नेपाली थाङ्का चित्र

नेपाली कलाक्षेत्रको एक कुनो परम्परागत कला बनाउनमै व्यस्त छ । केही समयअधि दिवंगत हुनुभएका परम्परागत चित्रकलाका वरिष्ठ चित्रकार प्रेममान चित्रकारले चालेका डोबहरूमा त्यो कुनो सिर्जनशील भएर अघि बढिरहेको देखिन्छ भने अर्को कुनोमा दिवङ्गत भइसक्नु भएका अमूर्त कलाकार उत्तम नेपाली, लैंनसिंह वाङदेल, मनुजबाबु मिश्र जस्ता वरिष्ठ चित्रकारलाई पछ्याउँदै अघि बढिरहेका आधुनिक चित्रकारहरूको जमात पनि सिर्जनशील रहेको देखिन्छ । उता काठमाडौँ, ललितपुर र भक्तपुरका विविध स्थान र होटल रेष्टुरेण्टहरूमा उत्तर आधुनिक कलाका प्रतिष्थापन कला, ल्याण्ड आर्ट, परफरमेन्स आर्ट, भिडियो आर्ट, कार्टुन कला, फोटोग्राफी, शिल्पकला लगायतका कलाहरू प्रस्तुत गर्ने वा सर्वसाधारण जनमानसलाई देखाउने कलाकार जमात पनि निकै बढेको देखिन्छ भने मिथिला कलाका जीतबहादुर रायमाझी,राकेश दयाल जस्ता मिथिलाका अध्येता तथा कलाकारका अनुभव र प्रयोगमा सुगन्ध फैलाउने मिथिला कला सर्जक पनि निकै बढिरहेका देखिन्छन् ।

पिकासोको एक चित्र

यसरी माथि उल्लेखित परम्परागत, आधुनिक, उत्तरआधुनिक र क्षेत्रीय कला शैलीका धार र यसका गतिविधिले नेपालमा कलाकर्म गरिने वर्तमान अवस्थाको प्रतिनिधित्व गरिरहेको छ । यी कलाहरूमा प्रस्तुतिजन्य तरिका र कतिपय स्थिति फरक भएता पनि नेपालमा प्रतिनिधिमूलक रहेका यी कलाधार र कला हाँगाको मूल्य, मान्यता, समान हुन्छ । र, सबै समान हिसाबले उत्तिकै बहुमूल्य छन् । यद्यपि वर्तमान अवस्थामा नेपालमा आधुनिक र उत्तरआधुनिक कलाको बढी प्रयोग र प्रचार भइरहेको छ । किन होला ? यस्तो प्रश्नको जिज्ञासा जन्मिदा एकजना युवा कलाकार भन्छन् – ‘यी कला आजका कला हुन् । यिनको स्कोप विश्वभर छ, त्यसैले ।’

पश्चिमबाट उद्भव भएको आधुनिक कलाको प्रयोग र पूर्ण विकास फ्रान्सबाट अठारौंदेखि उन्नाईसौं शताब्दीको अन्तरालमा भएको हो । नेपालमा सन् १९३० पछिको काललाई यसको शुरुवात काल मानिन्छ । नेपालमा यो कलासँगै पछिल्लो समयमा पश्चिमबाटै विकास भएको उत्तर आधुनिक कलाको पनि दौड चलेको पाइन्छ । यी दुवै कलामा मनग्ये काम भैरहेको पाइए पनि यसअन्तर्गत बन्ने कलामा भने नेपालीपनको सुगन्ध पाउन सकिरहिएको छैन । अर्थात्, आयातित आधुनिक कलामा हामीले अझै हाम्रो मौलिकताको खोजी गर्ने सकेका छैनौँ । मात्र विदेशबाट ल्याइएका वादहरूमा नै हामी झन् झन् सीमित हुँदै जाँदैछौँ ।

नेपाली कला क्षेत्रमा पाश्चात्य कला र प्रविधिको सिको गर्ने शुरुवात ८० को दशकका भाजुमान काल र उनीभन्दा तीन दशक अघिका राजमानकालदेखि नै देखिँदै आएको हो । यसपछिको समयमा यो क्रम बढेर झन् अक्कासिएको पाइन्छ । नेपाली कलाकार विदेशमा अध्ययन (प्रायः भारतका कला विश्वविद्यालयबाट) गरी स्वदेश फर्कन थालेपछि विदेशी अनुशरणको क्रम चुलिँदै गएको हो । २०१८ सालमा लैनसिं वाङ्गदेलले पहिलो पल्ट फ्रान्सबाट अमूर्तकला नेपाल भित्र्याएका थिए । उनले शुरु समयदेखि यथार्थवादी चित्र बुझ्दै आएका नेपाली दर्शकको मानसपटलमा हेर्नै भेउ पाउन नसकिने यो कला एक्कासि पस्किदिएर सबैलाई उदेक पारिदिएका थिए । उनले विदेशमा क्रमबद्ध विकास भई आएको यो कलालाई क्रमबद्धै रुपबाट नेपालीपनमा नेपाली कला क्षेत्रमा भित्रयाउनु पर्थ्यो तर यसो नगरी हुबहु भित्र्याए । जुन कार्य ठिक थिएन । उनको यही कार्यले विदेशी अनुशरणको संस्कारलाई मजबुत बनायो । र, अनुशरणलाई बढावा दियो । जुन अधापि कायमै छ ।

त्यसो त कला वा कलावाद निश्चित देश, काल र जातिको घेराले बाँधेर बाँधिन्न । तर यसो भन्दैमा आयातित कला शैली र यसअन्तर्गत सृजना हुने गरेका कलामा स्वदेशीय नेपाली मौलिकताको गन्ध नपाइनु दुःखको कुरा पनि हो । टाढा नगई मात्र दक्षिण एशियाली मुलुकको आधुनिक कलाकर्मलाई दृष्टिगत गर्ने हो भने पनि युरोप र पश्चिममा विकास भएको वादहरूमा पनि कसरी स्वदेशीय मौलिकताको गन्ध छर्न सकिँदोरहेछ र छर्नु पर्दोरहेछ भन्ने ज्ञात हुनसक्छ । बंगलादेशको आधुनिक कलामा प्रयोग हुने रङ, रेखा, विषय, रचना आदिहरूमा बंगलादेशीय अनुभूति मिल्छ । भारत, पाकिस्तान, चीन लगायतका देशका आधुनिक कलामा पनि आ–आफ्नै कला स्वाभिमानहरू मुखरित भएका हुन्छन् ।

नेपाली कलाको खाँट्टी प्राकृत मौलिकता हाम्रो पारम्परिक कलाको लगभग ९०० वर्षको इतिहासमा स्थापित तथा धार्मिक भावना र मान्यताबाट प्रेरित पौवा, मण्डल, थाङ्का र तन्त्रमा आधारित जनक वंशसँग जोडिएको जातीय मन्त्र कला अर्थात्ः मिथिला कलामा पाइन्छ । जसलाई हामीले प्रचलित कलाको साँचोमा ढाल्दै नेपाली सुगन्धले लिप्नुपर्छ । अब आफ्नै माटो सुहाउँदो मौलिक आधुनिक कलाको मुना रोप्नेपट्टि सम्पूर्ण कला क्षेत्र, प्राज्ञिक क्षेत्र र विशेषतः युवा कलाकारको ध्यान जानुपर्छ । यसका निम्ति हाम्रो आफ्नै थाङ्का, पौवा वा मिथिला कलालाई प्रस्थान वा आधार मार्ग बनाउन सकिन्छ ।