बुढाका आँखाका गेडी झन्डै टाउकोबाट फुस्केर बाहिर निस्केका । तर, त्यसले अब गर्न सक्ने केही थिएन । ती साँप्लालाई मुसार्दा त्यसका आँखाबाट आँसुका ठुलाठुला थोपा झरेर गालामा बग्न लागे ।
त्यसले भन्यो, “भाग्य जरुरै मेरा विरुद्ध हुन गयो होला र पो यी मेरा हातबाट गुमे ।”
वाङले नोकरहरूलाई त्यो चाँदी लैजाने आज्ञा दियो । तैपनि बुढाप्रति त्यसका मनमा दुःखै लागेको थियो । त्यस कारण तीन टेल फुटकर चाँदी झिकेर पुरिया पारी त्यसले बिदाइको उपहारको रूपमा चिनलाई दिन खोज्यो । तर, चिनले त्यो लिने इच्छा गरेन ।
त्यसले भन्यो, “साह्रै अभागी भएको हुनाले नै मैले आफ्नै त राख्न पाइन भने तपाईको कसरी लिऊँ ?”
त्यसले नाइँ नाइँ गर्दा गर्दै पनि वाङले त्यो चाँदी त्यसका खोकिलामा घुसारिदियो । चिनले त्यो पुरिया फर्काइदिन खोकिलामा छाम्यो, तर भेट्टाउन सकेन । अलमल्ल परेको हुनाले त्यसलाई लाज पनि लाग्यो । तर, वाङले लिनैपर्छ भनी ढिपी गरेको हुनाले अन्त्यमा त्यसले मन्जुर गरेर नमस्कार गरी बिदा लियो ।
घर पुगेर त्यसले सारा कुरा आफ्ना छोराहरूलाई भन्यो । तिनीहरूले पनि लामो सास फेरे । वाङले जिद्दी नै गरेर बिदाइको उपहार भनी तीन टेल चाँदी दिएको कुरासमेत भनेर चिनले त्यो पुरिया नभेटिएको हुनाले त्यसले बाटोमा कतै खस्यो होला भन्ठानेर चुप लाग्नुपर्यो ।
चिनले नम्रतापूर्वक नाइँ नाइँ गरिरहेका बेला वाङले त्यसका लुगाका सेप्टीमा पारेका कुनेत्रामा पो त्यो पुरिया हुलिदिन पुगेको रहेछ । फर्काउन भनी बुढोले छामछुम गर्दा त्यो त्यताबाट झरेर गुड्दै ढोकाका सँघारमुन्तिर घुस्रिन पुगेछ । पछि कुचो लाउँदा भेटिएको हुनाले त्यो फेरि वाङकै हातमा पुग्न गयो । यसबाट जुन गाँस हामी टिप्छौँ अथवा जुन घुट्की हामी निल्छौँ त्यो समेत भाग्यमा पहिल्यैदेखि लेखिएको हुन्छ भन्ने बुझिन्छ । चिनका भाग्यैमा पैसा होस् भन्ने नभएको हुनाले आठ सय टेल त परै रहुन्, त्यसका हातमा तीन टेलसम्म पनि अडेन । त्यो पनि वाङकै होस् भन्ने लेखिएको हुनाले त्यसले त्यस तीन टेलबाट समेत फुर्सत पाउन सकेन । यस प्रकार इच्छा होस् वा नहोस् हुनेले नहुने हुन पाएन, र नहुनेले हुने पनि हुन पाएन ।
अब म एउटा अर्को मानिसको कथा भन्दछु । त्यो मानिस जमिनमा छँदा जहिलेसुकै पनि दुःखी नै रह्यो, हातमुख जोर्न पनि त्यसलाई धौ धौ नै परिरह्यो । तर, जुन ठाउँमा पुग्ने तपाईं सपनामा समेत चिताउन नसक्नुहोला, त्यस्ता असाध्य टाढा ठाउँमा एउटा अनौठै किसिमको सम्पत्ति भेट्टाएर असाध्यै धनी हुन गयो । त्यस्तो अद्भुत कुरो हा-हो त्यसअघि भएकै नहोला । यस कवितामा पनि त भनिएकै छ-
भाग्यैमा लेखिएको धन अरू गरिमा पाउने छौ अवश्यै
विद्वान् होऊ, नहोऊ – मतलब त्यसको छैन केही परेको ।
औला- दौला अवश्यै हुनु यदि छ भने कर्ममा लेखिएको
भेटौँला दूर साह्रै जलनिधिबिचमा एक ठुलो खजाना ।।
