बेलायतमा लगभग ३० वर्षअघिबाट शुरू भएको विश्व पुस्तक दिवस यतिबेला विद्रोहको विषय बनेको छ । मूलतः बालबालिकामाझ पठन संस्कृति बढाउन
यसलाई संस्कृतिकै रूपमा विकास गर्न त्यो बेला राम्रै कसरत गरिएको थियो ।

संसारमा विश्व पुस्तक दिवसका दुई मिति तय गरिएका छन् । एउटा अमेरिकी संस्करणको विश्व पुस्तक दिवस हरेक वर्ष २३ अप्रिलमा मनाइन्छ । बेलायतीहरूले भने यो दिवस मार्च ७ का दिन नै मनाउने गर्छन् ।

बेलायतीहरूले मार्च ७ का दिन मनाउने विश्व पुस्तक दिवसलाई तामझामका साथ मनाउने गर्छन् । यो बेला बालबालिकालाई आफ्नो पुस्तकको मनपर्ने पात्रहरूजस्तै देखिने इच्छा गर्छन् । त्यसका लागि इन्टरनेटमा भाडाका लुगा, मेकअप या यस्तै केही बिक्रीमा राखिन्छन् । २० पाउन्डसम्म मूल्य पर्ने यस्ता पहिरन, मेकअप र अन्य चिजबिज ८ मार्चदेखि काम नलाग्ने हुनाले ती खर्चिला भएको केहीको आपत्ति थियो ।

प्रायः विद्यालयले अनिवार्य रूपमा स्कुले विद्यार्थीहरूलाई यस्तो पहिरनका लागि आग्रह गर्ने गरेको थियो । पछिल्लो समय बेलायतमा बढ्दो गरिबीका कारण अभिभावकहरूले अनावश्यक खर्चका लागि विद्यालयले दबाब दिएको भन्दै सो दिवसमा पहिरन बिना नै मनाउनु पर्ने बताएका छन् । यस्ता पहिरनले वातावरणीय विनासलाई सघाउने भएकाले पनि विद्यालयहरूले अभिभावकको दबाबलाई मान्न बाध्य भएको बताइएको द टाइम्स पत्रिकाले जनाएको छ ।

दबाबपछि विद्यालयहरूले बालबालिकाहरूले आफूलाई मनपर्ने पुस्तकका पात्रजस्तो पहिरन नलगाए पनि हुने कुरामा स्वीकृति जनाएका छन् ।

अब पहिरनको साटो शिक्षकहरूले बालबालिका तथा लेखकसँग अन्तरक्रिया गराउने भएका छन् । यसैगरी पुस्तक साटासाट गर्ने, पुस्तक पढ्न सजिलो हुने गरी पहिरन लगाई विद्यालय आउनेजस्ता निर्णयहरू गरिएका छन् । बरू केही विद्यार्थीले घरैमा उपलब्ध आलु लगायतका तरकारीहरू रङ्ग्याउन सक्ने बताइएको छ ।

नेवार्क हिल एकेडेमीकी प्रधानाध्यापक सोनिया केन्डल भन्छिन्, ‘विश्व पुस्तक दिवस भनेको तामझाम गर्ने दिन होइन । यो दिवस त पठन संस्कृति बढाउन, मान्छेलाई पढ्न बानी पार्न आकर्षित गर्ने दिन हो । अरू बेला नभ्याए पनि एउटा राम्रो किताबले आनन्दित हुने दिनका रूपमा यसलाई विकसित गर्ने हो । यसो गर्दा अभिभावकहरूले छोराछोरीलाई रङ्ग्याउने, रम्राउने र विभिन्न फुर्को लगाइदिने झन्झटबाट मुक्ति पाउने छन् ।’

यस्ता कुरामा ध्यान नदिइए वातावरणीय क्षतिसमेत पुग्ने मात्र नभई पठन संस्कृतिमा यसले कुनै भूमिका नखेल्नेसमेत केन्डलको धारणा छ ।

पछिल्लो समय वर्ल्ड बुक डेलाई मूल पठन मुद्दाभन्दा इतर रूपमा मनाउने क्रिया बढिरहेको भन्दै वर्ड बुक डे च्यारिटीका प्रमुख कार्यकारी केसी चाडर्टन बताउँछिन् । रम्रिनुभन्दा पढिनु राम्रो कुरा भएको बताउँदै उनले रम्रिनुलाई मात्र ध्यान दिन जरूरी नभएको बताइन् ।

युनिस्कोले सन् १९९५ यता विश्वव्यापी रूपमा पुस्तक दिवस मनाउँदै आएको छ र प्रायः युनेस्कोको प्रभावमा रहने मुलुकले यसलाई मान्दै आएका छन् । बेलायतले सन् १९९७ देखि यसलाई मान्दै आएको छ ।

केही कम्पनीले भने यही एक दिनलाई लक्षित गरेर विभिन्न कस्ट्युमहरू निकाल्ने गर्छन् । जोन लेविस कम्पनीले पेडिङटन बियर कस्ट्युम ३२ पाउन्डमा बेचिरहेको छ, विली वङ्का (चार्ली एन्ड द चकलेट फ्याक्ट्री)को २५ पाउन्ड, भेरी हङ्ग्री क्याटरपिटरको पहिरन २७ पाउन्ड, फेन्टास्टिक मि. फक्सको पहिरन १७ पाउन्डदेखि अन्य पहिरन पनि छन् । अमेजनमा बेच्न राखिएका यस्ता पहिरन त झन् कति छन् कति ! ती सबैमध्ये लोकप्रिय चाहिँ ह्यारी पोटरका पहिरनहरू छन् ।

तर जब विद्यालयले नै यस्ता पहिरन अब अनिवार्य नरहेको खबर गर्यो, धेरै अभिभावकका लागि राहत भएको छ । राहत पाउनेमध्ये ३५ वर्षीया क्लेयर लिच भन्छिन्, ‘पोहोर साल मेरो पाँच वर्षे छोरोले डेभिड अटेनबोरोको लिटल पिपल, बिग ड्रिम्स पढ्यो । उसलाई त्यो यति मन पर्यो कि त्यस्तै पहिरन लाउनु पर्यो भनेर जिद्दी गर्न थाल्यो । जङ्गल जान लाउनु पर्ने पहिरन, त्यसमाथि दूरबिन लगायतका सरसामग्री जोड्न हामीलाई यति गाह्रो भयो कि, त्यो दुःख सम्झेर अहिले पनि आङ सिरिङ्ग हुन्छ । धन्न यसपालादेखि त्यो दुःख बेसाउनु परेन ।’