दार्शनिक रूसो सपनामा आउँछन्
आत्मामा बसी जिन्दगी लेख्छन्
तीन सय वर्ष अघिको लेखले
लेखक बन्न उत्प्ररित गर्छन्
इतिहास विषय पढाउँदा प्रिय गुरूजनहरूले भन्ने गर्नुहुन्थ्यो रूसोको यथार्थ दर्शन अहिलेसम्म बुझ्न सकिएको छैन । दार्शनिक तथा साहित्यकार रूसोको बारेमा जान्ने र बुझ्ने इच्छा हुँदाहुँदै बसेको अवस्थामा वरिष्ठ साहित्यकार गोविन्दराज भट्टराईको साहित्यपोष्टमा आएको कोरोना धारावाहिक ३९ को सार्त्र निरन्तरअन्तर्गत रूसोको कन्फेसन नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको भन्ने सूचनाले कति बेला प्रज्ञा प्रतिष्ठान पुग्ने भन्ने भयो, तर डा. गोविन्दराज भट्टराईज्यूले वासु शशीद्वारा अनुदित शब्दले भने म अलिकति अलमलिएँ, मैले त्यहाँ साहित्यकार गोपालदास श्रेष्ठद्वारा अनुदित रूसोको कन्फेसन भेटेँ । गोपालदास श्रेष्ठद्वारा अनुदित रूसोको कन्फेसन पढ्दा त्यति बेलाका गुरूहरूले रूसोको दर्शनबारे भनेका गुदी कुराहरू स्मरणमा आए । मान्छे शिक्षितता-दीक्षितता भनेको जीवन र जगतको बोध हो । हाम्रा यथार्थ स्वतन्त्रताका बारेमा ३०० वर्षअगाडि नै भन्न पुगेका रूसोको दर्शन र साहित्यले सम्पूर्ण जीवनलाई छोयो । यसरी छोयो कि युरोपमा स्वतन्त्रताका लागि विगुल नै फुकियो भने उनका ती दर्शन र साहित्यले विश्वको मानवीय जीवनलाई नै परिवर्तन गरिदियो।
कुनै पनि देशको कला, भाषा, साहित्य, संस्कृतिको विकासबिना त्यो देशको विकास हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर महाकवि लक्ष्मीप्रसाद देवकोटा, राजा महेन्द्र, बिपीजस्ता महान् व्यक्तित्वहरूले स्थापना गर्नु भएको नेपाल प्रज्ञा प्रतिष्ठान वि.सं.२०१३ मा स्थापना भयो । देशमा रचना भएका कला, भाषा, साहित्य, संस्कृति तथा दर्शनलाई संरक्षण-सम्बर्धन गर्दै र यसको परिस्कृतका लागि प्रेरणा दिने मार्गमा विदेशी कला संस्कृतिको पनि अनुवाद गर्ने-गराउने क्रममा गोपालदास श्रेष्ठद्वारा वि.सं. २०२९ सालमा अनुदित कन्फेसनले पाठकलाई यसरी लठ्याउँछ कि शब्द र वाक्यहरू कसले निर्माण गरेका थिए ? रूसोले कि गोपालदास श्रेष्ठले ? साहित्य सिर्जनामा केटाकेटीपन, माया, यौवन, प्रकृतिका बयान कसरी गर्न पुगे र गरिए भन्ने कुरा यस पुस्तक पढ्दा मोहिनी लगाउने पदार्थको सेवन गरेर लठ्ठिएजस्तो बनाउने क्षमता राख्ने रचिएको छ । ३०० वर्ष अगाडिको साहित्यमा यौन र यौवनको परिभाषा यसरी प्रस्तुत गरेको छ कि सम्पूर्ण यौन क्रिडा पनि परिवार बीचमा पढ्न र सुनाउन सकिने दार्शनिक अन्दाजमा प्रस्तुत गरिएको छ ।
लेखनीको शुरूवातमै लेखक कबुल गर्छन् कि सत्यभन्दा मेरा लेखमा कुनै पनि नक्कली कुरा आउने छैनन् (कन्फेसन, पृष्ठ १)। कबुलियतअनुसार लेखमा यसरी सत्यता पोखेका छन् कि उनको सत्यताको कबुल शायद हाम्रा इन्द्रियहरूले थाहा पाउँछन् । उनको कबुल लिएर बसेपछि पाठकले किताब छोड्न सक्दैन । जीवनको भोगाइमा सत्य लेख कति राम्रो हुने रहेछ भन्ने कुराले पाठकलाई सोच्न बाध्य गराउँछ।
आमाले जन्माएको ९ दिनका दिन टुहुरा भएका लेखक रूसोले वास्तविक आमाको माया बाबाको ढुकढुकीमा कसरी पाएका थिए भन्ने कुरा प्रस्तुत गरेका छन् (कन्फेसन, पृष्ठ ३)। जन्मेको ९ दिनदेखि बाबाको काखमा रहँदा मेरा बाबा कसरी मेरी आमा हुन पुगे र म र मेरो धड्कन कसरी मेरा बाबाका लागि मेरी आमाको धड्कन हुन पुग्यो भन्ने कुरामा वात्सल्यताको अनुपम स्वाद पस्किएका छन्। आमाको संसर्ग बाबाले कसरी लिन्थे मलाई थाहा भएन तर उनको कथा र कहानी भन्ने कलाले मलाई मेरी आमा भुलाउन पुगे । बाबाले भन्ने गरेका दन्त्य कथा तथा महान् व्यक्तिहरूको जीवनीको बारेमा व्यक्त गर्दा, मेरो सुन्ने कलाले शायद उनले मभित्र मेरी आमा देखेँ ।
