रसियाली महाकवि अलेक्जान्डर सेर्गेएभिच पुश्किन २६ मे १७९९ का दिन मस्कोको एक कुलीन परिवारमा जन्मेका थिए । प्रारम्भमा उनले आफ्नै घरमा लेखपढ गर्न सिके र फ्रान्सेली भाषाको अध्ययन गरे । १५ वर्षको उमेरमा उनको पहिलो कविता प्रकाशित भएको थियो । १८१७ मा उनी सरकारी सेवामा नियुक्त भए । रुस्लान र ल्युदमिला (Ruslan and Lyudmila, 1820) नाउँको रोमान्सेली कविताबाट उनी सफल भए । १८२२ मा ककेससको कैदी (Prisoner of the Caucasus), १८२६ मा बाख्चिसेरीको फोहरा (Fountain of Bakhchiseri) र १८२७ मा जिगानी (Tzigani) जस्ता उनका कविताहरू प्रकाशित भए ।

उनी स्वतन्त्रताको बिगुल फुक्ने कविताहरू रचना गर्थे । ग्र्याजुएसनपछि उनले आफ्नो विवादास्पद कविता ओड टु लिबर्टी (Ode to Liberty) वाचन गर्दा १८२४ मा पुश्किनलाई दक्षिण रुसमा निर्वासित गरियो । जारशाहीको कठोर निगरानीमा पनि उनले बोरिस गोदुनोभ (Boris Godunov) नाउँको प्रसिद्ध नाटक लेखे र सन् १८२५ देखि १८३२ सम्म कवितात्मक शैलीमा लेखिएको युजीन ओनेगिन नाउँको उनको उपन्यास धारावाहिक रूपमा प्रकाशित भयो ।

सन् १८२६ मा उनी मस्को फर्के र आफूलाई जार सरकारको सामुन्ने विद्रोहीको पङ्क्तिमा अघि लाग्ने घोषणा गरे । आफ्नो नियन्त्रणमा राख्न जार सरकारले उनलाई एउटा सानो नोकरीको व्यवस्था गरिदियो, तर त्यसलाई उनले आफ्नो अपमान सम्झी अस्वीकार गरे ।

सन् १८३१ मा नतालिया भन्ने युवतीसँग पुश्किनको विवाह भयो । नतालिया मोजमज्जा गर्न र रमाइलो जीवन व्यतीत गर्न चाहन्थी । राष्ट्रवादी कवि पुश्किनलाई यसको नराम्रो मानसिक असर पर्‍यो, फलस्वरूप उनको वैवाहिक जीवन सुखमय हुन सकेन । आखिर नतालिया एकजना फ्रान्सेली अधिकारीसँग सल्की । आफ्नो आत्मसम्मानको सुरक्षाको निम्ति पुश्किनले त्यस अधिकारीसँग तरबारको द्वन्द्व युद्ध (Duel) गर्नुपर्‍यो । यस युद्धमा उनी नराम्रोसँग घाइते भए र त्यसको दुई दिनपछि २९ जनवरी, १८३७ का दिन सन्त पेतेर्सबुर्गमा उनको देहान्त भयो । यसरी रसियाली भाषा र आधुनिक साहित्यका प्रवर्तक पुश्किनको अल्पायु मै मृत्यु भयो । निम्नलिखित उनका प्रमुख कृति हुन् :

१. एउगेने ओनेजिन (Eugene Onegin, 1823-31), २. बोरिस गोदुनोभ (Boris Godunov, 1826), ३. पुगाचेभको कान्तिको इतिहास (History of the Revolution of Pugachev, 1833), ४. कप्तानकी छोरी (Daughter of the Commandant), ५. गद्य कविताहरू (Prose Tales), र ६. जिप्सी (Gypsy)। जिप्सी कृष्णप्रकाश श्रेष्ठद्वारा नेपालीमा पनि अनूदित छ ।