बिहाको करिब छ महिनापछि एकदिन ससुरालीबाट एउटा चिट्ठी आइपुग्यो । मेरी ऊ घरमा थिइन । दाजुको बिहा भनेर उनीहरू कहाँ गएकी थिई । भर्खर पन्ध्र दिन मात्र भएको थियो । चिट्ठी आइपुग्यो । ममा अलि रमाइलो भाव गढ्यो सायद मेरी उल्ले लेखेकी होली । आजकल त जवान तथा ताजा जोईपोइको यसरी चिठ्ठी- चपेटा भएको मैले धेरै सुनेकोछु । कति बाजी त आनन्द र सान्त्वनाको पनि अनुभव गरेको लुकाउन सकिनँ ।
एकदिन मैले यही प्रसङ्ग पनि चलाएको थिएँ । तर नयाँ हैन भन्या, उनीबाट राम्रो जवाफ पाएको थिइनँ । मलाई पनि कहाँ त्यो प्रेम ठूलो हो भन्दैमा यसैमा मात्रै लागिरहन सकिन्छ ?- जस्तो लागेर पाइलो बढाएको थिइनँ । आज चिठ्ठी आइपुग्यो ।
तर यसरी खुले आममा सबैले देखे, सबैले थाहा पाए । हुन त के र, जोईपोइ जोईपोइ हो, कसलाई थाहा छैन ? उनीहरूमा प्रेमको साटफेर होस्, कसले चाहँदैन ? तर यतिको साहस उल्ले पहिले बटुल्न सक्ली मलाई लागेन । अस्तिसम्म त लेखपढ गर्न जानेकी छैन भन्थी ।
हुन त मलाई खुब थाहा छ – उल्ले केही अवश्य पढेकी छ । आजकल नवजवानले आफ्ना भावी पत्नीको चेवाचर्चा अगि नै गरिराख्नु त चलनैजस्तो भइसक्या छ । मलाई मात्र किन थाह हुँदैन र ! फेरि एउटा कुरा के त भने जोईपोइ थोरै मात्र प्रेमीप्रेमिका हुन्छन्, र बोल्नलाई प्रेम थोरै मात्र पाउँछ । यसैले पनि जोईपोइमा (जो थोरै दिन मात्र छुट्टिने हुन्छन्) चिट्ठीपत्र चल्नु त अजोडा र साथै नराम्रो पनि हो । यति कारणले पनि मैले प्रेमपत्र नचलाएको हुन सक्छु तर मैले भन्न लागेको यो हैन । के त भने- चिठ्ठी आइपुग्यो ।
खोलेर हेरेँ । कुरा त यो होइन रहेछ । निम्तोकार्डमाथि पनि शिष्टाचारको स्वरूप मलाई नआई हुँदैन भनी कर आएको रहेछ । हुन त कर गर्नु पर्ने आवश्यकतै के थियो र ! सायद तिनीहरूको पनि लहड नै हुनसक्छ । हुन त मेरी श्रीमतीजीले पनि ‘बिहामा आउनु होला’ भनी धेरै पटक टोकेकी थिई- दोहोऱ्याई, तेहोऱ्याई, बातनपिछे, आफू जाने बेलासम्म पनि । मेरो पनि विचार त जाने नै थियो ।
ससुराली जाने लहड र आनन्दलाई सितिमिती तिलाञ्जली दिन पनि त सकिन्नँ । नयाँ भएर मात्रै हो कि मलाई त कसो लाग्छ भने ज्वाइँहरूलाई खास गरेर, ससुराली कहिले जान पाइएला जस्तो लाग्दो हो । हुनसक्छ उहाँ गएर आफूलाई प्रदर्शन गर्न पाउनुमा पनि के के लहरी उमङ्ग चढ्दो रहेछ । मेरो विषयमा भनूँ भने ससुराली टाढा परेर मलाई एक किसिमले बेमोज जस्तै छ । यस्तै विहा, व्रतबन्ध नपरीकन त ससुरालीको नाकमुखै देख्न पनि सत्ययुग आउनु पर्ला जस्तो । थोरै पनि होइन- छ छ कोश टाढा जान पर्ने ! यसैले अरू बेलाको ‘श्राद्ध’ ‘नखत्या’ इत्यादिमा उहाँ जान पाइएला भन्ने कुरा त म आसै पनि गर्दिनँ । यसैले पनि म यो मौकालाई छोड्न अन्कनाउँछु ।