“म कसरी अशीष्ट बन्न सक्थेँ, न मेरो अगाडि कहिले अशीष्ट व्यवहार नै भयो न त कुनै अशिष्टता भन्ने कुरा सिक्ने अवसर नै मिल्यो (कन्फेसन, पृष्ठ ७)। ९ दिनका दिन टुहुरा भएका रूसो आफ्ना बालापनमा आफ्ना पिताजीले दिएको अध्ययनशील संस्कारलाई यसरी प्रस्तुत गरेका छन् कि मान्छे जन्मेको र मान्छे जिउने भनेको माया गर्नका लागि मात्र हो । मान्छे आफैँ ईश्वर हो भन्ने कुरा प्रस्ट्याउँछन् । माया गर्ने भनेर जन्मिएको भन्ने प्रेरणा दिनु भएको मेरा बाबाका अगाडि म जहिले प्रेमी नै भएर रहेँ । जीवनमा मायाको अभावमा बाँचेको भएमा ममा अशिष्टता आउने थियो होला तर त्यो अवसर मेरी आमा रूपी बाबाले कहिले त्यो अशीष्टता आउन दिनु भएन ।
‘म जन्मनु र बाँच्नुको उद्देश्य भनेको पढ्नु, लेख्नु र माया गर्नु हो,’ (कन्फेसन, पृष्ठ ९)। मान्छेको पालन पोषणमै कथा कहानीको लयमा हुर्काउन सफल भएका आइज्याक रूसो एक घडी बनाउने कारीगर थिए । आफ्नी श्रीमतीले छोरो जन्माएर सधैँका लागि बिदा भएको अवस्थामा छोरोको जिन्दगीमा बाबा (बाबा+आमा भएर) समाहित भए।जिन्दगी चलाउनका लागि रूसो माथि सौतेनी आमा ल्याएको भएता पनि उनी स्वयं छोराका लागि आमाको भूमिकामा रहेर छोरो दार्शनिक बनाउन सफल भए ।
‘जिन्दगीको परिचय एकान्तता र आफैँभित्र पाइन्छ, त्यसका लागि प्राकृतिक छटाले भरिपूर्ण गाउँले जीवन सुन्दर लाग्छ,'(कन्फेसन, पृष्ठ १०)। पढाइमा मोहनी लागेका रूसो भिडभाडमा भन्दा एकान्त रूचाउने गरेका छन् । मान्छेको भिडको दृश्यभन्दा प्राकृतिक रूपमा सुन्दर ठाउँ विशेष गरेर गाउँले वातावरण लेखकले रूचाउने गरेको कथनले लेखकप्रेमी देखिन्छ । उनी देखेको कुरा लयमा लेख लेख्ने गर्दथे ।
“रूपैयाँ पैसा भन्नु देखाइने वस्तु मात्र हुन, मान्छे जिउन र आफूलाई चिन्नका लागि त मात्र गाँस, बास र कपास मात्र भए पर्याप्त हुन्छ,”(कन्फेसन, पृष्ठ ३१)। अध्ययन र लेखन मोहका कारण रूसोमा कहिले पनि धनी बन्ने चाहना देखिएको छैन । धन पैसा देखाइनु त दृश्य बन्नु र समाजका अगाडि आडम्बरी बन्नु मात्रै हो । देखाइनु र दृश्य बन्नुले मान्छेमा राक्षसीपनको उदय हुन्छ जसको परिणाम अरू पहुँच नहुनेहरूमा विकृत मानसिकता उत्पन्न हुन गई अन्त्यमा स्वयंलाई हानि गर्नु हो ।
“अध्ययन र लेखनका व्यस्त रहँदा मैले म आफैँलाई विर्सने गर्दथें” (कन्फेसन, पृष्ठ ३४ र ३५)। म अध्ययनमा यसरी लागे कि पढ्दा र लेख्दा मैले म कसरी लेखिरहेको छ भन्ने कुरा बिर्सने गर्दथे । लेख्ने र पढ्ने नियमित कामले गर्दा म आफैँ जंगली जस्तो देखिने गर्दथें । मेरो अध्ययनको चापले गर्दा म रून पनि थाल्दथेँ । फरक किसिमको व्यवहार देखिने हुँदा मलाई कतिले त पागल पनि भन्न पुग्थेँ तर म अन्यथा सोच्दिनथें किनकि यथार्थता त अगाडि आउँथ्यो नै ।
“मेरो अध्ययनले मलाई यस्तो बनायो कि मेरो संसार र वास्तविक संसार कति फरक छ भनेर” (कन्फेसन, पृष्ठ ३९) अध्ययनमा यति लिप्त भएँ कि मेरा पुर्खाहरू मसँग दौडिदै आइपुगे । जति पनि पुर्खाद्वारा लेखिएका इतिहास, साहित्य र दर्शनहरू छन्, ती सबै मेरा मनमस्तिष्कमा पौडिन आइपुगे । हालसम्म रचिएका जति पनि गीत, गजल, काव्य, महाकाव्य तथा इतिहासको जानकारीको प्रभावले म आफैँलाई एक असामाजिक जस्तो भएको महसुस गर्न थालें ।
“मैले मेरो आफ्नै शरीरलाई यसरी हेर्थें कि मेरो शरीरको बनावट एक महान् व्यक्तिको बनावटभन्दा कम छैन” (कन्फेसन, पृष्ठ ४२)। रूसोको कथा हेर्दा यस्तो लाग्छ कि संसारमा रूसोभन्दा खुशी अरू कोही पनि छैन । उनको यो कथा हेर्दा हामीलाई पनि उनी आफूजत्तिकै खुशी बनाउन मद्दत गरेका छन् । एक खेलाडी, एक अभिनेता, एक पिताजी, एक जवान व्यक्ति वा एक सानो बच्चाको सुन्दर त्वचासँग दाँजिएको उनको बयानबाट मान्छे कसरी खुशी हुन्छ भन्ने कुरा स्पष्ट पारेका छन् ।
