उमङ्गको बाफिलो ऊर्जा लिएर

पृथ्वीमा ओर्लिएको

एउटा प्रिय बिहानी-

हरेक साँझ उत्सव मनाएर बिदा हुन्छ ।

भोलिको सुनौलो

आशा देखाएर छुटेका

मधुर प्रकाशहरू- धुमिल छाया लिएर

एकाएक आफ्नै वासस्थान

फर्किन्छन् ।

म सम्झन्छु – आमा साँझ बत्ती बाल्न तयार हुँदा बाको पाञ्चजन्य सङ्ख ध्वनिले आँगन गुञ्जिएको ।

अहिले पनि त्यतिकै प्रिय छ साँझ प्रेमिल भेटको पर्खाइमा ।

यस्तै यस्तै सङ्गत छ –

जन्मिएदेखि अहिलेसम्मको साँझ-

त्यसैले होला नामप्रति आकर्षित भएकी

थियो ‘साँझको सङ्गत’सँग ।

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक मेला २०२३ मा साथीहरूले किन्नुभएको देखेर कस्तो रहेछ आफू पनि पढौँ न त भन्दै लिएर आएकी थिएँ कवि प्रकाश रम्घालीको नवीनतम कविता कृति ‘साँझको सङ्गत’। पढ्दा पढ्दै कति पटक पढेँ  पढेँ । जति पटक पढ्दा पनि नयाँ नै महसुस भइरह्यो ।

पढिसकेको कविता भन्ने कहिल्यै महसुस भएन । विम्बको प्रवाहमा झरनाको मिठो धुन झङ्कृत हुने यी कविताहरू एकपछि अर्को उस्तै सशक्त रहेका छन् । कतै त कमजोरी होला भन्ने लागेको थियो, पछिल्लो पटक पढ्दा पनि सकिन कुनै दाग देखाउन । प्रिय बहिनी अनिता कोइरालाले भनेको सम्झिएँ, “राम्रो कुरा मात्र खोजिरह्यो भने राम्रै मात्र भेटिने रहेछ दिदी । कविता लेख्ने कविको आफ्नै शैली हुन्छ त्यसमा हामीले के खोट लगाउनु र ?”

सोचेँ भाव पक्ष यति सशक्त छ । कमजोरीको कुनै दसी छोडिएको छैन ।

अब संरचना पक्षलाई हेर्ने हो भने आकर्षक ढङ्गमा सजिएको सानो किताब गोजीमा राखेर हिँड्न पनि सकिने, छोटा कविता पढ्दा विल्कुलै पट्यार नलाग्ने अत्यन्त शक्तिशाली /बलशाली कविताहरू छन् ।

त्यसपछि भनिरहेँ मनमनै, “यो कविता कृति मात्र हैन रहेछ, यो त कविताहरूको पनि कविता पो रहेछ – फूल झैँ कोमल, हिउँ झैँ शीतल ।”

भावनाका मनोरम दृश्यहरूले सजिएको एउटा सुन्दर कविता कृति हो ‘साँझको सङ्गत’ । जति पढ्यो उति पढौँ लाग्ने यी कविताहरू फारु गर्दै खाइरहेको मिठो गुँदपाक जस्ता छन् ।

लाग्छ कतै पुग्नलाई उक्लिरहेको देउराली हरेक सासमा कविता पोखिरहेको छ ।

हतार नगरी हिँडिरहेको कुनै गोरेटो लक्ष्यको खोजी गर्दै आनन्ददायी सवारमा छ ।

आकाशमा टुक्रिएर उडिरहने बादलहरू गाँसिएर फूलका थुङ्गा बनिरहेका छन् ।

समुद्र भेट्न बगिरहेको नदी शान्त भएर गति लिइरहेको छ । पर क्षितिजमा कतै वरपिपलको चौतारीमा एक सन्त तपस्या गरिरहेको छ कविताको ।

या कुनै सुन्दर मनले मन्दिरअघि आराधना गरिरहेको छ एकाग्र चित्तमा । यस्तै लाग्छन् कविताका हरफहरू । लाग्छ यो सङ्ग्रह धेरै लामो मेहनत र तपस्याको फल हो ।

“बुट बजार्दै कविता सोचे, बुट बजार्दै कविता लेखे, अहिले उनीसँग बुट छैनन् तर कवितामा तिनका पदचाप अझै स्पष्ट सुनिन्छ ।” (श्यामल – साँझको सङ्गत भूमिका खण्ड)

‘साँझको सङ्गत’ कविता सङ्ग्रहमा जम्मा ४४ वटा कविता सङ्गृहीत छन् । यस सङ्ग्रहमा कविता हिँडेको बाटो भनेर कविलाई कवि बनाउने पृष्ठभूमि बारे उल्लेख छ । यसमा प्रकाशित कविताहरू निकै सरल छन् । सहजै बुझ्न सकिने सलल बगेका छन् ।

