जागेश्वर नेपाल

कर्णाली प्रदेश संयोजकः जागेश्वर नेपाल

मेरो दधिलेक (दैलेख)

बद्रीप्रसाद शर्मा लम्साल
छन्दः उपजाति

बद्रीप्रसाद शर्मा लम्साल

खेल्दो बयेली गिरि एक एक
छ स्वर्गझैँ बन्दछ देवलोक
भूस्वर्ग मेरो रमणीय धर्ती
यो देवबस्ती अनि जन्म धर्ती ।

चढ्दै उकाली सुरखेतबाट
लादे हुँदै सुन्दर सिद्धपाद
पुगिन्छ ढोकानिर रानिमत्ता
देखिन्छ दैलेख उदात्त सत्ता ।

सुनिन्न भेरी सरिता सुसाट
कर्णालीको रम्य बहावबाट ।
बेरेर त्यो पश्चिमको किनार
महानदी बग्दछ वारपार ।

दुल्लू हँुदै सुन्दर ब्याउलीमा
डुबुल्किँदै पाथरनाउलीमा
धुलाचुलीको रमणीय काख
फक्रन्छ शोभा अझ लाखलाख ।

श्रीविष्णुका सुन्दर पादुकामा
चढाइ पुष्पाञ्जलि कोटिलामा
हेर्दै शिरस्थान र नाभिथान
यो जन्म धर्ती रसिलो महान ।

महाबुका सुन्दर काँठबाट
खेल्दै सुसेली तल छामघाट
मिटाइ तृष्णा वनखेत फाँट
भिजाउँदैै झर्दछ लेकबाट ।

खोलो छ लोरे पर पूर्वतर्फ
कट्टी घुमी तीर्थ बनेर झर्छ ।
हाँस्दै छ त्यो तीनचुले हिमाल
चुली बिजारे चुलिँदै विशाल ।

ती भुर्तिका देवल पाँच टम्म
छ दुल्लूमा सुन्दर कीर्ति खम्ब
छ साथमा वर्तिर सातखम्ब
छटा अहो ! चित्र विचित्र रम्य ।

माथै पिपल्कोट धुरी सिमाना
डुल्दै किनारातिर लालिकाँडा ।
छ सात्तला मन्घर चित्तभित्र
ज्युलाहरू उर्बर छन् पवित्र ।।

बेसी डुलेका पशुजन्तु नाना
क्वैली चिभे ढुक्कुरका बथान ।
लालीगुराँसे वन भीरपाखा
आला नयाँ कोट र थान चाखा ।

मिली बसेका सब जातजाति
अनेकतामा लिइ एक भाँती
चढ्दै चुली लेक नदीकिनार
बाँचीरहेछन् युगदेखि पार ।
१०
बर्सेनि बोकीकन पुष्पन्वाँगी
पुजिन्छ द्यौता तल काल ठाँगी
नाना गुठी कोटहरू चहारी
यो देवभूमिकन शान्त पारी ।
११
द्यौसी र भैलो स्वर न्याउलीको
ड््यौडा र फड्को अझ मारुनीको
हुड्के दमाहा करनाल झ्याली
बजाउँदै मादल रम्छ पाली ।
१२
नाचेर झाम्रे धुनगीत गाई
पाखा–पखेराहरुमा रमाई
यी तीज त्युहार मनाइँ दामा
घन्किन्छ देवाञ्चल काइदामा ।
१३
यो द्रोणको पर्वत हो विशाल
यो देवको पुण्य थलो निहाल
दधीचिको रम्य तपस्थली हो
वा पौरखी लेक रह्यो दहीको ।
१४
म भावनाको दहमा चुहिन्छु
आनन्दको सागरमा म डुब्छु
झुकेर यो मस्तक पाउ माथि
नुहुन्छु दैलेख धरा नथाकी ।
१५
अठोट यौटै मुटुभित्र साँची
कोरेर बाटेर चिटिक्क पारी
धरा तिमीलाई सिँगार्न पाऊँ
जन्मान्त यो धन्य सधैँ बनाऊँ ।
१६

