ऐतिहासिक पृष्ठभूमि
कुनै समय गौरादह साल, साज, खयर, जामुन आदिको घनाजङ्गल थियो । यहाँ, बाघ, भालु, हरिण, मृग, बँदेल, मयुर, अर्ना, सिंह, जरायो, हात्ती, गौरीगाईजस्ता जङ्गली जन्तुहरूको आवास स्थल थियो । यहाँको आवादी पातलो थियो । यहाँ माझी, झाँगर, मुसहर, सतार, ताजपुरिया, राजवंशीका साथै अन्य आदिवासी जातजातिको बसोबास थियो ।
वि.सं. २००७ भन्दाअघि गौरीगञ्जदेखि दमकसम्म स्थानीय जातिका ८ वटा ससाना गाउँ थिए । तिनीहरूलाई संयुक्त रूपमा आठ मौजा भनिन्थ्यो । ८ मौजाभित्र गौरीगन्ज, जुरोपानी, गौरादह, रङ्पुर, टटुवामारी, लखनपुर र धनपुरा (दमक) लगायतका बस्तीहरू बुझिन्थ्यो । यही ८ वटा मौजाहरू मध्ये गौरादह पनि एउटा मौजा थियो । त्यसबेला चप्रामारी, बालुबथान, खाङ्टा र क्याम्पाका बिचको भूभाग करिब तीन हजार एक सय ७५ बिगाहा जमिनलाई माहारानीझोडा भनिन्थ्यो ।
वि.सं. २०१० सालमा राजा त्रिभुवनले आफ्ना दुई रानीहरूलाई अहिलेको महारानीझोडा, सीतापुरी, लालध्वन्द्रा र बालुबथानको जङ्गल बिर्ताको रूपमा दिएका थिए । छोरा हिमालय वीरविक्रम शाहलाई दमक बारघरेतिरको र कान्छा छोरा वसुन्धरा वीरविक्रमलाई अहिलेको समयगढ, बैगुन्धुरा र टटुवामारीको जङ्गल बिर्र्ता दिएका थिए । वि.सं. २०१० सालपछि गौरादहदेखि पूर्वतिरका तोपगाछी र बैगुन्धुरा क्षेत्रका जङ्गल फडानी हुँदै गए । त्यसपछि यो ठाउँमा पहाडतिरबाट मानिसहरू बसाइँ आउन थाले । यसै क्रममा कोही गौरादहतिर पनि आएर बस्न थाले ।
यस भेगमा सतार, राजवंशी, धिमाल, मेचे, नौवा, ताजपुरियालगायत आदिवासीको बसोबास भएको हुनाले यसलाई ‘ताजपौवा’ भनिन्थ्यो । वि.सं. २०११ सालमा यस भेगमा एक प्रकारको काँडाको झाडी भएको हुनाले यसलाई ‘विमलावारी’ पनि भनिन्थ्यो । त्यसबेला दमक भेगको नाम भने ‘धनपुरा’ थियो । काठ चिरानी गरेर थुपारिको ठाउँलाई ‘डिपो’ भनिन्थ्यो । वि.सं. २०११ सालमा गौरादहमा काठ चिरानी गरेर थुपार्ने ‘डिपो’ स्थापना भयो । त्यसबेला यो क्षेत्र राजदरबारका सदस्यहरूका लागि काठ बेच्ने स्थानका रूपमा प्रख्यात थियो ।
२०१२ सालदेखि नै यहाँको जङ्गल फडानी हुन थाल्यो । ०१७ सालमा राजा महेन्द्रको गौरीगन्जतिर सवारी हुँदा फकिरढिपमा क्याम्प बनाइएको थियो । त्यही बेला बडामहारानीको झोडामा जनताहरू बसोबास गराउनका लागि राजाबाट हुकुमप्रमाङ्गी पाऊँ भनी यहाँका केही अगुवाहरूले माग गरेका गरेका थिए । वि.सं. २०१८ सालमा तत्कालीन श्री ५ महेन्द्रबाट महारानीझोडामा बसोबास गराउन अनुमति प्राप्त भयो ।
२०१८ सालमा गौरादहलाई झापा जिल्लाको एउटा पञ्चायत बनाइयो । यो पूर्वमा किस्ने खोला, पश्चिम चान्दु खोला, उत्तर सीतापुरी र दक्षिण ग्वालडुब्बा बजारको उत्तरीभागसम्म पैmलिएको थियो । त्यही वर्ष पञ्चायतको चुनाव भयो । डि. नरबहादुर बस्नेत गौरादहको पहिलो प्रधानपञ्च भए ।
तत्कालीन राजा महेन्द्रवीरविक्रम शाह २०१८ सालमा पूर्व तराईको वस्तुस्थिति बुझ्न गौरीगन्ज आएका थिए । त्यसबेला उनी अहिलेको फकिरढिप छेउमा क्याम्प हालेर बसेका थिए । त्यही बेला गौरादहका प्रधानपञ्चको अगुवाइमा राजासँग महारानीको नाममा रहेको गौरादह बजार पश्चिमको जग्गामा बसोबास गर्न अनुमति मागियो ।