उसमाथि नयाँ स्वास्नीको आग्रह ! कहिले इन्कार गर्न सक्थेँ ? फेरि धेरैजसो नवयुवकहरूको आशा या आकाङ्क्षा हुन्छ- कहिले ससुरालीबाट निम्तो आउला र जान पाइएला ! किनकि मलाई पनि त्यसै लाग्छ । नयाँ भएर हो कि ! उहाँ गएर आफूलाई ज्वाइँ तथा उनीहरूको नानीको पति महाशय भनाउनमा केके आनन्द मान्न लागेँ । फेरि मेरी त झन् नयाँ स्वास्नी, नयाँ ससुराली, उसमाथि नयाँ ज्वाइँ, खूब ठाँटिएर जान पाइने । ससुरालीमा त आदर- सत्कार, मान- मर्यादा बाहेक मिठोमिठो खान पाइने । झन् यस्तो लोभले कुन भोगी इन्द्रिय नखिचिएला ? तब ससुराली जान को अन्कनाउला र ? जानको निम्ति तम्सें, कस्सिन बाँकी थियो । आमाले त ‘जानुपर्छ जाऊ’ भन्नुभएको थियो, तर पिताजीले ‘अहिले यस्तो घाम छ’ फेरि आषाढ मास बिचबाटैमा बेसरी पानीले चुटिदियो भने के गर्ने ? ‘भैगो नजा’ भन्नुभयो ।
मैले सम्झेँ– आफू बुढो भएपछि सबैलाई बूढो नै सम्झनु पर्ने हो कि क्या ? पक्का पनि उहाँले आफ्नो समय बिर्सनु भएको हुनुपर्छ । मलाई त आफ्नो जवानीको घमन्ड पो चढेर आयो । त्यति वर्षादलाई पनि म सहन सक्तिन र ? त के गर्नु र ! अरू ठाउँमा भए पहाडै ल्याएर छेकुन् न, म उडेर दौडेर जान्थेँ तर ससुराली हो ! आखिर लहड लागेको ठाउँ पनि यही त हो । मेरो मुख बिग्रेको देखेर हो कि जेठानको बिहामा पनि नगइकन हुन्छ भन्ने लागेर हो, फेरि बाले ‘जा जा, जाने भए चाँडै, किन अबेर गर्नु’ भन्नुभयो ।
ओइलाएको बिरुवालाई सञ्जीवनी बुटीले छुवाइदिएको जस्तो मेरो मुख अनि मात्र भयो । आफूमाथि आफैँ रिसिन लागें- मफतमा मैले मुख बिगारेको ! बाले पक्का पनि देख्नुभो होला । हद्द नपठाई छोड्दैनथे । किन आफ्नो कमजोरी देखाएको हुँला जस्तो लाग्यो । तर संसारमा गरिबको र कञ्जुसी बाबुहरूको सङ्ख्या धेरै भएका पन्चानब्बे प्रतिशत ज्वाइँहरूको इच्छा अपूरो नै भएको देखें ।
पिताजीबाट जाने अनुमति पाएँ । अनि आफ्नो कोठामा आएर लुगाको बाकस खोलेँ । सेतो पप्लिनको नयाँ दौरासुरुवाल, अमेरिकन कस्मिराको कोट, सकल ढाकाको टोपी झिकेँ र एकातिर राखें । मोजा ? ल, मोजा त रहिन छ । झट्ट माथि गएर मोजा छैन भनें । ‘मेरै लाएर जा’ भन्नु भयो। मोजा लिएर लाएर हेरें । दुई प्वालबाट सिङ्गै दुइटै कुर्कुच्चा त बहादुरी साथ देखा पर्ने !
