प्राध्यापक, गीतकार तथा कवि हुनुहुन्छ डा. बमबहादुर थापा ‘जिताली’ । उहाँको पहिलो कवितासंग्रह ‘वसुन्धरा’ हो भने अहिलेसम्म उहाँको १० वटा कृति प्रकाशित छन् । २०४५ सालमा रेकर्ड भएको उहाँको राष्ट्रिय गीत ‘जहाँ छन् बुद्धका आँखा’ले धेरै चर्चा पाएको छ । अन्याय, विसङ्गति र भद्रगोल परिस्थितिमा देखिएका प्रवृत्तिगत विषयवस्तुमा कलम चलाउन रुचाउने उहाँको एक दर्जनभन्दा बढी राष्ट्रिय गीत र भजन पनि रेकर्ड भएका छन् । साथै छायाङ्कन भएका पनि छन् । 

प्रस्तुत छ, कवि  डा. बमबहादुर थापा ‘जिताली’ सँग उहाँकाे लेखनयात्रा र डायस्पाेरिक साहित्यबारे केन्द्रित भई साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश: 

 

तपाईंको व्यस्तता आज भोलि कतातिर वा कुन कुरामा छ ?

छत्तीस छन्दको छहरा’ -२०६७ सालदेखि अहिलेसम्म विभिन्न छन्दमा सिर्जना गरिएका कविता सँगालो ‘शास्त्रीय छन्दका छाँगा’ प्रकाशनको तयारीतिर लागेको छु । ‘लेखनाथका रचनाको विवेचना’ प्रकाशनको चटारो पनि भोगिरहेको छु भने प्रविधिमैत्री कार्यक्रम तथा कविता वाचन र सिर्जनात्मक कार्यमा पनि व्यस्त छु ।

डा. बमबहादुर थापा ‘जिताली’

डा. बमबहादुर थापा ‘जिताली’

अहिले के लेख्दै हुनुहुन्छ ?

— म जे देख्तै छु त्यही लेख्तै छु र समालोचना पनि गर्दै छु ।

तपाईंको पहिलो सङ्ग्रहका बारेमा सङ्क्षिप्त उल्लेख गरिदिनुहुन्छ कि ?

— मेरो पहिलो सङ्ग्रह ‘वसुन्धरा’ तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको ४० प्रतिशत आर्थिक सहयोगमा प्रकाशन भएको हो । यसमा चार खण्ड छन् । जम्मा ६२ वटा कविताको मूलभाव राष्ट्रियता, प्रकृतिप्रेम, देशप्रेम, सांस्कृतिक परिवेश र समुचित जीवनको सन्देश बनेर पोखिएको पाइन्छ ।

तपाईंको साहित्यिक जीवनयात्रामा कोबाट कसरी प्रभावित हुनुभयो ?

— मेरो साहित्यिक जीवनमा पहिलो प्रभाव माता, पिता र जिताको सामाजिक परिवेशले पनि प्रभाव पारेको छ । विभिन्न जातजाति मिलेर बसेको जिता, चिण्डे गाउँ, जामुने र जिताकोटको सामाजिक तथा प्राकृतिक लोक परिवेशले मलाई कविता लेखूँ-लेखूँ बनाएको हो । यसैले मैले १२-१३ वर्षको उमेरदेखि लोक छन्दमा गीतिकविता रचना गर्न थालेको हुँ ।

२०२९ साल चैत्र १२ गते काठमाडौँ प्रवेश गरेपछि मेरा प्रेरणाका स्रोत फेरिए । समाजसेवी भीमबहादुर अधिकारी, भाषासेवी गोपाल पाँडे ‘असीम’, राष्ट्रकवि माधव घिमिरे, प्रा.डा. वासुदेव त्रिपाठी, प्रतिष्ठित कवि दैवज्ञराज न्यौपाने, प्रा.डा. मोहन हिमांशु थापा, बालकृष्ण सम, सिद्घिचरण श्रेष्ठ, प्रा.डा. कृष्णहरि बराल, भुवनहरि सिग्देल र प्रह्लाद पोखरेलको सङ्गतका साथै साहित्यिक प्रभाव पार्ने कविमा भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा आदि रहेका छन् । हास्यव्यङ्ग्य कविता, निबन्ध लेखनमा भैरव अर्याल, केशवराज पिँडाली, वासुदेव लुइटेल, श्याम गोतामे तथा रामकुमार पाँडेले पनि प्रभाव पारेका छन् ।

तपाईं सबैको प्यारो व्यक्तित्व हुनुहुन्छ । सजिलो, स्वादिलो र खँदिलो सिर्जनाका साथै कसरी पाठकको मन छुन सफल हुनुभएको हो ? खुलाइदिनुहुन्छ कि !