“वास्तविक मानवीय प्रेममा वासना हुँदैन” (कन्फेसन, पृष्ठ ५०)। उनका जिन्दगीका विभिन्न क्षणहरू हेर्दा पुरूष र महिलाहरूको विभिन्न कोणहरू देखिएका छन् । मानवीय जिन्दगीको प्रमुख दर्शन भनेको माया हो भन्ने रूसोको संगत विशेष आफ्नी श्रीमतीको अलावा लु इलिवनर वारेन्ससँग पनि थियो । उनी रूसो भन्दा जेठी थिइन् । उनी ती महिलालाई यसरी माया गर्दथे कि ती महिला रूसोलाई अभिन्न अङ्ग सम्झिन्थिन् । रूसो भन्छन् मेरो जिन्दगी मायाका लागि हो । आखिर मान्छे रिसाउने पनि माया पाउनकै लागि हो भने नरिसाउनु नै सबभन्दा ठूलो मानव दर्शन हो । वासनारूपी माया त मात्र उत्पादनका लागि हो । मानव सभ्यतामा र मानवीय खुशीमा लैङ्गिक शङ्का हुनु भनेको आफ्नै जिन्दगी नरक बनाउनु हो- जिन्दगी निस्कृय बनाउनु हो भन्ने गरेका छन् ।
‘मैले जिन्दगीमा मान्छे एउटा देखें, सबै महिलामा आमा देखेँ,’ (कन्फेसन, पृष्ठ ९५)। गरीब र धनीको परिभाषा अशिक्षित परिभाषा हो । रूसो भन्छन् गरीव र धनी त हाम्रो पाखण्डी हेराई मात्रै हो सबै माटोमा एउटै गुण हुन्छ र सबै मान्छेमा सोच्न सक्ने उही गुण हुन्छ । स्वस्थ मान्छेको सबैको सोच्न सक्ने क्षमता एउटै हुन्छ मात्र हामीले गरिने व्यवहार फरक हो। सबै स्त्रीलाई मैले मेरी आमालाई गर्नु पर्ने व्यवहार गरेँ । आमारूपी व्यवहारले मैले सबै महिलाबाट बच्चाले पाउने माया पाएँ।
“म उनीलाई प्रेम गर्थे, मैले प्रेम गर्ने भएकाले मैले सधैँ उनीमा ईश्वर देख्थेँ,” (कन्फेसन, पृष्ठ ९७)।रूसो भन्छन्, कुनै-कसै व्यक्तिको केही इतिहास थियो होला तर मैले मान्छेको व्यक्तिगत शारिरिक-मानसिक इतिहास कहिले हेरिनँ । मैले सबैमा देवी र देवताको रूप देखें।देवी-देवता देखिनुमा नै मैले उहाँहरूमा पवित्रता देखें।शारीरिक रूपमा कोही अग्लो कोही होचो त कोही रङमा केही फरक होला तर ती सबैको सोच्ने शक्ति र आधारहरू एक हुने गर्दछ। उमेरले मान्छेमा अध्ययन र सोच्न सक्ने शक्तिमा फरक पार्दैन, यो त मान्छेले अरूलाई हेय दृष्टिले हेर्ने तरिका मात्रै हो ।
“यथार्थ अध्ययन नै मानवीय अध्ययन हो” (कन्फेसन, पृष्ठ १०२)।हामी अध्ययनमा लाग्दछौ।अध्ययनमा लाग्नुको अर्थ अरू भन्दा अगाडि वा माथि जाने उद्देश्य राख्ने होइन कि हाम्रो अध्ययन त मानवीय अध्ययन हो,जसले हामीमा उमङ्गता प्राप्त हुन्छ र समग्र मानव जातिको समृद्धि हुन्छ।कुनै पनि सृष्टि तथा प्रकृति माथिको होच्याइ, छल्याइँ र अतिरञ्जितता भनेको हाम्रो निरक्षरता हो।लेख्न र पढ्न जान्नु नै साक्षरता होइन कि निरन्तर अध्ययन तथा अनुसन्धानले मानवीय साक्षरता ल्याउँदछ ।
“मैले जे सिकें मेरै मिहिनेतले सिकें” (कन्फेसन, पृष्ठ १०६)।हामी जे जति सक्छौ सबै आफैँ सिक्ने हो तर यथार्थ सिकाइ के हो त्यो बुझ्नु पर्ने कुरा रूसोले फरक तरिकाले औँल्याएका छन्।उनी भन्छन्। सिकाइ मेरै लागि त भयो तर त्यो सिकाइ मैले समग्रमा मेरै वरिपरि भएका गरेका कुराहरूको सहजताका बारेमा लेखें।त्यसमै अध्ययन गरें।म कहिले पनि झुठ बोल्न जानिनँ ।
“यदि मैले मलाई माया गर्ने थिइनँ भने यो पुस्तक शुरू नै हुने थिएन” (कन्फेसन, पृष्ठ ११४) ।रूसोको यो पुस्तक पढ्दा के लाग्छ भने यो पुस्तकमा विशेष गरेर मायाकै परिभाषा दिइएको छ।आफ्नी आमाले छोडेर गएको त्यो घनघोर अँध्यारोमा पिताजीबाट पाएको वात्सल्यले उनलाई आमाको माया बिर्सायो।पिताजीको वात्सल्यले नै मानवीय माया र यथार्थ जिन्दगीको बारेमा लेख्न बाध्य बनायो भनेर रूसो भन्दछन्।रूसोको कहानीलाई हेर्दा हामी कति टुहुरा छौ, तर हामीमा त्यो रचना शक्ति किन आएन होला ? हामी साक्षर भन्नेहरूले सोच्नु नै पर्छ ।