‘ल किन्नजा’ भनेर एक मोहर फालिदिनुभयो । सरासर बाहिर गएँ । एउटा पसलभित्र पसें । तर त्यहाँ एक मोहरले दिने मोजा स्वदेशी मोटोमोटो धागोको मात्रै रहेछ । मेरो मन परेको मोजाको त दुई रुपैयाँ घटीमा नपाउने रहेछ । एक मोहरमा दिने मोजा हुँदैन, यस्तो छ नराम्रो भन्न जाऊँ भने ‘पर्दैन त्यही हुन्छ बलियो भए पुग्छ’ भन्नु हुनेछ- मलाई थाह छ अवश्य । त्यस्तो मोजा लाएर पनि कसरी जाने ! अन्त हो र ? ससुरालीमा । त्यसैले आफ्नो खल्तीबाट एक रुपैयाँ थपेर अलि राम्रो तिन मोहर जाने किनेर ल्याएँ ।
दौरा, सुरुवाल, कोट, इस्टकोट, टोपी, मोजा सब ठीक भयो । अब के बाँकी छ त ? अँ, अमलातेल, काँगियो, टीका, सेन्ट, पाउडर झिकेँ । यिनीहरू सब लगाएँ भने त अब म पूरा ज्वाइँ हुन्छु- ससुराली जान लायकको ।
लौ, मुख त धुनै बिर्सेको । झट्ट कौसीमा गएर हात, मुख साबुनले राम्ररी सफा गरेँ। ‘बाह्र बजिसक्यो, कैले जान्छौ ए, अबेर भइसक्यो, के बाह्रसिंगार गरिरहेको ?’ आमाले आएर भन्नुभयो । ए ! साँच्चि त्यतिका जानुछ हकि ? तर झट्ट सम्झें फोल्टेनमा मसी छैन । ससुरालीमा लहडैले किन नहोस् लेख्ने के काम आइपर्छ, के काम ? फेरि कसैले फोन्टेन त राम्रो रहेछ भनी हेर्लान् । मसी भएन भने- ए, राम्रोको लागि मात्रै भिऱ्या रहेछ भन्लान् । मलाई भने आफ्नो दोष कसैले भेट्टाओस्- मन पर्दैन । म खूब लेख्छु, खूब पढ्छु, यही अरूले सम्झोस् । यही लाग्छ । ‘स्वानइन्क’ एउटा हिजो मात्रै किनेर ल्याएको थिएँ । मसी हाल्न लागें ।
त्यसै बखत आमाले माथिबाट बोलाउनु भयो- “तेरो घडी पनि लिनु पर्दैन कि क्या हो, मुख धोयो, त्यसै कौसीमै छोडेर गयो, कस्तो हतारो”- ‘ए साँच्चै’ भनेर घडी लिन जान उठेर के दौडन लागेको थिएँ (हतारोमा मान्छेको मगजै ठाउँमा हुँदो रहेनछ) खुट्टा त्यै मसीमै ठेस लागेर दौरासुरूवालमा जम्मै मसी खनियो । लौखा ! अब के गर्ने ? जहाँ गाह्रो, उहीँ साहो । त्यही एकजोर बाँकी राखेर हिजो मात्रै जम्मै धोबीलाई दिएर पठाएको थिएँ । अब के गर्ने ? एकछिन टोलाएँ ।
मलाई लाग्यो- उत्तरदायी को हो ? आफैलाई दोषी ठहऱ्याउन म किमार्थ सहमत थिइनँ । हुन पनि कोही आफूलाई दोषी भन्छ ? धोबीले लुगा धोइसकेको रहेन छ भने त्यही भए पनि लाएर जानु पर्यो भनेर दौडें, साइकल लिएर धोबीकहाँ पुगेँ । धोबीले मात्रै किन बाँकी राख्थ्यो र ? मेरै लुगा धोइरहेको रहेछ । बिचरा पैसामा काम गर्ने न हो । म जस्तो फेसनवाला ठिटो बिच्किने डरले हो कि केले हो ? “तपाईंलाई ठीक हुने अरूहरूको पनि चारपाँच जोर छन् । आजलाई यसैले टार्नोस्” भन्दै एक पोका इस्त्री गरेर पट्याइ राखेको रङ्ग बिरङ्गका दौरासुरुवाल ल्याएर मेरो अगाडि राखिदियो ।
अझसम्म मैले कसैको लुगा पैंचो लिएर लाएको छैन । उसको साहसलाई पनि धन्यै भनें । तर त्यहाँ आफ्नो अपमान अनुभव गरिरहने अवकाश कहाँ ? कहिल्यै लाएको थिइनँ ! आज लाउने, नभए ससुराली नै नपुगिने भो । त्यसमध्ये एकजोर लुगा लिएर आएँ । दनाइ देखाउनको निम्ति पनि अलिकति त झोक्किनु पर्ने । नत्र पछिपछि पनि हेप्छ । यसैले एक दुईवटा हप्काइ डकारें। “होइन काजी केके भन्न लाग्यो ।” मैले त्यो पटकलाई माफी दिएर कुदें ।
