मिखाइल नाइमीको जन्म सन् १८८९ मा भएको थियो । उनी मध्यपूर्वी देश लेबनानको समुद्री तट नजिकैको एउटा गरिब किसान परिवारमा जन्मिएका थिए । परिवार ईसाई धर्म मान्थ्यो । स्कूलको उत्कृष्ट विद्यार्थी भएको फलस्वरूप उनले छात्रवृत्ति पाए । त्यसको सहयोगमा १९०६ देखि १९११ सम्म, पाँच वर्ष रुसमा उच्च शिक्षा अध्ययन गरे । त्यसपछि फेरि लेबनान फर्किए । केही महिना त्यहाँ बिताएपछि संयोगवश उनलाई अमेरिका जाने अवसर मिल्यो । थप अध्ययनको लागि उनी अमेरिका गए । त्यहाँ उनको परिचय आफ्नै देशका प्रख्यात लेखक खलिल जिब्रानसँग भयो । जससँग उनले आफ्नो मातृभाषा र अरबी साहित्यलाई नयाँ जीवन दिन गतिशील आन्दोलनको सुरुवात र नेतृत्व गरे । नाइमी १९३२ मा आफ्नो देश फर्के । त्यसपछि आफ्नो बाँकी जीवन त्यहीं बिताए । सन् १९८८ मा उनको मृत्यु भयो ।
नाइमीले १९४६-४७ मा ‘द बुक अफ मिर्दाद’ लेखे । त्यसपछि यसलाई अरबीमा अनुवाद गरे । मूल अंग्रेजी भाषामा पहिलो पटक सन् १९४८ मा लेबनानको राजधानी बेरुतमा प्रकाशित भएको थियो । यसको अरबी अनुवाद सन् १९५२ मा त्यहीं प्रकाशित भएको थियो ।
मिखाइल नाइमीका दुई दर्जनभन्दा बढी पुस्तकहरूमध्ये, पश्चिमी पाठकहरूमाझ यो सबैभन्दा धेरै रुचाइएको पुस्तक हो । नाइमी आफैं पनि यसलाई आफ्नो उत्कृष्ट कृति मान्थे ।
आउनोस्, आजबाट हामी संसारभर प्रख्यात र रूचाइएको पुस्तकको अनुवाद पढौँः
बन्दी फिरन्ते
अल्टर मन्दिर भनेर चिनिने दूधे हिमशृङ्खलाको अग्लो चुचुरोमा मन्दिरका विशाल र उदास भग्नावशेषहरू छन् । त्यो मन्दिर कुनै समय ‘नोआस आर्क’ नामले प्रसिद्ध थियो । परम्परा अनुसार यसको कथा पौराणिक समयको बाढीसँग जोडिएको छ ।
अल्टर मन्दिरको छायामा गर्मी मौसम बिताउने मौका पाएँ । यो डुङ्गासँग धेरै लोककथा जोडिएको पाएँ । तर स्थानीय पहाडी बासिन्दाहरूमा सबैभन्दा लोकप्रिय भएको कथा निम्नानुसार छ:
महाप्रलयको धेरै वर्षपछि नोआ आफ्नो परिवार र अन्य यात्रीसँगै यात्रा गर्दै दूधे हिमालमा पुगेका थिए । त्यहाँ उनीहरूले उर्वर उपत्यका, पानीले भरिपूर्ण मुहान र मनोरम हावापानी भेट्टाए । अन्ततः उनले त्यही बस्ने निर्णय गरे ।
जब नोआले आफ्नो जीवन केही दिन मात्र बाँकी रहेको महसुस गरे, तब उनले आफ्नो छोरा सामलाई बोलाए । उनी झैँ, साम पनि एक होनहार युवक थिए । जसको साथमा निकै अनौठो सपना थियो । उनले छोरालाई भने,
“हेर छोरा ! तिम्रो बुवाको जीवनको यात्रा भरिपूर्ण भएको छ । अब मेरो कर्तव्य लगभग सकिएको छ । तिमी, तिम्रा दाजुभाइहरू, तिम्रा छोराछोरी र तिम्रा सन्तानहरूले शोकपूर्ण उजाड पृथ्वीलाई पुन: नयाँ बनाउनेछौ । ईश्वरले दिएको वचन अनुसार, तिम्रा सन्तानहरू समुद्रको किनारमा फैलिएको बालुवाको कणजस्तै असंख्य हुनेछन् । “यद्यपि यी अन्तिम दिनहरूमा एउटा डर यो छ कि, समयसँगै मानिसहरूले यो बस्ती र यहाँको सम्पदाहरू नष्ट गर्नेछन् । इतिहास भुल्नेछन् । जसको कारणले ठूलो विपत्ति आउनेछ । एक सय पचास दिनसम्म समुन्द्रको भयावह छालहरूमा जुधी जीवन बचाएको डुङ्गा र दृढ विश्वास बिर्सनेछन् । न त तिनीहरूले नयाँ जीवनलाई निरन्तरता दिनेछन् । जुन विश्वासले उनीहरूको जन्म भयो । जसको मदतमा उनीहरू यस संसारमा आएका हुन् । ती सबै भुल्नेछन् ।
“त्यसैले मेरो छोरा, म तिमीलाई यो पहाडको अग्लो चुचुरोमा एउटा मन्दिर बनाउन आदेश दिन्छु । अबदेखि यो चुचुरालाई अल्टर मन्दिर भनिनेछ । यो पनि आदेश दिन्छु कि, त्यो मन्दिर वरिपरि अरू पनि त्यस्तै मन्दिर निर्माण गर । तर त्यो आकारमा निकै सानो हुनेछ । त्यस मन्दिरलाई ‘नाेआको जहाज’ भनिनेछ ।