“मरो थकान र पीडा लेखन अभ्यास र अध्ययनले निदान गर्ने गर्दथ्यो” (कन्फेसन, पृष्ठ ११६)।रूसो भन्दछन्,जब उनीमा पीडा वा कुनै दुःखको अनुभव हुने गर्दथ्यो तब उनी अध्ययन वा लेख्न शुरू गर्दथे जसले गर्दा उनी आनन्द महसुस गर्दथे।लेख्ने क्रममा के कसरी थकान र पीडा आएको हो त्यसको बारेमा दार्शनिक अन्दाजमा लेख्ने कोसिस गर्दा मेरो सम्पूर्ण थकान कम हुने गर्दथ्यो।पहिले पढ्न जे जति रूचि थियो पछि विस्तारै लेख्नमा मेरो रूचि बढ्न थाल्यो।यथार्थ लेखहरू लेख्दै जाँदा मेरा लेखहरूमा दर्शनको छाप देखिन थाल्यो।यथार्थ सुख यथार्थ दुःख, त्यो महसुस आउने आधारहरू खोज्दै र लेख्दै जाँदा मेरा लेखहरूमा दर्शन देखिन थालेको हो।त्यसपछि नै मलाई थाहा भयो कि वास्तविक लेखमा त दर्शन पो हुने रहेछ।
“शायद म सधैँ मुर्ख भएको भए अझै खुशी हुने थिएँ होला” (कन्फेसन, पृष्ठ ११७)।रूसोले आफ्ना भनाइ राख्दछन् कि यदि म अध्ययनशील नभएर मुर्ख भैदिएको भए शायद म योभन्दा धेरै खुशी हुन सक्थें होला। यो भनाइले उनीभित्र नभएको अरू विशेषता मात्रै सोचेको देखिन्छ।उनी मुर्ख भएको खण्डमा म कस्तो देखिन्थे होला भन्ने काल्पनिक संसार मात्रै यहाँ देख्ने गरिन्छ।सडक पेटीमा मादक पदार्थ खाएर बसेका जिन्दगीहरू शायद उनी भन्दा खुशी छन् होला तर त्यो पक्कै पनि थिएन किनकि सडक पेटीमा मादक पदार्थ खाएर फ्याँकिएका जिन्दगीहरूमा चेतनाको अभाव हो।केही क्षण सुख अनुभव गरेता पनि यथार्थ मानव जिन्दगीको चेतानको अभावमा रहेको जिन्दगी हो त्यो।उनी भन्छन्,म सबै ऋतुहरूमा उत्ति नै खुशी हुन्छु जसरी प्रकृति आफैँमा खुशी भएर उदाएको हुन्छ।प्रकृति प्रेमी रूसो विरूवाका पात-पातमा र प्रत्येक पालुवामा रमाएका छन् ।
“स्वर्गीय यात्रा त प्रकृतिसँग शुरू भएर प्रकृतिसँगै अन्त्य हुन्छ”(कन्फेसन, पृष्ठ १४२-१५२)।हाम्रो जिन्दगी प्रकृतिबाट बनेको हुन्छ र प्रकृतिमै विलाउने हो।माध्यम हामी बाबा-आमा भएता पनि जन्म र मृत्यु भनेको प्रकृति नै हो।प्रकृतिसँग हामी रमाउन सकिएन भने हाम्रो जिन्दगी नक्कली बन्दछ, जसले मानव जातिको हित विपरीत हुन्छ।रूसो प्रकृतिप्रेमी त थिए नै, अझै उनी पहाड, चट्टान, खोला बीचमा रमाउने एक बटुवाको जिन्दगीको कल्पना गर्दछन्।लेख्दालेख्दै उनी महान् व्यक्तिको कल्पनामा डुबेर लेख्दछन्।राजा महाराजा भनेको पनि मात्र एक कल्पना मात्र हो हामी मात्र एक मानव शरीर लिएर आएका हुन्छौँ।मानव र प्रकृतिसंग रहेर रमाउन सक्नु यथार्थ जिन्दगी हो।
“फ्रान्सको साहित्यले युरोपलाई उज्यालो बनाएको छ”(कन्फेसन, पृष्ठ १५९)।स्विजरलैण्डमा जन्मेको भएता पनि रूसोको जिन्दगीमा फ्रान्सको साहित्य तथा राजनितिको विशेष प्रभाव रह्यो।जेनेभामा जन्मेर इटाली हुँदै फ्रान्समा बसेर आफ्नो दार्शनिक जीवन शुरू गरेका रूसोले धेरै समय फ्रान्समै बिताए । उनको दर्शनले सबैभन्दा पहिले फ्रान्सलाई नै छोयो र फ्रान्सकै राजनीतिमा उथलपुथल आयो । फ्रान्सको साहित्य र दर्शनलाई रूसोले त्यति बेला नै विशेष प्रशंसा गरेका छन्।हाल पनि नोबेल पुरस्कारमा साहित्यतर्फ सबैभन्दा धेरै पुरस्कार जित्न सफल फ्रान्स नै रहेको छ ।
“म उनीलाई यति माया गर्थें कि म जहिले उनीकै बच्चाजस्तै हुने गर्दथे” (कन्फेसन, पृष्ठ १८४)। माया गर्नका लागि माया नै चाहिन्छ, रूसो भन्छन्, महिलाहरू सबैभन्दा माया बच्चालाई गर्दछन्। म उनीहरूका लागि उनीहरूकै बच्चा हुने गर्दथेँ।जसले गर्दा महिलाहरू मलाई स्वयंलाई भन्दा धेरै माया गर्दथे, यथार्थ मायामा जोइपोइ हुँदैन माया नै जोइपोइ हो भन्ने रूसो भेटिने र बोलिने जति सबैमा प्यारा थिए।श्रीमान-श्रीमती भन्ने सम्बन्ध भनेको समाजमा बाँधिने सम्बन्ध हो । यथार्थ श्रीमान-श्रीमतीको सम्बन्ध मायाबाट शुरू गर्नु पर्छ । रूसको यो भनाइले १८ औं शताब्दीको युरोपेली नाता सम्बन्धलाई छोएको छ तर यथार्थमा श्रीमान-श्रीमती बराबर माया भन्ने कुराको यथार्थता हाम्रो समाजमा पनि आइसकेको छ ।
