भिजेर लोत भए क्यार । लेकको कमाइ यस्तै न हो । जुका झरीको त भनी साध्य छैन । फुलमायाँले त भनेकै हो “लेकको काम राम्रो हुँदैन । दुःख पाइन्छ” भनेर । रामदल मान्ने होइन । “पोथी बाँसेको राम्रो हुन्न” भन्दै भस्मे फाँड्न लाग्यो । अहिले “नपाउनु दुःख पाइयो, यो बुढाले गर्दा ।” भन्दै करकर गर्छे फुलमायाँ । अधिकांश समय भस्मेले नै बिताएको छ । साँझमा आउँदा अगेनो पनि सेलिएको हुन्छ । बस्तु भाउलाई घाँस लगाई दिन हम्मे हुन्छ । कुखुरा बाख्रा थन्काउन धाउधाउ हुन्छ । जति हतार त्यति नै कचकच गर्छे फुलमायाँ पनि।

अगुल्टो ठकठक पार्यो फुलमायाँले । दुई पल्ट जोडले आगो फुके पछि गुनगुनाइन “यो बुढा प्याट्ट भनेको मान्ने हइन । लेकको कमाइ काम दिँदैन फनेकै हो । सुन्ने होइन । टाढाको मेलो भ्याइ नभ्याई हुन्छ । मिटिङ सिटिङ भन्छ । हिँडिहाल्छ । कुरा बुझ्ने हइन । दुःखै मात्र दिन जानेको छ । अरू केही जानेको छैन ।”

“नकरा न है आमै । आज भोली भन्दै काम सकियो त ।” रामदलले सम्झायो ।

“भन्छौ नि । ठुटे नेता पल्टेर हप्तै पिछे मिटिङ फन्दै धाउँछौ । याँ आफूलाई भने काम गर्न कति गाह्रो छ । बुझ्ने हइन ।” आमैले भिजेको गुन्युको फेरो सेकाउँदै भनिन् । गुन्युको फेरोबाट फुसफुस बाफ उडिरहेको थियो । रामदलले भने कमेज फुकाएर भारमा सुकाएको थियो । ऊ नाङ्गै थियो । सुरुवाल पातलो भएर होला शरीरको तापले सुकिसकेको थियो । एकछिन मौन भएपछि फेरि आमै गुनगुनाइन्, “भात पकाउनु अभेर भइसक्यो । यो गुन्यु पनि कति ढिलो सुकेको हौ ।”

“आब मेरो रिस गुन्युमा पुराइस् । नरिसा पछि अदक्षे भएर सुख दिन्छु हौ ।”

“नाप्यौ ! लाठी टेक्ने बेलामा आदाक्षे । गाउँमा युवा युवा भन्न थालिसके । तिम्रो पालो त उइ सोर्गमा मात्र हला ।”

“नेपालको राजनीति यस्तै हो । पैँसठी पछिन युवा हुने हो । माथि केन्द्रका नेता हेर्न । असीका युवा भाका । अलि रेडियो पनि सुन्ने गर ।”

“तेहाँ र याँ मिल्छ त । तेहाँ त बसिखाको छन् ।”

“बसि खाँदा तन्देरी हुनु भने म नि बसेर खान्थे नि ।”

“हुनु पर्यो नि बसि खाने तिम्रो सम्पत्ति ।”

“लेउँथे ।”

“काँ देखि लेउथेउ हौ ? नभाको कुरा ।”

“बजारबाट ।”

“तेहाँ चाहिँ तेतिकै पाउँछ त ।”

“ए फकाइ फुलाई लेउँथे नि । दुई चार वटी भए पछि त आनन्दले खान पुग्थ्यो क्यार । उनीह्यर कमाउँथे म अराउँथे ।”

तब मात्र आमैले कुरो बुझिन् । आमैले रिसाउँदै भनिन्, “लेऊ न त । छोरा छोरी फएन भनेर अस्ति पनि नलेको हइन । आखिर मेरैमा भर परेको छ । जाऊ तिम्रो कान्छी खोज्दै खोज्दै । भाको त राख्न सक्दैन ठुलो कुरा गर्छ ।”

“त्यो नक्कलीको कुरा नगर है ।”

“किन नगर्नु ? लेकै हो । पहिले तेसकै पाद मिठो फयो । अहिले नरुङ्गे पछि नक्कली फयो ?”

“हेत ! कान खायो । भात पका ।”

आमै खाना बनाउन थालिन् । रामदल बावै भिजेर चिसो लागेको ज्यान आगोको रापमा सेकाउन थाल्यो । भस्मेको दाउरा भकिम्लोको परेछ । प्याट गर्दै दौरा पड्कियो । झिल्को उछिटियो । नाङ्गो ढाडमा झिल्कोले भेटेछ । बावै तर्सियो “हौ आरे । के पो हौ ?”