 

वसन्ताभास

वासुदेव पाण्डेय

छन्दः–मन्दाक्रान्ता

वासुदेव पाण्डेय

रङ्गीचङ्गी किशलय खुले बोट शाखाहरूमा
देखाएझैँ महसुस हुने जादु आँखाहरूमा
राखेजस्तै विपुल सुषमा रत्नमाला कलीमा
हे¥यो मानूँ वरपर बसी चैतले बार्दलीमा ।

हावापानी समय सबले थप्छ ऊर्जा उमङ्ग
बोक्छे मानूँ प्रकृतितनया माधुरी अङ्गअङ्ग
राखेजस्तै विविध गहना कन्दरामा कुनामा
धर्ती पोत्ने रङ विविधता निस्किएका मुनामा ।

कल्याणी छौ अविचल धरा अन्नपूर्णा पवित्र
हर्ताकर्ता अनि अनुभवी राख्न ऐश्वर्य भित्र
छाडेजस्तै रुन शिशु मिले स्पर्शमात्रै मुमाको
धर्तीमातासित निकटता औषधी वेदनाको ।

भोगी लामो कहर हिउँको भूमि मानूँ अशक्त
रित्ता लाग्ने सकल बिरुवा देखिए झैँ विरक्त
रोगी मानूँ वन शिशिरको मर्छ झैँ हुन्छ भान
गर्ने आई ठिक समयमा चैतले रक्त–दान ।

छानी छानी अविरल नयाँ सिर्जना गर्न दक्ष
आलोपालो अनुपम छटा राख्छ हामी समक्ष
सर्वज्ञाता गुण बहुमुखी चेतमा क्रान्त द्रष्टा
सर्वेसर्वा प्रकृतिसरि–को लोकमा छैन स्रष्टा ।

वीरेन्द्रनगर, सुर्खेत

वसन्तको आगमन

जागेश्वर नेपाल

छन्दः पञ्चचामर

जागेश्वर नेपाल

झुलुक्क झुल्किई निशा लिपेर चट्ट पार्दछे
वसन्त ढल्मलाउँदै पवित्र पाउ सार्दछे
अगाडि शुष्कता थियो वसन्तले सबै निल्यो
वसन्त नीलकण्ठको स्वभावमा गई मिल्यो ।

भिरेर जीर्ण वस्त्रमा शिशिर् बनेछ याचक
प्र्रबुद्ध ओजयुक्तझैँ बन्यो वसन्त वाचक
मुना नवीन रङ्गिई अनेक रङ्गमा मिले
सशक्त यौवना बनी दशै दिशाहरू खुले ।

बिलाउने हराउने पुनः प्रभाव छाउने
छ रीत सूक्ष्म सृष्टिको बिना दबाब आउने
कतै छ उच्चता भने कतै छ नीचता अनि
मिलाउने फटाउने हिसाब धीरता पनि ।

हवा सुगन्ध फैलियो दिगन्त स्वच्छ वागमा
फुले अनेक फूल ती तरङ्गिँदै तडागमा
वसन्त सन्त झैँ बनी चियाउँदै छ सुस्तरी
फुटेर पालुवा कतै पलाउँदै छ मञ्जरी ।

हराउँदै छ शुष्कता बढेर उष्णतातिर
सशक्त माधुरी छरी रमाउने उषातिर
लिई प्र्रदीप्त चाँदनी निशा मुसुक्क हाँस्तछिन्
चुमेर प्रेमले जगत्् प्रभा सगर्व नाच्दछिन् ।

विशाल भव्यता भरी विपन्नता हटे सरी
विदा लिँदै छ सिर्सिरे चिसो कुना पसे सरी
बिहानको र रातको दिवा तथा दिनान्तको
कतै न भेद देखिने छ शान्ति नै अनन्तको ।