सपना देखूँ भनेर देखिन्न

कविता लेखूँ भनेर लेखिन्न ।

सपना देखूँ भनेर देखिन्छ भने

लटरम्म फलेका पहेँला सुन्तला देखियोस् ।

कविता लेखूँ भनेर लेखिन्छ भने

आलु, मूला र शकुन्तला लेखियोस् ॥ भने झैँ

कुनै पनि सिर्जना गर्न जन्मजात प्रतिभा चाहिन्छ भने निरन्तर अभ्यास, अध्ययन र अनुकूल परिवेश पनि चाहिन्छ । सबैको प्यारो साहित्यिक व्यक्तित्वका निम्ति सरल, सहज, मृदुभाषी र पाठकका चाहनाअनुरूपका रचना पनि हुनु आवश्यक छ । सजिलो, स्वादिलो, खँदिलो र ओजिलो सिर्जनाका निम्ति साहित्यिक साधना र भाषिक शुद्धता अनिवार्य छ । यही कुरोको चुरो बुझेर सिर्जना गर्ने हुँदा मेरा रचनाले पाठकको मन छुन सफल भएको हुनुपर्छ भन्ने मेरो ठहर छ ।

तपाईं गद्य र पद्यमध्ये कुन विधामा पोखिन रुचाउनुहुन्छ ? किन ?

— म गद्य र पद्य दुवै विधामा कलम चलाउँछु तर पद्य विधामा बढी पोखिन मन लाग्छ । किनभने पद्यमा सिर्जना गर्दा थोरैमा धेरै विषयवस्तुगत सन्दर्भ सङ्केत गर्न र दर्साउन सकिन्छ । विशेष लोकछन्द र शास्त्रीय छन्दमा रचना गर्न रुचाउँछु किनभने लयविनाको कविता हुँदैन । सङ्गीतविना रमिता हुँदैन ।

डायस्पोराको शाब्दिक अर्थ के हो ?

— डायस्पोराको शाब्दिक अर्थको मूल जरो खोतल्दै जाँदा ग्रीसबाट यहुदीहरू खेदिएको, लखेटिएको र भागाभाग भएको समयमा पुगिन्छ । ग्रीसेली भाषामा १. डाइआ (dia) चारै दिशा, २. स्पेरिन (speirein) छरिनु, पोखिनु, बाहिरिनु, ३. डाइआस्पेइरेन (diaspeirein) ग्रीसेली शब्दबाट डायस्पोरा (diaspora) शब्दको निर्माण भएको भेटिन्छ र सत्रौँ शताब्दीदेखि प्रयोगमा आएको पाइन्छ । डा. गोविन्दराज भट्टराई (डायस्पोरा सिद्धान्त र समालोचना) यसको अर्थ द्वैध हुन्छ । जन्मथलो र कर्मथलोका दोसाँधमा रहेको मानसिक अवस्था नै डायस्पोरा हो । यसर्थ स्वदेश छाडेर परदेश जानुपर्ने बाध्यता र आवश्यकताले सताएको परिस्थिति पनि डायस्पोराभित्र पर्दछ ।

डायस्पोरामा बसेर लेखिने साहित्य कस्तो हुनुपर्छ ?

— जसले हित गर्छ त्यही नै साहित्य हो भने डायस्पोरामा बसेर लेखिने साहित्यले जन्मथलो र कर्मथलोको भलो चिताएको हुनुपर्छ । रात र दिनको दोसाँधमा रहेको सम्झना जस्तै साँझकालीन समयसापेक्ष दृष्टिकोणबाट सिर्जना गरिएको हुनुपर्छ । हिजो भन्दा आज-भोलिको परिकल्पनाबाट सिर्जना भाव भरिएको हुनुपर्छ र थोरै शब्दमा धेरै भावना जडिएको हुनुपर्छ ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न के गर्नुपर्ला ? कसरी ?