यस स्थानमा बसोबास गराउन केहीदिन पछि राजाले अनुमति दिए । यसपछि मानिसको बसोबासलाई व्यवस्थित गर्न जग्गाको उचित वितरण गर्नैपर्ने भयो । यसका लागि प्रधानपञ्च नरबहादुर बस्नेतको पहलमा तत्कालीन रेन्जर तुलसीबहादुर कुँवरको नेतृत्वमा नापीटोली आयो । त्यसले महारानीझोडाको समग्र भागको नापनक्सा तयार गर्यो । यही नापीले तत्कालीन अवस्थामा बसोबास गर्ने जनताहरूलाई जग्गाको भोग गर्ने व्यवस्थित आधार बनाइदिएको थियो । वि.सं. २०२० देखि मात्रै यस स्थानमा सघन रूपले बसोबास सुरु भयो । वि.सं. २०२० सालमा तराईतिर औलो उन्मुलनको योजना सुरु भएपछि पहाडतिरबाट मानिसको आगमन हुन थाल्यो । जङ्गल फडानी गरेर बस्ती बसाउने र बस्ने क्रममा पहाडतिरका मानिसहरू आएर बैगुन्धुरा, चप्रामारी, ग्वालडुब्बा, फकिरढिपलगायतका स्थानमा आएर बस्न थाले ।
उसबेला प्रत्येक आइतबार गौरादहमा सानो बजार लाग्थ्यो । अहिलेको डिपुचोकको आसपासमा काठ चिरानी गरेर थुपार्ने गरिन्थ्यो । जसलाई ‘डिपो’ भनिन्थ्यो । पछि यस स्थानको नाम नै ‘डिपु चोक’ रहन गयो । डिपुदेखि पश्चिम बालुबथानसम्म बाक्लो जङ्गल थियो । यो जङ्गल दक्षिणतिर ग्वालडुब्बा र उत्तरतिर रङपुर बारघरेसम्म फैलिएको थियो । जङ्गलभित्र पनि कतैकतै आबादी गरिएका हरिनचरा, जत्रुचौन, हाँसखोरा, खाङ्टा, डिम्माउठा आदि फाँटहरू थिए ।
गौरादह २०२४ सालमा झापाको आदर्श गाउँ पञ्चायत बन्यो । यसलाई जग्गा विकास कर लाउन पाउने अधिकार पनि प्राप्त भयो । यही करले यहाँका बाटा र पुलपुलेसाहरू निर्माण हुन थाले । सोही सालमा गौरादहमा जनता हाइस्कुलको नामबाट माध्यमिक विद्यालयको स्थापना भएको थियो । अनि गौरादह गाउँ पञ्चायतमा अनिवार्य प्राथमिक शिक्षा कार्यक्रम पनि लागु गरियो । गौरादहका ९ वटै वडामा प्राथमिक स्कुलहरू स्थापना भए ।
गौरादहको उत्तर हालको सीतापुरी मिल बोहोरा गाउँदेखि गौरियासम्म पनि घना जङ्गल थियो । त्यो जङ्गल पनि २०३०/०३२ सालमा फडानी भयो । २०३२ सालमा पाडाजुँगीदेखि गौरीगन्जसम्मको मोटर चल्न सक्ने बाटो निर्माण भयो । उसबेला यसलाई मधुमल्ला गौरीगञ्ज सडक भनिन्थ्यो ।
२०३५/०३६ सालतिर पञ्चायती व्यवस्था विरुद्ध देशव्यापी आन्दोलन सुरु भयो । चेनतशील र शिक्षित जनताहरू बसेको ठाउँ गौरादहमा पनि आन्दोलनको प्रभाव देखियो । आन्दोलन बढ्दै जाँदा तत्कालीन राजा वीरेन्द्रले २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा गरे । जनमत सङ्ग्रहपछि तत्कालीन गौरादह गाउँ पञ्चायत दुई भागमा विभाजन भयो । गौरियाखोला पश्चिम महारानीझोडा गाउँ पञ्चायत बन्यो । यस गाउँ पञ्चायतको पहिलो प्रधानपञ्च देवीप्रसाद काफ्ले भए । उनकै समयमा स्कुलचौन निम्न माध्यमिक स्कुलले माध्यमिक स्वीकृति पायो ।
गौरादहको दक्षिणतिर जुरोपानी गाउँ पञ्चायत थियो । त्यसको पहिलो प्रधानपञ्च मोहनलाल राजवंशी थिए । त्यसै गरी गौरादहको दक्षिण पश्चिमतिर अहिलेको वडा नम्बर ५ को केही भाग र वडा नम्बर ६ कोहवरा गाउँ पञ्चायत थियो । यसको पहिलो प्रधानपञ्च डोमनलाल राजवंशी थिए । गौरादहको पूर्वतिर किस्ने खोलापारि पहिले तोपगाछी र बैगुन्धुरा गाउँ पञ्चायत थिए । पूर्वदक्षिणमा रहेको बैगुन्धुरा पहिले छुट्टै पञ्चायत थियो । त्यसको पहिलो प्रधानपञ्च नृपबहादुर ढुङ्गाना थिए । अहिले यो गौरादह नगरपालिकाको ९ नम्बर वडा भएको छ ।
२०४६ सालको आन्दोलनबाट पञ्चायती व्यवस्था हटेपछि पहिलेका पञ्चायतहरूलाई गाउँ विकास समिति नाम राखिएको थियो । २०७२ सालमा नेपाल गणतन्त्र राज्य घोषणा गरिएपछि देशलाई सात प्रदेशमा विभाजन गरियो । पहिलेका गाउँ विकास समिति र नगर विकास समितिहरूलाई गाउँपालिका र नगरपालिका बनाइयो ।