“सांसर्गिकताले माया बढाउने वा घटाउने गर्दैन र यो पवित्रता र अपिवत्रता पनि होइन”(कन्फेसन, पृष्ठ १८९)।रूसो आफ्ना कुरा व्यक्त गर्दछन्,मेरा लागि सबै उमेरका सबै मानव एक थिए।म उमेर अनुसारको व्यवहार गर्दिनथें।एक विरूवा जसरी आफ्नो फूल र फलमा रमाएको हुन्छ त्यसरी नै हामी सबैको मायामा रमाउन सक्नु पर्छ।यौन, सांसर्गिता तथा माया भनेको पनि फूलेका र फलेका विरूवा र रूखहरू जस्तै हुन्।कसैसँग कसैको सांसर्गिताको चाहाना र पूर्तिमा हामी रमाउन सक्ने हो भने मात्रै हामी सबैका बन्न सक्छौ।जसरी एक मस्त जवान तथा खुसी महिलासँग कुरा गरिएको हुन्छ त्यस्तै एक झ्वाम्म पातसंगको रूखको छहारीमा बस्न मलाइ आनन्द आउँछ।
“वास्तविक सुख त वर्णन नै गर्न सकिदैन यो त मात्र महसुस गरिने मात्र हो” (कन्फेसन, पृष्ठ १९३ र २७२)।हामी वास्तविक सुख कसैलाई पनि व्यक्त गर्न सकिँदैन यो त हामीले मात्र महसुस गर्ने हो। रुसोले आफ्नो अध्ययन र लेखनमा लिप्त हुँदा जति सुख महसुस गर्दथे,त्यसलाई आधार बनाएर उनले यो वर्णन गरेका छन्।हामी परमात्मा पाउनका लागि अध्ययन र अनुसन्धानमै लाग्नु पर्दछ। वास्तविक सुख भनेको सधैँ एकआपसमा सुखी र खुशी भइनैरहनु हो ।
‘मेरा सबैभन्दा धेरै मनपर्ने पुस्तक वा विषय इतिहास र भूगोल हुन्,’ (कन्फेसन, पृष्ठ १९६)।म सबैलाई माया गर्छु र सबै विषयको अध्ययन गर्दछु।पढ्ने विषयमा म सबैभन्दा धेरै इतिहास र भूगोललाई माया गर्दछु किनकि इतिहासमा मेरा पुर्खाहरू रहेका छन्।इतिहासका माया, ममता के कसरी गरियो।अहिले सम्मका माया ममताहरू कस्ता रहे र हामी कसरी त्यसलाई सुधारेर अगाडि बढ्न सक्छौँ भन्ने कुरा लेखिएका छन् भने भूगोलमा मेरो प्रकृति रहेको छ।मेरो प्यारो प्रकृतिको बारेमा लेख्न पढ्न, घुम्न र समाधी हुन पाउने यी २ विषय नै मेरा सबै हुन् ।भर्जिलका कविताहरूमा रमाउने रूसोले स्विजरल्याण्डका धरातलीय स्वरूप र त्यसका सौन्दर्यको वर्णन गरेका छन् ।
“म स्मरण शक्ति बढाउन चाहन्थेँ किनकि भएभरका सबै ज्ञान मैले मेरो दिमाखमा राख्न चाहन्थेँ” (कन्फेसन, पृष्ठ १९७)।अध्ययनशील मान्छेका लागि स्मरण शक्तिको आवश्यकताअनुसार रूसो भन्दछन् कि मेरा लागि स्मरण शक्तिको आवश्यकताअनुसार स्मरण शक्ति बढाउन चाहन्छु।मेरो निरन्तर पढ्ने र लेख्ने बानीले म कहिले पनि कहीँ पनि निरूत्साही हुन जानिनँ।असीमित आवश्यकताहरू निरक्षरहरूका लागि मात्र हो,पढ्ने मान्छेका लागि असिमित आवश्यकता हुन सक्दैन।चिन्तारहित हुनका लागि पनि अध्ययन हुनु उत्ति नै आवश्यकता छ जति निरन्तर अध्ययनले अनावश्यक खर्च हुनबाट बचाउँछ।
“विना अध्ययनमा मलाई रूनु पर्थ्यो र म एकान्तमा गएर रूने गर्दथें” (कन्फेसन, पृष्ठ २१२-२१४)। म अचम्मको थिएँ कि पढ्ने बानीले पुस्तकको अभावमा रूने गर्दथे जसले गर्दा मेरो मष्तिष्क हल्का हुने गर्दथ्यो।मैले म स्वयंलाई सोध्ने गर्दथेँ कि मान्छेका विभिन्न बानीहरू भावुक बन्ने, रिसाउने वा बहस गर्ने आफैँमा नराम्रा त होइनन् तर समयअनुसार यिनीहरू विभिन्न रूप लिएर आउने गर्दछन्।यी मानवीय आचरणहरूलाई हामीले समयअनुसार व्यवस्थापन गर्न जान्नु पर्दछ।म शौचको समयमा पनि कुनै न कुनै पुस्तकसँगै हुने गर्थें ।
“मैले सत्य, स्वतन्त्रता र नैतिकताको बारेमा सोच्दा सोच्दै मैले आफैँलाई बिर्सन्थें”(कन्फेसन, पृष्ठ २७०)।म पहिले बाबासँग पढेँ।पछि म आफैँ पढ्न सक्ने भए पछि मैले स्वयंलाई पढाइसँग तुलना गर्न थालेँ।यथार्थमा पढाइ त व्यवहारमा लागु गर्नु नै पर्ने थियो।अध्ययन गर्दा गर्दै सामाजिक विकृति, सत्य, स्वतन्त्रता र नैतिकताको बारेमा सोच्दा मैले म कहिले पागल जस्तो हुने गर्दथें ।
“मेरो लेखाइमा आएको प्रसिद्धिसँगै शत्रुता ह्वात्तै बढेको मैले थाहा नै पाइनँ” (कन्फेसन पृष्ठ २८०)। अध्ययनले लेखनमा आकर्शित गर्दै जाँदा जब सामाजिक कुरीतिहरूको बारेमा लेख्न शुरू भयो,सबै जिम्मेवारी मैले लिनु नै पर्ने थियो।अनावश्यक नियम तथा कुरीतिको विरूद्धमा लेखिएका मेरा लेखहरूको प्रसिद्धिले म जति सर्वसाधरणमा प्रसिद्ध बन्दै गएँ मेरा वरिपरिका सबै मेरा शत्रु बन्दै गए।सत्यको पक्षमा लेख्नु मेरो लागि अनिवार्यता नै थियो।यदि त्यो नगरेको खण्डमा मेरो अध्ययनको कुनै अर्थ हुनेवाला थिएन।