— नेपाली भाषा-साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नका निम्ति सम्बन्धित विश्वभाषामा अनुवादका साथै प्रसारण पनि गर्नुपर्ने देखिन्छ । यसका लागि नेपाली साहित्यलाई समुचित अनुवाद कला-गलामार्फत अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ । सरकारले चासो लिएर नेपाल प्रज्ञा-प्रतिष्ठानमा अनुवादविज्ञ राखेर उत्कृष्ट साहित्यिक कृतिको अनुवाद गराई प्रकाशन गर्नुका साथै राजदूतावासमार्फत अनूदित कृतिलाई विश्वसाहित्य संसारमा प्रसारण गर्न सकिन्छ । व्यक्तिगत प्रयासले मात्र यो काम गर्न मुस्किल देखिन्छ ।

यसर्थ सरकारी तवरबाट नेपाली साहित्यभित्रका हीरा, मोती, जुहार, वनस्पति, जडीबुटी र अमूल्य खानी खोतलेर अनुवादकद्वारा समुचित ढाँचामा ढालेर विश्वसामु उतार्न सकेको खण्डमा नेपाली साहित्य र साहित्यकारले पनि नोबेल पुरस्कार प्राप्त गर्न सक्ने देखिन्छ । आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक अवस्थाको विकासविना साहित्यिक उन्नति तथा समुन्नति सम्भव छैन भने नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहज छैन ।

साहित्यमा जीवन, दर्शन, आत्मचिन्तन र प्रकृतिलाई तपाईंले कसरी हेर्नुभएको छ ?

— आत्मचिन्तन भन्नाले आफूमाथि केन्द्रित चिन्तन, अध्यात्म चिन्तन, आत्माको चिन्तन र आत्मसम्बन्ध चिन्तनमनन भन्ने बुझिन्छ । मानिसको जीवनदर्शन प्रकृतिसँग जोडिएको छ । प्रकृति मान्छेको विश्वविद्यालय हो । सृष्टि, प्राकृतिक विकास र मरण प्रकृतिको देन हो भन्ने मेरो दृष्टिकोण रहेको छ । कविता, गीत, सङ्गीत र गायनको मूल स्रोत प्रकृति र आत्मचिन्तन हो । कोइलीलाई सुरिलो स्वरमा गाउन सिकाउने, चरालाई गुँड बनाएर फुल पारेर चल्ला कोरलेर, आहारा, सहारा दिएर बच्चा हुर्काउन कल्ले सिकायो होला ! आदि यस्ता चिन्तनले र प्राकृतिक सौन्दर्यले मलाई रोमाञ्चित र भावुक बनाउँछ । प्रकृति र आत्मचिन्तनले कविता, गीत, सङ्गीत जन्माउँछ ।

तपाईंको कलम हास्यव्यङ्ग्य शैलीमा शक्तिशाली ढङ्गले चल्छ भन्ने कुरामा कति सत्यता छ र तपाईंको मन पर्ने व्यङ्ग्य लेखक को को हुनुहुन्छ ? किन ?

— मेरो कलम हास्य भन्दा व्यङ्ग्य शैलीमा बढी बगेर चलेको छ कि जस्तो लाग्छ । मेरा हास्य-व्यङ्ग्य कृति ‘धोती न टोपी’ (२०४९) र ‘आलु मूला’ (२०७५) ले यस कुराको सत्यता सावित गरेका छन् । जस्तै

दिनदिन भन्सारमा सुन फालेको छ

स्वणर्युग आए जस्तो हुन थालेको छ ।

(तस्करको लस्करबाट)

मलाई मन पर्ने हास्य-व्यङ्ग्य लेखकहरूमा क्रमशः भैरव अर्याल, केशवराज पिँडाली, वासुदेव लुइटेल (भूतको भिनाजु), श्याम गोतामे र प्रा. रामकुमार पाँडे रहेका छन् । किनभने यिनीहरूबाट मैले प्रेरणा पाएको छु भने यस क्षेत्रमा उल्लेखनीय योगदान रहेकाले पनि मैले मन पराएको हो ।

तपाईंका कविता र गीतमा व्यङ्ग्य मिसिएको हुन्छ ?

