मध्यरातको समय छ ।चारैतिर चकमन्न छ । कसैको कुनै पद्चाप सुनिदैन । बेला बेलामा कतै टाढाबाट कारूणिक स्वरमा कसैको मधुरो आवाज मात्र आइरहेछ तर बोलेको केही स्पष्ट बुझिदैन । चारैतिर शून्यता मुख बाइरहेको छ । घना जंगलको बाटो छ। बाटोका दुवैतिर पटेरका रूखहरू छन् । टाढा कतैबाट अलिअलि हिंस्रक जन्तुहरूको आवाज पनि आइरहेको छ । अन्धकारमा डुबेको यो रातमा यसरी बिलौना गर्ने को होला ? कोही विपदमा परेको व्यक्ति हो कि ! अथवा जंगलको हिंस्रक जन्तुको शिकार हो? नारदले छक्क परेर चारैतिर हेरे । तर शुनसान बाटोमा कोही थिएन। उनी अघि बढदै गए। उनी जति अघि बढदै जान्थे त्यो चिच्याहट उति नजिक आउककन थालेको उनलाई आभास हुन्थ्यो । उनी अझ विस्मयमा परे।
उनले फेरि चारैतिर हेरे। निक्कै अघि बढेपछि बाटोको छेउमा एउटा ठूलो रूखको कालो मूढा जस्तो केही चीज देखेर उनी टक्क अडिए। अन्धकारमा पनि त्यो चीज उनलाई केही चलमलाए जस्तो लाग्यो । उनले एकदमै नजिक गएर त्यसलाई हेर्न लागे। त्यो एउटा हाड र छाला मात्र भएको मासपिण्ड चेतनाशून्य प्राणी जस्तो देखिन्थ्यो। पहिले त उनलाई त्यो मानिस हो कि अन्य जीव हो केही थाहा भएन ! तर नजिकमा गएर हेर्दा उसका कति वर्षदेखि नकाटिएका लामा लामा दाह्री, जुँगा, केश, नङ देखेर उनले एउटा मानिस नै रहेछ भनेर ठम्याए । एक प्रकारले उसका प्रायः सबै अंगहरू निस्क्रिय भइसकेका थिए। ऊ र्.याल सिँगान सरीको घिनलाग्दो कुरूप विभत्स एउटा मानव आकृति थियो। ऊ केही देख्न सक्तैनथ्यो। उसको श्रवणशक्ति पनि प्रायः क्षीण भइसकेको थियो। उसको वाणीमा ह्रास आउन लागेको थियो। जोडले बोले ऊ केही सुन्थ्यो अनि मधुरो स्वरमा जवाफ दिन्थ्यो।
उसका इन्द्रीयहरू प्रायः निष्काम भई सकेका थिए। उसका शरीरभरि घाउ नै घाउ थिए। ती घाउहरूबाट पीप निस्किरहेको थियो अनि ऊ निस्क्रिय हुनाले दिशा पिसाबमा डुबेको थियो।
यसैले त्यहाँ दुर्गन्धसमेत व्याप्त थियो। त्यस तर्फबाट मधुरो अस्पष्ट स्वरमा केही आवाज आइरहेको थियो। त्यो आवाजमा निराशा र थकाईको स्पष्ट संकेत थियो। नारदले ध्यान लगाएर सुने। दबिएको स्वरमा ऊ केही बोलिरहेको थियो ।
‘म मर्न चाहन्छु प्रभु,मलाई मृत्यु चाहियो! म अब लाचार भइसकेको छु। अब म बाँच्न चाहन्नँ। ए मृत्यु ! आऊ तिमी मसित अंकमाल गर।’
नारद छक्क परे। सबै मृत्युसित डराउँछन्। यो को हो जो मृत्युलाई आह्वान गर्दैछ? उनले आवाज आएतिर फर्केर भने-
’वत्स ! मान्छे त जीवन चाहन्छन् ।मृत्युभन्दा जीवन धेरै रमाइलो हुन्छ। यसैले सबै दीर्घजीवी हुन चाहन्छन् तर तिमी किन मृत्युको कामना गर्दैछौ? को हौ तिमी?’