स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते महारानीझोडा, जुरोपानी, कोहवरा र साबिकको गौरादह गरी चार गाउँ विकास समितिहरूलाई समेटेर १३ वटा वडा भएको गौरादह नगरपालिका घोषणा गरेको थियो । पुनः नेपाल सरकारको २०७३ फागुन २७ गतेको निणर्यअनुसार साबिक बैगुन्धुरा गाउँ विकास समितिलाई समेत समेटेर नौवटा वडा भएको नगरपालिका बनेको हो ।
० ० ० ०
भाषिक सन्दर्भ
यस ठाउँको नाउँ गौरादह कसरी रह्यो होला ? कुनै पनि ठाउँको नाउँ राखिनुमा केही न केही घटना, प्रसङ्ग प्रचलन आदिको प्रभाव परेको हुन्छ । गौरादह र यसको क्षेत्रभित्रका मुख्य बस्तीहरूका नाम पनि यस्तै केही घटनासँग जोडिएका छन् । तिनीहरूका पनि केही रोचक कथा वा सन्दर्भ छन् । सबभन्दा पहिले गौरादहको नामको चर्चा गरौँ । यो ठाउँमा पहाडबाट बसोबासका लागि मानिस आउनुभन्दा अगाडि यस भेकमा राजवंशी, ताजपुरिया, सन्थाल, माझीजस्ता जातजातिहरूको बसोबास थियो । यहाँ भने गनगाई जातिको बसोबास थियो । गनगाई समुदायले बोल्ने भाषालाई सूर्जापुरी भाषा भनिन्छ । उसबेला यहाँका आदिवासीहरू पनि सूर्जापुरी भाषा बोल्ने गर्थे । यो बस्तीमा एउटा लाटो मान्छे थियो । सूर्जापुरी भाषामा ‘गेरा’ को अर्थ ‘लाटो’ र ‘धर’ को अर्थ ‘पक्रिनु’ भन्ने हुन्छ । कुनै समयमा त्यो लाटो व्यक्तिलाई यही पोखरीको आसपासबाट बाघ या कुनै हिंस्रक जनावरले पक्रिएर लगेको हुनाले त्यस स्थानलाई बासिन्दाहरूले ‘गेरालाई धर’ गरेको ठाउँ ‘गेरा धर’ भन्न थाले ।
अर्को जनश्रुतिअनुसार एकजना गेरा हराए । उनलाई आफन्तले खोजी गर्दा यस स्थानमा ‘गेरा’ लाई ‘धर’ गर्न सफल भए । उनीहरूले ‘गेरालाई धर’ गरेको ठाउँलाई ‘गेरा धर’ भनेर भन्न थाले । यही ‘गेरा धर’ नै अपभ्रंश भएर ‘गौरादह’ हुन गएको हो ।
लोकोक्ति वा किंवदन्ती
गौरादहको नामकरणका बारेमा अरू लोकोक्ति र किंवदन्ती पनि पाइने गर्दछन् । गौरादहका कतिपय ठाउँमा ठुलठुला गहिरा दहहरू पाइन्छन् । मानिसहरूका भनाइअनुसार पौराणिक कालमा यस स्थानमा विराट राजाको गौरी गाईहरूको ठुलो गोठ थियो । त्यो गोठका गाईहरूले चरनबाट फर्किदा यहाँको ठुला दहहरूमा पानी खाएर आसपासमा बस्ने गर्थे । यसै कारण तिनताकादेखि रैथाने आदिवासी जनजिब्रोमा यस ठाउँको नाम गौरी गाईले पानी खाने ‘गौरी दह’, ‘गैरादह’ र ‘गहिरा दह’ हुँदै ‘गौरादह’ भनिन थालियो ।
भौगोलिक सन्दर्भ
अहिलेको गौरादहबजार आसपास त्यस्ता सानाठुला धेरै पोखरी वा दहहरू रहेका छन् । यस्ता धेरै गहिरा दहहरू भएको ठाउँलाई जनजिब्रोले ‘गैरादह’ भन्दै जाँदा यसबाट नै गौरादहको नामकरण भएको पनि हुनसक्छ ।
यसरी भाषा, पौराणिक कथा र भौगोलिक स्थितिका पोखरीका आधारमा यो ठाउँको नाम गौरादह रहेको देखिन्छ । यहाँको ठुलो पोखरीलाई गौरादह भनिनाले यस ठाउँको नाम गौरादह रह्यो । पछि यसै नाममा गौरादह गाउँ पञ्चायत, गौरादह आदर्श गाउँ पञ्चायत, गौरादह गाउँ विकास समिति हुँदै अहिले गौरादह नगरपालिका बन्न पुग्यो ।
यस नगरभित्र यस्तै ऐतिहासकता बोकेका अन्य स्थानहरू पनि रहेका छन् ।
पुरानो ग्वालडुब्बा १९९० सालसम्म पनि पुरानो ग्वालडुब्बाको पूर्वतिर प्राकृतिक ठुलो खोल्से पोखरी थियो । अहिले जहाँ सुकुना खोला बग्छ । यस स्थानमा दक्षिणतिरबाट ग्वालाहरूले भैँसीहरूलाई पानी खुवाउन र आहाल बसाउन ल्याउने गर्थे । कुनै समय आहाल बसेको भैँसी पोखरीबाट निस्कन मानेन । पोखरीबाट भैँसी निकाल्ने भनेर पोखरीमा पसेको ग्वाला पनि डुबेर मरेछ । यसरी ग्वाला डुबेको ‘ग्वाला डुब्बा’ हुँदै यस स्थानको नाम जनजिब्रोमा पछि ग्वालडुब्बा रहन गयो । अहिले यस स्थानलाई पुरानो ग्वालडुब्बा भनिन्छ । आजसम्म पनि यस स्थानदेखि दक्षिणतर्फ देवीगन्ज, गौरीगन्ज गाउँपालिका वडा नं. ६ र नेपाल भारतको सीमा क्षेत्रमा ग्वालाहरूको बसोबास रहेको छ ।
