विश्वपुसिद्ध अस्ट्रियाली मनोवैज्ञानिक सिग्मण्ड फ्रोइड अस्ट्रियन साम्राज्यको मोराभिया, फ्रेइबर्ग (हालको चेक गणराज्य) मा एउटा यहूदी परिवारमा ६ मे १८५६ का दिन जन्मेका थिए । चार वर्षका भएपछि उनलाई भियना लगियो । उनले त्यहीँ शिक्षा प्राप्त गरे । उनले भियना विश्वविद्यालयबाट एम.डी. (Doctor of Medicine) को उपाधि प्राप्त गरेका थिए । विद्यार्थी जीवनमा उनी डार्विन र गोएटका कृतिप्रति आकर्षित भए । उनी मनोविश्लेषक चिकित्सक हुन् । सन् १८८२ मा फ्रोइड भियना जनरल हस्पिटलमा काम गर्थे । सन् १८८६ मा हस्पिटलबाट राजीनामा दिई उनले भियनामा निजी क्लिनिक सञ्चालन गरी प्राक्टिस गर्न थाले । उनले स्नायु सम्बन्धी रोग (Nervous Disorders) मा विशेष अध्ययन (Specialization) गरेका थिए ।

मनोविश्लेषणको सामान्य परिचय (A General Introduction to Psycho Analysis) फ्रोइडको विश्वविख्यात कृति हो । उनले आफ्ना कृतिमा मानवीय मनस्थितिको रहस्योद्घाटन गरेका छन् । उनले विपरीत लिङ्गमा उत्पन्न हुने मानसिक विकृतिलाई ईडिपसेली विकृति (Oedipus Complex) भन्ने नाउँ दिए । बिसौँ शताब्दीको साहित्यलाई फ्रोइडको मनोवैज्ञानिक सिद्धान्तले अत्यन्त प्रभाव पारेको हँदा यहाँ उनको छोटो परिचय समावेश गर्नु आवश्यक ठानिएको हो । अङ्ग्रेजी साहित्यमा डी. एच. लरेन्स र समर्सेट मम्, इटालियन साहित्यमा अलबर्टो मोराभिया, रसियाली साहित्यमा दस्तोएभ्सकी र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला फ्रोइडबाट प्रभावित छन् ।

सन् १९३३ मा हिट्लरले जर्मनीमा फ्रोइडको मनोविश्लेषणको अध्ययन गर्न निषेध गरेपछि उनका कृतिमा आगो लगाइयो । फ्रोइडको जीवनकालदेखि अहिलेसम्म पनि उनको मनोवैज्ञानिक सिद्धान्तको तीव्र आलोचना भइरहेको छ । एकातिर उनको मनोविश्लेषणको सिद्धान्तको घोर विरोध भइरहेको छ भने अर्कातिर आधुनिक लेखक दिनहुँजसो यसका नौला प्रयोगहरू गरिरहेका छन् । वास्तवमा आज फ्रोइडवादको नाउँमा मनोविज्ञानको विकृत रूप प्रस्तुत गर्ने लेखकको संख्या पनि कम छैन ।

निम्नलिखित उनका अन्य महत्त्वपूर्ण कृति हुन्ः

१. सपनाको व्याख्या (The Intepretation of Dreams, 1900)

२. दैनिक जीवनको मानसिक विकृति (Psychopathology of Eveready Life, 1904)

भियनामा रहेको फ्रोइडको अपार्टमेन्ट र प्रकाशन गृहमाथि नाजी फौजले छापा मार्यो । त्यसपछि फ्रोइडको अपार्टमेन्ट र प्रकाशन गृहमाथि नाजी फौजको सम्भावित आक्रमणबाट बच्न उनी सन् १९३८ मा अष्ट्रयाबाट प्यारिस हुँदै लन्डन पलाएन भएका थिए । क्यान्सर पीडित फ्रोइड आफ्नो निर्वासित जीवन लन्डनमा बिताइरहेका बेला २३ सेप्टेम्बर १९३९ का दिन ८३ वर्षको उमेरमा लन्डनमा उनको देहान्त भयो ।