कला अभिव्यक्ति र सौन्दर्य प्रस्तुतिको एक सशक्त माध्यम हो । दृष्यको सुन्दरता होस् वा भावना वा विचारको, कलाले दृष्यद्वारा आफ्ना स्वाभाव र भावना सहज रुपमा प्रस्तुत गर्ने गर्दछ । कला विचार र भावना सम्मिलित एक माध्यम हो । विश्व परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला) अन्य कलाभन्दा जेठो, कलात्मक, बौद्धिक र गहन रुपमा रुपाकृति भएको भावको रुपमा बुझिन्छ । चित्रकला विश्व भाषा हो किनकि यसलाई बुझ्न र बुझाउन भाषाको आवश्यक पर्दैन । यो आफैँमा ध्वनि र भाषाको एकमुष्ठता हो, जसको दृष्यावलोकनबाटै वाह्य र अन्तरनिहीत सुन्दरतालाई दर्शकले सहज रुपमा बुझ्न सक्छन्, जुन धर्म, संस्कृति, संस्कार, जनजाति, प्रकृति, मनको भावना, प्रयोगवादी अवधारणा र विचारको उद्वेगसँग जोडिएको वा एकाकार भएको हुन्छ । समष्टिगत रुपमा यस विधालाई वर्गीकरण गर्नुपर्दा, धेरै स्वरुपमा देखा पर्ने गर्दछन् । जस्तो चित्रकला, मूर्तिकला, काष्ठकला, स्थापत्यकला आदि आदि ।

कला इतिहासमा समय समयमा विश्व प्रशिद्ध कलाकारहरुले स्थापित गरेका थुप्रै मान्यताहरू विजारोपण भएका छन् । कला शैली र धारणाहरू उत्पति भएका छन् । जसको प्रचार र पहुँच अझै पनि जनमानससम्म पुग्न सकिरहेको छैन् । जसलाई पु-याउने महत्त्वपूर्ण भूमिका कला लेखक र कला समीक्षकको हातमा रहेको हुन्छ । कलाकारले त आफ्नो सुर, गति र क्षमताले कला सिर्जना गरिरहेका हुन्छन् । तर त्यसलाई जनमानससम्म पु-याउने दायित्व लेखक वर्गको काँधमा हुने गर्दछ । कला लेखक र समीक्षकहरू कलाकार, कलाकृति र समाजका कडी हुन् । जसको निष्पक्ष कला लेखकीय अभ्यासले सर्वसाधारण जनमानसमा कलाचेतना जागृत गराउने लक्ष्यमा न्याय हुन्छ ।

नेपालमा लेखकीय अभ्यासबाट कलाचेतना जागृत गराउने थोरै कला लेखक, समीक्षकहरू छन् जसलाई औंलामा गन्न सकिन्छ । विगतका दिनदेखि अहिलेसम्म हेर्दा नेपालमा कलाकारहरू निकै बढेका देखिन्छन् । तर कलाकारको तुलनामा कला लेखकहरू, कला समीक्षकहरू अनुपातका दृष्टिमा रत्तिभर बढेको पाइँदैन । बरु झन् भन्दा झन् विलय हुँदै जाँदै छन् । हिजोको दिनमा जति कलामा कलम चलाउनेहरू थिए, आज त्यति छैनन् भन्दा सायद गलत नहोला । किनकि हिजो दिनमा अन्य विधाका लेखकहरूले पनि कलाभित्र कलम चलाएको पाइन्थ्यो तर अचेल शून्य छ । यद्यपि एकाध कला लेखकहरू नबढेका त होइनन् त तर ती नगन्य छन् । त्यसैले आज नेपाली कलाक्षेत्रमा कला लेखकहरूको धेरै आवश्यकता खट्किएको छ । नेपाली कला लेखकको सन्दर्भ उप्काउँदा, हिजोदेखि आजसम्मका कला लेखक, समीक्षकहरूको कुरा आउने गर्दछन् । हिजोको समयमा नाम चलेका र ख्यातिको उचाई छोएका कला लेखक समीक्षकहरु सतहमा थिए । जस्तो नारायणबहादुर सिंह, लैन सिं वाङ्देल, मनुजबाबु मिश्र, सुरेन्द्रराज भट्टराई आदि । यी कला लेखकहरूलाई नेपाली कलाक्षेत्रले कहिल्यै भुल्न सक्दैनन् । जसको सम्झना गर्दैमा आजका कलालेखकहरूको छाती गर्वले ढक्क फुल्छ । यस पंक्तिमा मैले नेपालका कलाकार एवं दिवंगत भइसक्नु भएका कलालेखक सुरेन्द्रराज भट्टराईको सन्दर्भलाई राख्न खोजेको छु । भट्टराई यस्ता प्रतिभा थिए, जसले नेपाली कला र कला समीक्षाको क्षेत्रमा उल्लेख्य योगदान दिएका थिए ।

वि.स. २०६४ माघ २१ गते प्राध्यापक, समीक्षक, एवं चित्रकार सुरेन्द्र भट्टराई यो संसारबाट बिदा भएका थिए । जुन घटनाले नेपाली कलाजगतलाई स्तब्ध तुल्याएको थियो । ५२ वर्षको अल्पायुमा भरतपुरको क्यान्सर अस्पतालमा उनको निधन भएको थियो । त्यसताका कलागुरु भट्टराईको निधनले समस्त कलाप्रेमीलाई दुःखी बनाएको थियो । त्यो दुखद् घडीमा ललितकला वाङ्मय समाज, कमर्सियल आर्टिस्टसँग, सिर्जना कलेजलगायत कला विकासका निम्ति स्थापित संघसंस्था र ग्यालरीहरूले एक शोकसभाको आयोजना गरेका थिए । सभामा सम्पूर्ण कलाकारहरूले उनको कला योगदानको चर्चा परिचर्चा गरेका थिए । शोकसभामा वरिष्ठ कलाकार कृष्ण मानन्धर भन्दैथिए र— कलम र कुचीका सिद्धहस्त भट्टराई मिलनसार र कर्तव्यपरायण प्रतिभा थिए ।’