यसबेला भैसक्यो कहिले पुग्ने हो ? घर आएर लुगासुगा लाएँ ठाटिएँ, जुत्ता लाउन हेर्छु त जुत्ता पनि फुस्रो के भैराखेको नि ? जुत्ता नयाँ होइन, अलि पुरानै थियो, ससुरालीमा पनि यस्तो फुस्रोधुम्रो जुत्ता कसरी लाएर जाने ? ससुराली जान त खूब कस्सिएर सफा भएर जानुपर्छ नत्र नराम्रो भन्छ । झट्ट रोगन झिकेर लाउन लागें । त्यसै बखत बा आएर भन्नु भयो- “अझै गएको छैनस् ? कति सोह्रसिंगार गर्नु पर्ने”- गएँ भन्दै ओर्लेर साइकिलमाथि बसेर हुत्तिन थालें ।
गएँ अब ससुरालीतिर । आधा माइलजति डबल मार्च गरेर के कुदेको थिएँ- बाटैमा उही जेठानसित भेट भयो- जसको बिहा थियो । उनी एउटा कुराले अडकाउ भएर सहरमा आएको रहेछ र फर्केको रहेछ । (ए ! जेठानलाई त मान्नु पर्ने हो क्या, । भैगो फर्केर आउनु भएको रहेछ) बाटैमा भेट भयो । लामो बाटोको निम्ति साथी भेट्टाएँ । उहाँले मुसुक्क हाँसेर मेरो मुख हेर्दै भन्नुभयो- ‘त्यो तपाईंको गालामा कालो के लाएर आउनु भएको ?’ खै मैले त केही लाएको होइन !
झट खल्तीबाट एउटा सानु ऐना झिकेर हेरेँ । मेरै तिनवटा औँलाको सहीछाप परेको रहेछ- उही अघिको रोगनको । जुत्तामा लाउँदा गालामा समेत लाएछु । मलाई त आफूमाथि नै रिस तथा लाज उठ्यो । एक त त्यस्तो कालो लिएर यहाँसम्म आइपुगेको, बाटोमा कसकसले मात्रै केके भने होलान् ? दोस्रो जेठानैले देखेको ! रुमालले पुछें ।
तर के रोगन रुमालले पुछ्दैमा जम्मै जाने हो र ? अलिअलि दाग त रहँदैछ । पानी नै नहालीकन किन जान्थ्यो ? तर बिचबाटोमा पानी पाउनु कहाँ ? जेठानले नदेख्ने गरीकन थुक अलिकति राखेर पुछें, अलिअलि त त्यसै पनि दाग छ कि छ कि भन्याजस्तो छ, फेरि ऐना हेरें- फेरि कपाल यस्तो भुत्ल्याएको जस्तो किन नि ? हो लौ, तेलै नलाईकन आएछु ल ! टीका पनि लाउन बिर्सेछु । भो कि ? ससुराली जाने र ! के यस्तै जिग्रिङ्ग परेको कपाल र बिनाटीकाको अनुहारले ? अब यहाँ दोष कसको ? हुनसम्म रिस उठ्यो ।
‘अबेर हुन्छ जुवाइँ हिँड्नुस्’ भनेर जेठान साइकिल चढेर कुदाउन थाल्नुभो । बिचरा उहाँलाई मेरो मनको कुरा के थाहा ? उहाँलाई त चाँडै घर पुग्नु छ । म पनि साइकिल चढ्न यस्सो के उफ्रन लागेको थिएँ, कोटको खल्ती काठीमा यस्सो अड्केर च्यातियो- धर्रर्रर्र । लौ अब भयो कि ! जेठान सँगै थियो । ससुराली पुग्न अब आधा कोस जति मात्रै बाँकी छ । जेठान मात्रै सँगै नभएको भए पनि म त्यहाँबाटै फर्कने थिएँ । अब जेठानले केके मात्रै भन्ने हुन् ससुरालीमा ! धोबीकहाँबाट पैंचो ल्याएको दौरासुरुवाल (सुरुवाल अलि लामो भएकोले जति माथिसम्म लाए पनि नहुने, बाको जडाउरीजस्तो देखिन्थ्यो) च्यातिएको कोट, भुत्ल्याएको जस्तो कपाल, तिन औंलाको सहीछापे अनुहार । जेठानको सहानुभूति पनि खल्लो, महाखल्लो लाग्यो ।
आखिर ससुरालीको घरमुनि पुगेँ । यस्सो माथि झ्यालतिर हेरें- झ्यालभरि स्वास्नी मान्छेहरू ! सम्झें नयाँ ज्वाइँ हेर्न आएका होलान् । हुन पनि नयाँलाई त हेर्छन् चाख लिएर, केके लिएर, यहाँ हेर्नुको अर्थ जे होस् । किन भने म राम्रो छु रे- उनीहरू तारिफ गर्छन् । म नराम्रो भए, जनीहरू ‘ॐ’ कस्तो, के जस्तो, के जस्तो भनी गिज्याउलान् याने चिन्नको निमित्त हेर्छन् । यत्तिकै न हो ? तर त्यतिको उमङ्ग जोसले किन ?