“गरिवीको स्वतन्त्रताको अर्थ भनेको व्यर्थतामा परिणत हुन्छ, सम्पन्नले गरे महानता र गरीवले गरे दण्डनीय” (कन्फेसन, पृष्ठ २९२)।मेरो अध्ययनशील जिन्दगीमा धेरै आरोह अवरोह आए।मैले लेख्नुलाई नै मेरो जिन्दगी ठानेको थिइनँ तर मेरो व्यर्थ समय सदुपयोग भनेको अध्ययन हो।गफिएर जिन्दगी बिताउनु भनेको सबै कुरा गुमाउनु हो।कमसेकम केही लेख्नु लेख्दा मानवीय जिन्दगीको उत्थानका लागि लेखिनु, माया के हो मायाको परिभाषा दिएर मानवीय जिन्दगीमा केही सुगमता दिन सकियो भने सबैभन्दा ठूलो उपलब्धि मैले त्यही नै ठानेर अघि बढेको थिएँ।मेरै महसुस र अनुभवमा जे जति लेखे पढे वा गरे पनि केही नराम्रो काम गरियो भने त्यही काम शक्ति र बोल्न सक्ने आधारमा फरक फरक नजरमा मूल्याङ्कन गरिन्छ,यो मानवीय होइन कि दानवीयपन हो तर म कहिले पनि लेख्नुलाई पेसाको रूपमा लिइनँ,म त लेख्ने र अध्ययन गर्ने पथमा लम्कि नै रहें।
“मलाई थेरेसासँगको लामो सहवासले मलाई प्रेम भएको महसुस भएन” (कन्फेसन, पृष्ठ ३०५)।आफ्नी पत्नीसँगको सहवासमा सन्तुष्ट नभएको सूक्ष्म कुराहरू बाहिर ल्याएका रूसो अरू महिलाहरूसँग भएका प्रेमको बारेमा भनेका छन्।आफ्नी श्रीमतीको सहवासमा सन्तुष्ट नभएको भएता पनि उनी श्रीमतीलाई धेरै माया गरेको र श्रीमतीले पनि आफूलाई त्यति नै माया गरेको कुरा भनेका छन्। बिना माया महसुसका सहवासपछि जन्मेका छोराछोरीहरूको बारेमा पनि रूसो भन्छन्‑ जिन्दगी भनेको एक रहस्य नै हो, हामी रहस्यमा नै जिउँछौ र रहस्यमै मर्छौं।
“वास्तवमा मेरो प्रसिद्धि देखेर मेरो समाज नै मसँग खुशी थिएन” (कन्फेसन, पृष्ठ ३६१)।मेरो काम अध्ययनशील थियो र मानवीय थियो।तर चल्दै आएको समाजको लागि फरक।चल्दै आएको समाजबाट अर्को बाटो जान समाजलाई गाह्रो थियो।म समाज विरोधी हुन चाहन्नथेँ तर वास्तविकता त्यही नै थियो। पादरीहरूले चलाएको समाजमा मेरा वास्तविकता पच्नका असहज जस्तो थियो।मेरा लेखहरू समाज परिवर्तनको धारमा हिंड्न थालेका थिए।तर ती त्यस समयका लागि उत्तेजक थिए।वाहवाह गर्ने तत्त्व अगाडि पछाडि भएता पनि कबुल मेरो मात्रै थियो।मित्रताभन्दा शत्रुताले सीमा नाघ्दै थियो ।
“वास्तवमा मेरा लेख समाज बदल्न लेखिएका थिएनन्, यी त मेरा आफ्ना कुराहरू थिए, मनमा उव्जिएका कुराहरू थिए, जसरी तपाईंको मनमा कुराहरू खेल्ने गर्दछ” (कन्फेसन, पृष्ठ ४१०-४११)।मलाई समाज बदल्नु थिएन।म त मात्र मेरा मनका कुराहरू लेख्ने गर्दथे।मानवीय जिन्दगी कसरी चलेको छ, कसरी यसलाई सहज र सरल बनाउन सकिन्छ भन्ने कुरा लेख्दा लेख्दै लेखिएका यी मेरा आफ्ना कुराहरू सबैले रूचाउँदै गएँ, सबैले मलाई एक पथप्रदर्शकको रूपमा लिन थाले।फलतः समाजका कतिपय अगुवाहरूलाई मेरो कुराहरू मन परेन।विस्तारै यी राजनीतीकरण हुँदै गए। राजनीतीकरणकरण हुँदै जाँदा मेरा रचना जलाउने कुरा आए, रचना मात्रै होइन रचनाकारलाई पनि सँगै जलाउनु पर्छ भन्ने कुराले व्यापक रूप लिन थाल्यो।विस्तारै समाजको मेरो प्रसिद्धिले मलाई असुरक्षित गराउँदै लगेको थियो।तर म डराएको थिइन किनकि म सत्य थिएँ।भएको कुरा लेखेको थिएँ।
“हेर्दा-हेर्दै म समाजबाट नास्तिक, पागल, धर्मविरोधी, चरित्रहीन, जङ्गली र असामाजिक भनिदै गएँ” (कन्फेसन, पृष्ठ ४२३)।म विस्तारै समाज विरोधीको नाम पाउन थालेको थिएँ।मेरा दैनिक बोलिने शब्दहरू फरक तरिका विश्लेषण गर्न थालिएको थियो।कसैले केही नभन्दासम्म मात्र अध्ययनले काम दिने रहेछ जब सबै विरोधी भएपछि पढ्ने मान्छे पनि असामाजिक र चरित्रहीन हुन पुगिने रहेछ।म विस्तारै असुरक्षित हुँदै गएँ।मेरा सबै साथीहरू शत्रु बन्दै गए।अस्तित्वको रूपमा जति एक्लो भएता पनि म भावनात्मक रूपमा एक्लो भएको थिइनँ किनकि मेरा सबै अध्ययन तथा दर्शनले मलाई भित्रैबाट शक्ति दिँदै थियो।किनकि म सत्य थिएँ म सत्य लेखेको थिएँ।म जसरी पनि मानवीय उत्थानका लागि लेखेको थिए।जे जसरी हुन्छ मैले जित्नु भनेको अनिवार्य थियो भन्ने कुरा मेरो आत्मा बोलिरहेको थियो।