“त्यो मन्दिरमा म शान्तिको पूजा गर्न चाहन्छु । त्यो मन्दिरको यज्ञमा जुन आगो बाल्नेछु, त्यो अखण्ड ज्वालाको रूपमा निरन्तर जलिरहोस् । त्यो मन्दिर दिन दुःखीको आश्रयस्थल बन्नेछ । साथै त्यहाँ केही सदस्यहरू पनि रहनेछन् । जो नौ जना भन्दा बढी वा कम हुनेछैनन् । उनीहरूलाई ‘डुङ्गाका साथीहरू’ भनिनेछ । तिनीहरूमध्ये कोही मर्दा ईश्वरले तुरुन्तै आफ्नो दूतलाई पठाउनेछन् । उनीहरू मन्दिर छोडेर कतै जाने छैनन् । तर आफ्नो सम्पूर्ण जीवन एकान्तमा बिताउनेछन् । आस्थाको ज्योति “अल्टर मन्दिरको” को प्रतिज्ञा पूर्ण रूपमा पालन गर्नेछन् । मन्दिर सधैंभरि उज्यालो राख्नेछन् । आफू लगायत सम्पूर्ण प्राणी जगतको मार्गदर्शनको लागि ईश्वरसँग प्रार्थना गरिरहनेछन् । उनीहरूको भौतिक आवश्यकताहरू भक्तहरूको दानले पूरा गरिरहनेछन् ।”
आफ्नो बुवाको कुरा ध्यान दिएर सुनेपछि सामले सोधे, “किन नौ जना मात्र सदस्य राख्ने ?”
नोआले सम्झाउँदै भनेँ,
“छोरा ! डुङ्गामा सवारको संख्या नौ जना मात्रै थियो ।”
जब सामले गणना गरे, तब आठ भन्दा बढी संख्या पार गर्न सकेनन् । उसको बुवाआमा, आफै र उनकी पत्नी, उनका दुई दाजुभाइ र उनीहरूका पत्नीहरू । यसमा बुवाको भनाइले उनलाई निकै अचम्ममा पारेको थियो । आफ्नो छोरालाई छक्क परेको देखेर नोआले थप स्पष्ट पारे:
“हेर छोरा ! म तिमीलाई एउटा गहिरो रहस्य बताउँछु । नवौं मानिस गोप्य रूपमा डुङ्गामा चढेको थियो । उसलाई मैले मात्र चिनेको र देखेको थिएँ । ऊ सधैँ मेरो साथमा हुन्थ्यो । ऊ मेरो अगुवा थियो । मलाई यसको बारेमा अरू केही नसोध । तर मन्दिरमा उनको लागि ठाउँ राख्न नबिर्सनु । तिमीले मेरो इच्छा पूरा गर्नुपर्छ ।”
अन्ततः सामले आफ्ना बुवाले दिएका सबै आदेश पूरा गरे ।
जब नोआ आफ्ना पुर्खाहरूसँग पुनर्मिलन भए, तब उनका छोराछोरीहरूले शवलाई डुङ्गाको मन्दिरछेऊ गाडिदिए । त्यसपछि युगौंसम्म यो डुङ्गा अल्टर मन्दिरको नामले परिचित भयो ।
अन्ततः शताब्दीहरू बित्दै गए । नोआको जहाजले बिस्तारै भक्तहरूबाट आवश्यकताभन्दा बढी भेटी असुल्न थाल्यो । फलस्वरूप, जमिन, सुन, चाँदी र गहनाका थुप्रोले डुङ्गा हरेक वर्ष समृद्ध हुँदै गयो ।
केही पुस्ता अघि, जब नौ जना साथीहरू मध्ये एकको भर्खरै मृत्यु भएको थियो, तब एक अपरिचित व्यक्ति डुङ्गाको ढोकामा आए र उक्त समुदायमा सदस्य हुनको निमित्त विनम्र अनुरोध गरे । त्यस डुङ्गामा एउटा पुरानो नियम थियो । जुन कहिल्यै उल्लङ्घन गरिएको थिएन । त्यो नियम थियो, अपरिचित व्यक्तिलाई तुरुन्तै सदस्य स्वीकार नगर्नू । किनकि, उसले डुङ्गामा केही अप्रिय घटना घटाउने सम्भावना हुन्थ्यो ।
तर संयोगवश ! त्यसबेलाको डुङ्गाका अगुवा जिद्दी र कठोर हृदय भएका थिए । नग्न, भोकाएको र शरीर घाउले भरिएको अपरिचित मानिसको रूप उसलाई मन परेन । उसले ती व्यक्तिलाई उक्त समूहको सदस्य हुन योग्य नरहेको बतायो ।
अपरिचित व्यक्तिले पनि आफूलाई सदस्य स्वीकार्न जिद्दी गरिरह्यो । यो देखेर अगुवा यति सम्म रिसायो कि, उसले ती अपरिचितको कठालो समातेर जबर्जस्ती बाहिर निकाल्न कोसिस गर्यो ।
अगुवाको यस्तो रिस देखेर अन्ततः अपरिचितले भन्यो, “कृपया ! मलाई सेवकको रूपमा भएपनि स्वीकार्ननहोस् ।”
त्यसपछि अगुवाले आकाश हेर्दै भन्यो, “हे ईश्वर ! आफ्नो मृतक साथीको सट्टामा कोही साथीलाई यहाँ पठाउनुस् ।”
तर निकै महिना पर्खंदा पनि कोही आएन । यसरी इतिहासकै पहिलो पटक डुङ्गामा आठ जना सहयात्री र एकजना सेवक बस्न थाले ।