त्यस तर्फबाट फेरि क्षीण आवाज आयो, ‘युद्धभूमिमा परास्त म एक जना योद्धा हुँ। मलाई जीवनसित कुनै मोह छैन। जीवनका
रंगीन सपनाहरूदेखि म थाकिसकेँ। अब म मर्न चाहन्छु। म सञ्चोसित निदाउन चाहन्छु। हजुर को हुनुहुन्छ? हजुरको यो यात्रा कहाँ सम्मको हो ?’
नारदले भने, ‘म ब्रह्माको मानस पुत्र नारद हुँ । म कैलाशतर्फ जाँदैछु।’
फेरि क्षीण आवाज आयो, ’प्रणाम मुनिवर!’
हजुरलाई नचिनेकोमा क्षमा रहोस्।अब मैले आँखाको ज्योति गुमाई सकेको छु। म दृष्टिहीन लाचार छु। एक प्रकारले म वधिर पनि छु।’
’आयुष्मान भवः बत्स!’ नारदले दुवै हात उठाएर भने।
उसलाई नारदको आशीर्वचन मन परेन।जसले मृत्यु कामना गर्दैछ उसको निम्ति आयुष्मान त श्राप जतिकै हुने भयो। उसको एक्कासी चर्को स्वर सुनियो, ‘मुनिवर! मलाई जीवनको होइन मृत्युको वरदान दिनु होस्। मेरा सारा आफन्तहरू मरिसके।म मात्र मृत्युको लागि छटपटाई रहेको छु। ऋषिवर! म श्रापित छु।यो श्रापमोचन न भएसम्म म मुक्ति पाउँदिनँ। बरू मलाई श्रापमोचनको मार्ग बताउनु होस्।’ नारद उसका कुराले चकित भएर भने, ‘बत्स ! तिमी कसरी, किन युद्धमा पर्यौ ? अनि कोद्वारा श्रापित भयौ?’
उसले भन्यो, ’म कुरूक्षेत्रको मैदानमा कौरव पक्षबाट लड्ने महाभारत युद्धको एउटा योद्धा हुँ । अहिले मेरो शक्ति क्षीण भइसकेको छ। कौरवश्रेष्ठ दुर्योधन मेरा मित्र थिए । उनी अति पराक्रमी भए पनि ज्यादै हठी थिए। उनले पाण्डवहरूलाई युद्ध नगरी सियोको टुप्पो जति पनि जमीन दिन्नँ भने अनि त्यसपछि युद्ध हुने नै भयो। तर पाण्डवहरूले श्रीकृष्णको मध्यस्थतामा अन्तिम समयसम्म शान्तिको प्रयास गरिरहे तर पनि कुरूक्षेत्रमा कौरव र पाण्डवको बीचमा घमासान युद्ध भयो। धेरै पराक्रमी योद्धाहरू दुइ खेमामा विभाजित भए। कौरवहरूको घरको अन्न खाएकोले हामी महावली भीष्म,द्रोण,कर्ण, सबै कौरवहरूको पक्षबाट लड्यौं।त्यस बेला कौरवहरू कुपात्र भएकाले यसरी उनीहरूको घरको अन्न खाने हामीहरू सबै बुद्धिभ्रष्ट भएर सत्य र असत्य,न्याय र अन्याय, उचित र अनुचित केही पनि छुट्याउन नसक्ने भयौं तर एक्लो श्रीकृष्ण नै पाण्डवहरूको निम्ति पर्याप्त थिए। यसै युद्धमा द्रोणाचार्य मारिए।द्रोणको हत्या अस्त्र शस्त्रद्वारा सहज सम्भव थिएन।
यसैले पाण्डवहरूले उनलाई छल गरेर मार्नु पर्यो। तर पाण्डवहरूको यो छलमा युधिष्ठिर सामेल थिएनन्। उनी धर्मात्मा,ज्ञानी साथै सत्यवादी थिए। द्रोणाचार्यका छोरा अश्वत्थमाकै जस्तो नाम भएको एउटा हात्तीको बच्चा मारिएको खबर अरूले भनेको द्रोणले बिश्वास गर्दैनन् भनेर कहिले असत्य नबोल्ने सत्यबादी युधिष्ठिरलाई यो कुरा पाण्डवहरूले भन्न लगाए।युधिष्ठिरले द्रोणलाई भने( ’अश्वत्थमा हतो हतः नरो वा कुञ्जरो ’(अर्थात् अश्वत्थमा मारियो(मान्छे हो कि हात्तिको बच्चा हो।)