सङ्ग्रहमा रहेका कविताहरू बर्दीको मान्छेदेखि नयाँ पृथ्वी/ नयाँ आकाशसम्म शृङ्खलाबद्ध लेखिए जस्ता देखिन्छन् । यद्यपि शृङ्खलाबद्ध भने छैनन् । प्राय कवितामा लेखकले खेलेको सैनिकको भूमिका पनि आएको छ भने कतिपय कविता प्रेमिल लाग्छन् । पारिवारिक प्रेम, सद्भाव र प्रणय प्रेम जस्ता सन्दर्भलाई पनि कविताले सान्दर्भित गरेको छ । कवि आफैँसँग वरिपरि कविता छरिएका छन् र तिनैलाई मिहिन रूपले टिपिरहे जस्तो लाग्छ कविता पढ्दा ।

बर्दीको मान्छेदेखि नयाँ पृथ्वी/ नयाँ आकाशसम्म सबै कविता उत्तिकै सशक्त भए पनि सबै कवितालाई उल्लेख गर्न न सम्भव छ न त सार्थक नै । सबैले पढेर आआफैँले बुझ्नुको मजा नै अलग ।

कविताका केही अंशहरू-

मोर्चाबाट

कहिल्यै रङ् नखुइलिने 

सिउँदोमा इन्द्रेणी राखेर

निस्किएको थिएँ म –

तिम्रो सजल आँखाको मूलढोकाबाट ।

….

फेरि कुन गोलीले छुट्याउने हो हाम्रो साथ ?

कुन धरापमा परेर गुम्ने हुन् तिमीले चुम्ने अङ्गहरू ?

र कति भत्कन हुन् नबन्दै मिठा मिठा सपनीहरू ?

अहिले मसँग आखिरी प्रहर छ तिम्रो सम्झनाको ।

सबै कविता पढिरहँदा यस्तो लाग्छ म कवितालाई दृश्यमा हेरिरहेकी छु । “मोर्चाबाट” कविता पढिरहँदा पनि त्यस्तो भयो ।

एउटा सिपाहीले आफ्नो कर्म क्षेत्रका लागि नाघेको प्रेमको मूलढोका अनि एम्बुसमा ओछ्याएका चुनौतीपूर्ण जीवन, बाध्यताका गोलीहरू, रहरका कलात्मक सपनाहरू छोडेर हिँडेको जिम्मेदारीको मार्ग यी सबै एक एक आँखामा दृश्य भएर बिलाए ।

रेटिदेऊ न गाइनेदाइ सारङ्गी रेटिदेऊ

देउरालीमा बसेर तिमीले 

रेटिदिएनौ भने सारङ्गी जस्तो देश

कराउँदैनन् गुराँसको हाँगामा बसेर कोइली चरीहरू

जिन्दगीको पुरानै लयमा फर्किने छैनन् मानिस

र अग्लो डाँडालाई सिरानी बनाएर सुतिदिने छ अल्छी घाम।

 …

रेटिदेऊ न गाइनेदाइ, सारङ्गी रेटिदेऊ…।

बढो मार्मिक ढङ्गले गाइने दाइको सारङ्गी विम्बको रूपमा प्रयोग भएको छ । यसमा देशप्रति चिन्ता र समग्र मानव समुदायकै  लागि गाइएको गीत जस्तो कविता प्रस्तुत गरिएको छ ।

जिन्दगी

धेरै दिनपछि-

धोएर सुकाएको थिएँ- आफूलाई।

साँझ उठाउन बिर्सेछु

रातको हुरीले उडाएर सडकमा पुर्याएछ
 शीतले भिजेको, मानिसहरूले कुल्चिएको

यस्तो मैलो जिन्दगी फेरि धोएर 

सुकाउने जाँगर छैन मसँग । 

अहिलेको मानिसको जीवनप्रतिको वितृष्णा र निष्क्रियता अनि जीवनको धमिलोपन कविको सुन्दर शिल्पले सजिएको छ ।

वाह ! जीवनको यथार्थ परिस्थिति सुन्दर ढङ्गले बिम्बित भएको छ।

सजिलो छु

मलाई भत्काऊ

म तिमीबाटै भत्कन चाहन्छु ।

पहिले –

ममाथिको विश्वास भत्काऊ

पोखरीको पानी झैँ स्थिर हृदयलाई भत्काऊ

सिङ्गो ब्रह्माण्ड थामिरहेका खुट्टाहरू भत्काऊ

क्रमशः भत्काउँदै भत्काउँदै लग मलाई।

कति सजिलो कथानक ! कविको सरलताको परिचयसँगै गहिरो चिन्तन पनि स्पष्ट देखिएको छ । सरल र सहजताको उदाहरणीय लेखन शैली आएको छ कवितामा ।

जिन्दगीको साँघुरो टेबलबाट

धेरै टाढा नपुग्दै

कुनै तिखो चीजमा ठोक्किएर फुटपाथे बेलुन झैँ

जिन्दगी छ यतिखेर- एक्लै कमजोर !