सात वर्ष बित्यो । मन्दिर यति धनी भयो कि, कसैले पनि यसको अपार सम्पत्ति अनुमान गर्न सक्दैनथ्यो । चाँडै नै टाढा टाढासम्म फैलिएको गाउँ र जमीन मन्दिरको सम्पत्ति बनेको थियो । यो देखेर अगुवा धेरै खुसी भयो । अन्ततः डुङ्गाको परिवारले सोचे कि, यो सबै अपरिचित व्यक्तिको कारणले भएको हो । बिस्तारै सबैले उक्त अपरीचितलाई भरपूर प्रेम गर्न थाले ।
तर आठौं वर्षको सुरुवातसँगै स्थिति द्रुत गतिमा बदलिन थाल्यो । अहिले सम्म शान्त रहेको समुदायमा कोलाहल मच्चिन थाल्यो । चतुर अगुवाले तुरुन्तै बुझ्यो कि अपरिचित व्यक्ति नै यसको कारण हो । अन्ततः उसले अपरिचितलाई डुङ्गाबाट निकाल्ने निर्णय गर्यो । तर अफसोस ! समय बितिसकेको थियो । अब डुङ्गाका बाँकी सदस्यहरू अपरिचितको कुनै नियम वा तर्क मान्न तयार थिएनन् । दुई वर्षभित्रमा अगुवाले आश्रमको सबै चल-अचल सम्पत्ति बाँडफाँड गरिदियो । मन्दिरका अनगिन्ती भाडावालहरूलाई जग्गाको मालिक बनायो । अन्ततः तेस्रो वर्षमा अपरिचितले मन्दिर छोड्यो ।
यो भन्दा हृदयविदारक कथा के थियो भने, त्यो अपरिचित व्यक्तिले आफ्नो शिरमा श्रापको मुकुट पहिरियो । जसको फलस्वरूप ऊ मन्दिरको एउटा खम्बामा बाँधिएको छ । तसर्थ उसले आजसम्म बोल्न सकेको छैन ।
यो प्रचलित लोककथा हो ।
कहिले दिउँसो त कहिले राति । उजाड र भग्नावशेष भइसकेको उक्त मन्दिरको आँगनमा अझै पनि ऊ पागलजसरी घुमिरहेको छ भनेर मलाई आश्वस्त पार्ने प्रत्यक्षदर्शीको कमी थिएन । तर सत्य तथ्यबारे प्रमाण निकाल्ने कोही थिएनन् । बरु, भन्थे, जब त्यहाँ कोही पुरुष वा महिलाको उपस्थिति हुन्छ, तब ऊ छिट्टै कतै गायब हुन्छ ।
यो कथाले मेरो मनमा छट्पटिको बीज रोप्यो । अल्टर मन्दिर जस्तो सुनसान ठाउँमा रहेको पुरानो आश्रममा वर्षौंदेखि घुमिरहने एक्लो फिरन्तेको कल्पना अथवा उसको छायाले मलाई पछ्याउन छोडेको थिएन । त्यस छायाबाट छुटकारा पाउन असम्भव थियो । ऊ मेरो सपनामा आएर रुन थाल्यो । तलाउ झैं शान्त मनमा ढुङ्गा हान्न थाल्यो । रगत उमाल्न थाल्यो । मासु र हड्डी लुछ्न थाल्यो ।
अन्ततः मैले निर्णय गरें, “म अवश्य पहाड चढ्नेछु ।”
दर्शनढुङ्गाको ढलुवा
पश्चिम दिशामा समुन्द्रतिर मुख फर्काएर उभिएको हजारौं फिट अग्लो शिखरमा एउटा मन्दिर थियो । जसको रूप विशाल, अग्लो र चट्टानीको साथै टाढाबाट हेर्दा चुनौतीपूर्ण र डरलाग्दो देखिन्थ्यो । त्यहाँ पुग्न मलाई दुईवटा बाटो बताइएको थियो । जुन धेरै हदसम्म खतरामुक्त थिए । दुबै बाटो घुमाउरो र साँघुरो थिए । निकै ठाडो भएर चट्टानै चट्टानसँग उभिएका थिए । एउटा बाटो दक्षिणबाट थियो भने अर्को उत्तरबाट । मैले ती मध्ये कुनै बाटो नरोज्ने निर्णय गरें । ती दुईको बीचमा एउटा साँघुरो र समतल ढलुवा देखा पर्यो । जुन शिखरबाट सीधै तल झरेको थियो । त्यो ढलुवा लगभग पहाडको फेदमै पुगेको थियो । ढलुवा चुचुरोमा पुग्ने राजमार्ग जस्तो लाग्यो । त्यसले मलाई रहस्यमय शक्तिको साथ आकर्षित गर्यो । अन्ततः मैले निर्णय गरे कि अब यो बाटो मेरो हुनेछ ।
त्यहाँ उपस्थित स्थानीय पर्वतारोहीहरू मध्ये एक जनालाई मेरो दृढ निर्णय सुनाएँ । तत्कालै उसले मलाई दुई चम्किला आँखाले हेर्यो । आफ्नो हात बाँधी आतङ्कित हुँदै भन्यो,
“दर्शनढुङ्गाको ढलुवा ? आफ्नो जीवनलाई यति सस्तो ठानेर गुमाउने मूर्ख नबन । तिमी भन्दा पहिले धेरैले यो पहाड चढ्न खोजेका थिए । तर कोही पनि त्यहाँ पुग्न सकेका छैनन् । त्यहाँ पुगेर तिमीलाई कथा सुनाउन कोही पनि फर्केका छैनन् । दर्शनढुङ्गाको ढलुवा ? कहिल्यै, कहिल्यै !”
