय गरेको थियो । जसको लागि यो सही समय र स्थान थियो । जुन अवस्थामा आफ्नो पर्दा हटाएर तपाईँहरू लगायत संसार सामु मेरो वास्तविक रूप देखाउँन चाहेको थिएँ ।
मिर्दादले आफ्नो मुखमा सातवटा पर्दा लगाएका छन् । सात पर्दाको सहायताले उहाँले आफ्नो अनुहार छोपेका छन् । जब तपाईँ शिक्षाको लागि तयार हुनुहुन्छ, तब उहाँले तपाईँ लगायत संसारलाई तपाईँको ओठका पर्दाहरू कसरी तोड्ने ? तपाईँको आँखाबाट पर्दा कसरी हटाउने ? भन्ने बारेमा मार्गनिर्देशन गर्नुहुनेछ । तपाईँलाई आफ्नै रुपमा प्रकट हुन सिकाउनुहुनेछ ।
तपाईँको आँखा धेरै पर्दाले ढाकिएको छ । तपाईँले अहिले हेर्नुभएको सबै चिज केवल पर्दा मात्र हो ।
तपाईँको ओठमा धेरै पर्दाहरू छन् । तपाईँ जुन शब्द उच्चारण गर्नुहुन्छ, त्यो केवल एउटा पर्दा हो ।
तिनीहरूको रूप वा प्रकार जुनसुकै होउन् । तिनीहरू केवल घुम्टो वा पर्दा हुन् । जसले जीवनलाई अनेकौँ खोलले बेरेको छ । घुम्टो वा पर्दाले बेरिएका तपाईँका आँखाले घुम्टो वा पर्दा बाहेक अन्त कतै कसरी लैजान सक्छ ?
शब्दहरू ! के यिनीहरू अक्षर र संख्यामा कैद भएका छैनन् र ? तपाईँको ओठ ! जो आफैँमा घुम्टो हो । जसले घुम्टो बाहेक अरू के बोल्न सक्छ र ?
आँखाले पर्दा लगाउन सक्छ । तर तोड्न सक्दैन ।
ओठले पर्दाहरू बन्द गर्न सक्छ । तर तोड्न सक्दैन ।
यी मध्ये कुनै एकको थप माग नगर्नुहोस् । त्यो उनीहरूकै अंश हो । शरीरको श्रम हो । उनीहरूले यसलाई केही सहज तरिकाले प्रस्तुत गर्दैछन् । पर्दा वा घुम्टो लगाएर उनीहरूले तपाईँलाई बोलाउँछन् । आउनुहोस् । पर्दा पछाडी लुकेको कुराको खोजी गर्नुहोस् । घुम्टोभित्र बन्द भएको रहस्य पत्ता लगाउनुहोस् ।
पर्दा तोड्नको लागि तपाईँलाई अखिभौँ वा अन्य चीजले ढाकेको आँखा नभएर बरू अर्को आँखा चाहिन्छ ।
पर्दाहरू तोड्नको लागि तपाईँको नाकमुनि रहेको मासुले परिचित ओठको आवश्यकता छैन । एउटा फरक ओठ भने अवस्य चाहिन्छ ।
सबै चीजहरू राम्रोसँग हेर्न चाहनुहुन्छ भने, पहिले आफैँलाई राम्रोसँग हेर्नुहोस् । बाहिरी आँखाबाट होइन । भित्री आँखाबाट । पहिला भित्रको सबै कुरा देख्न सक्नुहोस् । अनि बाहिरको ।
अन्य शब्दहरू राम्रोसँग बोल्न चाहनुहुन्छ भने, पहिले आफ्नो ओठ र जिब्रोलाई राम्रोसँग बोल्न सिकाउनुहोस् । ओठ र जिब्रोले होइन कि ओठ र जिब्रोको सहायताले बोल्नुपर्छ । ताकि तपाईँ ती भन्दा बाहिरका सबै शब्दहरू बोल्न सक्नुहुन्छ । यदि तपाईँले सही बोल्नुभयो भने, सही निर्णय लिएर सही काम गर्नुहुनेछ ।
के तपाईंले सत्य हेर्नुभयो ? देख्नुभयो ? आफू बाहेक अरू देख्ने र बोल्ने गर्नुहुँदैन । सबै चीज भित्र र बाहिर जस्तो हुन्छन्, त्यस्तै सबै शब्द र शब्दहरूभन्दा पर तपाईँ आफैँ द्रष्टा र वक्ता हुनुहुन्छ ।
तपाईँको संसार एक भ्रमित खेल हो भने, तपाईँ आफैँ पनि भ्रमित खेलाडी हुनुहुन्छ । तपाईँको बोली एउटा जटिल भूलभुलैया हो भने, तपाईँ आफैँ पनि जटिल भूलभुलैया हुनुहुन्छ । आफू र आफू वरपर भएका चीजहरू तिनीहरूजस्तै हुन दिनुहोस् । तिनीहरूलाई परिवर्तन गर्ने प्रयास नगर्नुहोस् । तिनीहरू जे देखिन्छन् त्यही हुन् । तिनीहरू जस्तो छन् त्यस्तै देखिन्छन् । जबसम्म तपाईँले तिनीहरूलाई दृष्टि र बोली प्रदान गर्नुहुन्न, तबसम्म तिनीहरूले न देख्न सक्छन्, न त बोल्न सक्छन् । यदि तिनीहरुको बोली तिखो भए आफ्नै जिब्रोलाई हेर्नुहोस् । कुरुप देखिए आफ्नै आँखालाई हेर्नुहोस् ।
मानिसहरूलाई आफ्नो पर्दा फाल्न नभन्नुहोस् । सबै वस्तुको पर्दा आफैँ हट्नेछ । न त आफ्नो पर्दा तोड्नको लागि अरूलाई अह्राउनुहोस् । बरू आफ्नो पर्दा हटाउनुहोस् । अरू सबैको पर्दा आफै पन्छिन्छ ।
तपाईँको पर्दा हटाएर गहिराई खोज्ने तत्व भनेको एक शब्द हो । जुन तपाईँले सधैँ आफ्नो ओठमा राख्नुहुन्छ । शब्दहरूमा सबैभन्दा सानो र ठूलो पनि यही हो । मिर्दादले यसलाई सृजनात्मक शब्द भनेका छन् ।
नरोन्डा: गुरु रोकिए । हामी सबैमा गहिरो तर उत्कट मौनता छायो । अन्तमा मिकायन अति अधीरताका साथ बोले,
मिकायन: हाम्रा कान त्यो शब्द सुन्न उत्सुक छन् । हाम्रा हृदयहरू त्यो चाबी खोज्न उत्सुक छन् । आफ्नो मनको कुरा गरिरहनुहोस् । मिर्दाद ! हामी तपाईँलाई अनुरोध गर्दछौँ । आफ्नो हृदयको कुरा गरिरहनुहोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।