वर्तमान राजवंशका चेङ हुआ काल (१४६५-८७ इ.) मा सुचाउको ‘पश्चिमी फाटक’ भन्ने टोलमा वेन शिः नाम गरेको एउटा मानिस थियो । साह्रै सिपालु भएको हुनाले त्यो जुन काम पनि गर्न सक्तथ्यो । त्यसले बुद्धिचाल खेल्न सिक्यो, सुन्दर अक्षर लेख्ने र चित्रकारी गर्ने कला सिक्यो, नाचगानको एउटा पद्धति पनि सिक्यो र अनेक किसिमका बाजा बजाउन पनि बेसै सिक्यो । सानो बच्चै छँदा एउटा ज्योतिषीले यो असाध्यै धनी हुन्छ भनेको थियो । भाग्यैमा लेखिएको रहेछ भन्ने भरोसा भएको हुनाले कुनै उद्योगमा लाग्नुको सट्टा त्यसले सुस्तीसाथ समय खेर फाल्न लाग्यो । हुँदा हुँदै त्यसले आफ्नो जो भएको पुर्ख्यौली सम्पत्ति पनि सबै स्वाहा पार्यो । आफ्नो त सर्वस्वै उडेर सिद्धिन लागेको, र अरूहरूले भने व्यापारमा पैसा लगाएर पुँजी प्रायशः दोब्बर तेब्बर पार्दै लगेको देख्ता त्यसले पनि कुनै व्यापारमा लाग्ने विचार गर्यो । तर, त्यसले जुन काममा हात हाल्यो त्यसमा नोक्सानबाहेक फाइदा हुँदै भएन ।
पेकिङमा पङ्खाको खुबै बिक्री ह्रन्छ भन्ने सुनेर वेनले एक दिन एउटा सझियार खोजी पङ्खा जम्मा पार्न थाल्यो । खुब कालिगडीसाथ बनाइएका र सुनौला कागज छापिएका केही सबभन्दा असल खालका पङ्खा पनि किनेर त्यसले तिनलाई उपहारसाथ नामी विद्वान्हरूकहाँ तीमाथि केही कविता लेखिदिने वा चित्र बनाइदिने अनुरोध गरी पठायो । त्यस्ता पङ्खा चाँदीका एक एक टेलका दरले बिक्ने थिए । त्यसभन्दा केही मामुली खालका पङ्खामा त्यसले नामी विद्वान्का कृतिका नक्कल सार्यो । नजान्ने मानिस धोकामा त्यस्ता पङ्खा असलीकै मौल तिरी किन्दथे । त्यस्ता नक्कली माल वेन आफैँ तयार पार्न सक्तथ्यो । त्यसले सादा कागजका सबभन्दा कम्ती मोल पर्ने पङ्खा किन्यो । तिनमा कुनै लेख वा चित्र थिएनन् । त्यस्ता पङ्खा साह्रै कम मोलका थिए । वेनले तिनलाई पनि दोब्बर मोलमा बेच्ने आँट गरेको थियो । त्यसपछि असल साइत हेराई ऊ सबै पङ्खा एउटा बाकसमा भरेर पेकिङतिर हिँड्यो ।
त्यस वर्ष पेकिङमा गर्मीयाममै दिनहुँजस्तै पानी पर्ला भन्ने कल्पना कसरी गर्न सकिन्थ्यो ? शीतलै भएको हुनाले पङ्खाको बिक्री ज्यादै पछि मात्र सुरु भयो, र लगत्तै शरद्को प्रारम्भ पनि भइहाल्यो । आकाश उघ्रे तापनि खोकिलामा घ्रसार्न वा हातमा त्यसै हल्लाएर हिँड्न केही गुन्डाहरूले सुचाउका पङ्खा खोजे । तिनीहरूलाई पङ्खा किन्न आएको देखेर वेनले बाकस खोल्दा त्यसका मुखबाट एक्कासि दुःख र भयको चीत्कार निस्कियो । कारण, पेकिङमा गर्मीयाममै ढुसी पर्दछ । त्यस वर्ष वायुमा पानीको अंश असाधारण रूपले बढी भएकोले पङ्खाको मसी र सरेस पग्लेर बेसरी टाँसिन गएको थियो । वेनले बलैसाथ खोल्न खोज्दा कागज ध्यार्रै च्यातियो । चित्र वा लेखोटवाला दामी पङ्खाचाहिँ सबै बरबादै भए, सेता कागजका सस्ता चाहिँ मात्र नबिग्री जस्ताको तस्तै रहन गए । तर, तिनको मोलै पो कति हुन्थ्यो । बरु टुट्टै सहेर पनि तिनलाई बेची घर फर्कने बाटोखर्चसम्म उठाउन खोज्दाखोज्दै त्यसको जम्मै पुँजी नै सकियो ।