उसले मलाई पहाड आरोहणमा सहयोग गरिदिने अनुरोध गर्यो । तर मैले विनम्रतापूर्वक उसको सहयोग लिन अस्वीकार गरेँ । उसको आतङ्कले मलाई किन विपरीत असर गर्यो ? म त्यसको व्याख्या गर्न सक्दिनँ । मलाई रोक्नुको सट्टा, उहाँको त्रासले अझ उत्तेजित बनायो । मेरो दृढ संकल्पलाई पहिले भन्दा निकै उग्र बनायो ।
अँध्यारो रात बिहानीमा परिणत हुँदै थियो । रातको सपनालाई परेलीमा नचाउँदै लट्ठी उठाएँ । सातवटा रोटी लिएर दर्शनढुङ्गाको ढलुवातिर लागेँ । मरिसकेको रातको सुस्त अन्धकार, जन्मिदै गरेको मुटुको नव धड्कन, बन्दी भिक्षुको रहस्य सामना गर्ने हृदयस्पर्शी आतुरता, र आफैंबाट मुक्त हुने झनै ठूलो आकांक्षा, क्षणभरको लागि मात्रै भए पनि खुब उत्साहजनक थिए । यी सबैले मेरो खुट्टामा पखेटा हालेर रगतमा अद्भुत उर्जा भर्दै थिए ।
हृदयमा गीत र आत्मामा दृढ संकल्प लिएर यात्रा सुरु गरेँ । लामो र रमाइलो यात्रापछि पहाडको फेदमा पुगेँ । आँखाले उसको उचाइ नाप्ने प्रयास गरेँ । तर गाउँदै गरेको गीत अचानक घाँटीमा अड्कियो । किनकि, टाढाबाट हेर्दा सीधा, समतल खाटजस्तै देखिएको बाटो अहिले चौडा, अग्लो र अजंगको भएर उभिएको थियो । दायाँ, बायाँ र माथि जहाँसम्म मेरो दृष्टि पुगेको थियो, त्यहाँ विभिन्न आकारका दर्शनढुङ्गाका टुक्राहरू बाहेक केही देखिएन । सबैभन्दा मसिनो टुक्राहरू पनि तिखो सुई वा चक्कु जस्तै धारिलो थिए । त्यहाँ जीवनको कुनै निशाना थिएन । पूरै दृश्यमा यस्तो भयानक छाया थियो कि ? मेरो आत्मा बेस्सरी काँप्यो । चुचुरोको एक झलक पनि देखिएन । तैपनि म हिम्मत हार्नेवाला थिइनँ ।
पहाड नचढ्नु भनी चेतावनी दिने असल मानिसको त्रसित आँखाले मलाई थप ऊर्जा दिइरहेको थियो । तैपनि आत्मविश्वास जुटाएर आरोहण गर्न थालेँ । अन्ततः चाँडै बुझेँ कि अब मेरो पाइला यो भन्दा अघि बढ्न सक्दैन । दर्शनढुङ्गाका टुक्राहरू मेरो पैतालामुनिबाट निरन्तर तलतिर चिप्लिँदै थिए । मृत्युको मुखमा पुगेझैं सास फेर्न गाह्रो भइरहेको थियो । घाँटीबाट लाखौं मानिस रोएजस्तो भयानक आवाज निस्किरहेको थियो । थोरै अघि बढ्नको लागि चिप्लो दर्शनढुङ्गामा मेरा हात, घुँडा र औंलाहरू समेत जोत्नुपर्ने अवस्था थियो । त्यसबेला लोखर्केजस्तै फुर्तिलो हुन सकूँ भनेर खुब कामना गरेको थिएँ ।
आराम नगरी कीरा झैँ माथितिर हिँडे । गन्तव्यमा पुग्नुअघि नै रात पर्छ कि भन्ने डर थियो । फर्कने विचार मेरो मनबाट टाढिएको थियो ।
दिन लगभग सकिँदै थियो । त्यसपछि मलाई असाध्यै भोक लाग्यो । त्यतिन्जेल पनि केही खानपिनको सोचमा थिइनँ । रुमालमा बेरेर कम्मरमा बाँधेका रोटीहरू त्यतिबेला यति मूल्यवान थिए कि, तिनको मूल्य अनुमान गर्न सकिँदैन । मैले भर्खर रुमाल खोलेको थिएँ । रोटीको पहिलो टुक्रा लिन लाग्दा घण्टी र बाँसुरीको पीडादायी आवाज मेरो कानमा ठोक्कियो । तीखो दर्शनढुङ्गारूले भरिएको उजाड ठाउँमा यो भन्दा डरलाग्दो कुरा के हुन सक्छ !