नयाँ ग्वालडुब्बा अहिलेको ग्वालडुबा बजारको सुरुको नाम ‘चुरलीडुब्बा’ थियो । गौरादह नगरपालिका वडा नं. ७ स्थित ग्वालडुब्बा बजारको पश्चिममा दलदले खाडी थियो । अहिले पनि खोल्सी छ जसलाई चुरली खोल्सी भनिन्छ । यस क्षेत्रमा ठुला र नरम पात, मोटो बोक्रा हुने फल फल्ने चुरली अत्याधिक थिए । चुरली टिप्न जाँदा स्थानीयवासी डुबेको कारणले यस स्थानलाई चुरलीडुब्बा भनिन्थ्यो । त्यही स्थानलाई पछि आएर नयाँ ग्वालडुब्बा भनिन थालियो ।
जुरोपानी राजवंशी वा ताजपुरिया भाषामा ‘झर्सा’ को अर्थ ‘आफैँ निस्कने पानी’ र ‘जर’ शब्दको अर्थ ‘जम्ने’ वा ‘जमिराख्ने’ अथवा सिमसार भन्ने हुन्छ । यहाँको जमिन दलदले र गहिरो थियो । पानी आफैँ निस्केर जमिरहेको ठाउँलाई स्थानीय भाषामा ‘झर्सापानी’ भनिंदै ‘जरुवा पानी’, ‘जरपानी’ भयो । हिजोआज यसै स्थानलाई जुरोपानी भनिन्छ ।
बैरातीको अर्थ जन्ती हुन्छ । कुनै समयमा यस ठाउँमा साल र सखुवाको ठुलो जङ्गल थियो । बिहेका जन्तीहरूलाई स्थानीय भाषामा बैरात भनिन्छ । धैरै वर्ष पहिले त्यो बैरातको समूह थकाइ मेट्न त्यही ठाउँको जङ्गलको सिँयलमा बसेका थिए । यसरी सिँयालमा बसेका ती मान्छेहरू एक्कासी हराएछन् । हराएका बैरातहरू मध्ये कोही सखुवा, कोही पिपल र कोही हिजलको रुख भएको किंवदन्ती रहेको छ । त्यसपछि यस स्थानलाई बैराती भनिन थालियो । यो ठाउँ गौरादह नगरपालिकाको वडा नं. ८ मा पर्छ ।
फकिरढिप ‘फकिर’ को अर्थ ‘पारिवारिक वा गृहस्थीधर्म त्यागेर भिख मागेर जीविका गर्ने व्यक्ति’ भन्ने हुन्छ । ‘ढिप’ को अर्थ ‘चिनो राख्नका लागि थुपारेर राखेको माटो’ भन्ने हुन्छ । भौगोलिक रूपमा अन्यत्रभन्दा यहाँको धरातल अग्लो थियो । कुनै समय एकजना फकिर यहाँ आएर बास बस्न थाले । त्यसैले फकिर बस्ने ढिप ‘फकिर ढिप’ हुँदै जनजिब्रोमा ‘फकिरढिप’ भयो । तर यस स्थानलाई हिजोआज ‘फकेटिप’ पनि भन्ने गर्छन् । यो स्थान गौरादह नगरपालिका वडा नं. ७ मा पर्छ ।
स्कुलचौन ‘चौन’ भनेको जङ्गल नभएको मैदान, चउर वा चौर हो । कुनै समय यस क्षेत्रमा सन्थाल समुदायको बसोबास थियो । सन्थालका इस्कु, जत्रु र तिसिया नाम गरेका तीनजना दाजुभाइ थिए । तिनैमध्ये ‘इस्कु’ बसेको मैदानलाई ‘स्कुलचौन’, अर्को ‘जत्रु’ बसेको मैदानलाई ‘जत्रुचौन’ र ‘तिसिया’ बसेको मैदानलाई ‘तिसियाचौन’ भनिन थालियो । यी स्थानको नामकरण व्यक्तिको नामबाट नामकरण भएको पाइन्छ ।
चप्रामारी रङ्गीन माछाको एउटा जातलाई चप्रा भनिन्छ । अहिले यसलाई कवाई पनि भनिन्छ । यो माछा खोलाको किनार वा दहमा हुने मेटेका (जलकुम्भी) को जरा र लेउमा बस्ने गर्छ । ताजपुरिया र राजवंशी भाषामा ‘मारी’ को अर्थ ‘स्थान’ हुन्छ । यसरी रतुवा खोलाको किनारका दहमा हुने मेटेका वा जलकुम्भीभित्र प्रशस्त मात्रामा पाइने चप्राको मारी भएकोले यसलाई चप्रामारी भनिएको हो ।
दामुना ताजपुरिया र राजवंशी भाषामा ‘दाम्ना’ को अर्थ ‘दलदल माटो’ भन्ने हुन्छ । यही दलदल माटामा बग्ने एउटा ‘दाम्ना’ वा ‘दामुना’ खोला छ । यही दाम्ना बग्ने स्थानलाई जनजिब्रोमा दामुना भनिएको हो ।
बैगुन्धुरा लोकश्रुतिअनुसार यहाँ ‘बेगन’ नाम गरेका एकजना सतार बस्थे । उनको घर जाने ठुलो धुर (अग्लो आली) थियो । सबैले त्यस धुरलाई बेगनको घर जाने धुर भन्ने गर्थे । बेगनको घर जाने धुर ‘बेगन धुर’ हुँदै जनजिब्रोमा यस स्थानको नाम बेगनधुराबाट बैगुन्धुरा रहन गएको हो । अर्को किंवदन्तीअनुसार अहिलेको बैगुन्धुरा बजारदेखि पश्चिमतर्फ जलपा मुर्मुको घर थियो । उनको १४ बिगाहा जमिन थियो । उनी बैगुनको खेती गर्थे । बैगुनको खेती गर्ने धुर ‘बैगुन धुर’ बाट ‘बैगुन्धुरा’ भएर यस स्थानको नाम रहन गएको हो ।