— मेरा सङ्गीतमय कविता र गीतमा व्यङ्ग्य भाव लुकेको हुन्छ, फुकेको हुन्छ तर चुकेको हुँदैन, झुकेको हुँदैन । किनभने पौरस्त्य साहित्यमा ध्वनिलाई उच्च महत्त्व दिएको छ । अर्थका दृष्टिले पनि अभिधा, लक्षणा र व्यञ्जनामध्ये व्यञ्जनार्थ सिर्जनालाई सर्वोपरि मानिएको छ । यसर्थ मेरा सिर्जनामा सकारात्मक सोचका निम्ति दरो दनक, खरो छनक र प्रखर रौनक प्रयोग भएको भेटिन्छ । पाठकीय रुचि, मनोदशा र चाहना प्रति चासो राखी धैर्य धारणका साथ समयसँगै समाज सापेक्ष सामूहिक उत्तरदायित्व वहन गरी औचित्यका आधारमा प्रकट हुनु लेखकीय धर्म हो, कर्म हो र कर्तव्य पनि हो भन्ने मेरो धारणा छ । यस भनाइलाई मेरो ‘लाज आफै लजायो’ कविताले पुष्टि गरेको छ ।

तपाईंको बाल्यकाल बारे अलिकता चर्चा गरिदिनुहुन्छ कि ?

— मेरो बाल्यकाल लमजुङ, जिताको प्राकृतिक सौन्दर्य, सातधाराको सांस्कृतिक परिवेशमा रमाएको हो । मैले ६ वर्षको उमेरमा ६ वटा गाई, गोरु वनमा चराउन लाने मौका पाएको हो र आठ वर्षदेखि आफ्नो घरैमा अक्षर चिनेर गुरुकूलमा दुर्गाकवच र चण्डी घोकेर २०१८ सालमा एक कक्षामा भर्ना भएर सातै दिनमा दुई कक्षामा उक्लिएको हो । २०२७ सालमा जिता सातधारा निमाविबाट आठ कक्षा उत्तीणर् गरेर श्री शान्ति हाईस्कूल, कुन्छामा नौ कक्षा भर्ना भएको हो । २०२८ सालको प्रवेशिका परीक्षा २९ सालमा उत्तीर्ण गरी काठमाडौँ प्रवेश गरेको हो र २०३० साल असार ६ गतेदेखि जागिरे जीवन थालिएको हो । बाल्यकालको प्राकृतिक परिवेशले मलाई कवि र गीतकार बनाएको हो ।

तपाईं कहिलेदेखि साहित्य सिर्जनामा लाग्नुभयो ? केही प्रकाश पारिदिनुहुन्छ कि ?

— मैले १३ वर्षको उमेरदेखि लोकछन्दमा गीतिकविता रचना गर्न थालेको हो, श्री शान्ति हाई स्कूलमा पुगेपछि हास्य-व्यङ्ग्य साहित्यमा पनि लागेको हो तर यो पृष्ठभूमिलाई उकास्ने काम काठमाडौँ आएर जागिर खाएपछि भएको हो । २०३० देखि २०३३ सालसम्म निरन्तर अभ्यास गरियो कविता, गीत, कथा र निबन्ध लेख्नु लेखियो र त्यसलाई परिष्कृत, परिमार्जित र सुललित पार्ने काम पनि गरियो । यसको प्रतिफल २०३३ सालदेखि देखियो । ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्य कथा, ‘कम्प्युटर गीत’ गीति कविता र ‘नेपाली भाषाको गुनासो’ निबन्ध प्रकाशन भएपछि त गो.प., मिर्मिरे, झङ्कार, गरिमा आदि सबैजसो राष्ट्रिय पत्रिकामा प्रकाशनका साथै रेडियो नेपालबाट प्रसारण हुन थाल्यो ।

तपाईंलाई नव प्रतिभाले किन मन पराउँछन् ? यसमा कनै कारण छ कि ?

— मलाई नवोदित प्रतिभाले किन मन पराउँछन् भने नवोदित प्रतिभालाई प्रोत्साहन दिने र अग्रज व्यक्तित्वलाई आदर, सम्मान र पुरस्कार दिने मेरो व्यावहारिक आनीबानी छ भने संस्थागत नीति र उद्देश्य पनि छ । मेरो सक्रियतामा २०५६ सालदेखि ‘मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान’ स्थापना भयो । सुन्दर बजार, बेसीसहर, भोर्लेटार आदि लमजुङका विभिन्न स्थानमा लोकदोहोरी प्रतियोगिता गरियो र प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा पनि लमजुङे सांस्कृतिक साँझ प्रदर्शन गराइयो । यस्ता लोकगीत र सांस्कृतिक कार्यक्रमबाट धेरै जना नवोदित प्रतिभाले प्रस्तुत हुने मौका पाए, प्रकाशमा आउन पाए र नाम पनि कमाए । लोकगायक राजु परियार जस्ता अनेक प्रतिभा पनि उदाए ।