युधिष्ठिरले अश्वत्थमा मारियो भनेपछि पाण्डव पक्षका ले शंख, घण्टा र बाजाहरू बजाएर आधा वाक्य द्रोणलाई सुन्नै दिएनन्। उनको कानमा ’नरो या कुञ्जरो ’(मान्छे होकि हात्तीको बच्चा हो) भन्ने पर्दै परेन।आफ्नै छोरा मरेको सम्झेर द्रोण पुत्र वियोगमा मुर्छापरे अनि यसरी पुत्रशोकमा द्रोणले युद्धभूमिमै प्राण त्याग गरे।यो अधूरो कुरा सुनेर गरेको कार्यको एउटा दुष्परिणाम थियो।यसरी छल गरेर पाण्डवहरूले आफ्ना बाबुलाई मारेको खबरले आहतभै अश्वत्थमाले द्रौपदीका पाँच पुत्रहरूको सुतेकै ठाउँमा शीर छेदन गरेर हत्या गरे।त्यतिले पनि उनको रीस मरेन र विधवा अभिमन्युकी पत्नी ( अर्जुनकी बुहारी) उत्तराको गर्भमा रहेको शिशुलाई मार्न ऐषिक ब्रह्मास्त्र छोडे ।यो देखेर कृष्णले ब्रह्मास्त्र निष्फल गराई अश्वत्थमा लाई श्राप दिए(’ए अश्वत्थमा ! तँ अति नीच रहिछस्।तैंले सुतेका द्रौपदीका नाबालक पुत्रहरूको शीर काटेर हत्या गरिस्। त्यतिले पनि नपुगेर उत्तराको गर्भमा रहेको शिशुमाथि पनि ब्रह्मास्त्र छोडिस्?तर तेरो ब्रह्मास्त्र निष्फल गराएर म तँलाई श्राप दिँदैछु (’ तँ चिरञ्जीवी भएस्! हजारौं वर्षमा पनि तेरो मृत्युको कामना पूर्ण नहोस्।’
सम्पूर्ण कथा सुनिसकेपछि नारदले भने,‘वत्स! तिमी को हौ? महाभारत सकिएको त वर्षौ भईसक्यो । वीरगति पाउँने सबै योद्धाहरूले परमपद प्राप्त गरिसके। तिमी को हौ? मलाई आफ्नो परिचय देऊ!’
उसले भन्यो, म श्रीकृष्ण द्वारा श्रापित महर्षि द्रोणाचार्यको पुत्र अश्वत्थमा हुँ । म चिरञ्जीवि छु अनि बर्षौंदेखि मृत्यु पर्खिरहेको छु। मुनिवर!म मृत्यु चाहन्छु। म श्रापमोचन चाहन्छु।मलाई श्रापमोचनको उपाय बताई दिनु होस्।
भनिन्छ, कृष्णको श्रापबाट आज पनि अश्वत्थमा मुक्त भएका छैनन् उनको मृत्युको कामना अझ पूरा भएको छैन। उनी कैलाश हिमालको पहाड कन्दराहरूमा आज पनि मृत्यु खोज्दै भडकिरहेका छन् ।तब ‘चिरञ्जीवी हुनु’ भनेको ‘आशिर्वाद’ हो कि ‘श्राप’ हो?
संसारमा कोही अजर अमर छैनन्। एकदिन सबैले मर्नै पर्छ।’मान्छे नमर्ने प्रहर हुँदैन ।’तर, ठीक समय पुगेपछि सबैको प्रिय पात्र हुँदा हुँदै,सुख, शान्तिसित अन्त हुनु जीवनको सार्थकता हो कि ,समय भन्दा बढता बाँचेर लाचार,अस्वस्थ ,असहाय भई, अरूको अप्रिय भएर शोक ,भोक ,रोगका कष्टहरू भोगेर चिरञ्जीवि हुनु जीवनको सार्थकता हो, यो कुनै अनुभवीले नै भन्न सक्लान ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।