परदेश गएकाहरू
बेखबर छन् अझै
जाने फर्के/नफर्केको थाहा छैन
परदेशिएका नाममा एक टुक्रा
आएको छैन सन्देश खुशी / बेखुशीको
समाचारका नाममा –
बेला – बेलामा घर नजिकै
दुधिलाका रुखमा बसेर
कौवा कराउनबाहेक
अहिलेसम्म आएको छैन कुनै सन्देश ।

हाओ परदेशी माइला !
फर्क है अब त जीवित छौ भने
कोसेलीका नाउँमा बरू ल्याउनु पर्दैन खुशी
ल्याउनु पर्दैन केही सौगात
छुट्याउनु पर्दैन कुनै बजेट परिवारलाई
सट्टामा –
तिम्रो देह आए हुन्छ ।

**

खबर सुन्छौ भने –
दसकौँअघि भाउजूलाई
अपहरण गरे देश बनाउनेहरूले

स्कूलबाट फर्किँदै गर्दा
दुवै छोराछोरी परे धरापमा
पीडाले थलिएका बुढा बा
शैय्यामा पल्टेका बेला
ओखती लिएर आउँदै गरेकी आमा
बाटैमा ढलिन् कहिल्यै नउठ्ने गरी
शोकमा डुबेका बाबाले
प्राण त्यागे बर्ख दिन अघि

उमेर पुगेकी बहिनी
लग्यो साहूले गोठालो
ब्याजको हिसाब गरेर

फिर्ता आउनै नपाई
दोजिया बनाएपछि
प…र पीपलको रुखमा झुण्डिएर मरी
पोहोरको हिउँदामा ।

**

सम्झनाका नाउँमा –
सिकुवामा झुण्ड्याई राखेका श्यामस्वेत तस्वीर पनि
नचिनिने भइसके खुइलिएर
हेर्न जानै मन लाग्दैन अचेल
रित्तै छ तिम्रो घर

तिमीले लुकाई राखेका
लुटिए जिब्रानका चिनो
सबै चोरिए राता किताब
हराए घरैबाट भानुभक्त र देवकोटा
जलाइए शास्त्र र उपनिषद्
गाडिए मुन्धुम र वेद
फिरङ्गे ईश्वरका नाममा

अस्तिको बर्खामा ढल्यो गाई गोठ
सक्छ या सक्दैन घरले अर्का सालको बर्खा धान्न

बाँझै र उराठिला छन् टार बारी
ऐँसेलु र तीतेघारी फस्टाएर
घुमिरहन्छन् मृतक आत्मा आजकाल

परदेशीका नाउँमा जोर बाहाँमा बसेर
शान्ति घुर्दैनन् परेवा अचेल
छैनन् कौवाको सन्देशमा सुबोल भन्नेहरू

**

परदेशी माइला फर्क हाओ अब त
यो घर ढल्न दिनु हुँदैन
हिजोको इतिहास बोकेको
यो घरै ढलेपछि मेटिनेछ फेरि एउटा अ–योग्य इतिहास

एक मुठी खुशी बोकेर
सयौं पीडाका भारी बिसाउने
चौतारी हो तिम्रो घर
थुप्रै साल भो थिबिक्माले तिमी नआएपछि
विरह उरालेर परदेशीहरूको गीत गाएको
सुनेनन् कुनै परदेशीले उसका गीतको मर्म
थुप्रै पटक भो जमदार काकाले
सालबिँडे खाँदै छेकुलुङ्मासँग प्रार्थना गरेको

**

तेत्तिकै ओइलाई गए नुमाफुङ
शोकले शिर झुकाई बसे लाहुरे फूल
देशीहरू आए / गए
तर फर्किएनौ परदेशी माइला

पुर्खाको नासो जोगाउनै भए पनि
यो घरलाई ऐतिहासिक सङ्ग्रहालय बनाएर
मात्रै मुक्ति पाउनेछन्
बुबाआमा र सन्ततिका आत्माले

अझै पनि बाटो कुरी रहेछ चौतारीले
फर्क परदेशी माइला !

रित्तै फर्क

घर ढल्न दिनु हुँदैन
यो घर ढल्नु भनेको इतिहास ढल्नु हो ।

**

आठराई २, तेह्रथुम