वेनका अरू उद्योग पनि त्यसै गरी विफल हुँदै गए । त्यसले आफ्नो पुँजीको मात्र नोक्सान गर्दैनथ्यो, व्यापारमा सहायता गर्ने आफ्ना साथीलाई पनि धेरैजसो बरबादै पारिदिन्थ्यो । तरर्थ, साथीहरूले त्यसको नामै ‘अभागी वेन’ राखिदिएका थिए । केही वर्षभित्रै वेनका सारा जग्गा जमिन पनि हिँडे । त्यसले बिहेसम्म गर्न पाएको थिएन । कहिलेकाहीँ नक्कल सार्ने र चानचुने रचना गर्ने आदि काम गरेरै त्यसले बडा दुःखसाथ जिन्दगी काटिरहेको थियो । तर, नाना किसिमका ठट्यौली र आहानहरू सुनाएर अर्काको मनोरञ्जन गर्न सक्ने चल्तापुर्जा मानिस भएको हुनाले त्यो सबैको मन प्रसन्न पारिराख्न सक्तथ्यो । त्यो नभई भोजभतेरै फिका पर्न जान्थे । त्यस कारण सम्पत्ति जोर्न नसके तापनि त्यसले कुनै बखत भोकै बस्नु भने परेन ।
अघि रबाफसाथै बसेको हुनाले अर्काको घाँडो भई बस्नेहरूका चालामाला मन पराउन्नथ्यो । चित्त दुख्ने केही साथीले घरगुरु बन्नका लागि त्यसको सिफारिस पनि गरिदिएका थिए । तर इज्जतदार परिवारले त्यसलाई टपरटुय्यै भन्ठाने । यस प्रकार, त्यसले कसैको चित्त बुझाउन सकेन – धनीमानी र गलगन्ड लागी हिँड्ने – सबै त्यसको दुर्भाग्यको खिसी नै गर्दथे ।
लौ, यो कुरा अब यत्तिकैमा छोडौँ ।
एक दिन वेनले अघिका चाङ, ली, चाओ, चिएन आदि चालिसभन्दा बढी छिमेकका व्यापारीहरू व्यापार गर्न जहाजमा समुद्रपारिका देशतिर जाने भएका छन् भन्ने खबर पायो ।
त्यसले विचार गर्यो, “मैले यहाँ कुनै जरै हाल्न सकेको छैन, पेट पाल्ने कुनै बाटो पनि छैन । बरू ती व्यापारीहरूका साथ गएर देश देशावरका रमिता हेर्न पाए जुनी त्यसै बित्यो भन्ठान्नुपर्ने थिएन । तिनले मलाई लैजान नामन्जुरै त गरेनन् । घरमै बसी चामल र दाउराको चिन्ता गरिरहनुका सट्टा बरु मोजसित घुमफिर गर्नु नै बढिया हो ।”
त्यो यस्तै कुरा मनमा खोलाइरहेको थियो, त्यत्तिकैमा समुद्रपारका व्यापारमा पोख्त भइसकेको व्यापारी चाङ चेङ-युन टुप्लुक्क त्यहीँ आइपुग्यो । दुष्प्राप्य रत्नहरूको बेस पारखी, उदार मन भएको र कर्महाराहरूको मद्दत गर्न सदा तत्पर भएको हुनाले साथीहरू त्यसलाई ‘चतुर चाङ’ भन्ने गर्दथे । वेनले त्यस व्यापारीसित आफ्ना मनका कुरा गर्यो ।
चाङले भन्यो, “यसभन्दा बेस केही हुनै सक्तैन । यस्ता यात्रामा हामीलाई पायशः साह्रै पट्टाई लागेर आउने गर्दछ । साथमा तिमीजस्तो एक जना ठट्यौली मानिस भइदिए दिन रमाइलैसँग काटिनेछ । मेरा साथीहरू पनि तिमीलाई साथमा लैजान खुसी नै हुनेछन् । तर, हामीहरू सबै केही न केही माल लिएर जान लागेका छौ, तिमीसित भने केही छैन । खाली हात यात्रामा जानु अफसोसकै कुरा हुनेछ । बिक्रीका लागि केहि मालताल किनेर लैजान पुग्ने केही पैसा तिम्रा लागि उठाउन सकिन्छ कि ? – विचार गर्नुपर्यो ।”
वेनले भन्यो, “तपाईंको ठुलो मेहरवानी हो । तर, तपाईंजतिकै उदार अरू को होला र ?”
चाङ ‘विचार गरिहेरूँ’ भनेर बिदा भयो ।
त्यत्तिकैमा एउटा दृष्टिबिहीन ज्योतिषी घन्ट बजाउँदै त्यसै बाटोबाट जाँदै रहेछ । खल्तीमा छाम्दा एउटा पैसो भेट्टाएको हुनाले वेनले त्यस ज्योतिषीलाई रोकेर प्रश्न सोध्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