“मर्छ है । याँ भातमा फोर पस्छ नभनी किन लेपे:सा तन्किनु ।“ आमैले हाँस्दै भनिन् ।

बावैले भारमा सुकाएको कमिज झिक्यो । एक पल्ट भटभट पारेर पछारेपछि लगायो । फेरोमा समातेर तानाक तुनुक तन्कायो र भन्यो “ल छिट्टो भात बना है । बैठकमा जानु छ ।”

“गलेको मान्छे चुपो लागेर सुत्नु नि । झोल पाउनु न चक्टा पाउनु किन धाउनु ?”

“साथीहरूले गलेको भनेर जान्दछन् र ?  फेरि पछि टिकटको पनि त पुरो छ । घरैमा तँलाई च्यापेर सुत्यो भने काँ दिन्छन् टिकट ?”

“एऽऽऽ छाडिदेउ है यो टिकट सिकट । अस्तिको चोटि पनि दिने दिने फनेर पछि हेरेको हेरै बनाए । अब त के चुनाव सुनाव भन्ने ? मर्ने बेलाको हरियो काँक्रा ।”

“बल्ल चालिस त काटिन लागियो । उहाँ भोली मर्दै छ भन्नेले त अस्पतालमा नै टिकट पाउँछन् । म त जिउँदै छुनि आमै । म बैचानास मरी हाले भने तँलाई टिकट दिन्छन् । बिचरा ! भनेर भोट त ड्याम कि ड्याम आइहाल्छ नि ।”

“खाइ न पाइ छालाको टोपी लाई । लखर लखर हिँड्यो । काम केही छैन । के को अदक्षे के को सदसे ?”

“हौ सदसेमा त नझार न हौ बुढी । सदसे मात्र भने त अस्ति जितिसक्थेँ ।”

“अदक्षे हनु काँ हो काँ । के को सदसे ?”

“अदक्षे भन्दा सदसे सानो पो त हौ बुढी ।”

“मुर्खालाई को ठुलो को सानु के थाहा ?”

तनक्क गलेको ढाड तन्काएर रामदलले भन्यो “मारिस् हौ हँसाएर । साथी भाइ आको बेला चाहिँ त्यस्तो कुरा नगर है हौ ।”

“ए लाज लाग्छ ? लेऊ न त तिम्रो बाठी कान्छी ।”

“त्यसको चाहिँ धेर कुरा नगर है । घिन पो लाग्छ ।”

“मायँ प्रीति रहुन्जेल घिन लागेन अब के को घिन ? छोरा मान्छेको जातै यस्तै हो ।”

“तैँले पनि त नाना नानी भएन लेले भनेकै हस् नि । अहिले ठुलो कुरा गर्छस् ?”

“केही होलाकी भने नि त हौ बुढा ।”

फूलमायाँले खाना बनाइन् ।

खाना खाइवरी रामदल बैठकमा हिँड्यो । फूलमाया भने जुठो भाँडो सरसफाइ गर्न थालिन् ।

चुनाव नजिकिँदै गएको छ । रामदललाई टिकटको चिन्ता छ । फुलमायाँलाई रामदलको । यहाँ बुढीको मायाँ बुढामाथि, बुढाको मायाँ ढुङ्गा माथि भएको छ । बुढाको रहर पुरा गर्न मात्र फुलमायाँ चुपचाप छे, नत्र त उनलाई राजनीति पटकै मन परेको छैन ।

चुनावको मेहेरोले गाउँमा चौपट्टै बनाएको छ । टिकट कसले पाउने भन्नेमा होडबाजी मचिएको छ । नेता भेट्ने र हजुर्याइँ गर्ने ताँतीको लाम पाटी कार्यलयमा लागेको छ । जिल्लाको नेताहरुको व्यस्तता टिकट बाँड्नुमा नै छ । नेताहरू भेट्न भगवानको दर्शन गर्नु जतिकै भएको छ ।

यो पल्ट रामदलले टिकट पायो । रामदलले नेताहरुको खुट्टा ढोगेरै भएपनि टिकट पाएकोमा गाउँलेहरूले जय जयकार मनाए । गाउँले सबैले  “रामदलले यो पल्ट गाउँ सेवा गरेको सम्मान पायो है । भाग्यमानी रछ । धेरै पर्खियो बल्ल सम्मान पायो” भने ।

“हैन हौ कान्छा ! तँ भोट जित्छस् के हौ ?” नास्पाते बुढाले भन्यो ।

“खै हौ तुम्बा । सबैले जिताउने भनेर लागेका छन् । जित्छु होला नि त हौ ।”

“खै ! जितेर पनि गारो छ कान्छा । भोकै सुतेर काम गर्न सकिंदैन है । सुत्दाको सिरक छैन भने त जाडैमा ज्यानले रात कटाउला तर नाक छोप्ने सिरक त गत्तिलै हुनु पर्छ । त्यसै ठुलो मान्छे भइन्न है ।” नास्पाते बुढा त्यति भनिराखेर उकालै उकालो लाउरो टेक्दै बाटो लाग्यो । रामदलले बुढाको कुरो राम्ररी बुझेन क्यार । एकछिन एकोहोरियो ।