चुचुरोमा, घाँटीमा घण्टी झुण्डिएको एउटा ठूलो कालो बाख्रा देखेँ । ऊ बाख्राहरूको अगुवा थियो । केही क्षेणमा नै उनीहरूले मलाई घेरे । दर्शनढुङ्गा तिनीहरूको खुट्टामुनिबाट पनि मेरो खुट्टामुनिबाट झैँ आवाज निकाल्दै तल खसिरहेका थिए । तर तिनीहरूको आवाज डरलाग्दो थिएन । कालो बाख्राको नेतृत्वमा बाँकी सबै मेरो रोटीतर्फ हानिन्छन् । त्यति नै बेला गोठालो देखा पर्छ । ऊ अचानक कहाँबाट अयो ? पत्तो पाउन सकिनँ । ऊ मेरो छेउमा उभिएको थियो । नत्र ती बाख्राले मेरो हातबाट रोटी खोसेर लैजान्थे ।
ऊ बलियो र जवान युवा थियो । कम्मरमा बेरिएको छाला नै उसको लुगा थियो । हातको बाँसुरी नै उसको एकमात्र हतियार थियो ।
उसले मुस्कुराउदै मधुर स्वरमा भन्यो, “यी बाख्राको बानी बिग्रेको छ । मसँग जहिले पनि रोटी हुन्छ । म सधैँ यिनलाई खुवाउँछु । तर रोटी खाने कुनै प्राणीले पन्ध्र दिन भन्दा बढी समय बिताएका छैनन् ।” त्यसपछि घण्टी बाँधिएको बाख्रातिर फर्केर उसले भन्यो, “तिमीले देख्यौ ? मेरो वफादार बाख्रा ! भाग्यले हाम्रा आवश्यकताहरू कसरी पूरा गर्छ ? भाग्यलाई कहिल्यै दोष नदिनु ।”
यति भन्दै उसले झुकेर एउटा रोटी उठायो । ऊ भोको छ भन्ने सोचेर नम्र र पूर्ण इमानदारीका साथ भनें,
“हामी यो रोटी बाँडेर खान्छौँ । यी रोटीहरू हामी दुवैका लागि पर्याप्त छन् । तिम्रो अगुवा बाख्राको लागि पनि ।”
म छक्क परेँ । जब उसले बाख्राहरूलाई एउटा रोटी दियो । त्यसपछि दोस्रो, त्यसपछि तेस्रो र सातौँ । यसरी सबै रोटी बाख्रालाई खुवायो । यो देखेर मलाई अतिनै रिस उठ्यो । छाती फुट्ला झैँ भयो । तैपनि आफ्नो असहायता बुझेर रिसलाई शान्त पारेँ । अचम्मित आँखाले गोठालालाई हेर्दै केही नम्र भई हप्काएँ ।
“तिमीले भोकाएको मानिसको रोटी आफ्ना बाख्राहरूलाई खुवाएका छौ । के अब तिमी उसलाई आफ्नो बाख्राको अलिकति दूध पिउन दिँदैनौ ?”
“मेरो बाख्राको दूध मूर्खहरूका लागि विष हो । बाख्राले मूर्खको ज्यान लिएको अपराध स्वीकार्न चाहन्नँ ।”
“तर म कसरी मूर्ख भएँ ?”
“किनकि, तिमी सातवटा रोटी लिएर सात जन्मको यात्रामा हिड्यौँ ।”
त्यसोभए के म सात हजार रोटी लिएर हिँड्नुपर्थ्यो र ?”
“होइन, एउटा पनि होइन ।”
“के तिमी विना तयारी यति लामो यात्रा गर्न सिफारिस गर्दै छौ ?”
“जुन बाटोमा यात्रीले खाना पाउँदैन, त्यो बाटो हिँड्नु उपयुक्त हुँदैन ।”
“के तिमी मलाई रोटीको सट्टा ढुङ्गाको टुक्रा र पानीको सट्टा आफ्नै पसिना पिउन अग्रह गर्दैछौ ?”
“खानलाई तिम्रो मासु पर्याप्त छ । पिउनलाई तिम्रो रगत पर्याप्त छ । अनि यात्राको लागि बाटो पनि तयार छ ।”
“तिमीले मेरो खिल्ली उडाइरहेका छौ । तैपनि बदलामा म तिम्रो खिसी गर्न चाहन्नँ । जसले मेरो रोटी खान्छ, म भोकले मरे पनि त्यो बाँचोस् । हेर, मैले यो पहाड पार गर्नुपर्छ । मेरो यात्रा जारी राख्न देऊ । अझै पनि बाटो निकै लामो छ । के मलाई यस यात्रामा सघाउँदैनौ ?”