मेरो नेतृत्वमा २०७२ सालदेखि ‘मञ्जुश्री साहित्यिक समाज खडा गरियो र हालसम्म २६ जना अग्रज व्यक्तित्वलाई सम्मानित र पुरस्कृत गरियो भने कक्षा आठदेखि बाह्रसम्मका विद्यार्थी बीचमा छन्द प्रशिक्षण कार्यक्रम चलाएर कविता प्रतियोगिता गराएर उत्कृष्टताका आधारमा पुरस्कार प्रदान गरिने हुँदा नवोदित प्रतिभा प्रोत्साहित छन् भने मेरो नेतृत्वमा मञ्जुश्री साहित्यिक समाजले राष्ट्रव्यापी खुला कविता, गीत, गजल प्रतियोगिता पनि गराउन थालेको छ । यस संस्थाले उत्पादन गरेका प्रतिभाले मेरो गुन बिर्सिएका छैनन् । यसर्थ पनि नव प्रतिभाले मलाई मन पराएको हुन सक्छ । सजिला, रसिला र पोसिला बालगीत तथा कथा पनि रचना गर्छु । यसो हुनाले पनि प्रिय पात्र भएको हुन सक्छ ।

साहित्यमा लागेर तपाईंले के पाउनुभयो र के गुमाउनुभयो ?

— सानै उमेरदेखि साहित्यको बीजारोपन गरियो र शिक्षाको आर्जनका क्रममा त्यसलाई हरियो बनाउन निरन्तर अभ्यास, परिश्रम, साहित्य साधना र सिर्जना पनि गरियो । एक दर्जन जति विभिन्न कृतिले नेपाली भाषा-साहित्यको भण्डार भरियो । यसरी सात दशकको उमेर पार गर्दा छ दशक समय नेपाली साहित्य सेवा, समीक्षा, समालोचना र सिर्जनामा खर्च गरियो । आजसम्मको श्रम, सीप र वैचारिक विकास बमोजिम प्रतिफल वा भरणपोषण पाइएको छ । अचेल मलाई नेपाली साहित्यका परिचित कवि, लेखक, गीतकार, सम्पादक तथा चर्चित हास्यव्यङ्ग्य कवि, निबन्धकार तथा समालोचकमा गन्न थालेका छन् ।

बौद्धिक समाज र साहित्यिक क्षेत्रबाट मैले प्रशस्त सम्मान प्राप्त गरेको छु । यो मेरो अमूल्य सम्पत्ति हो भने साहित्यमा लागेर कमाएको उल्लेखनीय उपलब्धि हो । साहित्य सिर्जनामा तल्लीन हुँदाखेरि मलाई यसले तास, जुवा, रण्डीबाजी र दुर्व्यसनको कुलतबाट बचाएको छ । आफूसँग जे छ, त्यसैमा मन रमाएको छ र सर्वजन हितायको भाव जगाएको छ । लोभ, लालच, अनाचारबाट जोगाएर सत्य, शिव र सुन्दर संसारको धरातलमा सदाचारतर्फ उन्मुख गराएको पनि छ । यसो हुनाले साहित्यमा लागेर मैले केही गुमाएको छैन बरु ज्ञान, ध्यान र परमानन्द पाएको छु । कर्मठ कर्म गर्दै गएपछि फल प्राप्त हुँदै आउँदो रहेछ भन्ने विश्वास प्रबल भएको छ । मेरो कर्मको पारिश्रमिक पाएको छु । यसमा म पूर्ण रूपले सन्तुष्ट छु र आनन्द विभोर पनि भएको छु । साहित्यले सच्चिदानन्दको दर्शन दिँदो रहेछ भन्ने अनुभूति भएको छ ।

तपाईं प्रतिष्ठित साहित्यकार हुनुहुन्छ, यहाँको परिवारमा साहित्य लेख्ने र पढ्ने को को हुनुहुन्छ ?

— मेरो पिता प्रेमबहादुर थापा र माता बसुन्धरा थापा साहित्य प्रेमी र सर्जक पनि हुनुहुन्थ्यो भने मेरा छोरा रवीन्द्रविक्रम थापा र छोरी कल्पना थापा पनि साहित्यप्रेमी र सर्जक बनेका छन् । छोरीको ‘त्रिभाव’ कवितासङ्ग्रह प्रकाशित छ । मेरी श्रीमती भवानी थापा पनि लोकगीत र साहित्य सुन्न र पढ्न रुचाउँछिन् ।

पौरस्त्य र पाश्चात्य साहित्यमा के भिन्नता छ ?