“प्राकृतिक कानुन र मानवीय कर्तव्यलाई सम्बोधन नगरेको कानुन मात्र दलालहरूको कानुन बन्ने रहेछ” (कन्फेसन, पृष्ठ ४२४)।देश तथा समाजमा बनाइएका कानुनहरू भनेको सम्पूर्ण प्रकृति र मानव जातिको हितका लागि बनाइएको हुनु पर्दछ।सीमित व्यक्तिहरूको स्वार्थका लागि बनाइएका कानुनहरू भनेको मानवीय जीवनको नै धज्जी उडाउँदछ।देशमा बनेका कानुनहरूले छिद्र राखेर सीमित व्यक्तिको भरणपोषण गर्दछ भने त्यो प्रजातन्त्रका नाममा निरङ्कुशता नै हो।रूसोको त्यस बेलाको आत्मकथामा व्यक्त गरेका कुराहरूद्वारा हाम्रा अहिलेको कानुन तथा नियमलाई राम्रो व्यङ्ग्य गरेको छ ।
“निरर्थक गफले मलाई भित्रभित्रै नष्ट गर्दथ्यो” (कन्फेसन, पृष्ठ ४३३)।रूसो भन्छन्,वाहियातमा दिन फाल्नु भनेको मेरो लागि सबैभन्दा नराम्रो अनुभव हुने गर्दछ।मेरो जिन्दगीको हरेक अनुभवको सँगालो बनाएर जिन्दगी अगाडि बढाउन भनेको मेरो लागि सबैभन्दा श्रेष्यस्कर लाग्ने गर्दछ।दलाल रूपी बठ्याईंहरू मात्र समयको खेल फाल्नु र क्षणिक आनन्द लिनु मात्रै हो ।
“जहाँ दलाली हुन्छ, त्यहाँ शिष्टताको अभिनय गरिएको हुन्छ”(कन्फेसन, पृष्ठ ४३६)।हाम्रो समाजमा हुने गरेका चलाखी र बठ्याइँका नाम अरू भन्दा धेरै जान्ने जुन प्रवृत्ति छ, त्यो मात्र ढोंग मात्र हो । समग्र हामी मानव जाति र चराचर जगतको संरक्षण गर्दै अगाडि बढ्नु हाम्रो अर्थ रहन्छ।कुनै पनि व्यक्तिगत क्षणिक आनन्दका लागि गरिएका शिष्टताबाट पाउने र दिने शिष्टता भनेको निरक्षरताको परिचय हो।
“म यस्तो पुस्तक लेख्ने सोचमा थिएँ कि जुन पुस्तकको आशयबाट बौद्धिक वर्गमा हलचल ल्याउने पक्का थियो” (कन्फेसन, पृष्ठ ४५४)।प्रकृतिसँग सुहाउन मान्छेको जसरी जन्म भयो, त्यस अनुरूप नै मान्छेको जीवनयापन हुनुपर्छ, चराचर जगत् यही प्राकृतिक रूपमा नै रहनु पर्छ भन्ने सन्देशको आशयको पुस्तक बौद्धिक जगतमा ल्याउन सक्ने हो भने म मेरो जिन्दगी सफल भएको ठान्ने थिएँ र सबै चराचर जगतका सबै चिरकालसम्म यथावत् रहने छन् भन्ने कुरा ल्याउन चाहन्थे तर यसले समग्र सामाजिक पद्दतिमा आक्रमण गर्ने निश्चित थियो।मेरो यो उद्देश्य यो थिएन कि कसैले दुःख पावस् तर मेरो उद्देश्य यो थियो कि पादरी तथा दलाल वर्गबाट फैलाएका भ्रमहरूबाट मुक्ति दिलाउन सकियोस्।
‘मेरो पुस्तक पढेर कतिपय बुद्धिजीवीहरू भन्दै थिए कि, यी पुस्तकहरू जलाइहाल्नु पर्ने अवस्थाका पनि छैनन्, यसमाथि विचार गरिनु पर्छ”(कन्फेसन, पृष्ठ ४५५)।विरोधका क्षणहरू पनि अस्तित्वको नियमअनुसार नै चल्ने गर्दछन्।केही समय मेरो पुस्तकमाथि अति नै विरोध गरिएता पनि राक्षसकै हातबाट जलाउनु पर्ने देखिएका छैनन्।पुस्तकमा मानवीय गुणहरू लुकेका छन् भन्ने कुरा केही बुद्धिजीवीबाट आउन थाले पछि मेरो मैले केही राहत महसुस गरेको थिएँ भनेर रूसो व्यक्त गरेका छन्।
“मलाई दुर्व्यवहार गर्दा पनि केही नियन्त्रित भएर दुर्व्यवहार भएर गर्न थालियो” (कन्फेसन, पृष्ठ ४६०)।मेरा लेख तथा पुस्तक प्रकाशनबाट रूष्ट सर्वसाधरणमा मेरो लेखको तात्पर्यहरू भिज्दै गएका थिए।यथार्थ कुरा सर्वसाधरणले बुझ्न थालेका थिए।सर्वसाधरणको बुझाइलाई दृष्टिगत गर्दै सरकारी तवरबाट पनि मलाई सिधै बेइज्जत हुने किसिमको गतिविधि गरिएको थिएन, बेइज्जतको हद हेर्दा पनि अप्रत्यक्ष तरिकाले ममा दुरूत्साहन हुने किसिमका हथकण्डा प्रयोग गर्न थालियो।
