अमृताः तपाईं जिन्दगी र कलालाई अलगअलग सत्य मान्नुहुन्छ कि एउटै ?

इमरोजः मेरो दृष्टिकोणमा आजको माटोमा चिन्तको बिउ रोपेर त्यसलाई भोलिको सौर्य ऊर्जा प्रदान सक्नु कला हो । अर्को व्याख्यामा जिन्दगी एउटा विन्दु हो र कला त्यस विन्दुको विस्तार । जिन्दगी र कला फरकफरक विषय हो भन्ने त प्रश्नै बन्दैन । जिन्दगी धर्ती हो र कला माटोको उर्वरता । यो पनि भन्न सकिन्छ- जिन्दगी पानी र कला त्यसको वहाब हो । हाम्रो प्राचीन दर्शनमा जुन शिव-शक्तिको कल्पना छ; मेरो विचारमा त्यहीँ जिन्दगी र कलाको पनि कल्पना हो । जिन्दगी आँखा हो भने कला दृष्टिकोण हो । मलाई मान्छेको जात पनि उसको कर्म र पेशाले निर्धारण गर्छ जस्तो लाग्छ । मेरो नजरमा एउटा चित्रकारको जात उसको रङ हो । कविको जात उसको अक्षर र संगीतकारको जात उसले सिर्जना गरेको धुन हो । यसरी प्रत्येक व्यक्तिको पेशा उसको जात बन्यो भने इमान नै धर्म हुनेछ ।

अमृताः कला र क्राफ्टको व्याख्या गर्नुनोस् न ?

इमरोजः मेरो विचारमा अनुभवको वैभवशीलता जसमा मात्र कल्पनाको जामना लाग्छ । यही अनुभवको नाम कला हो । त्यसलाई विलौन गर्ने कर्म क्राफ्ट हो । निकै महत्त्वपूर्ण कर्म तर कलाको जामनविना अर्थहीन ।

अमृताः कलामा अचेत इच्छ र चेतन प्रयत्नको स्थान कस्तो हुन्छ ?

इमरोजः अचेत इच्छा बिज हो । मनको माटोको डल्ला फोर्नु, गोडमेल गर्नु, मल हाल्नु, बिज उम्रिएपछि ठीक समयमा पानी हाल्नु, घामको किरण पार्नु, विरुवालाई काटछाट गर्नु र आसपासका झारपात उखेल्नु चेतन प्रयत्न हो ।

अमृताः तपाइँको विचारमा कला आलोचकको कर्म के हो ?

इमरोजः कलाको फलफूलको माली मैले केवल कलाकारलाई मान्छु । कुनै आलोचक त्यसको माली हुन सक्दैन । तर, ऊ एउटा सुन्दर मौसम पक्कै बन्नसक्छ । यो एउटा उदास इतिहास हो । आलोचकहरू सुन्दर मौसम हुनुको सट्टा प्रायः फललाई ठुग्ने जंगली पंक्षी भएका छन् । कतिपय पात खाइदिने कीरा पनि बनेका छन् ।

अमृताः यो जिन्दगीमा कहिले तपाईंले कलियुगको समय अनुभव गर्नुभएको छ ? वा सत्ययुगको ?

इमरोजः आफूलाई मनपरेको मान्छेसँग बीस वर्ष जिउन पाएँ, यही मेरा लागि सत्ययुग हो । सन् १९६० मा जब मैले आफ्नो दुविधाका कारण स्वीकार गरेर पनि अस्वीकार गरेको थिएँ । त्यो समय मेरा लागि कलियुग थियो ।

अमृताः हाम्रो देशको सात वटा पवित्र स्थानलाई सात पुरी भनिन्छ – अयोध्या, मथुरा, माया, काशी, कांची, अवन्ती र द्वारावती । यो सातौं पुर द्वारावती समुद्र किनारमा हुने गर्थ्यो । जुन ठाउँ श्रीकृष्णले देह त्याग गरेपछि सातौं समुद्रमा अलप भएको थियो । हुन त अहिले त्यो द्वारिकाको नामबाट अर्कै ठाउँमा अवस्थित छ । यद्यपि आफ्नो मूल स्थानबाट अलप भइसकेको छ । मेरो अर्को प्रश्न तपाईंको मनको समुद्रमा अलप भएको पुरी जस्तै हो । जसको खोज स्वयं गर्नु छ र त्यो इतिहासलाई आफैं खोज्नु छ ।