रामदल कार्यकर्ताहरू लिएर भोट माग्न गाउँमा पस्यो ।

सबै साथीहरूले रामदललाई नै भोट दिने भनेकाले रामदल ढुक्क थियो ।

भोट सकियो । भोट लगाउँदै शम्शेर सिंहको भोज खान गाउँलेहरू लाम लाग्न थाले । रामदलको तब मुटु काम्न थाल्यो । तनाव बढ्यो । हिजो “तँ नै हस् है कान्छा हाम्रो भरोसा । त्यो शम्शेरेलाई जति जिताए पनि काम काटेन अब तैँले यो गाउँ सम्हाल्नु पर्छ ।” भन्नेहरू पनि आज शम्शेरको पछि दौडन थालेकोले रामदलको नाउ नाडी खर्लक्क गलेर आयो । पसिना खलल बग्यो । रामदल टाउको समातेर थचक्क बस्न मात्र सकेन । पानी पिउने बनायो । लामो श्वास तान्यो अनि बिस्तारै छाड्यो । तब पनि रामदललाई शान्ति मिलेन । उकुस मुकुस भएर मनै फुट्लाझैं गरेर पिर गुम्सियो । मनभरी । रामदलले मुटु मिचेर सहन बाध्य भयो ।

कार्यकर्ताले रामदललाई घरसम्म पुराए ।

फुलमायाँ फतफताइन् । भनिन्, “राजनीति नकर – नकर फनेकै हो । सुन्दैन । विश्वास नकर भनेको हो । विकास – विकास भन्दै कुद्छ । याँ घरबार के हो हेर्दैन । मान्छेले विकास खोज्दैनन् फनेकै हो । रिन माथि रिन थपिन्छ फनेकै हो । आब चाख बुढा ! तेरो राजनीति सादनीति !”

रामदल बोलेन । सुनसान भयो । सबै चुपचाप । फतफताइरहेकी फुलमाया पनि गलिन् होला, कराउन छाडिन् । रामदलको घरमा मौनता छायो । शम्शेरको घरमा भने भोज चलिरहेको छ । रमझम छ । भिड पनि उतिकै । नाराबाजी चलेको छ । जिन्दाबाद र मुर्दावादले कान नै चिरिसक्यो । मान्छेहरू नाराबाजी गर्नबाट थाकेका भने छैनन् ।

रामदललाई रिन तिरिसाध्ये भएन । रिन नै रिनले टाउको उठाउने अवस्था भएन । गाउँको स्कुलमा सहयोगीको पदमा विज्ञापन भयो । व्याजसम्म तिरिएला भनेर निवेदन दियो ।

शम्शेरले पियन जागिरमा समेत रामदललाई पत्याएन । रामदल कार्यालय सहयोगीको पदमा छान्निएन । गाउँभरि रामदलको कुरा काट्नेहरूको जथा नै भए । जताततै रामदलले ठिक गरेन भन्नेहरूको भिड भए । “हैसियत भुल्यो” भनेर आलोचना गर्न थाले ।

रिनले रिन बढाउन थाल्यो । तिर्ने आधारहरू कतै देखिएन । रामदलले विदेश हुइँकन बाहेक अरू उपाय देखेन । ऊ विदेश हुइँकियो ।

= = = =

तीन वर्ष पछि रामदल गाउँ फर्कियो । घरमा आइपुग्दा आँगनभरि झाडी पलाएको थियो । घरभित्र पस्यो । चुलो छाम्यो । चुलोमा खरानी थिएन । चिसो थियो । “तेरो भविष्य उजाडियो रामदल” भन्ने संकेत गरिरहेको थियो ।

बररर आँसु चुहियो । आँसु चुलोमा तपतप खस्यो । पछाडिबाट कोही आएर तान्यो । नास्पाते बुढा रहेछ । बुढाले काँधमा हात राखेर भन्यो “धैर्य गर रामदल ! तेरो दिन अब आउँछ अस्ति गलत मान्छे छानेछौँ । अब सबैको आँखा खुलिसक्यो । तैँले गाउँ समाजमा गरेको योगदानको अब कदर हुन्छ ।”

नास्पातेनीले भनिन्, “हैन त्यो शम्शेरेले तेरै चैँ बुडी किन मन पराको रे । बजियाले नाकमा त आछी गर्यो गर्यो अर्काको घरबार नै बिगारेर पो सक्यो त ।”

रामदल अगेनो कट्याउँदै घोप्टो परिरह्यो । सबै चुपचाप भए । वातावरण सुनसान भयो । सुँकसुँक मात्र आवाज आइरह्यो । कसैको केही बोल्ने अवस्था भएन ।