हटेर व्र्रmूर राक्षसी अभाव शून्य रातमा
शशी बनिन् वधू सरी र भानु छन् प्रभातमा
अवर्णनीय छन् कला सुशोभिता मनोहरा
उमङ्ग छर्न प्रेमले तयार छन् ऋतम्भरा ।

जताततै छ बैँसको सुरम्य दिव्य चातुरी
धरा खुसी फुकाउँदै छ स्वर्गकी परी सरी
चकोर झैँ छ कोइली लुकेर दृश्य हेर्दछे
लजालु बेहुली बनी मुसुक्क हर्ष छर्दछे ।

न शीतको प्रभावमा निसास्सिने छ कारण
न घामको दबाबमा कतै छ कोपभाजन
प्रमत्त मत्त भृङ्ग छन्, चरा समस्त शान्तिमा
उदाउँदै छ जीवको सुखान्त स्वप्न वmान्तिमा ।

वसन्त बस्छ राजसी विराजमान ताजमा
महाचुनावमा लडी जिते सरी समाजमा
मिल्यो मनग्य माधुरी प्रफुल्ल छन् सबै जन
बढेर तुष्टता मिल्यो सुखी बने सबै मन ।
१०
सुर्खेत

 

द्रोण गिरि

पं. तिलक प्रसाद रिजाल

छन्दः शार्दुलविक्रीडित

पं. तिलक प्रसाद रिजाल

श्री द्रोणाचल देवलोक अथवा दुर्लङ्घ्य दुल्लूतिर
कर्णाली तट पूर्वतर्फ शिवको व्रmीडास्थली पर्दछ
प्यारो माइत पार्वती प्रकृतिको जन्मे बढेको घर
ज्वाला छन् जलमै जहाँ झलमली जाज्वल्य ती धप्धप ।

पैलो प्राकृत चेतना जगतमा यी व्यक्त गर्ने धरा
साक्षी वेद बताउँछन् वचनले जस्को जगज्जेष्ठता
बोल्ने वेद बतासका वचनले खोल्दै गुदी ज्ञानको
घोल्दै रम्य रहस्य जीवन तथा चैतन्यका शानको ।

के हो जीवन जीवको जगतको आधार के सुन्दर ?
के हो मार्ग सुमार्ग कुन् तरहले सम्पूर्णता मिल्दछ ?
के हो मानवता मनुष्य हुनुको के हुन्छ वैशिष्ट्यता
हामीबाट सिके सबै जगतमा त्यो सभ्यता–शिष्टता ।

साँच्चै जीवनका कला कुशलता सद्धर्मको कर्मको
सारा मानव जातिले जतनले जोबाट गर्थे सिको
यस्तो यो हिमवत् सु संस्कृति जहाँ स्वाभाविकी बन्दछ
हो द्रोणाचल यो शिवा र शिवको प्यारो उज्यालो घर ।

उब्ज्यो जीवन जीवको जब यहाँ हो पञ्चकोषी भयो
पायो पूर्ण हुने धरातल जहाँ त्यो पञ्चकोशी थियो
सामञ्जस्य जुट्यो शरीर–धरती आध्यात्मिकी भौतिकी
यौटै बीज छ जीवको–जगतको भन्दै छ सिद्धस्थली ।।

(प्रकाशोन्मुख ‘द्रोण’ महाकाव्यबाट उद्धृत)

 

छ शून्यता जताततै

समीक्षा नेपाल

छन्दः पञ्चचामर

समीक्षा नेपाल

म हेर्छु यत्रतत्रमा गुमेछ झैँ कुनै कुरा
हजार लाख वस्तु छन्् परन्तु छैन क्यै पुरा
छ शून्यता जताततै न फूलमा सुगन्ध छ
न हाँस्न सक्छु मस्तले खुसी मभित्र बन्द छ ।

