वि.सं २०१७ साउन २२ गते भुरुचोक, अन्नपूर्ण दिल्पा, भोजपुरमा जन्मेका जीवनाथ अधिकारी कवि हुन् । उनले ४ ओटा छन्द कविता सङ्ग्रह, एउटा इतिहाससँग सम्बन्धित र अरू थुप्रै किताबहरू लेखेका छन् । उनको त्यो मध्ये ‘अविदित यात्रा’ एक छन्द कवितासङ्ग्रह हो। यो कविता सङ्ग्रह अनुशीलन नेपालद्वारा वि. सं २०८०, पुसमा प्रकाशन गरिएको हो ।

‘अविदित यात्रा’ कवितासङ्ग्रहमा उनका ५० ओटा कविता समेटिएका छन् । सङ्ग्रहमा उनले विभिन्न छन्दहरूमा कविताहरू लेखेका छन् । अनुष्टुप, उपजाति, इन्दिरा, तोटक, पञ्चाचामर, मन्दाक्रन्ता, मालिनी, वंशस्थ, सग्ध्ररा, शार्दूलविक्रीडित, शिखरिणी, आदि छन्दमा कविताहरू रचना गरेका छन् । यो कवितासङ्ग्रह धेरै लामो र मोटो पनि छैन केवल ७४ पृष्ठ सङ्ख्यासम्म मात्र रहेको यो रोमान्चक कविताले भरिएको छ । यो कविता सङ्ग्रहमा लेखकले नेपालको वर्तमान राजनीति, सांस्कृतिक-सामाजिक र अरू अन्य कुराहरू समेटेका छन् । लेखकले यो कविता सङ्ग्रहमा आफू जन्मेको हुर्केको ठाउँ, प्रकृति, समाज, भौगोलिक अवस्था आदिको चित्रण, आफ्नो संस्कृति, रीतिरिवाज, चालचलन, रहनसहन लगायतका कुराहरूलाई कवितात्मक प्रस्तुति दिँदै ती विविध विषयप्रति आस्था जगाउनु, कवि अधिकारीले प्रस्तुत गरेको देशप्रेमको भावना हो ।

कवि जीवनाथ अधिकारीले प्रकृतिका माध्यमबाट प्रस्तुत गरेको देशको महिमागान, माटोप्रतिको अगाध प्रेम, खोलानाला, वनजङ्गल, हावापानी, गाउँमा किसानहरूले गरेको परिश्रम, त्यहाँबाट उब्जेको अमृतमय सम्पदा, आदिको सुन्दर अभिव्यक्ति देशप्रेमको नमुना हो । उनले आफूलाई एक देश प्रेमीको रूपमा देखाएर देशभक्ति सम्बन्धी कविता पनि यो सङ्ग्रहमा लेखेका छन् ।

स्वतन्त्र माटो मुटुको कहानी
यी स्वर्ण फल्ने हिमका बिहानी।
सदैव हाँस्तो छ खुला मुहार
विश्वास गाढा धनको जुहार।

यो श्लोक ‘मेरो देश’ नामक कविताबाट झिकिएको हो । यो कविता उपजाति छन्दमा लेखिएको छ। यो छन्द दुईओटा छन्द मिलेर बनेको हुन्छ : उपेन्द्रबज्रा र इन्द्रवज्रा। उपेन्द्रवज्राको गर्ण ” ज त ज गु. गु ” हो र इन्द्रवज्राको गर्ण “त त ज गु. गु ” हो । यो छन्दमा ११ ओटा अक्षर हुन्छ ।

नेपाली माथ अग्लो झलमल रविझैँ देशलाई म देखूँ
यौटा नौलो कथामा अविदित सुरिलो राष्ट्रगाथा म लेखूँ ।
फोऊँ बन्धन कसेको जनकजननीका कृष्णझैँ हेर्न पाउ ।
उद्वा राेएर माटो सुललित मनको आँसुमा दुख्छ घाउ ।