भौगोलिक अवस्था
यो नगरपालिका पूर्वपश्चिम राजमार्गको पाडाजुँगीदेखि दक्षिणमा अवस्थित छ । यस नगरपालिकाको पूर्व र उत्तरमा कमल गाउँपालिका रहेको छ । पश्चिममा मोरङको रतुवामाई नगरपालिका र दक्षिणमा गौरीगन्ज गाउँपालिका रहेका छन् । भौगोलिक दृष्टिले यस नगरपालिकाको पूर्वी सिमानामा किस्नेखोला र कलमखोला, उत्तरमा गौरियाखोला र पश्चिममा रतुवाखोला रहेका छन् ।
यो नगरपालिका २६.६७५ देखि २६.७०८ डिग्री उत्तरी अक्षांश र ८७.२९ देखि ८७.३४ पूर्वी देशान्तरका बिचमा रहेको छ । यस नगरपालिकाको क्षेत्रफल १४९.८६ व. कि. मि. रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १४ हजार ८ सय ४६ परिवार सङ्ख्या रहेको छ । नगरमा २८ हजार ६ सय ९५ पुरुष र ३१ हजार ७ सय ५६ महिला गरी जम्मा जनसङ्ख्या ६० हजार ४ सय ५१ रहेको छ ।
० ० ० ०
साहित्यकलाको विकास
समयको गतिशीलताले समाज र त्यसभित्रको साहित्यलाई पनि गतिशील बनाइरहेको हुन्छ । समाज र साहित्य एक अर्काका परिपूरक हुन् । समयले साहित्यलाई सामग्री दिन्छ भने साहित्यले समाजको भविष्यको सङ्केत गर्छ ।
सूर्यका सुनौला किरणले पूर्वीद्वारबाट ठिही मिश्रित अन्धकारलाई क्षतविक्षत पार्दै प्रकाशमय न्यानोपनको अनुभूति गराउने साहित्यलाई कसले छेकबार हाल्न सक्थ्यो ? तर पनि उस बेला लेख्ने, बोल्ने व्यक्तिहरू प्रहरी र प्रशासनको कुदृष्टिको सिकार पनि हुने गर्दथे । तर पनि सिर्जना अभाव र कुण्ठाका क्षणमा मुस्कुराउन खोजिरहे यहाँका प्रतिभाहरू । गौरादहको कला र साहित्यको प्राप्त इतिहास हेर्दा २०२६ साल पुषदेखि डिल्ली घिमिरेको अगुवाइमा उमा रिजाल, फाल्गुणी पौडेल, के.पी. ढकाल, शान्ति दुःखीहरूको समूहले प्रगतिशील साहित्य लेखन थालनी गर्यो ।
विभिन्न विद्यालयहरूमा प्रत्येक शनिवार लुकी लुकी तत्कालीन शासन व्यवस्थाको विरोध र चेतनाको विजारोपण गर्ने अभियान थालनी भयो । फलस्वरूप २०२७ को उत्तरार्द्ध र २०२८ को पूर्वाद्धमा ‘लालटिन’ समसामयिक सङ्कलनका रूपमा प्रकाशित भयो । यसमार्फत रुद्र खरेल, खिन्द्रप्रसाद घिमिरे, कृष्ण नेउपाने, जगन्नाथ दाहाल, उमा रिजाल, गोपाल गाउँले, मोती इङनाम, शान्ति दुःखी आदिको समूहले समाजलाई सिर्जनात्मक युगको नयाँ बाटोमा हिँडाउन अभ्यास गरे । यसको सम्पादन मोती इङनाम र उमा रिजालले गरेका थिए भने सल्लाहकारको रूपमा डिल्ली घिमिरे, रुद्र खरेल र शान्तिराम पौडेल रहेका थिए । समसामयिक सङ्कलनका रूपमा प्रकाशन गर्ने सन्दर्भमा लालटिन तत्कालीन आदर्श गाउँ पञ्चायत गौरादहको सौजन्यतामा प्रकाशित भएको थियो । २०२८ सालमा झापा काण्डपश्चात नेतृत्व पङ्क्तिमा रहेकालाई जेलनेलका व्यवहार हुन थाले । सर्जक र सिर्जना हुर्कने वातावरण भएन । तत्कालीन पञ्चायती प्रशासकहरूको आँखाको कसिङ्गर भए । त्यसपछि अर्को अङ्क निस्किन समयले दिएन ।