बनेर फूल भृङ्गको सुवासमा रमाउने
स्वयं पराग भै उडूँ समस्त लोक छाउने
सयौँ थुँगा सजाउँदै बनून् स–मस्त सज्जन
हरा भरा धरा बनून्, रमून समस्त सज्जन ।

थिए अनेक कल्पना पुरा म गर्न खोज्दथेँ
भयो असह्य आज के म पूर्ण स्वप्न रोज्दथेँ
उडे हुरीसँगै सबै विलुप्त स्वप्न सिद्धिए
अनन्तको निहारिका पसेर शून्यमा गए ।

कहाँ थिएँ कहाँ पुगेँ थिएन चाहना कुनै
म स्वार्थबाट दूर भै परार्थमा भएँ दिने
अभावमै रुमल्लिएँ पुगेन भावना मिठो
मिलोस् पवित्र प्यारको सुधा सरी उही पिठो ।

मिलाप योग निम्तिमा सशक्त भै म उठ्दछुु
बनेर वृक्ष शैलको चिरा बनेर फुट्दछु
म शून्यता हटाउँछु सबै जना जुटाउँछु
बनेर कर्म पौरखी धरा स्वयं उठाउँछु ।

म दिव्य चेतना छरी निनाद झर्झराउँछु
ध्वजा उँचो हिमालमा लिएर फर्फराउँछु ।
म एक भै अनेकमा अपार प्यार भर्दछु
म प्र्रेमधार वेगमा हिमालबाट झर्दछु ।

(समीक्षा नेपाल सुर्खेतकी उदीयमान प्रतिभा हुन् । उनी द पोएट आइडलको सिजन–२ मा पहिलो चरणमा छानिएकी छन् ।)

राष्ट्रिय गौरव

जीवराज पाण्डेय

छन्दः मन्दाक्रान्ता

जीवराज पाण्डेय

हाम्रो धर्ती हरित वनले शोभियो शोभियो रे
बाक्लो छाया रजत गिरिको सिन्धुमा चोपियो रे
अग्ला अग्ला हिमगिरि महाँ सूर्य बस्छन् सुनौला
आओ साथी अभय मनले टाकुरामा चढौँला ।

खोला नाला दिनदिन यहाँ गीत गाएर झर्छन्
भाका छोपी मधुर सुरको बाँसुरीमा त भर्छन्
डाँडा पाखा ढकमक फुली ढाक्न थाल्यो गुराँस
यै हो क्यारे पथिक जनको बास बस्ने निवास ।

फल्छन् बाली कृषक जनका काँध ती पाखुरीमा
हाम्रो आफ्नो विजय कविता लेखियो टाकुरीमा
मीठो भाका भजन रसमा खैँजडी ताल दिन्छ
घन्क्यो रोधी घुगल सुरको राग नौलो सुनिन्छ ।

पण्डित् बाजे नवरस कथा वाच्न थाले पुराण
हाम्रो सामाजिक मिलन हो वेद होस् वा कुरान
यौटा नौलो किरण बटुली रोप्नमा व्यस्त हुन्छौँ
कामी सार्की दलित नगनी प्रातमा चन्द्र छुन्छौँ ।

बल्छन् हाम्रा उपवन महाँ बुद्धका शान्तिदीप
हाम्रा आफ्नै अनुज सब हुन् दूर हुन् वा नजीक
ढुङ्गा जस्तो जड मन हुने पीरती लाउँदैन
भाका खस्रो किन किन यहाँ कोइली गाउँदैन ।

दैलेख, हाल बर्दिया ।

 

सहिद

गिरीप्रसाद बुढा

छन्दः मन्दाक्रान्ता

गिरीप्रसाद बुढा

जागौँ भन्दै मधुर धुनमा क्रान्ति बोकेर आयो
रातो झण्डा सहित उभिँदा हात राम्रो सुहायो
बोकी राँको बिच सडकमा ज्योति छर्दै उदायो
यस्तै यस्तै सुखद सपना ब्युँझदा बाँड्न आयो ।