यो श्लोक ‘आँसुमा दुख्छ घाउ’ भन्ने कविताबाट लिइएकाे हो । यो कविता स्रग्धरा छन्दमा लेखिएको छ । यस छन्दमा एक पाउमा २१ अक्षर हुन्छन् भने ७ र १४ मा विश्राम लिइन्छ । यस छन्दको गण भने ‘म र भ न य य’ हो । यो कविता राष्ट्रप्रेमी र भक्ति भावना जागर गरेर लेखिएको एक रोमान्चक कविता हो । यस कवितामा हाम्रो पुर्खाले गरेको मेहेनत बारे चित्रण गरिएको छ र अहिले नेपालको वर्तमान समयको अवस्था देखाएर देशमा भइ रहेको ब्रस्टचारले गरेर हाम्रो लोक र इतिहास हराइ रहेको कुरा पनि कविले समावेश गरेका छन । जो मानिस आफ्नो देशलाई माया गर्छ र राम्रो होस् भन्ने चाहन्छ त्यो मान्छेले देशको बारे केही नकारात्मक सोच्दैनन् र सकारात्मक गर्न खोज्छन् त्यो मानिसहरूलाई झुटो आरोप लगाएर डाँडा कटाएको पनि लेखकले पुष्टी गरेका छन् । यही कुरालाई समावेश गरेर आँसुमा दुख्छ घाउ शीर्षक दिएर साहित्यिक भाषामा उल्लेख गरिएका छन् ।

विहानको घामबनि रमाउछु
मुहारको दिव्य छटा समाउछु।
म आज संसार यसै घुमी घुमी
बहन्छु सिङ्गै धरती चुमी चुमी।

यो श्लोक नदी कविताबाट साभार गरिएको हो । यो कविता वंशस्थ छन्दमा रचिएको र यसको गण ज त ज र हो । यस कविताले नदीको महत्त्व र यसको श्रोतबारे हामीलाई जानकारी दिन्छ । नदी भन्नाले हामी पानीको समूह वा मुहान भनेर बुज्ने र पानी भनि सकेपछि हामीलाई थाहा नै छ यो कति महत्वपूर्ण छ भनेर । हरेक प्राणीलाई पानीको आवश्यकता हुन्छ र पानीबिना बच्न सक्दैन । कविले यही नदीको महत्त्व र नदीलाई कृषिसँग पनि गासेर लेखेका छन् । हामीलाई कृषि गर्न होस् या घर नै बनाउन होस् हामीलाई पानीको आवश्यकता धेरै हुन्छ । हिमालको भेगबाट हिऊ पग्लेर पानीको रूप लिएर नदीको रूपमा बग्ने गर्दछ भनेर पनि भनेका छन्।

कुर्सी नै जिन्दगी हाम्रो कुर्सी तारणहार हो
कुर्सी छैन भने साँच्चै जिन्दगि यो असर भो।

कुर्सीमै जन्मियौँ हामी कुर्सीकै लागि मर्नु छ
कुर्सीमा नबसी हुन्छ ? बसेरै केहि गर्नु छ।

हे कुर्सी ! महिमा तेरो साँच्चै कत्ति अपार छ
जीवन सबको कुर्सी, नभए अन्धकार छ।

मरेका बिउँझी उठ्ने कुर्सीको नाम राम भो,
कुर्सीकै मोहले मान्छे, ‘राम’ बाट ‘हराम’ भो।