“तिमी विस्मृतिको धेरै नजिक छौ ।”
यति भन्दै बाँसुरी ओठमा राखेर अनौठो धुन बजाउँदै ऊ हिँड्यो । तलबाट केही गुनासो आएको जस्तो भान भयो । अगुवा बाख्राले उसलाई पछ्यायो र बाँकी सबै उसको पछि लागे । धेरै बेरसम्म ढुङ्गा खसेको र बाँसुरीको पीडादायी धुनमा बाख्राको स्वर पनि सुनिरहेँ ।
मैले भोक पूरै बिर्सिसकेको थिएँ । गोठालाले नष्ट गरेको दृढ संकल्पलाई फेरि कदर गर्न थालेँ । राति दर्शनढुङ्गाको अक्रमनबाट बच्न आफ्नो लागि सुरक्षित ठाउँ खोज्नु पर्थ्यो । जहाँ बसेर अफ्नो थाकेको ज्यानलाइ अराम दिन सकूँ । त्यसैले फेरि पाइला लम्काउन थालेँ । जब मैले अफू भएठाउँबाट तल हेरेँ, तब मलाई विश्वास गर्न गाह्रो भयो कि म निकै उचाइमा पुगेको थिएँ ।
अन्ततः ढलुवाको तल्लो भाग देखिन छोड्यो । जबकि शिखर मेरो छेउमा लगभग अइसकेको थियो ।
साँझसम्ममा गुफाजस्तो देखिने ठाउँमा पुगेँ । गुफा एउटा गहिरो खाडलको छेउमा थियो । जसको तल्लो भागमा कालो छायाहरू घुमिरहेका थिए । तैपनि यसैलाई रातको लागि आफ्नो वासस्थान बनाउने निर्णय गरेँ ।
मेरो जुत्ता च्यातिएको थियो । खुट्टामा पनि प्रशस्तै घाउ भएको थियो । जहाँ रगतको दागै दाग थिए । दाग सफा गर्न खोजेँ, तर सकिनँ । अन्ततः महसुस गरेँ कि मेरो खुट्टाको छालामा दागहरू जुका टाँसिए झैँ टाँसिएका थिए । हत्केलामा पनि रगतका धारहरू थिए । नङ सुक्खा रूखबाट उखेलिएका बोक्रा जस्तै भएका थिए । लुगा पनि धुजा धुजा भै फाटेका थिए । निद्राले टाउको भारी भएको थियो । अरू पनि थुप्रै समस्याहरू उत्पन्न भएका थिए ।
अन्ततः मलाई थाहा भएन कि, म कति समय सुतेँ ? केही क्षण, एक घण्टा वा अनन्तता । तर, बलपूर्वक कसैले मेरो कपाल तानेको महसुस गर्दै उठेर बसेँ । अँखा अलि अलि खुलेको थियो । एउटी युवती हातमा मधुरो लालटिन लिएर मेरो अगाडि उभिएकी देखेँ । उनी पूरै नग्न थिइन् । उनको शरीर र अनुहार निकै कुरूप थियो । मेरो ज्याकेट तान्दै फेरि अर्की वृद्ध महिला उभिइन् । ती पनि युवती झैँ कुरूप थिइन् । अन्ततः चिसोले गर्दा मेरो शरीर बेस्सरी काँप्न थाल्यो ।
ज्याकेट तान्दै बूढीले भनिरहेकी थिइन्, “हेर, मेरो प्यारो छोरा ! भाग्यले हाम्रो आवश्यकता कसरी पूरा गर्छ ? अफ्नो भाग्यप्रति कहिल्यै निराश नहुनु ।”
मेरो जिब्रो ढुङ्गामा परिणत भयो । विरोध गर्नु त परैको कुरा । बोल्ने प्रयास पनि गरिनँ । मेरो ढृड इच्छालाई बोलाउन थालेँ । तर उसले पनि छोडेको जस्तो लाग्यो । ती बूढी महिलाको अगाडि निकै शक्तिहीन भएँ । तैपनि चुपचाप बसेँ । यदि मैले चाहेको भए, ती दुवैलाई त्यहाबाट पन्छाउने थिएँ । तर त्यसको लागि न त चाहना नै थियो । न त तिनलाई पन्छाउने शक्ति नै ।
ज्याकेटले मात्र चित्त नबुझेर ती महिलाले मेरो बाँकी लुगा पनि निकाल्न थालिन् । यतिसम्म कि मेरो शरीरमा लुगाको एक टुक्रा पनि बाँकी रहेन । मेरो लुगा फुकाल्दा एक-एक टुक्रा गर्दै युवतीलाई दिन्थिन् । र युवती लुगा लगाउथी । गुफाको पर्खालमा टाँसिएको मेरो नग्न शरीरको प्रतिबिम्ब र दुई महिलाको कुरुप छायाले ममा डर र घृणा भरिदियो । म केही नबुझेर उनीहरूलाई हेरिरहेँ । केही नबोली बसिरहेँ । तैपनि अन्ततः बोल्नुपर्ने अवस्था आयो । त्यो अप्ठ्यारो अवस्थामा मसँग भएको एकमात्र हतियार भनेको बोली नै थियो । अन्तमा मुख खोलेर भनेँ,
“हे बूढी ! तिमीले आफ्नो सबै लाज गुमाएकी छौ भन्ने तिमीलाई लागेन ? तिमी जस्तो निर्लज्ज बोक्सीको अगाडि पनि मलाई आफ्नो नाङ्गोपन देखेर लाज लागेको छ । तर यी युवतीको निर्दोषताको अगाडि मेरो लाजको कुनै अर्थ छैन ।”
“जसरी यसले तिम्रो लाज ढाक्छ, त्यसैगरी तिम्रो निर्दोषतालाई पनि ढाक्छ ।”
“एक युवतीलाई किन थाकेको एक युवाको च्यातिएको लुगा चाहिन्छ । तैपनि पहाडको अनकन्टार ठाउँमा हराएको मान्छेको । फेरि यस्तो अँध्यारो रातमा !”