क)    पौरस्त्य साहित्यको पृष्ठभूमि र भावभूमि संस्कृत भाषा-साहित्य हो भने पाश्चात्य साहित्यको पृष्ठभूमि र भावभूमि ग्रीसेली साहित्य हो ।

ख)    पाश्चात्य साहित्यमा क्रिस्तानी प्रभाव पाइन्छ भने पौरस्त्य साहित्यमा सनातनी प्रभाव देखिन्छ ।

ग)   पाश्चात्य साहित्यमा ग्रीसेली सभ्यताको विकसित स्वरूप पाइन्छ भने पौरस्त्य साहित्यमा सनातनी सभ्यताको गौरवगाथा र शास्त्रीय परम्परा पनि समावेश भएको भेटिन्छ ।

घ)   पौरस्त्य साहित्यमा भाव र विचारको सन्तुलनभित्र विचारभन्दा भावमार्ग अगाडि देखिन्छ भने पाश्चात्य साहित्यमा भावनाभन्दा विचारमार्ग अगाडि भेटिन्छ ।

ङ)    पौरस्त्य साहित्यमा प्रायः संयोगान्त कथानक वा घटना भेटिन्छ भन्ने पाश्चात्य साहित्यमा वियोगान्त परिस्थिति पाइन्छ ।

नेपाली साहित्यमा देखा पर्ने स्वदेशी धार्मिक, सांस्कृतिक र सामाजिक विषयलाई अनुवाद गरेर सार्वजनिक गर्दा के के फाइदा हुन्छ ? यसका निम्ति कुन-कुन संस्थाले के-के गर्नु पर्ला ?

— उपर्युक्त विषयलाई अनुवाद गरेर सार्वजनिक गर्दा निम्न लिखित फाइदा हुन्छ –

क)    नेपाली साहित्यमा देखा पर्ने स्वदेशी सनातनी धार्मिक, सांस्कृतिक र सामाजिक परिवेशको प्रचार, प्रसार हुन्छ र नेपाली प्रभाव पनि प्रकाशित हुन्छ ।

ख)    यसको प्रभावबाट अन्तर्राष्ट्रिय सद्भाव, साहित्यिक सहमति, सहकार्य, सहानुभूति र भ्रातृत्वभावको समुन्नति हुन्छ ।

ग)    ज्ञान र विज्ञानको सहयात्रामय समीकरण र सामाजिक सभ्यताको सागरबाट मोती र ज्योति उपलब्ध हुन सक्छ । यसका निम्ति सम्बन्धित संस्थाले सक्दो सहयोग प्रदान गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नुभएको छ ?

— कोभिड १९ को भयावह समयमा गुगल मिट र जुम प्रविधि मैत्री साहित्यिक कार्यक्रमले संसारलाई एउटै डल्लो पारेपछि मैले सुनेको, जानेको र मानेको अन्तर्राष्ट्रिय साहित्य समाजमा समावेश भएका साहित्यिक व्यक्तित्वमध्ये गङ्गा लिगल, दुर्गा रिजाल, प्रमोद सारङ, प्रकाश पौडेल माहिला, सुदीपभद्र खनाल, गोवर्धन पूजा, तीर्थराज अधिकारी, लालगोपाल सुवेदी, सर्वज्ञ वाग्ले, ज्ञानेन्द्र गदाल, स्पन्दन विनोद आदिको पूर्व परिचय नवीकरण गरायो भने अन्य प्रतिभालाई पनि चिनायो । साहित्यिक दृष्टिले हेर्दाखेरि साहित्यिक र पदीय प्रतिस्पर्धा पाइन्छ भने यसमा डायस्पोरा साहित्य सिर्जना फक्रिएको भेटिन्छ । जो जहाँ रहे तापनि नेपाली भाषा-साहित्यको स्तर उन्नति र साहित्यिक प्रतिभाको पनि समुन्नति भएकै भेटिन्छ भने यस समाजको संस्थागत भविष्य समेत समुज्ज्वल देखिन्छ ।

नेपाली साहित्यले समाजलाई के दियो ? यस विषयमा स्पष्ट पारिदिनुहुन्छ कि ?