एउटा नोकर आएर मेरो हातको साइकिल लिएर भित्र लग्यो । मैले पनि छाती फुलाएँ (ससुरालीमा त फुर्ती देखाउनु पर्छ नि !) यस्सो के भित्र पस्न आँटेको थिएँ- पछाडिको खुट्टा केराको बोक्रामा टेक्न पुगेछु र लडेँ सँघारैमा- भ्याङ्ग !
माथिबाट जम्मै स्वास्नी मानिसहरू हर्रर्रर्र हाँसेको सुनें । लाजले कालोनीलो भएँ । हुन पनि किन नहुनु स्वास्नी मानिसहरूले गिज्याएका । जेठानले दौडेर आएर उठाइदिनु भयो । त्यहाँ भएका मानिसहरू जम्मै मुखामुख गरे- तर किन हो हाँस्न सकेनन् । उनीहरूको मुख फुलेर मानो हाँसो फुट्न लागेको जस्तो थियो । मेरो सानुचाहिँ सालो आएर ‘हेर यहाँ पनि लागेछ’ भनेर मेरो दौराको पछाडि पाटो निचोर्न थाल्यो ।
यस्सो फर्केर हेर्छु त लुगामा जम्मै हिलो लागेको रहेछ । त्यहाँ भुइँमा पानी पोखिराखेको थियो, त्यही मेरो लुगामा लागेछ । तर मैले सम्झेँ- यो केही हैन, आफ्नो कमजोरीको प्रदर्शन हो । अनि आफैँ रिस्सिन लागेँ- ‘म बलियो भइन । मेरो मुटु बलियो भएन । मैले आफूलाई त्यसै छोडिदिएको रहेछु । म त आफूभित्र केही नभएको एउटा प्वाँखजस्तो पो रहेछु । म चरा नै भएको भए हावाले मलाई जथाभाबी गर्न पाउने थिएन । मैले अनि आफूलाई चिन्न थाले ‘म’ म । एउटा उमङ्ग, एउटा लहडमा बत्तिएर जाने मानिस ! साँच्चि भनूँ भने म यतिको फुस्कुलो, कमजोर नभएको भए यस्तो परिभ्राट हुन्थ्यो ? मलाई त लाग्दैन । हुन पनि संसारमा जति दुःख, पीडा भइराखेका छन्, खालि सामञ्जस्य नमिलेको नै हो । यही विचार गर्नुहोस्- म निस्कन लाग्दा नै कस्तो थिएँ- आनन्द पाउँला, लहड गरुँला भन्ने जवान ।
अहिले ? जे होस् ससुरालीमा मेरो यात्रा जसोतसो गरेर बिताएँ । मेरो यो कुरो सुनेर तपाईंहरूमध्ये कसैले मुख बङ्ग्याउनुभयो होला, कसैले नाक चेप्राउनु भयो होला, कसैले ‘हुँ’ गरेर ओंठ लेप्याउनुभयो होला । तैपनि म यो तपाईंहरूलाई नबताई रहन सक्तिनं- कारण यसलाई म बिर्सनै सक्तिनँ । न सम्झने नै सामर्थ्य छ ।
तर मनमा थिचिएर आउने कुनै प्रवाहलाई कुरामा नपोखी शान्ति मिल्दो रहेनछ । मान्छेको स्वभावै हो कि मेरो मात्रै । यसैले पनि म आफ्नो करा नबताई बस्न सक्तिनँ । प्रचार गर्न पनि मलाई मन पर्दैन । तपाईंहरूलाई पनि यो कुरा विश्वासपात्र ठानेर मात्र यति टाढाबाट भए पनि सुनाउने धृष्टता गरेको हुँ । अरू कसैलाई फलानोको ससुराली जाँदा यसो भएथ्यो रे ! भनेर प्रचार नगरिदिनु होला, बिन्ती पनि मेरो यही छ ।
आखिरमा तपाईंहरू पनि (नयाँ ज्वाइँ हुनु भएकाहरू) हतारो गरेर कहिल्यै ससुरालीमा नजानु होला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।