“हुनसक्छ, उसको लाज कम गर्नको लागि । सायद आफूलाई न्यानो राख्नको लागि ।” चिसोले कुरुप युवतीको दाँत बजिरहेको थियो ।
“तर जब चिसोले मेरो दाँत बज्न थाल्छ, तब म भन्न थाल्छु,
अब यो जाडो कटाउने ? तिम्रो मनमा अलिकति पनि दया छैन ? मेरो लुगा नै अहिलेको बाँच्ने एकमात्र माध्यम हो ।”
“थोरै संचय – थोरै बन्धन
धेरै संचय – धेरै बन्धन
थोरै बाध्यता – धेरै मूल्य
आऊ मेरो छोरा
हामीले जान्यौँ ।”
वृद्धको हात समातेर हिँड्न लाग्दा मेरो मनमा हजारौं प्रश्न उब्जिए । तत्काल उनलाई सोधे । तर मेरो मनमा एउटा बाहेक अरू प्रश्न आउन सकेन ।
“हे बूढी अमा ! म तिमीसँग जान्नँ । शिखर पुग्ने मेरो यात्रा अझै बाँकी छ ।”
“तिमी कालो खाडलको छेउमा छौ ।”
उनीहरूको अनौठो छाया लालटिनको मधुरो प्रकाशले एक क्षणको लागि मतिर फर्कायो । गुफाबाट बाहिर आउने बित्तिकै ती अँध्यारोमा गायब भए ।
थाहा छैन, कताबाट चिसो शीतलहर मतिर आयो । गुफाको पर्खालमा हिउँ परेझै लाग्यो । कतैबाट हतार हतार सास फेरेजस्तो अवाज अइरहेको थियो । मेरा दाँत बाँधिन थाले । सँगै पहिलेदेखि नै उथलपुथल भइरहेका विचारहरू, जस्तो कि अहाराको लागि पहाड चढेका बाख्राहरू, खिल्ली उडाउने गोठालो, ती वृद्ध र युवती, मेरो नग्न शरीर, घाउले भरिएको पाइताला, रित्तो पेट, चिसो अनि सुनसान गुफा । र यस्तो डरलाग्दो खाडलको किनार ! अहो ! के म मेरो गन्तव्यको नजिक थिएँ ? के म त्यहाँ पुग्न सक्छु ? के यो रातको अन्त्य हुनेछ ?
कुकुरको भुकाइसँगै केही उज्यालो अफूतिर अउँदै गरेको देखेपछि भने मन केही शान्त भयो ।
“तिमीले देख्यौ प्रिय ! भाग्यले हाम्रो आवश्यकताहरू कसरी पूरा गर्छ ? भाग्यलाई कहिल्यै दोष नलगाउनु ।”
यो निकै वृद्ध मानिसको आवाज थियो । जसको दाह्री लामो थियो । कम्मर झुकेको थियो । घुँडा काँपिरहेका थिए । उसले आफूजस्तै बूढी महिलासँग कुरा गरिरहेको थियो । उनको पनि कम्मर झुकेको थियो । घुँडा काँपिरहेका थिए । मेरो उपस्थितिमा ध्यान नदिई, ऊ धोद्रो स्वरमा बोल्न थाल्यो । जुन उसको घाँटीबाट निकै कठिनाइका साथ निस्किए जस्तो देखिन्थ्यो ।
“हाम्रो प्रेमको लागि एउटा भव्य विवाह कक्ष, र तिमीले गुमाएकालाई अन्तै सार्नको लागि एउटा अद्भुत साथी चाहिएको थियो । तिम्रा लागि हामीसँग प्रशस्तै कर्मचारी छन् । उनीहरूको साथमा तिमीले फेरि कहिल्यै ठेस खानेछैनौ, मेरो प्रिय !” यति भन्दै उसले मेरो हात समायो र बिस्तारै उठायो । आफ्नो जीर्ण हातले प्रेमपूर्वक मेरो काँध थपथपाउन थाल्यो । त्यसपछि आफ्नो साथीसँग कुरा गर्दै उसले भन्यो,
“यो अपरिचित अहिले नै हामीबाट छुट्नेछ । प्रिय ! अनि हामी एकान्त रातमा हाम्रो मीठो सपनामा हराउनेछौँ ।”
यो कथन मलाई एक आदेशको रूपमा आयो । जसको मसँग अवज्ञा गर्ने शक्ति थिएन । विशेष गरी जब उसको कुकुर म तर्फ बढ्यो, तब मलाई डरले आक्रमण गर्यो । मानौं ऊ मालिकको आज्ञा पालन गर्न आउँदैछ । सारा दृश्यले मलाई आतंकित बनायो । मैले होश गुमेझैं गरी हेरिरहें । अन्ततः अत्तालिँदै उठें र गुफाको प्रवेशद्वारतिर लागें । साथसाथै, आफ्नो रक्षाको लागि दृढताका साथ बोल्ने प्रयास गरेँ ।
“तिमीले मेरो लट्ठी लिएका छौ । तिमी यति निर्दयी हुनेछौ कि, यो रातको मेरो आश्रयस्थल गुफा पनि खोस्नेछौ ?”
“धन्य हुन् तिनीहरू
जो सहाराविना पनि
ठेस खाँदैनन्
घरबारविहीन मानिसहरू
जसको आफ्नै घर छ
ठेस लाग्नेहरू पनि
नदी जस्तै
निरन्तर हिँड्नु पर्छ
किनारहरूसँग
जो घरविहिन छन्
हामीलाई जस्तै
उनीहरूलाई पनि घर चाहिन्छ ।”
यसरी तिनीहरूले सँगै गाउन थाले । छिनमै आफ्नो ओछ्यान तयार गरे । खाल्डा खुल्डी परेको ठाउँ खनेर समतल बनाए । तर यता मेरो हालत साह्रै नाजुक हुँदै थियो । अन्ततः साह्रै निराश भएर भनेँ,
“हेर मेरा हातहरू, मेरा खुट्टाहरू हेर । म यो उजाड ढलुवामा हराएको फिरन्ते हुँ । यहाँ आफ्नै रगतले पाइतालाको छाप लगाउँदै आएको छु । यो डरलाग्दो पहाडबारे तिमीलाई धेरै जानकारी छ । यहाँबाट एक इन्च नजिकको वस्तु पनि देख्न सकिदैन । कर्मको फल भोग्न मलाई अलिकति पनि डर छैन । यदि तिमी मलाई गुफामा रात बिताउन दिँदैनौ भने, कम्तीमा तिम्रो लालटिन त देऊ ।”
“प्रेम अपरिहार्य होला
तर तिमीलाई लालटिन दिइने छैन
प्रेम गर र हेर
लालटिन बाल र बाँच
जब रात मर्छ,
तब दिनले छाडेर जान्छ
धर्ती मरेपछि
यात्रुहरूको के हाल हुन्छ ?