नेपाली साहित्यले प्राचीन कालीन भक्तिधारादेखि उत्तर आधुनिक तथा समकालीन बौद्धिक चिन्तनधारासम्म आइपुग्दा विभिन्न गहन महाकाव्य, खण्डकाव्य, फुटकर कविता सङ्ग्रहका साथै कविता विधाका अनेक उपविधामा रचिएका ग्रन्थ, पुस्तक, पुस्तिका प्राप्त गरेको छ भने विभिन्न विचार, भाव र शैलीका निबन्ध, कथा, उपन्यास, नाटक र नाटिका पनि पाएको छ । नेपाली साहित्यको यस्तो विशाल भण्डारभित्र पसेर मोटामोटी अध्ययन, अनुसन्धान र खोजीनिती गर्ने हो भने नेपाली साहित्यले सनातनी समाजलाई देश, काल र परिस्थिति अनुसार अनुशासन, नैतिक चेतना, औचित्यपूर्ण विवेक र मर्यादामा आधारित जीवनशैली दिएको देखिन्छ । राम रमिता, शृङ्गार, हास्य, व्यङ्ग्य चेतना पनि प्रदान गरेको पाइन्छ । जसले आनन्द, परमानन्दका साथै सामाजिक अन्याय, अत्याचार, भ्रष्टाचार, व्यभिचार, विसङ्गति र विकृतिलाई देखाएर समाजलाई सही मार्गमा अग्रसर गराउने उद्देश्य राखेको हुन्छ र नकारात्मक नीति र प्रवृत्तिमाथि प्रहार गरी सकारात्मक सोचको विकासमा सहयोग गरेको हुन्छ ।

शब्दशक्तिभन्दा ठूलो शक्ति दुनियाँमा कतै पनि देखिएको छैन भने ध्वन्यात्मक तथा व्यञ्जनाप्रधान व्यङ्ग्यात्मक साहित्यले समाजलाई जति शक्तिशाली सन्देश दिएको हुन्छ त्यति कसैले पनि दिन सकेको हुँदैन । यसबाट नेपाली साहित्यले समाजलाई शक्तिशाली शब्द, अर्थ र अलङ्कारको उपहारले विभूषित गरेको प्रमाणित हुन्छ ।

सञ्चार क्षेत्रमा रहँदा तपाईंले नेपाली साहित्यमा कसरी योगदान दिनुभयो ?

— २०५० साल माघ १० गते राष्ट्रिय कम्प्युटर केन्द्रबाट म रेडियो नेपालको कार्यक्रम महाशाखामा सरुवा भएको हो । कम्प्युटर सुपरभाइजरबाट उद्घोषक पदमा सरुवा भएपछि २०६८ वैशाख २२ गते सेवा निवृत्त हुँदासम्म म मुख्य कार्यक्रम अधिकृत, झङ्कार पत्रिकाको प्रधान सम्पादक, साहित्य संसार, हाम्रो संस्कृति र ‘मेचीकाली’ (राष्ट्रिय गीतको) कार्यक्रम संयोजक तथा सञ्चालक, पारिश्रमिक निर्धारण तथा सम्पादन समितिको सचिव र कार्यक्रम परीक्षणको भूमिकामा रहेको थिएँ ।

मैले आफ्नो जिम्मेवारीभित्र रहेका सबै पक्षलाई परिष्कार गरी सफलतापूर्वक सम्पन्न गर्ने क्रममा २००८ सालदेखि प्रकाशित झङ्कारलाई नियमित गराएँ । त्यसभित्र साहित्य र सञ्चारका विषयवस्तु समेटेर समावेश गराई नेपाली साहित्यका कविता, गीत, गजल, कथा, निबन्ध, लेख-रचना र रेडियो नाटक प्रकाशन गरेपछि ‘झङ्कार’ पत्रिकाको स्तर उन्नति भयो र पाठकको संख्यामा पनि वृद्धि भयो ।

पारिश्रमिक निर्धारण तथा सम्पादन सचिवमा रहँदा रेडियो नेपालबाट प्रसारण हुने कविता, गीत, गजल, कथा, नाटक, निबन्ध, लेख, रचना सम्पादन गर्ने र त्यसको पारिश्रमिक तोक्ने काम मैबाट हुन्थ्यो, जसले गर्दा कार्यक्रमको स्तर उन्नति भएको थियो, नवोदित प्रतिभाले पनि मौका पाएको थियो र समुचित पारिश्रमिक कवि, लेखकहरूले पाएका थिए । प्रेरणा पनि पाएका थिए ।

म कार्यक्रम परीक्षणको भूमिकामा रहँदा रेडियो नेपालबाट प्रसारण हुने सबै जसो कार्यक्रम सुनेर त्यसमा रहेका अनुचित शब्द र वाक्य हटाई स्वीकृत गर्नुपर्थ्यो । यसले गर्दा मेरो सम्पादकीय क्षमता पनि बढाएको थियो । यो सजिलो काम थिएन ।

प्राध्यापन पेसाबाट पनि भाषा-साहित्यको उत्थानमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने तपाईंको मान्यता देखिन्छ । यसमा आफ्नो भूमिका कस्तो पाउनुहुन्छ ?