इमरोजः यहाँ म कलेक्टिभ मनको कुरा गर्न चाहन्छु । यो मनको समुद्रमा जुन पुरी अलप भयो त्यो मान्छेको धर्मको पुरी हो । त्यो द्वारावती अनेक नामले अनेक स्थानमा अवस्थित छ । तर, कुनै स्थानमा पनि धर्मको आत्मा बस्न सकेन ।आत्मा समुद्रमा अलप भयो । स्थानको स्थापना अन्धो श्रद्धाद्वारा भयो; आँखाले देखिने विश्वासका कारण होइन । धर्मले कहिले आँखाको बलि माग्दैन ।

****

अमृता प्रीतम, साहिर लुधियानवी र इमरोजको त्रिकोणात्मक प्रेम आधुनिक अलिखित प्रेमकथा हो । अमृता प्रीतम र साहिर लुधियानवीले एकअर्कालाई निःस्वार्थ प्रेम गरे । अमृता साहिरले धूमपान गरेर छोडेका ढुटा चुरोट बटुलेर पिउथिँन भने साहिर अमृताले पिएको जुठो कफी कप सम्हालेर राख्थे । उनीहरूको प्रेममा मिलन भएन । यसै सिलसिलामा अमृतालाई बेप्रवाह प्रेम गर्ने अर्का पात्र आए, चित्रकार इमरोज । अमृता र इमरोज ४० वर्षसँगै लिभ इन टुगेदर सम्बन्धमा रहे । अमृतालाई निःस्वार्थ प्रेम गरिरहे । इमरोजले चित्र कोर्दाकोर्दै अमृताको लागि शब्दचित्र पनि कोरे । उनले लेखेका केही टुक्रा कवितालाई अमृताले आफ्नो कृति “खतोँका सफरनामा” मा संग्रहित गरिन् ।

उनी जब जब भेटिन्छिन्
उनमा एउटा अलिखित कविता देख्छु
धेरै चोटि यस कवितालाई लिखित बनाउन खोजेँ
तर अलिखित नै रहन्छ !

*****

तिमी मेरो समाज
म तिम्रो समाज
यो भन्दा पर
छैन कुनै अर्को समाज ।

****

पाइलालाई स्वतन्त्र छाडिदियौ भने
धर्ती तिम्रै हो

पखेटालाई स्वतन्त्र बनाइदियौ भने
आकाश तिम्रै हो ।

******

न कसैसँगको संवादमा कुरा मिल्यो
न सहयात्रीसँगको यात्राले गन्तव्य पुगियो
न कसैसँग साथमै निदाएर जागेँ

तर जब उनी भेटिइन्

मलाई हेरिन् उनले
थाहा छैन, के हेरिन्
मैले हेरेँ उनलाई
थाहा छैन, के हेरेँ

संवाद बिना नै समझदारी बढ्यो
यात्रा बिना नै गन्तव्यमा पुगियो
हामीसँगै निदाएनौँ तर सँगै जाग्यौँ ।

***
म रङहरूसँग खेल्छु
रङहरू मसँग खेल्छ्न्

रङसँग खेल्दाखेल्दै
म पनि रङ बनिदिन्छु
सिर्जित हुने नहुने चिन्ताबाट मुक्त भएर
बेप्रवाह खेल्छु ।

म रङहरूसँग खेल्छु
रङहरू मसँग खेल्छ्न् ।

***
कोरा कागज सफा मनजस्तै हुन्छ
जसमा लेख्न सकिन्छ
आफ्नो हंस
कसैको अंश

अनुवाद: जनक कार्की