यो श्लोक कुर्सीमहिमा कविताबाट साभार गरिएको हो। यो कविता अनुष्टुप छन्दमा रचिएको छ र यसकाे निश्चित गण हुँदैन । यो कविताको एक पाऊमा १६ अक्षर हुन्छन् अनि आठौँ अक्षरमा विश्राम हुन्छ । यो छन्दको कवितामा एउटा अनुच्छेदमा दुईटा हरफ मात्र हुने गर्दछ । यो माथिको श्लोकले देशको राजनीति लगायत अरू ठाउँ जहाँ शक्तिका लागि मानिसहरू एक अर्काको खुट्टा तान्ने गर्दछन् । यो कवितामा कुर्सीलाई एउटा पद जहाँ पुगेपछि आफ्नो हातमा शक्ति आउने भनेर भनेका छन् । कविले यो कवितालाई नेपालको राजनीतिसँग लगेर जोडेका छन् । नेपालमा नेताहरू एक अर्काको खुट्टा तानेर थिचो र मिचो गरेर कसरी आफ्नो पद टिकाउने र भ्रष्टाचार गर्ने भनेरै लागेका छन् भनेर चित्रण गरिएको छ । यो माथिको अन्तिम हरफमा कसरी मानिसहरू शक्ति पाउनका लागि राम्राबाट नराम्रा भएका छन् र डाहा, ईर्ष्या,आदिले मानिसहरू अन्धो भएको कुरा कविले गरेका छन्।

मेरो भाका बलसहितले मेट्दियो आज कल्ले
मेरा आँखा कपट-छलले थुन्दियो आज कल्ले।
मेरा खुट्टा गमनपथामा रोक्दियो आज कल्ले
मेरा प्यारा किरण रविका छेक्दियो आज कल्ले।

यो माथिको श्लोक लोकको आत्मरक्षा भन्ने कविताबाट साभार गरिएको हो । यो कविता मदाक्रान्ता छन्दमा लिखित छ सको गण ‘म भ न त त गु. गु’ हो । यस छन्दको एक पाउमा १७ अक्षर हुन्छन । ४, १० अक्षरमा विश्राम लिइन्छ । यस कवितामा नेपालमा हुने भ्रष्टाचारहरू बारे कुरा गरिएको छ र कसरी यो भ्रष्टाचार गर्ने नेताहरूले हाम्रो देश बेचेर खाइसकेको भनेर भनेका छन् त्यसका साथै कसरी यही भ्रष्टाचारको कारणले हाम्रो ऐतिहासिक लोक बाजा लगायत हाम्रो विभिन्न संस्कृतिक पहिचानहरू मेटाएको छ भनेर पुष्टि गरेका छन् । लोक भन्नाले विभिन्न कुराको वर्णन हुन्छ त्यसमा पनि मुख्य लोक भन्नाले संसार भनेर बुझिन्छ र हाम्रो संसारलाई रक्षा गर्नुपर्छ भनेर भनेका छन् ।

यो कविता सङ्ग्रहमा लेखकले पूर्णरूपमा भन्नुपर्दा, देशप्रेमको भावना, वर्तमान समयमा भइरहेको कुप्रथा, आशावादी भावनालगायत शूक्तिमयता बारे छलफल गरेका छन् । यस सङ्ग्रहमा सूक्तिमयताका यस्ता धेरै उदाहरण पाइन्छन् । आकाशमा चरा उडेझैँ स्वच्छन्द भएर आएको भावनालाई शब्दरूपी फूलका थुँगाको मालाझैँ उनिएर अमृतरस निरन्तर झरिरहोस् भनेर कविले आफ्नो भावना व्यक्त गरेका छन् । यस सङ्ग्रहमा रहेका सबै कविता पद्य लयमा रचना गरिएको छ । यो कविता सङ्ग्रहले हामीलाई धेरै ज्ञानको कुराहरू सिकाउछ र सिक्ने मौका प्रदान गर्दछ । यो कवितामा लेखकले वर्तमान समयको कुराहरू समेटेका छन् जसका कारण अहिलेको बालबालिकाहरूले यो कविता सङ्ग्रह पढेमा वर्तमान समयमा भइरहेको कुरा बारे थाहा पाउन सहयोग गर्छ।

पुस्तक परिचय

विधाः कविता सङ्ग्रह

नामः अविदित यात्रा

लेखकः जीवनाथ अधिकारी

प्रकाशकः अनुशीलन नेपाल

कक्षा : ९ (सैपाल), डियरवाक सिफल स्कुल