आजै सारा उठ उठ भनी गीत लेखेर गायो
भोकै नाङ्गै अविरल यहाँ क्रान्ति पाङ्ग्रा गुडायो
देख्यो नौलो जनसमरमा क्रान्ति आगो पिएर
यस्तै यस्तै मधुर सपना हिँड्न थाल्यो लिएर

राँको बाल्दै शहर अनि त्यो गाउँ रातो बनायो
आगो सेक्दै गरिब जनको वक्ष तातो वनायो
तारा जस्तै झलमल यहाँ तेज पाथ्र्याे दियो ऊ
यस्तै यस्तै हरसमयको दीप ज्वाला थियो ऊ ।

हाँसौँ भन्दै हिम शिखरको पूर्ण हाँसो उ हाँस्यो
गासौँ भन्दै दुखित जनको फूलमाला उ गाँस्यो
गाँस्दा गाँस्दै लहर जनको बीचवाटै हरायो
ठूलो योद्धा सहिद जिउँदो दीर्घजीवी धराको ।

बन्थ्यो बेग्लै असल नमुना दीपजस्तै बलेर
बन्थ्यो प्यारो सपुत जनको मित्र आफै जलेर
भोका नाङ्गा जनजगतको पूज्य आस्था थियो ऊ
दानी त्यागी असल मनको वीर योद्धा थियो ऊ ।

यो धर्तीमा जगत जननी जाग भन्दै जगायो
आफ्नै ठानी तनमन दियो प्रीति पोख्यो बगायो
बोकी राँको घर सहरमा चेतना भै उदायो
हाँसी हाँसी तन मन दिई दीर्घतामा निदायो ।

विडम्बना

उदयराम शर्मा

उदयराम शर्मा

छन्दः अनुष्टुप
धर्म संस्कृति छन् भाषा भेषमा नै अनेकता
परधर्म समावेशी गर्दैछौँ किन सर्वदा
भाइबन्धुहरू हाम्र्रा पैसाकै होडमा चले
माया प्रेम र भ्रातृत्व शानकै आडमा गले ।

भ्रम जालहरू फिँज्दै नेतृत्व सुरु गर्दछौँ
व्यक्तिकै स्वार्थले गर्दा अवसान हुन पुग्दछौँ
म ठूलो हुँ भनी बक्दै दोष आफ्ना लुकाउँछौँ
अर्काकै दोषको थुप्र्रो सर्वथामा पुगाउँछौँ ।

म नेता हुँ सबै मान भनेर जोड गर्दछौँ
व्रmोधले अग्निको ज्वाला छोडेर आफू मर्दछौँ
प्र्रपञ्च रच्दछौँ हामी आ–आफ्ना स्वार्थ खातिर
रनभुल्ल गरी जीवन जिउनु रैछ आखिर ।

अपशब्दहरु बोल्छौँ नव निर्वाचितै बनी
नैतिकता हराएछ भन्दैेछन् जनता पनि
चुनावै हो सबै थोक भन्दै अन्याय गर्दछौँ
विजयी सब ती नेता शानले जल्छ मर्दछौँ ।

अनुशासन मारेर शासनका आडमा बसी
निरीह जनता काम गर्दैछन् पटुका कसी
बित्दैछन् जिन्दगी हाम्रा पसिनाकै झरी बनी
तिरेका करले हाम्रा नेताजी छन् सधै धनी ।

सिंहको दरबार त्यो गाउँ टोल पहाडमा
हराए सक्कली राजा नयाँ छन् सुखी मोजमा ।
केही हुन्छ भनी हामी आशाका शब्द छोड्दछौँ
खरानी लाउने नौला जोगी झैँ मन मोड्दछौँ ।
दैलेख

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू

१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः

chhandamalasahityapost@gmail.com