‘लालटिन’ ले चेतनाको केही साहित्यिक सन्देश छोड्यो । केही समयको अन्तरालपछि ३० को दशकको पूर्वाद्धमा धनेन्द्र नेउपाने र सोमराज कट्टेल (अभय) देखा परे । त्यसै समयमा धनेन्द्र नेउपानेद्वारा लिखित ‘दोस्रो परिवार’ नाटक मञ्चन भयो । साथै प्रकाशनमा पनि आयो । यसैबाट नाटक मञ्चन र प्रकाशनको थालनी भएको देखिन्छ । २०३२ को उत्तरार्द्धमा धनेन्द्र शर्मा, कर्णकुमार श्रेष्ठ र नारायण कार्की ‘त्रिवेणी कला’ लिएर देखा पर्दछन् । यसै समूहद्वारा बनाइएका तत्कालीन राष्ट्रिय चिन्हहरू गा.वि.स. को भवनमा अद्यावधिक जीवितै छन् । २०३४ सालको प्रारम्भतिर वीरबहादुर बुढाथोकी, डिल्ली थापा, कमला राई, गणेश बराल, मणि घिसिङलगायतले ‘चारपाते क्लब’ को नामबाट कृषिसँग सम्बन्धित कार्य गरे तापनि तत्कालीन शासन व्यवस्थाको गतिविधिलाई नै स्थानीय स्तरमा सहयोग पुर्याएको जानकारहरू बताउँछन् । ०३५/०३६ को विद्यार्थी आन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्थालाई जनताका अदालतमा उभ्याएपछि केही मात्रामा भए पनि बौद्धिक जनमानसलाई सचेत बनाउँदै अग्रगामी सङ्घर्षका निम्ति उत्प्रेरणा प्रदान गर्यो । यसपछि प्रगतिशीलहरूले नयाँ दिशानिर्देश गरे । यही दिशासँगै ‘नृगिना सांस्कृतिक परिवार’ का रूपमा प्रेमलावती, आनन्द सुब्बा, इन्द्र न्यौपाने, हरि सुब्बा, भोला वाग्ले, रतन राई, श्रीमती गङ्गा कार्की, खगेन्द्र न्यौपानेलगायत देखा परे । यस समयमा जनवादी गीतसङ्गीतले प्रशय पाएको थियो ।
वि.सं.२०३४/०३५ सालमा डिल्ली काफ्लेको सम्पादनमा दमकबाट ‘छहारी’ पत्रिका प्रकाशन हुन थाल्यो । कवि, लेखक समाजका चेतना हुन् । समाजका भित्री आँखा हुन् भन्ने कुरालाई साहित्यकारले पनि प्रमाणित गरेका छन् । सङ्कट परेको बेला समाजलाई आफ्ना विशुद्ध चेतनाले डोर्याउने कार्य गरेका छन् । २०३६ सालमा नेपाली समाज सङ्कटको घडीमा थियो । १० गते जेठमा शाही घोषणामा निर्दल र बहुदलबिच एउटा रोज्ने अवसर प्राप्त भएपछि जेठ २७ गते सडक कविता आन्दोलन सुरु भयो । यसै समयमा उमेशचन्द्र बोहोरा, सीता पाण्डे देखा पर्दछन् । मोफसलले साधन, स्रोत र सञ्चारको अभाव भोग्दै आएको बेला २०४० सालतिर झापामा भोक कविता आन्दोलन सुरु भयो । २०४२ सालमा पुण्य खरेल, सीताराम ताजपुरिया देखा परे ।
हामी बाँच्नुको अर्थ सुख शान्ति र समृद्धिको चाहना सदैव गरिरहेकै हुन्छौँ । यही नवीन खोजकै क्रममा २०४३ सालको प्रारम्भबाट लक्ष्मण गाम्नागे, टिकाराम भट्टराई, शिव गाउँले आदि देखा पर्दछन् भने २०४२ सालमा देखिएको पुस्ता नै २०४७ सालमा आएर ‘प्रतिभा प्रवाह’ नामक समूहमा पुण्य खरेल, गोपाल काफ्ले, टेकनाथ घिमिरे, खगेन्द्र न्यौपाने सङ्गठित हुन पुग्दछन् । यही समूहद्वारा यसै समयमा खगेन्द्र न्यौपानेद्वारा लिखित ‘नाटकभित्रको नाटक’ मञ्चन हुन पुग्दछ । गौरादहमा समग्र नाटक लेखनको श्रीगणेश नाटककार घनेन्द्र न्यौपानेबाट भएको र खगेन्द्र न्यौपाने हुँदै नाटकीय अभिधाराहरू गतिशील हुँदै आएका पाइन्छन् ।
वि.स. २०५० को पूर्वाद्धसँगै ‘लालिमा नाट्य समूह’ मार्फत् खगेन्द्र निरौला, विजय हतास, अवीर ढुङ्गाना, निर्मल गड्तौला, केशव अधिकारी, अग्नि अधिकारी, रेवती अधिकारी, अर्जुन थापा, राधिका सुवेदी, शान्ता ढुङ्गाना, देवु निरौला, मदन अधिकारी, गोपाल अधिकारी, रुद्र अधिकारी, विमला श्रेष्ठ आदि देखा परे । यस समयमा तिरस्कार, त्यो दिन आउने छ, मलामी, कैदी नं. १०१, मन्त्रीज्यू, तोरी लाहुरेको तल्लो सदन आदि थुपै्र नाटक मञ्चन भए । ‘नौवाटोली नमुुना क्लब’ मार्फत् २०५१ सालको पूर्वाद्धमा नाटक क्षेत्रमै भुपेन्द्र भट्टराई, खेमबहादुर चौहान, दीपक सुवेदी, ठडेन्द्रबहादुर थापा, पदम कार्की, मनमाया लिङ्थेप, सन्तोष गुरुङ, वसन्त थापा, बादल थापा आदि देखा परे । यस क्लबद्वारा २०५१/६/४ मा ‘आफ्नो अस्तित्वका लागि अन्तिम सङ्घर्ष’ नामक दीपक सुवेदीद्वारा लिखित एवम् निर्देशित नाटक मञ्चन भयो । लालिमा नाट्य समूहले राष्ट्रिय नाटक महोत्सव २०५२ मा ‘तिरस्कार’ नाटकबाट पुरस्कृत भएको थियो । यस ठाउँमा यस बेलाका प्रायः नाटकहरू नै मञ्चन भए ।