…।

कविता भावहरूका पुष्पगुच्छा हुन् । हरेक पुष्पमा शब्दले पत्र पत्र बनाएका हुन्छन् । पढ्दा लाग्छ प्रेमका पत्र हुन् ती । तर कविको चिन्तनलाई नियालेर हेर्दा लाग्छ संसारलाई भोगिरहेको हरेक मानवका समस्याका पत्रहरू हुन् यी कविता ।

तिमी भएर

हरेक बिहानीमा  

आफैँ भएर उठिरहेको छु ।

अब मलाई तिमी भएर उठ्न मन छ ।

केही पाइला तिमी नै भएर हिँड्न मन छ ।

जति बुझ्यो झन् गाह्रो । पढ्दै जान्छु कविताले कहाँ छुँदैन र ? पङ्क्ति पङ्क्ति मानव जीवनका परिचित भाषा जस्तो लाग्छ ।

झरी

झरी थामिएपछि

छाता भेटिनु

वा प्रेम सकिएपछि

प्रेमिका भेटिनु

सायद उस्तै हुँदो हो धेरैका लागि ।

‍‍…

तर मेरा लागि- 

झरीमा एक्लै रुझ्नु जतिको असीम आनन्द 

त्यो लामो प्रतीक्षापछि मिलन पनि होइन

त्यो लामो यात्रापछि भेटिने गन्तव्य पनि होइन।

प्रकृतिको सुन्दर संरचनालाई कविको सुन्दर आँखाले नियालेको छ कवितामा । झरीप्रतिको प्रेम र स्नेह मात्र नभएर प्रकृतिबाट प्राप्त आनन्दानुभूतिसमेत महसुस गरिएको छ ।

असुरक्षित सहर

यो सहर साहै असुरक्षित छ ।

गोजीमा राखेर हिँड्यो –

पकेटमारबाट चोरिन्छु । 

आँखामा राखेर हिँड्यो – 

उज्यालोबाट खोसिन्छु ।

आफूलाई जोगाउन हिँड्नै गाह्रो ।

म अब आफूलाई ओठमा राखेर हिँड्छु ।

त्रासदीबाट गुज्रिरहेछ दुनियाँ । कहाँ छ र सुरक्षाको महसुस ? जहाँ सोच्यो त्यही लुटिएको छ मान्छे अब कहाँ राखेर हिँड्ने चिन्ता नै चिन्ता देखिएको छ यो कोमल कवितामा ।

सम्झँदा सम्झँदै

उम्लँदै गरेको 

इलेक्ट्रिक जगको एक कप पानीमा 

तिमीलाई सम्झँदै –

थोरै चियापत्ती र धेरै आफूलाई राखेँ

सम्झँदा सम्झँदै चिनी र दूध त राख्नै बिर्सिएछु ।

..!

कविको चिया चिनी नराखी गुलियो भए झैँ

कविता पढ्दा पढ्दै पाठकलाई चियाको मिठो चुस्किले तरङ्गित र आनन्दित बनाउँछ । “सम्झँदा सम्झँदै ” मिठो कविता ।

तिम्रो अञ्जुलीभरि

अरू पनि कति कति ? अरू सबै मन परेका कविता ।

कवितामा प्रयोग भएका मुलायम पदावलीहरू सुन्दर पहिरनमा सजिएकी सानी पुतली जस्ता लाग्छन् । कतै पनि नदेखिने गरी छालालाई घामबाट बचाउन लगाइएको मुलायम वस्त्र जस्तो कविता ।

यसमा समाविष्ट सबै कविता एक एक सुन्दर छन् । तिनलाई पूरा व्याख्या गर्दा निकै ठूलो सामग्री तयार हुन्छ तर यति मात्र पाठकीय प्रतिक्रियाको रूपमा लेख्ने दुस्साहस गरेकी छु ।

सबै कविता प्रेमी मनहरूलाई “साँझको सङ्गत” पढ्न पनि सादर अनुरोध गर्दछु ।

यति सशक्त/उत्कृष्ट कविता सङ्ग्रहका लागि हार्दिक बधाई तथा अर्को नयाँ कृतिका लागि भव्य शुभकामना छ कविज्यू ।