“एकान्तको आलस्यता रमाइलो हुन्छ, जसमा अध्ययन गर्ने अवस्था रहन्छ”(कन्फेसन, पृष्ठ ४७१)। एकान्तलाई स्वर्ण समयमा बदल्न चाहने रूसोले ऐकान्तिताको राम्रो उपयोग सुझाएका छन्।आजको हाम्रो समय भनेको एक्लै बस्न हुँदैन, आलस्यता आउँछ तथा मानसिक रोगी बन्न सकिन्छ भन्ने तात्पर्यलाई अध्ययनमा त्यो समय बिताउन सक्ने हो भने हामीले धेरै कुरा प्राप्त गर्न सक्छौँ भन्ने कुरा स्पष्ट पारेका छन्।
“इतिहास पढ्नु, बुझ्नु र लेख्नु भनेको हाम्रा सबै सभ्यता, मानवीय अवस्था र चराचर जगतका बारेमा बुझ्नु हो”(कन्फेसन, पृष्ठ ४८१)।हाम्रा अध्ययन भनेको चराचर जगतको समग्र रूपमा जानकारी पाउनु हो।चराचर जगतको चक्रीय प्रणालीमा समाहित भएर खुशी हुन सक्नु हो।प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अरूलाई कुनै बाधा नबनाई जिउनु नै मानवीय धर्म हो।पृथ्वीको उत्पत्ति र मानवीय जिन्दगीको उत्पत्ति के कसरी भयो र यस मानवीय जिन्दगी सुखी र खुसी हुनका लागि के कसरी अगाडि बढ्दै गएको छ भन्ने हालसम्मको इतिहास र चराचर जगत् रहेको हाम्रो भूगोल के कस्तो छ र यसलाई कसरी प्रयोग गरेर जिन्दगी उल्लासमय बनाउन सकिन्छ भन्ने कुराका लागि इतिहास र भूगोलले हामीले पढ्नु नै पर्छ भन्ने कुरा रूसोको यस भनाइबाट प्रमाणित हुन्छ ।
गफ र दलालको भरमा बाँच्ने हाम्रो समाजलाई तिखो वचन हान्ने रूसोले भनेका छन्, “काम गरेर मान्छे मर्ने भए संसारको जनसङ्ख्या आधा भैसक्ने थियो ।” करिब तीन सय वर्षअगाडि रचिएको रूसोको आत्मकथाको यथार्थता देख्दा आम जिन्दगीका लागि प्रत्येक घरको अध्ययन सामग्री बनाइनु पर्छ भन्दा फरक नपर्ला।हुन त यो लेख इमान्दारिता र कठोरताका साथ लेख्ने हो भने हामीबाट पनि रचना हुन सक्ला तर त्यो अवस्थामा नपुग्दासम्म हामीले यसको अध्ययन गर्नु नै पर्ने हुन्छ।असल मान्छेको ईश्वर भनेको असल मान्छे नै हो।मानवीय धर्मका लागि मानव दर्शन पढाउन अनिवार्य छ।धर्म तथा निरङ्कुशतालाई आफ्ना लेखमार्फत तिखो वाँण हान्न सफल रूसोको आत्मकथाले उत्प्रेरित मानवीय जिन्दगी जिउने आधार खडा गरेको छ।आलस्य जिन्दगीदेखि भिडले देखेको हेय जिन्दगी कसरी जिउने? भिडले देखेको हेय जिन्दगीको रूपको बारेमा वर्णन गर्दै सोही जिन्दगीमा कसरी रचना सफल बनाउने भन्ने उत्प्रेरित लेखका बीच रचना दिन सफल रूसो आम मानवीय जिन्दगीका ईश्वरीय रूप हुन्।सुकरात, स्टोइक, व्लेज पास्कल, हुँदै रूसोसम्म आइपुग्दा अस्तित्ववादी दर्शनको राम्रो अस्तित्वमा आइसकेको थियो।अस्तित्वलाई आधार बनाएर लेखिएका उनका लेखमार्फत नै अस्तित्ववाद दर्शन हुर्कन सफल भएको हो।रूसोको लेख तथा दर्शनमार्फत नै सोरेन किर्केगार्ड, सोफेनहावर, मार्क्स स्टिनर, फ्रेडरिक निच, फ्योदर दोस्टोभोस्की, जाँ पल सार्त्र, अल्वेयर कामुजस्ता दार्शनिक तथा साहित्यकारहरूको जन्म भएको हो।दुर्भाग्य रूसोको मानवीय धर्मका महान् रचनाहरू हामीसामु रहे पनि वैश्विक रूपमा असमानता, अहं, वितृष्णा तथा अमानवीय कार्यहरू आज पनि उस्तै नै छन्।महान् प्रजातान्त्रिक भनिने देशहरू तिमीभन्दा म के कम भनेर हतियार बनाउने, मान्छे मार्ने र प्रकृति ध्वंस बनाउन अगाडि बढेकै छ।साक्षरतासँगै सधैँको अध्ययन अनिवार्यताको अवधारणा नल्याउने हो भने आजको साक्षरताले हामीलाई ध्वस्त नबनाउला भन्न सकिँदैन।
घडी बनाउने पिताका रूपमा जन्मेका रूसोको जिन्दगी सधैँ सोचनीय रह्यो।सामाजिक बन्धन तथा नैतिक मूल्यले गाँजेको निरङ्कुश समाजलाई स्वतन्त्रताको बिगुल फुकाउन सफल रूसोको दर्शनले युरोपको स्वतन्त्रताका लागि विशेष योगदान दियो।उनको दर्शनबाट नै युरोप लगायत विश्वको स्वतन्त्रता तथा मानवअधिकारको आधार खडा हुन सकेको भन्दा फरक नपर्ला।समकालीन राजनीति, स्वेच्छाचारिता, भ्रष्ट आचरण हेर्दा राजनीतिक वृत्तमा रूसोको विश्व प्रसिद्ध आत्मकथा तथा उनको दर्शनको गहिरो अध्ययन गर्न जरूरी देखिन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।