यस स्थानमा घनेन्द्र न्यौपानेको ‘दोस्रो परिवार’बाट भएको नाटक यात्रा खगेन्द्र न्यौपानेको ‘नाटकभित्रको नाटक’ हुँदै यस समयमा आइपुग्दा लामो समयको अन्तरालपछि नाटकले विस्तृत रूप लियो । जसले गर्दा २०५० को पूर्वाद्ध लालिमा नाट्य समूह र २०५२ सालमा एकता नाट्य समूहमार्फत् नाटक प्रदर्शनका लागि स्वर्ण समयका रूपमा रहेको देखिन्छ भने प्रकाशन केही दखिंदैन । यस समयका नाटकहरू मञ्चनका लागि मात्र रहे ।
२०५२ सालमा एकता नाट्य समूहमार्फत् रोहित चम्लागाईं, शरद खरेल, सुरेन्द्र श्रेष्ठ, बाबुराम दाहाल, भाइकुमार प्यासी, हरी बस्नेत, टीकाराम दाहाल, उत्तम श्रेष्ठ, दिपेन्द्र थापा देखा परे । यस समूहमार्फत् न्यायको निम्ति (२०४७/८/१०), त्यो दिन आउने छ २०४७/११/१९, २३, २९ र (२०४८/१/२), बदला (२०४८/७/१८), परिवेश (२०५०/१/५), दाइजो र समाज (२०५०/७/८) र (२०५०/९/९), फेरी कहिले भेट होला (२०५१/१/२), कैदी नम्बर १०१ (२०५१/६/१५), दोबाटो (२०५१/६/२१), चतुरे (२०५१/७/१३), उज्यालो हुन बाँकी छ (२०५१/१०/२०), छोइछिटो (२०५२/२५ र २६), दुःख पाइस मङ्गले आफ्नै ढङ्गले (२०५२/३/२३) र (२०५२/४/५), त्यसपछि (२०५२/५/२), आमाको आँशु (२०५२/७/२), अधुरो तिहार (२०५२/७/५), कैदी (२०५२/८/१४), रिफन्ड (२०५२/१०/११), ओइलिएको सुनगाभा (२०५३/२/५ र १२), हुस्सुमा हराएका दुई थुँगा फूलहरू (२०५३/६/२९), विदाइ (२०५३/१०/१६ क्षेत्रीय नाटक उत्सव धनकुटा), निर्णय (२०५४/१/३ राष्ट्रिय नाटक महोत्सव, काठमाडौँ), हेर बिहानी हुँदैछ (२०५५/८/४) र कथा गरिबको आदि नाटकहरू मञ्चन भए ।
तत्कालीन समयमा यस क्षेत्रमा मञ्चित नाटकहरूले नौलो मोड र बाटो लिएको देखिन्छ । तत्कालीन नाट्यकर्मी रोहित चम्लागाईंका अनुसार नाटकहरू बौद्धिक भएर पनि सरल, प्रयोगवादी र गम्भीर भएर पनि सार्थक, समस्यामूलक भएर पनि मानवीय सम्बन्धलाई रेखाङ्कित गर्ने खालका थिए ।
२०५३ सालको अन्त्यतिर जनता मा.वि. भूतपूर्व विद्यार्थी समाजको प्रकाशन रहेको प्रकाशक टङ्क आचार्य र लक्ष्मण गाम्नागेको सम्पादनमा ‘गौरव’, २०५४ सालमा गौरादह बहुमुखी क्याम्पसबाट गङ्गाप्रसाद भेट्वाल र नवीन पौडेलको सम्पादनमा ‘सुसेली’ समसामयिक सङ्कलनका रूपमा प्रकाशित भएका भेटिन्छन् । यसै प्रकाशनसँगै गङ्गाप्रसाद भेट्वाल, नविन पौडेल, देवेन्द्र निरौला, चेतन अधिकारी, दीपक सुवेदी, हेमप्रसाद भेट्वाल, हरिबहादुर पौडेल, अम्बिका पौडेल, विजय हतास आदि देखा परे ।
२०५७ सालमा बिहानी साहित्य समाजमार्फत रमेश सुवेदी, दीपक सुवेदी, श्रीप्रसाद ढुङ्गेल, वीरेन्द्र धमला, डण्डिराज घिमिरे, टीकाराम घिमिरे, प.डम्बरप्रसाद भट्टराई, प्रदीप ढुङ्गेल, दीपक गुरागाईं, माधव दाहाल देखा पर्दछन् । यसै समयका गोपीकृष्ण ढुङ्गाना, रमेश ओझेल, जानुका खतिवडा, उषा घिमिरे, होमनाथ आचार्य पनि शसक्त रूपमा देखा पर्दछन् । यस समयमा पत्रपत्रिका प्रकाशन उल्लेख्य रहेको पाइन्छ । त्यसपछि २०६० को पूर्वाद्धबाट अन्यौल यात्री, भेषराज नेउपाने, माधव निरौला, गङ्गा बाँस्तोला, कनिस्का कार्की, अञ्जना राजवंशी, वेणुप्रसाद अधिकारी आदि देखा परेका छन् ।
त्यसै गरी २०६० को उत्तरार्द्ध र २०६१ को पूर्वाद्धबाट पूजन पोख्रेल, मोतिराम रायमाझी, विनोद दाहाल, अञ्जना वाग्ले, उषा निरौला, सुदिप घिमिरे, अरुण घिमिरे, वविता मिश्र, आर्जु राउत, योगेश नेउपाने, अञ्जु अधिकारी, दुर्गा गौतम, यसोदा रेग्मी, विमल गौतम, दोर्ण घिमिरे २०६२ को पूर्वाद्धमा मेनुका बाँस्कोटा, सजना राई, युवराज रेग्मी, सुमन ओली, राजु भट्टराई, लक्ष्मी प्रसाईं, वविता दाहाल, भीम गौतम, पूजा पोखरेल, पूजन पोखरेल कविता दाहाल, भानु आचार्य, दिपेश पोखरेल, नवीन थपलिया देखा परे ।