त्यसपछि के होला ?
जसले यसबारे सोच्न सक्छ ?”
असाध्यै असहाय महसुस गरी बिन्ती गर्ने निर्णय गरेँ । यद्यपि हरेक पल मलाई केही अनौठो महसुस भइरहेको थियो । किनकि, कुनै रहस्यमय शक्तिले मलाई बाहिर धकेलिरहेको थियो ।
“हे असल वृद्ध पुरुष ! हे असल वृद्ध नारी ! म चिसोले लाटो र थकानले थकित भएँ । तैपनि म तिम्रो आनन्दमा बाधा गर्ने छैन । मैले पनि एक पटक कचौरामा प्रेम पिएको छु । मेरो लठ्ठी र न्यानो गुफा, जुन तिमीले आफ्नो विवाहको कोठा भनी रोजेका छौ, त्यो तिम्रो लागि तिमीसँग नै रहन दिनेछु । तर बदलामा म तिमीबाट एउटा सानो कुरा पक्कै चाहन्छु । मलाई तिम्रो लालटिनको उज्यालोबाट वञ्चित गर्दा तिमी पनि त्यति दयालु हुने छैनौ ? मलाई यो गुफाबाट निकालेर सगरमाथाको बाटो देखाउनु । किनकि, मैले दिशाको बोध र सन्तुलन पूरै गुमाएँ । कति उचाइमा पुगेँ र कति उचाइमा आरोहण गर्न बाँकी छ ? मलाई थाहा छैन ।”
मेरो अनुरोधलाई वास्ता नगरी उसले फेरि गाउँन थाल्यो,
“वास्तवमा
उचाइ सधैं समतल हुन्छ
चाँडो सधैं ढिलो हुन्छ
अत्यन्त संवेदनशील व्यक्ति वेहोश हुन्छ
बोलिरहने मौन हुन्छ
ज्वार र भाटा एउटै छालका दुई रूप हुन्
जसको कोही मार्गदर्शक हुँदैन
मात्र उसँग असल मार्गदर्शक हुन्छ
धेरै ठूलो नै धेरै सानो हुन्छ
सबै थोक दिनेसँग नै सबै थोक हुन्छ
र त्यो लुटिएको हुन्छ ।”
फेरि प्रयास जारी गर्दै उनको प्रार्थना गरेँ । म गुफाबाट बाहिर आउँदा कुन दिशाको सामना गर्नुपर्छ । पहिलो पाइलामै मृत्यु मलाई पर्खिरहेको हुन सक्छ । म अहिले नै मर्न चाहन्न । लामो सास फेर्दै म उसको जवाफको लागि पर्खिरहेछु । तर झन् रहस्यमय गीतको अर्को आवाज आयो । जसले मलाई पहिलेभन्दा झनै अन्योल र बेचैन बनायो ।
“चट्टानको शिर कडा र उँचो छ
शून्यको काख नरम र अथाह छ
सिंह र गोब्रे कीरा
मन्दिर र इन्धन
खरायो र चिप्ले कीरा
छेपारो र चील
सबै एउटै खाल्डोमा सुत्नु पर्छ
एउटै खाडल
उही खजाना
मृत्युले मात्र यसको क्षतिपूर्ति दिन सक्छ
तल जस्तै माथि पनि
बाँच्नको लागि मर
वा मर्नको लागि बाँच ।”
गुफाबाट हात र घुँडा टेकेर निस्कने बित्तिकै लालटिनको उज्यालो बाहिर निस्कियो । मलाई बाहिर निस्कन सहयोग गर्न खोजें झैँ कुकुर चुपचाप मेरो पछि लाग्दै थियो । त्यहाँ यति अँध्यारो थियो कि, त्यसको कल्पनै नगरौँ । त्यहाँ एक क्षण पनि बस्न सकिनँ । कुकुरले मलाई यो कुरामा अघिनै विश्वस्त पारेको थियो ।
पहिलो हिचकिचाहट कदम । दोस्रो पनि हिचकिचाहट नै । तेस्रो कदममा भने मेरो खुट्टा मुनिबाट पहाड एकाएक खस्यो जस्तो लाग्यो । त्यस समय आफूलाई अन्धकारको समुन्द्री आँधीबेहरीमा फसेको पाएँ । जसले गर्दा मेरो आत्मा शरीरबाट छुट्टियो । शरीर द्रुत गतिमा तल-माथि पछारिन थाल्यो ।
जब म कालो खाडलको शून्यतामा घुमिरहेको थिएँ, तब मेरो मनमा नाच्न थालेको अन्तिम दृश्य भूतझै कुरुप ती वृद्ध महिलाको थियो । जब मेरो सास मेरो नाकभित्रै थुनिन थाल्यो, तब मैले गुनगुनाएको अन्तिम शब्दहरू यस्ता थिए,
“बाँच्नको लागि मर, वा मर्नको लागि बाँच ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।