त्यतिबेला नेपालमा एक दुई जना कला समीक्षकहरू रहेको स्थितिमा उनीजस्ता प्रतिभा चाँडै बित्नु ज्यादै दुखद् घटना हो । उनको शून्यताले आज कलाक्षेत्र टुहुरोसरह भएको छ । नेपालमा कला समीक्षकको क्षेत्रमा नारायणबहादुर सिंहको जस्तो उचाईलाई छुन सक्ने सम्भावना बोकेका कलासमीक्षक सम्भवतः उनी मात्र एक थिए । उनको कलासमीक्षा गर्ने शैलीले सबैको मन छुन्थ्यो । शब्दको खेतीमा मात्र विश्वास नराख्ने भट्टराईको कलासमीक्षामा रङ, रङको हार्मोनी, ब्रसको स्ट्रोक, वस्तुको विन्यास, फम, स्केच र विषयवस्तुजस्ता तात्विक र कलाका नैसर्गिक सिद्धान्त तथा प्रायोगिक पक्षहरू प्रमुख प्राथमिकतामा पर्दथ्यो । कुनै कलाकारको चित्रको समीक्षा गर्नुपर्दा चित्रमा निहित राम्रा नराम्रा दुवै पक्षलाई औँल्याइदिनु र राम्रो काम गर्न उत्प्रेरणा जगाइदिनु भट्टराईका समीक्षकीय विशेषताहरू हुन् । प्रायः मसिनो ध्वनिमा थोरै बोल्न रुचाउने उनीमा समीक्षा क्षेत्रको मात्र होइन, समग्र कलाक्षेत्रको नै भविष्य जोडिएको थियो । भट्टराई सञ्चार क्षेत्रका माध्यमबाट नेपाली कलालाई जनमानसबीच प्रचार गर्ने मिहिनेती प्रतिभाका हुन् । यतिमात्र होइन, उनी सधैँ नेपाली कलाक्षेत्रको उज्ज्वल भविष्यका निम्ति सधैँ चिन्तित देखिन्थे । सुरेन्द्रले हजारौं चित्रहरू रचना गरी नेपाली कलाभण्डारलाई समृद्ध तुल्याएका छन् । यस्ता प्रतिभामाथि समय नपुग्दै कालको उछित्तो प-यो । नेपालमा कला समृद्धता हेर्ने उनको रहर अधुरै रह्यो । उनको जीवनकालमा कला प्रज्ञाप्रतिष्ठान गठन हुन सकेको थिएन ।

सन् १९८१ म स्नातकोत्तर परीक्षामा गोल्ड मेडलिस्ट भई नेपाल फर्केपछि कला साधनासँगै विभिन्न पदमा जागिरे जीवन बिताएका सुरेन्द्रराजले बनारस हिन्दु विश्वविद्यालयबाट कलामा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । उनको जागिरे जीवनको प्रथम अध्याय, अनुसन्धान तथा सर्वेक्षण विभागबाट सुरु भएको थियो । त्यहाँ केही वर्ष बिताएपछि पछिल्लो दस, बाह्र वर्षदेखि उनी ललितकला क्याम्पस भोटाहिटीमा र पछिल्लो समयमा सिर्जना कला कलेजमा कलाइतिहास विषय पढाउँदै आइरहेका थिए । सुरेन्द्रराज प्राध्यापन र समीक्षाका क्षेत्रमा मात्र नभएर चित्रकर्मको क्षेत्रमा पनि सिद्धहस्त प्रतिभाका रुपमा चिनिन्छन् । उनको कलामा रङ र रेखाको बेजोड मेल हुनेगर्थ्यो । मैले उनीसँग थुप्रै कलाको कार्यशालाहरूमा सँगै बसेर काम गर्ने मौका पाएको छु । आकासे, खरानी र शितल रङहरू सुरेन्द्रराजका प्यारा रङ हुने गर्दथे । विषयवस्तु नेपाली ग्रामीण क्षेत्रका हुन्थे र क्यानभासमा प्रायः ग्रामीण टहरा छाप्रा र झोपडीहरू सजिन्थे । सुरेन्द्रका दुईपल्ट एक व्यक्ति र दर्जनौँ पल्ट सामूहिक चित्रप्रदर्शनीहरू भएका छन् । धेरै पल्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानले विभूषित उनीप्रति वरिष्ठ चित्रकार शशिविक्रम शाह भन्थे, ‘सुरेन्द्रको शरीर कलाक्षेत्रमा नहुनु भनेको नेपाली कलाक्षेत्रको विकासमा एक होनहार प्रतिभा गुम्नु हो । यद्यपि कलाक्षेत्रमा उनले लगाएको गुनलाई नेपाली कलाक्षेत्रले कहिल्यै बिर्सदैन र बिर्सन हुदैन ।’

यस्तै बनारसमा सँगै पढ्दाका सुरेन्द्रका सहपाठी कलाकार किरण मानन्धर भन्छन्, ‘सुरेन्द्र हामी सबैको सोझो र प्यारो साथी थियो । बेला नपुग्दै बित्यो, अझै पनि सम्झँदा दुःख लागिरहेको छ ।’