२०६३ मङ्सिर ७ गते सात राजनैतिक दलहरूको गठबन्धन तथा नेकपा माओवादीबिच १३ बुँदे समझदारी बन्न गयो र नेपालमा जनआन्दोलन- २ ले जन्म लिन पुग्यो । राजनीतिक अन्तरविरोधमा राजाको निरङ्कुशताका विरुद्ध राजनीतिक दलहरू तथा दश वर्षदेखि सशस्त्र युद्धरत नेकपा माओवादीबिच एक प्रकारको समन्वयन देखा पर्यो । यस समयमा विभिन्न क्षेत्रमा स्रष्टाहरूले पनि आन्दोलनमा सहभागीता जनाए । कला र साहित्यको माध्यमबाट निरङ्कुश राजतन्त्रको विरोध गरे । ठाउँ ठाउँमा स्रष्टा मञ्चहरू गठन भए ।
२०६३ को जनआन्दोलनसँगै अर्को पुस्ताका रूपमा सुमन कार्की, छवि धमला, झुमा काफ्ले, धना भट्टराई, आस्था खतिवडा, नवीन योगी, टङ्क अधिकारी, सागर सुवेदी, खगेन्द्र खड्का, गोमा घिमिरे, नर्वदा भण्डारी, मिना बाँस्कोटा, सङ्गीता भण्डारी, पुष्प पोखरेल, रिजन घायल, सूर्यभक्त सिटौला, राजन ओली, नमिता चम्लागाई, महेश रेग्मी, कुमार पौडेल र २०६४ को पूर्वाद्धबाट यूवराज अधिकारी, तारालाल राजवंशी, महानन्द फुयल, शैली झुमा, सविना कार्की, यमुना पोखरेल, रुपक श्रेष्ठ, गङ्गाराम मिश्र, किरण खरेल, विमला अधिकारी, विनिता लुइँटेल, भीष्म पौडेल, सूर्यभक्त सिटौला, प्रकाश बाँस्तोला, कविता तिवारी, सागर सुवेदी, गोमा पोखरेल, रमेश प्रसाईं, बद्री गौतम, मनु आचार्य, लिला खतिवडा, सुनिता कटुवाल, खगेन्द्र सिग्देल, निता पौडेल, घनश्याम दाहाल, चेतन निरौला, लोकनाथ लिम्बूू, रविन पौडेल, विदुर गौतम, तुलसीप्रसाद आचार्य, दाताराम आचार्य, दुर्गा पौडेल, सुधा पौडेल आदि स्थानीय छापाहरूमा देखा परेका छन् ।
साहित्यिक पत्रपत्रिका
२०२७ सालमा प्रकाशित मोती इङ्नाम र उमा रिजालद्वारा सम्पादित ‘लालटिन’ समसामयिक सङ्कलनपछि जनता मा.वि. गौरादह भूतपूर्व विद्यार्थीद्वारा प्रकाशित टङ्क आचार्य र लक्ष्मण गाम्नागेद्वारा सम्पादित ‘गौरव’ पनि समसामयिक सङ्कलन रहेको छ । यसपश्चात होमनाथ आचार्यको सम्पादनमा ‘ध्रुवतारा’, बिहानी साहित्य समाजको प्रकाशनमा दीपक सुवेदीको सम्पादनमा बिहानी (२०५७) र बिहानी (२०५८), गौरादह सामुदायिक पुस्तकालयको प्रकाशन र दीपक सुवेदीको सम्पादन रहेको प्रतिभा (२०५८), गौरावाणी (२०५९) र प्रतिभा (२०६०), सूर्योदय नि.मा.वि. धिमधिमेबाट प्रकाशित ‘सूर्योदय’, अमर नि.मा.वि.बाट प्रकाशित श्रीमती गङ्गा कार्की, प्रभुनाथ गौतम, रुद्र धमला, दीपक सुवेदीलगायत शिक्षकहरूको सम्पादनमा प्रकाशित कलम समसामयिक सङ्कलनका रूपमा प्रकाशित छन् ।
बिहानी साहित्य समाजद्वारा प्रकाशित दिपक सुवेदीद्वारा सम्पादित बिहानी (हाइकुसङ्ग्रह, २०६१) र गौरादह सामुदायिक पुस्तकालयद्वारा प्रकाशित दीपक सुवेदीद्वारा सम्पादित गौरावाणी (हाइकुसङ्ग्रह, २०६१) विधागत सङ्ग्रह र प्रोज्ज्वल कलेजियट एकेडेमीबाट युवराज रेग्मीको सम्पादनमा श्रद्धासुमन (२०६२), दीपक सुवेदीको सम्पादनमा स्मृति ( अङ्क एक, २०६२), गौरादह बहुमुखी क्यामपसबाटै नवीन योगीको सम्पादन स्मृति (दोस्रो अङ्क, २०६३) र २०६४ सालमा पुष्प पोखरेलको सम्पादनमा स्मृति (तेस्रो अङ्क, २०६५) र दीपक सुवेदी र माधव पौडेलको सम्पादनमा दियालो (अङ्क एक, २०६५) समसामयिक सङ्ग्रहका रूपमा प्रकाशित भएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।