— मैले २०५४ सालदेखि रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक पहिलो वर्षका विद्यार्थीलाई प्राध्यापन गर्न थालेको हो । त्यति बेला मेरो कक्षामा रहेका २०० भन्दा बढीलाई निकै मिहिनेत गरी अनिवार्य नेपाली विषयवस्तुको सम्प्रेषण गराएकाले परीक्षामा सबैजसोले उत्कृष्ट अङ्क ल्याए भने आठ जनाले असी प्रतिशत अङ्क ल्याए । यस्तो शैक्षिक नतिजाले गर्दा अर्को वर्ष मेरो कक्षामा ३०० भन्दा बढी विद्यार्थी भरिए । त्यसपछि मलाई निजी क्याम्पसले तानेर विभिन्न क्याम्पसमा पुर्‍याए ।

त्यहाँ मैले अनिवार्य नेपालीका अतिरिक्त ऐच्छिक नेपाली विषयमा कविता, कथा, नाटक, निबन्ध विधाको प्राध्यापन गरेको छु । विषयवस्तुको गहिराइ र उचाइमा पुगेर मथेर नौनी निकालेर विद्यार्थीलाई दिने मेरो शिक्षणशैलीले गर्दा धेरै विद्यार्थी लाभान्वित छन् भने आकर्षित पनि पाइन्छन् । यस्ता विद्यार्थीले कविता, कथा जस्ता रचना गरी मलाई देखाउँथे । मैले सम्पादन गरिदिन्थेँ । यसबाट उनीहरू प्रोत्साहित हुन्थे । त्यही परिवेशबाट धेरै साहित्यकार उत्पादन भएका छन् । यसर्थ शिक्षा र सञ्चार क्षेत्रको व्यवसायबाट पनि नेपाली भाषा-साहित्यमा मैले येगदान दिन सकेको हुन सक्छ ।

अन्त्यमा, विद्यावारिधिको उपाधि प्राप्त गर्दाको उपलब्धि र निचोडका बारेमा केही प्रकाश पार्नुहुन्छ कि ?

— लेखनाथका समग्र रचनाको विवेचना गर्दा उनी सर्वाधिक चर्चाका चुलीमा देखिन्छन् भने कवितात्मक मूल्य र मान्यतासँगै उनको नीतिकार व्यक्तित्व चरम चुलीमा चढेको पाउनुका साथै नीति चेतना, औचित्य साधना, मर्यादा पालना, कमनीय कला-कौशलका शीर्ष कवि तथा नैतिक, आध्यात्मिक र सामाजिक जीवन-सन्देशका कविमहर्षि ठहरिएका छन् ।

मैले ‘लेखनाथका कवितामा नैतिक पक्ष’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि हासिल गरेको हो । मेरा निम्ति अध्ययनको सिलसिला उपलब्धिमूलक रहेको छ । अध्ययनका क्रममा मैले वर्णमात्रिका छन्दको अध्ययन र सिर्जना (२०५३-५४), लेखनाथका कवितामा औचित्यवादको अध्ययन (२०६०), लेखनाथका कवितामा नैतिक पक्षको अध्ययन (२०५५-६२), नेपाली कवितामा छन्दशास्त्रीय अध्ययन -२०६३ र नेपाली कवितामा जापानीशैलीको अध्ययन (२०६४) प्रकाशन भएका छन् । यी सबै प्रकाशनले पहिलो स्थान प्राप्त गरेका छन् भने नेपाली हास्यव्यङ्ग्य साहित्यको रूपरेखा तयारीको क्रममा रहेको छ । यसको मोटामोटी रूपरेखा ‘गरिमा’ २८ः९, ३३३ भदौ, २०६७ मा प्रकाशित छ । यही नै मेरो अध्ययन र अनुसन्धानको उपलब्धि हो ।